पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

म्याग्दी:  म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमङ्गलेमा विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ । किशोरी शिक्षा कार्यक्रमअन्तर्गत रितुङ माध्यमिक विद्यालयका छात्राहरुलाई कुइनेमङ्गले  र अमर माविका छात्राहरुलाई चिमखोलाले आत्मरक्षासम्बन्धी विषयमा तालिम दिइएको हो ।   किशोरीहरुमाथि हुन सक्ने हिंसालाई रोक्न र प्रतिकार गर्ने क्षमताको विकास गराउन तथा सचेत बनाउने उद्देश्यले सामाजिक विकास कार्यालयले र मिलन म्याग्दीले आत्मरक्षाको तालिम दिइएको हो ।   आत्मरक्षा तालिमका प्रशिक्षक चन्द्रा घले गुरुङले सहभागी किशोरीहरुलाई आत्मरक्षासम्बन्धी विषयमा प्रयोगात्मक अभ्यास गराउनुभएको थियो । कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले किशोरी तथा बालबालिकाहरुमाथि हुने हिंसाको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी, बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)का प्रमुख डा. विराज आचार्यले ओसिएमसीबारे जानकारी दिनुभयो ।   ओसिएमसी र अस्पतालबाट भइरहेका सेवा प्रवाहबारेमा विद्यार्थीहरुलाई जानकारी गराउँदै मेडिकल अधिकृत डा. आचार्यले लैङ्गिक हिंसा भएको खण्डमा बेनी अस्पतालको ओसिएमसीमा आएर उपलब्ध सेवासुविधाको प्रयोग गर्न आग्रह गर्नुभयो ।

पोखरा:   नेपाल सुनचाँदी रत्न तथा आभुुषण महासंघको दशौं वाषिकोत्सव तथा नवौं वार्षिक साधारण चितवनमा हुने भएको छ ।  महासंघको दशौं वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणसभा माघ २६ गते चितवनको पार्क सफारी रिसोर्टमा हुने महासंघका महासचिव किसान सुनारले जानकारी दिए ।  ‘संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक महासंघको वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणसभा राजधानी बाहिर गर्दै छौं, सुनारले भने, ‘राजधानी बाहिर पहिलो पटक हुन लागेको साधारणसभालाई विधान केन्द्रित महाधिवेशन भनेका छौं ।’ उनले विधान संशोधन गर्दै प्रदेश गठनलाई तिव्रता दिने बताए । ‘संघीयताको भावना अनुसार महासंघलाई अगाडी बढाउन साधारण सभाले पहिलो पटक संघीयताको मर्मअनुसार विधान संशोधन गर्दै छौं, विधान संशोधनसँगै साधारण सभाले चिवतन घोषणा पत्र समेत जारी गर्नेछ ।’ महासचिव सुनारले भने ।  ‘स्वच्द्ध व्यवसायः सम्मानित व्यवसायी’ मूख्य नारा लिएको नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघले कानूनहरुको पूर्ण पालन गर्दै व्यवसायलाई स्वच्छ र पाददर्शी बनाएर प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय प्रति गौरव गर्ने र सम्मानित व्यवसायी भएको अनुभुति गर्न सक्ने अवस्थाको सिर्जना गर्ने महासंघको अभियान छ ।  महासंघको दशौं वार्षिकोत्सव तथा नवौं वार्षिक साधारणको उद्घाटन बाग्मति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गर्ने कार्यक्रम तय भएको आभुषण महासंघले जनाएको छ ।   साधारणसभामा भरतपुर महानगरपालिकाका प्रमुख रेनुका दाहाल, प्रमुख जिल्ला अधिकारी, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष, नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष लगायत अतिथिहरुको सहभागिता रहने छ भने, देशभरका २ सय बढी संस्थागत प्रतिनिधिहरुको सहभागिता रहने महासंघले जनाएको छ ।  २०६९ माघ २७ गते स्थापना भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ मुलुकभरका गहना व्यवसायीहरुको प्रतिनिधिमूलक अग्रज संघीय संस्थाको रुपमा स्थापित भएको छ । महासंघ स्थापना हुनु भन्दा अगाडी मुलुकमा गहना व्यवसायीहरुका समानस्तरका धेरै संघहरु भएकाले ती सबैको प्रतिनिधिमूलक संघीय संस्थाको आवश्यकता महशुस गर्दै महासंघको स्थापना गरिएको जनाइएको छ ।   

काठमाडौं:   बंगलादेशको राजधानी ढाकामा भएको लिगको अन्तिम तथा निर्णायक खेलमा भारतलाई पराजित गर्दै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ३–१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। १–० गोलले पछि परेको अवस्था उल्टाउँदै नेपालले  पुनरागमन जित निकाल्न सफल भएको हो ।  भारतले पहिलो हाफमा २१ औं मिनेटमा अपूर्णाले गोलमा अग्रता लिएको थियो । नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन्।  नेपालले ६९ औं मिनेटमा कप्तान प्रिति राईले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ गोलले अघि बढाएकी थिइन्। त्यसअघि दिपा शाहीमाथि भारतीय डिफेन्डरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो।      नेपालका लागि तेस्रो गोल अमिसा कार्कीले गरिन्। उनले खेल सकिन एक मिनेट बाँकी छदा उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।  जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।  अन्तिम खेलपछि भारतको ४ अंक भएको छ। भुटानसँग खेल्नुअघि बंगलादेशको पनि ४ अंक छ। बंगलादेशलाई फाइनलमा पुग्न बराबरी भए पुग्छ। भारतले बंगलादेशको हारको कामना गर्नु पर्नेछ।  यसअघि पहिलो खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–१ गोलले हराएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानमाथि ४० को जित निकालेको थियो। प्रतियोगितामा बंगलादेश र भारतले गोलरहित बराबरी खेलेका थिए। 

काठमाडौं:    छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले जितेको छ ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा गर्दै पराजित गर्दै उपाधि जितेको हो ।   प्रतिस्पर्धात्मक फाइनल खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै पहिलो पटक छैटो केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।  होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले  २८–२६, १९–२५, २५–२२, २४–२६ र निर्णायक तथा पाचौँ सेट १५–९ ले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको हो ।  यस्तै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो भएको छ ।  उपाधि जितेको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ ।  उपविजेता नेपाल एपिएफले १ लाख ५० हजार र तेस्रो भएको नेपाल पुलिस क्लबले ७५ हजार पुरस्कार पाएका छन् ।   

पोखरा:  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगरले प्रस्तावित सूचना प्रविधि (आइटी) पार्कको स्थलगत अवलोकन गरेका छन् ।   पोखरा महानगरपालिका १८ स्थित जामुखेबोटमा मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, शाखा अधिकृत खुबीराम पोख्रेल लगायतका टोलीको साथमा स्थलगत अवलोकन गरेका हुन् ।    अवलोकन पश्चात बोल्दै मन्त्री गाहामगरले प्रस्तावित आइटी पार्क निर्माणमा आफ्नो ध्यान केन्द्रीत भएको बताए ।    उनले उक्त पार्क निर्माणका लागि आफ्नो विशेष योजनामै समेटेर अघि बढ्ने बताएका थिए ।    तयार हुदै ‘डिपिआर’    आइटी पार्क निर्माणका लागि रत्न आधारभूत प्राथमिक विद्यालयको नाममा रहेको ९६ रोपनी जग्गाको भोगाधिकार प्रदेश सरकारले प्राप्त गरिसकेको छ ।    आन्तरिक मामिला तथा कानून मन्त्रालयका सुचना अधिकारी खुबीराम पोख्रेलका अनुसार संभाव्यता अध्ययनसँगै जग्गा संरक्षणका लागि पर्खाल (कम्पाउण्डिङ) निर्माण भइसकेको छ ।    उनले हाल आइटी पार्कको डिपीआर (गुरुयोजना) तयार भइरहेको बताए । ‘अहिले एउटा कम्पनीले आइटी पार्कको डिपिआर बनाइरहेको छ, सुचना अधिकारी पोख्रेलले भने, ‘जेठ मसान्तसम्म डिपिआरको प्रतिवेदन प्राप्त हुन्छ ।’   पोख्रेलले १ करोड १० लाखको (भ्याटबाहेक) लागतमा इआरएमसी मल्ल स्लेट जेभीले डिपिआर तयार गरिरहेको बताए । ‘सुरुमा इबिडमार्फत इओआई माग गरेका थियौं । त्यसमध्ये १४ वटा कम्पनी दर्ता भए र त्यसबाट ६ वटा छनोट भएका थिए, शाखा अधिकृतसमेत रहेका पोख्रेलले भने, ‘त्यसपछि छनोट भएका ६ वटा कम्पनीलाई आरएफपी माग गर्दा ५ वटाको मात्र प्राप्त भयो र त्यसमध्यै सबैभन्दा बढी अंक इआरएमसी मल्ल स्लेट जेभीले प्राप्त गरेको थियो । अहिले त्यही कम्पनीले डिपिआर बनाइरहेको छ ।’   उनले गत मंसिर २७ गते उक्त कम्पनीसँग सम्झौता भएको बताउदै पहिलो चरणको प्रतिवेदन मन्त्रालयलाई प्राप्त भइसकेको जानकारी दिए  । पोख्रेलका अनुसार  इआरएमसी मल्ल जेभीले जेठ मसान्तभित्र डिपीआरको काम सक्नुपर्नेछ ।   त्यसपछि मात्रै पार्क निर्माणको प्रक्रिया अघि बढ्नेछ ।   इन्भेन्सनदेखि डाटा सेन्टरसम्मको योजना   सो पार्कमा आइटीसँग सम्बन्धित नयाँनयाँ प्रविधिको उत्पादन गर्ने, प्रदेश सरकारले आफ्नो तथ्यांक भण्डारण एवं सुरक्षित गर्नेसँगै प्रदेशअन्तर्गत आइटीसँग सम्बन्धित सबै संस्थाहरुको कार्यालय राख्ने गरि पार्क निर्माणको योजना अगाडी बनाएको हो ।   सूचना प्रविधि पार्कमा डाटा सेन्टर, आइटीसँग सम्बन्धित नवप्रवर्तन (इन्नोभेसन) र नयाँनयाँ प्रविधि पत्ता लगाउने (इन्भेन्सन) जस्ता काम गरिने प्रदेश सरकारको योजना छ ।    यस्तै प्रदेश सरकार, स्थानीय सरकारलगायतका सरकारी कार्यालयले इन्टरनेटबाट चलाउने सबै तथ्यांकसमेत रहनेछन् ।      संघीय सरकारले तथ्यांकको सुरक्षित भण्डारका लागि हेटौँडामा राखेको रिकभरी सेन्टरजस्तै पोखरामा पनि डाटा सेन्टर हुने बताइएको छ ।     गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकालमा २०७६ असोज ९ गते बसेको मन्त्रिपरिषद्को निर्णयले पोखरामा आइटी पार्क बनाउने निर्णय गरेको थियो ।  

काठमाडौं:  टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ सय नाघेको अन्तर्राष्ट्रिय मिडिया बिबिसीले जनाएको छ । साथै हजारौँ संख्यामा घाइते भएका छन् । सोमबार बिहान स्थानीय समयअनुसार ०४:१७ मा (०१:१७ GMT) पहिलो भुकम्प ७.८ म्याग्निच्युडको गएको थियो ।  बिबिसीका अनुसार पहिलो भुकम्प पछि टर्किमा मात्रै ३ हजार ३ सय ८१ जनाले ज्यान गुमाएका र १५ हजार भन्दा बढि घाइते भएका छन् ।  करिब १३ घण्टा पछि पुनः दोश्रो शक्तिशाली भुकम्प ७.५ म्याग्निच्युडको गएको थियो । तर त्यसबीचमा सयौं पराकम्प गएका थिए । भुकम्पविदका अनुसार टर्कीको पहिलो भुकम्प अहिले सम्मको सबैभन्दा शक्तिशाली भुकम्प रहेको बताएका छन् ।  सोमबार बिहानको भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको थियो ।       

काठमाडौं : अमेरिकी अन्तराष्ट्रिय विकाश नियोग(यूएसआईडी)की प्रमुख सामन्था पावर नेपाल आइपुगेकी छन् ।     यूएसआईडी प्रमुख पावर केहीबेर अघि काठमाडौं आइपुगेकी हुन् ।    नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल,परराष्ट्रमन्त्री बिमला राई पौड्याललगायत सरकारी अधिकारीहरू र नागरिक अगुवाहरूसँग भेटवार्ता गर्नेछिन्।

नवलपरासी:  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको कामले तीव्रता पाएसँगै भेडाबारी सडकखण्डको एक किलोमिटर सडक परीक्षणका रूपमा कालोपत्रे गरिएको छ ।   कालोपत्रे गरिएको सो सडकको नमुना परीक्षणसमेत सफल भएको छ । अब सडक कालोपत्रेको काम अघि बढाइने बुटवल–नारायणगढ सडकखण्डको ठेकेदार कम्पनी चाइना कन्स्ट्रक्सनका इन्जिनियर रोकश झाले बताउनुभयो ।    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो सडकको काम अहिले पनि तीव्र गतिमा भइरहेको दाबी गरिएको छ भने विभिन्न ठाउँको माटो भर्ने र सम्याउनेलगायतका काम सकिएको छ । ती ठाउँमा पनि तरुन्तै कालोपत्रे गरिनेछ ।    आगामी असार मसान्तसम्म ५० प्रतिशत काम सक्ने लक्ष्यका साथ काम अघि बढेको परियोजनाका इन्जिनियर झाले बताउनुभयो । चिनियाँ ठेकेदार कम्पनीले निकै चासोका साथ बुटवल–नारायणगढ सडकखण्ड निर्माण गरिरहेको बताइएको छ ।    चीनबाट समेत ठेकेदारले एक अर्ब ५४ करोड रकम ल्याएर यो सडक निर्माण कार्यलाई थप तीव्रता दिएको इन्जिनियर झाको भनाइ छ । ४८ महिनाअघि सम्झौता भई निर्माण कार्य अघि बढेको सो आयोजनाको ३० प्रतिशतभन्दा बढी काम सकिएको छ । सडकमा पर्ने रुख कटान, बिजुलीको पोल गाड्ने, राजमार्गमा रहेका ठूला पुल र साना कल्भर्ट निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।    कालोपत्रेको काम मात्रै बाँकी रहने र त्यो काम पनि सकिएको विभिन्न ठाउँमा कालोपत्रे गर्ने काम सुरु भइसकेको आयोजनाले जनाएको छ ।    निर्धारित मितिअनुसार ४२ महिनामा सम्पन्न हुन नसकेर पुनः एक वर्ष म्याद थपिए पछि बुटवल–नारायणगढ सडकखण्डको निर्माण कार्यले तीव्रता पाउन थालेको हो । सर्वसाधारणमा अब भने सो सडक निर्माण पूरा हुने आशा पलाएको छ । अहिले ३० प्रतिशत बढी काम सकिएको र छ महिनाअघि सरकारले ३८६ दिनका लागि पुनः म्याद थपेपछि सडक निर्माणले तीव्रता पाएको बुटवल–नारायणगढ सडकखण्डको सरकारी पक्षका प्रमुख इन्जिनियर रमेश दृष्टि बताउनुहुन्छ ।    सो सडकखण्डमा दिनरात निर्माण कार्य भइरहेको छ, ठेकेदार पक्षले धमाधम कामलाई तीव्रता दिइरहेको छ भने अहिले आयोजना सम्पन्न हुनेमा स्थानीयवासीमा समेत आशा पलाएको देवचुलीका राजन अधिकारीले बताउनुभयो ।  सो आयोजनाको गैँडाकोट दाउन्ने पहिलो खण्ड र दाउन्ने बुटवल दोस्रो खण्डका रूपमा स्वीकृत भई झन्डै १६ अर्ब ९९ करोडमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले ४२ महिनाअघि ठेक्का पाएको थियो । ठेक्का सुरु भएको एक हजार २७८ दिन अर्थात् ७ जुलाई २०२२ मा ११३ किलोमिटर बुटवल–नारायणगढ सडक निर्माण सक्ने सम्झौतामा उल्लेख भए पनि सुरुको ४२ महिनामा १८ प्रतिशत काम भएको थियो ।    एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सुरु भएको यो आयोजना राष्ट्रिय गौरबका आयोजनका रूपमा रहे पनि कामले गति लिन नसक्दा सम्झौता अवधिभन्दा झन्डै दुई वर्ष आयोजना धकेलिने र सन् २०२४ सम्म आयोजना सम्पन्न हुने जनाइएको छ  ।   सो आयोजनाले सडकमा रहेका दुईतर्फी गरेर चार हजार ८३९ विद्युत्को पोल सार्ने काम भइरहेको, एक हजार २५ वटा टेलिफोनको पोल, २०२ सोलार पोलसमेत सार्ने कार्य भइरहेको आयोजनाका सरकारीस्तरका सडक विभागका प्रमुख इन्जिनियर रमेश दृष्टिले बताउनुभयो ।    यो आयोजनामा ४३ वटा ठूला पुल, ३९ वटा साना पुल ४६२ वटा कल्भर्ट पुल निर्माण अन्तिम चरणमा पुुगेको छ भने बजार क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण भइरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनका इन्जिनियर रोकश झाले बताउनुभयो ।    अहिले यो सडकखण्डमा ६५ जना चिनियाँ र २६५ जना नेपाली प्राविधिकले काम गरिरहेको आयोजनाले जनाएको छ । आयोजनाको सरकारी पक्षको काम हेर्ने सडक डिभिजनल कार्यालय बुटवलले आयोजनाको काम र त्यसको निरूपण गर्ने निकाय ठेकेदार र मन्त्रालय भएकाले सडक डिभिजनले निरीक्षण गरी समयमा सडक निर्माणको काम अगाडि बढेको जनाएको छ ।    

भक्तपुर :भक्तपुरको सुर्यबिनायक नगरपालिका -९ पलासेमा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।    बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको लु ८८ प ६२०८ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट जाँदै गरेको प्रदेश २–००१च ०४११ नम्बरको गाडीले  ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बनेपाका  १९ वर्षीय आयुष न्यौपानेको मृत्यु भएको हो ।   दुर्घटनामा घाइते भएका न्यौपानेलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेको थियो। त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।   बस र बस चालक वृत्त जगातीको नियन्त्रणमा रहेको प्रहरीले जनाइएको छ ।