काठमाडौं: त्रिभुवन विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पसरकलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आज (आइतबार) हुँदै छ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म विद्यार्थीले आफ्नो प्रतिनिधि चयन गर्न सक्नेछन् । शुक्रबारसम्म दुईवटा आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त सयौँ कलेज÷क्याम्पसमा युनियन निर्विरोध गठन भइसकेको अधिकारीले जानकारी दिनुभयो । समन्वय समितिले निर्वाचन सम्पन्न नहुन्जेलसम्म विद्यार्थी, कर्मचारी, प्राध्यापक सबैलाई जिम्मेवार भएर आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।
पोखरा: कलाकार बालकृष्ण समद्धारा विश्वविख्यात चित्रकार साल्भाडोर डालीको उपमा पाएका दुर्गा बराल ‘वात्सायन’ले जीवनका ४५ बर्ष बढी नेपाली चित्रकलामा बिताए। जीवनको ८० बर्ष पार गर्दासम्म उनले चित्रकला त्यागेका छैनन् । नेपाली चित्रकला र काटुर्नको श्रीवृद्धीमा उनले सारा जीवन खर्चिए । सामाजिक विषयवस्तु र प्रकृतिका विषयमा अनेकन चित्र बनाए । नेपाली राजनीति र सामाजिक क्षेत्रका विकृतिमाथि चोटिलो कार्टुन प्रहार गरे । शान्त र हसिलो स्वभावका बात्सायनका कार्टुनमा राजनीतिमा देखिएका विकृतिमाथि दरिलो बिद्रोह झल्किन्छ, जसले कुनै समय सत्ता, संसद र प्रतिपक्षीमा बसेका दलहरुसमेत त्रसित बनेका थिए । चित्रकारिता प्रतिको लगावकै कारण उनले जीवनका अनेक आरोह अवरोहको सामना गरे । पढ्न भन्दा चित्र बनाउन ध्यान दिए । उनले विषयलाई अक्षरमा भन्दा चित्रमा बुझे । समाज र राजनीति शब्द र आवाजमा होइन, चित्रमा उतारे । चित्रकारितामा उनको जीवनपर्यन्त लगाव देखेर शनिबार पोखराले उनलाई रथारोहणसहित अभिनन्दन ग¥यो । कलाकारलाई राज्यले होइन, आम नागरिक र सर्वसाधारणले सम्मान दियो । उनी सम्मानित बने । वात्सायनको घर अगाडि शनिबार विहानदेखि विभिन्न थरीका मानिसका भिड थिए । त्यहाँ विद्यार्थी थिए । विभिन्न जातजाती, भाषा, धर्म र संस्कृतिका अग्रज उपस्थित थिए । कलाकारिता र साहित्यका अनुरागीहरु नहुने कुरै भएन । सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । उनको घरबाट रथयात्रा गराएर वात्सायन दम्पत्तिलाई विन्ध्यवासिनी मन्दिर पु¥याइएको थियो । पोखरेलीले वात्सायनको रथयात्रा हुने घर अगाडी श्रद्धास्वरुप घर अगाडी तामाको गाग्रीमा पानी भरेर फुल राखेका थिए । व्यंग्यचित्रकार बराललले चित्रकलाको माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै जन्मभूमी पोखरा परिक्रमा गरी नागरिक अभिनन्दन गरिएको हो । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखरामा क्रियाशील झन्डै तीन दर्जन वाङमयिक संघसंस्था लगायतले बराललाई नागरिक अभिनन्दन गरेका हुन् । बराल निवास नदीपुरबाट सुरु भएको रथयात्रा पोखरा बजार परिक्रमा गरी विन्ध्यवासिनी मन्दिरमा पुगेर नागरिक अभिनन्द गरिएको थियो । बराललाई व्यंगचित्रकारितामा लाग्न साथ र सयोग गर्दै आएकी जीवनसंगिनी पार्वतीलाई पनि रथारोहणमा संगै राखेर अभिनन्दन गरिएको थियो । वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, कवी तीर्थ श्रेष्ठ लगायतले बराललाई नागरिक अभिनन्दन गरेका थिए । सानै उमेर देखि धुलीमाटीमा औंलाले चित्र बनाएर चित्रकारिता सुरु गरेका बराल अहिले पनि चित्रकारितामा सक्रिय रहेर समाजका विकृति विसंगतीलाई चेटीलो प्रहार गर्दै सभ्य समाज निर्माणकालागि घच्घच्याउँदै आएका छन् । नेपाली चित्रकारितालाई अतियतार्थवादी धारमा डोर¥याउन गरेको अतुलनीय योगदानको कदरस्वरुप रथारोहण गर्न लागिएको पोखेरेली सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । बरालले पोखरालाई पानी रंगको चित्रकारितामा स्थापित गर्दै युवा पुस्तालाई चित्रकारितामा लाग्न प्रेरित गर्दै आएका छन् । वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै बरालले व्यंग्यचित्रकारितामा सर्वोच्च शिखरका रुपमा आफूलाई उभ्याउनु भएको वरिष्ठ साहित्यका सरुभक्त श्रेष्ठले बताए । बराल पोखरामा जन्मेका विश्वस्तरीय व्यंग्यचित्रकार रहेको पनि उनले बताए । चित्रकारिताका साथै फोटोग्राफी कला र प्रशिक्षणमा पनि उनको योगदान रहेको छ । राजधानी काठमाडौं बस्न छाडेर जन्मभूमि पोखरालाई कर्मथलो बनाएका बराल देशविदेशसम्मै परिचित छन् । बराल व्यंग्यचित्रका बादसाह रहेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए । कलाको माध्यमबाट समाज र राजनीतिका विकृती तथा विसंगतलाई चिर्न कसैले सकेको छ भने त्यो नाम वात्स्यायन रहेको उनले श्रेष्ठले बताए । बराल कलाका माध्यमबाट साहित्यीक गतिविधि गर्न प्रोत्साहित गर्ने अभिभावकको रुपमा रहेको पनि श्रेष्ठले बताए । नेपाली कला क्षेत्रमा लामो समय काम गरेका बरालले दर्जनौं पुरस्कार एवम् सम्मान पाएका छन् । बरालले सन् १९६५ मा राष्ट्रिय कला प्रदर्शनी, नाफा, बिपी पत्रकारिता पुरस्कार, जगदम्बाश्री, प्रवल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, वासुदेव लुइँटेल लगायतका पुरस्कार पाइसकेका छन् । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिक मार्फत वात्स्यायनले कार्टुन करिअर सुरु गरेका थिए । को हुन वात्सायान १९९९ चैत ५ गते कास्कीको आर्बा (हालको पोखरा १३) मा जन्मेका दुर्गा बराल ‘वात्स्यायन’ विश्वस्तरका व्यंग्यचित्रकार हुन् । पोखरामा ‘वाटर कलर स्कूल’ सुरु गर्ने श्रेय बराललाई जान्छ । बराल व्यंग्यचित्रकारिताबाट चर्चित रहे पनि पानी रङ्गको चित्र, फोटो ग्राफीमा उनको उतिकै दक्षता रहेको छ । व्यवसायिक रुपमा चित्र र फोटो ग्राफी समेत गरेको अनुभव उनि संग छ । उनले पोखरामा इगल आई स्टुडीयो चलाएर चित्र र फोटोग्राफीको व्यवसाय पनि गरेका थिए । जीव विज्ञानका विद्यार्थी बराल पढ्नमा भन्दा चित्र कोर्नमा सानै देखि मन पराउथे । पेन एन्ड इङ्कमा कोरिएका चित्र (चोक र तमसुक शृङ्खलामा रचिएका चित्र) तथा एक्रेलिकमा कोरिएका चित्र (द फेसेज अफ टाइम एन्ड कलर्स अफ सेन्सिबिलिटी नामक प्रर्दशनीमा प्रदर्शित कला)मा उनको आफ्नै मौलिकता देख्न सकिन्छ । चोक र तमसुक शृङ्खलामा रचिएका चित्र नेपाली कलाको कोशेडुंगा रहेको कवि तीर्थ श्रेष्ठ बताउँछन् । बरालको ‘समयको अनुहार र समयका रङ्गहरु’मा देशको पिढा (द्धन्द्धको प्रभाव) समेटिएको कवि श्रेष्ठ बताए । बरालले चार एकल चित्रकला प्रर्दशन गरेका छन् । उनको पहिलो चित्रकला प्रदर्शनी सन् १९७३ मा नेपाल ललित कला प्रतिष्ठान, काठमाडौंमा भएको थियो । यसैगरी सन् १९८३ मा नेपाल–भारत सांस्कृतिक केन्द्र, काठमाडौं, सन् २००४ मा सिद्धार्थ आर्ट ग्यालरीमा र चौथो प्रदर्शनी सन् २००६ मा ग्यालरी नाइन लाजिम्पाटमा भएको थियो । स्वदेश तथा विलेशमा थुप्रै सामूहिक चित्रकला प्रर्दशनीमा उनि सहभागी भएका छन् । कार्टुनको क्षेत्रमा वात्स्यायनबाट बढी चिनिएका बराल यसैका माध्यमबाट आफूलाई नेपालकै सर्वोत्कृष्ट काटुनिस्टका रुपमा स्थापित गराएका छन् । साठीको दर्शकको मध्यतिर २० वर्षे कलिलो उमेरमै उनले नयाँ सन्देश साप्ताहिक पत्रिकामार्फत् आफ्नो कार्टुन करिअर सुरु गरेका थिए । साहित्यिक पत्रिका प्राङ्गण र राष्ट्रपुकार, मातृभूमि, सुरुचि, देशान्तर, गोरखापत्र, कान्तिपुर र द काठमाडौं पोस्ट जस्ता पत्रपत्रिकामा काम गरेका थिए । कला क्षेत्रमा पाँच दर्शकभन्दा बढी समय विताइसकेका बरालले नेपाली राजनीतिक विकृति र त्यसको कुरुप तस्वीरलाई आफ्नो कलामार्फत जीवन्त देखाइदिने गरेका छन् । बरालले एकल कार्टुन प्रर्दशनी पनि गरेका छन् । उनको प्रकाशित कृतिमा वात्स्यायन एन्ड हिज बाब्र्सः अ कार्टुनिस्ट्स टेक अन पोस्ट १०९० नेपाल (भोल्युम १) रहेको छ । वात्स्यायन एन्ड हिज बाब्र्स (भोल्युम २), प्रकाशोन्मुख रहेको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)को भोलि (आइतबार) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिनुभयो । ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले विद्युतीय मतदानका लागि सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२/१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ । उहाँले चार क्याम्पसमा मतपरिणाम सोही दिन सार्वजनिकसमेत हुने बताउनुभयो । त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन् । त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा दुई हजार छ सय ९९ र धरानमा एक हजार नौ सय ४१ मतदाता छन् । स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुँदैछन् । रामलक्ष्मण इनोभेसनका सञ्चालक रिमालले विद्युतीय मेसिनमा मतदाताले पहिले प्रत्यक्ष मतदान गरिसकेपछि समानुपातिकका लागि मतदान हुने बताउनुभयो । उहाँका अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य तथा समानुपातिक गरी पाँच मतपत्र हुनेछन् । बिहान ८ देखि अपराह्न ४ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।
पोखरा: पोखरामा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’लाई रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । ‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा पोखरामा क्रियाशील दजएन बढी वाङ्ममय तथा सामाजिक संघसंस्थाले अभिनन्दन गरेका हुन् । नदीपुरस्थित उनको घरबाट सुरू भएको रथयात्रा बगर, ट्याक्सी चोक,बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । बाजागाजासहितको रथयात्रालाई स्थानीयले घरघर अघि फूल र घडाले स्वागत गरेका थिए । समारोहमा पोखरा महानगरसहित विभिन्न संघसंस्थाले सम्मानपत्रले सम्मान गरे । रथारोहणमा वरिष्ठ साहित्यकाहरू सरुभक्त, तीर्थ श्रेष्ठ, वरिष्ठ गायिका हरिदेवी कोइराला लगायतका कलाकार सहभागी थिए। साहित्यकार, कलाकार, नागरिक समाज, विद्यार्थीलगायतले ब्यानरसहित उपस्थिति जनाएका थिए। समारोहमा उनको धर्मपत्नी, छोराहरू र परिवारका सदस्यको पनि उपस्थिति थियो। वात्स्यायन १९९९ सालको चैत ५ गते कास्कीको आर्बा (हाल पोखरा-१३) मा जन्मिएका थिए । पोखरालाई ‘पानी रङको विद्यालय’का रुपमा चिनाउने मुख्य श्रेय उनै कलाकार वात्स्यायनलाई जान्छ । करिब ३० को दशकमा पोखरामा ‘इगल आई’नामक आर्ट स्टुडियो खोलेर उनले पोखरामा पानीरङ चित्र्याएका थिए ।
पोखरा: सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ ले स्पष्ट भनेको छ, ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइनेछैन ।’ यसैलाई आधार मानेर प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ ले पनि सोही कुरालाई परिभाषित गरेको छ । तर पछिल्लो समय राइङ सेयरिङको नाममा कानूनको धज्जी उडाउँदै इनड्राइभ (निजी सवारी साधन) ले यात्रु बोक्ने गोरखधन्दा चलाइरहेको छ । इन्ड्राइभले काठमाडौंसँगै पछिल्लो समय पोखरामा पनि गतिविधि व्यापक बनाएको छ । पोखराका मुख्य चोकहरुमा अवैधरुपमा इन्ड्राइभ सेवा प्रदायक मोटरसाइकल र ट्याक्सीहरु तैनाथ हुन्छन् । यद्यपि उनीहरु भने खुलेरै इनड्राइभ सेवाको बारेमा बताउदैनन् । किनभने उनीहरुलाई इनड्राइभ अवैध हो भन्ने थाहा छ । यतिमात्र नभएर इनड्राइभरलाई भेटेको खण्डमा ट्राफिकले २ हजार जरिवानासहित कारवाही गर्न पाउने अधिकार छ । त्यसैले इनड्राइभरहरु खुल्दैनन् । यस्तो गैरकानूनी गतिविधिबारे सरोकारवाला र प्रदेश सरकार पनि जानकार छ । तरैपनि चुपचाप छ । ‘इनड्राइभ गण्डकी प्रदेशमा दर्ता पनि छैन । स्वीकृत पनि लिएको छैन’, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका प्रवक्ता टिकाराम पौडेलले सुनगाभा न्यूजसँग भने, ‘त्यसैले यो अल्टिमेट्ली कानून बर्खिलाप छ ।’ उनले इन्ड्राइभ प्रदेशमा दर्ता नभएको र स्वीकृत नलिएकाले कानून विपरित भएको दोहोर्याए । रातो प्लेटको सवारी साधन निजी प्रयोजनमा मात्रै प्रयोग हुने व्यवस्था कानूनमै स्पष्ट उल्लेख गरेको बताउदै सार्वजनिक काममा प्रयोग गर्न नपाईने बताए । ‘रातो प्लेटको सवारी भनेको निजी प्रयोजनका लागि हो, प्रवक्ता पौडेलले भने, ‘संघीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ ले पनि त्यही भन्छ । कुनै पनि सवारी जे प्रयोजनमा दर्ता भएको हो त्यही प्रयोजनमा प्रयोग हुनुपर्छ भन्छ । अन्यथा कानून विपरित मानिन्छ ।’ उनले संघीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संसोधनको प्रक्रियामा रहेको बताउदै भने, ‘ऐन संसोधनको प्रक्रियामा छ त्यहाँ यो विषयको सबै कुराहरु समेटियो भने प्रदेशले पाउने अधिकार अनुसार हामी अघि बढ्न सक्छौ ।’ प्रवक्ता प्रौडेलले केन्द्रले नै इन्ड्राइभलाई रोक्न नसकेको बताए । ‘संघीय सरकारले त केन्द्रमै रोक्न सकेको छैन, उनले भने, ‘हामीले नै हात हालेर अघि बढ्न सक्ने अवस्था नै छैन ।’ उनले इनड्राइभको दर्ताका लागि मापदण्ड पनि स्पष्ट नभएको बताए । ‘अहिलेसम्म त्यस्तो स्पष्ट कार्यविधि र मापडण्ड छैन, उजुरी र प्रयोजन विपरित प्रयोग भएको प्रमाणित भए ट्राफिक प्रहरीले कारवाही गर्ने हो ।’ इनड्राइभले गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रलायमा न दर्ता गरेको छ । नत स्वीकृति नै लिएको छ । त्यसैले यसले राज्यलाई राजस्व (कर) तिर्दैन । यतिमात्र होइन यसको पोखरामा कार्यालय पनि छैन । डिजिटल प्रविधिको प्रयोगले सेवा दिदै आएको इनड्राइभले अनलाइन दुनियामा व्यापक गतिविधि बढाएको छ । प्राय इनड्राइभलाई पेशा नै बनाएर लागिरहेका छन् भने कतिपय अतिरिक्तरुपमा यात्रु बोक्ने गरेको पाइएको छ । एक इन्ड्राइभरले दैनिक १ हजार ५ सय देखि २ हजार ५ सय रुपैयाँसम्म कमाउन सक्ने बताए । ‘मैले आज १५ सय कमाए, लेकसाइडबाट एउटा विदेशीलाई सराङ्कोट पुर्याएर लेकसाइड छोडेको थिए’, ति इन्ड्राइभरले भने, ‘मान्छे पायो भने त दिनमा २५ सय रुपैयाँसम्म कमाइन्छ । तर लुकीलुकी काम गर्न परेको छ ।’ अर्का इन्ड्राइभरले बिहान र बेलुकी मात्रै अनलाइनमा बस्ने गरेको बताए । ‘मैले दिनमा त जागिर गर्छु, त्यै बिहान र बेलुकी अफिसबाट निस्केपछि काम गर्छु । त्यस्तो कमाई हुन्न तेज जोहो गर्न सजिलो भाछ । जागिर जाने आउने बेला मेसो मिल्दा बोक्छु ।’ पोखरामा इनड्राइभमा संलग्नहरुको अनलाइन समूह छ । जहाँ कोहीपनि व्यक्ति सदस्य बन्न सक्छ । र, व्यवसायमा जोडिन सक्छ । पछिल्लो हप्ता एकैदिनमा २१ जना यस समूहमा जोडिएका छन् । उनीहरुले फेसबुक पेजमा ड्राइभरहरुको नाम र संख्या उल्लेख गरेका छन् । तर अहिले पेजमा जोडिन सहज भने छैन । सोही पेजमा रहेका एक जनाले इनड्राइभको वैधानिक र दर्ताबारे प्रश्न गरेपछि एडमिनले उनीसहित २ महिला सदस्यलाई पनि हटाएका छन् । त्यसपछि एडमिनले निकै कडाई गरेका छन् । उनीहरुको समूहको नाम ‘राइडर्स युनियन टिम’ हो । हाल इन्ड्राइभमा आबद्ध समूह नै पोखरामा ७ वटा छन् । इनड्राइभले आफ्नै भाडादर कायम गर्दै मनोमानी भाडा असुल्दै आएपछि ट्याक्सी व्यवसायीहरु चिन्तित बनेका छन् । ‘उनीहरुले नत सरकारले कायम गरेको भाडा लिन्छन् नत कर नै तिर्छन । हामीलाई त रुनु न हाँस्नु बनाएको छ, एक ट्याक्सी चालकले भने, ‘यसकै कारण हामीले हाम्रो समिति छाड्न परेको छ ।’ रातो प्लेटले यात्रु बोक्न पाइदैनः अध्यक्ष गिरी गण्डकी पब्लिक लिमिटेडका अध्यक्ष गान्धीराज गिरीले इनड्राइभ अवैध भएकाले गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गरिसकेको बताए । उनले रातो नम्बर प्लेटले यात्रु बोक्न नपाइने र स्वतस्फूर्त भाडादर कायम गर्न नपाइने बताउदै नियमन गर्न आवश्यक रहेको बताए । ‘इनड्राइभ त इल्लेगल काम हो त्यसैले ट्याक्सी व्यवसायीमाथी चुनौती बढेको छ, उनले भने, ‘रातो प्लेटले सार्वजनिक काम गर्न पाउदैन भन्ने कानूनमै स्पष्ट उल्लेख छ । यो विषय सरकारसँग भनिसकेका छौं ।’ उनले कानून विपरित कार्य भएकाले ट्राफिक प्रहरीलाईसमेत जानकारी दिइसकेको बताए । ‘अवैध रुपमा निजी सवारीले यात्रु बोकेकाले उक्त गतिविधिलाई रोक्न हामी सबैलाई ध्यानाकर्षण गरिसेकेका छौ । सरकारले यसको छिटै निचोड निकाल्नुपर्छ ।’ उनले भने । गिरीका अनुसार गण्डकी पब्लिक लिमिटेडसँग गण्डकी प्रदेशभरबाट ७ सय ७५ आबद्ध छन् । उक्त लिमिटेड बाहेक अन्य व्यवसायीहरुक गरि गण्डकी प्रदेशमा करिब २ हजार बढी ट्याक्सी छन् । हाल इनड्राइभकै कारण समिति विवादित बन्न थालेको छ । कतिपय ट्याक्सीले समिति छाडिसकेका छन् । र मासिक शुल्कसमेत तिर्न छाडिसकेका छन् । अध्यक्ष गिरीले ट्याक्सी व्यवसायीलाई मासिक शुल्क अनिवार्य नगरेको बताए । ‘तपाइहरुले अनिवार्य तिर्नुस् भन्ने हुदैन । मन लागेकाले तिर्ने हो त्यसले दुर्घटना भए क्षतिपूर्ती पाउँछ, गिरीले भने, ‘शुल्क नतिरे क्षतिपूर्ती नत्र पाउन्न ।’ उनले इनड्राइभको विषयलाई वार्ताबाटै हल गर्नका लागि पहल गरिरहेको बताए । ‘गैरकानूनीरुपमा देखिएको इनड्राइभलाई वार्ता र संवादबाटै रोक्न पर्छ भनेर सरकारसँग पटकपटक बसेर ध्यानाकर्षण गरेका छौं , उनले भने, ‘यतिमात्र नभएर ट्राफिक प्रहरीलाई पनि जानकारी गरेका छौ अब केही दिनमै अनुगमन हुन्छ भन्ने बुझेका छौं ।’
काठमाडौं: आगामी वर्ष २०८० सालका लागि सरकारले विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ । गृह मन्त्रालयले वर्षभरि हुने ५२ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ । आगामी २०८० साल वैशाख १ गते नयाँ वर्ष, वैशाख १८ गते विश्व मजदुर दिवस र वैशाख २२ गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ । भदौ १४ गते रक्षाबन्धनको र भदौ २० गते श्रीकृष्ण जन्माष्टमीको बिदा दिइएको छ । त्यस्तै असोज ३ गते संविधान दिवस, असोज २८ गते घटस्थापनाको बिदा दिइएको छ भने कात्तिक ४ (फूलपातीदेखि द्वादशीसम्म) देखि ९ गतेसम्म सार्वजनिक बिदा हुनेछ । कात्तिक २६ देखि ३० गतेसम्म लक्ष्मी पूजा, म्हपूजा/नेपाल संवत्गो/वद्र्धन पूजा र दुई दिन भाइटीकाको बिदा हुने घोषणा गरिएको छ । यसैगरी मङ्सिर ३ गते छठ पर्व, पुस ९ गते क्रिसमस डेको र पुस १० गते ज्यापू दिवसरयोमरी पुन्हीको बिदा दिइएको छ । पुस १५ गते तमु ल्होसारको बिदा रहनेछ भने माघ १ गते माघी पर्व, माघ २७ गते सोनम ल्होसारको बिदा हुनेछ । फागुन २५ गते महाशिवरात्रि र फागुन २८ गते ग्याल्पो ल्होसारको बिदा घोषणा गरिएको छ । यसबाहेक दिन नतोकी इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र र बकर इदको बिदा हुने गृह मन्त्रालयले जनाएको छ । सरकारले फागु पूर्णिमाका लागि हिमाल र पहाडका ५६ जिल्लामा चैत ११ र तराईका जिल्लामा चैत १२ गते बिदा घोषणा गरिएको छ । मन्त्रालयको सूचीअनुसार भदौ ७ गते गौरा पर्व, भदौ १४ गते गाईजात्राको बिदा दिइने उल्लेख छ । सिरुवा पर्वको बिदा धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि हुने घोषणा गरिएको । त्यस्तै महिला कर्मचारीका लागि असोज १ गते तीज र असोज २० गते जितिया पर्वको बिदा हुनेछ । पुस २७ गते पृथ्वी जयन्ती ९राष्ट्रिय एकता० दिवसको बिदा घोषणा भएको छ । फागुन २ गते वसन्त पञ्चमीको दिन शिक्षण संस्थाका लागि बिदा घोषणा भएको छ । गृह मन्त्रालयले भदौ १४ गते गाईजात्रा, असोज ११ गते इन्द्रजात्रा र भोटोजात्रा तथा चैत २६ गते घोडेजात्राको बिदा उपत्यकाका लागि दिने निर्णय गरेको छ । सरकारले यसै वर्षदेखि दिन थालेको फागुन १ गते जनयुद्ध दिवसको बिदालाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ । फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको बिदा तोकिएको छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती, मोहम्मद जयन्ती, मंसिर ११ गतेको गुरु नानक जयन्तीको बिदा सम्बन्धित धर्मावलम्बीलाई मात्र हुनेछ । यसबाहेक सरकारले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस जेठ २१ गते, निजामती सेवा दिवस भदौ २२ गते र माघ १६ को शहीद दिवस मनाउने तथा ती दिनमा कार्यालय बिदा नहुनेसमेत घोषणा गरेको छ । विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको सार्वजनिक बिदालाई दृष्टिगत गरेर बढीमा १८ दिन सार्वजनिक बिदाको व्यवस्था र समायोजन गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।
काठमाडौं: विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका १० वटा आङ्गिक क्याम्पसमा निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने भएको छ । त्रिविले ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियुको निर्वाचन गर्दै छ तर विद्यार्थी सङ्गठनले त्रिविले तोकेको समयभन्दा पछाडि विद्यार्थी भर्ना गरेको भन्दै एकअर्कालाई दोष लगाएर तालाबन्दीमा उत्रेपछि ती क्याम्पसमा तत्कालका लागि निर्वाचन टरेको हो । स्ववियुको निर्वाचन गराउने त्रिविअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, केन्द्रीय आयुर्वेद क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्यस्तै आङ्गिकअन्तर्गत नै उपत्यकाबाहिरका पोखरास्थित पृथ्वीनारायण क्याम्पस, बागलुङको धौलागिरि बहुमुखी क्याम्पस, महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा पनि बिहीबार साँझसम्म निर्वाचन प्रक्रिया सुरु भएको छैन । अब ती क्याम्पसमा चैत ५ गते निर्वाचन गर्न मुस्किल हुने निर्देशनालयले जनाएको छ । यीमध्ये अधिकांश क्याम्पसमा तालाबन्दी छ । केहीमा निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएपछि प्रक्रिया रोकिएको छ । प्रक्रिया रोकिएकामध्ये त्रिचन्द्र क्याम्पसको निर्वाचन समितिले चैत ९ गते मतदान गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले जारी गर्नुभएको निर्वाचन तालिकामा उल्लेख छ ।
पोखरा: सहारा क्लब पोखराले सातौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७९ लाई सघाउने भएको छ । शुक्रबार सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ ‘सुरज’ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार सहाराले पोखरा स्पोटर्स अवार्ड अन्र्तगत उदीयमान वर्ष खेलाडीको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । उदीयमान खेलाडीको पुरस्कार नगद ३५ हजार रुपैयाँ रहेको छ । सो हस्ताक्षर कार्यक्रममा सहारा क्लव पोखराका पूर्वअध्यक्ष विरभद्र आचार्य, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, सदस्य सुर्दशन रञ्जितको उपस्थिती रहेको थियो । सहारा क्लवले यसअगाडीका संस्करणमा पनि सोही विधाको पुरस्कार प्रायोजन गर्दै आएको थियो । आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा हुने पोखरा स्पोटर्स अवार्ड २०७९ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका सचिव शशी कुमार पौडेलले बताए । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्थाका साथै व्यापारिक प्रतिष्ठानहरुबाटपनि सघाउने प्रतिवद्धता आइरहेको मञ्चका सचिव पौडेलको भनाई छ ।
पोखरा: अनुज कुमार बाँस्तोला, नविन श्रेष्ठ, राजन पौडेल र लक्ष्मण तामाङ पोखरा रंगशालामा जारी तेस्रो रेवान कप टेनिस प्रतियोगिताको एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको क्वाटर फाइनल खेलमा कुमार बास्तोलाले पोखराको दोश्रो वरियतामा रहेका भट्टराईलाई ६–३ र ७–६ को सेटमा पराजित गरे । त्यसैगरी नविन श्रेष्ठले चौंथो वरियतामा रहेका विकास गुरुङलाई ६–१ र ६–२ को सेटमा पराजित गरे । पोखराको शिर्ष वरियता प्राप्त राजन पौडेलले शरण गुरुङलाई ६–३ र ६–४ को सेटमा तथा लक्ष्मण तामाङले कर्ण तामाङलाई ६–१ र ६–४ को सेटमा पराजित गर्दै अन्तिम चारमा आफ्नो नाम लेखाउन सफल भएका हुन् । अब फाइनल प्रवेशका लागि अनुजले नविनसँग तथा राजनले लक्ष्मणसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गत डबल्सतर्फको क्वाटरफाइनलमा गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेलको जोडीले इन्द्र गुरुङ र इन्द्र गुरुङको जोडीलाई ४–६, र ६–१ र सुपरटाईमा १०–४ ले पराजित गरे । त्यस्तै, पदम गुरुङ र हुम आलेको जोडीले अनिल तुलाचन र लक्ष्मण तामाङको जोडीलाई ६–३ र ६–४ ले तथा राजन पौडेल र लोक गुरुङको जोडीले विकास गुरुङ र शरण गुरुङको जोडीलाई ७–६ र ६–२ ले पराजित गरे । अर्को क्वाटरफाइनलमा अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीले भिष्मराज पौडेल र माधव भण्डारीको जोडीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । प्रतियोगिताको सेमिफाइनल खेल शनिबार बिहान हुने टुर्नामेण्ट डाइरेक्टर शक्ति सर्माले जानकारी दिए ।

