सांसद महावीर पुनले मुलुकमा जडा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभ...

काठमाडौं:    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् ।  प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त भएका हुन् ।  आज बिहीवारको प्रदेश सभामा विश्वासको मतलाई सभामुखले निर्णयार्थ पेस गरेकोमा रावलले बहुमत सांसदको समर्थन नपाएसँगै सरकार ३० दिनमै ढलेको हो । यसअघि गएको पुस २७ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

काठमाडौं:   राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार साँझ ५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले गर्नुभएको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नुहुनेछ । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ । यस्तै, सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो । यस्तै, राष्ट्रपति भण्डारीले शनिबार अपराह्न ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गर्नुभएको छ ।

काठमाडौं:    टर्की र सिरियाका भूकम्प पीडितलाई नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री पठाएको जनाएको छ । टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसको सोही दिन दिउँसो पुनः ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । टर्की र सिरिया क्षेत्रमा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रबिन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् । भूकम्पमा परी आज ९बिहीबार० बिहानसम्म १५ हजार ३८३ जनाको मृत्यु भइसकेको छ ।

माडौं:  प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।   माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी भट्टलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज (बिहीबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच भट्टलाई महारथी शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।   पदोन्नति हुनु भएका उपरथी भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ ।   सोही अवसरमा प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका एक जना महा सेनानी र महा सेनानी दर्जामा पदोन्नति हुनुभएका चार जनालाई प्रमुख सेनानीलाई पनि पदोन्नति दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।   उक्त कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।  

पर्सा:  नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ ।    जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन नगर्न भारतीय पक्षसँग आग्रह पनि गरिसकेको छ । ओरिया खोलामा भारतीय पक्षले ठेक्का लगाएर दिनहुँजसो बालुवा उत्खनन गर्दै आएको छ ।    खोलामा बालुवा उत्खननका क्रममा पुरिएको अवस्थामा सीमास्तम्भ भेटिएपछि ओरिया खोलाको विवाद फेरि बाहिर आएको हो । खोलामा सीमास्तम्भ भेटिएपछि भूमि भारतकै हो कि नेपालतर्फको भन्ने बारे यकीन नभएकाले सुरक्षा निकायको माथिल्लो तहमा कुरा राख्नुपर्ने भएका कारण उत्खननमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले जनाए ।      चार दिनअघि मात्रै ओरिया खोलामा ४२२ नम्बरको मुख्य सीमास्तम्भ भेटिएको थियो भने हाल ४२२÷१ नम्बरको सहायक सीमास्तम्भ खोलामै भेटिएको थपालियाले बताए । जगरनाथपुर गाउँपालिका–१ पिपडारी हुँदै भारततर्फ जाने ओरिया खोलामा धमाधम सीमास्तम्भ भेटिन थालेपछि प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको नेतृत्वमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीय पालिकाका प्रमुखले स्थलगत अवलोकन गरेका थिए । त्यसलगत्तै पहिलेदेखि नै विवादित बन्दै आएको ओरिया खोलामै हराएका सीमास्तम्भ भेटिएपछि त्यसबारे आवश्यक छलफल गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।    जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले दशगजा क्षेत्रमा रहेको ओरिया खोलामा सीमास्तम्भ भेटिएपछि अब सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिँदै वर्र्षैदेखि भारतीयतर्फको ठेकेदार पक्षले ओरिया खोलामा दैनिकरुपमा उत्खनन गर्दै आएको बताए ।    यादव भन्छन्, “ओरिया खोलाबाट भारतीय पक्षका ठेकेदार आफ्नो मनोमानी ढङ्गले गिटी, बालुवा उत्खनन गरेर सयौँ ट्र्याक्टरमा रातिसम्म लैजाने गरेका छन् । दशगजा क्षेत्रका मानिस आफूहरु असुरक्षित महसुस गर्ने गरेको र रोक्न खोज्ने क्रममा पटकपटक विवाद हुने गरेको बताए ।    नेपालतर्फका सुरक्षा अधिकारीको टोली ओरिया खोला पुगेर भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई उत्खनन रोक्न आग्रह गरेको र उनीहरुले माथिल्लो निकायमा कुरा राख्ने प्रतिक्रिया दिएको सुरक्षा समितिले जनाएको छ । ओरिया खोला र आसपासका क्षेत्रमा मुख्य र सहायक गरी १६ वटा सीमास्तम्भ हराएका थिए ।

पोखरा:  पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिना आचार्यको मृत्यु भएको छ ।   पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा बसले स्कुटरलाई ठक्कर दिदा २७ वर्षीय रेजिना आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।  पोखरा पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक आचार्यको मृत्यु भएको हो ।   पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा आचार्यको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

स्याङजा:  स्याङ्जाको गल्याङ नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै छ । नगरपालिकाभित्रका क्याम्पस तथा कक्षा ११ र १२ मा अध्ययनरत अतिगरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययन गराउन थालेको हो ।   नगरभित्रका क्याम्पसमा अध्ययनरत लक्षित समूहका विद्यार्थीमध्ये १० प्रतिशत तथा कक्षा ११ र १२ मा अध्ययनरतमध्ये २० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यले बताए । नगरपालिकाले क्याम्पसमा अध्ययन गर्ने अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कवापत जनही रु १० हजार आठ सय प्रदान गरेको हो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक रु तीन सयका दरले वर्षभरिको रु तीन हजार छ सय उपलब्ध गराइएको उहाँले जानकारी दिए ।   “क्याम्पस तथा विद्यालयले अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको आवेदन खुलाउने र त्यसैका आधारमा विद्यार्थीले आवेदन भरेका हुन्”, उनले भने, “प्राप्त आवेदनमाथि विद्यालयले छानविन गरी वास्तविक विद्यार्थी छनोट गरी नगरपालिकामा सिफारिस गरेको आधारमा यहाँबाट पूर्ण छात्रवृत्ति उपलब्ध गराएका हौँ ।” पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमामात्रै अघिल्लो कक्षा अध्ययनका लागि पुनः छात्रवृत्ति प्राप्त गर्नेछन् । अनुत्तीर्ण भएकाले भने उक्त सुविधा अघिल्लो कक्षामा नपाउने उनले बताए ।   आर्थिक अभावकै कारण कोही पनि शिक्षा प्राप्त गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाले यो अभियान थालेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । नगरको शैक्षिक रुपान्तरणका लागि यस अभियानले विद्यार्थीमा अध्ययनतर्फ थप प्रोत्साहन मिल्ने उनको विश्वास छ । नगरपालिकाले दुई सय २१ विद्यार्थीलाई रु १२ लाख ६९ हजार छात्रवृत्तिस्वरुप प्रदान गरेको छ ।

अंकारा : टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् ।   बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ ।   दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ ।   बिहीबार बिहानसम्म टर्कीमा भूकम्पबाट ज्यान जाने नागरिक १२ हजार तीन सय ९१ जना पुगेका छन् । टर्कीको बिपत व्यवस्थापन विभागलाई उद्धृत गर्दै सो समाचार दिइएको छ ।   त्यस भूकम्पबाट टर्कीका धेरैको मृत्यु भएको बताइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी १२ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ ।   यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो । घाइते भएकाहरु अस्पताल पुर्याइएको छ र अस्पतालमा नै मानिसहरुको निधन भएका समाचारहरु आइरहेका छन् ।   उता सिरियामा पनि सो भूकम्पमा परी बिहीबारसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या एक हजार दुई सय नाघेको छ । त्यहाँ दुई हजार जनाभन्दा बढी व्यक्ति घाइते छन् ।    टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १.२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।   टर्की र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् ।   धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् । यसै क्रममा चिनियाँ उद्धार टोली पनि चार्टर्ड विमानबाट टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।   उता अमेरिकी अधिकारीहरुले पनि उद्धारको कामका लागि अमेरिकी टोली पठाइएको बताएकमा छन् । संयुक्त राष्ट्रसङ्घले पनि विभिन्न सहायता एजेन्सी पठाएर सहयोग गरिरहेको जनाएको छ ।

काठमाडौं : भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले देशको पुरानो ऐतिहासिक ​ विरासत बोकेको मालपोत र नापीलाई सूचना प्रविधियुक्त कार्यालयका रूपमा रुपान्तरण गर्दै लैजाने योजना अघि सारेको छ ।   परम्परागत शैलीका अभिलेख र कार्यप्रणालीलाई विद्युतीय प्रणालीमा रुपान्तरण गरिएमा मात्र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउन सकिने उद्देश्य राखेर मन्त्रालयले उक्त अभियान अघि सारेको हो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मालपोत र नापीमा प्रयोगमा ल्याइएका भू–सूचना प्रणाली र भूसेवा केन्द्र सबै कार्यालयमा विस्तार गरी जग्गाधनीलाई विद्युतीय नम्बर प्रदान गरिने लक्ष्य रहेको बताए ।   उनले भने, ‘नापी विभाग र कार्यालयको मेरो कित्ता प्रणालीबाट जग्गाधनीले घरबाटै आफ्नो जग्गाको नक्सा लिन सक्नेछन् । मालपोत कार्यालयका एक करोड बढी कागजी अभिलेखलाई शीघ्र विद्युतीय अभिलेखमा रुपान्तरण गर्ने काम बजेट अभावका कारणले चुनौतीपूर्ण छ ।’   चालु आर्थिक वर्षमा मालपोत र नापी विभागको सूचना प्रणालीलाई एकीकृत गरी भूमि प्रशासनको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले मातहतका विभागलाई निर्देशन दिइसकेको छ । वैदिककालदेखि नै भूमिलाई राज्यको अधीनमा राखी भूमिको उपभोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनुपर्ने चलन छ । महिषपाल तथा किराँतकालमा भने जग्गाधनीपूर्जा जस्तै ‘लेख्य’ नामको प्रमाण दिइने र उत्पादनअनुसार जग्गाको कुत तिर्नुपर्ने व्यवस्था थियो ।   माल अड्डामा घरजग्गाको रजिष्ट्रेशन पारित गर्ने कार्यको सुरुआत भने १९७९ वैशाख १ गतेदेखि सुरु भएको हो । भूमिको समुचित व्यवस्थापन गर्ने क्रममा नेपालमा १९८५ देखि १९९० सालसम्ममा जग्गा नापजाँच गर्ने कार्य भएको थियो । विसं १९९६ मा काठमाडौँमा नापी गोश्वाराको स्थापना भई भूमिको वास्तविक लगत तयार पार्ने काम भएको हो ।   सचिव डा रेग्मीका अनुसार हाल मुलुकमा २१  भूमि सुधार र  एक सय १० मालपोत कार्यालय छन् । मुलुकमा एक सय ३१ नापी कार्यालय र सातवटा विशेष नापी कार्यालय छन् । ती कार्यालयले वार्षिक रु डेढ खर्ब राजस्व उठाउने गरेकामा त्यसमध्ये रु ५० अर्ब सङ्घमा, रु ६० अर्ब स्थानीय तहमा र रु ४० अर्ब  प्रदेशसित रहने सचिव रेग्मीले जानकारी दिए।