पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

पोखरा:  बागलुङको तमानखोला गाउँपालिकाको ५ र ६ वडाको नर्जाखानी र खुङ्खानीमा लागेको भिषण आगलागीले ढोरपाटन शिकार आरक्षमा असर पर्ने भन्दै सांसद दिलमाया पौवीले नियन्त्रणका लागि सहयोग गर्न प्रदेश सभामा माग गरेकी छिन् ।  गण्डकी प्रदेश सभामा आजदेखि शुरु भएको पहिलो अधिवेशनको विशेष समयमा बोल्दै सांसद पौवीले आगो नियन्त्रण बाहिर जाँदा तमानखोलावासीसँगै ढोरपाटन शिकार आरक्षमा त्यसको प्रत्यक्ष असर पर्ने भन्दै आगलागी नियन्त्रण गर्न प्रदेश र केन्द्रिय सरकारको सहयोग माग गरेकी हुन् ।    बागलुङको तमानखोला गाउँपालिका ५ मा माघ १७ गते साँझ एक्कासी लागेको आगो अहिले ६ वडाको जंगलमा फैलिरहेको गाउँपालिका सूचना अधिकारी तिलबहादुर छन्त्यालले जानकारी दिए ।    ‘आगो कसरी लाग्यो भन्ने पत्ता लाग्न सकेको छैन्, ५ नम्वर वडामा एक्कासी लागेको आगो अहिले ६ नम्वर वडामा फैलिरहेको छ, सूचना अधिकारी छन्त्यालले भने, ‘ ५ नम्वरको वडा तर्फ भिर र जंगल नहुँदा आगो नियन्त्रण आएको छ तर ६ नम्वर वडा तर्फ जंगल र खर सुकेकाले नियन्त्रण गर्न सकेका छैनौं ।’ उनका अनुसार ढोरपाटन शिकार आरक्ष र तमानखोला गाउँपालिका ६ नम्वर वडाको जंगलसँग सिमाना जोडिएकाले आगो नियन्त्रण बाहिर जाँदा ढोरपाटन शिकार आरक्षमा त्यसको पर्नेछ ।  तमानखोला गाउँपालिका ६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले स्थानीयको सहयोगमा दुईदिन देखि आगो नियन्त्रण गर्न प्रयास गरेको जानकारी दिए ।  ‘दुईदिन देखि भिषण आगलागी भएको छ, नर्जाखानी र खुङखानीको बिचमा आगलागी भएको छ, वडाध्यक्ष छन्त्यालले भने, ‘स्थानीयसँगै दुईघण्टा समय लाग्ने स्थानबाट पानी बोकेर आगो नियन्त्रणको प्रयास गरेका छौं, सुरक्षाकर्मी तथा प्रशासनबाट सहयोग पाएका छैनौं ।’    

सोलुखुम्बु  : विश्व सिमसार दिवसको अवसरमा सगरमाथा क्षेत्रको सिमसार क्षेत्रको सरसफाइ गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले बिहीबार नाम्चे क्षेत्रको नदी तथा सिमसार क्षेत्रको प्लाष्टिकजन्य फोहोर संकलन गरिएको हो।    निकुञ्जका कर्मचारी,सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी),नेपाली सेना,नेपाल प्रहरी,स्थानीयलगायतको सहभागीतामा फुर्ते तथा नाम्चे क्षेत्रका खोला तथा नदी क्षेत्रको सरसफाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए ।   उनका अनुसार सो क्षेत्रबाट अन्दाजी २५ किलो प्लाष्टिकजन्य फोहोर संकलन गरि नष्ट गरिएको छ । साथै निकुञ्जले सिमसारको महत्व र संरक्षणको उपायबारे सचेतनामुलक कार्यक्रम समेत आयोजना गरेको थियो ।     

भक्तपुर : भक्तपुर सूर्यविनायक नगरपालिका-९, नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।    काठमाडौं थानकोट बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बुधबार साँझ ६ बजे  २१ वर्षीय भक्त नेपाली पक्राउ परेका हुन्।    उनलाई जबरजस्ती करणी कसुरमा पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। 

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ मा सीमित भएको छ ।   आजको कारोबारपछि ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव ३७ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ ।   नेप्सेका अनुसार कारोबार भएकामध्ये १९ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ९४ कम्पनीको शेयर मूल्य घटेको छ । साथै तीन वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।   आजको कारोबारमा कूल ५८ लाख ०८ हजार नौ सय तीन कित्ता शेयर रु दुई अर्ब नौ करोड ६४ लाख १९ हजार एक सय ६१ मूल्यमा कारोबार भएका छन् । कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब २२ अर्ब ५२ करोड ७६ लाख ८६ हजार ३१ पुगेको छ ।   नेप्सेका अनुसार कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क शीर्ष स्थानमा छ । कम्पनीको रु १० करोड १३ लाख ९१ हजार दुई सय ५२ बराबरको कारोबार भयो ।   एनआइसी एसिया बैङ्कको रु पाँच करोड ५० लाख ४० हजार एक सय ८३, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको रु चार करोड ९० लाख ९९ हजार सात सय ५१, अपि पावर कम्पनीको रु चार करोड ८४ लाख पाँच हजार तीन सय ९६ र चिलिमे जलविद्युत् कम्पनीको रु चार करोड ५८ लाख ३६ हजार पाँच सय पाँचमा शेयर कारोबार भई शीर्ष पाँचमा परेका छन् ।   नेप्सेका अनुसार आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सानिमा इक्विटी फण्ड तीन दशमलव १७, मल्टिपर्पोज फाइनान्स कम्पनी दुई दशमलव ९६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक दुई दशमलव ४४ र नविल ब्यालेन्स फण्ड तेस्रोको दुई दशमलव २० प्रतिशतले मूल्य बढेको  ।   त्यस्तै, सर्पोट माइक्रोफाइनान्स पाँच दशमलव ८०, सिद्धार्थ इन्स्योरन्स पाँच दशमलव २९, रिडी पावर कम्पनी पाँच १३, आइएमई जनरल इन्स्योरेन्स चार दशमलव ५५ र नाडेप लघुवित्तको शेयर मूल्य चार दशमलव ५३ प्रतिशतले घटेको छ ।

काठमाडौं: पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीहरूका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्थाका लागि चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको छ।    मौद्रिक नीतिको मध्यावधी समीक्षाका लागि ९ बुँदे सुझाव दिने क्रममा चेम्बरले २०८० असाढ मसान्तसम्म साँवा र ब्याजको पुर्नतालिकीकरण गर्नुपर्ने बताएको हो।    यसअघि उत्पन्न तरलता संकटसँगै चर्को ब्याजदरका कारण व्यवसायिक गतिविधी ठप्प प्राय रहेकाले अधिकांश ऋणीहरू समस्यामा परेको चेम्बरको ठहर छ।    मौद्रिक समीक्षामार्फत साँवा र ब्याजदरको पुर्नतालिकीकरण गर्न सकिए वित्तीय स्थायित्व कायम हुने चेम्बरले जनाएको छ। बैंक वित्तीय संस्थामा एकल दरको ब्याजदर कायम गर्न समेत चेम्बरले आग्रह गरेको छ।    यस्तै, चालु पुँजी कर्जा सम्बन्धमा साना ठूला दुबै खाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पुर्‍याइ उद्योग व्यवसाय क्षेत्रको आवश्यकता अनुसार उपयोग गर्न पाउनुपर्ने समेत चेम्बरले माग गरेको छ।   बैंक तथा वित्तीय संस्थाले बेस रेटमा लिने प्रिमियममा अधिकतम २ प्रतिशतसम्म कायम गर्न पनि चेम्बरले आग्रह गरेको छ।    राष्ट्र बैंकलाई चेम्बरले दिएको सुझावमा भनिएको छ, 'बेस रेटमा लिने प्रिमियम हाल ०.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म रहेको छ। सो असमान व्यवस्था हटाई अधिकतम २ प्रतिशतसम्म मात्रै बेस रेटमा प्रिमियम कायम गरिनुपर्ने।'   रेमिटेन्सलाई बैंकिङ च्यानलबाट मात्रै आउने वातावरण बनाउन आर्कषक प्याकेज ल्याउनु पर्ने समेत चेम्बरले सुझाव दिएको छ।  मौद्रिक नीतिको मध्यावधी समिक्षाका लागि चेम्बरको सुझावः १.आर्थिक वृद्धि र ब्याजदर सम्वन्धमा-दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न एकल अंकको ब्याजदर कायम गरिनुपर्ने।   २.चालु पुँजी कर्जा सम्बन्धमा-चालु पुँजी कर्जा सम्वन्धमा साना ठूला दुबैखाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पु¥याइ उद्योग व्यवसाय क्षेत्रको आवश्यक्ता अनुसार उपयोग गर्न पाउनुपर्ने।   ३. ब्याजदर सम्बन्धमा-विसं २०७९ पुस भित्रमा सावाँ र ब्याज तिर्न नसक्ने ऋणीहरूका लागि विसं २०८० असाढ मसान्तसम्म म्याद थप गरी पुर्नतालिकीकरण गरिनुपर्ने।   ४. प्रिमियम सम्वन्धमा-बेस रेटमा लिने प्रिमियम हाल ०.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म रहेको छ। सो असमान व्यवस्था हटाई अधिकतम २ प्रतिशतसम्म मात्रै बेस रेटमा प्रिमियम कायम गरिनुपर्ने।   ५. बै‌ंकदर सम्बन्धमा-वित्तीय स्थायीत्वका लागि बैंकदरलाई ५ प्रतिशत कायम गरिनुपर्ने।    ६. बेस रेट सम्बन्धमा-अर्थतन्त्रका नकारात्मक सूचकहरूलाई सुधार गर्न एवं महँगी वृद्धि नहुने गरी बेस रेट कायम हुनुपर्ने।   ७. रेमिटेन्स प्रवर्द्धन सम्बन्धमा-रेमिटेन्सलाई बैकिङ च्यानलबाट मात्रै आउने वातावरण बनाउन आर्कषक प्याकेज ल्याइनुपर्ने।   ८.मूल्यांकन सम्बन्धमा–आयात निर्यात हुने वस्तुको मूल्यांकन सम्बन्धी विश्लेषण बैंकिङ क्षेत्रको दायराबाट हटाईनुपर्ने।   ९. अनौपचारिक क्षेत्रमा रहेको पुँजी सम्बन्धमा-अनौपचारिक अर्थतन्त्रमा रहेको पुँजीलाई बैंकिङ प्रणालीमा ल्याउन विशेष नीति अवलम्बन गरी अर्थतन्त्रलाई चलायमान बनाइनुपर्ने। 

काठमाडौं:  आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् ।   बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताइन् । बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ ।   गृहजिल्ला इलाममा श्रीमान्को दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन् । “मेरो श्रीमानले मलाई पैसा आवोस भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन । अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ”, उनले भनिन् ।   उनले भनिन् “मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रुपमा आग्रह गरेको छैन । सहयोगी मनबाट सहयोग स्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ ।”   उनले आफनो गोपनियता भंग गर्ने बैंक र कर्मचारीलाई काठमाडौँमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन् ।सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमइ बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिीन सटहरु पोस्ट भइरहेको छ ।   अधिकारीले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको विषयमा जानकार भएको बताइन्। “हिजो (बुधबार) सांसदहरुले उठाउनु भएको विषयमा थोरै जानकार छु । सांसद मोहन बस्नेतले काठमाडौँमा केही समयअघि रोजगारी र नानीहरुको शिक्षामा सहयोग गर्ने आश्वासन दिनुभएको थियो”, उनले भनिन् । सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उनको भनाइ छ ।   इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उनले बताइन् । उनका अनुसार केही दिनअघि प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयको प्रतिनिधिको रुपमा आएर आफ्नो मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।   अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग त्यही बेला बैंक खातामा जम्मा भएको रकमबारे सूचना बाहिर गइरहेको जानकारी गराएकी थिइन् । सरकारबाट सहयोग गर्ने आश्वासन पाएपछि आफू सकारात्मक भएको उनको भनाइ छ ।   श्रीमान् प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने वित्तिकै काठमाडौँ आउने बताइन्। उनले भनिन्, “उनलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु । उनलाई शहीद घोषणा गर्न माग पनि गरेकी छु ।”

पोखरा:    गण्डकी प्रदेशका सांसद जीत बहादुर शेरचनले गण्डकी प्रदेशले शुरु गरेको उज्यालो प्रदेश योजना कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् ।  गण्डकी प्रदेश सभामा आजदेखि शुुरु भएको पहिलो अधिवेशनको विशेष समयमा बोल्दै सांसदले यस्तो प्रश्न गरेका हुन् ।  ‘पाँच वर्षका लागि निर्वाचित हामीलाई प्रदेशका जनताले हेरी रहेका छन्, ३५ दिन खेर गएको छ, शेरचनले भने, ‘यो भन्दा अघिल्लो ५ वर्षमा पनि कति काम भए जनताले हेरी सके, प्रदेशले अगाडी सारेका एक घर एक धारा अभियान कहाँ पुग्यो, एक निर्वाचन क्षेत्र एक सडक, कुन क्षेत्रमा कति काम भए हेरौ, बागलुङको कुनै क्षेत्रमा कामै शुरु भएको छैन, कसरी विकास हुन्छ ?’ उनले टुर्के बजेटमा कस्तो काम भएको छ भनेर कसैले पनि हेर्न नखोजेको भन्दै यसरी विकास सम्भव नभएको भन्दै गण्डकी प्रदेशले शुरु गरेको उज्यालो प्रदेश कहाँ पुग्यो थाहा नभएको धारणा राखे ।  सांसद शेरचनले पत्रिका आएको समाचारको हेडलाइन भन्दै भिमाद देखि नवलपुर जाने राष्ट्रिय गौरवको आयोजना ८ प्रतिशत मात्र काम भएको भन्दै यसरी विकास सम्भव हुँदैन ५/६वर्ष लगाएर पनि पूरा नहुने योजना पूरा गर्न संसदमा छलफल हुन आवश्यक रहेको छ ।  उनले ठेकेदारको लापरवाहीले योजना अलपत्र परेको बताउँदै अव कारवाही र नियमन गर्न शुरु गर्न माग गरे । ‘कर्मचारीले काममा ढिलासुस्ती गरे, डाक्टरले भन्छ प्रदेश खत्तम भयो काम भएन, नागरिकको त्यही आवाज छ, अब यसलाई चिर्दै प्रदेशको समृद्धिको लागि सबै एकजुट भएर अगाडी बढ्नको विकल्प छैन ।’ सांसद शेरचनले भने ।  सांसद शेरचनले सरकारको समिक्षा गर्ने समय नआएको भन्दै अब  अघिल्लो सरकारले शुरु गरेको एक घर एक धारा, उज्यालो प्रदेश अभियान, प्रदेशको समृद्धिको लागि अगाडि बढ्न आवश्यक रहेको धारणा राखे ।  गण्डकी प्रदेश सभाका सांसद जीत बहादुर शेरचन बागलुङ क्षेत्र नम्बर २ (१) बाट नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।   

काठमाडौं:  कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए । ‘कोहलपुरबाट पक्राउ गरेर जिल्ला अदालत कैलालीतर्फ लगिदैछ” उनले भने । अदालतको उक्त आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो । २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए । कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए । चालक साजन चौधरीले उनीहरुले नै आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान दिएका थिए । जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालीन मुलुकी ऐन बमोजिम मुद्दा परे पनि आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएनन् । जिल्ला अदालतले ‘कसूर अपराधलाई स्वीकार गरी बसेको’ ठहर गर्‍यो र उनीहरुलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसूर गरेको ठहर गर्‍यो । ९ वैशाख २०७० मा नै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीलाई ६र६ महिनाको दरले कैद सजाय तोकियो । क्षति भएको ८ लाख १९ हजार रुपैयाँ तीन जनाबाट भराउने आदेश भयो । फैसला भएको एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको छ ।

तनहुँ:  तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडिएको छ ।    सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको मंगलबार छिचोलिएको आयोजनाको निमित्त प्रमुख राजाभाइ शिल्पाकारले जानकारी दिनुभयो ।   शिल्पाकारले भन्नुभयो, ‘‘जटिल र महत्वपूर्ण यो काम पूरा हुँदा निकै खुुुसी लागेको छ, व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायी रुपमा प्रयोग सकिनेछ ।’’   आयोजनाको निर्माण सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सकिने उहाँले जानकारी दिनुभयो । प्रवेश सुरुङ ब्रेक थ्रु भएपछि अब सेदी नदीको बायाँतर्फबाट हुने निर्माण कार्यका लागि निर्माण सामग्री तथा उपकरणहरु लैजान र आवतजावतका लागि सहज भएको छ ।   आयोजनाको पहिलो प्याकेज अन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न २८ फागुन २०७८ मा पहिलो विस्फोट गराइएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थको अभावका कारण करिब ४८ दिन काम रोकिएको थियो । सुरुङ निर्माणका लागि अन्तिम विस्फोट मङ्गलबार गरिएको हो ।    आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रा. लि. नेपाल जे. भी.ले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङहरु, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् ।   कुल ५३९.८ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१को ब्रेक थ्रु भइसकेको छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ ।    आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको कार्य केइसी, भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।    कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।