विराटनगर: कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।धरान उपमहानगरपालिका–१५ घर भएका लिम्बु लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए । लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो । पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले चैत ५ गते विराटनगरमा प्रदर्शन गरेको थियो । प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले चार राउण्ड हवाई फायर र दुई दर्जन सेल अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा लिम्बुको टाउकोमा चोट लागेको थियो । चोट लागेका उनी घरमै उपचाररत थिए । तर चैत ८ गते बेलुका अचानक बेहोस भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका लिम्बुलाई शहीद घोषणा गर्दै घटनाको छानबिन गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले माग गरेको छ ।
काठमाडौं : सुनको मूल्य आझ फेरि उकालो लागेको छ। अघिल्लो कारोबार दिन बिहीबार १२ सय रुपैयाँले बढेको सुन आज ८ सयले बढेको हो। यसअघि चैत्र ५ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० पुगेको हो। यस्तै तेजाबी सुन १ लाख ९ हजार ३०० पुगेको छ। आज चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो। रूस–युक्रेनको युद्ध सुरु भएसँगै बढ्न थालेको सुनको मूल्य दिनप्रतिदिन महँगो हुँदै गएको सरोकारवालाको भनाइ छ। द्वन्द्व,अस्थिरता र अराजक गतिविधि बढ्दै गएमा मानिसले सम्पत्ति सुरक्षित गर्ने क्रममा सुन किन्ने हुँदा मूल्य बढ्ने प्रवृत्ति छ। अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य अत्यधिक बढ्न थालेकाले तुलनात्मक रूपमा यसको प्रभाव नेपालमा पनि परेको हो।
काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ। सोल्टी होटलमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले चिन्तित बनाएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ। राष्ट्रपति पौडेलले भने, ‘सरकारले पूर्णता पाइसकेको छैन। सरकारले पूर्णता पाएलगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु।’ वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलले बताए। मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ थियो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथ प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए। अध्यक्ष मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन। उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको छ।’ पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए। आर्थिक समृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने अध्यक्ष मल्लले बताए। बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा उनको जोड थियो। कर्जा प्रवाह गरिँदा ब्याजदरमा लकअप प्रणाली लागू गरिनुपर्ने उनले बताए। लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरू मर्कामा नपर्ने चेम्बरको ठहर छ। बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रीकरण एवं वैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन सकिने मल्लले बताए। कृषि कर्जा प्रवाह गर्दा खेत किन्नेलाई नभई खेती गर्नेले पाउने व्यवस्थाका लागि पनि अध्यक्ष मल्लले राष्ट्रपति पौडेलको ध्यानकर्षण गराए।
काठमाडौं : वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो,हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन्। पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन्। ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन्। स्व.ताम्राकारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौं : मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो। पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने भएको छ । औपचारिक रुपमा माओवादी केन्द्र गण्डकीको संसदीय दलको बैठक शुक्रबार बिहान बसी सरकारबाट बाहिरिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले बताए । ‘केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्देशन गरेको छ, मन्त्री चुमानले भने, ‘भोलि बिहान दलको बैठक बस्दै छौं, औपचारिक निर्णय बिहान नै गछौं ।’ नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा पर्ने छ ।
पोखरा: आगामी बैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि देशको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुदैछ । रिक्त रहेको बाराको निर्वाचन क्षेत्र नम्बर २, चितवनको क्षेत्र नम्बर २ र तनहुँको निर्वाचन क्षेत्र नम्बर १ मा एकसाथ उपनिर्वाचन हुनेछ । सोही दिन तनहुँमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट विभिन्न नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । जसमा जिल्ला स्तरीय नेतादेखि हेभीवेटका केन्द्रीय नेताहरुसम्मको चर्चा छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत भइसकेका ‘हेभीवेट’ किरण गुरुङ, नेपाल प्रहरीका पूर्व (महानिरीक्षक) आइजिपी सर्वेन्द्र खनाल, चार पटक हार व्यहोरेका एक बहादुर राना, गण्डकी प्रदेशका पूर्व सांसद राम बहादुर गुरुङ र तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष मोहन बहादुर सुनार उपनिर्वाचनका लागि अघि सरेका छन् । यद्यपी अन्तिम नाम भने पार्टीको बैठकले सार्वजनिक गर्नेछ । उपनिर्वाचन नजिकिदै गर्दा स्थानीयहरुको आंकाक्षा अनुसार उपचुनावमा आफु अघि सर्ने मनस्थितीमा पुगेको किरण गुरुङले बताए । स्थानीयहरुले हेभीवेट नेताको चाहना गरे अनुसार आफु उपचुनावमा अघि बढने संकेत गरे । ‘त्यहाँका स्थानीयहरुमा हेभीवेटले उपचुनाव लड्नुपर्छ भन्ने आशय आएकाले मैले पनि अघि बढ्ने मनस्थिती बनाएको हुँ’ गुरुङले सुनगाभा न्यूजसँग भने । यस्तै नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजिपी) तनहुँ चुँदी स्थायी घर भएका सर्वेन्द्र खनाल पनि उपचुनावमा उम्मेदवारको आकांक्षी रहेको स्रोतले बतायो । ‘उपचुनावमा पार्टीले अघि सारेको खण्डमा तनहुँ नै स्थायी घर भएकै कारण पनि होला पछि नहट्ने कुरा छ’ स्रोतले भन्यो । यस्तै अर्का आकांक्षी मोहन सुनारले पनि उपचुनावमा आफ्नो चर्चा चलेको स्वीकार गरे । उनले गत निर्वाचनमा पार्टीले टिकट नदिलाएपनि उपचुनावमा भने पार्टीले न्याय दिने धारणा राखे । ‘पार्टीको विभिन्न तहमा बसेर धेरै काम गरियो । अघिल्लो निर्वाचनमै आशा थियो तरपनि पार्टीले फरक निर्णय गर्याे, उनले भने, ‘अहिले फेरि उपनिर्वाचन आएको छ । त्यसैले मैले पनि इच्छा जाहेर गरेको छु । यसमा पार्टीले उपयुक्त ठहर गरेर जिम्मेवारी दिएको खण्डमा कसरतमा लाग्ने विचार गरेको छु ।’ उनले आफु फरक समुदायबाट प्रतिनिधित्व गरेको बताउदै टिकट पाउने आशा रहेको सुनाए । ‘यो क्षेत्रमा दलित समुदायको ठुलो बस्ती छ । अहिलेसम्म हाम्रो समुदायले प्रत्यक्ष टिकट पाएको भन्ने इतिहास छैन, उनले भने, ‘त्यसैले पार्टीले यो विषयलाई ध्यान पुर्याएर जिम्मेवारी दिन्छ कि भन्ने आशा लागेको छ ।’ यस अघि सो क्षेत्रमा एमालेका एक बहादुर रानाले चौथो पटक हार व्यहोरेका थिए । यद्यपी फेरि पनि उनी उनै क्षेत्रबाट उपचुनाव लड्न आकांक्षा व्यक्त गरेको बताइएको छ । सो क्षेत्रबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक बहादुर रानालाई हराएका थिए । हालैमात्र पौडेल राष्ट्रपतीमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो । तनहुँसँगै सोही दिन चितवनको निर्वाचन क्षेत्र नम्बर २ र बाराको निर्वाचन क्षेत्र नम्बर २ मा पनि उपचुनाव हुनेछ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लाई सर्वाेच्च अदालतले अयोग्य रहेको आदेश गरेपछि सो क्षेत्र रिक्त भएको थियो भने बाराको क्षेत्र नम्बर २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त भएको हो । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आगामी चैतको १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछ भने २० गते मनोनयन दर्ता हुनेछ ।
काठमाडौं : संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरानो भवन नभत्काउन निर्देशन दिएको हो। नभत्किएसम्म भत्काउन जरुर नरहेको समितिका सभापति मायाप्रसाद शर्माले बताए। उनले भने, 'विभिन्न कालखण्डका इतिहास बोकेका भवनको संरक्षण गर्यो भने आउने पुस्तालाई साक्षीको रूपमा रहन्छ। पुर्खाको इतिहास मास्न हुँदैन। भवनको संरक्षणतर्फ सबैले पहल गर्नुपर्छ।' निर्माणाधीन संघीय संसद्मा संघीय पुस्तकालय समयसापेक्ष अनुरुप र व्यवस्थित ढंगको हुनुपर्ने सभापति शर्माले बताए। बैठकमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको मौलिकता, संस्कृतिलाई संरक्षण गर्न समितिको मार्गदर्शनलाई मन्त्रालयले स्वीकार गर्ने बताए। पुराना भवनको प्राविधिक अध्ययनअनुरुप कलाकृति संरक्षण गर्दै नयाँ भवन बनाउँदा पुराना आवरण र महत्व भल्किने हुनुपर्नेमा उनको भनाइ छ। सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ भवन प्रविधिमैत्री र व्यवस्थित खालको हुने बताउँदै चैत मसान्तसम्म पुरानो संसद् भवनको संरक्षणका लागि बाक्लो प्लाष्टिकले छोप्ने र पिपलको रुख हटाउने प्रतिबद्धता व्यक्त गरे। बैठकमा समितिका सदस्य मदनकुमारी शाहले आधुनिक प्रविधिका नाममा नेपालको कला, संस्कृति मास्न नहुने, राणाकालीन समयमा बनेको सिंहदरबार अहिले पनि अनुकूल रहेको तर निर्माणाधीन संघीय भवन साँघुरो रहेकाले समयमा सचेत रहन जरुर रहेको बताए। समिति र मन्त्रालयले सहकार्य गरेर पुरानो भवनको संरक्षण गर्नुपर्ने समिति सदस्य तुलसा दाहालले बताइन्। उनले सहरी मन्त्रालयलाई तत्काल पुरानो भवनको संरक्षणका लागि काम अगाडि बढाउन आग्रह गरिन्। त्यस्तै समितिका सदस्यहरूले पुरानो भवनले पञ्चायत, संसदीय व्यवस्था, गणतन्त्र झल्काउने रहेकाले तत्काल संरक्षण गर्न काम सुरु गर्नुपर्ने र नयाँ भवन समयसापेक्षअनुरुप इतिहास जोगाउने हुनुपर्ने, भवनको संरक्षणका लागि समितिले कानुनी सहजीकरण गर्ने विचार व्यक्त गरेका थिए। उहाँहरूले नयाँ भवन प्रविधिमैत्री व्यवस्थित ढंगको हुनुपर्ने, सिंहदरबारको आकर्षणका रूपमा हुनुपर्ने, कार्यान्वयनको गतिलाई प्रभावकारी बनाउनुपर्नेलगायतका विषयमा आ-आफ्ना धारणा राखेका थिए।

