पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

विराटनगर:  विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनार हत्या आरोपमा प्रहरीले ३ जना पक्राउ गरेको छ । यसअघि प्रहरीले प्रियंकाका श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द रामलाई पक्राउ गरेको थियो ।   सोमबार दिउँसो कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । यीबाहेक अन्य व्यक्तिलाई पनि सोधपुछका लागि बोलाइएको उनले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको डीएसपी कार्कीको भनाइ छ ।   घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै उनले वास्तविकता पत्ता लाग्न समय लाग्ने बताए । प्रियंकाको शव मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो ।   आइतबार दिउँसो १२ बजेतिर शरीरभरि चोटपटक रहेको शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ । शव व्यवस्थापनका लागि उपयुक्त स्थलको खोजी गर्दै नरसिंहको घरसम्म प्रियंकाको शव लगेको देखिएको प्रहरीले बताएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ ।

काठमाडौं:  सडक निर्माणका क्रममा रकम हिनामिना गरेको आरोपमा दुई इन्जिनियरविरूद्ध भ्रष्‍टाचार मुद्दा दायर भएको छ।    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरगत २०७६/०७७ मा दैलेखको गुराँस गाउँपालिका वडा नं ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माणका क्रममा रकम हिनामिना गरेको आरोपमा तत्कालिन इञ्जिनियर सरोज कुमार दाहाल र सब इञ्जिनियर नविन कुमार विसीविरूद्ध मुद्दा दायर गरेको हो।   अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनुसन्धानका क्रममा सडक निर्माणका क्रममा रकम हिनामिना गरेको पाइएकोले दुवैजनाविरूद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको जानकारी दिए।   दुवैजनाले आपसी मिलेमतो गरी सडक निर्माणका योजना सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा विवरण पेश गरी प्रतिवेदन समेत तयारी गरी मापदण्ड अनुसार सडक निमार्ण भएको भनी बदनियतपूर्वक काम गरेको पाइएको अख्तियारको ठम्याइ छ।   पक्राउ परेका दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको सजाय मागदावी गरिएको अख्तियारले जनाएको छ। 

गुल्मी:  गुल्मीमा १३ प्रजातिका नयाँ चराहरू भेटिएका छन् । चरा सर्वेक्षणको क्रममा जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा नयाँ प्रजातिका चराहरू भेटिएका नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो ।   १९ हजार २८१.६५ हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चराहरू भेटिएका छन् । जसमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया र टुइँसी सुगा प्रजातिका चराहरू रहेका छन् । १३ हजार ७६१ हेक्टर क्षेत्रफलमा फैलिएको मदाने वन संरक्षण क्षेत्रमा भने आठ प्रजातिका नयाँ चराहरू भेटिएका छन् । जसमा हिमाली मलेवा, खरलाहाँचे, लामोठुँडे चाँचर, लघु बगेडी, कण्ठे सुगा, खोले टिकटिके, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चराहरू भेटिएका हुन् ।   यहाँ बर्सेनि चराहरूको सङ्ख्या बढिरहेको छ । हालको सर्वेक्षणसम्म रेसुङ्गा वन संरक्षण क्षेत्रमा २५८ प्रजातिका चरा छन् । यता, मदाने वन संरक्षण क्षेत्रमा २७२ प्रजातिका चरा छन् । दुवै क्षेत्रमा २१८ प्रजातिका चराहरू छन् । अहिलेसम्म यस जिल्लामा ३१२ प्रजातिका चरा छन् । रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा यस अघिको सर्वेक्षणमा ३०५ प्रजातिका चराहरू रहेका थिए । हालसम्म नेपालमा पाइएका ८९२ प्रजातिका चरामध्ये करिब ३५ प्रतिशत प्रजातिका चराहरू यहाँ फेला परेको सङ्घले जनाएको छ ।   गुल्मी जिल्लामा विश्वकै दुर्लभ छ प्रजातिका चराहरू पाइन्छ । जसमा रेसुङ्गा वन संरक्षण क्षेत्रमा चिर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध छन् । मदाने वन संरक्षण क्षेत्रमा चिर, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील छन् । यहाँ रहेका दुर्लभ चराहरूको संरक्षणका लागि विभिन्न चुनौती देखिएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । बेला–बेलामा हुने वन डढेलो, वासस्थान परिवर्तन, चोरी सिकारी, बढ्दो रासायनिक पदार्थको प्रयोग, अव्यवस्थित ग्रामीण सडक जस्ता समस्याहरू चरा संरक्षणका लागि चुनौती बनेको उल्लेख गर्नुभयो ।   सङ्घले रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा चराहरूको अनुसन्धान र गणना गर्दै आएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । चराचुरुङ्गीको संरक्षणका लागि परियोजनाका माध्यमबाट विभिन्न संरक्षण पोखरी निर्माण, स्थानीयको जनचेतना अभिवृद्धि गर्ने तथा वनमा आश्रित जनताहरूलाई विभिन्न खालका जीविका पार्जनसँग सम्बन्धित कार्यक्रमहरूलाई जोड दिएको उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौं:  भारत सरकारले दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ ।   सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका हुन् ।     करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे । उक्त अवसरमा उनले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गरे ।   मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताए ।   उनले भने, ‘दुई मुलुकबीच आर्थिक, सामाजिक सबै रुपले घनिष्ट सम्बन्ध छ । यो हाम्रो ऐतिहासिक पक्ष हो । भूकम्प र भोभिडको समयमा पनि भारत सरकारबाट जुन खालको सहयोग भयो । त्यो अत्यन्तै उल्लेखनीय छ । महत्वपूर्ण छ । यो कुरा नेपाली जनताले सधैंभरी सम्झनयोग्य छ । म यसका लागि भारतीय राजदुतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु । स्वास्थ्य क्षेत्रमा पनि थप सहकार्य गरेर अघि बढने विश्वास दिलाउन चाहन्छु ।’   नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता समेत व्यक्त गरे ।   नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाई थियो । राजदूत श्रीवास्तवले भने, ‘करिव एक वर्ष अघि नेपाल सरकारको तर्फबाट २ सय मृर्गौला डायलाईसिस मेशिनका लागि भारत सरकारलाई अनुरोध गरिएको थियो । सोही अनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ । हामी नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्नेछौं ।’   नेपालको विकासको सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दै आएको छ । नेपालको ट्रमा सेन्टर निर्माण, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सहयोग भारत सरकारले गरेको छ ।   भूकम्पका बेला १३२ वटा हेल्थ पोष्ट निर्माणमा पनि भारतले सहयोग गरेको छ । कोभिड भ्याक्सिनमा पनि भारतले नेपाललाई सहयोग गरेको छ । भारत सरकारको तर्फबाट एक असल छिमेकीको तर्फबाट नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकासका लागि सधैं अग्रसर रहनेछ ।’   भारतले कोभिड संकटका बेला मात्रै पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।

चितवन : पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एकजना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   आज बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो ।    पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

पोखरा:   अघिल्लाे शनिबार नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गरेको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन, १७ औं संस्करण’मा रंगशालामा थिए प्रेमबहादुर पछाइ । सहभागी धावकहरु आयोजकको सिट्ठीपछि दौडन शुरु गरे । तर प्रेम आशा र उत्साह बोकेर त्यही उभिइरहे ।  छट्पटाहट र झिनो आश बोकेर उभिइरहेका प्रेमको पर्खाई १ घण्टा २३ मिनेट ६ सेकेण्डमा पुरा भयो । उक्त समयमा नेपाल प्रहरीको ब्यानरबाट महिला हाफ म्याराथनमा राजपुरा पछाइले स्वर्र्ण जितिन् ।  प्रेम उनै राजपुराका बाबु हुन्, जो जुम्लाबाट छोरीलाई हौस्याउन पोखरा आएका थिए । म्याराथन सुरु भएपछि राजपुरा जति दौडिइरहेकी थिइन् त्यति नै रफ्तारमा कुदिरहेको थियो बाबु प्रेमको मुटुको चाल । र, जब राजपुराको दौडको गति थामियो प्रेमले बल्ल आफुलाई नर्मल पाए ।  राजपुरा पछाईले ५ महिनाको फरकमा पोखरामा स्वर्ण र रजतपदक जित्न सफल भइन् । नेपाल पुलिस क्लबकी म्याराथन धावक पछाइले गएको असोजमा पोखरामै आयोजित नवौं राष्ट्रिय खेलकुदमा ५/१० हजार मिटरमा रजत पदक  जितेकी थिइन् ।  धावक पछाइले नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गरेको महिला हाफ म्याराथनमा लगातार तीन पटक उपाधि चुम्दै ह्याट्रिक गर्न सफल भएकी हुन् ।  हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल पछाइले एक हप्ता अघि त्रिभुवन आर्मी क्लबले आयोजना गरेको २६० औं आर्मी म्याराथनको उपाधिसमेत जितेकी थिइन् ।  एक प्रतियोगितामा सहभागितापछि करिव २ देखि ३ महिना आराम गर्नुपर्ने भएपनि उनले ह्याट्रिक गर्ने लक्ष्य अनुसार नै पोखरा आएको सुुनगाभा न्यूजसँग बताइन् ।  ‘मेरो लक्ष्य ह्याट्रिक गर्ने नै थियो सफल भए, पोखराको रुट अहिले अठ्यारो पनि लाग्यो, सुरुमा अलमल परे पनि ह्याट्रिक गर्न सफल भए खुशी छु’ राजपुराले सुनाइन् ।  यसरी भइन् जुम्लेली राजपुरा पुलिसकी धावक २०५४ बैशाख १ गते जुम्लाको कनकासुन्दरीमा जन्मिएकी राजपुराको लक्ष्य नेपाल प्रहरीमा जागिर खाने नै थियो । परिवारले गाउँमै होटल सञ्चालन गर्ने भएकाले घरकी एक्ली छोरी भएपनि उनको उद्धेश्य पुरा गर्न कुनै कञ्जुस्याँइ भएन । परिवारको धोको थियो पछाइलाई पुलिसको बर्दीमा देख्ने ।  अहिले पुलिसको धावककारुपमा पदक हासिल गरेकी पछाईको खेलकुदको यात्रा भने भलिबलबाट भएको हो ।  विद्यालय स्तरीय हुने राष्ट्रपति खेलकुदमा विद्यालयको प्रतिनिधित्व गर्दै २ वर्ष भलिबल खेलेपनि सोचेजस्तो प्रगति हुन नसकेपछि पछाइले आफुलाई धावकमा परिवर्तन गरेकी हुन् ।  कक्षा ८ मा पढ्ने समयमा नै नेपाल प्रहरीमा भर्ती भएकी पछाइ अहिले स्नातक तह पहिलो वर्षमा अध्ययनरत छिन् ।  संयोग नै भन्नुपर्छ, पोखरामा महिला म्याराथनमा ह्याट्रिक गरेकी पछाईले ०७२ मा पोखरामा नै सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्डमा ५ किलोमिटर म्याराथनमा पहिलो पटक स्वर्ण पदक जित्दै राष्ट्रिय प्रतियोगितामा पहिलो पदक हासिल गरेकी थिइन् ।  ७२ सालमा नेपाल प्रहरीमा भर्ती भएकी पछाईले ९ महिनाको तालिमपछि पुलिस क्लबमा आवद्ध भएकी हुन् ।  ‘प्रहरीमा भर्ती हुने सपना पूरा गर्न बिहान बेलुका तालिम गरिरहे, विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड गाउँमै आयोजना भयो त्यसमा सहभागिता जनाए’ पछाइ भन्छिन् ‘भर्ती हुने लक्ष्यले रनिङ गरेपनि अहिले प्यासन नै रनिङ भएको छ ।’  एसियन र ओलम्पिक गेमसम्मको यात्रा तय गर्ने लक्ष्य लिएकी पछाइले अबको केही समय तालिमलाई निरन्तरता दिने बताइन् ।  छोरा छोरी, बराबरीः  प्रेमबहादुर   प्रेमबहादुर पछाई पेशाले होटल व्यवसायी भएपनि गएको स्थानीय निर्वाचनमा उनी कनकासुन्दरी गाउँपालिका ६ जुम्लाको वडाध्यक्षमा निर्वाचित भए ।   उनी जनप्रतिनिधि नहुँदै पेशाले होटल व्यवसायी हुन् । बेलुका बिहान घरको जेठी छोरी भएपनि राष्ट्रको महत्वपूर्ण क्षेत्रमा देख्ने सपना पूरा गर्न नै घरायसी काममा अल्झाउन नसकेको बुवा प्रेमले बताए ।  ‘घरको जेठी छोरी हुन्, गाउँमा नै होटल सञ्चालन गरेको छु, छोरीलाई राष्ट्रको चिनारीको रुपमा देख्ने सपना थियो, त्यही सपनामा थिइन् छोरी’, पछाईले भने, ‘अहिले विद्यालयस्तरदेखि देशको नै प्रतिनिधित्व गर्ने भएकी छिन्, खुशी छौं ।’ दुई छोरा र एक छोरीका बुवा प्रेम भन्छन्, ‘छोरा र छोरीमा भेदभाव गरिन, एक छोरो काठमाडौं अध्ययनरत छ अर्को गाउँमा व्यवसाय हेर्छ, छोरी खेलकुदमा छिन्, छोराछोरी सबै बराबर ।’ नेपाल प्रहरीका धावक राजपुरालाई बुबाआमासँगै श्रीमानले समेत निरन्तर साथ दिदै आएका छन् । धावक राजपुराले ६ वर्ष अगाडी बिहे गरेकी हुन् ।   

काठमाडौं:   ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको प्लाटिलेट्सको मात्रा बढेको छ ।   नेता भण्डारीको उपचारमा संलग्न चिकित्सक डा. मुकेश मिश्रा र डा. सिद्धार्थ केशवानीले प्लाटिलेट्सको मात्रा बढेको र पिसाबको मात्रा सामान्य रहेको जानकारी दिनुभएको कांग्रेस नेता योगराज कँडेलले बताउनुभयो ।    यसैगरी, एक्सरेकाे तल्लो भागमा हल्का अस्पष्ट रहेको छ भने ज्वरो नरहेको पनि चिकित्सकले जनाएको छ । साथै नेता भण्डारीको सबै अङ्गहरुले सामान्य काम गरिरहेको र कृत्रिम अक्सिजन बन्द गरी परीक्षण गरिएको कांग्रेस नेता कँडेलले बताउनुभयो ।   ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ । गत शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो । सांसद भण्डारीलाई गत बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।   काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा जलेर घाइते हुनुभएको थियो । उहाँलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

वालिङ:  स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जगतभन्ज्याङबाट मिर्दीतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ–६ को आम्डालीमा दुर्घटना भएको हो ।   दुर्घटनामा परी गम्भीर घाइते भएका चालक चापाकोट–२ का नविन सुनार र वालिङ–८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा ज्यान गएको हो ।   आइतबार राति ढुङ्गा बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल झरेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । चालक नविनको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा मृत्यु भएको प्रहरीको भनाइ छ ।

पोखरा:    राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशको कार्यालयमा चोरीको प्रयास गर्ने दुई युवक प्रकाउ परेका छन् ।  पोखरा महानगरपालिका ९ नयाँबजारस्थित राससको कार्यालयमा चोरीको प्रयास गरेका पोखराका २ युवकलाई प्रकाउ गरिएको वडा कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोशीले जानकारी दिए ।    ‘शनिबार पोखरा रंगशालामा म्याराथन शुरु हुन लागेको थियो, रासस कार्यालयबाट बिहान ६ बजे चोरी भएको खवर आयो, प्रहरी उपरीक्षक जोशीले भने, ‘घटनाको उजुरीपछि अनुसन्धान गर्दै जाँदा २ जनालाई प्रकाउ गरेर अनुसन्धान अगाडी बढाएका छौं।’  प्रहरी उपरिक्षक जोशीका अनुसार कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई नियन्त्रणमा लिएको हो ।  जोशीका अनुसार प्रकाउ परेका दास तीन पटक प्रकाउ परेर छुटेको देखिन आएको छ । ‘पहिलो पटक चोरी गरेको अभियोगमा प्रकाउ परेका दासलाई बालसुधार गृहमा पठाईको हो, जोशीले भने, ‘बालसुधारबाट आएपछि पटकपटक चोरीमा संग्लन भएको पाएका छौं ।’ प्रहरीका अनुसार राष्ट्रिय समाचार समिति (रासस)को कार्यालयबाट चोरी भएको क्यामेरा सहित प्रकाउ परेका दुई युवकलाई चोरी तथा डाँका कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ ।  सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाका आधारमा उनीहरु पक्राउ परेका हुन । शुक्रबार राति १ः३० बजे कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो ।