काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

काठमाडौं: नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।   मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैं (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।   यस्,तै सम्बन्धित धर्म, संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने गरी भदौ ७ गते गौरा पर्व, भदौ १४ गते गाईजात्रा र सिरुवा पावनी पर्वका लागि बिदा निर्धारण गरिएको छ । असोज १ गते तीज (सबै महिला) र असोज २० गते (जितिया पर्व मनाउने महिला) कर्मचारीका लागि मात्रै बिदा तोकिएको छ । शिक्षण संस्थाका लागि फागुन २ गते वसन्तपञ्चमीका दिन र काठमाडौं उपत्यकामा भदौ १४ गते गाईजात्रा, असोज ११ गते इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन र चैत २६ गते घोडेजात्राका लागि बिदा दिइएको राजपत्रमा उल्लेख गरिएको छ ।   दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसका दिन सबै कर्मचारीका लागि सार्वजनिक बिदा दिइएको छ । साथै अपाङ्गता भएका कर्मचारीका लागि मङ्सिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा बिदा तोकिएको छ । यस्तै, बुद्ध जयन्ती, पृथ्वी जयन्ती, फाल्गुनानन्द, मोमम्द, गुरु नानक जयन्तीका दिन सम्बन्धित धर्मावलम्बीहरूका लागि बिदा दिने निर्णय भएको छ ।   राष्ट्रियरूपमा मनाइने तर कार्यालय खोल्ने बिदा   मन्त्रालयले राष्ट्रियरूपमा मनाइने तर कार्यालय खुला रहने बिदासमेत तोकेको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस जेठ ११ गते मनाइने छ । भदौ २२ गते निजामती सेवा दिवस र माघ १६ गते सहिद दिवस मनाइने राजपत्रमा उल्लेख छ । जारी सूचनामा विदेशस्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकका लागि सार्वजनिक बिदालाई दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाइएको छ ।   सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था   मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थासमेत गरेको छ । जसअनुसार उभौली पर्व–चण्डी पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उधौली पर्व, योमरी पुन्हि– ज्यापू दिवस (धान्य पूर्णिमा), तमू ल्होसार, माघी पर्व/माघे सङ्क्रान्ति, सोनम ल्होसार, महाशिवरात्रि,  ग्याल्पो ल्होसार, इद (इद उल फित्र), बकर इद (इद उल अजहा), गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा, गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा सार्वजनिक बिदा भए पनि तोकिएका सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक प्रबन्ध मिलाउनुपर्ने छ । जन्मयजन्ती बिदाअन्तर्गत बुद्ध जयन्ती र पृथ्वी जयन्तीमा समेत सेवा प्रवाह गर्नुपर्ने छ ।   उल्लेखित बिदाका दिनमा नागरिकता, राहदानी, कन्सुलर, भन्सार तथा राजस्वसम्बन्धी सेवा (राजस्व अनुसन्धानसमेत), क्वारेन्टिनसम्बन्धी, सवारी अनुमतिपत्र, सवारीसाधन दर्ता तथा नवीकरणलगायत यातायात व्यवस्थापनसम्बन्धी सेवा, उद्योग, वाणिज्य र कम्पनी प्रशासनसम्बन्धी, वैदेशिक रोजगार सेवा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा, मालपोत तथा नापी, स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवाहरू दिने व्यवस्था मिलाउनुपर्ने छ ।   यस्तै भेटेरेनरी, खानेपानी, विद्युत्, सडक तथा ढल मर्मतसम्भारसम्बन्धी सेवा, खाद्य, गुणस्तर परीक्षण, विभिन्न निकाय तथा शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षा, वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा, नेपाल प्रहरीबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्रसम्बन्धी सेवा पनि नियमित गर्नुपर्ने छ । साथै सम्बन्धित मन्त्रालय वा निकायले तोकेका सार्वजनिक सेवासँग सम्बन्धित अन्य सेवा, प्रदेश सरकार र स्थानीय तहले तोकेका सार्वजनिक सेवा प्रवाहसम्बन्धी अन्य सेवा र  बैंकिङ तथा बीमासम्बन्धी कारोबार पनि जारी राख्नुपर्ने राजपत्रमा उल्लेख छ ।   सधैँ खुला राख्नुपर्ने सेवाहरू   राजपत्रमा उल्लेख भएअनुसार अस्पताल दूरसञ्चार, अध्यागमन, फोहरमैला व्यवस्थापन, फायरव्रिगेट, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् व्यवस्थापन आदि जस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिन दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्ने छ । त्यसरी खटिने कर्मचारीले खटिएवापत सट्टा बिदा पाउने छन् ।   कार्यालय हाजिर हुने र छुट्ने समय   देशभरका सबै सरकारी कार्यालयमा आगामी वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि तोकिएको छ । यस्तै, कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय समय रहने उल्लेख छ । शुक्रबार १० देखि ३ बजेसम्म सेवा प्रवाह गर्नुपर्ने छ । यसका साथै तोकिएका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले प्रदेशको धर्म, संस्कृति रीतिरिवाजसमेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा छ दिनसम्मका लागि सार्वजनिक बिदा गर्न सक्नेछ । यसरी गरिएको बिदाबारे जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा जानकारी गराउनुपर्ने छ । 

 काठमाडौं:  नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाउन गएका सेयर लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   नेपाल धितोपत्र बोर्डसँग यस अघि भएका सहमतिअनुसार नेप्सेले गर्नु पर्ने कार्य गर्न माग गर्दै नेप्से कार्यालय घेर्न पुगेका लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।   सेयर लगानीकर्ता तीलक कोइराला, अर्जुनकुमार कोइराला र नयन बास्तोलालाई प्रहरीले पक्रउ गरेको हो । पक्राउ परेका तीनै जनालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।   तिलक कोइरालाले सामाजिक सञ्चालमार्फत नेप्से कार्यालय घेर्न उपस्थित हुन आह्वान गर्दै आएका थिए । शुक्रबार नेप्से परिसरमा होलाल्ला गर्दै पुगेपछि ३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजवालले बताए ।   उनिहरुलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखिएको उनले बताए ।

पोखरा:  गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल पितृ शोकमै उपराष्ट्रपति निर्वाचनका सहभागि हुन राजधानी पुगेका छन् ।   सांसद बराल आफ्नो काकाको साथमा मतदान गर्न बुद्ध एयरमार्फत आज (शुक्रबार) काठमाडौं पुगेका हुन् ।   उनी मतदान गर्नासाथ पोखरा फर्किनेछन् । उनले पार्टीको निर्देशन र व्यवस्था प्रति सम्मान जनाउन प्रतिकुल समयमा पनि मतदानमा सहभागि हुन पुगेको बताए । उनले मतदानमा सहभागी  भइसकेको बताउदै पोखरा फर्किने तयारीमा रहेको जानकारी दिए ।    सांसद बरालका अनुसार उनको पिता लोकराज शर्मा बरालको ८३ वर्षको उमेरमा ८ दिन अघि निधन भएको थियो ।   सांसद बरालले नेपाली कांग्रेसबाट कास्की निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचन जितेका हुन् ।

ढल्केबर: धनुषाको मिथिला नगरपालिका–९, बडहरीका २५ वर्षीय युवा शङ्कर महतोमाथि शुक्रवार बिहान छुरा प्रहार भएको छ । छुरा प्रहारबाट महतो गम्भीर घाइते भएका छन् ।    उनको उपचार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कविन राईले छुरा प्रहार घटनाको पुष्टि गर्नुहुँदै अनुसन्धानको क्रममा तीन जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो ।    उहाँले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

पोखरा:  पोखरा चिप्लेढुङ्गामा आज बिहान नगरबसले स्कुटरलाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ ।    मृत्यु हुनेमा झापा जिल्ला दमक ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका ५ पस्र्याङ बस्दै आएकी २४ वर्षीय दिक्षा कार्की रहेकी छिन् ।   उनको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका अनुसार आज बिहान ७ः १० बजे सिद्धार्थ चोकबाट चिप्लेढुङ्गातर्फ आउँदै गरेको ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।   अहिले ठक्कर दिएको बस र चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:   त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति निजिकिदा गएरातिदेखि मौन अवधि सुरु हुने भएको छ ।    स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु हुनेभएपछि प्रचारप्रसारमा रोक हुनेछ । र कुनै पनि विद्यार्थी संगठनका उम्मेदवारहरुले भोट प्रचारप्रसारका गतिविधि गर्न पाउदैनन् ।   त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको छ ।   यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो । निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो ।    स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने त्रिवीले जनाएको छ । हालसम्म कतिपय क्याम्पसमा नतिजा घोषणा भइसकेको छ भने केही क्याम्पसमा चुनाव हुने नहुने बारे अनिश्चित छ ।   अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ ।   मतदान केन्द्रमा के–के लान मनाही छ ?   भयरहित बनाउनका लागि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरेको छ ।   स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार पेट्रोल, डिजल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ, मसी लैजान निषेध गरिएको छ ।   मोबाइलदेखि पानीका बोतल लैजान मनाही छ । साथै त्रिविले मोबाइल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो ।   यस्तै धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल वस्तुमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेल्मेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेनसमेत लैजान प्रतिबन्ध गरिएको छ । यस्तै लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ ।   

गण्डकी:   सबराज छन्त्याल ३९ वर्षको हुनुभयो । एक्काइस वर्ष पहिले छन्त्यालका बुवा टीका पनि ३९ वर्षकै हुनुहुन्थ्यो । जनयुद्धको रापताप चलेको थियो । देशमा सङ्कटकाल घोषणा भयो । यो विसं २०५८ फागुन आखिरीतिरको कुरा हो । युद्धरत माओवादीलाई आश्रय दिएको आरोपमा सरकारी सुरक्षा फौजले बागलुङको देवीस्थानका टीकासहित रोशनध्वज मल्ल र डोरबहादुर छन्त्याललाई नियन्त्रणमा लियो । साता दिन यातना शिविरमा राखेपछि सुरक्षाकर्मीले उनीहरूलाई चैत १ गते हेलिकोप्टरबाट ताराखोला पु¥याए ।  अहिलेको ताराखोला गाउँपालिका–२ अर्गल, गयार भन्ने ठाउँमा तीनै जनाको सामूहिक हत्या गरेर एकै चिहानमा गाडे । उक्त आतातयी घटना भएको २१ वर्षपछि बुवाको चिहान खोज्दै सबराज र उहाँका भाइ भीषण बुधबार अर्गल पुग्नुभएको थियो । रोशनध्वजकी धर्मपत्नी गौमला, छोराहरु गामु, सुगम, डोरबहादुरकी धर्मपत्नी फूलमाया र छोरी सपना पनि सँगसँगै जानुभएको थियो । घटना भएकै दिन पारेर उहाँहरु निसीखोलाको देवीस्थानदेखि ताराखोलाको अर्गल पुग्नुभएको हो । “घटना भएकै ठाउँमा सानो शोकसभा ग¥यौँ, बुवाको स्मृतिमा धुपबत्ती बाल्यौँ”, सबराजले भन्नुभयो, “सहिद परिवारका हिसाबले पहिलोपटक त्यहाँ पुग्दा हामी सबै भावुक पनि भयौँ, नरमाइलो अनुभूति पनि भयो ।” परिवारजनले सहिदको चिहान भएको ठाउँमा पहिलेदेखि नै जाने इच्छा देखाउनुभएको थियो । यसपालि बेला जु¥यो । वार्षिक पुण्यतिथि पारेर उहाँहरू गयार पुग्नुभयो । निरापराध मारिएका आफ्ना प्रियजनको चिहान छेउ उभिएर मौनधारण गरे, सहिदको सम्मानमा श्रद्धाका फूल चढाए र पार्टीको झण्डा गाडे । सहिदको स्मृतिलाई चीरस्थायी बनाउन गयारमा केही गर्ने सङ्कल्प पनि लिए । “परिवारजनका तर्फबाट त्यहाँ स्मृति स्तम्भ या अरु कुनै संरचना बनाउने सोच बनाएका छौँ”, सबराजले भन्नुभयो, “गाउँपालिकाले पनि गयारमै सहिद उद्यान बनाउन थालेको रहेछ, त्यो सुखद् कुरा हो ।” उहाँले युद्धमा आफन्त गुमाएका परिवारले न्याय र उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्नुभयो ।   गाउँकै मान्छेले माओवादीका सुराकी भनेर गलत सूचना दिएपछि रोशनध्वज, टीका र डोरबहादुर सुरक्षाकर्मीको निशानामा पर्नुभएको थियो । माओवादीको सहयोगी बनेको आरोपमा ज्यानै गुमाउन पुगेका उहाँहरू खासमा भने राष्ट्रिय जनमोर्चामा आबद्ध हुनुहुन्थ्यो । राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेलले रोशनध्वज तत्कालीन जिल्ला सदस्य र अन्य दुई सक्रिय कार्यकर्ता रहेको बताउनुभयो । “माओवादीलाई खाना, बास दिएको भन्ने शङ्कामा निर्मम यातना दिएर उहाँहरूको हत्या गरिएको थियो”, सचिव पोखरेलले भन्नुभयो । हेलिकोप्टरबाट भातखाने डाँडामा ओरालेपछि सुरक्षाकर्मीले कुट्दै गयार भन्ने ठाउँमा लगेर हत्या गरी गाडेको उहाँले बताउनुभयो । ताराखोलाको केन्द्र भातखाने डाँडाबाट अझै उकालो चढेपछि गयार आइपुग्छ । गयारलाई युद्धताका माओवादी जनमुक्ति सेनाले तालिम केन्द्रका रूपमा प्रयोग गरेको थियो ।  त्यहाँ एकैसाथ मारिएका तीनै जनालाई माओवादी र जनमोर्चा दुवैले सहिदका रूपमा सम्मान दिँदै आएका छन् । सहिद रोशनध्वजकी धर्मपत्नी गौमला र टीकाका छोरा सबराज निसीखोलाको कार्यपालिका सदस्यसमेत रहनुभएको छ ।  जनमोर्चाका कार्यकर्ता भए पनि जनयुद्धका सहिदकै रूपमा सूचीकृत गरिएको नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे बताउनुभयो । “उहाँहरूको हत्या भएको ठाउँमै गाउँपालिकाले सहिद उद्यान बनाइरहेको छ, पार्टीले पनि त्यसमा पहल लिइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसबेला जनमोर्चामा सक्रिय रहे पनि माओवादी आन्दोलनप्रति उहाँहरुको सदासयता र समर्थन थियो ।” युद्ध पर्यटनको नमूना योजनाका रूपमा गयारको सहिद उद्यानलाई अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत उद्यानमा पूर्वाधार निर्माणको काम भइरहेको छ । यसअघि त्यहाँ गण्डकी प्रदेश सरकारको बजेटबाट पदमार्ग, पोखरी र प्रतिक्षालय निर्माण गरिएको थियो । संरचना बनाउँदा स्थानीय सीप र प्रविधिको प्रयोग गरिएको छ । पदमार्गमा गाउँकै ‘स्लेट’ राखिएको छ । प्रतिक्षालय काठ र ढुङ्गाको बनाइएको छ ।  लामीडाँडा सामुदायिक वन क्षेत्रको एक हजार दुई सय ९१ वर्गमिटरमा उद्यानका संरचना बन्नेछन् । उद्यानमा सहिदका सालिक स्थापना, बगैँचा, विश्रामस्थल, धारा, शौचालयसहित अरु पूर्वाधार बन्न बाँकी नै छ ।  बजेटको स्रोत जुटाएर जतिसक्दो चाँडो उद्यान निर्माणलाई पूर्णता दिने योजनामा गाउँपालिका छ । जनयुद्धमा ताराखोला क्षेत्रबाट सहिद बनेका २१ जनाको सालिक उद्यानमा राखिनेछ । ताराखोला जनयुद्धबाट बढी प्रभावित ठाउँ हो । उद्यानमा युद्धकालीन समयलाई झल्काउने कलात्मक मूर्ति र नमूना युद्ध सामग्री पनि राखिने जनाइएको छ । युद्धबाट उठेको गाउँलाई पर्यटनका माध्यमबाट चिनाउन सहिद उद्यानले सघाउने विश्वास लिइएको छ । RSS

पोखरा:    नागरिक समाजको भूमिका पछिल्लो समयमा खुम्चिँदै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । शान्तिका लागि साझा अभियान (कोक्यापं)ले बिहीबार पोखरामा आयोजना गरेको ‘नागरिक स्थान अनुगमन तथा विश्लेषण’ बिषयक गण्डकी प्रदेश स्तरीय अन्तक्र्रियामा बोल्दै उनीहरूले यस्तो अवस्थाको सिर्जना हुनु बिडम्वना भएको बताए । कोक्याक्पका बरिष्ठ कार्यक्रम संयोजक महेश भट्टले अनुगमनका क्रममा राज्यले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरेको पाइएको बताए । राज्य र गैरराज्यपक्षबाट नागरिक अधिकारलाई कुण्ठित बनाउनु दुःखद भएको भन्दै उनले नागरिक समाज र राज्यबिच सन्तुलन कायम हुनुपर्नेमा जोड दिए । राजनीतिक नेतृत्वमा पुग्ने नयाँनयाँ पात्रहरूका कारण समस्या भएको उनको भनाइ छ । कोक्यापका पूर्व अध्यक्ष उषा बरुवालले संस्थाले सुरुदेखि नै जातीय विभेद र छुवाछुतको सवालका मुद्दालाई उठाउँदै आएको बताइन् । महिला सशक्तिकरणका कुरा गर्दा आर्थिक सशक्तिकरणलाई पनि जोड दिनुपर्ने उनको भनाइ छ । कोक्याप अध्यक्ष पुष्प भुसालले नागरिक समाज अब आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका बिषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले २०६२/६३ सालको जनआन्दोलनमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको तर लोकतन्त्र प्राप्तपछि नागरिक समाजको भूमिकामा संकुचन हुँदै गएको बताए । आवश्यक परे नागरिक समाजको खोजी गरिने तर अन्याय र अत्याचारकोविरूद्ध बोल्दा धम्कीको सामाना गर्नुपर्ने उनको भनाइ छ । राजनीतिक अस्थिरतका कारण मानवअधिकारकर्मी जोखिममा रहेको उनले सुनाए । गौरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष पदमराज पहारीले राज्यले भौतिक निर्माणको बिषयलाई बढी प्राथमिकता दिँदा महिला, दलित तथा बालबालिका आवश्यक शिक्षा र स्वास्थ्यबाट बञ्चित हुनुपरेको बताए । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा अधिकृत बिष्णुमाया पौडेलले पछाडि परेका वर्गलाई मूलधारमा नल्याएसम्म सक्षम समाजको परिकल्पना गर्न नसकिने बताइन् । बालगृह महासंघ नेपालका केन्द्रीय महासचिव विजय प्रधानले पछिल्लो समय नागरिक समाजका आवाज सुन्नेै नचाहने प्रवृत्ति हावी हुँदै गएको बताए । बालहितकारी परियोजना कास्कीका संयोजक केशव पौडेलले नागरिक समाज साँच्चिकै नागरिक समाज हुनुपर्ने बताए । समुदायमा काम गर्दा अधिकारकर्मीलाई डलरवादीको आरोप लगाइनुका साथै धम्कीको सामना गर्नुपरेको उनको भनाइ छ । दलित महिला संघ (फेडो) कास्कीमा कार्यक्रम संयोजक इश्वरी विकले जातीय विभेदका घटना हुँदा दलितले मात्र आवाज उठाउनुपर्ने हो भन्दै प्रश्न गरिन् । दलितमाथि विभेद हुँदा आवाज कम उठ्ने गरेको उनको भनाइ छ । मानवअधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेलले सरकरी नीति नियम बनाउँदा महिलालाई पनि सहभागी गराउनुपर्ने बताइन् । कार्यक्रममा कोक्यापका गण्डकी संयोजक बिरबहादुर किसान, कार्यक्रम व्यवस्थापक सरोज नेपाल, राष्ट्रिय मानवअधिकार आयोगका टंक अधिकारी, वडा न.२८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने, फेडो कास्कीका सचिव सरस्वती परियार लगायतले नागरिकले सभ्य र सक्षम समाजको परिकल्पना गरेको बताए ।

काठमाडौं: आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ ।   नेपालले युएईलाई डिएल मेथोडमा ९  रनले हराउँदै विश्वकपमा छनोट भएको हो ।