पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

काठमाडौं:  साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।   अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।   शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।   शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।   आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पोखरा:  पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य सञ्जय कुमार श्रेष्ठको निधनमा महानगरले आज (आइतबार) १ बजेपछि महानगर तथा सबै वडामा शोक सभा गर्दै कार्यालय बन्द रहने जनाएको छ ।  वडा सदस्य श्रेष्ठको निधनपछि महानगरले एक सूचना प्रकाशित गर्दै पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालय पूर्णरुपमा बन्द गर्ने र १ बजेपछि महानगरपालिकाको कार्यालय, महाशाखा, शाखा कार्यालय र सबै वडा कार्यालयमा १ बजेपछि शोक सभा गर्दै कार्यालय बन्द रहने जनाएको हो ।  वडा सदस्य श्रेष्ठको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो ।   

काठमाडौं:  राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।   आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।    शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो।   त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १३९ रुपैयाँ ८५ पैसा र बिक्रीमा १४० रुपैयाँ ४९ पैसा पाइन्छ।    त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६४ पैसा तोकिएको छ।    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९० रुपैयाँ ४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८२ पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ७८ पैसा र बिक्रीमा २९ रुपैयाँ ९२ पैसा पाइन्छ।   आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ४४ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६ पैसा तोकिएको छ।

बुटवल:  बुटवलका पत्रकार मनोज हितंगाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । गए राती करिब ११ बजे बुटवलको नयाँ बसपार्क नजिक हितंगा सवार मोटरसाइकलाई बसले ठक्कर दिएको थियो ।    बुटवलको मिलन चोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार लु ८ प ९०६८ नम्बरको मोटरसाइकल र मिलन चोक तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ ख १२२६ नम्बरको  यात्रु बाहक बस बसपार्क नजिकै ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।   दुर्घटनाबाट गम्भीर घाइते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।    लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनको रूपमा कार्यरत हितंगा पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । पाल्पाको तानसेनका स्थायी बासिन्दा हितंगा करिब १५ वर्ष देखि बुटवलको बुद्ध नगरमा बस्दै आउनु भएको थियो । 

सर्लाही:  सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी (चजब) क्याम्पसले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।   उनीहरुले निर्धारित मिति चैत ५ गते नै स्ववियु निर्वाचन गराउनुपर्ने माग गर्दै आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुखेपोखरीमा टायर बालेर प्रदर्शन गरे । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दीसमेत गरेका छन् ।   अखिल क्रान्तिकारीका नेता विवेक मैनालीले क्याम्पस प्रमुख र व्यवस्थापन प्रमुखले विद्यार्थीहरुसँग समन्वय नगरी शुक्रबार राति एकलौटी ढंगले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेकाले विरोध प्रदर्शन गरेको बताए ।   क्याम्पस प्रमुख गंगा बहादुर भुजेलले भने विद्यार्थी भर्नाको विषयमा सामान्य विवाद रहेकाले त्यसलाई समाधान गरेर मात्र स्ववियु निर्वाचन गराउने भनेर स्थगित गरिएको बताए । ‘भर्नाको विषयमा विवाद भएकाले स्ववियु निर्वाचन अहिले स्थगित गर्ने निर्णय गरेका हौं,’ क्याम्पस प्रमुख भुजेलले भने, ‘विवाद समाधानका लागि आज सर्वपक्षीय भेला पनि बोलाएका छौं ।’   विवाद के हो ?   क्याम्पस प्रमुख भुजेलका अनुसार स्ववियु निर्वाचनका लागि फागुन ५ गते ४ बजेसम्म विद्यार्थी भर्नाको समय तोकिएको थियो । तर केही विद्यार्थीहरुको भर्ना फारम ४ बजेभित्रै आए पनि भर्ना फारममा टाँस्नुपर्ने फोटो ५ मिनेट ढिला आएकाले विवाद भएको उनले बताए ।   ‘केहीले फारम चार बजेभित्रै आएको हो, फोटो मात्र ५ मिनेट पछि आएको त हो नि, त्यही भएर भर्ना लिनुपर्छ भन्नुभयो ।​ केहीले फेरि ४ बजेपछि आएकोलाई किन स्वीकार गर्ने भन्नुभयो, त्यही भएर विवाद भयो,’ क्याम्पस प्रमुख भुजेलले भने ।   तर अखिल क्रान्तिकारीका नेता मैनालीले भने ५ मिनेटमात्रै ढिलो फोटो आएको भन्ने क्याम्पस प्रमुखको भनाइ सत्य नभएको बताए । ‘त्यो दिन म क्याम्पसमै थिएँ, ५ मिनेट ढिलो होइन, पाँच बजेसम्म पनि फोटो आएको छैन,’ उनले भने ।   भर्ना बन्द गरेर निस्किने बेला क्याम्पस प्रमुखले के गर्ने भनेर ‘भोलि सन्चालक समितिलाई सोध्छु’ भनेको बताउँदै मैनालीले भने, ‘झगडाको बिउ उहाँले नै रोप्नुभयो ।’   स्ववियु निर्वाचन स्थगित गर्न नपाइने भन्दै नेकपा एमाले बाहेकका राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । उनीहरुले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय खारेज नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।   उनीहरुले क्याम्पस प्रमुखको मिलेमतोमा एमाले निकट अनेरास्ववियुका एक सय जनाभन्दा बढी विद्यार्थीहरुलाई पूर्वनिर्धारित भर्ना तालिकामा तोकिएको समयभन्दा पछि भर्ना गर्न खोजिएकाले ती फारम रद्द हुनुपर्ने मागसमेत गरेका छन् ।

सुर्खेत:  सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको वार्षिक परीक्षा सकिन लागे पनि उनीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन्।   वीरेन्द्रनगर–१२ स्थित अमरज्योति नमुना माध्यमिक विद्यालयकी छात्रा गौमाया अधिकारीले पाठ्यपुस्तक अझै नपाएको बताउनुभयो।   सामुदायिक विद्यालयमा समयमै सबै विषयका पाठ्यपुस्तक नपुग्दा सिकाइ गतिविधि नै प्रभावित बनिरहेको छ। उहाँका अनुसार यो शैक्षिक सत्रमा पनि सबै पाठ्यपुस्तक हातमा परेन। कतिपय विषयका किताब नै नदेखेर परीक्षा दिनुपर्ने अवस्था रहेको छात्रा अधिकारीले बताउनुभयो।   कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी छात्रा पूजा बुढाले पनि पाठ्यपुस्तकबिनै अध्ययन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। माध्यमिक तहमा अध्ययनरत छात्रा पूजाले भन्नुभयो, “न समयमा हामीले किताब पाउँछौँ न त विद्यालयमा सिकाइ गतिविधिका लागि पर्याप्त सामग्री नै छन्।”   पाठ्यपुस्तक, भौतिक संरचना र शिक्षक अभावजस्ता कारणले आफूहरूको सिकाइ प्रभावकारी बन्न नसकेको उहाँले बताउनुभयो। सामुदायिक विद्यालयका अनुसार शैक्षिक सत्र सकिनै लाग्दासमेत कतिपय विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन्। सुर्खेतजस्ता सुगम ठाउँका विद्यालयमा पनि पाठ्यपुस्तक पर्याप्त नभएको गुनासो विद्यार्थीको छ। साबिक कर्णालीका विद्यार्थीले पनि अहिलेसम्म पूरै पाठ्यपुस्तक नपाएको बताइएको छ।   बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘प्रदेशमा नयाँ सरकार, शिक्षालाई प्राथमिकता कति ?’ विषयक प्रदेशस्तरीय छलफलमा सहभागी गौमाया र पूजाजस्तै थुप्रै विद्यार्थीले पाठ्यपुस्तक नै नपाउने गरेको गुनासो सुनाए। कार्यक्रममा सहभागी शिक्षाविद् विद्यानाथ कोइरालाले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन स्थानीय सरकार बढी उत्तरदायी बन्नुपर्ने बताउनुभयो। शिक्षाका संरचनादेखि हरेक क्षेत्रमा प्रदेश सरकारले लगानी गरिरहेको अवस्थामा स्थानीय सरकार गैरजिम्मेवार बनेको उहाँको तर्क छ। उहाँले भन्नुभयो, “सार्वजनिक शिक्षामा राज्यको लगानी निकै कम भयो। गरिएको लगानी पनि पारदर्शी हुन सकेन। विद्यालयमा राजनीतिक हस्तक्षेप र प्रभाव बढ्यो।” उहाँले पछिल्ला वर्षमा शिक्षक राख्ने नाममा विकृति रहेको चर्चा गर्दै कमजोर शिक्षक थपेर शिक्षामा बोझ मात्रै बढिरहेको बताउनुभयो।   उहाँले कतिपय सामुदायिक विद्यालयमा अहिले पनि राजनीतिक कोटामा शिक्षक भर्ना गर्ने परिपाटी रहेको र यस्ता गतिविधिले शैक्षिक गुणस्तर झनै खस्कने गरेको बताउनुभयो। उहाँले विद्यार्थीको सिकाइ व्यावहारिक र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिनुभयो।    माध्यमिक तहसम्मको शिक्षाको रेखदेख तथा व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई छ तर स्थानीय तहले उक्त अधिकार क्षेत्रमा रहेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा भने अपेक्षित काम गर्न नसकेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्। नेपाल शिक्षक महासङ्घ कर्णाली प्रदेशका सचिव चन्द्रप्रसाद ढकालले सामुदायिक विद्यालयप्रति प्रदेश र स्थानीय सरकार उत्तरदायी बन्न नसकेको आरोप लगाउनुभयो। गुणस्तरीय शिक्षा हासिल गर्नका लागि विद्यालयमा भौतिक संरचना, विषयगत शिक्षक र पाठ्यसामग्रीको उचित प्रबन्ध हुन नसकेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “सामुदायिक शिक्षामा सरकारको लगानी न्यून छ। सार्वजनिक र गुणस्तरीय शिक्षातर्फ सरकारले ठोस नीति तथा योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ।” सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइरालाले अभिभावकलाई आर्थिक भार कटौती गर्न सामुदायिक विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो।   उहाँले विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन बाध्यतामा रहेर सामुदायिक विद्यालयले अभिभावकबाट स्वैच्छिक सहयोग लिने गरेको प्रस्ट्याउनुभयो। थुप्रै विद्यालयले शिक्षक अभाव झेलिरहेको भन्दै कोइरालाले विद्यार्थी अनुपातमा सरकारले शिक्षक दरबन्दी कायम गर्नुपर्ने बताउनुभयो।   प्रदेश सरकारले शिक्षा नीति बनाएर सामुदायिक विद्यालयमा पर्याप्त शिक्षकको दरबन्दी सिर्जना गर्नुपर्ने सरोकारवालाले बताएका छन्। भएका दरबन्दीमा पनि शिक्षकको पदपूर्ति हुन नसकेको भन्दै उनीहरूले यसतर्फ तीनै तहका सरकार गम्भीर बन्नुपर्ने जनाएका छन्। अमरज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले शिक्षक दरबन्दी समस्याका रूपमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “पाठ्यपुस्तक समयमा आउँदैन, विद्यार्थीको अनुपातमा शिक्षक छैनन्। यसले गर्दा शैक्षिक गुणस्तर सुधारमा बाधा पुगेको छ।”   कर्णाली सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षालाई श्रम र प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने बताउनुभयो। ‘प्रदेशमा नयाँ सरकार शिक्षालाई प्राथमिकता कति’ विषयक छलफलमा उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रका आवश्यक नीति निर्माण र त्यसको कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध छ।”   उहाँले प्रदेश सरकारको पहिलो प्राथमिकता शिक्षा रहेको प्रस्ट पार्नुभयो। उहाँले भन्नुभयो, “उपलब्ध स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गरेर शैक्षिक उन्नयनमा जोड दिन आवश्यक छ।”   शिक्षा क्षेत्रका जानकार तथा अभिभावक र विद्यार्थीसँग विचारविमर्श गर्दै सुझावका रूपमा आएका विषयलाई नीतिमा समावेश गर्ने गरी जोड दिइने उहाँको भनाइ छ।   

डडेल्धुरा: संविधानमा स्वास्थ्य उपचारको हकलाई मौलिक हकका रूपमा राखिएको छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्कसमेत भनिएको छ। यद्यपि ग्रामीण भेगका सरकारी अस्पतालमा न चिकित्सक भेटिन्छन् न औषधि पाइन्छ।   सङ्घीय सरकार मातहत रहेका देशभरका १२ वटा अस्पतालमध्ये डडेल्धुरा अस्पताल एक हो तर सो अस्पतालमा मनोचिकित्सक र औषधि पाउन मुस्किल छ। मनोचिकित्सक र औषधि नहुँदा मानसिक रोगीको उपचारमा समस्या हुँदै आएको छ।   मनोचिकित्सक डा. निराजन भट्टराई गत असार महिनामा अवकाश लिनुभएपछि डडेल्धुरा अस्पताल मनोचिकित्सकविहीन भएको छ। अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तका अनुसार डडेल्धुरामा करिब चार सय जना मानसिक रोगी छन्। हाल अस्पतालमा मनोचिकित्सक नहुँदा डडेल्धुराका निजी मेडिकलमा दुई महिनामा आउने मनोचिकित्सकसँग परामर्श लिने र औषधि सेवन गरिरहेका छन्।   मनोसामाजिक समस्या भएकाले निजी मेडिकलमा पुगेर चिकित्सकको जाँच खर्च पाँच सय रुपियाँ तिरेर औषधि उपचार गर्दा पीडा झनै बल्झने उहाँको तर्क छ। यसका लागि सरकारले सरकारी अस्पतालमा चिकित्सक र ११ प्रकारका औषधि अनिवार्य व्यवस्थापन गर्न जरुरी रहेको उहाँले बताउनुभयो।    विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालको २० देखि २५ प्रतिशत जनसङ्ख्या मनोसामाजिक समस्याबाट गुज्रिरहेका छन्। प्रत्येक वर्ष विश्वको जनसङ्ख्याको १४ प्रतिशतमा मृत्युका कारण मानसिक रोग हुने गरेको टीपीओ नेपालका कार्यकारी निर्देशक एवं मनोचिकित्सक डा. कमल गौतमले बताउनुभयो।    बिहीबार टीपीओ नेपालले डडेल्धुरामा आयोजना गरेको मनोसामाजिक सहयोगलाई विभिन्न सवालमा समाहित गर्नका लागि बहुपक्षीय सरोकारवालासँग समन्वय तथा सहकार्य बैठकमा डा. गौतमले विश्वमा प्रत्येक वर्ष ३९ हजारले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँका अनुसार नेपालजस्ता विकासोन्मुख राष्ट्रमा ७५ प्रतिशतले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ।    १५ वर्षदेखि २९ वर्ष उमेर समूहका युवा रहेका छन्। आत्महत्या गर्नेभन्दा आत्महत्याको प्रयास गर्नेको सङ्ख्या २२ गुणा बढी रहेको छ। मानसिक तनावका कारण विश्वमा झन्डै एक करोड २० लाख मानिसले आत्महत्याको प्रयास गर्ने गरेका तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनको रहेको डा. गौतमले बताउनुभयो।    यसका लागि स्वास्थ्य संस्था, स्थानीय सरकारले मनोचिकित्सकको व्यवस्था गरेर परामर्श दिने र औषधि खरिद गरेर उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ। विद्यालयमा नर्स कार्यक्रम पनि भएकाले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नर्सले मनोसामाजिक परामर्श दिँदा अभिभावकसम्म पुग्ने उहाँको सुझाव छ। चिकित्सकलाई समेत मनोसामाजिक परामर्शका तालिम सञ्चालन गरेर समुदायमा परामर्श दिन सकिने उहाँले बताउनुभयो। नेपालमा मानसिक समस्या भएकामध्ये १४ प्रतिशतले मात्रै उपचार पाइरहेको उहाँले बताउनुभयो। मातृ मृत्युदरमा १६ प्रतिशत आत्महत्या रहेको छ। यसमा पनि १८ वर्षदेखि २१ वर्ष उमेर समूहका आमा रहेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो।    डडेल्धुरामा पछिल्ला वर्षमा आत्महत्या गर्नेको सङ्ख्या भने घटेको देखिएको छ तर सबैभन्दा बढी घटना भने आत्महत्याकै छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको हालसम्म आत्महत्या गर्नेको सङ्ख्या १९ छ। गत वर्ष डडेल्धुरामा आत्महत्या गर्नेको सङ्ख्या २७ थियो भने त्योभन्दा अघिल्लो वर्ष २०७७/७८ मा आत्महत्या सङ्ख्या ४३ थियो।    

काठमाडौँ:  क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ ।   शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो ।    सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो ।

पोखरा:  पोखरा महानगरपालिका ४ का वडासदस्य संजयकुमार श्रेष्ठको निधन भएको छ ।   पोखरा ४ का वडासदस्य श्रेष्ठको फिस्टेल हस्पिटलमा उपचारको क्रममा आज बिहान करिव २ः३० बजेको समयमा निधन भएको वडासदस्य प्रकाश कोइरालाले जानकारी दिए ।  ‘बिहीबार सम्म वडामा आउनुभएको थियो, हिजो (शुक्रबार) स्वास्थ्यमा समस्यामा आएपछि फिस्टेल हस्पिटलमा चेकजाँचका लागि जानुभएको रहेछ, कोइरालाले भने, ‘हस्पिटलमा उपचारको क्रममा उहाँको आज बिहान निधन भएको रहेछ ।’ स्वर्गीय वडासदस्य श्रेष्ठ नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका ४ को वडासदस्यमा निर्वाचित भएका थिए । स्वर्गीय श्रेष्ठको  दुई छोरा, एक छोरी र श्रीमती छन् ।