काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित  भएको छ ।   ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य  दशमलब ५१ अङ्कले ओरालो लागेर  तीन सय ६४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा भने ओरालो लागेको छ ।   विभिन्न कम्पनीका कूल ३४ लाख दुई हजार दुई सय ६७ कित्ता शेयर रू एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारपछि बजार  पुँजीकरण रू २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाख ६२ हजार दुई सय ७८ पुगेको छ ।   कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रू चार करोड ९४ लाख ९२ हजार छ सय १९ बराबरको कारोबार भयो । नविल बैंक रू तीन करोड ९६ लाख ८३ हजार सात सय ३१, हिमालयन डिस्टिलरी रू तीन करोड ८३ लाख दुई हजार पाँच सय ८५, नेपाल लाइफ इन्स्योरेन्स रू तीन करोड ३० लाख तीन हजार आठ सय ६१ र सिद्धार्थ बैंकको संस्थापक शेयर रू दुई करोड ५६ लाख बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।   नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त, शुभम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी चार दशमलव ९८,किसान लघुवित्त चार दशमलब ९३ र विन नेपाल लघुवित्तका लगानीकर्ताले चार दशमलब २५ प्रतिशतले शेयर मूल्य बढेको छ ।   त्यस्तै, लक्ष्मी लघुवित्त पाँच दशमलव ७६, नयाँ सारथी लघुवित्त चार दशमलब ८०,प्रभु लाइफ इन्स्योरेन्स चार दशमलब ७४, ग्रीन डेभलपमेन्ट बैंक चार दशमलब ६८ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलव २० प्रतिशतले शेयर मूल्य बढेको छ ।

काठमाडौं:  काठमाडौं महानगरपालिका ३२ वटै वडामा आज (बिहीबार) बाट निःशुल्क कानुनी सहायता सुरु भएको छ । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले विवादहरू समाधानका लागि महानगरका ३२ वटै वडामा निःशुल्क कानुनी सहायता सुरु गरिएको बताउनुभयो ।   जसका लागि महानगरले नेपाल ल क्याम्पसँग सम्झौता गरेको छ  । क्याम्पसका स्नातक उत्तीर्ण गरेका ३२ जना कानुनी परामर्शका लागि वडामा खटिने छन् ।   प्रवक्ता मानन्धरका अनुसार महानगरका वडाका सामान्य विवादहरू महानगरको न्यायिक समितिसम्म आउने गरेका कारण वडामै विवाद समाधान गर्नका लागि यो व्यवस्था गरिएको हो ।   उहाँले भन्नुभयो, ‘‘महानगरका वडाहरूबाट सामान्य किसिमका विवादहरू समाधानका लागि न्यायिक समितिमा आउने प्रवृत्ति बढी भयो । सबै समस्या समाधानका लागि समय धेरै लाग्ने देखियो । त्यसकारण चाप कम गर्न वडामै समाधान गर्नका लागि यो व्यवस्था गरिएको हो ।’’   वडामा खटिने कानुनी व्यक्तिले पनि विवाद समाधान गर्न नसकेको विषयमा महानगरको न्यायिक समितिले समाधान गरिदिने उहाँको भनाइ छ ।

म्याग्दी:    मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक शुक्रबारदेखि दैनिक छ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक छ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिनुभयो । “चैते दशैंको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो “पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो ।” निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ । यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी-गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधबारदेखि हटाइएको छ । बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म सवारी आवतजावत बन्द गर्ने समय तालिका बनाइएको थियो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ ।

काठमाडौं : आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य पछ्यारहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। पहिलो ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरमा कुशल तेस्रो नम्बरमा क्रिजमा उत्रिएका कुशल मल्ललाई पनि गुमाएको थियो।   यद्यपि, तेस्रो विकेटका लागि भीम सार्कीसँग ६१ रनको साझेदारी गर्दै कुशलले एकदिवसीय करिअरको पाँचौं अर्धशतक बनाएका हुन्। दोस्रो ओभरमै दुई महत्त्वपूर्ण विकेट गुमाएको नेपाल कठिन अवस्थामा पुगेको थियो। त्यसपछि कप्तान रोहित पनि १६ रन बनाएर आउट भएका थिए। भीम ३० बलमा २४ रन बनाएर खेलिरहेका छन्।   नेपालले १६ ओभरमा तीन विकेट गुमाएर ९८ रन बनाएको छ। नेपाललाई जितका लागि ३४ ओभरमा दुई सय १३ रन आवश्यक छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गरेको थियो।   यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफ खानले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले।   त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्।  नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै,ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए।   सन्दीपले १० ओभरमा ८०,सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए। आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

काठमाडौं : आसिफ खानको आक्रमक अविजित शतकप्रेरित यूएईले आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य लक्ष्य दिएको छ।   त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गर्यो।   यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले।   त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्।   नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए।   सन्दीपले १० ओभरमा ८०, सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए।   आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्।   उनी आज दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए।   उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति निजी निवासमा सरेको उनले बताए।   शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। 

दमक:  दमकमा नक्कली नोट र लागूऔषध कारोबार गर्दै आएका दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड–४ मेघाबारीबाट एकै परिवारका दुईलाई नक्कली नेपाली  र विदेशी नोटसहित पक्राउ गरेको छ ।   प्रहरीलाई प्राप्त सूचनाका आधारमा बुधबार साँझ खानतलासी गर्दा नेपाली एक हजार दरका काटिएका ६० थान, नकाटिएका २८ थान, पाँच सय दरका दुई थान र अष्ट्रेलियन एक सय दरका तीन थान नक्कली नोटसहित स्थानीय सुवास ताजपुरिया र १९ वर्षीय  प्रवीण ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो । दाजुभाइ मिलेर आफ्नै घरैबाट नक्कली नोटको कारोबार गर्दै आएको र उनीहरुलाई घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार प्रतिबन्धित लागूऔषध, सक्कली नेपाली तीन हजार रुपियाँ, मोबाइल चार थान र एकथान मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

काठमाडौं: बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।   आज छापावल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।   तेजावी सुनको मूल्य एक लाख ६ हजार २ सय रुपैयाँ छ भने चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको छ ।   बुधबार छापावल सुन एक लाख ५ हजार ७ सय र चाँदी १३ सय रुपैयाँमा खरिद विक्री भएको थियो ।

तनहुँ:  तनहुँमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यसवर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताए । “आगलागीको मौसम सुरु भइसकेको छ, जिल्लामा अहिलेसम्म आगलागीका घटना नभइसके पनि जोखिम रहेकाले सचेत हुनुपर्छ,” उनले भने । वन डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा उनको भनाइ छ ।    वन डढेलो लागेको देखेमा निभाउने कार्य गरी जिम्मेवारी नागरिकको भूमिका खेल्न वन कार्यालयले आग्रह गरेको छ । वन डढेलोले कम्तीमा दश प्रतिशत तापक्रम बढाउने बताइएको छ । वनमा डढेलो लगाउने कार्य गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ । कार्यालयले जिल्लाका आठवटै सव डिभिजनलाई वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गर्न परिपत्र गरेको छ ।    सप्ताहव्यापी रुपमा वन कार्यालयको कार्यक्षेत्रमा रहेका सामुदायिक वन समूहसँग समन्वय गरी चेतनामूलक कार्यक्रम र सडक किनारमा रहेका सामुदायिक वनको पात पतिङ्गर सरसफाइ गरी नियन्त्रित आगो लगायतका अन्य वन डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिनेछ । डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । डढेलोको जोखिम कम गर्न कार्यालयले सचेतनामूलक कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाएको छ ।   वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताए । ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौँ’ उनले भने, ‘सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।   वनजङ्गलमा डढेलो लगाउनेलाई कानुनी कारबाही हुने भएकाले त्यसबारेमा सर्वसाधारणलाई सचेत गराउन जरुरी रहेका कार्यालय काफ्लेले बताउनुभयो । वन ऐन २०७३ बमोजिम डढेलो लगाउनेलई तीन वर्षसम्म कैद र रु ६० हजारसम्म जरिवाना हुने व्यवस्था छ । जिल्लाको ८२ हजार पाँच सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश  स्थानीय तहमा ६ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन रहेका छन् ।