काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

काठमाडौं:    हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धरानमा २७ मिलिमिटर वर्षा भएको छ । जनकपुरमा २०, सिमरामा १६, धनकुटामा सात, ताप्लेजुङमा पाँच, विराटनगरमा छ र जिरीमा सात मिलिमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।

काठमाडौं:    त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ ।       त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिनुभएको हो । उहाँले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।       “स्थगन भएका क्याम्पस/कलेजमा पनि आगामी चैत १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सोअगावै आपसी समझदारी कायम गर्दै कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस, राजनीतिक दल, विद्यार्थी सङ्गठन, स्थानीय प्रशासनलाई अनुरोध गर्दछु”, उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।       उहाँले केही क्याम्पसमा विद्यार्थी सङ्गठनको सामान्य विवादका कारणले मतदान स्थगन गर्नु परे तापनि अधिकांश क्याम्पसमा शान्तिपूर्णरुपमा सम्पन्न भएको बताउनुभएको छ ।      हिजो चैत ५ गतेदेशभर नै त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि भएको स्ववियु निर्वाचन भएको थियो ।      ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।      उपत्यकामा त्रिचन्द्र, आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कर्मश क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध छ ।      यस्तै, सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस पनि निर्वाचन प्रक्रिया रोकिएको छ ।

काठमाडौं:    नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।     समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका मन्त्री तथा विशिष्ट कर्मचारी र व्यक्तित्वहरुलगायतको उपस्थिति थियो । उपराष्ट्रपति यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।   

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ। सत्तारूढ दलको गठबन्धन राष्ट्रपति तथा उपराष्ट्रपति चुनावबाट विभाजित भएसँगै नियुक्त भएको अढाई महिनामै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो। गठबन्धन टुटेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। प्रधानमन्त्रीलाई चैत १२ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।   पहिलो पटक नेकपा (एमाले) लगायतका दलहरूको समर्थनमा सरकार बनाउनुभएका प्रचण्डले सदनमा उपस्थित सङ्ख्याको झन्डै ९९ प्रतिशत सांसदको विश्वास मत पाउनुभएको थियो। तर एमालेसँगको गठबन्धन तोडेपछि यो पटक प्रधानमन्त्रीले एमालेलगायतका केही दलको मत नपाउने अवस्था छ। प्रमुख प्रतिपक्षी दल एमालेले विश्वासको मतबारे संस्थागत निर्णय गरिसकेको छैन। तर नेताहरूले भने मत नदिने बताउँदै आएका छन्। सरकारबाट बाहिरिएको राप्रपाले विश्वासको मत नदिने निर्णय गरिसकेको छ।  वर्तमान गठबन्धनमा आबद्ध अन्य दलहरूले विश्वासको मत दिने राजनीतिक सहमति शनिबार नै गरिसकेका छन्। नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतले मत दिने निर्णय गरिसकेका छन्। कांग्रेस र एकीकृत समाजवादीले सरकारमा सहभागी हुनेसमेत निर्णय गरिसकेका छन्। दुवै दल आइतबारदेखि नै संसद्को सत्तापक्षको स्थानमा समेत बसेका छन्।   प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा (माओवादी केन्द्र)सँगै यो पटक नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतको समर्थन छ। कुल २७५ सदस्यीय प्रतिनिधि सभाको बहुमतसहित प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुने छ। विश्वासको मतका लागि प्रधानमन्त्रीलाई १३८ सांसद आवश्यक पर्नेछ।    सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२ सिट छ। यस्तै कांग्रेसको ८९ सिट भए पनि एक जनाको मताधिकार छैन। राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको तीन सिट छ। यस्तै जनमोर्चाको एक सिट प्रतिनिधि सभामा छ। वर्तमान गठबन्धनको मतअनुसार प्रधानमन्त्री प्रचण्डलाई बहुमतका लागि सहज अवस्था छ। 

बागलुङ: पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ। बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका-२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो।   लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भीरमा खसेकी थिइन्। पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूधन न्यौपानेले बताए।   न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्‍याउँदै गर्दा उनको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

चितवन : भरतपुर महानगरपालिका-१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन लागिएको छ। भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो।   भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताए। धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रंगशाला अलपत्र अवस्थामा रहेको छ। फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ।    भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो। दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो।    'रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो। तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि बढाउन ढिलाइ भएको हो,' उनले भनिन्। खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ।   सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ। दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर संघीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ। यो रंगशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री छन्।    जिल्लामा रंगशाला स्थापनाकालदेखि नै उनको पहलकदमी रहेकाले यसलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको छ। तिर्नुपर्ने भुक्तानीको टुंगो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ।   भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका नाममा लालपूर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको  २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो। निर्माणको समयमा फाउण्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो। विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ।   फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ। सोमध्ये नगद र जिन्सी गरी रु ३९ करोड ८० लाख उठेको कट्टेलले बताए।    रकम तिर्न नसके पछि विसं २०७७ साउनदेखि रंगशाला निर्माणको काम रोकिएको हो। निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो। महानगरपालिकाले सहमतिविपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ। 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा पुगेको छ।   सेन्सेटिभ इण्डेक्स १.५२ अंकले घटेर ३६२.२६ विन्दुमा झरेको छ। यसदिन २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख  ४ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भयो। ३० हजार ७७५ पटक कारोबार भयो।   ओरालो लागेको सेयर बजारमा ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। मनुषी  लघुवित्त वित्तीय,युनिक नेपाल लघुवित्त वित्तीय र शुभम पावरको मूल्य १० प्रतिशतले बढेको हो।   कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६ करोड १० लाख मूल्य बराबरको  ​​​​​​​शिवम् सिमेन्टको ४ करोड ५ लाख र एनआईसी एसियाका ४ करोड ८४ लाख बढि मूल्यको सेयर कारोबार भयो।   कारोबारमा आएका १३ उपसमूहमध्ये  ५ को मूल्य बढ्दा ८ उपसमूहका लगानीकर्ताले गुमाए।

पोखरा:  जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्बाचित गण्डकीको सपथ ग्रहण कार्यक्रम आइतबार सम्पन्न भएको छ।  गण्डकी प्रदेश समितिका अध्यक्ष पौडेलले निर्बाचित पदाधिकारी र सदस्यहरूलाइ सपथ गराउनुभएको थियो ।  कार्यक्रममा अध्यक्ष पौडेलले  गण्डकी प्रदेशका जिल्ला  समन्वय समितिहरू सक्रियताका साथ संविधानले तोकेको अधिकार प्रयोग गर्दै  गुणस्तरीय परिणाम निस्कने गरि काममा उत्रन आग्रह गर्नुभयो । बिकासका काममा  हुन सक्ने लापरबाही र ढिलासुस्ती बिकाराल देखिएको भन्दै सबै तहका सरकारहरूको समन्वयमा खडा भएको जिल्ला समन्वय समिती विशेष चनाखो हुनुपर्ने उहाँको भनाइ थियो ।  कार्यक्रममा जि स स महासंघका केन्द्रिय सदस्य बाबुराम बि. क. ,कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सोम बहादुर जि .सि.र संचालन सचिब सरस्वती बगालेले गर्नुभएको थियो।  सपथ ग्रहण लगत्तै सो समितिको पहिलो बैठक समेत बसेको थियो । उक्त बैठकले  जि .स .स. महासंघको चौथो राष्ट्रिय परिषद बैठक गण्डकी प्रदेशको पोखरामा आयोजना  गर्ने केन्द्रिय समिती लगायत सहयोगी सम्पूर्णमा हार्दिक आभार प्रकट गरेको छ।  त्यस्तै बैठकले जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूको क्षमता तथा दक्षता वृद्धि गर्न गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सङ्गको सहकार्यमा फागुन ७ गते विशेष प्रशिक्षण कार्यक्रम संचालन गर्ने ,  जिल्ला समन्वय समितीहरूलाइ कार्य सम्पादनका लागिप्रदेश सरकारले निर्माण गर्नुपर्ने कानुनहरूको सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उप –सचिब खड्गराज सुबेदिले जानकारी दिनुभयो।  

पोखरा:  सशत्र प्रहरी बल गण्डकी प्रदेशका प्रमुख तथा गण्डकी प्रदेश सुरक्षा समितिका सदस्य डिआइजी शम्भु सुवेदीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले विदाई गरेको छ ।   काठमाडौं सरुवा हुनुभएका सुवेदीलाई प्रदेश सुरक्षा समितिको नियमित बैठकको अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले ढाकाको टोपी, खादा, माला तथा मायाको चिनोमार्फत विदाई गर्नुभयो ।   सो अवसरमा बोल्नुहुदै मन्त्री गाहामगरले उत्तरोत्तर प्रगतीको कामनासहित थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । गण्डकी प्रदेशबाट सरुवा भएपनि आवश्यक परेको खण्डमा आगामी दिनमा डिआइजी सुवेदीसँग समन्वय गर्ने धारणा राख्नुभयो ।  सो विदाई कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल आर्मी विजयपुरका पृतनापति दिपक कुमार बाँनिया, राष्ट्रिय अनुसन्धान विभागका गण्डकी प्रदेश प्रमुख अनुसन्धान निर्देशक मधु कार्की, नेपाल प्रहरीका प्रहरी उपरीक्षक खड्क बहादुर खड्का, मन्त्रलायका उपसचिव चण्डिका पौडेल लगायत मन्त्रालयका कर्मचारीहरुले खादा, माला तथा मायाको चिनो प्रदान गरिएको थियो ।   प्रदेश सुरक्षा समितिको नियमित बैठकमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, स्ववियु निर्वाचन लगायतको विषयमा छलफल भएको थियो ।