जाजरकोट: ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । वि.सं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म सकिएको छैन । सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन प्रमुख आशुतोष कर्णले बताउनुभयो । मौखिक तथा लिखित पटक–पटक ताकेता गर्दा पनि जेभीले सम्झौता अनुसारको काम नगर्दा आफूहरू हैरान भएर अन्तिम पटक पत्र लेखेको प्रमुख कर्णको भनाइ छ । तोकिएको समयमा स्पष्टीकरण पेस नभएमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ । यस अवधिमा केही काम भए पनि मजदुरले ज्यालासमेत नपाएको नलगाड नगरपालिका –१० का सुरेन्द्र थापाले बताउनुभयो । रुकुम पश्चिम आठबीसकोट नगरपालिका– ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गर्नुभयो । गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाख नपाएको बताएका छन् । स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले रु ६ लाख रकम नपाएको बताउनुभयो । मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंको नामबाट आफूले काम गर्ने भन्दै छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्का बैङ्क ग्यारेन्टी समेत राखी काम सुरु गरेका थिए । तर सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की रकम कार्यालयले फिर्ता लिएपछि काम नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए । कूल रु नौ करोडमा उक्त पुल निर्माण गर्ने सम्झौता भएको थियो ।
पोखरा: ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार रेम विक र राजाराम पौडेल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट बर्षेनी एकजनालाई प्रदान गर्ने गरि यो पुरस्कार स्थापना गरेको हो । लामो समय चलचित्र पत्रकारितामा बिताएका रेम र राजाारामलाई क्रमशः जित प्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०७८ र ०७९ प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ । रेम चलचित्र पत्रकार संघ कास्कीको पूर्व अध्यक्ष हुन् भने राजाराम संघका सल्लाहकार हुन् । आगामी माघ २८ गते संघको पाँचौ अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । संघका अनुसार यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । ‘हामीले यो पुरस्कारलाई ऐतिहासिक मानेका छौँ । पहिलोपटक हामीले हाम्रै संस्थाका संस्थापक अध्यक्षलाई पुरस्कृत गरेका थियौं । दोस्रो र तेस्रो पुरस्कार संघका पूर्व अध्यक्ष र सल्लाहकारलाई सम्मान गर्न पाउँदा खुशी लागेको छ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्कीका कार्यबाहक अध्यक्ष सन्तोष सुवेदीले भने–‘र, यो पुरस्कार स्थापना गर्न हामीलाई सहयोग गर्ने पोखराको पुरानो फिल्म व्यवसायी घराना जितप्रसाद द्वाको परिवारलाई पनि विशेष धन्यबाद दिन चाहन्छौँ ।’ सुवेदीले यो पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वाले नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाईरहेका पत्रकारहरुलाई थप हौसला प्रदान गर्न स्थापना भएको बताए । संघले प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीको सँयोजकत्वमा संघकै संस्थापक अध्यक्ष श्रीराम सिग्देल र गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका अध्यक्ष गुञ्ज गुरुङ सदस्य रहेको समिति गठन गरेको थियो । सोही छनौट समितिले सिफारिश गरेअनुसार रेम र राजारामलाई पुरस्कार प्रदान गर्ने गरि संघको माघ १९ गते बसेको कार्यसमिति बैठकले निर्णय गरेको थियो । जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व कार्यसमितिले २०७७ सालदेखि प्रदान गर्न सुरु गरेको थियो । पहिलो पुरस्कार संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गरिएको थियो । गिरीले २०७९ मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएपछि संस्थाबाट राजीनामा दिएका थिए । २०६५ सालबाट बिग एफएमबाट पत्रकारिता शुरु गरेका रेम र २०६० सालबाट हिमचुली एफएमबाट पत्रकारिता शुरु गरेका राजाराम हालसम्म पनि चलचित्र पत्रकारितामा क्रियाशिल छन् ।हाल रेम मेनसमाचार डटकम र राजाराम रेडियो अन्नपूर्णमा आबद्ध छन् । पुरस्कारदाता द्वा परिवारले चलचित्रको उत्थानका लागि निरन्तर कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्न आफ्नो परिवारको नाममा पुरस्कार स्थापना गर्न पाउँदा निकै खुशी लागेको बताएको छ । ‘हामी तेस्रो पुस्तासम्म यही चलचित्र व्यवसायमै छौँ । र, चलचित्रकर्मीलाई पत्रकारिताको माध्यमबाट सदैव सहयोग गर्ने पत्रकारहरुलाई हौसला प्रदान गर्ने गरि पुरस्कार प्रदान गर्ने चलचित्र पत्रकार संघको अभियानसँग जोडिन पाउँदा हामीलाई खुशी लागेको छ ।’ पुरस्कारदाता द्वा परिवारका सदस्य तथा मिडटाउन सिनेमाज्का संचालक उत्तम द्वाले भने–‘चलचित्र पत्रकारहरुसँगको यो सहकार्य हाम्रो परिवारले सँधै गरिरहनेछ ।’ पुरस्कारदाता जितप्रसाद द्वा पोखराका पुराना चलचित्रकर्मी हुन् । द्वाले २०३६ सालमा बुटवलमा कालिका चलचित्र मन्दिर संचालन गरि चलचित्र व्यवसायमा हात हालेका थिए । हाल उनको नाती पुस्ताले यो व्यवसायलाई विस्तार गरिरहेको छ । पोखराको पुरानो चलचित्र घर ‘बिन्दबासिनी हल’सँगै उनकै नेतृत्वमा वाराही ‘क’, ‘ख’, श्रीकृष्ण र मिडटाउन सिनेमाज् हाल संचालनमा छन् । त्यो बाहेक नेपालकै अग्रणी चलचित्र वितरण कम्पनी ‘एफडी’ पनि द्वा परिवारले नै संचालन गरेको कम्पनी हो ।
जनकपुरधाम : सर्लाहीको चन्द्रनगर गाउँपालिकाले 'बालिका सम्मेलन २०७९' गर्ने भएको छ। चन्द्रनगर गाउँपालिकाले ऐतिहासिक तथा पर्यटकीय नाढीमन ताल परिसरमा सम्मेलन हुने भएको हो। नाढीमन ताललाई प्रदेश र देशव्यापी रूपमा चिनाउने तथा बालविवाह अन्त्यका लागि गाउँपालिकामा सन् २०३० सम्ममा बाल विवाहको अन्त्य विषय केन्द्रित राष्ट्रिय स्तरको सम्मेलन आयोजना हुन लागेको हो। २०७९ फाल्गुन २० गते शनिबार आयोजना हुने बालिका सम्मलन चन्द्रनगर गाउँपालिकाको पहल र आयोजनामा सञ्चालित हुने अध्यक्ष राजकुमार महतोले जानकारी दिए। अन्नपूर्णसँग कुरा गर्दै महतोले भने, ‘यस राष्ट्रिय स्तरको बालिका सम्मेलनमा सहभागी हुन र सहकार्य गर्न इच्छुक संस्था र व्यक्तिलाई गाउँपालिकामा सम्पर्क गर्नुहुन सादर आग्रह गर्दछौं।’ सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए। उनले भने, ‘देशभरिका बालिका बोलाउन लागेका हौं। देशभरका बालिका बोलाऔं, अभियानमा अन्य संघ संस्थासँग समेत सहकार्यको पहल भइरहेको छ।’ उनका अनुसार सम्मेलनमा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको बहुक्षेत्रीय सरोकारवालाहरूको सहभागिता र चारवटै तहका बालविवाह, दाइजो र शिक्षासम्बन्धी सवालहरू केन्द्रित प्राविधिक संवाद सञ्चालन हुनेछ।
काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेका छन् सोमबार बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पमा परी करिब २३० जनाले ज्यान गुमाएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं: नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’ शेखर-गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर-पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।
काठमाडौं: प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभयो । महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासमेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुख, इन्टरपोलका प्रतिनिधि तथा सरोकारवाला निकायबीच आर्थिक, साइबर, मानव बेचबिखन र आतङ्कवाद जस्ता अन्तरदेशीय अपराधको नियन्त्रणलगायतका विषयमा छलफल हुने कार्यक्रम छ । महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
पोखरा: पछिल्लो समय ऋण र समयमै किस्ता बुझाउन बैंकले तारन्तार फोन गर्दै दबाब दिएपछि पोखरा उद्योग वाणिज्य संघले मातहतका व्यवसायीलाई मनोचिकित्सकमार्फत सल्लाह, सुझाव दिएको छ । संघको ६९ औं वार्षिकोत्सवको सन्दर्भमा मनोचिकित्सक, कानूनी सल्लाहकार र प्रहरीमार्फत सल्लाह, सुझाव दिइएको हो । उक्त कार्यक्रममा गण्डकी मेडिकल कलेजका वरिष्ठ मनोचिकित्सक रविराज तिम्सिनाले आफूलाई केन्द्रमा राखेर सोच्ने हो भने तनाव व्यवस्थापन गर्न सकिने सुझाए । उनले आत्महत्या तत्कालको प्रतिक्रियाजस्तो देखिए पनि त्यो निर्णयको पछाडि लामो प्रक्रिया हुने तर्क पनि गरे । तनावको बेला परिवारसँग छलफल गर्ने, भविष्यको बारेमा सोच्ने बानीको विकास गराउनुपर्नेमा उनले जोड दिए । व्यवसायीमात्र नभएर सबै व्यक्तिमा ‘मेरो लागि मैले न्यूनतम गर्नुपर्ने के’ भन्ने बुझ्न जरुरी रहेको उनको भनाइ थियो । ‘अब सबैले म भन्ने सोचौँ र आफूलाई केन्द्रमा राखेर कुरा गरौँ’,उनले भने,‘ चार जनामध्ये एकजनामा मानसिक समस्या छ भन्ने तथ्यले देखाएको छ, त्यसको उपचार सम्भव छ । निद्रा मार्नुभएन, निद्राको लागि समय निकाल्नुप¥यो । समस्या सबैलाई थाहा छ तर हामीले आफ्नै लागि समय निकालेका छैनौँ,समस्या त्यहीँ छ ।’ उनले पीडा सहन पर्दैन,व्यवस्थापन गरेपुग्छ भन्नेमात्र बुझे समस्याबाट मुक्ति पाइने बताए । उनले तनाव परिवारलाई सुनाउन राम्रो कि नराम्रो भन्ने प्रश्नमा भने,‘ सबैभन्दा नजिकको साथी भनेको परिवार नै हो । कार्यक्रममा अर्का वक्ता थिए वरिष्ठ अधिवक्ता दामोदर अधिकारी । उनीसँग सोथियो,‘बैंकले ताकेता गर्दैमा डराइहाल्नुपर्छ ?’ उनले भने,‘पर्दैन, चेक बाउन्सको कुरा नै गर्दा नै प्रहरीमा उजुरी पर्दैमा ताकेता गरिहाल्नुपर्ने अवस्था आउँदैन । कानूनले दुईवटा विकल्प दिएको छ । एउटा बाटो अदालतको हुन्छ, अर्को बाटो प्रहरीको हुन्छ । मान्नुहोस् कुनै व्यवसायीमाथि चेक बाउन्सको उजुरी प¥यो भने, उहाँहरुले कानूनी बाटो समात्न सकिन्छ । उजुरी लिएर अदालततर्फ जान सकिन्छ ।’ अदालतले नै सवै मुद्दाको निरुपण गर्ने हो नि । त्यस्तोमा व्यवसायीलाई केही सहज हुन्छ ।’ उनले कालोसूचीमा राख्ने भनेको एउटा प्रक्रिया भएको र त्यसबाट व्यवसायीहरु हतोत्साही भइहाल्नु नपर्ने बताए । ‘त्यसको पनि कानूनी प्रक्रिया हुन्छ, कानूनी उपचार खोज्न सकिन्छ’,उनले भने,‘ नेपालको संविधान २०७२ ले व्यापार व्यवसायको अधिकार प्रदान गरेको छ । व्यवसाय गर्दा बाधा व्यवधान आउँछ । कानूनी उपचार खोजेर कालोसूची वा लिलामी प्रक्रियालाई पछाडि धकेल्ल सकिन्छ र त्यतिबेलासम्म व्यवसाय सुधार्ने अवसर पनि आउँछ’, उनले भने । कालोसूचीमा परेका वा धितो लिलामीमा जाने अवस्थामा कानूनी उपचार खोज्नेलाई निशुल्क कानूनी सेवा प्रदानको अवसर भएको पनि उनले बताए । त्यस्तो अवस्थामा परिवारको सदस्यले कानूनी उपचार खोज्नुपर्ने उनको सुझाव थियो । लिलामी प्रक्रियालाई पनि पछि धकेल्न सकिन्छ । दुःख बाँडे घट्छ र सुख बाँडे बढ्छ, समस्या भएको अवस्थामा अरुलाई भन्दा हल निस्कन सक्छ ।’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै समस्यामा परेका व्यवसायीहरुलाई परामर्श दिन कार्यक्रम आयोजना गरिएको बताए । संघका सूचना अधिकृत वाशुदेव मिश्रले गरेका थिए । संघको ६९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमका सहभागीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादति र त्यसले व्यवसायीहरुमाथि पारेका प्रभावबारे विभिन्न जिज्ञासा राखेका थिए ।
काठमाडौं: सुन्दर यातायात प्रा.लिले आजदेखि लागू हुने गरी विद्युतीय बस सञ्चालन बन्द गरेको छ। यातायाले आफ्ना विद्युतीय मेसिन/स्टेसन र विद्युतीय बस सञ्चालन बन्द गरेको हाे। नेपाल सरकार विद्युत नियमन आयोग र विद्युत प्राधिकरणले पटक-पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त डिमान्ड शुल्क नहटाएको भन्दै सुन्दर यातायाले आजदेखि आफ्नो सेवा बन्द गर्ने चेतवनीसहित आइतबार विज्ञप्ति जारी गरेको थियो। कम्पनीका अनुसार गत वर्ष नै डिमान्ड शुल्क हटाउने निर्णय भएको थियो तर अझै पनि विद्युत प्राधिकरणले अतिरिक्त डिमान्ड शुल्क लिँदैछ। विज्ञप्तिमार्फत सुन्दर यातायातले विद्युत खपत बढाउँ भन्दै सरकारले नाटकीय रूपमा आह्वान गर्ने र आफ्नो निर्णय आफैं कार्यान्वयन नगरी जनताद्वारा सञ्चालित विद्युतीय सवारी साधनमा रोक लगाउन चाहेको आरोप लगाएको छ। कम्पनीले सरकारको उक्त योजनाका कारण कम्पनीले आफ्नो सेवा बन्द गर्न बाध्य रहेको विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा लेखिएको छ, 'सरकारको असहयोगका कारणले यो निर्णय लिन बाध्य हुनुपरेकोमा कम्पनी दुःख व्यक्त गर्दछ।'
नेपालगञ्ज: थारु भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे घोषणापत्र जारी गर्दै सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेमा सम्पन्न भएको छ । थारु लेखक सङ्घ र थारु गोचाली समाज फत्तेपुरले आयोजना गरेको सम्मेलनको समापन गर्दै थारु लेखक सङ्घका अध्यक्ष डा. कृष्णराज सर्वाहारीले यो सम्मेलनले थारु साहित्यको विकास र जगेर्नाका लागि महत्त्वपूर्ण काम गरेको बताउनुभयो । दाङ, देउखुरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा थारु साहित्यकारको अवस्था हेरेर लुम्बिनी प्रदेशमा प्रज्ञा प्रतिष्ठान बन्नु पर्ने आवश्यकता औँल्याउँदै उहाँले केन्द्रको प्रज्ञा प्रतिष्ठानमा पनि थारु सदस्यलाई प्राज्ञ बनाउनुपर्ने माग गर्नुभयो । थारु समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा इतिहासबारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारु लेखक सङ्घले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको छ । ७ औँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो । राप्ती सोनारीको विकासकालागि प्राथमिकताहरू, आदिवासी भाषा दशक र बाँकेको मातृभाषा, विकासमा वरघर, होमस्टेमा थारु समुदाय, आख्यानमा थारु, बाँकेमा थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा र सिकलसेल एनिमियाको कहर: जनस्वास्थ्यमा प्रतिकुल असरबारे विषयगत सम्बन्धित ब्यक्तित्वहरुलाई प्यानलिस्ट बनाएर घनिभूत छलफल गरिएको थियो । बहसमा पत्रकार विमला चौधरी, लेखक तथा थारु कला संस्कृति खोजअनुसन्धान कर्ता शेखर दहित, सञ्चारकर्मी तथा वरघर अभियन्ता एकराज चौधरी, सञ्चार कर्मी तथा साहित्यकार नवीन अभिलाषी, साहित्यकार सागर गैह्रे, लेखिका वालिका चौधरी, सिकलसेल एनिमिया रोकथामका अभियन्ता प्रभुराम चौधरी, युवा साहित्यकार भूमिका थारुलगायतले सहजकर्ताको भूमिका निभाउनुभएको थियो । कोरोना कहरले यस वर्ष थारु भाषाका नयाँ पुस्तक धेरै प्रकाशित नभए पनि लक्ष्मी रानाले लेख्नुभएको सोरठ र गणेश वर्तमानले लेख्नुभएको ट्वाना उपन्यास र थारु क्यालेण्डर विमोचन गरिएको थियो । सम्मेलनमा पूर्व सुनसरी, मोरङदेखि सुदूरपश्चिमको कञ्चनपुरलगायतका जिल्लाबाट झण्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूको सहभागिता थियो ।

