पोखरा: बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा आज (सोमबार) भएको फाइनल खेलमा लामागाउँ गुम्बा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो । च्याम्पियन बनेको गन्नीको जितमा अनिश तामाङले निर्णायक गोल गरे । पहिलोपटक उपाधि जितेको गन्नी एफसीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्राप्त गर्याे । क्लबका अध्यक्ष असिम थापाका अनुसार उपविजेता बनेको लामागाउँ गुम्बा एफसीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे । सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गन्नी एफसीका अनिश तामाङ घोषित हुँदै ट्रफिसहित नगद रु ८ हजार प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै सन्देश गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा गन्नी एफसीकै लक्षु थापामगर, उत्कृष्ट डिफेण्डरका रुपमा लामागाउँका सरोज तितुङ तामाङ र सर्वाधिक गोलकर्ताका रुपमा सोही क्लबकै अनुज भण्डारीले ट्रफि र जनही ६/६ हजार नगद प्राप्त गरे । सो प्रतियोगिताबाट वी आर ब्रदर्श काठमाडौंको टोलीलाई अनुशासित टिम घोषित हुँदै शिल्डसहित नगद रु ९ हजार प्रदान गरेको खेल संयोजक विनोद गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मगर, क्लबका निवर्तमान अध्यक्ष विजया गुरुङ, सल्लाहकार, राधा गुरुङ, क्लबका अध्यक्ष असिम थापा लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री जुग्जालीमगरले पोखराको परिचय पर्यटन मात्रै नभएर खेलकुदको पनि अहम भूमिका रहेको धारणा राखे । उनले क्लबले रचनात्मक कार्य गर्दै आएको बताउदै आगामी दिनमासमेत निरत्तर काम गर्नुपर्नेमा जोड दिए । उनले आगामी वर्षको नीति तथा कार्यक्रममा पोखरा लगायत ११ वटै जिल्लाको खेल गतिविधिलाई पर्यटनसँग जोड्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खेलकुदलाई पर्यटनसँग जोड्न सकेको खण्डमा प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने धारणा राख्दै आफुले पहल गर्ने उल्लेख गरे । स्थानीय क्लबले खेलकुदको विकासमा योगदान गरेको भन्दै आगामी आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्नेसमेत बताएका थिए ।
काठमाडौं: नेपाल सरकारले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो । यही ६ फेब्रुअरीमा टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने सरकारले निर्णय गरेको थियो । यसअघि ८ फेब्रुअरीमा परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले टर्कीका समकक्षी मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्तामा भूकम्पबाट भएको क्षतिमा टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धताका लागि सक्दो सहयोग गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको थियो । परराष्ट्र मन्त्रालयले राहत सामग्री सहयोगका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्था तथा ढुवानीका लगि टर्कीस एयरलाइन्सलाई धन्यवाद दिएको छ ।
फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । जसलाई विश्वव्यापी मनाइने प्रचलन छ । प्रविधिले विश्वलाई नजिक ल्याइदिएपछि कुनैपनि दिन र दिवस निश्चित घेरमा कैद छैन । यसलाई ‘साझा’ मानिन थालिएको छ । र, यही आयतनमा फैलिइसकेको छ, फेब्रुअरी १४ । क्याथोलिक इन्साइक्लोपेडियाका अनुसार सेन्ट भ्यालेन्टाइन नाम गरेका मात्र तीन क्रिश्चियन पादरी थिए । फरकफरक समयका यी तीनै भ्यालेन्टाइनलाई १४ फेब्रुअरीकै दिन मारिएको थियो । धेरै प्रेमका विद्वानहरु के विश्वास गर्दछन् भने सेन्ट भ्यालेन्टाइनलाई रोमन सम्राट् क्लाउडियस द्वितीयको आदेशविरुद्ध गएको आरोपमा ई.पू. २७० मा मृत्युदण्ड दिइएको हो । तथ्यभन्दा पनि लोकमत भन्छ, क्लाउडियस द्वितीयले महिलासँगको सम्बन्धले आफ्ना सैनिकलाई कमजोर बनाउला भनेर युवाहरुलाई विवाह र प्रेम गर्नबाट वञ्चित गरेका थिए । जुन कुरा क्रिश्चियन धर्मविरुद्ध हुने भएकाले चर्चमा गरिने विवाह कार्यक्रमलाई जारी राख्दै भ्यालेन्टाइनले युवाहरुलाई विवाह र प्रेमका लागि प्रेरित गरे । त्यसैले क्लाउडियसको आदेशमा उनलाई पक्राउ गरी फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेम अनि विवाहका लागि सहादत पाएका कारण उनको सम्झनामा विश्वभर भ्यालेन्टाइन डे मनाउन थालिएको हो । यही मेसोमा प्रेम, ध्यान र दर्शनको थलो मानिने ओशो उपवन पोखराका स्वामी योगानन्दसँग गरिएको भेटमा उनले भने ‘प्रेममा डुब्न, रमाउन फेब्रुअरी १४ नै कुर्नु पर्दैन ।’ स्वामी योगानन्द भन्छन्, ‘ओशोले प्रेम जहिँकहिँ सम्भव हुने बताउनु भएको छ । फेब्रुअरी १४ विम्ब हो, जसरी हरेक दिन सहिद दिवस मनाउन मिल्दैन त्यसरी नै हरेक दिन प्रेमको दिवस हुँदैन, तर प्रेम हुन्छ ।’ पछिल्लो समय प्रेम र भ्यालेन्टाइन डेमा देखिएको विकृतिप्रति भने स्वामीको फरक मत छ । ‘प्रेममा गलत नियत राखियो भने त्यो प्रेमनै होइन’ स्वामी भन्छन् ‘प्रेममा विकृति हुँदैन यदि यस दिनमा कसैले जबर्जस्ती गर्छ भने त्यो प्रेम होइन, स्वार्थ हो ।’ स्वामीका अनुसार कसैले त्यही दिन प्रेम प्रस्ताव राख्छु भन्छ भने के गलत भयो र ! ‘कसैले बोल्न वा भन्न सकेको छैन र त्यही दिन कृर्छ भने त्यसलाई नराम्रो मान्न भएन’ स्वामीले प्रष्ट्याए । कुनैपनि संस्कारले जीवन र समाजमा हानी गर्दैन भने खुलेर मनाउनु पर्ने धारणा राख्दै उनले हरेक पललाई महोत्सवकारुपमा लिनु पर्ने उल्लेख गरे । स्वामीका अनुसार जीवनलाई प्रेमिल, सुन्दर र जीवन्त बनाउनु आवश्यक छ । हरेक व्यक्ति यही चाहन्छ पनि तर सकिरहेका छैनन् । ‘के छन् त टिप्स् ?’ जवाफमा उनले ३ आधारभूत तर मुख्य बुँदा सुझाए । ‘पहिलो टिप्स हो अन्डरस्टान्डिङ्’ स्वामी भन्छन् ‘तपाइमा प्रेमलाई वा भनौं आफ्नो प्रेमीलाई बुझ्न सक्ने क्षमता हुनुपर्छ ।’ जब अरुलाई बुझ्न सकिन्छ तबमात्र प्रेमलाई बुझ्न सकिने उनको भनाई छ । उनी भन्छन् ‘स्वयंलाई बुझेर मात्र प्रेम सम्भव छैन । अर्थात्, दुखाइको महशुस समान हुनुपर्छ । जहाँबाट प्रेम अंकुरण हुन्छ । त्यस्तै, दोस्रो टिप्स छ ‘रेस्पेक्ट ।’ आदराभाव नभए अंकुरित प्रेम हुर्कन सक्दैन भन्दै स्वामीले अनादर वियोगको पहिलो खुड्किलो भएको सुनाए । ‘प्रत्येक मान्छे प्रेममा आदर खोज्छ, सम्मान चाहन्छ’ उनले भने ‘प्रेमलाई जीवन्त बनाउन तपाइले अर्काे मुटु (प्रेम)लाई सम्मान गर्नैपर्छ नत्र तपाइ मान्छे त हो तर प्रेमी होइन ।’ त्यस्तै स्वामीका अनुसार स्वयंमा खुशी हुनसक्नु तेस्रो महत्वपुर्ण टिप्स हो । स्वामी भन्छन् ‘तपाइ अरुबाट खुशी हुन सक्नुहुन्न, कुनैपनि रिलेशन वा प्रेमले कसैलाई पनि खुशी दिन सक्दैन ।’ यसबारे थप व्याख्या गर्दै उनले स्वयंसँग खुशी हुन सक्ने, आफै प्रेमिल हुन सक्नेले मात्रै अरुलाई प्रेम गर्न सक्ने दर्शन सुनाए । ‘जो आफैसँग खुशी हुन सक्दैन उसले अरुलाई प्रेम गर्न कदापि सक्दैन’ दार्शनिक शैलीमा स्वामी भन्छन् ‘यहाँ सबै प्रेमको भिख मागिरहेका छन्, तर तपाइ स्वयं भिखारी हो भने कसरी भिख दिने ?’ ओशो भनाइ राख्दै स्वामीले सबैभन्दा पहिले आफै भरिनुपर्ने उल्लेख गरे । अन्यथा, आफै भिखारी भए अरुलाई दिन सकिँदैन । जसको अर्थ हो आफैसँग खुशी हुनसक्ने दक्षता । ‘तरैपनि किन वियोगका कथाहरु बढी पढिन्छन्, सुनिन्छन् ?’ स्वामीको जवाफ छ ‘अरुबाट खुशी पाउने चाहना, जो मान्छे खुशी खोज्न भौतारिन्छ त्यहाँबाट सुरु हुन्छ वियोगको यात्रा ।’ उनका अनुसार आत्मज्ञानको कमी मानव जीवनको ठूलो समस्या हो । उनले भने ‘उज्यालो र खुशी आफैभित्र हुन्छ तर मान्छे अरुसँग तुलना गर्दै अँध्यारोमा फँस्छ ।’ केही हतारमा रहेका स्वामीले संवादको अन्त्य गर्दै भने, ‘फाइनल्ली, भेरी ह्याप्पी भ्यालेन्टाइन्स डे !’
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्यान्ड र आयोजक नेपालबीच हुने त्रिदेशीय शृङ्खलामा सुखद नतिजा निकाल्नका लागि टोली तयार रहेको बताएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रतियोगिता सुरु हुनुअघि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद नतिजा निकाल्न टोली तयार भएको बताएका हुन् । एक हप्ताअघि मात्र औपचारिकरूपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईसँग आफूले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भए पनि घुलमिल सहजै भएको रोहितको भनाइ छ । घरेलु मैदानमा हुने शृङ्खला निकै महत्त्वपूर्ण रहेको भन्दै घरेलु मैदानको भरपुर सदुपयोग गर्ने उनले बताए । यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले छोटो समयको अभ्यास निकै फलदायी भएको र १० दिनको अवधिमा आफूले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए । प्रशिक्षणको क्रममा आफूले नेपाली खेलाडीमा धेरै क्षमता देखेको र खेलाडीले त्यो क्षमतालाई खेलमा देखाउनेमा आफू विश्वस्त रहेको उनले बताए । देशाईले भोलि मङ्गलवारदेखि आयोजना हुने शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् भने शृङ्खलामा सहभागी हुन स्कटल्यान्ड र नामिबिया पनि नेपाली आइसकेका छन् । खेलअघिको पत्रकार सम्मेलनमा स्कटल्यान्ड टोलीका कप्तान रिची बेरिङटनले पनि लिग–२ तालिकामा आफ्नो टोली बलियो अवस्थामा रहे पनि घरेलु दर्शकको उत्साहजनक साथ पाउने नेपालसँग खेल्न सहज नहुने बताए । यस्तै स्कटल्यान्डका प्रशिक्षक सेन बर्गरले पहिलो पटक नेपाली टोलीसँग नेपालमा प्रतिस्पर्धा गर्न कठिन हुने बताए । आफ्ना खेलाडी विभिन्न महादेशबाट रहेकाले नेपालको वातावरणमा छिट्टै घुलमिल भएर राम्रो क्रिकेट खेल्ने उनको भनाइ छ । नामिबियका प्रशिक्षक मोर्ने मोर्कलले लिगमा आफ्नो टोलीको छ वटा खेल बाँकी रहेको र बाँकी सबै खेल निकै महत्त्वपूर्ण रहेको बताए । उनले आफ्नो टोली शीर्ष चारमा अटाइसकेको र आफ्नो लक्ष्य दोस्रोमा पुग्ने लक्ष्यमा रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने योजना रहेको बताए । शृङ्खलाअन्तर्गत स्कटल्यान्डले विश्व कप लिग–२ मा अन्तिम चार खेल नेपालमा खेल्दैछ । स्कटल्यान्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्व कप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने नामिबिया दोस्रो स्थानमा अटाउने योजनाका साथ खेल्नेछ । शृङ्खलामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित शृङ्खला भोलि मङ्गलवारदेखि फागुन ९ गतेसम्म हुनेछ । शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग भोलि खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्यान्डसँग शुक्रवार खेल्नेछ । नेपालले शनिवार नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्यान्डसँग फागुन ९ गते पुनः खेल्नेछ ।
तनहुँ: नेपाल हृदय रोग प्रतिष्ठान तनहुँको आयोजनामा आइतबार दमौलीमा करिब तीन हजार विद्यार्थीको मुटु परीक्षण गरिएको छ। विज्ञ चिकित्सकहरू विद्यालयमै पुगेर विद्यार्थीको मुटु परीक्षण गरिएको हो। बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले नेपाल हर्ट फाउन्डेसन केन्द्रीय कार्यालयको सहयोगमा मुटु परीक्षण गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताउनुभयो। दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय र बालमन्दिर माध्यमिक विद्यालयमा दुई हजार सात विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो। तीमध्ये १५ जनामा मुटुको बाथरोग, १३ जनामा मुटुको जन्मजात समस्या देखिएको छ। तिनीहरूमध्ये चार जनाको शल्यक्रिया गर्नुपर्ने भएको उहाँले जानकारी दिनुभयो। बालबालिकामा मुटुमा प्वाल पर्ने, मुटुबाट निस्किने नसा सानो हुने, मुटुको भल्ब सुक्ने, मुटुमा पानी जम्मा हुनेजस्ता समस्या देखापर्ने जस्ता समस्या पर्ने बेलैमा उपचार गर्न आवश्यक पर्ने भएको परीक्षण गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बलराम न्यौपाने बताउनुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। प्रकाशराज रेग्मीले नेतृत्वमा १४ जना चिकित्सकको टोलीले मुटु परीक्षण गरिएको थियो। मुटुको स्वास्थ्य स्थिति र आवश्यकता अनुसार १५२ जना विद्यार्थीको ईसीजी परीक्षण पनि गरिएको थियो। दस जना विद्यार्थीको थप परीक्षण र उपचार गर्नुपर्ने देखिएकाले उनीहरूलाई काठमाडौँ लैजान र निःशुल्क उपचार गर्न सिफारिस गरिने प्रतिष्ठानका उप–सभापति चुणामणि दाहालले जानकारी दिनुभयो। वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। प्रकाशराज रेग्मीले चिकित्सहरूको टोलीको नेतृत्व गर्नुभएको थियो। शिविरको नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा।डा। कृष्णप्रसाद गौतमले उद्घाटन गर्नुभएको थियो। सो अवसरमा गौतमले मुटु परीक्षण जस्तो महत्वपूर्ण कार्यक्रम जिल्लाव्यापी रूपमा सञ्चालन गरिनुपर्ने बताउनुभयो।
काठमाडौं: आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विक्रम संवत् २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । एफएम प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ, तर कोरोना महामारीपछि विश्वमा देखिएको आर्थिक सङ्कटको असर रेडियोमा पनि परेको छ । देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । तर, त्यसमध्ये केही आर्थिक सङ्कटका कारण बन्द भएका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेका छन् । अहिले धेरैजसो रेडियो सञ्चालक र रेडियोकर्मीको ध्यान आर्थिक सङ्कटबाट रेडियोलाई कसरी बचाउने भन्नेमा केन्द्रित छ। देशभर ७ सय ५० वटाभन्दा धेरै रेडियो सञ्चालनमा रहेको तथ्याङ्क छ । राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको रेडियोको योगदानलाई सरकारले बेवास्ता गर्ने गरेको गुनासो छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध महान् र युगान्तकारी भएको बताउनुभएको छ । २८ औँ जनयुद्ध दिवसको अवसरमा आज दिनु भएको शुभकामनामा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले २०५२ फागुन १ गतेबाट सुरू गरिएको महान् जनयुद्धको २८ औँ वार्षिकोत्सवको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नु भएको छ, ‘‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु।’’ नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी थियो भन्दै प्रधानमन्त्रीले साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, ‘‘वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ।’’ महान् जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। समावेशी लोकतन्त्र संस्थागत भएको छ। मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको कुरा पनि प्रधानमन्त्रीको सन्देशमा समावेश छ । जनयुद्धकै जगमा सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको उल्लेख गर्दै प्रधानमन्त्रीको शुभकामना सन्देशमा युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ भनिएको छ । जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्। नेकपा (माओवादी) ले नेतृत्व गरेको भएतापनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो। यही यथार्थलाई दृष्टिगत गरी नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक विदा दिने निर्णय गरेको छ। तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु। देशको राजनीति र अर्थतन्त्रले संकटको सामना गरिरहेको परिस्थितिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको भनाइ प्रधानमन्त्रीको छ । प्रधानमन्त्री प्रचण्डले सन्देशमा भन्नु भएको छ, ‘‘वर्तमान सरकार उल्लेखित कार्यभारसहित जनताको व्यवस्था बदल्न र समाजवादको आधार खडा गर्न दृढ संकल्पित छ। तसर्थ सहमति, सहकार्य र एकताका आधारमा राष्ट्रिय चुनौतीहरूलाई अवसरमा बदल्न सम्पूर्ण नेपालीमा सकारात्मक उर्जा र प्रेरणा पैदा होस् भन्ने कामनासहित २८ औँ जनयुद्ध दिवसको अवसरमा फेरि एकपटक समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद।’
पोखरा: संघीयतापछि यातायात व्यवस्था प्रदेश सरकारको कार्यक्षेत्रमा परेको छ । अग्रीम राजस्व जम्मा हुने यातायात क्षेत्र प्रदेशको प्रमुख आम्दानीको स्रोतमा पर्छ । तर यातायात क्षेत्रमा अनेक बेथिति छन् । आइतबार गण्डकी प्रदेशका ड्राइभिङ स्कुल व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री हरिबहादुर चुमानलाई भेटेर समस्या समाधान गर्न आग्रह गरे । पूर्वाधारमा लगानी र सीप सिकाउन योगदान नगरेको सरकारलाई बेला परीक्षा लिने र सवारी चालक अनुमतिपत्र दिने व्यवस्था गर्न उनीहरुले माग गरे । ड्राइभिङ स्कुल संघ नेपालका केन्द्रीय महासचिव उमेश सिके, गण्डकी प्रदेश अध्यक्ष वसन्त भट्टचनसहितका पदाधिकारीले मन्त्री चुमानसँग यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरेका हुन् । मन्त्री चुमानले सवारी लाइसेन्समा केही समस्या रहेको स्वीकार्दै ती समस्या समाधान गर्ने गरी सरकारअघि बढ्ने विश्वास दिलाए । नेपालभर १ हजार ५ सयभन्दा बढी ड्राइभिङ स्कुल छन् भने ती स्कुलमा १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । ट्रायल सेन्टर र सवारी साधानमा व्यवसायीको १० अर्बभन्दा बढी लगानी छ । गण्डकीका मनाङ र मुस्ताङबाहेक ९ जिल्लामा ५० करोडभन्दा बढी लगानीमा ड्राइभिङ स्कुलहरु सञ्चालित छन् । ‘राज्यले बेला बेलामा अवैज्ञानिक तवरले मापदण्ड परिवर्तन गर्दा धेरै व्यवसायीको लगानीको जोखिममा छ । कतिपय व्यवसायी विस्थापित हुने अवस्था छन्,’ महासचिव सिकेले भने । यातायातको अधिकार प्रदेशमा भए पनि सर्भर केन्द्रको यातायात व्यवस्था कार्यालयकै प्रयोग भइरहेको छ । जसले गर्दा सवारी चालक अनुमति पत्र प्राप्तिका लागि अहिलेको अनलाइन सिस्टम सर्वसाधारणको पहुँचमा छैन । व्यवसायील्े सजिलै अनलाइन फारम भर्न सक्ने र प्रदेश सरकारको आफ्नै सर्भरको व्यवस्था गर्न माग गरेका छन् । अहिले भइरहेको लिखित परीक्षा वैज्ञानिक र व्यवहारिक नभएकाले सामान्य नेपाली लेखपढ गर्न सक्ने सर्वसाधारणको पनि पहुँच निश्चित गर्न उनीहरुको माग छ । लिखित र ट्रायल पास भएपछि नयाँ लाइसेन्स र पुरानो नवीकरण गर्दासमेत समयमै लाइसेन्स नपाउँदा सेवाग्राही मर्कामा छन् । सिके भन्छन्, ‘४, ५ वर्षसम्म लाइसेन्स नआउँदा देशमै र वैदेशिक रोजगारीमा जाने नेपालीले अनेक हन्डर खेप्नुुपरेको छ । परीक्षा पास हुनेबित्तिकै र नवीकरणकै बेला लाइसेन्स दिनसक्ने संयन्त्र निर्माण होस् ।’ यातायात कार्यालयहरु भीडभाड धेरै हुँदा लाइसेन्स लिन महिनौं लाग्ने अवस्था छ । यसलाई सुल्झाउन प्रदेशका अन्य जिल्लामा कार्यालय खोली लाइसेन्स परीक्षा सञ्चालन गर्नुु अत्यावश्यक छ । अहिले राज्यले बनाएको मापदण्ड अनुुसार सवारी ट्रायल स्पोट निर्माण गर्न कमसेकम ३ करोड लाग्छ । महासचिव सिके भन्छन्, ‘आवश्यक जग्गा र पुुँजी व्यवसायीले व्यक्तिगत रुपमा जोहो गर्न सक्ने अवस्था छैन ।’ ट्रायल स्पोटका लागि चाहिने करिब १० रोपनी जग्गा मुख्य बजार क्षेत्रमा पाउन कठिन छ । यदाकदा पाइहाले पनि ३,४ वर्षभन्दा बढीका लागि पाउन मुस्किल छ । संघका प्रदेश अध्यक्ष वसन्त थकाली यो समस्या समाधान गर्न सरकारले जग्गाका लागि पहल गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘व्यवसायीले यति ठूलो लगानी गरे पनि लगानी अनुुरुप शुल्क लिन सक्ने र सर्वसाधारणको सो शुल्क तिर्न सक्ने अवस्था देखिँदैन ।’ व्यवसायीले नागरिकलाई सीप सिकाएर राज्यले गर्नुुपर्ने दायित्व निर्वाह गर्दै आएको दाबी गर्दै ड्राइभिङ स्कुल व्यवसायलाई सेवामूलक क्षेत्रमा सूचीकृत गरी प्रशिक्षणमा प्रयोग हुने सवारी साधनलाई करमा सहुलियत दिन माग गरेका छन् । सरकारले बनाएको मापदण्ड अव्यवहारिक भएका कारण ड्राइभिङ स्कुलहरु नवीकरण हुन नसकेको जनाउँदै उनीहरुले नवीकरण गर्ने व्यवस्था गरिदिन मन्त्री चुमानसँग माग गरे । ड्राइभिङ लाइसेन्स लिन सीप सिकेको प्रमाणपत्र अनिवार्य गर्न उनीहरुको माग छ । संघका केन्द्रीय महासचिव सिके भन्छन्, ‘सवारीबिना दैनिक जीवन असम्भव हुँदै गएको परिवेशमा ड्राइभिङ स्कुललाई प्राविधिक शिक्षालयको रुपमा स्थापित गर्न दीर्घकालीन योजना बनाउँदै निजी क्षेत्रसँग सहकार्यको वातावरण निर्माण गरियोस् ।’ व्यवहारिक मापदण्ड, संयन्त्र र संरचना बनाउँदै सजिलै फर्म भर्न सक्ने, चाहेकै बेला परीक्षा दिन पाउने, पास हुनेबित्तिकै लाइसेन्स पाउने व्यवस्था गरी प्रदेश सरकार भएको आभास दिलाउन उनीहरुले अनुरोध गरे ।
पोखरा: पुन एकता क्लबद्धारा आयोजित आठौं नदीपुर महिला, पुरुष तथा प्रौढ भलिबलको तयारी तीव्र पारिएको छ । स्वर्गीय मेजर चन्द्रबहादुर पहरे पुनको स्मृतिमा पुन एकता क्लबले आयोजना गरेको आठौं नदीपुर महिला, पुरुष तथा प्रौढ भलिबलको तयारी तीव्र पारिएको आज (आइतबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । नेपालीहरुको चाड महाशिवरात्रीको अवसरमा फागुन ९ देखि १३ गतेसम्म पोखरामा ८ औं नदीपुर महिला, पुरुष तथा प्रौढ भलिबल आयोजना गरेको क्लबका अध्यक्ष सुदिप पुर्जाले बताए । ‘स्वर्गीय मेजर चन्द्रबहादुर पहरे पुनको स्मृतिमा क्लबले आयोजना गर्दै आएको प्रतियोगितालाई यस वर्षपनि निरन्तरता दिएका छौं, पुर्जाले भने, ‘महाशिवरात्रीको अवसरमा फागुन ९ देखि १३ गतेसम्म पोखरा ३ नदीपुरमा प्रतियोगिता सञ्चालन गर्दै छौं ।’ उनका अनुसार कर्पाकेली समाज भवन नदिपुरमा हुने प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने समूहले १ लाख ५ हजार, दोस्रो हुने समूहले ७० हजार शिल मेडल प्रमाण प्राप्त गर्नेछन् भने, प्रतियोगितामा सहभागिता हुन प्रत्येक समूहलाई ८ हजार शुल्क निर्धारण गरेको छ । यस्तै महिलातर्फ पहिलो हुने समूहले ५० हजार र दोस्रो हुने समूहले ३० हजार शिल मेडल र प्रमाणपत्र पाउनेछन् भने ५ हजार शुल्क निर्धारण गरेको छ, । प्रौढ भलिबलतर्फ पहिलो हुने समूहले ३० र दोस्रो हुने समूहले २० हजारसहित शिल मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् भने प्रवेश शुल्क टिम सहभागिता अनुसार निर्धारण गर्ने बताइएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिला र पुरुषतर्फ एक÷एक जनालाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । आयोजकले एनभिए च्याम्पियनसिप, आठौ र नवौं राष्ट्रिय खेल खेलेको ३ जना मात्र पुरुषतर्फ सहभागिता हुन पाउने र महिलातर्फ नवौं राष्ट्रिय खेल खेलेको एक जना खेलाडी मात्र समावेश गर्न पाउने बताएको छ । यस्तै विभागीय क्लबले टिम दर्ता गर्दा सम्बन्धित क्लबले स्वीकृत गरेको पत्र अनिवार्य गरेको छ । प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनलमा १ सय र अन्य खेलमा ५० रुपैयाँको टिकट लाग्ने आयोजकले जनाएको छ ।

