पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

काठमाण्डाै:  नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड जितेका छन् ।   मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर अलमुताइरीलाई 'स्पाेर्ट्स अवार्ड–२०७८' अन्तर्गत वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड दिएकाे हाे ।   यस विधामा क्रिकेटका डेभ वाटमोर, भलिबलका जगदीश भट्ट, तेक्वान्दोका कविराज नेगी र बक्सिङका दीपक महर्जन मनोनयनमा थिए । बाँकी चार जना मनाेनीतलाई पछि पार्दै अलमुताइरीले अवार्ड जितेका हुन् ।    अलमुताइरीकै प्रशिक्षणमा नेपाल पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएकाे थियाे । अलमुताइरीकै प्रशिक्षणमा नेपालले अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि जितेको थियो ।

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् । सोलुखोला दुधकोशी जलविद्युत परियोजना उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदै गएको र आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका हुन् ।   प्रचण्डले भने,‘ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतिर जाने यो उत्कृष्ठ अवसर हो । डीजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्ने सुझाव आएको छ । त्यसका लागि पनि मैले तयारी गरेको छु ।’ नेपाल ग्रीन इनर्जीको प्रचुर सम्भावना रहेको देश भएको बताए ।   उनले भने,‘प्रकृतिले हामीलाई धेरै चिज दिएको छ । म हाइड्रोजन गाडी तयारीमा छु । हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदैछ । हाइड्रोजनलाई आर्थिक उत्पादनसँग जोड्न जरुरी छ । अर्थतन्त्र संकट समाधानमा सरकार गम्भीर भएर लागेको छ । ’  

काठमाडौं : नेप्से परिसूचक १४ अंकले बढेको छ। नेप्‍से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५३ अंकले बढेको छ।   यसदिन २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर १ अर्ब २० करोड ४४  लाख ९ हजार ४११ रुपैयाँमा खरिदबिक्री भयो।   आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।   शुभम पावर र सुपर मादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो। सीवाईसी नेपाल लघुवित्त वित्तीयको मूल्य ५ प्रतिशतले ओरालो लाग्यो।   कारोबार रकमका आधारमा साल्ट ट्रेडिङ कर्पोरेसन शीर्ष स्थानमा रह्यो।   सो कम्पनीको १२ करोड मूल्य बढिको सेयर खरिदबिक्री भयो। यसैगरी हिमालयन डिस्टिलरी र छिमेक लघुवित्त वित्तीयको मूल्य क्रमश ९ करोड र ५ करोड बढिको सेयर कारोबार भयो।   कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो।   पाँच उपसमूहको १ प्रतिशत बढिले मूल्य बढेको हो। ११ उपसमूहको मूल्य बढ्दा मनु एन्ड प्रो र म्युचुअल फण्डको मूल्य घटेको हो।

पोखरा:  जिल्ला ट्राफिक कार्यालय कास्कीले होली पर्वको दिन हिजो (शुक्रबार) ट्राफिक नियम उल्लघन गर्ने ३ सय बढी सवारीसाधनलाई कारबाही गरेको जनाएको छ ।  पोखराको सिर्जनाचोक, चिप्लेढुङ्गा, लेकसाइड र हेम्जामा होली मनाउने क्रममा ट्राफिक नियम उल्लघंन गर्ने ३ सय ५६ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो ।    होलीको दिनमा कुनै अप्रिय दुर्घटना हुन नदिन ट्राफिक कार्यालयले १७ ठाउँ बढीमा सवारी चेकिङ गरेको थियो ।  कारबाहीमा पनर्मो मोटरसाइकल, स्कुटर, कार र जिप छन् । सवारी चालक अनुमति पत्र नभई गाडी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सिट क्षमताभन्दा बढि यात्रु राख्ने, तिव्र गतिमा सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल/स्कुटर कुदाउँने लगायत सवारी कारबाहीमा परेका छन् ।  जसमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । ‘ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर छन,’ पाठकले भने, ‘धेरैले मादक पदार्थ सेवन गरेको, हेल्मेट नलगाएको, क्षमता भन्दा बढी सवार भएर यात्रा गरेको कारण बढी कारबाहीमा परेका छन् ।’ पाठकका अनुसार २०२ जना मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, १५४ जना हेल्मेट नलगाउने र क्षमता भन्दा बढी सवार गर्ने कारबाहीमा परेको छन् । भने ११९ जना पक्राउ परेका छन् ।  यसैबीच, हिजो मात्रै पोखरामा ८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् ।  घाइतेको हाल मणिपाल अस्पातालमा उपचार भईरहेको पाठकले बताए ।   

काठमाडौं:  आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक शृंखला खेल्न आउने यूएईको टोली घोषणा भएको छ ।   एमिरेट्स क्रिकेट बोर्डले मंगलबार मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यूएईमा सोमबार सकिएको लिग टु कै शृंखलामा नेपाल विरुद्धको खेलबाट कप्तानी डेब्यु गरेका वासिमले नै कप्तानमा निरन्तरता पाएका छन् । उनले सीपी रिजवानलाई रिप्लेस गरेका हुन्   घरेलु मैदानमा खेलेको शृंखलामा रहेका ३ खेलाडी परिवर्तन भएका छन् । आलिसा शाराफु, राहुल भाटिया र सबिर अलीको स्थानमा अश्वन्त भल्थापा, आर्यंश शर्मा र जावर परिद टिममा समावेश भएका छन् ।   आर्यंशले यू-१९ विश्वकप छनोट खेलेका थिए । नेपाल यूएई र पपुवा न्युगिनी सम्मिलित लिग टू को अन्तिम शृंखला बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।   असद भालाको कप्तानीमा यूएईमै खेलेको पपुवा न्यु गिनीको टोली नेपाल आउने छ ।

जनकपुरधाम:  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताएका छन् ।   होली पर्वको अवसरमा आज शुभकामना दिँदै उनले यस्ता पर्वले समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन गर्न पनि अभिप्रेरित गर्ने बताए ।   बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै उनले यहाँका हरेक जातजाति र धर्मावलम्बीहरूमा आ-आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको बताए ।   असत्यमाथि सत्यको विजयका रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेस प्रदेश, देश र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् भन्ने कामनासमेत मुख्यमन्त्री यादवले व्यक्त गरे ।   ‘कुमतिको होलीका दहन होस् र यहाँहरूको जीवन रसरङ्गमय, प्रेममय होस् र खुसीयालीका साथै आपसी एकता र सद्भाव कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, उनले भने ।

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।  अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए ।   २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिएर अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।   सर्वोच्च प्रसाशनले यसअघि दरपिठ (दर्ता नहुने) आदेश गरेको थियो । सो निर्णय विरुद्ध रिट निवेदकले पुनः सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतका कानुन व्यवसायीले बहस गरेका थिए । सर्वोच्च प्रशासनको आदेशविरुद्धको निवेदनमा सुनुवाई गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले निवेदन दर्ता गर्न आदेश गरेका हुन् ।     प्रचण्डको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्दका पीडित पक्षले उनीमाथि कारबाहीको माग गरेर प्रहरी प्रधान कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग लगायतमा उजुरी दिएका थिए । तर, सो उजुरीउपर प्रक्रिया अघि नबढेको भन्दै उनीहरू सर्वोच्चमा पुगेका हुन् । सार्वजनिक रूपमा नै जिम्मेवारी लिएपछि प्रचण्डको अभिव्यक्ति छानबिनको माग गरिएको छ । 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्त्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताउनुभएको छ।    मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।       प्रधानमन्त्रीले भन्नुभयो, “आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ।”      प्रधानमन्त्रीले “खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएको” भन्दै खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेकोसमेत बताउनुभयो।   प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठ ​ एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित यस १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपले एसियन एथलेटिक्समा नेपालको पहिचानलाई थप फराकिलो बनाउने विश्वाससहित सर्वप्रथम प्रतियोगिताको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। ​ दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन पटक स्वर्ण पदक जित्ने क्रममा धावक बैकुण्ठ मानन्धरले साढे तीन दशकभन्दा अगाडि २ घन्टा १५ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै म्याराथुनमा राखेको कीर्तिमान अहिलेसम्म कायमै छ।    पछिल्लोपटक नेपालमा आयोजित १३ औं सागमा १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नुले एथलेटिक्समा नेपालले प्राप्त गरेको सफलता प्रमाणित गर्दछ। यी सफलताहरूले नेपाली खेलाडीहरूको दक्षता र खुबीमात्रै प्रदर्शन भएको छैन, सिंगो राष्ट्रकै गौरव र प्रतिष्ठासमेत उच्च भएको छ।   त्यसबीचमा अन्य खेलाडीले पनि एथलेटिक्स खेलमार्फत आ–आफ्नो ठाउँबाट विशिष्ट योगदान गर्दै आउनुभएको छ। विश्व खेलकुदको महाकुम्भको रूपमा रहेको ओलम्पिकमा नेपालबाट सबैभन्दा बढी एथलेटिक्स खेलाडीकै सहभागिता रहनु हाम्रा लागि गर्वको विषय हो।    खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र ​मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्। खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन्।   कुनै समय खेलकुदलाई शारीरिक र मानसिक स्फूर्तिको माध्यमका रूपमा मात्र लिइन्थ्यो। तर, अहिले समय फेरिएको छ।    आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ। ​ खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो। नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छ। त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्म स्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्ति विकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ। साथै एथलेटिक्सको विकासका निम्तिसमेत राज्यले उचित ध्यान दिनेछ।   दुई दशकभन्दा लामो समयपछि नेपाललाई एसियन क्रस कन्ट्री च्याम्पियनसिपको आयोजनाको अवसर दिने एसियन एथलेटिक्स एसोसिएसन परिवारलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै आगामी दिनमा समेत नेपाल यहाँहरूको उच्च प्राथमिकतामा पर्नेछ भन्ने मैले विश्वास लिएको छु।     अन्त्यमा, यस प्रतियोगितालाई शानदाररूपमा सफल पार्न भूमिका खेल्ने सरकारी र गैरसरकारी क्षेत्रका सबै संस्था र प्रतिनिधिज्यूहरूप्रति विशेष आभार प्रकट गर्दछु। च्याम्पियनसीपमा भाग लिने नेपालसहित ११ देशका खेलाडीहरूमा प्रतियोगितामा राम्रो प्रस्तुतिको अपेक्षासहित शुभकामना व्यक्त गर्दछु।    यस प्रतियोगिताका आयोजक, व्यवस्थापक, सम्पूर्ण प्रयोजकहरू एवं सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउँदै बिदा हुन्छु, धन्यवाद।          

मुम्बई: अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङको क्रममा उनी घाइते भएका हुन् । जसको जानकारी उनले आफ्नो ब्लग मार्फत दिएका छन् ।   उनले लेखेका छन् ‘करङको मांसपेशी च्यातिएको छ । सुटिङ रोकिएको छ । आवतजावत गर्न कठिन छ । धेरै दुख्छ । श्वासप्रश्वासमा पनि समस्या छ । केही औषधि दिइएको छ । निको हुन केही समय लाग्छ ।’   आफू जलसामा आराम गरिरहेको बताएका बच्चनले अहिलेको अवस्थामा फ्यान भेट्न नसक्ने भन्दै फ्यानलाई जलसामा भेट्न नआउन अनुरोध समेत गरेका छन् ।   ‘प्रोजेक्ट के’ का निर्देशक प्रशान्त नील हुन् । ‘प्रोजेक्ट के’ मा अमिताभको अलावा  प्रभास, दीपिका पादुकोण र दीसा पटानी मुख्य भूमिकामा छन् ।