त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरिपट्टी, भित्रपट्टी र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानी नोक्सानी हुने कुनै प्रकारको प्रचार गर्न पाइने छैन । यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एकै रङ भएको मात्रै प्रचारप्रसार गर्न पाइनेछ । आचारसंहितामा क्याम्पस निर्वाचन समितिमा दर्ता सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम क्याम्पस निर्वाचन समितिले सञ्चालन गर्ने र उक्त कार्यक्रमका एक अर्काप्रति आपेक्ष वा आरोप लगाइने वाक्य बोल्न नपाइने पनि आचारसंहितामा उल्लेख गरिएको छ । क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द हड्ताल गर्न नपाइने उल्लेख छ । आचारसंहितामा मतदान हुनुभन्दा ४८ घन्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । निर्वाचन कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्दैछन् । गत फागुन १९ गते निर्वाचनका लागि विद्यार्थी सङ्घ सङ्गठन दर्ता भएका छन् । आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ ।
काठमाडौं: वैदशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एक व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको छ । मकवानपुर मनहरी गाउँपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका १४ मा बस्दै आएका वर्ष २८ वर्षीय आदेश तामाङलाई प्रहरीले प्रकाउ गरेको हो । केएचएम रिक्वायरमेन्ट ग्रुप नामक नक्कली मेनपावर सञ्चालन गरी १ सय जना भन्दा बढि व्यक्तिहरुलाई मलेसियामा रहेको टेलिप्लेक्स मेडिकल एसडिएन र बिएसडिको कम्पनिमा आकर्षक तलबमा पठाई दिन्छौँ भनि रकम लिई ठगी गरको आरोपमा तामाङलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । तामाङले सञ्चालन गरेको केएचएम रिक्वायरमेन्ट ग्रुपमा खान तलासी गर्दा विभिन्न व्यक्तिहरुको राहदानी ९० थान, केएचएमको छाप १ थान र एसिइआर कम्पिनीको सिपीयु २ थान सहित विभिन्न कागजातहरु बरामद गरेको छ । प्रकाउ परेका तामाङलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ ।
काठमाडौं: ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख घुससहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएका टोलीले शिक्षा अधिकृत पौडेललाई एक लाख घुससहित आज (बिहीबार) पक्राउ गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रासद थपलियाले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा पौडेललाई पक्राउ गरेको जानकारी दिनुभयो । सहायक प्रवक्ता थपलियाका अनुसार पौडेललाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उहाँकै कार्य कक्षबाट आयोगको टोलीले नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताउनुभयो ।
काठमाडौं : सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपाल जिततर्फ उन्मुख बनेको छ। नेपालविरुद्ध २९८ रनको लक्ष्य पछ्याइरहेको पीएनजीले ३५औं ओभरमा सात विकेट गुमाएको छ। नेपालका लागि सन्दीपले आठ ओभरमा २६ रन खर्चेर एक मेडनसहित सर्वाधिक तीन विकेट लिएका छन्। यस्तै, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक विकेट लिएका छन्। नेपालले एक विकेट रन आउटमा लिएको छ। पीएनजीका टोनी उरा ४४ बलमा ९ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर सन्दीपको बलमा आरिफको हातबाट क्याच भए। यस्तै, किप्लिन डोरिगा २६ तथा सेसे बाउ तीन रनमा पेभेलियन फर्के। कप्तान आसाद भाला ४२ रन जोडेर आउट भए। पीएनजीलाई जितका लागि १०.४ ओभरमा एक सय १९ रन आवश्यक छ। आशिफ शेखको शतकीय इनिङप्रेरित नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गरेको थियो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो। नेपालका लागि ओपनर आसिफ शेखले एक सय १० बलमा १२ चोका र दुई छक्कासहित एक सय १० रनको शानदार इनिङ खेले। यस्तै, अर्का ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौहासहित ४५ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ३० रन जोडे। भीम सार्की ३८ बलमा चार चौकासहित ४४ रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे। पीएनजीका लागि सेमो कामेयाले ९.१ ओभरमा ३८ रन खर्चैर सर्वाधिक पाँच विकेट लिए। यस्तै, रिले हेकुरेले तीन तथा अलेई नाओले एक विकेट लिएका थिए।
बेनी : म्याग्दीको बेनीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। रघुगंगा गाउँपालिका-७ का २८ वर्षीया सोबिता बागदास र बेनपा-९ घतानका ३२ वर्षीय प्रेम सार्की लागूऔषधसहित बेनीबाट बुधबार राती पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बागदास र सार्की म्याग्दीको सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका-३ मा बस्दै आएका थिए। उनीहरूको साथबाट २०० एम्पुल डाईजोपाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन बरामद भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। ‘प्रहरीले पछिल्लो तीन वर्षयता उनीहरूबाट ठूलो परिणाममा लागूऔषध बरामद भएको छ,’ उनले भने ‘जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।’ उनीहरूले भारतको सिमानाबाट लागूपदार्थ ल्याएर म्याग्दीको विभिन्न ठाउँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रनाउ कुँवरले बताए।
महोत्तरी : एपी वान टेलिभिजनका महोत्तरी संवाददाता नविन चौधरीमाथि बुधबार साँझ आक्रमण भएको छ। होली पर्वको समाचार संकलन गरी फर्किरहेको समयमा जलेश्वर नगरपालिका-५ मा उनीमाथि आक्रमण भएको हो। मदिरा सेवन गरेर हिँडिरहेका समूहले चौधरीको टाउकोमा बियरको बोतल प्रहार गरेका थिए। उनको टाउकोमा चोट लागेको छ। उनको जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ। यता घटना निन्दनीय रहेको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले जनाएको छ। पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोले समाचार संकलन गरेकै भरमा पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको भन्दै दोषीलाई हदसम्मको कारवाहीको माग गरेका छन्। सचिव महतोले महोत्तरी प्रहरी प्रशासनसँग घटनालाई सुक्ष्म रूपमा अनुसन्धान गरी संलग्नलाई कारवाहीको माग गरिएको छ। पत्रकारलाई निष्पक्ष रुपमा काम गर्ने वातावरण निर्माण गरिदिन स्थानीय सरोकारवाला निकायसमक्ष सचिव महतोले आग्रह गरेका छन्। प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलका अनुसार भारत विहार राज्य मधुवापुर थाना ठेगाना भएका १८ वर्षीय संजित कुमार मण्डललाई पक्राउ गरिएको जनाएको छ। अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बागलुङ: जिल्ला अदालत बागलुङले १२ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा पक्राउ परेको एक जना ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा. दिवाकर भट्टले फागुन २३ गतेको अन्तिम आदेशले अभियोग दाबी पुग्ने भन्दै आरोपितलाई कैदसँगै ३० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको हो । निसीखोला गाउँपालिकाका वृद्धले गत वर्षको चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आराेपीविरुद्ध गत असार २३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । आरोपितलाई अदालतले असार २३ गते पुर्पक्षका लागि कारागार पठाएको इजालास अधिकृत गङ्गाधर सापकोटाले बताउनुभयो ।
वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो । आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए। उनले आफूहरु ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको बताए। हाल बैंकहरुले आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् । यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम छ दशमलव ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । मुद्दति निक्षेपको ब्याजदर भने स्थीर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ । उद्योगी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्थाले तत्काल बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउनुपर्ने माग गर्दै आएका छन् । चौतर्फी दबाब बढेपछि बैंकर्स सङ्घले सामान्य अङ्कले मात्रै ब्याजदर घटाउने निर्णय गरेका हुन् ।
काठमाडौं: अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर स्किलअप इन्ष्टिच्युट अफ टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रालि गंगबुले एक दिने सीप विकास साक्षरता तालिम सम्पन्न गरेको छ । एक दिने सीप विकास साक्षरता तालिम अन्तर्गत मोफिन तथा डुनुट बनाउने तालिम प्रदान गरिएको थियो । महिलाहरुलाई सीप विकास मार्फत आर्थिक रुपमा सक्रियताका लागि हौसला प्रदानहोस भन्ने उदेश्यले एकदिने मोफिन तथा डुनट बनाउने तालिम प्रदान गरिएको कार्यक्रमका सभापति राजन लोहनीले बताए । सामाजिक उत्तरदायित्व अनुसार सस्थाले यो कार्यक्रमको आयोजना गरि नारीहरुको सशक्तिकरणका लागि ऐक्यवद्धता जनाउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै लैजाने संस्थाको योजना रहेको स्किलअप इन्ष्टिच्युट अफ टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रालिका निर्देशक लिला बहादुर वि.क.ले बताए । स्टारजोन होटल प्रालि र जिभ करियर इन्ष्टिच्युट प्रालिको सहयोगमा आयोजित उक्त कार्यक्रममा गण्डकी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनार लगाएत क्षेत्रगत अतिथिहरु, सवाजसेवीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम नमुना इटानीले संचालन गर्नु भएको थियो । भने संस्थाले उपलब्ध गराउदै आएको कार्यक्रमहरुको बारेमा संस्थाका प्रबन्धक निर्देशक दुर्गा सुनारले जानकारी गराएका थिए । उक्त कार्यक्रममा २५ जना महिलाहरुको सहभागीता रहेको थियो ।

