रुपन्देही: भगवान् गौतमबुद्धको शान्ति सन्देशसहित शुक्रबारदेखि तीन दिने लुम्बिनीदेखि कुशीनगरसम्मको साइकल यात्रा सुरु भएको छ । बौद्ध परिपथ साइकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट साइकल यात्रा शुरु भएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी) र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले साईकलयात्राको शुभारम्भ गरे । उक्त अवसरमा बोल्दै कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीदेखि कुशिनगरसम्म बुद्धको सन्देश बोकेर साइकल यात्रा गरिनु निकै सकारात्मक रहेको बताए । उनले भगवान् बुद्धले आफ्नो जीवनकालमा लामो यात्रा गरेको प्रसङ्ग उल्लेख गर्दै बुद्ध स्थल हुँदै गरिने साइकल यात्राले बुद्ध सन्देश दिने विश्वास व्यक्त गरे । साइकल पर्यावरणमैत्री र स्वास्थ्यका हिसाबले उपयुक्त हुने भएकाले लुम्बिनीमा पनि यसको प्रयोग बढाउने गरी योजना बनाउने उपाध्यक्ष मैत्तयले प्रतिबद्धता जनाए । साइकल अभियानकर्मी, बौद्धमार्गी एवं भारतको अनाहदी यात्राका गरी ७० जनाको टोलीले शुक्रबारदेखि आइतबारसम्म तीन दिन साइकलमा यात्रा गर्ने संयोजक उषा तितिक्षुले जानकारी दिईन् । पञ्चशील पालना गर्दै हरेक दिन ध्यान, साधनासहित जन्मस्थल लुम्बिनीबाट सुरु भएको यात्रा मावली देवदह, रामग्राम हुँदै कुशिनगरमा पुगेर समापन गरिने उनले बताइन् । साइकल यात्रा शुभारम्भका अवसरमा नेपाल साइकल सोसाइटिका अध्यक्ष रत्न श्रेष्ठले भगवान् बुद्धको जन्मस्थानबाट बौद्ध परिपथ साइकल यात्रा सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै लुम्बिनीमा पनि साइकलबाट भ्रमण गर्ने व्यवस्था मिलाउन माग गरे । शुभारम्भमा प्राध्यापक डा. तारालाल श्रेष्ठ, भारतीय पत्रकार पुष्पराज शास्त्रीले साइकल यात्राहरू अन्य बेलामा पनि भएको तर बौद्धपरिपथमा ध्यान र साधना सहितको पहिलो साइकल यात्रा भएकाले उत्साही भएको बताए । साइकल यात्रामा पहिलो दिन शुक्रबार भैरहवा हुँदै, देवदह र रामग्रामसम्मको यात्रा हुनेछ । त्यस्तै दोस्रो दिन शनिबार रामग्रामबाट महेशपुर नाका हुँदै भारतको महाराजगन्जमा पुगेर बास बस्ने र तेस्रो दिन आइतबार महारजगञ्जबाट कुशिनगरमा पुगेर समापन गरिने कार्यतालिका रहेको छ । साइकल यात्रीहरुले यात्रा सुरु गर्नुअघि मायादेवी मन्दिर अगाडि ध्यान गरेका थिए ।
तनहुँ: नाबालिका बलत्कार गर्ने तनहुँका एक वृद्धलाई जन्मकैदको फैसला भएको छ। भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले वृद्धलाई बुधबार जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । मुद्दाको संवेदनशीलताले गर्दा पीडकको नाम खुलाइएको छैन। वृद्धलाई वि.सं. २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया गरेर तीन जना बालिकालाई बलात्कार गरेको अभियोग लागेको तनहुँ जिल्ला अदालतले जनाएको छ। आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरेर जिल्ला कारागारको थुनामा राखेको थियो। सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने अदालतले सफाइ दिइएको छ। वि.सं. २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको श्रेतेदार कुँवरले जानकारी दिनुभयो । कुँवरका अनुसार आरोपित वृद्ध २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा थिए।
चितवन: स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् । उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरे । ‘यहाँ पालेको तरकारीमा किसानको पसिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन’ तरकारी किसान लेखनाथ भुसालले भने, ‘हाम्रो दुःख र पसिना यसै गयो ।’ उनले सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको गुनासो गरे । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको भुसालले बताए । तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए । लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग उनीहरुले गरे । किसानहरुको प्रर्दशनका कारणले केहीबेर राजमार्गमा सवारी साधान सञ्चालनमा समस्या भएको थियो । किसानहरुले थप शशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
पर्वत: सशस्त्र प्रहरीले कुश्मा नगरपालिका–५ स्थित बडागाउँ भीरमा अड्किएका एक जना व्यक्तिको सकुशल उद्धार गरेको छ । कुश्मा नगरपालिका-७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा बिहीबार भीरमा खस्नुभएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतका सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उहाँलाई शुक्रबार सकुशल उद्धार गरेको हो । उद्धार पश्चात उहाँलाई उपचारका लागि जिल्ला अस्पताल पर्वततर्फ पठाएइको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: पहिलोपटक मिस नेपाल प्रतियोगिता काठमाडौंबाहिर हुने भएको छ । द हिडन ट्रेजरले यस वर्षको संस्करणका सबटाइटल प्रतिस्पर्धा पर्यटकीय नगरी पोखरामा गर्दैछ । संस्थाका निर्देशक प्रमोद कंसाकारले सब-टाइटल इभेन्ट पोखरामा गर्दा निकट भविष्यमा ग्राण्ड फिनाले समेत गर्न सजिलो हुने बताए । तीन दिनसम्म हुने सबटाइटल प्रतिस्पर्धामा २४ जना फाइनलिस्टले सहभागिता जनाउनेछन् । पोखरामा यस्तो कार्यक्रम गर्न हिडन ट्रेजरले आफ्ना प्रायोजक र विभिन्न निकायसँग छलफल चलाइरहेको छ । मिस नेपाल २०२३ को आवेदन खुला गर्नेबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा द हिडन ट्रेजरले पोखरामा कार्यक्रम गर्नेबारे संकेत दिएको थियो । पोखरामा कार्यक्रम गर्दा रिफ्रेस पनि हुने र त्यहाँको जैविक विविधताबारे पनि अध्ययन गर्न सकिने निर्देशक कंसाकारले बताए । यस वर्षको मिस नेपाल प्रतियोगिता जेठ १३ गते ललितपुर गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ । यसका लागि चैत १ गतेसम्म आवेदन खुला गरिएको छ । आवेदनको समय सकिएपछि सातै प्रदेशमा अडिसन आयोजना गरिएको छ । काठमाडौंको अडिसन मार्च १८ मा हुनेछ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् । जसको स्थान र मिति पछि सार्वजनिक गर्ने जनाइएको छ ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको एक युवा स्पोर्टस् क्लब नामक संस्थाको जग्गा व्यक्तिको नाममा गैरकानूनी तरिकाले कायम गरेको आरोपमा छ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । भूमि, सुधार तथा मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख कमोद तिवारीसहित छजनाले साविक बेल्वा गाविस वडा नं. ८ कित्ता नं. २७० को बिगा ०–१–५–० जग्गाधनी युवा स्पोर्टस् क्लबको नाममा रहेको जग्गा शेष सफि अहमदको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम भएको सम्बन्धमा अनुसन्धानका लागि उजुरी परेको थियो । आयोगका प्रवक्ता श्यामप्रसाद घिमिरेले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा तत्कालीन कार्यालय प्रमुख तिवारीसहित नायब सुब्बा शम्भु साह रौनियार र खरिदार शिवप्रकाश साह तेलीले गलत निर्णयलाई ढाकछोप गर्नका लागि मोठ च्यातिएको आरोप लागेको छ । यस्तै, सो कार्यालयका तत्कालीन खरिदार रिन्ता कुमारीविरुद्व सरकारी कागजात नोक्सान गरेको कसूर लागेको हो । आयोगका अनुसार पर्साका वीरगंज महानगरपालिका वडा नं. ३१ का शेष सफि अहमदविरुद्व गलत लिखत तयार गरेको र शेष साजिद एकबालविरुद्व पनि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकामा २० वर्ष उमेर कटेकाले मात्र मदिरा सेवन गर्न पाउने भएका छन् । अर्जुनचौपारी गाउँपालिकाले मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७९ मा मदिरा सेवनलगायतका कुरा राखेर ऐन लागू गरेको हो । पालिकाको १२ औं गाउँसभाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ४ खण्ड (ख) (१३) र दफा १०२ बमोजिम ऐन बनाएको हो । यस्तै, सभाले पूर्वाधार व्यवस्थापन सम्बन्धी ऐन र सरहकारी एनेलाई संशोधन गरेको छ । पालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन ऐनमा २१ दफा रहेको छ भने सभाले पास गरेसँगै लागू भएको छ । पालिकाले बनाएको ऐन भित्र रहेर अनुमति लिएर बिक्री वितरण र सार्वजनिक स्थानमा सेवन गर्न नपाउने गरी ऐन बनाइएको छ । पालिका भित्र मदिरा साँझ ५ देखि ८ बजेसम्म पालिकाले तोकेको ठाउँमा सेवन गर्ने पाउने र ८० प्रतिशत बढि घरपरिवारहरुले मदिरा पसल राख्न नदिने निर्णय गरेमा बन्द गरिने छ । ऐन विपरित बिक्री वितरण तथा सेवन गरेमा बढीमा एक लाख रुपियाँसम्म जरिवानाको सजाय हुनेछ । सार्वजनिक स्थलमा सेवन गर्न बन्देज लगाइएको छ भने ऐन विपरीत मदिरा उत्पादन, सञ्चय, बिक्री वितरण, ओसार पसार, निकासी वा पैठारी गरेको सुराक दिनेलाई पुरस्कारको समेत व्यवस्था गरेको छ । पालिकाले सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा, आर्थिक हित तथा अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न गाउँपालिकाले मदिरा प्रयोगलाई व्यवस्थित र प्रभावकारी वनाउन ऐन लागू गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । यस्तै, पूर्वाधार व्यवस्थापन सम्बन्धी ऐन, २०७४ को दफा २१ को उपदफा (४) मा समिति मार्फत गरिने निर्माण कार्यमा उपभोक्ताहरुले न्यूनतम १५% नगद लागत सहभागिता र १५% श्रमदान गर्नुपर्ने भन्ने व्यवस्था रहेकोमा आम उपभोक्ताहरुको हितलाई मध्येनजर गर्दै उत्पादनसँग अधिकतम जोडिने योजनाहरुमा न्यूनतम १०% लागत सहभागिता र उत्पादनसँग कम जोडिने मन्दिर, मस्जिद, मसानघाट, धर्मशाला, सामुदायिक भवन, कूल मन्दिर आदि जस्ता पूर्वाधार निर्माणमा न्यूनतम २०% लागत सहभागिता कायम गर्ने निर्णय गरेको छ । यस्तै, सहकारी ऐन, २०७५ को दफा ७२ को उपदफा (१) मा कुनै संस्थाको व्यवसायिक कारोबार सन्तोषजनक नभएको, सदस्यको हित विपरित काम भएको वा संस्थाको उद्देश्य विपरित कार्य गरेको भनी संस्थाको कम्तीमा ५% प्रतिशत सदस्यले छानविनका लागि निवेदन दिएमा दर्ता गर्ने अधिकारीले छानविन गर्न गराउन सक्ने व्यवस्थासहित संशोधन गरिएको छ ।
पर्वत: पर्वतका कृषकहरुले बाँझो जमिनमा अलैंची खेती गर्न सुरु गरेका छन् । यस वर्ष पर्वतमा २० मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लाका विभिन्न वडाका कृषकहरुले लगाएको अलैंची खेतीबाट उत्पादन बढ्दै गए पनि बजार अभावका कारण सोचे अनुसार लाभ भने लिन सकिरहेका छैनन् । कृषि ज्ञान केन्द्र पर्वत साथै जिल्लाका स्थानीय तहहरुको सहयोगमा कृषकहरुले अलैंची खेती विस्तार गरे पनि बजार अभावका कारण सोचे अनुसारको प्रतिफल पाउन नसकेको गुनासो गरेका छन् । जिल्लाका माथिल्लो भागका अधिकांश वडामा परम्परागत र व्यावसायिक रुपमा अलैंची खेती गरिएको भए पनि स्थानीय तह साथै कृषि ज्ञान केन्द्रले बजारीकरणका लागि आवश्यक समन्वय नगर्दा कृषकहरु मारमा परेका छन् । स्थानीय कृषक उर्मिला केसीले प्रत्येक वर्ष अलैंची उत्पादन गर्दै आएको बताउनुभयो । तर, उत्पादन गरेको अलैंची बिक्री नहुँदा अहिले बोटमै छाड्ने गरेको भनाइ उहाँको छ । उहाँका अनुसार राम्रो मूल्य नपाइनुका साथै विगत तीन वर्षदेखि बिक्री नभएका कारण केही अलैंची बोरामा राखिएको र केही बोटमै छाडिएको छ । ‘‘पहिला पहिला बिक्रीको समस्या हुँदैन भनेर खेत बारीमा अलैंची लगाइयो अहिले बिक्री नै हुन छाडेपछि बोटमै छाडेका छौं,’’ केसीले भन्नुभयो, ‘‘गोडमेल, मलखाद, झाडी सरसफाई गर्दा लागेका खेतालालाई तिर्ने पैसा समेत आफैंले व्यहोर्नुपर्ने भएकाले बोटमै छाडेका हौं ।’’ प्रायजसो चिसो ठाउँ, बुट्यान र झाडीभित्र हुने खेती भएकाले चिसो ठाउँमा गएर काम गर्ने मजदुर पाउन समस्या भएको कृषकहरुको भनाइ छ । कालो सुन भनेर जिल्लाका अधिकांश वडामा राम्रो कमाइ गर्ने उद्देश्यले लगाइएको खेती समयमा बिक्री नहुँदा कृषकहरु निराश बनेका छन् । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार जिल्लाको ६० हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको छ । केही ठाउँमा व्यावसायिक रुपमा सहकारी तथा कृषि फर्ममार्फत खेती गरिएको भए पनि सोचे अनुसारको प्रतिफल नहुँदा कृषकहरुले बीचैमा खेती गर्न छाडेका छन् । केन्द्रले जिल्लाका अलैंची पकेट क्षेत्रका किसानहरुले आधुनिक भट्टी निर्माण तथा प्रविधिमा सहयोग गरेर उत्पादन बढाएको भए पनि बजारीकरणमा भने खासै चासो दिएको पाइँदैन । गुणस्तरीय उत्पादन भएको ठाउँमा व्यापारीहरु खोज्दै आउने तथा केही व्यापारीलाइ भने सम्पर्क गराएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले बताउनुभयो । कृषकहरुले उत्पादन गरेपनि गुणस्तरमा ध्यान नदिँदा बिक्री गर्न भने समस्या भएको उहाँको भनाइ छ । गाउँमा बाँझिएको खेतबारीमा वर्षमा १/२ पटक मिहिनेत गरेपछि राम्रो उत्पादन हुने, बाँदर तथा अन्य जन्तुले पनि क्षती नपु-याउने पाखो बुट्यानमा पनि खेती गर्न सकिने भएपछि किसानहरुले खेती विस्तारमा चासो देखाएका हुन ।
चितवन: स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् । उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरे । ‘यहाँ फालेको तरकारीमा किसानको पसिना मिसिएको छ, पसिनाको मूल्य पनि पाइएन’ तरकारी किसान लेखनाथ भुसालले भने, ‘हाम्रो दुःख र पसिना यसै गयो ।’ उनले सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको गुनासो गरे । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको भुसालले बताए । तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए । लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग उनीहरुले गरे । किसानहरुको प्रर्दशनका कारणले केहीबेर राजमार्गमा सवारी साधान सञ्चालनमा समस्या भएको थियो । किसानहरुले थप शशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

