पोखरा: पोखरामा जारी १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि लामागाउँ एफसी र गन्नी एफसी भिड्ने भएको छ । बुद्धटोल युवा क्लबद्वारा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल पोखरा १ पुरानो टुडिखेलमा भोली हुने दिउँसो १ बजे हुने खेल संयोजक विनोद गुरुङले जानकारी दिए । उनका अनुसार आज (आइतबार) भएको पहिलो समिफाइनल खेलबाट आयोजक बिटी ह्वाइटलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ एफसी फाइनल प्रवेश गरेको हो । लामागाउँको जितमा युनिक तामाङले निर्णायक गोल गरे । यस्तै अर्काे सेमिफाइनल खेलमा एलजी एसोसियशलाई २–१ गोल अन्तरले हराउदै गन्नी एफसी फाइनलमा लामागाउँसँगको भेट पक्का गर्याे । गन्नीको जितमा लक्षु थापा मगर र सुनिल घोतानेले समान १÷१ गोलको योगदान दिए भने हार व्यहोर्न बाध्य भएको एलजीको तर्फबाट आशिष गुरुङले सान्त्वना १ गोल फर्काएका थिए । प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ । यस्तै विधागत तर्फपनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं: प्रतिनिधि सभाअन्तर्गत चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले वैशाख १० गते उपनिर्वाचनका लागि मिति तय गरेको हो । गत मङ्सिरको चुनावमा उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछाने अयोग्य भएको सर्वोच्च अदालतले आदेश गरेपछि लामिछानेको पद खारेज भएको थियो । लामिछानेको पद खारेजीपछि चितवन –२ रिक्त थियो । नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो । उपनिर्वाचन कार्यक्रम अनुसार सोमबार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी, उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो। विसं २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो। यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा २०.२६ प्रतिशत रकम खर्च भएको छ । प्रतिनिधि सभा बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक बजेटको अर्धवार्षिक सामीक्षा प्रतिनिधि सभामा पेश गर्नुहुँदै यस्तो बताउनु भएको हो । स्वास्थ्य मन्त्रालयको चालु आर्थिक (२०७९/८०) वर्षमा ६९ दर्ब १८ करोड दुई लाख विनियोजन भएकोमा १४ अर्ब पाँच करोड ६७ लाख अर्थात् २०.२६ प्रतिशत खर्च भएको हो । त्यसैगरी, कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालू आर्थिक वर्ष २०७९÷८० मा पहिलो ५ महिनामा सात लाख ३९ हजार खर्च भएको छ । चालू आर्थिक वर्षमा सरकारकाले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि १५ अर्ब ४७ करोड ८६ लाख विनियोजन गरेको थियो ।
काठमाडौँ: चालु आर्थिक वर्षमा सरकारले विनियोजन गरेको बजेटमा बितेको ६ महिनामा सबैभन्दा कम रकम खर्च गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहेको छ । यो मन्त्रालयले ६ महिनामा ६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । २५ अर्ब ३ करोड ४४ लाख बजेट विनियोजन भएकोमा १ अर्ब ५९ करोड ५९ लाख अर्थात ६.३६ प्रतिशतमात्र खर्च भएको छ । त्यसपछि अर्थ मन्त्रालय पनि कम खर्च गर्नेमा देखिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आइतबार प्रतिनिधि सभामा पेस गरेको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा अर्थ मन्त्रालयमा ३२ अर्ब ७५ करोड २८ लाख योजन भएकोमा ४ अर्ब ४३ करोड ३७ लाख मात्र खर्च भएको छ । यो भनेको प्रतिशतमा १३.५४ हो । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमा विनियोजित बजेट खर्च हुन नसक्दा अर्थ मन्त्रालयको खर्च कम देखिएको अर्थमन्त्रीको प्रतिवेदनमा उल्लेख छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १५ प्रतिशत, संस्कृति पर्यटनले १८, सहरी विकास १५ प्रतिशत, संघीय मामिलाको ६ प्रतिशत मात्र खर्च भएको छ । सबैभन्दा धेरै रक्षा मन्त्रालयको ५० प्रतिशत बजेट खर्च भएको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा साढे ७९ लाख यात्रु आवतजावत गरेका छन्। विमानस्थल कार्यालयकाअनुसार सन् २०२२ मा ७९ लाख ५४ हजार ४८० जना यात्रु आवतजावत गरेका हुन्। हवाई यात्रामा यो संख्या हालसम्मकै धेरै हो। सन् २०२१ मा ३५ लाख २८ हजारले आन्तरिक र १४ लाख ५७ हजारले अन्तर्राष्ट्रिय यात्रा गरेका थिए । कोरोना माहामारीपछि भने हवाई यात्रु बढेको तथ्याङ्कले देखाउँछ। सन् २०२२ मा अन्तर्राष्ट्रियतर्फ ३४ लाख ८८ हजार ३२८ यात्रुले यात्रा गरेका छन्। उक्त यात्रु बोक्नका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजले एक वर्षमा त्रिभुवन विमानस्थलमा २४ हजार तीन सय १२ पटक उडान अवतरण गरेको तथ्यांकमा उल्लेख छ। त्यस्तै आन्तरिकतर्फ ४४ लाख ६६ हजार १५२ जनाले यात्रा गरेका छन्। यी यात्रु बोक्न आन्तरिक वायुसेवाहरूले एक लाख आठ हजार २०२ पटक उडानरअवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। कुन महिना कति यात्रु? तथ्याङ्कअनुसार अन्तर्राष्ट्रियतर्फ सन् २०२२ को जनवरीमा दुई लाख ८ हजार ४५, फेब्रुअरीमा एक लाख ८१ हजार ५६१, मार्चमा दुई लाख ५२ हजार ९६४, अप्रिलमा दुई लाख ५६ हजार ९४६, मे मा दुई लाख ९४ हजार ५०९ जनाले आवतजावत गरेका छन्। त्यस्तै जुन महिनामा दुई लाख ८० हजार १९१, जुलाईमा दुई लाख ७५ हजार ६२४, अगस्टमा दुई लाख ८१ हजार ६९६ जनाले यात्रा गरेका छन्। तथ्याङ्कअनुसार सेप्टेम्बरबाट यात्रुको संख्या तीन लाख बढी पुगेको छ। सेप्टेम्बरमा तीन लाख ३९ हजार १३४, अक्टोबरमा तीन लाख ६० हजार ७ सय, नोभेम्बरमा तीन लाख ६४ हजार ७२४ र डिसेम्बरमा तीन लाख ५२ हजार १३४ जनाले यात्रा गरेका छन्। त्यसैगरी आन्तरिकतर्फ सन् २०२२ को जनवरीमा तीन लाख ५० हजार ७४९, फेब्रुअरीमा तीन लाख ६३ हजार ८३५, मार्चमा चार लाख ३६ हजार १७९, अप्रिलमा चार लाख ११ हजार १४४, मे मा तीन लाख ९७ हजार ८०३, जुनमा तीन लाख ५५ हजार ३०४ जनाले यात्रा गरेका छन्। त्यस्तै जुलाईमा तीन लाख ३२ हजार ९०५, अगस्टमा तीन लाख ३३ हजार पाँचसय, सेप्टेम्बरमा थीन लाख ५६ हजार ३६४, अक्टोबरमा चार लाख २ हजार ५४५, नोभेम्बरमा तीन लाख ५३ हजार १०९ र डिसेम्बर महिनामा तीन लाख ७२ हजार ७१५ जनाले यात्रा गरेका छन्।
काठमाडौं :संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रीमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन्। महाशिवरात्रीको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै मन्त्री किरातीले त्यस अवसरमा सुरक्षा व्यवस्था बलियो बनाउन सीसीटीभीमार्फत् निगरानी राख्न निर्देशन दिएका हुन्। आज “स्वच्छ पशुपति,सफा पशुपति”भन्ने नाराका साथ सुरु भएको सरसफाइ अभियानका क्रममा मन्त्री किरातीले यस क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थानका लागि छुट्टा–छुट्टै ‘डस्टिबिन’राख्न कोषका पदाधिकारीलाई निर्देशन दिए। उनले पशुपति क्षेत्रमा आउने दर्शकका लागि सहज शौचालयको व्यवस्था गर्न समेत निर्देशन दिएका छन्। पशुपति क्षेत्र सरसफाइ अभियान एक सातासम्म चल्ने छ । महाशिवरात्री नजिकिएसँगै पशुपति परिसर क्षेत्रमा रङरोगन,मर्मत तथा फूल तथा बिजुली बत्ती सजावटको काम सुरु भइसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए। यो वर्ष फागुन ६ गते महाशिवरात्री परेको छ।
काठमाडौं :सुनको मूल्य ४ सयले बढेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आइतबार ४ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४ हजार कायम भएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार तोलामा १३ रूपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ३ हजार ५०० मा कारोबार भइरहेको छ। सुन बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज तोलामा ५ रूपैयाँले बढेर प्रतितोलाको १२९५ रूपैयाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं : सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ परिमार्जन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सावरीका क्रममा चिकित्सक घाइते भएपछि सरकार र चिकित्सकका प्रतिनिधिबीचको वार्ताबाट सरकार ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’परिमार्जन गर्न सहमत भएको हो । विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था,विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी कार्यविधि परिमार्जन हुने भएको हो । त्यसका लागि सरकारसमक्ष एक हप्ता भित्रमा सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति भएको छ । यस्तै,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित )ऐन,२०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने साथै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने सहमति पत्रमा उल्लेख छ । सिंहदवारमा आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे,स्वास्थ्यमन्त्रालयका सचिव डा. रोशन पोखरेल र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह सहभागी थिए । यस्तै,चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की, महासचिव डा बद्री रिजाल, ट्रमासेन्टरका निर्देशक डा. रुद्र मरासिनी, संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ सहभागी थिए । राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सक वरिष्ठ अर्थोपेडिक सर्जन डा.जुनीथलाल सिंहलाई कुटेपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए । चिकित्सक आन्दोलनमा उत्रिएपछि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार भएको हो। भीआईपी आवतजावतमा सर्वसाधारण निकै मारमा पर्ने गरेका छन् । आवतजावत नै अवरुद्ध हुने गरी भीआइपी सवारी हुने गरेपछि त्यसको मारमा आमसर्वसाधारण पर्ने गरेका हुन्।

