पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

काठमाडौं : सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो।  नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा अडिएको छ।   अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३.६१ अंक र सोमबार ३.६५ अंकले घटेको थियो। नेप्से घटेसँगै मंगलबारको तुलनामा कारोबार रकम घटेको  छ।   यसदिन १ अर्ब  २८ करोड ८३  लाख ६३ हजार ४२४ रूपैयाँमा सेयर खरिदबिक्री भयो। २५७ कम्पनीको  ३७ लाख २९ हजार ९७६ कित्ता सेयर किनबेच भयो।   आज एउटा मात्रै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आदर्श लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढेको हो। बोटलर्स नेपालको सेयर मूल्य ९.६१ प्रतिशतले घट्यो।   कारोबार रकमका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ७२ लाख  ३७ हजार८५ रूपैयाँको सेयर खरिदबिक्री भयो।   आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रो र माइक्रो फाइनान्स समूहको सूचक २ प्रतिशत बढिले घटेको हो।

विरगन्ज:  आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन  र आयकरका चार सय २९  करदातामाथि कारबाही प्रक्रिया सुरु भएको सो कार्यालयले जनाएको छ ।    प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भन्नुभयो,‘‘पहिलो चरणमा चरणमा करदातालाई १५ दिने र सात दिनेपत्र पठाइसकेका छौँ । यसपछि पुनःतीन दिनको पत्र पठाउने छौँ ।” पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरुको बैंक खाता रोक्का समेत गरिने उहाँले जानकारी दिनुभयो ।   जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले  जनाएको छ । यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व सङ्कलनमा कमी आएको छ ।   सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा रु चार अर्ब ७३ करोड १६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ६६ दशमलव ६१ प्रतिशत अर्थात रु तीन अर्ब १५ करोड १६ लाख मात्र राजस्व सङ्कलन भएको छ ।   चालु आर्थिक वर्षको छ महिनामा अन्तशूल्कतर्फ रु एक अर्ब ३१ करोड ९५ लाख २९ हजार, आयकरतर्फ रु एक अर्ब चार करोड ८८ लाख ६९ हजार, मूल्य अभिवृद्धिकर तर्फ रु ७३ करोड ६७ लाख ६६ हजार, ब्याजकर तर्फ रु दुई करोड ४० लाख २३ हजार र घरबहाल करतर्फ रु दुई करोड २४ लाख ९९ हजार राजस्व सङ्कलन भएको सो कार्यालयका सूचना अधिकारी सञ्जय सरदार क्षेत्रीले जानकारी दिनुभयो ।   विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेको तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबद्ध लगायतका कारणले राजस्व सङ्कल घटेको सूचना अधिकारी क्षेत्रीको भनाइ छ । गत आर्थिक वर्ष २०७८/७९ मा सो कार्यालयले नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् रु आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व सङ्कलन गरेको थियो ।

पोखरा:    पोखरामा प्रहरीको भ्यानबाट खसेर एक प्रहरी जवान घाइते भएका छन् । गण्डकी प्रदेश सभामा प्रहरीको भ्यानबाट खसेर प्रहरी जवान पटक बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार वि.कले जानकारी दिए ।  आज गण्डकी प्रदेश सभामा आज प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने कार्यक्रमको व्यवस्थापन गर्न थप प्रहरी जाँदै थिए । प्रदेश प्रमुखको सलामीका लागि झन्डा राख्न भ्यानमा लगिएको फलामको पोल बिजुलीको तारमा अल्झिँदा पोलले हुत्याएर बुढा भुइँमा बजारिन पुगेका प्रत्यक्षदर्शीले बताएका छन् । प्रदेश प्रहरी गणका सलामी टोली सदस्य बुढाको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको कास्की प्रहरीले जनाएको छ ।  प्रदेश सभा प्राङ्गण प्रवेशका क्रममा भ्यानले ल्याइरहेको फलामको पाइप बिजुलीको तारमा अल्झिँदा प्रहरी जवान पटक बुढा भुइँमा बजारिन पुगेका हुन् ।

काठमाडौं:  नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई पठाउने तयारी गरेको छ ।   यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए ।   पाठकका अनुसार सन्दीपको भिजा पनि आइसकेको छ । ‘भिजा आइसकेको छ । एक जना खेलाडी घाइते पनि हुनु भएको छ । हामीले प्रतिस्थापन मागेका छौं,’ उनले  भने, ‘त्यहाँको आधिकारिक व्यक्तिबाट जानकारी आएपछि हामीले घाइते खेलाडीको नामसहित जानकारी दिनेछौं ।’   पाठकका अनुसार सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका कारण उनलाई सिरिजका लागि यूएई पठाउन लागिएको हो ।   उनले भने, ‘आईसीसीमा हामीले सन्दीपको नाम अन्तिम १६ मा रजिष्टर गराइसकेका थियौं । अदालतले विशेष कारण खेल्न जाने अनुमति दिएको खण्डमा सन्दीपले खेल्न पाउने भन्ने कुरालाई आधार बनाएर हामीले सन्दीपलाई पठाउन लागेका हौं ।’   नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडे पनि विदेश जाने अनुमति दिएको थिएन । त्यसैले सन्दीप यूएई जान पाएका थिएनन् ।   तर सर्वोच्च अदालतले गत सोमबार उच्च अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई विदेश जान अनुमति दिएपछि क्यानले उनलाई यूएई पठाउन लागेको हो ।   नेपालले भोलि बिहीबार घरेलु टोली यूएईसँग तथा शुक्रबार र सोमबार पपुवा न्युगिनीसित खेल्दै छ ।

जाजरकोट:  नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटका केन्द्रीय सदस्य  सहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । मङ्गलबार भेरी नगरपालिका– ११ मा एन.आई सी लघुवित्तका कर्मचारी माथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।   दुर्व्यवहार तथा  आर्थिक लुटपाट गरेको आरोपमा केन्द्रीय सदस्य तथा  जिल्ला इन्चार्ज बलबहादुर  मल्ल, सेक्रेटरी विराजन शाही र  सचिवालय सदस्य कर्णबहादुर बस्याललाई प्रहरीले गिरफ्तार गरेको हो ।   जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डिएसपी) सन्तोष रोकाले मङ्गलबार राती ११ बजे सदरमुकाम खलङ्गाबाट गिरफ्तार गरिएको जानकारी दिनु भयो । कर्मचारी माथि दुर्व्यवहार, केही पैसा लुटपाट भएको भन्दै कार्यालयमा जानकारी आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको  र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रोकाले जानकारी दिनुभयो ।   मङ्गलबार भेरी ११ कटी गाउँका स्थानीयले लघुवित्तका कर्मचारीलाई जनकारबाही गरेको भन्दै नेकपाले  एक विज्ञप्ति जारी गर्दै जनकारबाहीको समर्थन जनाएको थियो ।  उता नेकपा माओवादीले प्रहरीले आफ्ना नेताहरूलाई जनताको आवाज बोलेकै भरमा गिरफ्तार गरेको भन्दै तत्काल रिहाइको माग समेत गरेका छन् ।

काठमाडौं:  मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन ३.८१ अंकले घटेको बजार २०१९.७३ बिन्दुमा आएर रोकिएको हो ।   बजार दिनभर जसो नै उतारचढावपूर्ण भने रह्यो । मंगलबार २६२ धितोपत्रको २८ हजार ६८४ वटा कारोबारबाट ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार जलविद्युत, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र ट्रेडिङबाहेक सबै उपसूचकमा गिरावट आयो । सबैभन्दा धेरै लघुवित्त उपसूचकमा ०.८० प्रतिशतको गिरावट आएको छ ।   यसका बावजुत मंगलबार सबैभन्दा धेरै बढ्नेमा लघुवित्त कम्पनी नै छन् । यस दिन आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । सिद्धार्थ इन्स्योरेन्स र सर्पोट माइक्रोफाइन्सको समेत मूल्य बढेको छ ।   मंगलबार सबैभन्दा गुमाउने कम्पनीमा प्रिमियर इन्स्योरेन्स रहेको छ । यसको मूल्य ३.८५ प्रतिशतले घट्यो । युनिभर्सल पावर कम्पनी, शिवम् सिमेन्ट, सानिमा माइहाइड्रोपावर लगायतको सबैभन्दा धेरै कारोबार भएको छ ।  

काठमाडौं :जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले  तत्काल सरकार नछोड्ने बताएका छन्। मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले अरु पार्टीको विभिन्न कारण रहेपनि जनमत पार्टीका लागि सरकार छाड्ने परिस्थिति नबनेको स्पष्ट पारे।   उनले अहिले  पनि माओवादीकै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको बताए। उनले अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताए।   सरकारले गरेको कामकारवाहीलाई सहयोग गर्ने,सरकारले पठाएका विधेयकलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरि अबको राष्ट्रपतिले काम गर्नुपर्ने उनको भनाइ छ।   यसअघि नागरिकताजस्ता दुवै सदनबाट पारित भइसकेका विधेयकहरू राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौं युवाहरु नागरिकताबिहीन हुनपुगेको उनको भनाइ छ ।    राउतले राष्ट्रपति र सभामुख एउटै पार्टीको हुँदा निरंकुशता जन्माउने आधारहरू रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए।

काठमाडौं:  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।   उहाँले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताउनु भयो । निर्देशक घिसिङले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावाट विद्युत बढी हुने उल्लेख गर्नुभयो ।   कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘अहिले २५ सय ४४ मेगावाट उत्पादन क्षमता भएको छ । यसमा सोलार ७० मेगावाट छ । प्रत्येक वर्ष आठ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको छ । पछिल्लो पाँच वर्षको ७ हजार मेगावाट विद्युत उत्पादन गर्ने अनुमान छ । विद्युत उत्पादन र विद्युत खपतको लागि पनि लगानी गर्नुपर्ने अवस्था छ । त्यसमा निर्यात र स्वदेशमा नै खपत गर्नका लागि पनि ट्रान्समिसन लाइन बनाउनुपर्छ ।’’   कार्यकारी निर्देशक घिसिङले सन् २०३५ सम्ममा नेपालमा आठ हजार मेगावाट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताउनुभयो । उहाँले नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावाट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष आठ सय मेगावाट विद्युत उत्पादन बढ्दै गएको जानकारी दिनुभयो ।   निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावाट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताउनुभयो । पछिल्लो समय उद्योगहरूमा जलविद्युतको माग राम्रो रहेको उहाँको भनाइ छ । उहाँले ११ हजार मेगावाट जलविद्युत उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका भन्दै करिब सात हजार मेगावाटको पीपीए भइसकेको बताउनुभयो ।   कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘‘सन् २०४२/४३ सम्ममा २० हजारसम्म आउँछ भन्ने अनुमान हो । सन् २०२६ सम्म नेपाल सुख्खा याममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छौँ । नेपालको उद्योग स्थापना वृद्धि भएर उद्योगमा जलविद्युतको माग राम्रो रहेको हुनाले अवधि अघिपछि पनि हुनसक्छ । त्यो समयसम्म जलविद्युतमा आत्मनिर्भर भएर २५ सय मेगावाट विद्युत बढी हुने देखिन्छ ।’’   उहाँले थप्दै भन्नुभयो, ‘‘ऊर्जामा निजी क्षेत्रले लगानी गरिरहेको छ । ११ हजार मेगावाट जलविद्युत उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका छन् । करिब सात हजार मेगावाटको पीपीए भइसकेको छ । यसमा आठ सय मेगावाट विद्युत उत्पादन भएर आइसकेको छ । पाँच हजारको हाराहारीमा पीपीए भएर वित्तीय लगानी भएर अगाडि बढेका र तीन हजार जति वित्तीय लगानीका लागि प्रतीक्षामा रहेका छन् । यसको पनि निजी क्षेत्रबाट लगानी जुटाउनुपर्ने अवस्था छ ।’’   त्यस्तै, निर्देशक घिसिङले जलविद्युत उत्पादनका लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताउनुभयो । उहाँले एजीम बैङ्कबाट सात सय मिलियन, जाइकाले १४० मिलियन, विश्व बैङ्क र एडिबीले दुई मिलियन लगानी प्रतिबद्धता आएको उल्लेख गर्नुभयो । उहाँले जलविद्युत उत्पादनको लागि नयाँ नयाँ प्रयोजनाहरु बनाउनका लागि अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताउनुभयो ।   उहाँले सरकारले जलविद्युतमा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताउनुभयो । निर्देशक घिसिङले प्राधिकरण जलविद्युत उत्पादनका लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि जानकारी दिनुभयो ।

काठमाडौंः    नेपालले आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । मङ्गलवार यूएईमा भएको खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चौथो जित निकालेको हो । मलेसियाले दिएको ७३ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले १ विकेट लिए । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।