गण्डकी: लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल अलपत्र परेको छ । पोखरा-२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन । बजेट अभावमा डेढ वर्षदेखि निर्माण ठप्प छ । पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश छन् । निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट नहुँदा कभर्ड हलको काम रोकिएको बताउनुभयो । चालु आवमा कभर्ड हललाई कतैबाट पनि बजेट परेको छैन । पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन पहल भइरहेको अध्यक्ष खड्काले बताउनुभयो । अहिलेसम्म कभर्ड हलमा रु. एक करोड दस लाख खर्च भइसकेको उहाँको भनाइ छ । आव २०७४/०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको रु. ११ लाख बजेटबाट कभर्ड हलको निर्माण सुरु गरिएको थियो । त्यसयता राष्ट्रिय खेलकुद परिष्दको रु. ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको रु. २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु. २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट कभर्ड हलमा भुइँतलाको पिलर र गारो लगाउने काम भएको छ । “सबै संरचना तयार गर्न अझै तीन करोड जति बजेट लाग्छ”, अध्यक्ष खड्काले भन्नुभयो, “भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै इन्डोर खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो ।” कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौडा हुने उहाँको भनाइ छ । सुरुमा रु. तीन करोडको बजेट अनुमान गरिएपनि महँगीका कारण अब लागत पनि बढ्ने भएको छ । नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता पोखरामा हुँदा राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उक्त कभर्ड हलको अवलोकन गरी बजेटका लागि पहल लिने आश्वासन दिनुभएको थियो । प्रदेश सरकारका प्रतिनिधिले पनि पटकपटक बजेटको कमी हुन नदिइने बताउँदै आएका छन् । तर बजेटकै कारण महत्वपूर्ण खेल पूर्वाधार वर्षौँदेखि अलपत्र छ । “जुन उद्देश्यले कभर्ड हलको योजना सुरु गरेका थियौँ, त्यो अनुसार काम नहुँदा हामी पनि दुःखी छौँ”, अध्यक्ष खडकाल भन्नुभयो, “अहिलेसम्मको लगानीलाई यसै खेर जान दिँदैनौ, सरकारसँग हारगुहार गरेर भएपनि कभर्ड हल बनाउँछौँ ।” पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बजेट नभएर कभर्ड हल अलपत्र परेपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो । “कोभिड–१९ महामारी जस्ता कारणले पनि खेल पूर्वाधारमा बजेट कटौती भयो, अब बजेट र स्रोतसाधन जुटाएर कभर्ड हललाई पूर्णता दिनुपर्छ”, उहाँले भन्नुभयो, “खेलकुदलाई राज्यले पनि प्राथमिकतामा राख्नुपर्छ, पूर्वाधार नै नभए खेलकुद क्षेत्र अगाडि बढ्न सक्दैन ।” लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाई गर्नुपर्ने कार्यालय प्रमुख योगीले बताउनुभयो । “खेलाडी उत्पादनदेखि र खेल गतिविधि सञ्चालनका लागि लेखनाथ रङ्गशाला उपुयक्त ठाउँमा छ, संरचना बनाउन सके पोखराको वैकल्पिक रङ्गशाला बन्छ”, उहाँले भन्नुभयो । रङ्गशालामा भएका संरचनाको पनि उचित रेखदेख र संरक्षण हुन नसकेको पोखरा-२९ आदर्शचोकका पूर्ण खत्रीले बताउनुभयो । “स्थानीयवासीले पैसा उठाएर बनाएको ब्याडमिन्टन कोर्टमा तोडफोड हुन थालेपछि हामी जानै छोड्यौँ”, उहाँले भन्नुभयो, “पूर्वाधार नै नभएपछि रङ्गशाला नाम मात्रको भएको छ ।” रासस
गोर्खा: गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने बेला हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार भएको छ । बुधबार साँझदेखि हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीको दलदले निवासी २६ वर्षीय सौरभ खनाल र उनकी साथी २२ वर्षीया अनिता घले गुरुङलाई बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो । उनीहरु मंगलबार घुम्न निस्किएका थिए । तर समस्यामा परेको सूचना सुरक्षाकर्मीले बुधबार साँझ मात्र पाएका थिए । तत्कालै उद्धार टोली परिचालन गरिएको थियो । उनीहरुलाई चुमनुब्री गाउँपालिकाको अप्ठेरो ठाउँमा फेला पारेर उद्धार गरी धर्मशालामा ल्याइएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । प्रजिअ भुसालका अनुसार उनीहरु कसरी त्यस्तो अप्ठ्यारो ठाउँसम्म पुगे भन्ने खुलेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका छन्। उनले सञ्चारमाध्यम सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताए। आज सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति गरिने बताए। ‘सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ,’ उनले भने। उनले अहिलेको सरकार संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा दृढतापूर्वक अगाडि बढिरहेको बताए। ‘सरकार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा छ,’ उनले भने, ‘मैले दृढताका साथ संकल्प गरेको छु, सम्पूर्ण तागतका साथ निरासा र आशंका चिर्दै आशाको रक्तसञ्चार गर्न, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने सरकारको अठोटमा दर्बिलो ऐक्यवद्धता र सहयोगको अपेक्षा गरेको छु।’
झापा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन्। जिल्लामा तीन दर्जन बढि आवास भवनको उद्घाटन गर्न अध्यक्ष ओली झापा आउन लागेका हुन्। उनी दिउँसो १ बजे झापा आउने कार्यक्रम तय भएको छ। उनले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भोलि नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्किनेछन्।
काठमाडौं : सुनको मूल्य आज १२ सय रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार दुई हजारले घटेर प्रतितोला सुन १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ९ हजार रूपैयाँ कायम भएको हो। तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० तोकिएको छ। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। यसदिन चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
नयाँ दिल्ली: सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दैआएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ । नयाँ दिल्लीमा आज बुधवार भएको भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा उहाँले सो आग्रह गर्नुभएको हो । ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्नेगरेको गुनासो छ’ मन्त्री शर्माले भन्नुुभयो, ‘दुबै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसूल दरमा सेवा उपलब्ध गराउनुपर्छ ।’ नेपाल र भारत नजिकका छिमेकी राष्ट्र भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकोप्रति ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भन्नुुभयो, ‘यसमा दुवै देशका सेवा प्रदायक र नियामक निकाय सजग हुनुपर्ने देख्छु ।’ त्यस्तै, सञ्चारमन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भारतमा प्रसारण हुन कठिन रहेकोतर्फ पनि भारतीय पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो । मन्त्री शर्माले भन्नुुभयो, ‘भारतमा नेपालीभाषीको ठूलो सङ्ख्या रहेकाले नेपाली च्यानलहरूको सहज प्रसारण हुने वातावरण मिलाइदिन म आग्रह गर्छु ।’ विशेषतः नेपाली च्यानल भारतमा डाउनलिङ्क गर्दा अत्यधिक शुल्क लाग्ने भएकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश हुनुपर्ने उहाँको भनाइ छ । प्राकृतिक सौन्दर्य र संस्कृतिको धनीमुलुक नेपाल चलचित्र छायाङ्कनका लागि अत्यन्त उपयुक्त स्थल भएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भन्नुुभयो, ‘यस सन्दर्भमा नेपालमा अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माण गर्न भारतीय लगानीकर्तालाई उत्प्रेरित गरिदिन पनि उहाँले आग्रह गर्नुभयो । नेपालमा ‘चलचित्र नगरी’ निर्माण गर्न लगानी गरी लगानीकर्ताले उचित प्रतिफल प्राप्त गर्न सक्छन् उहाँले भन्नुभयो । नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न भारत सरकारले लामो समयदेखि विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउँदैआएको र अहिले पनि नेपाललाई सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति आवश्यक परेको उहाँले चर्चा गर्नुभयो । शैक्षिक कार्यक्रममा नेपाललाई सहयोग गर्न पनि उहाँले भारत सरकारसँग अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । यसैगरी सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा मध्यम र छोटो अवधिको तालिममा समेत नेपालबाट अधिकाधिक सहभागिता हुने वातावरण बताइदिन उहाँले आग्रह गर्नुभयो । ‘सूचना प्रविधिको विकाससँगै यस क्षेत्रको जोखिम पनि बढ्दैगएको छ । साइबर सुरक्षा प्रमुख चुनौतिको रूपमा देखापर्न थालेको छ’ बैठकमा मन्त्री शर्माले भन्नुुभयो, ‘यसका लागि हामी दुई मुलुक मिलेर अघि बढ्नुपर्ने आवश्यकता मैले महसूस गरेको छु ।’ आपसी सूचना, अनुभव र अभ्यास आदानप्रदान गर्ने दिगो संयन्त्र तयार गरी क्षमता विकास गर्दै साइबर सुरक्षालाई मजबुत बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । रेडियो नेपाल र अल इण्डिया रेडियोबीच एक अर्काका विषयवस्तु प्रसारण गर्नेलगायतका विषयमा समझदारी गर्नेगरी तयारी भएको आफूूले बुुझेको उहाँले बताउनुभयो । मन्त्री शर्माले समझदारीपत्रको मस्यौदामा नेपालको प्राविधिक टीमले अध्ययन गरिरहेको र छिट्टै यो विषय निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय दूरसञ्चार संघको क्षेत्रीय कार्यालय भारतमा उदघाटन हुनुुले यस क्षेत्रको दूरसञ्चारसम्बन्धी क्रियाकलापमा थप मद्दत पुग्ने अपेक्षा व्यक्त गर्दै उहाँले सूचना प्रविधिको तीब्र विकास भइरहेको यस युगमा यो कार्यालय नयाँदिल्लीमा स्थापना गर्न सफल भएकोमा भारत सरकारलाई बधाई दिनुुभयो । ‘यहाँलाई अवगत नै छ नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । समुद्रसम्मको हाम्रो पहुँचलाई भारत सरकारले रेल तथा सडक यातायातबाट सहज बनाइदिएको छ । यसका लागि म धन्यवाद दिन्छु’ मन्त्री शर्माले थप्नुभयो, “सूचना प्रविधिको उपयोगलाई थप सहज र सुलभ बनाउन समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु । विशेषतः नेपालले अन्तर्राष्ट्रिय ब्याण्डवीथ प्राप्त गर्न सक्षम हुनेगरी सबम्यारिन केवलसम्मको पहुँच सुनिश्चित गर्न भारतले सहयोग गरोस् भन्ने मेरो आग्रह छ ।” हाल नेपालले भारतका सेवा प्रदायकमार्फत् इन्टरनेट ब्याण्डवीथ प्राप्त गर्नेगरेको स्मरण गराउँदै उहाँले नेपालले प्राप्त गर्ने ब्याण्डवीथमध्ये ८० प्रतिशत एकै बिन्दु (भैरहवा–सुनौली) बाट मात्र आइरहेकाले भारतीय सेवा प्रदायकहरूलाई वैकल्पिक रुटबाट समेत ब्याण्डवीथ उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गर्नुभयो । भारतले मोबाइल सेवामा फाइभजी प्रविधि भित्र्याएको हुँदा सोको कार्यान्वयनको अवस्था र उपयोगका सम्बन्धमा अनुभव नेपालका लागि पनि लाभदायी हुनसक्ने महसुुस गरेको उल्लेख गर्दै मन्त्री शर्माले यस सम्बन्धमा प्राविधिक तहमा कुरा अगाडि बढाउन सकिने बताउनुुभयो । भारत सरकारले नेपाललाई स्याटेलाइट उपयोग गर्न प्रस्ताव गरेकोमा धन्यवाद दिंदै उहाँले यसको प्राविधिक र सञ्चालन लागतका बारेमा थप अध्ययनगरी निस्कर्षमा पुग्ने जानकारी दिनुुभयो ।
पोखरा: अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा आगामी बैशाख २ गतेदेखि ४ गतेसम्म अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । गणेश बरालको अध्यक्षतामा नवनिर्वाचति कार्यसमितिको बुधबार बसेको बैठकले पोखरामा अनलाईन पत्रकार संघ गण्डकीमा आवद्ध संचारकर्मी, पत्रकार र सम्पादकहरुलाई लक्षित गरि तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । साथै कास्की जिल्लामा रहेर अनलाईन सम्बद्ध पत्रकार, संचारकर्मीहरुलाई संघमा समेट्ने नीति अवलम्बन गर्ने निर्णय अनुसार नयाँ सदस्यता आह्वान गर्न निर्णय गरिएको अनलाईन पत्रकार संघ गण्डकीका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो । कास्की जिल्लामा अहिले ९३ अनलाईन दर्ता भएर सञ्चालनमा रहेपनि ५२ जनामात्रै संघमा सदस्य रहेको कारण सबैलाई समेट्ने उद्देश्यले चैत मसान्तभित्र नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको हो । दर्ता भएका अनर्लाइनसम्बद्ध पत्रकार र संचारकर्मीलाई संघको नियमानुसार सदस्यता वितरण गर्ने र सदस्यहरुलाई तालिममा सहभागि गराइने उहाँको भनाई छ । सदस्यता लिन https://ojag.org.np/ मा गएर लगइन गरि अनलाईनबाट सदस्यता फारम भर्न सकिने संघका अध्यक्ष बरालले बताउनुभयो । विधिवत दर्ता भएर संचालनमा रहेका अनलाइनका संचारकर्मी, पत्रकारहरुलाई संघमा आवद्द हुन अध्यक्ष बरालले अनुरोध गर्नुभएको छ । त्यस्तै बैठकले समितिको सल्लाहकारमा सागरराज तिमिल्सिना, प्रकाश ढकाल, केशव पाठक, रञ्जन अधिकारी, कमल सुवेदी र सन्देश श्रेष्ठलाई चयन गरेको छ । बैठकले संघको तेश्रो साधारसभा र दोश्रो अधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति चयन गर्न भुमिका खेलेका निवर्तमान कार्यसमिति, निर्वाचन समिति लगायत सम्पुर्ण सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गरेको छ ।
काठमाडौं: व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहनु भएको छ । प्रशिक्षकमा भरतकुमार कार्की हुनुहुन्छ । टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल हुनुहुन्छ । मार्च २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहने छ । चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष २ स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले मार्च २४ मा श्रीलंका, मार्च २५ मा भारत र मार्च २७ मा बंगलादेश विरुद्ध राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
पोखरा: विष्णु नेपाली पोखरा महानगरपालिकाका १६ का निवर्तमान वडासदस्य हुन् । ‘धार्मिक क्षेत्र मास्न पाइँदैन, गैरकानुनी सिफारिस गर्न पाइँदैन’ भन्ने प्लेकार्डसहित धर्ना बस्नु उनको दैनिकी बनेको छ । पोखराको याम्दीदेखि अर्मलाकोटसम्मका मध्यपहाडी लोकमार्गका जग्गाधनीहरुले विगत सात महिना यता निरन्तर आन्दोलन गर्दै आएका छन् । त्यसकै प्रतिनिधि पात्र हुन् वडा सदस्य नेपाली । पोखरा १६ का निवर्तमान वडाध्यक्ष जीवन आचार्यले वडाभित्र पर्ने पुष्पलाल मध्यपहाडी राजमार्गको सम्पूर्ण भेगको लागि आवश्यक पर्ने अर्मलाकोट देखि याम्दी सम्मको जग्गामा कुनै विवाद नभएको र मुआब्जा दिन नपर्ने भन्दै सिफारिश गरेकोमा उनहिरुको आपत्ति छ । क्षतिपूर्ति समेत न्यून तोकिएको र राजमार्गको निर्माणको लागि वडाको सबैको सहमति रहेको भन्दै आचार्यले राजमार्ग बनाउन सिफारिस गरेपछि स्थानीयहरु आन्दोलित भएका हुन् । राजमार्ग रेखाङ्कन भएको खण्डमा महेन्द्र गुफा, चमेरे गुफा लगायतका धार्मिकस्थल भएको र स्थानीयलाई बढी क्षति पुग्ने भन्दै स्थानीयहरुले राजमार्गको वैकल्पिक मार्ग रेखाङ्कनको माग गर्दै वडा कार्यालयमा दैनिक २ घण्टा ताला लगाएर धर्ना बस्न थालेका हुन् । वडासदस्य नेपालीले भनिन् ‘वडाध्यक्षले वडाका सदस्यहरुलाई समेत जानकारी नदिई रेखाङ्कन गर्न लगाउनु नै त्रुटि भयो, हामी सबैलाई मर्का परेको छ ।’ उनले तत्कालिन वडाध्यक्ष आचार्यले त्रुटि गरेको भन्दै हालका जनप्रतिनिधिहरुले राजमार्ग रेखाङ्कनको विकल्प खोज्न जरुरी रहेको बताइन् । कास्कीको मादी गाउँपालिकाअन्तरगत भैसे ज्यादु, मेलबोट, पानीघाट, आँटीघर, कालिखोला पुल, अमला बिसाउनी लामाचौर, जौंबारी र याम्दी पुलसम्म मध्यपहाडी राजमार्ग ३५ दशमलव ५ किलोमिटरको नयाँ रेखाङ्कन भएको छ । ०७७ फागुन ८ गते तत्कालिन गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, पोखरा महानगर प्रमुख मानबहादुर जिसी, मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ लगायतको संयुक्त बैठकले पोखरा महानगरपालिका १३, १२, ११ र १६ हुँदै निर्माणकार्य अगाडि बढाउँदा धेरै संरचनामा लगायत नागरिकहरु घरवारविहीन हुने भन्दै पुनः नक्साकन गर्न सिफारिस गरेको थियो । सयुक्त बैठकले मादी गाउँपालिकाको भैसे पुलदेखि उत्तर बेतयानी, ज्यादु पुल, वडा नम्वर ३ देखि ७ वडा हुँदै गिड मेलबोट पानी घाट, गिउजेखोला हुँदै पोखरा २० सिमानादेखि घ्यापू काफल डाडा, मोहरिया आटीघर कुरागाउँ हुँदै अर्मलाकोट, अर्मलाटारी ¥याले हुँदै महेन्द्र गुफा अमलाबिसौनी, पोखरा महानगरपालिका लामाचौर हुँदै निर्माणाधिन सेती पुलको उपयुक्त हुने रेखाङ्कन सिफारिस गरेको थियो । नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन २६ को बैठकले सोही विस्तृत परियोजना प्रतिवेदनलाई आधार मान्दै भैंसे, ज्याम्दु, मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कालीखोला पुल, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै याम्दी पुलसम्मको ३५ दशमलव ५ किलोमिटर सडक रेखांकन पास गरेको थियो । पोखरा महानगरपालिका १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विवाद भएको क्षेत्रमा आयोजना कार्यालयले तत्काल काम अगाडि बढाउन नसकिने पत्र पठाएको बताए । ‘यो संघीय सरकार मातहतको राष्ट्रिय गौरवको आयोजना हो, रेखाङ्कनको विषय मन्त्रीपरिषदको बैठकले टुङ्गाउँला, हामीले सहजीकरण गछौं निकास चाहिँ संघले दिनुपर्छ’ तिमिल्सिनाले भने, ‘आयोजना क्षेत्र विवादित भएपछि कार्यालयले विवादित क्षेत्रमा काम अगाडि नबढाउने पत्र पठाएको छ ।’ पुष्पलाल मध्यपहाडि राजमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले पोखरा १६को ५ सय मिटर आयोजना क्षेत्र विवादित भएको बताए । ‘पोखरा महानगरपालिका १६ को कालीखोलादेखि महेन्द्र गुफासम्म विवादित क्षेत्र हो, विवादित क्षेत्रमा काम गदैनौ भनेर महानगरमा पत्राचार गरेका छौं, भण्डारीले भने, ‘५ सय मिटर जति होला विवादित, विशेष गरी ३ सय मिटर भित्र व्यक्तिको जग्गा पर्छ भन्ने गुनासो आएको छ ।’ उनका अनुसार मादीको भैसेदेखि याम्दीसम्म राजमार्ग आयोजना कार्यालयले स्वच्छन्द एपेक्स जेभीलाई ३५ दशमलव ५ किलोमिटर खण्डको निर्माण गर्न ३ अर्ब ४२ करोड रुपैयाँमा ३ वर्षभित्र सक्ने गरी जिम्मा दिएको छ । पोखरा महानगरपालिका १६ को आयोजना क्षेत्रमा विवादित भएपनि मादीको भैसेतर्फ भने काम भइरहेको राजमार्ग पर्वतका प्रमुख भण्डारीले जानकारी दिए । यस विषयमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ०७९ पुस ९ गते सडक रेखांकन तथा टेण्डर प्रक्रिया रोक्न र विकल्पको खोजी गर्न भन्दै पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय काठमाडौंलाई पत्राचार गरेका थिए ।

