पोखरा: सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको चौंथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन आजदेखि हिमालयन गल्फ कोर्समा शुरु हुदैछ। सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औं संस्करण हो । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन हुने ५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर खेलाडीहरूले भाग लिने छन् । दुई दिनको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउनेछन्। शनिबार हुने प्रो.एमसँगै प्रतियोगिता सकिनेछ। जहाँ देशभरिका एमेच्योर खेलाडी शीर्ष प्रोफेसनल गल्फरसँग खेल्न आतुर रहनेछन्। विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा रहेने खेलाडीले पनि नगद हात पार्नेछन्। नेपाल नम्बर एक व्यवसायिक खेलाडी शुक्र बहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, सञ्जय लामा, धन थापा र रामे मगर तथा १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङसँगै राष्ट्रिय टोलीका अर्का खेलाडी सद्भाव आचार्य प्रतियोगिताको प्रमुख दावेदार हुन् । सूर्य नेपाल इस्टर्न ओपनको एमेच्योर उपाधि विजेता राजेन राईले यो प्रतियोगिताबाट प्रोफेसनल करियरको यात्रा सुरू गर्दैछन्। यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ वरीयता अन्तर्गत रहेको छ र एमेच्योर खेलाडीले आफ्नो वरियता सुधार गर्न महत्वपूर्ण अङ्क प्राप्त गर्न सक्नेछन्। देशका शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीबीचको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउनका लागि हिमालयन गल्फ कोर्सलाई परिमार्जित गर्दै कठिन बनाइएको छ। ६९ पारको १६ होल रहेको कोर्समा पहिलो र दोस्रो होल दोर्याएर खेल्नु पनि चुनौतीपुर्ण रहनेछ। जसले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। विश्व प्रसिद्ध म्यागेजिन, गल्फ डाइजेस्टले यो कोर्सलाई विश्वको सबैभन्दा साहसिक मध्येको एक गल्फ कोर्सको रूपमा मूल्याङ्कन गरेको छ।
पोखरा: पोखरा महानगरपालिका ३३ ठूलढुंगा नजिक वनमा भेट्टाएको विस्फोटक पदार्थ खेलाउँदा पड्किएर दुई बालक घाइते भएका छन् । वनमा भेटाएको विस्फोटक पदार्थ घरमा ल्याएर खेलाउँदा विस्फोट हुँदा दुई जना बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । ‘वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर किला ठोक्दा पड्किएको अनुसन्धानको क्रममा देखिएको छ, खड्काले भने, ‘विस्फोटक पदार्थ विस्फोट हुँदा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका छन् ।’ उनका अनुसार घाइते भएका दुई बालकको हात र खुट्टामा चोट लागेको छ । अहिले उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा उपचारका लागि लगिएको छ । वनमा उक्त विस्फोटक पदार्थ कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशकै पहिलो फोरके प्रविधियुक्त पब्लिक टेलिभिजनको नियमित प्रसारण सुरु भएको छ । आइतबार साँझ एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नियमित प्रसारणको उद्घाटन गरेका हुन् । नियमित प्रसारण उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले टिभीको नियमित प्रसारण सुरुआतसँगै गण्डकीको सञ्चार क्षेत्रमा नयाँ आयाम थपिएको बताए । ‘यसले आवाजविहीनहरुको आवाज बोल्ने मैले अपेक्षा राखेको छु,’ उनले भने, ‘पीँधमा रहेका वर्गलाई माथि ल्याउन भूमिका खेल्ने विश्वास छ ।’ राजनीतिकर्मी, उद्यमी, व्यवसायी तथा सञ्चारकर्मीहरुको बीचको एकता आजको आवश्यकता रहेको उनले औंल्याए । पोखरा महानगरका मेयर धनराज आचार्यले टिभीको आधिकारिक वेबसाइट उद्घाटन गर्दै सकारात्मक सहयोग र खबरदारी गर्ने प्लेटफर्मका रुपमा आएको बताए । ‘हाम्रा कामलाई सकारात्मक ढंगले सहयोग गर्ने, कहींकतै कमजोरी भयो भने खबरदारी गर्ने एउटा राम्रो प्लेटफर्म आएको छ,’ उनले भने, ‘अबका टिभीले दिनमा पछाडि फर्केर हेनुनपरोस् ।’ निर्देशक रुद्रप्रसाद अर्यालले स्वागत गरेको उद्घाटन कार्यक्रममा टिभीका अध्यक्ष प्रेमप्रसाद भट्टले संघीयताको मर्मअनुसार आम नागरिकले पाउनुपर्ने विश्वसनीय सूचना सामग्री पब्लिक टिभीको मुख्य ध्येय रहेको बताए । समुद्घाटन समारोहमा गण्डकीका दिवंगत श्रष्टाहरुको सम्मान र सम्झनामा सांगीतिक कार्यक्रम गरिएको थियो । जसमा गायक राज सिग्देल, विनोद बानिया, सन्तोष बस्याल र अजुदा थापाले प्रस्तुति राखेका थिए ।
बागलुङ: राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङमा धार्मिक भ्रमणका लागि आउनुहुने कार्यक्रम तयार भएको छ । राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि भोलि (बुधबार) बागलुङ आउनुहुने क्रम तय भएको हो । उहाँ बिहान १० बजे मन्दिर आउने कार्यक्रम रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले मन्दिरमा करिब आधा घण्टा पूजा गर्नुहुने कार्यक्रम रहेको अध्यक्ष खड्काले बताउनुभयो । राष्ट्रपति भण्डारी हेलिकोप्टरमार्फत बागलुङ आउनु हुनेछ । ‘‘देशको प्रमुखले मन्दिरको दर्शन गर्नु हाम्रो लागि ठूलो कुरा हो’’ अध्यक्ष खड्काले भन्नुभयो, ‘‘उहाँले दर्शन गरेपछि धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।’’ अहिले कालिका मन्दिरलाई पुनर्निर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिएको छ ।
काठमाडौं: नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले आज (मङ्गलबार) जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काठमाडौं: आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट रहँदै १०१ बलमा ९५ रन बनाए । यस्तै करण केसीले नटआउट ३१ रन बनाए । स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयो । नेपालले घरेलु मैदानमा भएको शृङ्खलामा खेलेका ४ वटै खेल जितेको छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो ।
काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग २ को एकदिवसीय त्रिदेशीय शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्ध दुई सय १३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १९ ओभरमा पाँच विकेट गुमाएको छ। नेपालका ओपनरद्वय कुशल भुर्तेल एक तथा आसिफ शेख १२ रन जोडेर आउट हुँदा ज्ञानेन्द्र मल्ल २१ रन जोडेर पेभेलियन फर्केका छन्। यस्तै, कुशल मल्ल १७ तथा सन्दीप जोरा एक रन जोडेर आउट हुँदा अहिले क्रिजमा कप्तान रोहित पौडेल १७ तथा दीपेन्द्रसिंह ऐरी दुई रन बनाएर खेलिरहेका छन्। नेपालले १९.२ ओभर सकिँदा पाँच विकेट गुमाएर ७१ रन बनाएको छ। नेपाललाई जितका लागि ३०.३ ओभरमा एक सय ४२ रन आवश्यक छ । पहिलो इनिङमा जर्ज मन्जीको अर्धशतकप्रेरित स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रनको योगफल तयार गरेको थियो। नेपालको कसिलो बलिङसामू संघर्षरत स्कटल्यान्डले पहिलो विकेटका लागि ४२ रनको साझेदारी पाएको थियो। तर त्यसपछि लामो साझेदारी गर्न नसकेको स्कटल्यान्डले ठूलो योगफल बनाउन सकेन। स्कटल्यान्डका लागि ५० बलको सामना गरेका मन्जीले ९ चौका र दुई छक्कासहित ६० रनको इनिङ खेले। यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रिएका विकेटकिपर–ब्याटर म्याथ्यु क्रसले ६३ बलमा चार चौका र एक छक्कासहित ४२ रन जोडे। त्यसबाहेक, ब्रान्डोन म्याकमुलेनले ३१, काइल कोइट्जरले २२ र क्रिस्टोफर म्याकब्राइडले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका लागि स्पीनर सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक चार विकेट लिए। यस्तै, ९.१ ओभरमा ४२ रन खर्चिएका करण केसीले तीन तथा ललित राजवंशी र कुशल मल्ले एक विकेट लिए। यसअघि शुक्रबार भएको स्कटल्यान्डविरद्धको पहिलो एकदिवसीयमा नेपालले दुई सय ७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो। जारी शृंखलामा अपराजित नेपाल आजको खेल जित्दै शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ। नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न योसहित नौ वटै खेल जित्नुपर्ने दबाब छ। नेपालले यो शृंखला लगत्तै यूएईमा घरेलु टिम र पपुवा न्यू गिनी (पीएनजी)सँग अर्को शृंखला खेल्ने छ।
एन्टाक्या: टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी सहर एन्टाक्यालाई केन्द्रबिन्दु बनाएर सोमबार गएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीका गृहमन्त्री सुलेमान सोयलुले सोमबारको भूकम्पमा परी घाइते भएका २१३ जनालाई अस्पताल भर्ना गरिएको बताउनुभएको छ । सिरियामा एक सय ३० जना घाइते भएका तथा अघिल्लो भूकम्पबाट जीर्ण भएका केही भवन पूर्ण रूपमा भत्किएका छन् ।
काठमाडौंः नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई भेन्टिलेटरबाट हटाइएको छ। बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट हटाइएको हो। भण्डारीका सहयोगी योगराज शर्मा कँडेलले भण्डारीको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार आउन लागेको जानकारी दिए। उनले भने, ‘आज बिहान डा. मुकेश मिश्रा र डा. अमोल मात्रेसँग काउन्सिलिङ्ग सम्पन्न भइ सकेको छ। उनको ईटी ट्यूव निकालिएको छ। अहिले रिजरभायर व्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ। डाक्टरहरुको योजना बमोजिम १५ लिटरलाई घटाउँदै लगिनेछ। ’ उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको सबै पारामिटर नर्मल छन्। फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको तर डराउनुपर्ने अवस्था नरहेको डाक्टरबाट जानकारी प्राप्त भएको छ। अहिले भण्डारी बोल्न थालेका छन्। भण्डारीको प्रत्येक दिन छातीको फिजियो भइरहेको छ। सुन्निएको अनुहार पुरानो अवस्थामा फर्केको छ। कुनै कुनै ठाउँमा रातो रातो नयाँ छाला पलाएको देखिएको छ। डाक्टर र नर्सहरुले भण्डारीले घेरै कुरा गर्न खोजिरहेका तर आफूहरुले नबुझेको बताए। गत बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घट्नालगत्तै दुबैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो। नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत मुम्बइमा थप उपचारका लागि लगिएको थियो।

