काठमाडौं: काठमाडौं गएराती ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–११ फ्रुटी कारखानास्थित सडकमा रोकिरहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३–०२–०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक बाग्लुङको जैनिनी नगरपालिका–६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा डकाक्टरले मृत घोषणा गरेका थिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
पोखरा: उच्च अदालत पोखराले सेती नदीमा हुँदै आएको दोहन रोक्न अन्तरिम आदेश जारी गरेको छ । घाटहरुबाट ढुंगा, माटो रोडा तथा बालुवा उत्खनन् गर्ने कार्यमा सम्बन्धित ठेकदारबाट ठेक्का सम्झौताका सर्तहरुको पालना नभएको हुँदा दोहन रोक्न अदालतले आदेश गरेको हो । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले स्वच्छ वातावरणीय हक एवं सन्तुलित पर्यावरणीय मान्यताका साथ हुनुपर्ने विकासको अवधारणामा प्रतिकुल असर पर्ने सक्ने भन्दै पोखरा महानगरपालिका वडा नम्बर १९ अन्तर्गतका घाटहरुको ठेक्का बन्दोबस्तीको कार्य नगर्नू नगराउनू भनी गत सोमबार अन्तरिम आदेश जारी गरेको हो । जारी आदेशमा भनिएको छ, ‘मुद्दाको अन्तिम टुंगो नलागेसम्म वडा नम्बर १९ अन्तर्गतका घाटहरुको ठेक्का बन्दोबस्तीको कार्य नगर्नू/नगराउनू भनी विपक्षीहरुका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’ ठेक्का सम्झौता भएका घाटहरुबाट ठेक्का सम्झौता बमोजिमको ढुंगा, गिट्टी, बालुवा र रोडा निकाल्ने कार्य तत्काल बन्द नगर्दा र नगराउँदा निवेदक सहितका स्थानीय बासिन्दाको स्वच्छ वातावरणीय हक एवं सन्तुलित पर्यावरणीय मायन्यताका साथ हुनुपर्ने विकासको अवधारणामा प्रतिकूल असर पर्न सक्ने देखिएको अदालतको ठहर छ । वातावरण तथा मानवीय जीवनमा असर पर्ने गरी सरकारकै प्रत्यक्ष संलग्नतामा सेतीमा हुँदै आएको दोहन रोकी पाउँ भनी डाँडाबारी फाउन्डेसन पुरन्चौरका सचिव होमनाथ पौड्यालले ८ फागुनमा रिट दायर गरेका थिए । उच्च अदालत पोखराले महानगरपालिका १९ को घाटलाई रोक्न आदेश दिएपनि रामघाट लगायतका अन्य घाटहरुमा पनि दोहन रोकिएको छैन ।
दैलेख: दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । नेपालगन्जदेखि मनकामना ग्याँस सिलिन्डर बोकेर दैलेखतर्फ आउँदै गरेको भे. १ क २२०१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) किशोर लम्सालले दुर्घटनामा परी मिनि ट्रक चालक अन्दाजी ३० वर्षको कृष्ण चौधरी, अन्दाजी वर्ष २६ को कृष्ण चौधरी र अन्दाजी २३ वर्षको विष्णु चौधरीको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले मिनि ट्रक रोक्न लागेको बेला सडक बाट करिब एक सय ५० मिटर तल खसेको बताउनुभयो । घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख लम्सालले जानकारी दिनुभयो ।
वीरगञ्ज: पर्सा राष्ट्रिय निकुन्जबाट निस्किएर गाउँमा पसेको बाघको आक्रमणबाट १ जना प्रहरीसहित तीन जना घाइते भएका छन् । चितुवा बाघको आक्रमणमा परी घाइते हुनेमा पोखरिया नगरपालिका वडा नम्बर ४ सतबरिया टोलका ३० वर्षका दिल महमद मियाँ, जोगिन्द्र साह तेली र प्रहरी जवान सुचिन्द्रप्रसाद यादव रहनुभएको छ । घाइतेमध्ये मियाँको अवस्था गम्भीर भएकोले उहाँलाई पोखरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको छ भने तेली र प्रहरी जवान यादवको पोखरिया अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । बिहान सतबरिया टोलमा पसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सतबरिया टोलकै एक गोठघरमा चितुवा लुकेर बसेको हालसम्म नियन्त्रणमा नआएको स्थानीय शैलेश गुप्ताले बताउनुभयो । चितुवालाई नियन्त्रणमा लिन अहिले जिल्ला वन डिभिजन कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ । यस अघि पर्साको ठोरीमा पर्सा राष्ट्रिय निकुन्जबाट गाउँ पसेको पाटे बाघले गोठमा पसी त्यहाँ रहेका सात चौपायालाई मारेको थियो । सोमबार राती ठोरी गाउँपालिका वडा नम्बर ४, घ्याङडाँडाका किसान मिकमार लामाको घरगोठमा पसेर बाघले एउटा वयस्क भैंसीको पाडो र ६ ओटा बाख्रा गरी ७ वटा चौपाया मारेको थियो ।
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन हुन नसकेका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्रचार गर्दै निर्वाचनको प्रक्रिया तत्काल अघि बढाउन पत्राचार गरेका हुन् । ‘देशभरिका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न हुनुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन हुन नसकेको हो ? तत्काल क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन गरिन्छ,’ सदस्य सचिव अधिकारीले लेखेको पत्रमा उल्लेख छ । निर्वाचन प्रक्रिया अगाडि बढाउन उपत्यकाका सात र उपत्यका बाहिरका १० आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखलाई निर्देशन दिँदै बिबादका कारण खोज्दै सहमति जुटाउन पनि निर्देशन दिएका छन् । उपत्यकाका आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, विश्व भाषा क्याम्पस र आयुर्वेद क्याम्पसमा निर्वाचत हुन सकेको थिएन । उपत्यकाका क्याम्पस मध्ये आर आर क्याम्पसले बिद्यार्थी संगठनलाई वार्ताका लागि बोलाइसकेको छ । यसैगरी, उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, पोखरा नर्सिङ क्याम्पस, चितवन इञ्जिनियरिङ क्याम्पस, कृषि क्याम्पस चितवन, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । पृथ्वी नारायण क्याम्पसमा अदालतको आदेशका कारण रोकिएको भए पनि अन्य क्याम्पसमा भने सहमति हुन नसक्दा तालाबन्दीसमेत भएका थिए । सो क्याम्पसको बिबाद हल गरी तत्काल निर्वाचन गराउन बिश्वविद्यालयले निर्देशन दिएको हो । त्रिविका उपत्यकाका २२ मध्ये १५ वटा आंगिक र उपत्यकाबाहिर ४० मध्ये ३० क्याम्पसमा भने गत चैत ५ गते नै निर्वाचन सम्पन्न भई नेतृत्व चयन भइसकेको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित कृष्ण हमाललाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले पोखरा १३ बस्ने हमाललाई प्रकाउ गरेको हो । प्रकाउ परेका हमालको कोठाबाट नर्फिन २ सय ७ एम्पुल, डाइजेपाम २ सय ७ एम्पुल र फेनारागन २ सय ७ एम्पुल गरी ६ सय २१ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका हमाललाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
पोखरा: प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व हेर्ने गरि तीन जना सदस्य मनोनित गरेको हो । बैठकले शिक्षा क्षेत्रबाट प्रतिनिधित्व हुने गरि, प्राध्यापक डाक्टर सरस्वती न्यौपाने, उद्योग तथा व्यववसाय क्षेत्रबाट छत्रधर आत्रेय र नारायण पौडेललाइ मनोनित गरेको छ । शिक्षालयको संचालक समितिमा चार जना मनोनिति सदस्य रहने प्रावधान छ । समितिले यस अघि श्री राम पोखरेललाइ मनोनित गरिसकेको थियो । यस अघि उक्त पदमा रहेका सदस्यहरुको कार्यअवधी सकिएकोले नयाँ सदस्य मनोनिति गरिएको हो । समितिमा मनोनित सदस्यको पदावधी तीन वर्षको रहने प्रावधान छ । यसअघि उक्त पदमा गेहेन्द्रश्वर कोइराला, आनन्द राज बतास र निरुपा थापा रहनुभएको थियो । गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६ अनुरुप , शिक्षालयको सम्पुर्ण नीति निर्माण तथा काम कार्वाहिको संचालन, रेखदेख, तथा प्रवन्ध गर्नका लागि महानगरपालिकाका प्रमुख पदेन अध्यक्ष रहने गरि ९ जनाको संचालन समिति रहेको छ । प्राविधिक शिक्षा तथा व्यवासायिक तालीमलाइ प्रवद्र्धन गर्दै स्थानीय स्तरमै निम्न मध्यमस्तरिय प्राविधिक दक्ष जनसक्ति उत्पादन गरि सक्षम , आत्मनिर्भर तथा स्वालम्बित जनसक्तिको तयार गरि स्थानीय स्तरमै उद्ययमशिलताको प्रवद्र्धन गर्न पोखरा प्राविधिक शिक्षालयको स्थापना गरिएको हो । समितिका अन्य सदस्यहरुमा मा महानगरपालिकाका कार्यपालिका सदस्यहरु मध्य प्रमुखद्धारा मनोनीत एक जना सदस्य, सिटिइभिटीका प्रतिनिधि पदेन सदस्य, स्थानीय शिक्षा प्रेमी मध्यबाट अध्यक्षद्धारा मनोनित एक जना महिला सहित दुइ जना मनोनित सदस्य, महानगर शिक्षा शाखा प्रमुख, शिक्षालयमा प्रशिक्षण दिइने विषयसँग सम्बन्धित रोजगारदाता, व्यवशायि,उद्योगी, ख्यातीप्राप्त प्राविधिक मध्ये संचालक समितिबाट मनोनित दुइ जना र शिक्षालयका निर्देशक पदेन सदस्य सचिव रहने गरि ९ जनाको संचालनसमिति रहेको छ ।
पोखराः कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा ब्रन्तबन्धको भोजमा जातीय भेदभाव गरेको भन्दै नारायण (दमै) परियारले ५८ औं अन्तरराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसकै दिन माछापुच्छ्रेका जनप्रतिनिधिसहित चारजना विरुद्ध जाहेरी दिएका छन् । माछापुच्छ्रे गाउँपालिका ५ का वडासदस्य रामजी लामिछाने रिभानका सुजन लामिछाने, सरिता लामिछाने र सन्तोष परियारले निम्तो दिएको ब्रतबन्धको भोजमा जातीय भेदभावसहित गालीगलौज गरेको भन्दै नारायण दमै परियारले आज (मंगलबार) जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गरेका हुन् । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकले ४ जना विरुद्ध जाहेरी दर्ता भएको बताए । ‘जातीय छुवाछुटको विषयमा जाहेरी दर्ता भएको छ, डिएसपी विकले भने, ‘त्यो विषयमा आवश्यक अनुसन्धान अघि बढाइसकेका छौं ।’ उनले आरोपित रामजी लामिछाने जनप्रतिनिधि भए नभएको बारेमा नखुलेको बताए । ‘आरोपी लामिछाने जनप्रतिनिधि भए नभएको बारेमा बुझ्दै छौ हाललाई खुलेको छैन ।’ उनले भने । जाहेरी दिएका परियारले आफुलाई भाेजमा निम्तो दिएर जातीय भेदवाभ गरेको भन्दै उजुरी दिएको बताए । उनले ब्रतबन्धको भोजमा बोलाएर उच्चजातीले खाने खाना छोएको र त्यो खाना सबै फालेको भन्दै आरोपीत सन्तोष परियारले फोनमा धम्की दिदै १ लाख ५० हजार रुपैयाँ जरिवाना माग गरेको पीडित परियारले जानकारी दिए । नेपालको संविधान २०७२ को धारा २४ को उपधारा १ अनुसार जातीय भेदभाव गर्न ले स्पष्ट भनेको छ, ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन ।’ सो कानून अनुसार कसैले कसैलाई पनि जातीय छुवाछुत गर्न पाइदैन । जातीय भेदभाव गरे भन्ने लाग्दैन ? भन्ने सुनगाभा न्यूजको प्रश्नमा आरोपीत रामजी (माछापुच्छ्रे गाउँपालिका ५ का वडा सदस्य) लामिछाले जवाफिदै आफुले जातीय छुवाछुत नगरेको बताए । उनले भने, ‘कोही बफ खाने, कोही मटन खानेहरुको छुट्टै भान्सा थियो । त्यही हो अरु केही पनि भएको होइन ।’ घटनाक्रम... पीडित नारायण (दमै) परियारका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभानमा सन्तोष परियारले फागुन २५ गते साहिल र समिर परियारको ब्रतन्बधमा पाहुनाका रुपमा आफु (नारायण (दमै) परियार), जोगेन्द्र दास परियार, नरबहादुर कुमाल र मीनबहादुर परियार त्यहाँ पुगे । धर्मसंस्कार अनुसार टिकाटाला दान दक्षिणा गरेपछि भोज खान भनि भान्सातर्फ गए । त्यहाँ रहेका (आरोपित पीडक) मध्ये सरिता लामिछानेले तिमी के थरि हौं भनि सोध्नुभयो म आजको कर्ताको आफन्त हुँ भनेपछि तिमी दमैहरुलाई यहाँ होइन तिम्रो भान्सा छुट्टै छ भन्दै म (जाहेरवाला) लाई भान्साबाट करिब २० मिटर पर नै रोक्नुभयो । मैले छुट्टाछुट्टै भान्सा भएको मलाई थाहा भएन र पनि म भैसीको मासु नखाने भएकोले म यहाँको भान्सामा नै भोज खान्छु । मैले यही भान्सामा खादा के हुन्छ भनेर प्रतिप्रश्न गर्दा यो बाहुन भान्सा हो यहाँ ब्राम्हण क्षेत्रीले मात्र खाने हो, यहाँ वृद्ध बुवा आमाहरु हुनुहुन्छ, तिमीहरुले छोएको खानु हुदैन भन्नु भयो । मैले अहिलेको समयमा पनि यस्तो कुरा नगर्नु भन्दा एक्कासी तिमी दलितहरु ठुला पल्टिन्छौ, (आरोपीहरुले) एक मुख लगाउदै हाम्रा भान्सा जुठो भयो भन्दै रामजी लामिछानेले भान्सामा भएको दाल भात तरकारी भुइमा फालीदिनु भयो भने सुजन लामिछानेले पनि तिमी दमैहरु किन बाहुन भान्सामा आउने ? सबै भान्सा बिटुलो भयो भन्दै अपमान गरे । त्यसरी उनीहरुले अपमान गरेपछि आरोपी सन्तोष परियारलाई सो कुरा भन्दा छुट्टाछुट्टै भान्सा छत किन बाहुन भान्सा गएर छुवाछुत गरेको तनी भनि उल्टै मलाई सम्झाएपछि मलाई बस्न खान मन नलागेर मेरो घरमा पारिवारिक समस्यासमेत भएकोले तुरुन्तै घर फर्किए । त्यसपछी मलाई निम्ता गर्ने आरोपी सन्तोष परियारले फोन गरी तिमीले भान्सामा गई छोइदिएकाले सबै पाकेको खानाहरु फालिदिए । मेरो (एक लाख पचास हजार रुपैया)को खाना खेर गयो मेरा पाहुनाको पनि अपमान भयो । त्यसैले तिमीले हाम्रो धर्म संस्कारलाई नमानी मेरो ब्रतबन्धको कार्य नै बिफल बनायौ । अब तिमिलाई हाम्रो कुल कुटुम्बबाट निकाल्छौ हाम्रो कुल मन्दिरमा पनि प्रवेश छैन । तिमीले दिएको घन्टी पनि लैजाउ भन्दै तिमीले जसरी पनि मेरो रकम तिर्नु बुझाउनु पर्याे भनी फोनमा धम्काउनु भयो । कानून बमोजिम सजाय हुनुपर्ने माग जातीय छुवाछुट गरेकोले जाहेरी दिदै पीडित परियाले कानून बमोजिम सजाय हुनुपर्ने माग गरेका छन् । उनले दिएको जाहेरी अनुसार नेपालको संविधान, २०७२ धारा १६ र २४ विपरित तथा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ को दफा (३) विपरित र दफा (४) १ को उपदफा २ (क) मा प्रवेश गर्न, उपश्थित हुन भाग लिन निषेध गर्न वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउने भनि गरेको र उपदफा १२ समेतको परिभाषित कसूर गरेका हुदा निज आरोपीलाई तत्काल पक्राउ गरी अनुसन्धान गरी सोही ऐनको दफा ७ (१) को (क) बमोजिम र आरोपी रामजी लामिछाने जनप्रतिनिधि समेत भएकोले दफा ७ (२) बमोजिम थप सजाय गरि हदै सम्म सजाय गरि पाऊ साथै निज आरोपीहरुबाट दफा ९ बमोजिम क्षतिपुर्तिसमेत दिलाउनु पर्ने माग छ ।
हेम्जा: यही चैत्र २६ गतेदेखि वैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेम्जा आलु महोत्सव–२०७९ लाई हेम्जाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा आलु महोत्सवले हेम्जालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा चिनाउने गरेको पहल गर्ने कुरा राखिएका थिए । कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, सिद्धिविनायक आमा समुहको अध्यक्ष पार्बती थापा, राधा कृष्ण आमा समुहको प्रतिनिधित्व गर्दै सृजना सापकोटा, देविस्थान आमा समुहकी सदस्य बुद्ध कुवर, सृजनशिल आमा समुहको सचिव गीता बराल अधिकारी, लगायतले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । भेलाले आलु महोत्सवमा हेम्जा लगायत यस क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ। त्यस अवसरमा मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ, आमा समूह परिचालन उप समिति संयोजक उमा भुर्तेल पौडल , सांस्कृतिक उपसमिति संयोजक दान बहादुर थापा लगायतले सहजीकरण गर्नुभएको थियो । महोत्सव आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता ,कृषि कविता प्रस्तुति ,प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन्।

