काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बागलुङ: नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर युवा संघ बागलुङले फागुन १२ देखि १५ गतेसम्म दोस्रो लखन कप महिला /पुरुष भलिबलको आयोजना गरेको छ । मगर संघको स्थापना दिवसको अवसरमा पालिका स्तरीय महिला भलिबल र खुुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको नेपाल मगर युवा संघका उपाध्यक्ष प्रकाश थापामगरले जानकारी दिए । ‘मगर संघको स्थापना दिवस फागुन १५ गते हो वर्षेनी कार्यक्रम आयोजना हुँदै आएको छ, थापामगरले भने, ‘शहीद लखन थापामगरलाई राष्ट्रले उचित सम्मान दिन सकेको छैन, शहीद थापामगरको सम्मान स्वरुप नै अन्य कार्यक्रम गर्दै आएपनि गतवर्ष देखि लखन कप आयोजना गरेका छौं ।’ दोस्रो लखन कप पालिका स्तरीय महिला भलिब प्रतियोगितामा विजेता हुने समूहले २५ हजार, द्धितीय हुने समूहले १५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यस्तै खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ विजेताले ८१ हजार १ सय ८१, द्रोस्रो हुने समूहले ४१ हजार १ सय ४१ र सान्त्वना हुने दुई समूहले क्रमश १०/१० हजार पुरस्कार प्राप्त गर्ने नेपाल मगर युवा संघ बागलुङका उपाध्यक्ष थापामगरले जानकारी दिए । उनका अनुसार लखनकप तथा मगर स्थापना दिवसको अवसरमा सामुहिक खुल्ला लोक नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ । लोक नृत्यतर्फको विजेताले १० हजार, दोस्रो हुने समूहले ७ हजार र तेस्रो हुने समूहले ४ हजार पुरस्कार प्राप्त गर्नेछन् । नेपाल मगर युवा संघ बागलुङले आयोजना गरेको प्रथम लखन कप महिला भलिबलतर्फ बागलुङको बडिगाड गाउँपालिका विजेता र ताराखोला गाउँपालिका उपविजेता भएका थिए । यस्तै खुल्ला वडास्तरीय पुरुष भलिबलतर्फ बागलुङको गलकोट नगरपालिका ७ मल्म विजेता र गलकोट नगरपालिका १० पाण्डवखानी उपविजेता भएका थिए । भलिबल प्रतियोगिता बागलुङको कालिका भगवती बालउद्यानमा हुने संघले जनाएको छ ।
नवलपरासी: पश्चिम नवलपरासीको सुस्ता गाविसको हरकपुरामा दुई नाबालक छोरासहित गण्डक नहरमा हामफालेकी आमा मृत भेटिएको छ । मंगलबार दुई छोरालाई साथै चुन्नीले बाँधेर नहरमा हाम्फालेका तीन जना मृत भेटिएका हुन् । सुस्ता गाउँपालिका वार्ड नम्बर २ सुकुम्वासी टोल निवासी २९ वर्षीया प्रतिमा थारुले ९ वर्षीय छोरा कृश र ७ वर्षीय सुमित थारु सहित गण्डक नहरमा हामफालेको प्रहरीले जनाएको छ । नहरमा बेपत्ता भएपछि प्रहरीले नहरको पानी बन्द गरेर खोजी गरी मृत अवस्थामा तीनै जनालाई मंगलबार बेलुकी फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । शवहरूको पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान गरी रहेको जनाएको छ ।
काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए। उनका अनुसार सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भइ बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेसँगै विभागले उक्त निर्णय लिएको हो । युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ । उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक जिल्ला र मकवानपुर जिल्लाको सिमाना सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माण सुरु गरिएको छ वर्ष पूरा हुन लाग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । बागमती नदीमा पक्की पुल निर्माण नहुँदा काभ्रेपलाञ्चोकको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा जानका लागि समस्या बेहोर्दै आएका छन् । काभ्रेपलाञ्चोक र मकवानपुरलाई सडक सञ्जालबाट जोड्न आर्थिक वर्ष २०७३/७४ मा तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले बोलपत्र आह्वान गरेको थियो । दुई वर्षभित्र पुल निर्माण गर्न ११ करोड रुपियाँमा महादेव-शिखर-तामाकोसी जेभीसँग ठेक्का सम्झौता भएको थियो । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि पुल निर्माणको काम सम्पन्न हुन नसकेको बताउनुभयो । उहाँले पुल निर्माणको ठेक्का पाएको कम्पनीले पुल निर्माणको काममा ढिलाइ गरेका कारण प्रदेश राजधानी हेटौँडा जान खानीखोला र महाभारत गाउँपालिकाका बासिन्दाले समस्या भोग्नु परेको बताउनुभयो । खानीखोला गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले बागमती नदीमा पुल निर्माणमा ढिलाइ भएका कारण स्थानीय नागरिकले उत्पादन गरेका उपजहरू बिक्रीका लागि बजारसम्म लैजान नसकिएको बताउनुभयो । पुल निर्माणको ठेक्का पाएको महादेव-शिखर-तामाकोसी जेभीका ठेकेदार खड्ग गोपालीले तत्कालीन जिविसले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाएका कारण पुल निर्माणको काममा ढिलाइ भएको बताउनुभयो । “सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइयो । पुलसम्म पुग्न साढे पाँच किलोमिटर सडक खन्ने काम ग-यौँ । यसले गर्दा हाम्रो पुल बनाउने दुई वर्षको समय सडकको ट्र्याक खन्नमै सकियो र पछि कोभिड–१९ का कारण काम रोकियो,” उहाँले थप्नुभयो । गोपालीले मकवानपुरतर्फको पिल्लरमा पाइलिङको काम (खोलामुनि पिल्लरका लागि रड राख्ने) सकिएको बताउँदै नदीको बीच भागमा रहने पिल्लरको पाइलिङ गर्ने कामसमेत अघि बढेको बताउँदै एक महिनाभित्र तीनवटै पिल्लरको पाइलिङ गर्ने काम सकिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्ष २०८०/८१ भित्र पुल निर्माणको काम सकिने बताउनुभयो । ११ करोड रुपियाँमा ठेक्का सम्झौता भएको पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ ।
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले (गृह जिल्ला) नवलपुरका विभिन्न प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयको निरिक्षण गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृह जिल्ला पुगेर प्रहरी कार्यालय र त्रिवेणी भन्सारको स्थलगत अनुगमन गरेका हुन् । स्थलगत अवलोकनका क्रममा मन्त्री गाहामगरले छिमेकी राष्ट्र भारतसँगको सिमानामा रहेको इलाका प्रहरी कार्यालय त्रिवेणी, सोही सीमामै रहेको सशत्र प्रहरी बलको विओपी, बुलिङटार प्रहरी चौकी र इलाका प्रहरी कार्यालय डेढगाउँको निरीक्षण गरे । अवलोकन पश्चात प्रहरी कार्यालयलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक रहेकाले सोही अनुरुप अघि बढ्ने मन्त्री गाहामगरले बताए । ‘अनुगमन पछि मैले सिमित स्रोत र साधनले उच्च मनोबलसहित देश र जनताको सेवामा समर्पित भएको देखे, मन्त्री गाहामगरले भने, राष्ट्रसेवकहरुको न्यूनतम र आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरि तयारी थाल्नेछौ ।’ उनले अनुगमन गरेका दुई इलाका प्रहरी कार्यालय १ वटा बिओपी र एक प्रहरी चौकीको बेग्लाबेग्लै समस्या रहेको बताउदै समाधान गर्न मन्त्रालय पछि नहट्ने बताए । ‘मैले मात्रै होइन मन्त्रालयका कर्मचारीहरुको टिमले नै निरिक्षण गरेका छौं, कानूनको परिधिमा रहेर के कति सम्म सहयोग गर्न मिल्छ, हामीले प्राथमिकतामा राखेर नै काम गर्छाै ।’ मन्त्री गाहामगरले भने । सीमाक्षेत्रमा खटिएका प्रहरी तथा सशत्र प्रहरीका लागि विपद् व्यवस्थानका लागि उद्धारका समाग्री, सुरक्षा र गतिविधिको प्रत्यक्ष निगरानी बढाउने उद्देश्यसहित सिसिटिभी जडान, प्रहरी कार्यालयको कम्पाउण्डिङ गरिनुपर्ने सम्बन्धित प्रहरी कार्यालयले माग राखेको थियो । सो मागहरु पूरा गर्नका लागि मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरेर अगाडी बढ्ने बताए । ‘स–साना कामहरु यहीकै स्थानीय सरकारले गर्नुहुन्छ । त्यसका लागि हामी उहाँहरुसँग समन्वय गर्नुहोला । बाँकी ठुला कामहरुका लागि मन्त्री ज्यूनै फिल्ड भिजिटमा हुनुहुन्छ त्यो कामहरुका लागि चिन्ता नलिनुहोला ।’ सचिव अधिकारीले भने । मन्त्री गाहामगर नेतृत्वको निरिक्षण टोलीमा आन्तरिक मामिला तथा कानून मन्त्रलायका सचिव बद्रीनाथ अधिकारी तथा शाखा अधिकृतहरुको सहभागिता थियो । गृह जिल्लामा मन्त्री गाहामगरलाई सम्मान आन्तरिक मामिला तथा कानूनमन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला पुगेका रोशन बहादुर गाहा थापा मगर सम्मान अर्पण गरिएको छ । तीन दिने स्थलगत अवलोकनसहित गृहजिल्ला नवलपुर पुगेका मन्त्री गाहामगरलाई विभिन्न सामाजिक संस्थाले सम्मान अर्पण गरेको हो । गत शनिबार नवलपरको कावासोती नगारपालिका पुगेका उनलाई नेपाल लोकतान्त्रिक तामाङ संघ नवलपुर जिल्ला समितिले आन्तरिक मामिला तथा कानूनमन्त्री भएको भन्दै सम्मानपत्र तामाङ समुदायको टोली तथा खादा र मालाले सम्मान गर्याे । यस्तै नेपाल रेडक्रस सोसाइटी नवलपुर उपशाखा, उद्योग वाणिज्य संघ, कावासोती, अमलटारी सामुदायिक होमस्टे समिति, कावासोती नगरपालिका, कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, जिल्ला समन्वय समिति नवलपुर, मध्यविन्दु सामुदायिक रेडियो, गजेन्द्र मोक्षधाम त्रिवेणी धार्मिक क्षेत्र विकास समिति, नवदुर्गा राधा क्यान्सर सचेतना फाउण्डेशन, सामुदायिक वन उपभोक्ता समिति, स्थानीय आमा समुह, चिलाहा रतवल सामुदायिक होमस्टे, नेपाल मगर संघका जिल्ला तथा इकाई समितिहरु लगायत विभिन्न संघ तथा संस्थाहरुले सम्मान अर्पण गरेका थिए । सम्मान ग्रहणपश्चात बोल्दै मन्त्री गाहामगरले ‘समृद्ध गण्डकी प्रदेश सुखी प्रदेशबासी’को नारालाई साकार पार्न निरन्तर लागिरहने प्रतिबद्धता जनाएका थिए ।
म्याग्दी: राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधवार) पर्वतको जलजला गाउँपालिका स्थित धार्मिक पर्यटकीय बराह तालमा आउने हुनुभएको छ । बराह तालमा निर्माण गरिएको कुल मन्दिरको समुद्घाटन तथा धार्मिक एवम् पौराणिक महत्त्वको क्षेत्र हम्पाल कालञ्जरको अवलोकन गर्न राष्ट्रपति भण्डारी आउन लाग्नुभएको हो । बिहान ११ बजे राष्ट्रपति भण्डारी हेलिकप्टरबाट जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बराह तालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले बताउनुभयो । राष्ट्रपतिको भ्रमणलाई लिएर जिल्ला स्थित सुरक्षा अधिकारी,राष्ट्रपति कार्यालयबाट खटिएको कर्मचारी सहितको सुरक्षा टोली,जनप्रतिनिधि र स्थानीयवासी सहितको समन्वय बैठक गरी व्यवस्थापकीय र सुरक्षालाई प्रभावकारी बनाइएको अध्यक्ष आचार्यले बताउनुभयो । राष्ट्रपति भण्डारीले बुधवार जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्षेत्र अवलोकन र वडा नम्बर २ पूर्ण गाउँ स्थित आदि बराह तालमा निर्मित कुल मन्दिरको उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ । साथै राष्ट्रपतिबाट समुन्द्र सतहदेखि तीन हजार मिटर उचाइमा रहेको पौराणिक–धार्मिक रूपले महत्त्वपूर्ण पर्यटकीय स्थल कालञ्जर हम्पाल(जलजला) क्षेत्र को हेलिकप्टरबाट अवलोकन गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष आचार्यले बताउनुभयो । पर्यटकीय सम्भावनायुक्त क्षेत्र बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठुलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आगामी दिनमा महत्त्व बढेर जाने अपेक्षा गरिएको पालिका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । बराह तालको बिच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जल बराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन् । मन्दिर पुन निर्माणको मुख्य दाता रविन्द्र जंग लामिछानेले २५ लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ । मन्दिर निर्माण गर्न करिब डेढ करोड रुपियाँ खर्च भएको जनाइएको छ । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरी हिमाल रहेका छन् । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल प्राकृतिक रूपमा सुन्दर छ । यहाँबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । जनै पूर्णिमामा लाग्ने विशेष मेलामा पर्वत सहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट पनि श्रद्धालु भक्तजन आउने स्थानीय युवा नवीन जिसीले बताउनुभयो । मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाइएको जलजला २ का वडाध्यक्ष प्रकाश जिसीले बताउनुभयो । राष्ट्रपतिको आगमनले यस क्षेत्रको महत्त्व बढेर जाने विश्वास गरिएको उहाँले बताउनुभयो ।
उपभोक्ताको हितमा लामो समयदेखि समय खर्चदै आएका व्यक्तिमध्ये अग्रपंक्तिमा पर्छन्, कपिलनाथ कोइराला । कानून पृष्ठभूमिबाट आएका कोइराला उपभोक्ता अधिकारको पक्षमा निरन्तर वकालत गरिरहेका छन् । यही निरन्तरता र लगनशीलताकै कारण हाल उपभोक्ता मञ्च, गण्डकी प्रदेश अध्यक्ष रहेका कोइरालासँग पछिल्लो समय उपभोक्ता अधिकार, बजार र सक्रियतासँग सम्बन्धित कुराकानी संक्षेपमाः – पछिल्लो समय उपभोक्ता मञ्च के गर्दैछ ? उपभोक्ता मञ्च काम गरिरहेको छ । मञ्च बजार अनुगमनमा निस्कँदामात्र काम गरेको जस्तो देखिन्छ तर यसबाहेक हामीले गर्नुपर्ने कामको लिस्ट लामो छ । विधानमा उल्लेख भए अुनरुप उपभोक्ताको हक, हित र अधिकारको पक्षमा काम गरिरहेको छ मञ्च । उपभोक्ताको पक्षमा निर्माण भएका कानून निष्क्रिय हुन नदिन खबरदारी गरिरहेका छौं । त्यस्ता कानूनलाई कार्यान्वन गरी उपभोक्ता अधिकारलाई सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम गरिरहेका छौं । विशेषतः राज्यलाई जनउत्तरदायी बनाउने गतिविधिमा मञ्च केन्द्रित छ । बजार अनुगमन बाहेक उपभोक्तासँग सम्बन्धित २८ वटा कानून छन् । उक्त कानूनहरु कार्यान्वयन गर्न सम्बन्धित निकायलाई घच्घच्याउँछौ । र, उपभोक्ता अधिकारको रक्षार्थ आवश्यक कानून निर्माणमा जोड दिन्छौ । विदेशमा उपभोक्तालाई अधिकारमुखी बनाउन र ठगिनबाट जोगाउन के–कस्ता नियम, कानून तर्जुमा गरिएको छ त्यसको अध्ययन गरी यहाँ त्यसको सम्भावना र आवश्यकताबारे पहल गर्ने काम पनि हुन्छ । यस्ता कामबारे हाम्रो प्रस्तावनामै उल्लेख छ । – मञ्च प्रायः चाडवाडमामात्र सक्रिय हुने गरेको आरोप छ ? हो, हामी चाडवाडमै सक्रिय हुनुपनि पर्नेछ । यसको मतलब हामी अन्य समय निष्क्रिय भने होइनौं । सम्बन्धित पछिल्लो सर्वेक्षण अनुसार आम नेपालीहरुले २८ देखि ३० प्रतिशत बढी किनमेल चाडवाडमा गर्ने उल्लेख छ । जसकारण मञ्च अन्य समयभन्दा चाडवाडमा बढी सक्रिय हुनु स्वभाविक हो । चाडवाडमा रिन खोजेर, अझ भनौं ग्रामीण परिवेशमा भैंसी बेचेरै भएपनि किनमेल गर्नुपर्ने बाध्यता हुन्छ । यस्तो बेला उपभोक्ताले तिरेको मूल्यको अनुपातमा सरसामान प्राप्त गर्नुपर्छ भन्ने मञ्चको मान्यता छ । सोही कारण उपभोक्तामाथि अहित नहोस् भन्ने हेतु हामी बढी सक्रिय हुनैपर्छ । गण्डकी प्रदेशमा बजार अनुगमन टोली छ । जसको कार्यविधिमा ‘हरेक महिना कम्तीमा १० वटा अनुगमन गर्ने’ भन्ने छ । सोही अनुसार काम भइरहेको छ । त्यस्तै, कुनैपनि बेला बजारमा अस्वभाविक मूल्यवृद्धि, कालोबजारीको सूचना पाउनेबित्तिकै सम्बन्धित निकायसँग मञ्च एक्सनमा जाने गरेको छ । – एउटै वस्तु वा सामग्रीको मूल्यमा किन एकरुपता हुँदैन ? बजारमा एउटै वस्तु वा सामग्रीको मूल्यमा एकरुपता लगभव असम्भव छ । हामी उपभोक्तालाई सचेत हुन आग्रह गर्छाै । साथै, कुनै पसलमा उस्तै सामानको मूल्य फरक भेटिएको त्यसको गुणस्तर जाँच्न भन्छौं । सस्तोमा नराम्रो र महंगोमा राम्रो सामग्री हुनसक्छ । त्यस्तै, कतिपय वस्तुहरु त्यसले उपलब्ध गराउने सेवा, ग्यारेन्टी, बीमालगायतले पनि फरक पारेको हुनसक्छ, यतापट्टी पूर्ण जानकारी लिनुपर्छ । व्यवसायीहरुलाई मूल्य–सूची राख्न दबाब दिइरहेका छौं । परल मूल्यको २० प्रतिशतसम्म नाफा राखेर व्यापार गर्न पाइनेछ । त्यसभन्दा बढी लिएको पाइए मञ्चमा जानकारी दिन आग्रह गर्दछौं । – निरन्तरको अनुगमन र कारवाहीपछि व्यवसायी सुध्रिए ? कारवाही गरेपछि हच्केको देखिन्छ । मञ्च भनेको नागरिक समाज हो, कारवाही गर्ने निकाय त होइन । तैपनि कसैको पसल, व्यवसायमा एकपटक अनुगमन गएपछि व्यवसायी हच्केको पाएका छौं । गलत भेटिएको खण्डमा कारवाही हुँदा अर्काे पटकदेखि त्यहाँ सुधार भएको पाइएको छ । मञ्च वास्तवमा व्यवसायीहरुको मित्र हो । हाम्रो उद्देश्य गलत व्यवसायीलाई निरुत्साही गर्ने हो, जसको फाइदा असल व्यवसायीलाई हुनेछ । मञ्च र अनुगमन समितिले कारवाही गरेपछि उसले सामाजिक प्रतिष्ठा र इज्जतको डरले पनि गलत कार्य गर्दैन । अनुगमनको दौरान १० हजारदेखि ३ लाख रुपैयाँसम्म ‘अन दी स्पट’ जरीवाना गर्ने अधिकार पनि रहेको छ तर अनुगमनको उद्देश्य सुधार नै हो, कारवाही होइन । – मर्कामा परेका उपभोक्ता न्याय माग्न कहाँ जाने ? मञ्चमै आएपनि हुन्छ, मञ्च उपभोक्ताकै हितमा काम गर्ने संस्था हो । हामी नतीजा दिनेछौं । मुख्यतः सिधै उजुरी गर्न जिल्ला प्रशासन कार्यालय छ । त्यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र उपभोक्ता संरक्षण ऐन– २०७७ अनुसार प्रत्येक जिल्लामा निरीक्षण अधिकृत तोकेको छ । अधिकृतमा सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । उल्लेखित तीन ठाउँमा उपभोक्ता जान सक्नेछन् । – न्याय पाउन उपभोक्ता अदालत कत्तिको प्रभावकारी हुनसक्छ ? उपभोक्ता अदालतको भौतिक स्वरुप छैन । पहिले यस्तो काम जिल्ला क्षतिपुर्ति समितिले गर्दै आएको थियो । जुन काम फास्ट ट्रयाकमा हुने गरेको उदाहरण छ । उपभोक्ता अदालत भन्ने शब्द सुन्नमा मजा आएपनि ०७५ सालदेखि गठन विधिमै अल्झेको छ । विधिअनुसार ३ सदस्यीय उपभोक्ता अदालत गठन गर्ने भनिएको छ । जसमा जिल्ला न्यायधीशको संयोजकत्वमा उपसचिवस्तरका कर्मचारी र जिल्ला प्रशासनका एकजना रहने गरी २ सदस्य रहनेछन् । यदि कुनै उपभोक्ताले आफु ठगिएको भन्ने लागेमा ‘मुनासिब क्षतिपुर्ति पाउँ’ भनि प्रमाणसहित निवेदन दिएपछि बल्ल अदालत गठन हुनेछ । तर उपभोक्ता अदालत उपभोक्तालाई क्षतिपुर्ति नदिन गरिएको षडयन्त्र हो । उपभोक्ताले उजुरी वा निवेदन दिएपछि जायज लागेको खण्डमा अदालत गठन हुन्छ । अदालत गठन गर्नै वर्ष दिन लाग्छ । त्यसपछि मुद्धाको किनारा लाग्न अर्काे ४–५ वर्ष लाग्छ । यतिबेलासम्म पीडित थाकिसक्छ । अदालती प्रक्रिया धेरै झन्झटिलो र बोझिलो छ । उपभोक्ता अदालत व्यवसायीहरुको दबाबमा बनेको हो कि भन्ने शंका लाग्छ । किनकि, पहिले भएको क्षतिपुर्ति समितिबाट उपभोक्ताले जसरी न्याय वा क्षतिपुर्ति पाएका थिए अहिले त्यो सम्भावना टरेको छ । समितिमार्फत हामीले २४ घण्टाभित्रै ३५ लाख रुपैयाँसम्म क्षतिपुर्ति भराएका थियौं।
काठमाडौं: राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन २०७९ मा इभीएमको प्रयोगबारे राखिएको जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “पुरानो उपकरण काम लाग्ने अवस्थामा छैन, नेपालीले बनाएको प्रमाणीकरण भएको छैन, नयाँ खरिद गरेर प्रयोग गर्ने सम्भावना देखिन्न ।” राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचन र मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोगले इभीएमको प्रयोगको सम्भाव्यताबारे अध्ययनसमेत गरेको थियो तर सम्भाव्यता अध्ययनका लागि गठन गरिएको समितिले कानुनी अड्चन रहेको जनाएपछि स्थानीय र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा इभीएम प्रयोगको सम्भावना सकिएको थियो । दुवै निर्वाचनमा इभीएम प्रयोगका लागि ठूलो धनराशि खर्चिनुपर्ने हुन्थ्यो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा भने ८३१ मतदाता छन् । मतदान स्थलसमेत एउटै निर्धारण गरिएको छ । सीमित सङ्ख्यामा मतदाता रहने र एकै स्थानमा दुईवटा मतदान केन्द्र रहने हुँदा इभीएमको प्रयोग सम्भव देखिएको थियो । मत बदर नहुने, मतदान र गणना प्रक्रिया छिटोछरितो हुने हुनाले इभीएम खरिद महँगो भए पनि प्रयोग सहज हुन्छ ।

