काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

काठमाडौँ:  सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरेर झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैर नेपाली व्यक्तिहरूको नेपाली नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले बबरमहल क्षेत्रमा सक्रिय रहेको सो समूहका पाँच जनालाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा झापाका ४७ वर्षीय कृष्णबहादुर कटुवाल, काठमाडौँका ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङका ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँका २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरका ३० वर्षीय विजय लामा रहेका छन् । उनीहरूलाई पक्राउ गरी नागरिकता ऐन तथा लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।   कार्यालयको विशेष अनुसन्धान टोलीले खोजतलास गर्ने क्रममा गत चैत ५ गते दिउँसो बबरमहलबाट उनीहरूलाई विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध विच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्त्वपूर्ण अन्य विविध कागजातहरू, किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरूको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैर नेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासहित पक्राउ गरेको थियो ।    पक्राउ परेका कृष्णबहादुर कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएको खुलेको छ । कटवाल यस अघि पनि किर्ते र ठगी मुद्दामा सजाय पाइसकेको व्यक्ति भएको पाइएको छ । उनले हिरालाल सिवाकोटी समेतको सहयोगमा विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्त्वपूर्ण कागजात, छाप तथा दस्तखत किर्ते गर्दै आएका थिए ।   कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट गैरनेपाली विशेषगरि तिब्बती शरणार्थीहरूको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउने गरेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । राठौरका अनुसार उनीहरूले न्युल्केश श्रेष्ठलाई नक्कली नेपाली नागरिकता बनाई दिन प्रत्येक पटक रु. १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराई सनाखत गर्ने गराउने गरेका थिए । श्रेष्ठले हाल सम्म गैरनेपाली तिब्बती व्यक्तिहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पा लगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनी सहयोग गरेको खुलेको छ ।    त्यसरी किर्ते कागजात तयार गरी गैर नेपाली सक्कली नेपाली नागरिकता दिलाउन कटवालले प्रति व्यक्ति रु. ३ देखि ५ लाखसम्म रकम लिने गरेका थिए । पक्राउ परेका अर्का व्यक्ति विजय लामा विगत ९ वर्ष देखि जिल्ला प्रशासन कार्यालयको क्यान्टिनमा काम गर्दै आएको र जिल्ला प्रशासन कार्यालय काठमाडौँ भित्र मिलाउनु पर्ने सबै कामको जिम्मा लिने गरेको राठौरले बताए । लामाले भित्र मिलाउनुपर्छ भन्दै कटवालसँग प्रति नागरिकता रु. १ लाख ५० हजार सम्म लिने गरेका थिए   तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका लोब्साङ ठिन्लेले फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट नेपाली नागरिकता लिएको देखिएको छ । यस्तै गरी नागरिकता लिएका अन्य २५-३० जनाको सक्कलै नागरिकता प्राप्त भएको देखिएकाले त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    कटवालले मात्रै ५/६ वर्षको अवधिमा झण्डै ५०० भन्दा व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको र यस्तो कार्यमा कटवालजस्तै अन्य ४/५ जना व्यक्ति पनि सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।   यसरी गैरनेपाली तिब्बती शरणार्थी लगायतलाई सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा सक्रिय गिरोहलाई प्रलोभनमा परि सहज तवरले नागरिकता उपलब्ध गराएको आशंकामा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरूमाथि समेत आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुर:  भक्तपुर अस्पतालले ३० वर्षमाथिका नागरिकका लागि निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण (होलबडी) सेवा सुरु गरेको छ । मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।   बागमती प्रदेश सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत हालसम्म स्वास्थ्य परीक्षण नगराएका तथा कुनै रोग लागेको छ वा छैन भन्ने थाहा नपाएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताइन् । उनका अनुसार रोगको पहिचान गरी निदान गर्ने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको हो ।    प्रदेश सरकारले अस्पताललाई रु २५ लाख उपलब्ध गराएको उनले जानकारी दिइन् । अस्पतालले एक दिनमा बढीमा १० जनासम्मको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको डा गौतमले बताइन् । सेवा लिनका लागि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहको सिफारिसमा अस्पतालले बागमती प्रदेशभित्रका बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछ । निजी अस्पताल वा क्लिनिकमा पूर्ण स्वास्थ्य परीक्षण गर्दा महँगो हुने भएकाले अस्पतालबाट उपलब्ध निःशुल्क सेवा लिन अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले प्रदेशका बासिन्दालाई आह्वान गरे । अस्पतालले प्रदेश सरकारको सहयोगमा नसर्ने रोग पहिचानका लागि स्वास्थ्य परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत प्यालिएटिभ तथा ज्येष्ठ नागरिक बार्डसमेत स्थापना गरेर सेवा विस्तार गरेको उनले जानकारी दिए ।    प्रदेश सरकारको रु १५ लाखको सहयोगमा हाल दुई शय्या सञ्चालनमा रहेको प्यालिएटिभ केयर सेवा पाँच शय्यामा विस्तार गर्ने तयारी भइरहेको कायस्थले बताए । उनका अनुसार क्यान्सर रोग लागेर अन्तिम अवस्थामा पुगेका बिरामीका लागि यो सेवा सञ्चालन गरिएको हो । साथै ज्येष्ठ नागरिकको उपचारका लागि प्रदेश सरकारको रु १५ लाखको सहयोगमा पाँच शय्याको निःशुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको छ ।   अस्पतालका मेसु डा.गौतमका अनुसार अस्पतालले अल्जाइमरअर्थात् बिर्सने रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सर्वसाधारणमा त्रास बढ्नुका साथै अल्जाइमरका रोगी पनि बढेकाले अस्पतालले ‘अल्जाइमर क्लिनिक’मार्फत सेवा प्रदान गरिरहेको उनले बताइन् । डा गौतमका अनुसार मनोचिकित्सक डा सुप्रिया शेरचनसहितको न्यूरो चिकित्सकसहितको टोलीले प्रत्येक दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गरिरहेको छ । साथै बुधबार पाटन अस्पतालका मनोरोग विशेषज्ञ डा निदेश सापकोटाद्वारा ज्येष्ठ नागरिकका लागि मनोरोग विशेषज्ञ सेवासमेत सुरु गरेको छ ।    अस्पतालले नियमित न्यूरो ओपिडी सेवा सुरु गरेको छ । पाटन अस्पतालका नसा रोग विभागका प्रमुख एवं विशेषज्ञ चिकित्सक डा.प्रकाश विष्टले भक्तपुर अस्पतालमा आफू जोडिएको बताउँदै भक्तपुर अस्पतालमा न्युरो सर्जरी सेवा विस्तार गरेको जनाए । उनले मुटु सेवा सञ्चालनमा ल्याउनुका साथै १६ शय्याको आइसियु सञ्चालनमा आएदेखि नै बिरामीको चाप रहेको जानकारी दिए ।     अस्पतालले प्रसूति सेवाअन्तर्गत शल्यक्रिया सेवा विस्तार गरेको छ । लामो समय बेथा लागेर प्रसूति समस्या आएका तथा पाठेघरको शल्यक्रिया गर्दा पिसाब थैलीमा प्वाल परेर पिसाब चुहिने रोग लागेका महिलाका लागि निःशुल्क शल्यक्रियाका लागि अस्पतालले अन्यत्र सिफारिस गर्न सुरु गरेको अस्पतालले जनाएको छ । यहाँबाट रिफर भएका महिलाले शल्यक्रियाका लागि मोडल अस्पताल काठमाडौँ निःशुल्क उपचार सेवा पाउने मेसु डा गौतमले जानकारी दिइन् ।   त्यस्तै मस्तिष्काघात भएका बिरामीलाई भक्तपुर अस्पतालले मनोमोहन वा वीर अस्पतालमा रिफर गरेपछि त्यहाँ हुने शल्यक्रियामा रु दुई लाखसम्म निःशुल्क उपचारको व्यवस्था गरिएको छ । अस्पतालमा हृदयाघात पहिचान भएका बिरामीका लागि प्रदेश सरकारको सहयोगमा गङ्गालाल अस्पतालमा रिफर गरी रु एक लाख ८० हजार बराबरको उपचार निःशुल्क हुने गरिएको उनको भनाइ छ । अस्पतालमा २४ सैँ घण्टा इसिजी, आकस्मिक सेवा तथा एम्बुलेन्स सेवा सञ्चालित छन् ।   हाल अस्पतालमा दैनिक सात सय ५० देखि आठ सय बिरामी उपचारका लागि आउने गरेका अस्पताल विकास समितिका अध्यक्ष कायस्थले जानकारी दिए ।  उनले भने, “अस्पतालमा मेसु डा गौतमले धेरै सुधार गरेसँगै बिरामीको चाप निकै बढेको छ, पछिल्लो समय प्रसूतिलगायतका सर्जरी अस्पतालमै हुन थालेपछि भर्ना भएर उपचार गराउनेको सङ्ख्या बढेको छ ।”   कायस्थका अनुसार पछिल्लो समय मुटु, कान, नसारोगलगायत सेवा विस्तार गरिएकाले बिरामीको चाप बढेर गएको हो । हाल अस्पतालमा दैनिक १० वटासम्म शल्यक्रिया हुने गरेको उनले बताए ।

काठमाडौं : नेपाली कांग्रेसका तेह्रथुमका पूर्वजिल्ला सभापति एवं संविधान सभा सदस्य गणेशप्रसाद विमलीको ७४ वर्षको उमेरमा निधन भएको छ।   लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित नेता विमलीको भारतमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो।   २०३६  सालमा नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश  गरेका विमली नेपाली कांग्रेसको जिल्ला सभापतिहुँदै महाधिवेशन प्रतिनिधि,महासमिति सदस्यलगायत विभिन्न सांगठनिक पदमा बसेर जिम्मेवारी निर्वाह गरेका थिए।   उनको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज गुमाएको जनाएको छ।

काठमाडौं : नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।   प्रहरी प्रभाग गोंगबु काठमाडौंबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका-११ मनमैजु पुलबाट अन्दाजी साढे दुई किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित उनलाई पक्राउ गरेको जनाएको छ।    प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा श्रेष्ठले सञ्चालन गरेको एसएस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा तथा रु २० हजारसहित फेला पारी उनलाई पक्राउ गरेको बताइएको छ।    पक्राउ परेकी श्रेष्ठका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

स्याङ्जा:  पेट्रोलमा मिसावट गरी बिक्री वितरण गर्ने पुतलीबजार ३ मजुवाको नेपाल आयल नेपाल पेट्रोल्युब सप्लायर्स प्रालिलाई जरिवाना गरिएको छ । पेट्रोलमा मिसावट गरी बिक्री गर्ने सञ्चालक तथा कर्मचारीलाई जरिवाना र पेट्रोल नष्ट गरिएको हो ।    मिसावट गरी पेट्रोल विक्री वितरण गर्ने पम्पका सञ्चालक कृष्णप्रसाद शर्मा, जनकराज शर्मा, भगवती (रेग्मी) शर्मा र सम्झना शर्मा नेपाललाई जनही एक लाख ८० हजार र कर्मचारी सुवास क्षेत्रीलाई एक लाख गरी आठ लाख २० हजार जरिवाना गरिएको हो ।    यस्तै, मिसावट गरी बेच्नका लागि उक्त समयमा तयार एक हजार ९१८ लिटर पेट्रोललाई डोजरको माध्यमबाट खाल्टो खनी नष्ट गरिएको हो ।    यस्तै, अपराध पीडित राहत कोषमा सञ्चालक चार जनाबाट जनही सात हजार दुई सय र कर्मचारी क्षेत्रीबाट चार हजार गरी ३२ हजार आठ सय जरिवाना गरिएको हो ।    ल्याब परीक्षणबाट पेट्रोल पम्पमा मिसावट गरी कमसल पेट्रोललाई असल र राम्रो पेट्रोल हो भनी झुक्याई बिक्री वितरण गरेकाले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ६ अनुसार नगद जरिवाना र पेट्रोल नष्ट गरिएको हो ।    पेट्रोल्युब सप्लायर्सबाट पेट्रोल भरी चलाइएका सवारी साधनहरुमा अचानक स्टार्ट नहुने समस्या देखापरेपछि जिल्ला प्रशासन कार्यालयले गत पुस २७ गते पेट्रोल्युब सप्लायर्स सिल गरेको थियो ।   पेट्रोल पम्प सिल गरेपछि पुस २८ गते नेपाल आयल निगम प्रादेशिक कार्यालय पोखराको टोलीले पेट्रोलको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।    ल्याब परीक्षणमा पेट्रोलमा हुनुपर्ने गुणस्तर कायम नभएको भन्ने व्यहोराको परीक्षण प्रतिवेदन प्राप्त भएपछि जिल्ला प्रशासनले बेचबिखन गर्ने कार्यमा संलग्नलाई कानुन बमोजिमको कारवाही गरिएको प्रमुख जिल्ला अधिकारकी शशिधर घिमिरेले बताउनुभयो ।    नेपाल आयल निगमबाट पेट्रोल भण्डारण र बिक्री वितरण गर्न पम्प उपयुक्त भएको प्रमाणित भएपछि एक दुई दिनमा पम्प खुल्ने घिमिरेले बताउनुभयो ।    पेट्रोल पम्पको प्रारम्भिक परीक्षणबाट डिजलको अवस्था समान्य देखिएपछि डिजेल भने सोही समय बिक्री गर्न दिएको थियो ।     पेट्रोल्युब सप्लायर्सले पेट्रोलमा नियतवश नभई झुक्किएर डिजेल मिसिएको स्वीकार गरेको छ । 

ढल्केवर:  रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक उत्पादनमा वृद्धि ल्याउन मधेश प्रदेशका सबै वडामा अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गरिने भएको छ ।   मधेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत जर्मनको बेल्ट हङ्गर हाइल्फ नामक संस्थाले मधेशका एक हजार दुई सय ७० वटा वडामा जैविक प्रविधिबाट अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गर्न लागेको हो ।    मधेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग सञ्चालनका लागि जर्मनको हाइल्स संस्थाले प्रस्ताव गरेको बताउनुभयो । प्रस्तावअनुसार कार्यान्वयन पक्ष पनि अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जमिन र भर्मी उद्योग सञ्चालन गर्न चाहने किसान आफैले बनाउनुपर्ने र त्यसबाहेक चाहिने मेसिन, प्रविधि, र प्रशिक्षणलगायत सम्पूर्ण सामान दातृ निकायले उपलब्ध गराउने छ ।    उद्योग सञ्चालनमा आएपछि रासायनिक मलमाथिको निर्भरता कम हुने र अर्गानिक मलको प्रयोगले जमिनको उर्वराशक्ति बढ्ने मन्त्री कुशवाहाको भनाइ छ । उद्योग सञ्चालनका लागि इच्छुक किसान, समूह र संस्थालाई आवेदन पेस गर्न आह्वानसमेत गरिएको उहाँले बताउनुभयो । 

काठमाडौं:  नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ।   अघिल्लो कारोबार दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला दुई हजार रुपैयाँ घटेको हो।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।    मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।   मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भएको थियो।   मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं:  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।   नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५६ पैसा पाइन्छ।    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३७ पैसा तोकिएको छ।    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ११ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९८ पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ५० पैसा र बिक्रीमा २९ रुपैयाँ ६४ पैसा पाइन्छ।   बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २२ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ५५ पैसा तोकिएको छ।  

काठमाडौं : वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुरुवात गरिएको छ ।   सामाजिक सुरक्षा कोषले आजदेखि वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका लागि सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको हो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरीएको कोषले जनाएको छ ।   वैदेशिक रोजगारको सिलसिलामा इजरायलमा रहेकी मञ्जु थपलियाको इनरोल रजिस्ट्रर गरिएको छ । प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल संग्रौलालाई कोषमा आवद्ध भएको परिचयपत्र हस्तान्तरण गर्दै योजनाको सुरुवात गरे ।    कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा रहेको बताए ।   अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आवेदन दिन पाउने छन् ।