काठमाडौं : कीर्तिपुरबाट प्रहरीले सट्टाबाजीको आंशकामा एक जनालाई पक्राउ गरेको छ। त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भइरहेको बेला एक व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। उनका अनुसार उनी सट्टाबाजीमा संलग्न भएको आशंका लागेर मैदानबाट नियन्त्रणमा लिएको हो। 'अहिले उहाँलाई आशंका लागेर नियन्त्रणमा लिएका हौं,' उनले भने, 'अहिले अनुसन्धान गरिरहेका छौं।' त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।
काठमाडौं: नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुग्नुभएको छ । काठमाडौँ आउनुहुनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग हुनुहुन्छ । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउनुहुने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरूले भाग लिनुहुनेछ । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उहाँहरू सहभागी हुनुहुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । सैनिक मुख्यालय जङ्गी अड्डामा यही फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उहाँहरूको भेटघाट र छलफल हुनेछ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सोही दिन साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरूको सहभागिता रहनेछ । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाउँदैछ ।
काठमाडौं : सुनको मूल्य घटेको छ। आज सुन तोलामा ५०० सयले घटेको हो। मूल्य घटेसँगै प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रूपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य १ ला २ हजार रूपैयाँ तोकिएको छ। बिहीबार सुन तोलामा ६०० रूपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रूपैयाँले खरिदबिक्री भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार २७५ रूपैयाँले किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला एक हजार २८५ रुपैयाँ तोकिएको थियो।
काठमाडौँ: नेपाल वायुसेवा निगमले यात्रुहरूको सुविधालाई ध्यानमा राखेर आज (फागुन ५ गते) देखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष साँझ ७ बजेसम्म खुल्ला गर्ने भएको छ । निगमले बिहीबार सूचना जारी गर्दै टिकट काउन्टर बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म खुल्ला रहने व्यवस्था गरेको जानकारी गराएको छ । साथै शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजे देखि बेलुका ५ बजे सम्म बिक्री कक्ष खुल्ला रहने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
काठमाडौं: अनेरास्ववियुको अध्यक्ष पदमा समिक बडाल विजयी भएका छन् । बडाल ९६५ मतसहित विजयी भएका हुन् । अनेरास्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत कुमार खकुरेलका अनुसार उनका निकटतम प्रतिपस्र्धी आरसी लामिछानेले ३५६ मत , अध्यक्ष पदका उम्मेदवार लोकेश निरौलाले ११३ र मोति विकले ७८ मत ल्याए । अनेरास्ववियुको नवनिर्वाचित अध्यक्ष बडाल यसअघि महासचिव थिए । २०६२ को स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा बडाल स्ववियु सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ को लागि विश्व प्रसिद्ध स्पोर्ट्स ब्रान्ड एडिडाससँग सहकार्य गरेको छ । नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि र मञ्चबीच बिहीबार सम्झौता भएको छ । मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र रुट्स फेसनको तर्फबाट प्रबन्ध निर्देशक सन्जिव तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । दुई पक्षबीच तीन वर्षका लागि सम्झौता भएको हो । सम्झौताअनुसार एडिडासले हरेक वर्ष अवार्डमा १० लाख रुपैयाँ बराबरको सामग्री प्रदान गर्नेछ । एडिडासले यसअघि पनि स्पोर्ट्स अवार्डमा सहकार्य गरेको थियो । सम्झौतापछि रुट्स फेसनका प्रवन्ध निर्देशक तुलाधरले भन्नुभयो, ‘नेपालकै प्रतिष्ठित एनएसजेएस पल्सर स्पोटर्स अवार्डसँग पुनः जोडिन पाउँदा हामी धेरै खुसी छौं । खेलाडी र खेलकर्मी सम्मानमा जोडिन पाउँदा हामीले आफुलाई गौरवान्वित ठानेका छौं । यसअघि पनि हामीले मञ्चसँग सहकार्य गरेका थियौं । तर विविध कारण बीचमा सहकार्य निरन्तर हुन सकेन । आगामी वर्षहरूमा पनि हाम्रो सहकार्यले निरन्तरता पाउने विश्वास छ ।” त्यस्तै मञ्चका अध्यक्ष सुवेदीले एडिडास जस्तो विश्वस्तरीय ब्रान्डको साथ पाउनुले स्पोर्ट्स अवार्डको उचाई अझ वढेको बताउनुभयो । ‘करिब १० वर्षपछि एडिडास र मञ्चबीच पुनः सहकार्य भएको छ । एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिसँग धेरै समयपछि जोडिन पाउँदा हामी धेरै खुसी छौं । यो तीन वर्षको सहकार्यले बाँकी वर्षहरूमा पनि निरन्तरता पाउने हामीले विश्वास लिएका छौं,’ सुवेदीले भन्नुभयो । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड यही फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा हँुदै छ । अवार्डमा यसपटक वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्स जर्नालिस्ट अवार्ड गरी ९ विधा समावेश छ । जसमा पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् । अवार्डको चर्चित विधा पिपल्स च्वाइस अवार्डको मनोनित खेलाडीहरू सार्वजनिक भइसकेका छन् । यस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा, भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीलाई समर्थकहरूले विद्युतीय भुक्तानीको सेवाप्रदायक कम्पनी ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । त्यसको मतभार ५० प्रतिशत हुनेछ । त्यस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेजमा गएर आफूलाई मनपर्ने खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिनेछ । यसको मतभार २५ प्रतिशत हुनेछ । त्यसबाहेक खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकहरूले पनि मतदान गर्नेछन् । खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकले गर्ने मतदानको मतभार समान १२।५ प्रतिशत हुनेछ । मनोनयनमा परेका खेलाडीलाई फागुन २१ गते राति १२ बजेसम्म मतदान गर्न सकिनेछ । उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडीको मनोनयन केही दिनमा सार्वजनिक हुनेछ ।
पोखरा: माछापुच्छ्र्रे हिमालको काखमा रहेको कास्की जिल्लाको उत्तर भेगमा रहेको माछापुच्छ्रे गाउपालिका वडा नं. ४ को रमणीय गाउँ लाहाचोक गाउँको प्रवद्र्धन गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको समुह शनिबार उक्त गाउँ पुगेको छ । स्वस्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार संचालन हुँदै आएको एक दिने छोटो पदयात्रा (हाइकिङ) को ३१ औं श्रृङखला लाहाचोक गाउँमा गरेको थियो । पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको मिलन चोकमा भेला भई पैदल यात्रा सुरु गरेका उक्त समुहलाई क्लबका संयोजक कृष्ण रानाभाटले हाइकिङले स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेकोले छिट्टै विधिवत रुपमा दर्ता गरिने जानकारी गराएका थिए । २०७६ साल देखि नियमित रुपमा हुँदै आएको हाईकिङ कोरोना भाइरसका कारण केही महिना स्थगित भएको र कोरोना भाइरसको असर कम भए पश्चात पुनः नियमित रुपमा संचालन भइरहेको क्लबका सदस्य तथा कानुनी सल्लाहकार अधिवक्ता नोज घर्तिमगरले वताए । विद्यार्थीदेखि गृहणीसम्म सहभागी भई रमाईलो गर्दै पैदल हिडेर स्थानिय वस्ती, खोलानाला, वनजंगल, विभिन्न विकास निर्माणका कार्यलाई प्रत्यक्ष रुपमा अवलोकन गर्दै ४ देखि ५ घण्टा संगै हिड्नु नै हाइकिङको उद्धेश्य रहेको रेडियो सफलताका स्टेसन म्यानेजर मधु अधिकारीले वताए । लाहाचोकका व्यवसायी राजेन्द्र अधिकारीले हाइकर्स क्लबका सदस्यहरुलाई लाहाचोकमा स्वागत गर्दै रहेका विभिन्न देवी देवताका मन्दिरहरु, प्रचारप्रसारको पर्खाइमा रहेको पर्यटकीय पातीखोला गुफा, काल भैरब मन्दिर, नवनिर्मित माछापुच्छ्रे गाउँपालिकाको प्रशासनिक भवन, व्यवसायीक रुपमा गरिएका कृषि तथा पशु पालनको अवलोकन गराएका भएको आइटि व्यवसायी पितम सेन ठकुरीले वताए । यस अगाडि कास्की, स्याङ्जा र तनहुँका विभिन्न गाउँहरुमा हाइकर्स समुह पुगेको र फागुन महिनाको अन्तिम शनिबार स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँमा जाने तयारी गरिएको छ । पोखराको पृथ्वीचोकलाई केन्द्रमा राखेर वेलुकी ५÷६ वजेभित्र फर्किनु पर्ने भएको कारण जाँदा वसमा जाने र फर्किदा बाँगेदेखि फेदीखोलासम्म ३ देखि ४ घण्टा हिडेर आउने तयारी रहेको पनि क्बलले जानकारी दिएको छ ।
पोखरा: नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते शनिबार हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सो प्रतियोगिताको तयारी पूरा भएको मञ्चले आज (बिहीबार) पोखरामा पत्रकार सम्मेलन गरि जनाएको हो । आगमी शनिबार पोखरा रंगशालामा बिहान ६ बजेबाट हुने कार्यक्रममा सहभागिताका लागि विभिन्न विद्यामा हालसम्म झण्डै ८ हजार जनाले नाम दर्ता गराएको मञ्चले जनाएको छ । यस वर्षको खुल्ला म्यारथनमा १५० जना धावकहरु सहभागि हुने भएका छन् भने महिलातर्फको हाफ म्याराथनमा ३५ जना धावहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । यस्तै १० किलोमिटर पुरुषतर्फ एक हजार पाँच सय र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएका छन् । ५ किलोमिटर दौडमा ७० वटा विद्यालयका छात्र र छात्रतर्फ क्रमश एक हजार छ सय र छ सय जनाले नाम दर्ता गराएका छन् । ह्विलचेयरतर्फ ४७ जना , दृष्टिविहिन दौडतर्फ ९० जना र ‘रन फर फन’तर्फ सबैभन्दा धेरै ५ हजार जनाले नाम दर्ता गराएको आयोजक मञ्चले जनाएको छ । प्रतियोगितामा विदेशी १६ देशका धावक सहित नेपालका सात वटै प्रदेशबाट ३७ जिल्लाका धावकहरुले सहभागिता जनाउने छन् । ४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मञ्चले गण्डकी प्रदेशका धावकहरुका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । जसमा प्रदेशबाट सहभागि धावकहरुलाई प्रथम, द्वितिय र तृतिय पुरस्कार स्वरुप क्रमश ५० हजार, ३० हजार, २० हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई एक लाख ५० हजार, दोश्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्तवना पुरस्कार स्वरुप १५ हजार प्रदान गरिने जनाइएको छ । १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वितिय र तृतिय पुरस्कार स्वरुप क्रमश ३० हजार, २० हजार र १५ हजार, ५ किलोमिटर छात्र छात्रा दौडतर्फ १५ हजार १० हजार र ७ हजार रुपैयाँ क्रमश प्रथम, द्वितिय, तृतिय हुनेले प्राप्त गर्ने छन् । यसैगरि मञ्चले ह्विलचेयर र दृष्टिविहिन महिला÷पुरुष दौडतर्फ प्रथम, द्वितिय र तृतिय हुनेले १० हजार ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । यसै विच पोखरा म्याराथनका लागि विभिन्न देशका नेपाली संघ–संस्थाहरुले संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गरेका छन् । यस्तो सहयोग गर्नेहरुमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेले ४ लाख, न्यू ह्याम्पशायर वोष्टन अमेरीका निवासी नेपाली समाजले १ लाख १० हजार, एनआरएनए एनसिसी अस्ट्रेलियाले ५२ हजार, मञ्चका अस्ट्रेलियास्थित डर्विन संयोजक चन्द्र प्रकाश गुरुङलगायत सहकर्मीहरुले एक मुष्ट ५१ हजार, समाजसेवी भोज बहादुर गुरुङले २५ हजार, तारा गुरुङ अस्ट्रेलियाबाट २५ हजार सहयोग गरेका छन् । सो रकम पत्रकार सम्मेलनमा हस्तान्तरण गरिएको थियो । सो अवसरमा पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, ओलम्पियन नारायण गुरुङ, फेदी खोला समाज यूकेका अध्यक्ष हरि गुरुङ, मञ्चका अस्ट्रेलिया संयोजक चन्द्र प्रकाश गुरुङलगायतले आफ्ना भनाई राख्दै पोखरा म्याराथनले विश्वमा छरिएर रहेका नेपालीहरुलाई एक ठाउँमा ल्याउन सहयोग गरेको बताए । पोखरा म्याराथनलाई प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, कृषि विकास बैंक, केल्मी, एक्स टेप, नेपाल टुरिजम वोर्ड, हिमा असलगायतले सहयोग तथा प्रायोजन गरेक छन् ।
कास्की: गण्डकी प्रदेश सरकारले पाँचौ स्थापना दिवस –२०७९ मनाएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौ वर्ष पूरा भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा आज (बिहीबार) स्थापना दिवस मनाएको हो । सो अवसरमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारको पाँच वर्षको गतिविधि समेटिएको पुस्तक विमोचन गरेका थिए । विमोचन पश्चात सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले आम नागरिक र राजनीतिक व्यत्तित्वहरुको समन्वयमा प्रदेश सरकारले कदम चाल्नुपर्ने धारणा राखे । उनले यसअघिका सरकारले आधारशीला तयार गरिसकेको बताउदै वर्तमान सरकारले कार्यान्वयनको पक्षमा लाग्नुपर्ने बताएका थिए । यस्तै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व पङ्तिमा रहेका व्यक्तिहरुले चुनौतीमा अवसर देख्नुपर्ने तर्क राखे । उनले चुनौती भित्र समस्या देख्ने व्यक्तिहरु सफल हुन नसक्ने भन्दै चुनौतीमा अवसर खोज्नुपर्ने दोहोर्याए । ‘नेतृत्वमा बस्ने र रहनेहरुले चुनौतीमा अवसर देख्नुपर्छ र चुनौतीमा समस्या देख्नेहरु नेता हुन सक्दैनन् । त्यसैले चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्छ ।’ उनले भने । उनले आफु नेतृत्वको सरकारले संघीय सरकारसँग स्वायत्तताका लागि संघर्ष गरेको स्मरणसमेत गरेका थिए । सो कार्यक्रममा निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख कृष्ण प्रसाद धिताल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रमकाबीच उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै विभिन्न ३ विधामा १० जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो । सहिदपार्कस्थित सहिद स्तम्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरि बहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता सुन्दास, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, आन्तरिक मामिला तथा कानूनमत्री रोशन बहादुर गाहा थापा, उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बेद बहादुर गुरुङ, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रेशम जुग्जाली लगायतले माल्र्यापण गरि प्रभातफेरि कार्यक्रम शुभारम्भ गरिएको थियो । सो र्याली पोखरा सभागृहमा आएर मुल समारोहमा परिणत भएको थियो । प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

