पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

तनहुँः   तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पामा रहेको कुमालटारी बाख्रा फार्ममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय चेतप्रसाद तिवारी, कुलप्रसाद तिवारी र विष्णु अम्गाईले सञ्चालन गरेको फार्ममा हिजो बिहीवार दिउँसो आगलागी भएको हो । आधुनिक बाख्राको खोर निर्माणका क्रममा विद्युत् सर्ट भएर आगलागी हुँदा फार्मको ८० प्रतिशतभन्दा बढी भाग जलेर नष्ट भएको छ ।  वडा अध्यक्ष ध्रुव लामिछानेका अनुसार फार्ममा करिब १ सय २० वटा बाख्रा र २ सय वटा कुखुरा पालिएको थियो । खोरमा रहेका बाख्रालाई बाहिर निकालिएको तर केही कुखुरा मरेका उहाँले जानकारी दिनुभयो ।  करिब दुई करोड रुपैयाँ लगानी रहेको फार्मलाई आधुनिक बनाउने क्रममा परालमा अचानक आगो सल्किँदा आगलागी भएको कुलप्रसाद तिवारीले बताउनु भयो । ट्याङ्कर, बन्दिपुर गाउँपालिका र व्यास नगरपालिकाको दमकल, स्थानीय, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा करिब चार घण्टा पछि आगो निभाइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

काठमाडौं:   सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी  तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

पोखरा गुल्जार छ । विभिन्न व्यवसाय चलेकै देखिन्छ । झट्ट हेर्दा सबै ठिकठाकै देखिएपनि पोखराका प्राय: व्यापारीहरु मर्कामा छन् । कारण हो, ‘उधारो ।’   उधारो दिएपनि नहुने, नदिएपनि नहुने असमञ्जस्यतामा कतिपय व्यापारीहरु बिस्तारै व्यवसाय त्याग्ने संघारमा पुगेका छन् । सुन्दा अचम्म लाग्ला, यहाँ आलुदेखि सुनसम्म उधारोमा कारोबार भइरहेको छ ।    ‘भोली हिसाब मिलाउँछु’ भनेर सामान लैजानेहरु कसैले वर्षाैपछि भुक्तान गर्छन् भने कतिपयको अनुहार त्यसपछि देख्न छाडेको तीतो अनुभव सुनाउछन् स्थानीय व्यापारीहरु ।    एउटै व्यापारीको ७ करोड !   पोखरामा लामो समयदेखि हार्डवेयर र मेशिनरीको व्यवसायमा संलग्न एक व्यापारीको भोगाई साह्रै नमिठो छ । भन्छन्, ‘मलाई पोखराको बजारमा टाइकुन भन्छन् तर मैले उठाउने उधारोको बहिखाता हेर्दा म स्वयं झस्कन्छु ।’   अब बहिखाता हेर्ने र पैसा उठोस् भन्ने कामना गर्नु बाहेकको विकल्प नरहेको उनले सुनाए । ‘लगभग ७ करोड रुपैयाँ उठाउन बाँकी छ’ उनी भन्छन् ‘तर उठाउने कसरी भन्ने आइडिया छैन ।’     कोभिडपछि मान्छेसँग भेटघाटै हुन छाडेको सुनाउँदै उनले भने, ‘फोन गर्दा रिसिभ नहुनु सामान्य हो, फोन रिसिभ भएपनि उल्टै धम्की सुन्नुपर्छ ।’ फोनमा ‘म खाएर भाग्ने मान्छे हैन’, ‘पैसा भएपछि तिरिहाल्छु, मलाई फोन गरिराख्ने हैन’ जस्ता कुरा सुन्नुपरेको उनको भोगाइ छ ।    बजारबाट उधारो उठाउन नसकेपछि केही अघि पोखराको हार्डवयर एशोसियशनले सूचना नै निकालेर भुक्तान गरिदिन अपील गरिसकेको छ ।    ‘फोन गर्दा उल्टै धम्की दिन्छन्’ पोखराको न्यूरोडस्थित एक हार्डवेयरका सञ्चालक भन्छन् ‘रिजर्भमा पैसा हुने बाहेक अन्य व्यापारीलाई व्यवसाय धान्न कठिन छ ।’ त्यसो त एशोसियशनको भनाइलाई मान्ने हो भने सहरबाहिर रहेका बाहेक सबै हार्डवेयरको हालत समान छ ।   त्यस्तै, बजारमा एउटै हार्डवेयरको ७ करोड रुपैयाँ उधारो रहेको भएपनि यो नै ठूलो रकम भने होइन । उनै व्यवसायी भन्छन् ‘मेरो भन्दा दुई गूणा बढी उधारो दिएका पसल पनि छन्, झन् उनीहरुको हालत कस्तो होला ?’   उधारो त छ नै तर यससँगै विचित्रका घटनासमेत घटेका छन् हार्डवेयर व्यवसायीसँग । रिपोर्टिङ्काक्रममा एकजनाले यस्तो पनि सुनाएः ‘नाम चलेकै मान्छे पसलमा आएर ८ लाख मूल्यबराबरको सामान अर्डर गरे । उनले भने अनुसारै सबै सामान गाडीमा लोड गरिदिए । त्यसपछि उनले १० लाखको चेक देखाएर २ लाख माग्दै चेक साटेर आइहाल्छु भने । सामान लोड छ, नदिनै कुरै भएन । त्यसपछि त्यो मान्छे फर्किएन, उल्टै २ लाख नगद स्वाह भयो ।’   उल्टै २ लाख रुपैयाँ गुमाएका उनले हालसम्म फिर्ता पाएका छैनन् ।    बजारमा ‘गिनेचुने’का व्यापारीहरुसँग कुरा गर्दा १ देखि डेढ करोड रुपैयाँसम्म उधारो उठाउन बाँकी रहेको पाइएको छ । जसमध्ये अधिकांशसँग उधारो रकम उठ्ने वा नउठ्ने निश्चित छैन । उनीहरु भन्छन् ‘सास हुञ्जेल आस ।’   भातदेखि ओच्छ्यान पनि उधारो   लेकसाइडमा बाहिरबाट हेर्दा जति चमक–धमक देखिन्छ, वास्तविकता भने ठिक विपरित छ । यहाँका नाम चलेका होटलहरुसँग रिजर्भेसनका पाना जति बाक्लो छ त्यसको आकारभन्दा मोटो छ उधारोको ठेली ।    ‘९० प्रतिशत क्रेडिट छ, अब आफै बुझ्नुहोस्’ सुरुवातमै खुलस्त पारे एक व्यवसायीले ।’   ‘किन यति धेरै उधारो दिनुहुन्छ ?’ उनको जवाफ छ ‘उधारो नदिए मान्छे आउँदैनन्, दिए उठाउन सकिँदैन ।’     सामान्यतयः लेकसाइडको होटलमा काठमाण्डौंबाट रिजर्भेशनमा पठाएका पर्यटक हुन्छन् । उनीहरुलाई ब्रेकफास्टदेखि डिनरमात्र हैन साइटसिइङ्देखि पदयात्राको समेत जोहो गर्नुपर्ने हुन्छ ।    पर्यटकले काठमाण्डौैमा सबै रकम तिरेका हुन्छन् । तर त्यसको भुक्तानी ढिलो हुन्छ वा भनौं गर्दैनन् । भुक्तानी गर्न ताकेता गरेपछि उक्त एजेन्सीले पर्यटक पठाउन छाडिदिन्छ । यहि कारण उधारो उठ्नु÷नउठ्नु ‘भगवान भरोसा’ हुन्छ ।   अर्का व्यवसायीको अनुभवले भन्छ, ‘जब होटलमा पाहुना आउने फोन आउँछ अनि हामी रिन खोज्न हिँड्छौं ।’   पैसा खोजेर बसपार्क वा विमानस्थलदेखि ट्याक्सीमा होटल ल्याउन र थप सेवा दिन रिनै खोज्ने अवस्था आउनु नियमितजस्तै भएको उनी सुनाउँछन् । ‘ट्राभल एजेन्ट्स मोटाउने हो, करौडौं रिन बोकेर हामी उनीहरुको कारिन्दा भएका छौं ।’   अधिकांश पर्यटन व्यवसायीले आफै होटल खोज्दै आउने र नगद बुझाउने (एफआइटी) पर्यटकबाट मात्रै पैसा देख्न पाइने बताए । काठमाण्डौंबाट बुकिङ् गर्ने पर्यटकमात्र हैन पोखराकै विभिन्न संघ–संस्थाले तिर्नुपर्ने रकम पनि ‘उधारो’को खातामा बाक्लो भएर बसेको छ ।    पैसा माग्यो भने उल्टै त्यही कार्यक्रम पनि रोकिने त्रास व्यवसायीसँग छ । मागेन भने दिन बिर्सने त परम्परा नै भइहाल्यो । अझ, आयोजकले पैसा पछि दिने शर्त राखेपनि भ्याट बिल भने पहिल्यै माग्ने गरेका छन् ।    यसरी भुक्तानबिनै बिल दिँदा हिसाबकिताबमा आय देखिन्छ तर खल्ती भने रित्तो । ‘भ्याट बिल बनाएपछि रेकर्डमा सेल देखिन्छ, पछि अडिटअनुसार कर तिर्छौ, तर हाम्रो हात र गोजी रित्तै हुन्छ’ एक भुक्तभोगीले सुनाए । जसकारण व्यवसायीहरु दोहोरो मर्कामा परेको सुनाउछन् ।      उनीहरुकै भोगाइ र तथ्यलाई मान्ने हो भने लेकसाइडका नाम चलेका व्यवसायीमध्ये प्रति होटलसँग अनुमानित २५ लाख रुपैयाँका दरले उधारो उठाउन छ ।    आफ्नै होटलको बारमा भेटिएका व्यवसायीले ठट्टामिश्रित लवजमा भने ‘बारमा इन्ज्वय गर्‍यो भन्लान्, पीडामा पिएको हो ।’   सबै–सबै उधारो   बजारमा उधारोको अचानोमा परेका व्यापारीहरु ‘असिमित’ छन् । दाल, चामलदेखि रायोको साग र किताब–कापीदेखि कम्प्युटरसम्म उधारोमा चलिरहेको छ बजार ।    ‘साग पनि उधारो लान्छन् र ?’ लेकसाइड नजकि सञ्चालित डिपार्टमेन्ट स्टोरका साझेदार भन्छन् ‘मलाइ यस्तो थाहा थिएन, स्टोर खोलेपछि थाहा भयो, सबै उधारोमा चल्नुपर्ने रहेछ ।’ कसले लान्छ ? भनेर सोध्दा उनले नाम किटान गर्न चाहेनन् । नाम खोल्दा स्टोर बन्द हुने त्रास उनमा छ ।      लेजर खातादेखि कम्प्युटरसम्म बेच्ने व्यापारीको पीडा पनि समान रहेको भेटिएको छ । ‘व्यक्तिदेखि निकायसम्म मेरा ग्राहक हुन्, सबैसँग उधारो उठाउन बाँकी छ’ एक व्यवसायीले भने । तर अन्य व्यवसायीजस्तो उठाउनै नसकिने उधारो भने नरहेको उनी बताउँछन् ।    ‘अलि ढिलो हुन्छ तर उठ्छ’ उनले भने ‘ताकेता गरे भने मलाई नै घाटा छ ।’ उनका अनुसार वार्षिकरुपमा हुने कारोबारमा पैसा उठाउन लागिपरे अर्काे वर्ष त्यहाँबाट व्यापार नपाइने डर उनको मनमा छ । बजारमा चर्काे प्रतिष्पर्धा हुँदा उल्लेख्य मुनाफा नहुने र पैसा ढिलो आउने कारण व्यापार नाफामूलक नभई सन्तोषजनक भएको उनको धारणा छ ।    सुन पनि उधारो !   ‘अत्यावश्यक’ वस्तु वा सामग्रीको कारोबारमा उधारो हुने स्वभाविक भएपनि पोखरामा ग्राहकलाई सुनसमेत उधारोमा बेचिने गरिएको छ ।    पोखराको बजार क्षेत्रमा सञ्चालित सुन पसलेहरुको भनाइ अनुसार २–४ लाइ छाडेर सबैले उधारोमा पनि सुन बेचिरहेका/दिइरहेका छन् । जसमध्ये धेरै ठगिइरहेका छन् ।    मुख्य बजारमा ज्वेलरी सप चलाइरहेका एक युवा व्यवसायीका अनुसार ५० लाख रुपैयाँ हाराहारीमा उधारो उठाउने पसलेको संख्या अधिक छ । ‘मेरै ४० लाख रुपैयाँ उठाउन छ’ उनले सुनाए ।   ‘चाडवाडमा, बिहेको सिजनमा आफन्त र चिनजानको साथीहरु गाह्रो पर्‍यो भन्दै आउछन्’ उनले भने ‘दिनै प¥यो, त्यसपछि हिसाबकिताब जीरो ।’ त्यस्तै, विश्वासमा चेक लिँदा पछि रकम नपाइएको गुनासो पनि अधिक व्यापारीसँग छ ।    कतिपयले सुन किनबेच गर्दा उपभोक्ता ठगिने गरेको सुनाउँदै आएका छन् । तर खोजकाक्रममा सुन व्यापारी पनि नमज्जाले ठगिएको घटना भेटिएको छ ।    एक व्यापारी भन्छन् – ‘चिनेको साथीले केही दिनमा पैसा दिन्छु भनेपछि ४ तोला सुनको गहना दिए, लगेपछि बेचेर काम चलाएछ । अहिले सम्पर्कमा छैन ।’ हालसम्म उनले त्यसको पैसा पाएका रहेनछन् । ‘त्यतिबेला सुनको बजार भाउँ ६० हजार रुपैयाँ थियो, अब माया मार्ने त होला’ उनले दुखेसो सुनाए ।      कतिपयले उधारोमा सुन लगेर बैंकमा राखेर पैसा लिने र पछि तिर्ने गरेको पाइयो । केहीले भने बेचेर काम चलाउने र नतिर्ने वा तिर्दै गर्ने उदाहरण बग्रेल्ती भेटिए ।    ‘बजारमा नगद छैन, साथीहरु लौन आफन्तको बिहे छ भन्दै आउँछन्, अर्काे पसलमा गएर बेचिहाल्छन्’ उनी भन्छन् ‘यस्तो त सबैले भोगेका छन् ।’ एकपटक चिनजानकै व्यक्तिले उधारोमा सुन मागेपछि उनी तुरुन्तै सहकारीमा पुगेको सूचना पाएको समेत उनले सुनाए ।    अर्का व्यवसायीले अझ रोचक तर डरलाग्दो घटना सुनाए, ‘मेरै आडको फेन्सी पसलको दिदिले विदेशमा पठाउन प¥यो भनेर १० तोला सुनको गहना मागिन् । अहिले ३ लाख रुपैयाँ दिने र बाँकी एक महिनापछि तिर्ने भनिन् । कसरी विश्वास नगर्नु । गहना प्याकिङ् गरेपछि त्यही ३ लाख पनि १ घण्टामा दिन्छु भनेर ट्याक्सी चढिन् । विदेशमा पठाउने गहना भनेपनि उनले डिजाइन नदेखाइ मोटो हार र मंगलसुत्रलगायत लिएकी थिइन् । विदेशबाट अर्डर गर्नेले डिजाइन देखाउनु पर्ने, उधारो माग्न नपर्ने सोचेर मैले तुरुन्तै ट्याक्सीलाई पच्छ्याए । उनी पृथ्वीचोक झरेर नजिकैको सुन पसलमा छिरिन् । झन् शंका लाग्यो । त्यहाँ उनले मेरै पसलको सुन निकालेर बेच्न खोजेकी रहिछन्, त्यहीबाट मेरो सामान लिएर आए ।’   उनका अनुसार महिना दिनमै उनी पसल बेचेर हिँडिन् । सुन पसलमा उधारो लिनेहरु आफन्त नै बढी भएको र रकम उठाउन गाह्रो भएको उनको अनुभव छ । केहीले भने सस्तो हुँदा सुन उधारो लिएर महंगो भएको बेला पुरानो रिन तिर्न आउने गरेका छन् ।    किन हुन्छ उधारो कारोबार ?   पोखरामा उधारो नदिइ व्यापार गर्ने नसकिने बुझाइ छ व्यापारीहरुको । पोखरा उद्योग वाणिज्य संघमा जिम्मेवार भूमिका निर्वाह गरेका पूर्वपदाधिकारीका अनुसार यहाँको बजार उधारो बजार हो । उधारो नदिए व्यापार सुरुवात नै गर्न नसकिने उनी बताउँछन् ।    ‘सबै क्रेडिटमा चल्छ’ उनी भन्छन् ‘क्रेडिटमा दिँदा मूल्य केही बढी राखिन्छ, जुन अनिवार्य हो ।’ यही क्रेडिट र मार्जिनले उधारो उठाउन समस्या हुने गरेको छ । पोखरामा रहेका पसलहरुले सिँधै फ्याक्ट्री वा भारतदेखि उधारोमै सामान ल्याउने गरेका छन् । यहाँ बेचेर उता बुझाउनु पर्ने हुन्छ ।    यही मेसोमा कोरोनाले बजार धर्मराएपछि उधारो उठ्ने प्रक्रिया सूस्त भयो । सूस्तमात्रै हैन केही व्यपारिक संस्थाबाट उठनै छाड्यो । जसकारण लेनदेनको चक्र खल्बलियो । उनले भने ‘अहिले पर्यटन व्यवसायीलाई उधारो दिने काम बन्द छ नी ।’     अर्थबजारको विश्लेषण गर्दै उनै पदाधिकारी भन्छन्, ‘नेपाली बजार क्रयास भइसक्यो, सरकारले पनि बाहिर भन्न नसकेर हो, आन्तरिकरुपमा बजार ध्वस्त छ ।’   केही अघि सरकारले बाह्य मुलुकबाट सामान झिकाउन एलसी खोल्नुपर्ने नियम बनाएपछि धेरै व्यवसायीहरु सडकमा आइसकेका छन् । बजारबाट उधारो नउठ्ने र एलसी खोल्न भुक्तानी गर्नुपर्ने भएपछि बजार र अर्थतन्त्र धर्मराएको छ ।    पहिले उद्योगबाट व्यापारीलाई बिना भुक्तानी सामान दिइन्थ्यो । तर अहिले साठी प्रतिशतसम्म पैसा बुझाउनुपर्ने अनिवार्यजस्तै भएको छ भने बजारमा उधारो नदिइ व्यापार गर्न असम्भव छ ।      मुलतः मारवाडी समुदायको पैसा र बजार रणनीतिसामु नेपाली व्यापारीहरु कमजोर देखिन्छन् । देश रेमिट्यान्सबाट चल्नु र बजारमा मारवाडी समुदायको नियन्त्रण हुनुले देशको अर्थतन्त्र टाट पल्टिएको बताइन्छ ।      उनै पूर्वपदाधिकारीको विश्लेषण अनुसार सरकारले देशमा भित्रिएको पैसाको हिसाबकिताबमात्र गरिहेको छ । तर मारवाडी र भारतीय व्यापारीहरुले देश बाहिर लगेको पैसाको कुनै जाँच, अनुगमन गरेको छैन । उनीहरुले   निरन्तर बाहिर लगिरहेको पैसाले नेपाली अर्थतन्त्र कमजोर भइरहेको प्रमाण पेश गर्न आफु तयार भएको उनले सुनाए ।    ‘तर सरकारलाई चासो छैन’ उनी भन्छन् ‘१० जना माडेले देशको सबै सम्पत्ति कुम्ल्याइँसके ।’   (नोटः रिपोर्टिङका दौरान भुक्तभोगी व्यवसायीसँग गरिएको कुराकानीपश्चात् उहाँहरुकै आग्रहमा नाम र व्यवसाय  खुलाइएको छैन ।)

पोखरा:    मानवसेवा आश्रमको भवन निर्माणका लागि युनाइटेड क्लबले १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको  छ । कास्कीको हेम्जामा निर्माणाधिन मानवसेवा आश्रम स्थलमा आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञ स्थलमा पुगी भवन निर्माणको सहयोग स्वरुप सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उक्त रकम हस्तान्तरण गरेको हो । भवन निर्माण स्थलमा जारी महायज्ञमा क्लबका अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पुगेको क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले महायज्ञका प्रमुख बाचक भागवत भास्कर कमलनयन गौतमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका हुन । उक्त अवसरमा युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्य बहादुर बानिया, सदस्यहरु जयराम आचार्य, चन्द्रा पराजुली, शिव थापा, कार्यालय सचिव रेजिना खत्री लगाएतको सहभागिता रहेको थियो । स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी युनाइटेड क्लब पोखराले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनको लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहेको क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा सहयोग गरेको युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । युनाइटेड क्लबले सामाजिक काम संगै सामाजिक उत्तरदायित्व बहन गर्ने कामहरु गर्दै आइरहेको र जस अनुरुप कास्कीको हेम्जामा निर्माणाधिन मानव सेवा आश्रमको भवन निर्माणका लागी अन्य संघ संस्थाहरुले जसरीनै आफुहरुले सहयोग गरेको र सवैको साथ र सहयोगलेनै मानव सेवा आश्रमको भवन पूर्ण हुने वताउदै अन्य ब्याक्ति र संघ संस्थाहरुले समेत यस्तो पुण्य काममा सहयोग गर्न समेत आग्रह गरे । मानव सेवा आश्रममा यसअअघिपनि कास्कीको छोरेपाटन शाखामा खाद्यान्न सामाग्री वितरण गरिसकेको क्लबका महासचिव दिनेश सुनारले जानकारी दिए । आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व बहन गर्ने कामलाई निरन्तरता दिइने समेत सुनारले बताए ।

काठमाडौं:    २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–० गोलले पराजित भयो । पहिलो हाफमा दुई गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १/१ गोल गरे । लिग चरणको अन्तिम खेलमा भारतलाई हराउँदै फाइनल पुगेको नेपाल उपविजेता बन्न पुग्यो । बङ्गलादेश भने अपराजित रहँदै विजेता बन्यो । नेपाल लिग चरणको खेलमा पनि बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।  प्रतियोगितामा नेपाल र बङ्गलादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो । सिङ्गल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा बङ्गलादेश र नेपाल शीर्ष दुई टोलीको रूपमा फाइनलमा पुगेका हुन् । यसअघि १८ र १९ वर्षमुनिको फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिको फर्म्याटमा भएको हो ।

काठमाडौं:    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलराज शाह नियुक्त हुनुभएको छ । सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । यसअघि आजै बिहीवार मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ । प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त हुनुभएको हो । अब आज मुख्यमन्त्री नियुक्त हुनुभएका शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् । सरकार गठनका लागि कम्तीमा २७ जना सांसदको समर्थन चाहिन्छ । कांग्रेसलाई सरकार गठनका लागि एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति वा माओवादीको साथ आवश्यक पर्छ । तर त्यहाँ माओवादी या नागरिक उन्मुक्ति पार्टीले गठबन्धन फेरेर सरकार बनेमा केन्द्रमा एमाले नेतृत्वको सत्ता गठबन्धन नै समस्यामा पर्नेछ ।

पोखरा:   पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइलका ७ खेल भएका छन् ।   खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (बिहीबार) भएको पहिलो खेलमा एलजी एसोसियशनले एनएम एफसीलाई १–० गोल अन्तरले पराजित गर्याे । एलजीको जितमा आशिष गुरुङले निर्णायक गोल गरे । यस्तै लालीगुँरास धम्पुष र कमलपोखरीबीच भएको दोस्रो खेलको निर्धारित समय गोलरहित भएपछि ट्राइबेकरमा कमलपोखरीले ४–३ गोलअन्तरले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।   तेस्रो खेलमा सत्य युवा क्लब बाझापाटनले लयर्स गयाङलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । बाझापाटनको जितमा समिप रानाले ह्याट्रिक गरे भने समिर गुरुङले २ र दिपेश गुरुङले १ गोलको योगदान दिए ।   चौथो खेलमा गार्डेन एफसीमाथी मारानथा चर्च​ कस्केरीले २–० गोल अन्तरले जित निकाल्यो । कस्केरीको जितमा नविन तामाङ र सौरभ छन्त्यालले समान १/१ गोल गरे ।   यस्तै पाँचौ खेलमा आयोजक बिटी ब्ल्याकलाई हरिचोक युनाइटेडले १–० गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा स्थान बनायो । हरिचोक युनाइटेडको जितमा अमन साईले निर्णायक गोल गरे ।    छैटौ खेलमा नयाँगाउँ ब्रदर्श युनाइटेडलाई एफ फाइभ मालेपाटनले १–० गोलले हरायो । एफ फाइभको जितमा रविन्द्र गुरुङले गोल गरे ।    आज भएको अन्तिम खेलमा जि नाइन युनाइटेडलाई वी आर ब्रदर्श काठमाडौंले २–० गोल अन्तरले पराजित गर्याे । ब्रदर्शको जितमा सञ्जिव मगरले २ गोलको योगदान दिएका थिए ।   खेल संयोजक गुरुङका अनुसार शुक्रबार प्रिक्वाटरफाइनलको समिकरण पुरा हुनेछन् ।   पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।  

काठमाडौं:    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् ।  प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त भएका हुन् ।  आज बिहीवारको प्रदेश सभामा विश्वासको मतलाई सभामुखले निर्णयार्थ पेस गरेकोमा रावलले बहुमत सांसदको समर्थन नपाएसँगै सरकार ३० दिनमै ढलेको हो । यसअघि गएको पुस २७ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

काठमाडौं:   राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार साँझ ५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले गर्नुभएको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नुहुनेछ । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ । यस्तै, सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो । यस्तै, राष्ट्रपति भण्डारीले शनिबार अपराह्न ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गर्नुभएको छ ।