पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

पोखरा:   गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले जनासँख्याले मात्रै प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्न नसक्ने बताएका छन् ।   त्रिभुवन विश्वविद्यालयको दोस्रो ठुलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीले आयोजना गरेको ‘वृहत खुल्ला सांस्कृतिक तथा मौलिक नृत्य प्रतियोगिता एवं प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो धारणा राखेका हुन् ।    उनले आदिवासी जनजाति समुदायको जनसँख्या धेरै भएपनि पहुँचको हिसाबले कमजोर रहेको बताए ।  ‘आदिवासी जनजाति समुदाय संख्याको हिसाबमा धेरै छौं । सँख्याको हिसाबमा धेरै भएपनि विचार, संघर्ष र पहुँचमा पछाडी छौं, मन्त्री गाहामगरले भने, ‘त्यसैले अब आदिवासी जनजातिको मौलिक हकका निम्ति एकढिक्का र गम्भीर हुन जरुरी छ ।’   उनले एकताले मात्रै पहुँच स्थापना हुन नसक्ने बताउदै शैक्षिक सशक्तिकरणको आवश्यकता रहेको उल्लेख गरे ।   मन्त्री गाहामगरले जनजाति साँस्कृतिक हिसाबले धनी रहेको बताउदै संरक्षणको जरुरी रहेको बताए । ‘हामी कल्चर र नेचरले धनि छौं, यसको संरक्षण हुन नितान्त जरुरी । तपाइहरु विद्यार्थी जीवनबाट नै पढ्दै सिक्दै संस्कृति संरक्षणको विषयमा गम्भीर हुन आवश्यक छ । । किनभने हाम्रो मौलिक तथा ऐतिहासिक संस्कृति र परम्परा बचाउनुपर्ने अवस्था आएको छ ।’ उनले भने ।   मन्त्री गाहामगरले विद्यार्थी नेताहरुलाई फरक–फरक पार्टीमा आवद्ध भएपनि समुदायको अधिकार प्राप्तिका लागि एकढिक्का भएर लाग्नसमेत सुझाब दिएका थिए ।   नृत्य प्रतियोगितामा डिडी डान्स स्टुडियो प्रथम   आदिवासी जनजाति विद्यार्थी संघ पिएन क्याम्पस कमिटीकाे आयोजना र नेपाल मगर विद्यार्थी पृथ्वीनारायण क्याम्पसको सहआयोजनामा सम्पन्न वृहत खुल्ला सांस्कृतिक तथा नृत्य प्रतियोगितामा सामुहिकतर्फ डिडी डान्स स्टुडियो प्रथम भएको छ ।       यस्तै न्यू ग्यालेक्सी बोर्डिङ स्कुल द्धितीय, फुलमुन डान्स स्टुडियो तृतीय र दीप मगर समाज र ज्ञानु बाबा बोर्डिङ स्कुलले सान्त्वना स्थान हाँसिल गरे ।    सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना भएका समूहलाई क्रमशः १२ हजार, ८ हजार, ५ हजार रसान्त्वना भएका दुई समूहलाई समान २÷२ हजार नगद राशी प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष अर्जुन बरामले जानकारी दिए ।   उनका अनुसार एकल नृत्यतर्फ यसोधा रोका प्रथम, सरु खत्री द्धितीय र डानियाल तृतीय भइन् । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरेका थिए ।     

पोखरा: श्रीलंकाको कोलम्बोमा हुने जुनियर डेविस कप तथा बिली जीन किंग कप यु–१६ छात्र तथा छात्रा टेनिस प्रतियोगितामा भाग लिन नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ । प्रतियोगितामा भाग लिन नेपालबाट ५ जनाको टोली श्रीलंका प्रस्थान गरेको हो । टोलीमा ३ जना छात्र  र २ जना छात्रा रहेका छन् । टोलीमा पोखराका सृजन भट्टराई, आयुष्मान हुजुर घले, श्रीयोग अधिकारी, सुनिरा थापा र प्रशंसा मोक्तान रहेका छन् । उनीहरुलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणाले विदाई गरिन् । श्रीलंकाको कोलम्बोमा फेब्रअरी २० देखी २५ सम्म संचालन हुनेछ ।  

पोखरा:   फागुन ७ देखी पोखरामा शुरु हुने प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । फागुन ७ गते देखी १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका छन् । सार्वजनीक भएको खेल तालिका अनुसार माउन्ट अन्नपुर्ण र कास्की मोडनाइजले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने छन् । त्यसै गरी दोस्रो खेल सृजना स्कुल र जेसिए बिच हुनेछ । पहिलो दिन पाँच खेल हुने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । पहिलो दिनको तेस्रो खेल बालविकास र चिल्डेन लाइफ बिच हुने छ भने चौथो खेल सगरमाथा वि र गैडाकोट नमुना स्कुल बिच हुनेछ । पहिलो दिनको अन्तिम खेल लिटिल स्टेप मावि पोखरा र फियुचर ब्राइट स्कुल बाग्लुङका बिच हुने पराजुलीले बताए । सगरमाथा ए, करुणनीधि फाउन्डेसन र द वल्ड क्यापिटलले बाइ पाएका छन् । दोस्रो दिन क्वाटर फाइनलका ४ खेल हुने छन् भने तेस्रो दिन सेमिफाइनलका २ खेल हुनेछ । फागुन १० गते फाइनल हुनेछ । कास्कीबाट ८, बागलुङबाट २, नवलपुरबाट २ र गोरखाबाट १ गरि १३ टिमले प्रतियोगितामा सहभागीता जनाएको प्रतियोगिताका व्यवस्थापन गरिरहेको सबिन ममोरियल क्लबका अध्यक्ष संजय लिगलले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।

काठमाडौं:  दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ ।   दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए ।   कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो ।   नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।

काठमाडौं: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ।    भण्डारीको पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएको अस्पतालमा रहेका योगराज कंडेलले जानकारी दिए।    भण्डारीको उपचारमा खटिएका मुख्य सर्जन डा़ सुनिल केसवानीका अनुसार भण्डारीको दायाँ खुट्टामा एकदमै डिप ईन्जरी रहेकोले सोचेभन्दा धेरै समय लगाएर सर्जरी गर्नु परेको थियो। दायाँ खुट्टा माईल्ड रहेको डाक्टर केसवानीले बताएको कंडेलले जानकारी दिए।    भण्डारीको दुवै खट्टाको सर्जरी सम्पन्न भएको छ। दोस्रो सर्जरी गर्ने वा नगर्ने अव्जरवेसन पछि मात्र निर्णय हुने डाक्टर केसवानीले बताएका छन्।    बुधबार राति  ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी घाइते भएका हुन्। उनको थप उपचारका लागि बुधबार नै भारतको नेशनल वर्न सेन्टर लगिएको हो। विष्फोटमा गम्भीर घाइते भएकी भण्डारीको आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ।

बाँके: बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।    “यो नगर हामी सबैको हो, नगर सफा र सुन्दर बनाउने जिम्मेवारी पनि हामी सबैको हो” नगर प्रमुख आचार्यले भन्नुभयो, “हामी कसैलाई पनि जरिवाना तिराउन नपरोस् र पुरस्कृत गर्नुपरोस् भन्ने चाहना रहेको छ । कोहलपुर नगरलाई सुन्दर बनाउने जिम्मेवारी सम्पूर्ण नगरवासीको रहेको भन्दै उहाँले महिनौँदेखि बारम्बार विनम्रतापुर्बक अनुरोध गर्दा समेत अटेर गर्ने प्रवृत्ति बढे कारबाही गर्न थालिएको बताउनुभयो  ।   जथाभाबी फोहर फाल्ने व्यक्ति, सङ्घ संस्था, व्यावसायिक फर्म, सबैलाई कारबाहीको दायरामा ल्याइने उहाँको भनाइ छ । केही दिनअघि स्कुटरमा राखेर फोहर सडक छेउमा फाल्ने प्रवृत्ति बढेको भन्दै नगर प्रहरीले निगरानी गर्दैआएको छ । केही व्यक्तिलाई पक्राउ गरी जरिवाना पनि तिराएको छ ।   नगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्न सूचना प्रकाशन गरी निषेध गरेको छ । लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रवेशद्वारको रूपमा कोहलपुर क्षेत्रलाई सुन्दर, सफा र रमणीय बनाउन नगरबासीको साथ र सहयोग चाहिएको भन्दै नगर प्रमुख आचार्यले सार्वजनिक स्थानमा जथाभाबी फोहर गर्ने कामलाई निरुत्साहित गर्न जरुरी भएको बताउनुभयो । 

पोखरा:  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नतोकेपछि पोखरा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।  नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी जनप्रिय बहुमुखी क्याम्पस कमिटीले सयुक्त रुपमा स्ववियु निर्वाचनको माग गर्दै तालाबन्दी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  तीन विद्यार्थी संगठनका नेताहरुले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ‘क्याम्पसमा सक्रिय रहेका विद्यार्थी संगठनको बिचार–विमर्श र छलफललाई क्याम्पस प्रशासनले आफ्ना तवरले व्याख्याले गर्दै कुनै अमुक संगठन र विद्यार्थी नेतालाई मात्र हावी गराउने गरी आम–विद्यार्थीको भावना र आस्थालाई कुल्चेर गर्न खोजिएको व्याख्याप्रति घोर आपत्ति छ ।’ विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासनिक कक्ष, लेखा शाखा र भर्ना काउन्टरमा अनिश्चितकालका लागि तालाबन्दी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।   अहिले क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच वार्ता चलिरहेको छ ।   

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश संग्रहालयको प्रचारप्रसार गर्न नसकेको बताएका छन् ।   पोखरा महानगरपालिका ९ नयाँबजार स्थित प्रदेश संग्रहालयको प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन् ।    ‘संग्रहालय अवलोकन गर्न आउने पर्यटक तथा दर्शकहरु समक्ष संग्रहालयको महत्वबारे प्रचारप्रसार गर्न सकेका छैनौं, मुख्यमन्त्री अधिकारीले भने, ‘ संग्रहालय भनेको विश्वविद्यालय हो, लोपउन्मुख अभिलेख, वस्तुहरु भोलिका अनुसन्धानकर्ताहरुका लागि महत्वपूर्ण साम्रागी हो त्यसैले संग्रहालय विश्वविद्यालय हो, यसको प्रचारप्रसार गर्न सरकार र नागरिकको दायित्व भित्र पर्छ ।’ उनले संग्रहालय भनेको संस्कृतिको राजधानी भएकाले लोपउन्मुख विभिन्न जातजातिको भाषाशैली जिवनशैली र लोपउन्मुख संस्कृति लगायत अन्य लोपउन्मुख वस्तुहरुको संरक्षणमा जोड दिए ।  प्रदेश संग्रहालयको प्रशासनिक भवन प्रदर्शनी केन्द्रसँगै जोदिदा कार्यालय व्यवस्थापनमा असहज भएपछि नयाँ दुईतले भवन निर्माण गरिएको प्रदेश संग्रहालयले जनाएको छ ।  गण्डकी प्रदेशको आर्थिक सहयोगमा १ करोड ८९ लाख ८६ हजार ६ सय २२ रुपैयाँको लागतमा स्लेट चन्द्रज्योति जेभीले प्रदेश संग्रहालयको प्रशासनिक भवन निर्माण गरेको हो । संग्रहालयको प्रशासनिक भवन निर्माण भएपछि पहिलेको कार्यालयलाई सूचना केन्द्रको रुपमा विस्तार गर्ने लक्ष्य संग्रहालयले लिएको छ ।  आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै २०४१ सालमा सर्वसाधारणका लागि खुल्ला गरिएको क्षेत्रीय संग्रहालयमा संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारको सामित्वमा आएको छ ।   

बागलुङ:  बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरा स्वास्थ्य चौकीको प्रसूति सेवा प्रभावित भएको छ । प्रसूति सेवाका लागि जनशक्ति नहुँदा उक्त सेवा प्रभावित भएको हो ।    भीमापोखराका गर्भवतीहरू गर्भ परीक्षण तथा प्रसूति सेवाका लागि सदरमुकाम बागलुङ बजार जान बाध्य छन् । स्वास्थ्य चौकीमा दुई जना सिनियर अहेव, दुई जना अनमी, एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगी गरी छ जनाको दरबन्दी रहेको छ ।    तर हाल एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगीका भरमा स्वास्थ्य चौकी सञ्चालन भइरहेको छ । दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा गाह्रो भएको भीमापोखरा चौकीका हेल्थ असिस्टेन्ट आशिष सापकोटाले बताउनुभयो ।    स्वास्थ्य चौकीमा सात महिनादेखि दुई अहेव र एक अनमीको दरबन्दी रिक्त छ । कोभिड सङ्कटको बेला स्वास्थ्य चौकीमा कार्यरत एक सिनियर अहेव गाउँपालिकाले बोलाए पनि फिर्ता गरिएको छ ।    “साधारण स्वास्थ्य सेवा त म एक्लै गरिरहेको छु,” हेल्थ असिस्टेन्ट सापकोटाले भन्नुभयो, “बर्थिङ सेन्टरको काम अहिले पूर्ण रूपमा प्रभावित छ ।” काठेखोला गाउँपालिका–६ को बिहुँकोट स्वास्थ्य चौकीमा पनि एक जना अनमीका भरमा सञ्चालन हुँदै आएको छ । गाउँनजिकै स्वास्थ्य चौकी रहे पनि सामान्य बिरामी पनि उपचारका लागि सदरमुकाम बागलुङ बजार पुग्नुपर्नेे स्थानीयको गुनासो छ ।