पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

कास्की: पोखराको उत्तरपूर्वी भू–भागमा रहेको काहुँडाँडा पर्यटकीय गन्तव्यको केन्द्र बनेको छ । पाँच दशकअघि निर्माण गरिएको पोखराको पहिलो धरहराबाट टलक्क टल्कने हिमशृङ्खला, फेवातालसहित पोखरा बजार देख्न सकिन्छ ।    बिहान सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नसकिने मनोरमस्थल काहुँडाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।    सोही ठाउँमा पर्यटन प्रवद्र्धन गर्न यही फागुन ४ गतेदेखि १४ गतेसम्म ‘काहुँ धरहरा महोत्सव’ गर्न लागिएको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गरिएको महोत्सव आयोजक देवबहादुर गुरुङले जानकारी दिनुभयो । पर्यटन क्षेत्रको विकास गर्दै ग्रामीण पर्यटन तथा पोखराकै एक दृश्यावलोकनको गन्तव्य स्थानका रूपमा विकास गर्ने सकिने गुरुङले बताउनुभयो ।   राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रसारबाट काहुँ क्षेत्रमा आर्थिक क्रियाकलाप वृद्धिले जनस्थरको आर्थिक विकासमा सहयोग पुग्ने उहाँको धारणा छ । महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सवको अवलोकन साथै यहाँको राष्ट्रिय फूल लालिगुराँसलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्ने आयोजकले बताएको छ ।   महोत्सवमा दृश्यावलोकनको साथै राष्ट्रिय कलाकारहरूको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्सर्ट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ ।    सो महोत्सवमा करिब ५२ लाख रुपियाँको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । ४६ लाख ८९ हजार खर्च हुने अनुमान आयोजकको छ । महोत्सवबाट प्राप्त आम्दानी पर्यटन पूर्वाधार निर्माण, असहाय विद्यार्थीलाई सहयोग गरिनेछ । काहुँ धरहरा चढेर पूरा पोखरा अवलोकन गर्न सकिन्छ । गत वर्षको असोजदेखि धरहरा चढेको टिकट काट्नुपर्ने व्यवस्था गरेको गुरुङले बताउनुभयो । पर्यटकलाई थप सुविधाका लागि धरहरा नजिकै तीनवटा रेस्टुरेन्ट पनि सञ्चालनमा छन् ।    

बझाङ : ट्रक र मोटरसाइकल ठोक्किदा एक महिलाको मृत्यु भएको छ ।   धनगढीबाट बझाङ सदरमुकाम चैनपुर आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको सुपप्र ०१०१० प ५३१७ को मोटरसाइकल सोमबार बिहान ९:३० बजेतिर  ठोक्किदा मोटरसाइकलमा सवार दुर्गाथली -३ रकैल घर भइ हाल केदारस्युँ ९ रकैल बस्दै आएकी २५ वर्षीया अमृता खत्री धामीको घटनास्थलमै मृत्यु भएको हो ।    ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    मृतक महिला एक प्राइभेट कम्पनीमा काम गर्ने र फिल्ड कार्यक्रमका लागि बाग्थला जाने क्रममा दुर्घटनामा परेको बुझिएको छ।   मृतक खत्रीका श्रीमान उत्तम धामी भने हाल भारतमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम्युनिकेसन सेवा भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताएकी छिन्। नेपाल टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा बोल्दै सञ्चारमन्त्री शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै सर्वसुलभ र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिइन्।    विगतका सरकारको घरघरमा इन्टरनेट र हातहातमा मोबाइलको योजना सार्थकता पाएको  उनको भनाइ छ। अब भू–उपग्रह स्थापना गरी सेवा दिने लक्ष्य पनि लिनु पर्नेमा उनले जोड दिइन्।    टेलिकमले कमजोरी पत्ता लगाएर गुणस्तरीय सेवा दिनुपर्ने उनले जोड दिइन्।  सरकारको सोच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अति विकट स्थानमा सेवा दिन सक्नुपर्ने बताइन्। ‘नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको हो’ उनले भनिन्।    सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित गर्ने राज्यले टेलिकमलाई प्राथमिकता दिएको उनको भनाइ छ। सूचना प्रविधिबाट सरल, सुलभ र बिनाअवरोध गुणस्तरीय सेवा दिने उनले बताइन्।  ‘जनताले प्रत्यक्ष लाभ महसुस गर्ने गरी सेवा परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्छ’ उनले भनिन्। कर्मचारीको अभावमा सेवा प्रभावकारी हुन नसकेको समस्या सल्टाउन उनले जोड दिइन्। समयमै मर्मत हुन नसकेको समस्यालाई छिट्टै समाधान गर्न टेलिकम व्यवस्थापनले उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। ग्राहक सन्तुष्टि सर्वोपरी ठान्नुपर्ने उनको भनाइ छ। ‘गुणस्तरीय, सस्तो र सर्वसुलभ सेवा दिन दायित्वबाट पन्छिन हुन्न’ उनले भनिन्, ‘कर्मचारीको सेवासुविधा पनि वृद्धि गर्नुका साथै लगानीकर्तालाई अधिकतम प्रतिफल दिनु पर्छ।’    मन्त्री शर्माले समयमै आयोजनाको काम पूरा हुन नसक्दा लागत बढेको बताइन्। विकट क्षेत्रमा सेवा विस्तार तथा मानवीय वस्तीमा टावर विस्तार, वन क्षेत्रमा हुने पूर्वाधार विकासमा जोड दिनुपर्ने उनले बताइन्।  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमले गुणस्तरीय सेवा दिन नसकेको बताए। ‘काठमाडौं उपत्यकाभित्रै फोरजी सेवा प्रभावकारी छैन’ उनले भने, ‘व्यवस्थापन कमजोरका कारण उपत्यकाभित्रै राम्ररी चल्न सकेको छैन।’ टेलिकमले गुणस्तरीय सेवा दिन चुकेको बताए। प्रविधि प्रयोगमा टेलिकमले विशेष योजना ल्याउनुपर्ने उनले बताए। सेवा दिए अनुरूप राजस्व घटेको उनले बताए। डाटा र भिडियोजस्ता सेवामा गुणस्तरीयता ल्याउन सके टेलिकमको प्रभावकारी बढ्ने अध्यक्ष खनालले बताए।    अध्यक्ष खनालले सेवा पूर्ण क्षमतामा दिन, क्षतिपूर्ति दिन चुकेको र टेलिकमले  विश्वसनीयता गुमाउँदै गएको बताए। फाइबर नेटवर्क विस्तार गर्न ध्यान केन्द्रित गर्न चुकेको उनले बताए। ‘दुई वर्षसम्म काम नगर्ने ठेकेदारलाई किन कारबाही हुँदैन’ उनले भने। डिजिटल नेपाल फ्रेमवर्कको काम गर्न ढिलो भइसकेको उनले बताए। प्रतिस्पर्धी क्षमता विकास गर्न सके नियामक निकाय सधैं साथमा रहने उनले बताए।    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरि ठान्नुपर्ने बताए। सेवा निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने उनको जोड थियो। टेलिकमलाई प्रतिस्पर्धी बजारमा दरिलो उपस्थिति जनाउन सेवा प्रभावकारितामा जोड दिनुपर्ने उनले बताए। गुणस्तरीय सेवा सुलभ दरमा देशभर पुर्‍याउनुपर्ने उनको भनाइ थियो। सचिव अर्यालले टेलिकमका प्रबन्ध निर्देशकसँग कार्यसम्पादन गरेको चर्चा गर्दै कम्तीमा पनि ९५ प्रतिशत प्रतिबद्धता पूरा गर्नुपर्ने बताए। लागत घटाउन सके सेवाको मूल्य कम पर्ने उनको भनाइ थियो।  गुनासो आउने संयन्त्र र सम्बोधन गर्ने निकाय दह्रो हुन नसके ग्राहक टाँसिएर नबस्ने सचिव अर्यालले बताए।  

सिन्धुली:  धुलिखेलबाट सिन्धुली जाँदा करिब ४० किलोमिटरको दूरी बी.पी. राजमार्गको बायाँतर्फ एउटा ठूलो आकारमा डम्फु बनाइएको छ । डम्फु पार्क नै नामकरण गरिएको आकर्षक देखिने यो डम्फु सिन्धुलीको रोशी गाउँपालिका वडा नं. ११ कालो ढुङ्गा र रोशी खोलाको किनारमा छ ।   स्थानीयवासी राजवीर तामाङका अनुसार यो एसियाको दोस्रो ठूलो डम्फु हो । जुन ३२ फिट अग्लो र गोलाइ पनि ३२ फिट छ। पहिलो ठूलो डम्फु भुटानमा छ ।  तामाङका अनुसार यसको क्षेत्रफल २२१ रोपनी छ। अझै यहाँ निर्माणकार्य हुन बाँकी छ र यस्तै शैलीको तामाङ संस्कृति झल्किने ढिकी, जाँतो आदि पनि बनाइनुको साथै पार्क, बगैँचा लगाएर विभिन्न भवनहरू निर्माण हुने क्रममा छ। डम्फु तामाङ संस्कृतिको प्रमुख बाजामध्ये एक हो। अब यही स्थलमा तामाङ समुदायको विभिन्न चाडपर्व मनाइनेछ। 

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले राजीनामा बुझाएका छन् । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् । यसअघि आजै दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै राख्ने भएको छ ।

पोखरा:   नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आफ्नो चौथो वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । हनिमुन लेकका रुपमा चासो र चर्चा कमाएको दीपाङ तालको किनारामा आयोजित साधारणसभामा व्यवसायीहरूले पर्यटन व्यवसाय जोगाउन राज्यको ध्यान पुग्नु जरुरी रहेकोमा जोड दिए । कोरोना कहर लगायतका कारण पर्यटन व्यवसाय जोगाउन नै धौधौ परेको भन्दै कार्यक्रमका वक्ताले यसका लागि राज्यको व्यवसायमैत्री नीति एवम् व्यवहार आवश्यक भएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना कहरले तहसनहस बनेको पर्यटन क्षेत्रमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर लगायतले थप समस्यामा पारेको बताउनुभयो । चर्को व्याजदरले व्यवसायीहरू मारमा परिरहेको बताउँदै उहाँले व्यजाजदर घटाउनुका साथै बैंक किस्ताको समयावधि बढाइदिने कुरामा सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । नेपाल पर्यटक यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष सन्तोष न्यौपानेले कोभिड प्रभावित व्यवसायलाई जोगाउनका लागि सहुलियतका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल पर्यटक यातायात व्यवसयी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले पुराना गाडीका सम्बन्धमा सरकारको २० वर्षे नीति २७ वर्ष पुगेको बताउनुभयो । पुराना सवारी साधनलाई इलेक्ट्रीक मोडलमा रुपान्तरण गर्न उहाँले् सरकारको ध्यानाकर्षण गराउनुभयो ।  एनटिभिए गण्डकीका निवर्तमान अध्यष बोबरजंग गुरुङले पर्यटक यातायातको दररेट अत्यन्त बैज्ञानिक ढंगले तयार गरिएको बताउँदै व्यवसायीलाई त्यसै अनुरुप एकरुपता कायम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा एनटिभिए गण्डकीका उपाध्यष एवम् कार्यक्रम संयोजक दुर्गादत्त दहाल, सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष केदारनाथ शर्मा, विकास कंगेल, जनक कार्की लगायतले बोल्नुभएको थियो ।  साधारणसभाले संस्थाको रिक्त महासचिवमा प्रकाश कुमार श्रेष्ठ, सचिवमा विकास कंडेल र सदस्यद्वयमा सुमन कुँवर र आनन्दराज अधिकारीलाई जिम्मेवारी दिएको छ ।     

कास्की:  पोखरामा बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।   पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आज (आइबार) देखि सुरु भएको हो ।   प्रतियोगिताको उद्घाटन खेलबाट हाम्रो एफसीले विजयी सुरुवात गरेको छ ।   डाडाँगाउँ एफसीलाई टाइबेकरमार्फत ४–३ गोल अन्तरले पराजित गर्दै हाम्रो एफसी दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक बिनोद गुरुङले जानकारी दिए । उनका अनुसार खेल १–१ गोलको बराबरी भएपछि खेल टाइबेकरमा पुगेको थियो ।    यस्तै दोस्रो खेलमा एम फाइभ मालेपाटनले सराङकोट एफसीलाई २–० को गोल अन्तरले पराजित गर्याे । एम फाइभको जीतमा आयुष थापाले २ गोलको योगदान दिए । खेल संयोजक गुरुङका अनुसार भोली (सोमबार) पहिलो चरणकै ८ वटा खेल हुनेछ । सो प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले खेलकुदको विकासका लागि आफुले पहल गर्ने धारणा राखे । आफु विगत २१ वर्षदेखि खेलकुदमा काम गर्दै आएको उल्लेख गर्दै पोखरालाई खेलकुदको केन्द्र बनाउने पक्षमा सदनमा प्रतिबद्ध रहने बताए ।    प्रदेश सांसद बरालले खेलकुदको विकासका लागि आफु सधै सकारात्मक रहेको बताउदै सोही अनुसार सदनमा प्रस्तुत हुने बताएका थिए ।   आगामी फागुन २ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।    यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।   अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६/६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ ।   प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको  छ ।

काठमाडौं:  बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ ।   ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।    नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् । कप्तान प्रीति राईले एक गोल गरिन् ।    भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२-० ले पराजित भएको थियो ।    पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।   प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।   राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

पोखरा:    पोखरा महानगरपालिकाले गत हप्ताको सोमबार निकालेको पार्किङ निषेधको सूचनाबाट पछि हटेको छ ।  महानगरपालिकाले भोलिदेखि पोखराको पृथ्वीचोक, सभागृहचोक, न्युरोड, बीपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजारका सडकमा पार्किङ गर्न नपाइने निर्णयबाट पछि हट्दै अर्को व्यवस्था नभएसम्म लागि पूर्ववत अनुसार नै पार्किङ क्षेत्र कायम रहेको उल्लेख गरेको छ ।  महानगरले जारी गरिएको सूचनामा भनिएको छ, ‘भोलि देखि पोखराको विभिन्न क्षेत्रमा खाली गर्ने भनिएको पार्किङ क्षेत्रको विषयमा पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरु तथा अन्य सरोकारवाला निकायहरुसँग छलफल पश्चात् लागु गर्न सुझाव प्राप्त भएको छ ।’