सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ। जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ गोरक्सेपमा स्लोभाकियाका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको हाईअल्टिच्यूट अर्थात लेक लागेर मृत्यु भएको बताइएको छ। तर मौसम प्रतिकुलताका कारण शव उद्धारमा समस्या भएको छ। खुम्बु क्षेत्रमा अहिले हिमपात भइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए। अहिले सो क्षेत्रमा सञ्चार सेवा समेत प्रभावित हुँदा मृतकको पूरा विवरण लिन समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
काठमाडौं: विश्व लिजेन्ट क्रिकेट लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसियन लायन्सले जितेको छ । कतारको दोहामा सोमबार राति भएको फाइनल खेलमा लायन्स वर्ल्ड जायन्ट्सलाई सात विकेटले हराउँदै च्याम्पियन बनेको हो । वर्ल्ड जायन्ट्सले दिएको एक सय ४८ रनको विजयी लक्ष्य एसियन लायन्सले १६.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । एसियन लायन्सको जितमा तिलकरत्ने दिल्सानले ५८ रन बनाउनुभयो । उपुल थारंगाले ५७ तथा मिस्बा उल हक तथा मोहम्मद हाफिजले अविजित नौ नौ रन बनाउनुभयो । बलिङमा जायन्ट्सका मोन्टी पेनिसर, समित पटेल र ब्रेट लीले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । जायन्ट्सका लागि ज्याकक्विस कालिसले अविजित ७८ रन बनाउनुभयो । रोस टेलरले ३२ र लिन्डल सिमोन्सले १७ रन जोड्नुभयो । बलिङमा लायन्सका अब्दुर रज्जाकले दुई तथा थिसारा परेराले एक विकेट लिनुभयो । फाइनल खेलमा पारस टोलीमा परेपनि उहाँले ब्याटिङ र बलिङको अवसर पाउनुभएन । पारसले अघिल्ला दुई खेलमा भने मौका पाउनुभएको थियो ।
सान फ्रान्सिस्को: अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ। अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना सोमबार घोषणा गरेका हुन्। एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ट्विच एकाइमा असर पर्ने उल्लेख गरेका छन्। यसअघि अमेजनले १८ हजार कर्मचारी जागिर कटौती गर्ने घोषणा गरेको थियो। कुन विभागका कर्मचारी कटौतीमा पर्ने भन्ने निर्णय भइनसकको जनाउँदै एन्डीले आगामी एप्रिलको मधयसम्ममा निर्णय कार्यान्वयन हुने बताएका छन्। अमेजन विश्वको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी मध्येको एक हो। विश्वभर करिब १५ लाख कर्मचारी अमेजनमा आबद्ध छन्।
बझाङ: बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेती नदीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो ।साइपाल गाउँपालिका-५ मा पर्ने बलौडीकी स्थानीय हुन् केउडी बोहरा । उनीको उमेर एक हप्तापछि ठीक ६८ वर्ष पुग्दैछ । जन्मिएको ६७ वर्ष ११ महिना २१ दिन (जन्मः २०१२ वैशाख १३) पछि उनी नेपालको आधिकारिक नागरिक बनिन् । तर केउडीलाई भने यो विषयमा जानकारी छैन । शनिबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले केउडीलाई साइपालको धुलीमा पुगेर नागरिकता हातमा थमायो । उनको भाइ गोमाले सनाखत गरे । गोमाले २०६३ सालमा काँडा पुगेको घुम्ती शिविरबाट नागरिकता लिएकी रहिछन् । शिविरमा दिदीलाई नागरिकता दिनुपर्ने विषय न कसैले भन्यो, न गोमालाई नै जानकारी भयो । बोल्न नसक्नेदेखि सुस्त मनस्थितिकी बोहरालाई नागरिकता दिन्छन् या दिँदैनन् भन्ने गाउँमा कसैलाई थाहा भएन । ‘नागरिकता चाहिन्छ भन्ने नै थाहा भएन’, गोमाले भनिन्, ‘कसुइखी पन नागरिकता चाँइदो भनी थाच्योइन (बलौडीमा मान्छे कसैलाई पनि नागरिकताको आवश्यकताबारे थाहा थिएन) सबैले पोर परार (केही वर्षअघि)मात्रै नागरिकता लिएका हुन् ।’ गोमा पनि नागरिकता हुँदा–नहुँदाको अर्थ देख्दिनन् । ‘डेढ दशकअघि नागरिकता लिएको हुँ’, गोमाले भनिन्, ‘यो कतै काम लागेको छैन । जतन गरेर राख्नु भन्नुभएको थियो, राखेकै छु । यसको अर्थ पनि बुझेको छैन।’ यतिमात्रै होइन, गोमालाई बझाङी भाषासमेत आउँदैन । उनी आफ्नै गाउँमा बोलिने भाषामात्रै बुझ्छिन् । साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङका अनुसार पहिले गोमाको श्रीमती र एक सन्तान पनि छन् भन्ने सुनिन्थ्यो । ‘अहिले घरमा दिदीभाइमात्रै रहेछन् । आयस्रोतविहीन, सहाराविहीन दिदीभाइलाई पालिकाबाट अब एकल पुरूष र वृद्धाभत्ता दिने तयारी गरेका छौँ’, उनले भनिन् । खिन्तुरीले भने पैसाको कुनै मतलब गर्नुभएन, ‘उहाँलाई पैसा के हो भन्ने पनि थाहा रहेनछ । त्यसको आवश्यकताबारे झन् के थाहा हुनु !’ अध्यक्ष बोहरा भन्छन् । बलौडीवासीले नागरिकता प्राप्त गरे पनि अधिकांशले त्यसको प्रयोग भने कतै गर्न पाएका छैनन् । बलौडीकी खिन्तुरी बोहराले ५१ वर्षमा पाइला टेकिन् । वीरजित बोहरा र बसनादेवी बोहराकी छोरी खिन्तुरीलाई पनि सोही दिन जिल्ला प्रशासन कार्यालय बझाङले नागरिकता दियो । मानसिक समस्याले ग्रसित खिन्तुरीलाई नागरिकता त के आफ्नो बारेमा समेत केही जानकारी छैन । जन्मेको केही वर्षदेखि नै मानसिक समस्याबाट पीडित हुनुभएकी खिन्तुरीका पाँच दशक गाउँमा ओहोरदोहोर गर्दैमा बिते । ‘शनिबार नागरिकता दिने भनेर धुली माविमा ल्याउनु भनेका थियौँ’, साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भने, ‘खिन्तुरी धुली माविबाट भाग्नुभएको रहेछ । पछि आफन्तले खोजेर ल्याए । रून थाल्नुभयो, सबैले सम्झायौँ र नागरिकता हातमा थम्यायौँ । हजार–बाह्र सय रुपैयाँ पनि दियौँ।’ खिन्तुरीले भने पैसाको कुनै मतलब गर्नुभएन, ‘उहाँलाई पैसा के हो भन्ने पनि थाहा रहेनछ । त्यसको आवश्यकताबारे झन् के थाहा हुनु !’ अध्यक्ष बोहरा भन्छन् । बलौडीवासीले नागरिकता प्राप्त गरे पनि अधिकांशले त्यसको प्रयोग भने कतै गर्न पाएका छैनन् । सबलाङ्ग गोमाहरूका लागि पनि नागरिकता प्रयोगहीन भएको छ । गाउँमा राज्यको उपस्थिति नहुँदा गोमाहरू हरेक कुरामा अनभिज्ञ छन् । उनीहरूका लागि धुली, बलौडी, न्यूना नै संसार छ । राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार–व्यवसाय गर्नेजस्ता कानुनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारको उपभोग गर्ने महत्वपूर्ण आधार हो नागरिकता । नागरिकताविहीनले भने केही गर्न सक्दैन । ‘धुली, बलौडीमा धेरैले नागरिकताको महत्वबारे बुझेकै छैनन्’, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘खिन्तुरी र केउडीले जीवनको उत्तराद्र्धमा भए पनि नागरिकता प्राप्त गर्नुभयो । अब यसको महत्वको विषय स्थानीय सरकारले प्रत्याभूत गराउनुपर्छ।’ नागरिकता भएपछि राज्यबाट पाउने सेवासुविधा प्राप्त गर्ने आधार तयार भएको उनले बताए । ‘राज्यको उपस्थिति नभए जनतामा चेतना पनि उब्जँदैन’, उनले भने, ‘हामी २१औँ शताब्दीका नारा लगाइरहेका छौँ, तर साइपालका केही गाउँमा भने अझै १५–१६औँ शताब्दीका मान्छे बसिरहेका छन् । यो लामो दूरीलाई छोट्याउने सोचले हामी साइपाल पुगेका हौँ’, उनले पाँच–छ दशकसम्म पनि नागरिकता नपाएको सुन्नेबित्तिकै साइपाल जान तयार भएको बताए । ‘साइपाल जान कुनै अधिकारीहरू पनि तयार हुँदैनन्’, उनले भने, ‘साइपालमा वृद्धाभत्ता खाने उमेरमा समेत नागरिकता पाएका छैनन् भने सुनेपछि जसरी नै साइपाल पुग्ने तयारीका साथ गएका हौँ।’ खिन्तुरी र केउडीलाई नागरिकता दिइरहँदा कार्यक्रम भइरहेको मञ्चको पछाडिपट्टि दर्जन बढी महिला बसेका थिए। नागरिकताको महत्व, सेवा सुविधाबारे प्रजिअ पाण्डेयले सुनाएपछि ती महिला कानेखुसी गर्न थालिन् । पाण्डेयले पछाडि फर्केर नागरिकताको विषयमा कुरा गर्दा दुई जना नागरिकता नलिएका भेटिइन् । वर्ष ४५–४५ का महिलाले नागरिकता नपाएको सुनेपछि उनलाई वडा कार्यालयमा सम्पर्क गरेर नागरिकता बनाउने प्रक्रियामा लाग्न प्रजिअले सुझाव दिए । ‘पहिलेको जसरी गाउँमै नागरिकता दिन घुम्ती शिविर ल्याउने सोच थियो’, प्रजिअ पाण्डेयले भने, ‘पहिलेको जस्तो हस्तलिखित नागरिकता छैन । डिजिटलमा गइसकेपछि इन्टरनेट, विद्युत् नभएको ठाउँमा कामै हुँदैन । दुई जनाको भने जिल्लाबाट सबै तयारी गरेर सनाखत गराउँदै नागरिकता दिएका हौँ।’ नेपालको संविधानको भाग २ को धारा १० को उपधारा (१) मै भनिएको छ, ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन । धारा ११ को उपधारा (२) मा पनि संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक ठहर्ने र नागरिकता दिने भनेको छ । तर साइपाल भने निकै टाढा हुँदा राज्य र जनताको दूरी झनै लामो भएको छ । बाचुञ्जेल स्वास्थ्य समस्या साइपालमा बिरामी परेका मान्छेले चिकित्सकीय सेवा धेरै नै कम पाउँछन् । गाउँमै जडीबुटीको भर पर्ने ५०–५५ प्रतिशत बिरामीले ज्यानलाई दौडाइरहेकी छिन् । सिटामोलको पहुँचमा समेत नभएका साइपालका केही गाउँ धामी झाँक्री, वैद्य, गाउँका मुखिया, प्रधानकै विश्वास गर्छन् । धामी–झाँक्रीकै विश्वासले खिन्तुरी मानसिक बिरामी परेको स्थानीय बताउँछन् । खिन्तुरी जन्मेको १० वर्षपछि नै बिरामीले थला परेकी छिन् । चिकित्सकीय उपचार नपाउँदा अहिलेसम्म उनको अवस्था फेरिएन । खिन्तुरीले अस्पतालको ढोकासमेत देखेकी छैनन् । ‘सानातिना बिरामी त यता कति छन् कति”, स्थानीय रायम बोहराले भनिन्, ‘जिल्ला अस्पताल पुग्न हाम्रो क्षमता छैन । गाउँका अस्पतालमा पनि सिटामोलबाहेक केही पाइँदैन, त्यो पनि धेरै टाढा।’ साइपालमा धेरै परिवार अतिन्यून आयस्रोत भएको उनले बताए । ‘गाउँमा सबै हुनेखाने हुँदैनन्, तिनीहरूका लागि रु २५ हजार नागरिकतामा खर्च गर्नुभन्दा दुई–चार महिनालाई चामल खरिद गर्न चाहन्छन्’, उनले भने । उन अनुसार पालिकाभर उमेर पुगेका ३०–४० प्रतिशतले अझै नागरिकता पाएका छैनन्। बोहराका अनुसार गएको वर्ष पालिका, प्रदेश सरकार तथा आँखा अस्पतालको समन्वयमा आँखा शिविर बसेको थियो । त्यसबाट धेरै जना लाभान्वित भएका थिए । त्यसपछि भने कुनै स्वास्थ्य शिविर भएको छैन । ‘पालिकामै ठूलो स्वास्थ्य शिविर भयो भने धेरै बिरामीको इलाज (उपचार) हुन्थ्यो’, उनले भने । साविकको काँडा गाविस क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाविस हो । अहिले त्यो गाविस साइपाल गाउँपालिका भएको छ । साइपालले करिब आधा बझाङ ओगटेको छ । पाँच वडा रहेको पालिकामा एक गाउँबाट अर्को गाउँ पुग्नसमेत सात–घण्टासम्म समय लाग्ने गरेको बोहराले बताए । यता गाउँपालिकाका अध्यक्ष मानविर बोहरा भने सबै प्रकारका स्वास्थ्य समस्या भएका बिरामीको शिविरमार्फत नै उपचार सम्भव हुने बताउँछन् । ‘टाढाको ठाउँ भयो । स–साना बिरामी भएकाहरू वास्ता गर्दैनन् । ठूलो दुर्घटनामा परेका दुई–तीन जनालाई हेलिकोप्टर पनि बुकिङ गर्नुपरेको थियो । बढी बिरामी भएकालाई एक हप्ता लगाएरसमेत स्टेचरमा सदरमुकामसम्म ल्याउनुपर्छ’, उनले भने । सदरमुकाम आउन-जान २५ हजार खर्च जिल्ला सदरमुकाम चैनपुरबाट साइपालका न्युना, धुली, बलौडीलगायतका गाउँ पुग्न ६ दिन पैदलयात्रा गर्नुपर्छ । गत वर्षयता भने तलकोट हुँदै पनाल्तसम्म जीप सडक बनेको हुँदा पैदलयात्रा दुई दिन घटेको छ । जिल्ला सदरमुकाममै पुग्न साइपालवासीले १० हजारभन्दा बढी खर्च गर्नुपर्छ । ‘राज्यले निःशुल्क दिने एउटा नागरिकता बनाउनका लागि धुली–बलौडीका मान्छेले रु २०–२५ हजारसम्म छुट्याउनुपर्छ’, अध्यक्ष बोहराले भने, ‘त्यति पैसा नबोके अलपत्र परिन्छ । बाटोमा खान, बस्न, आउन, जान धेरै खर्च लाग्छ । त्यसैले पनि नागरिकताप्रति धेरै जना चासो देखाउँदैनन् ।’ साइपालमा धेरै परिवार अतिन्यून आयस्रोत भएको उनले बताए । ‘गाउँमा सबै हुनेखाने हुँदैनन्, तिनीहरूका लागि रु २५ हजार नागरिकतामा खर्च गर्नुभन्दा दुई–चार महिनालाई चामल खरिद गर्न चाहन्छन्’, उनले भने । उन अनुसार पालिकाभर उमेर पुगेका ३०–४० प्रतिशतले अझै नागरिकता पाएका छैनन्।
पोखरा: जातीय समानताको लागि लामो समयदेखि काम गर्दै आएको संस्था ‘आवाज’ले मंगलबार पोखरामा शान्तिपूर्ण र्याली निकालेको छ । ५८ औँ अन्र्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा निकालिएको र्याली पोखरा १६ मा निकालिएको हो । उक्त अवसरमा आवाजका अध्यक्ष प्रकाश सुनारले नेपाली समाजले अझैपनि जातीय विभेदलाई परास्त गर्न नसकेको बताए । अध्यक्ष सुनारले भने ‘जातीको आधारमा मान्छेमाथि गरिने विभाजन र भेदभाव मौलिक अधिकारको उल्लंघन हो । यस विभेद अन्त्यका लागि सबै आआफ्नो ठाउँबाट संवेदनशील हुन आवश्यक छ ।’ त्यस्तै, वडा १६ का सदस्य रामचन्द्र पौडेलले जातीय विभेद अन्त्य गर्न सबैले आफ्नो स्थानबाट प्रयास गर्नुपर्ने बताए । ‘गणतन्त्रमा जातीय विभेदको स्थान छैन’ वडासदस्य पौडेलले भने ‘संविधानमा प्रदत्त अधिकारले कसैलाई कुनैपनि आधारमा भेदभाव गर्न पाइँदैन ।’
फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तान बनेका छन्। यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको हो। एम्बाप्पे पेरिस सेन्ट जर्मन (पिएसजी) क्लबबाट व्यवसायिक फुटबल खेल्छन्। सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्याएका थिए।
काठमाडौँ: बुधवारदेखि घरेलु मैदानमा हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको छनोट भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनासीले छनोट गरिएका नेपाली टोलीलाई प्रशिक्षणमा बोलाइसकेको एन्फा स्रोतले बताएको छ । श्रम स्वीकृतको समस्याका कारण मुख्य प्रशिक्षकले नेपाली टोली भने आधिकारीक रूपमा घोषणा गरेका छैनन् । उनले एन्फालाई नेपाली टोलीको लिष्ट दिसकेका छन् एन्फा स्रोतले बतायो । नेपाली टोलीमा गोलरक्षकका रूपमा किरण चेम्जोङ, दीप कार्की र अभिषेक बराल रहेका छन् । यस्तै डिफेन्डरमा रोहित चन्द, रन्दीप पौडेल, आदित्य चौधरी, अनन्त तामाङ, निशान खड्का, विकास तामाङ र पदम भट्टराई रहेका छन् । यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, आयूस घलान, एरिक विष्ट, सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, सनिस श्रेष्ठ र कमल थापा तथा स्ट्राइकरमा भरत खवास, मनिष डाँगी, दिपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट रहेका छन् ।
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मानव सभ्यता विकासका लागि जातीय विभेद र छुवाछुत बाधक रहेकाले यस्ता विकृतिका अन्त्य गर्नुपर्ने बताए। अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले छुवाछुत र जातीय हिंसाविरुद्ध सबै एकजुट भएर सामाजिक न्याय,समानता,स्वतन्त्रताका माध्यमबाट शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने उल्लेख गरे। शिष्ट र सभ्य समाज निर्माणका लागि जातीय हिंसा, छुवाछूतजस्ता विसङ्गतिको अन्त्य गर्नुपर्नेमा सन्देशमा जोड दिइएको छ । नेपाली समाजलाई यस्ता हिंसा र विभेदबाट मुक्त गरी समानता कायम गर्न आफ्नो पार्टीले लामो समयदेखि राजनीतिक गतिविधि गरेको भन्दै जातीय हिंसालगायत विकृतिविरूद्ध चेतनामूलक अभियानको खाँचो औँल्याइएको छ । संयक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो । यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।
पोखरा: नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९ लाई सफल पार्न पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ । शुक्रबार अवार्ड अन्र्तगत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शिर्षकमा प्रायोजना गर्ने गरि स्व.सेनानी पुन परिवार र मञ्चबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा स्व.पुन परिवारको तर्फबाट नाति नविन पुन र मञ्चका अध्यक्ष दीननाथ बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार राशी नगद ३५ हजार रुपैयाँ रहेको छ । सो कार्यक्रममा पुन परिवारका लोक पुन, उमेश पुन , मञ्चका सचिव शशी कुमार पौडेलको उपस्थिती रहेको थियो । मञ्चले आयोजना गर्ने उक्त अवार्डमा आफ्नो परिवारजनबाट निरन्तर रुपमा सहयोग गर्न पाएकोमा नेपाल सेभेन ए साइड फुटवल महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका नविन पुनले खुःशी व्यक्त गरे । मञ्चका कार्यसमिति सदस्य समेत रहेका उमेश पुन स्व.सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार उक्त विधामा सहयोग गर्दै आएको छ । गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । आगामी वैशाख २३ मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी मञ्चले ती विधामा अवार्ड प्रदान गर्नेछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ । अवार्डलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, सहारा क्लव पोखरा लगायतले सघाउने छन् । यसका साथै अवार्डलाई सफल बनाउन विभिन्न संघसंस्थाका साथै व्यापारिक प्रतिष्ठानहरुबाट पनि सघाउने प्रतिवद्धता आइरहेको मञ्चका सचिव पौडेलको जानकारी दिए ।

