पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले बर्दिया निकुञ्जबाट ल्याएर १० वटा गोही (घडियाल) बाँकेको राप्ती नदीमा छोडेको छ । सिमसार दिवसको अवसरमा बर्दियाबाट ल्याइएको गोही लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले बिहीबार राप्तीसोनारी गाउँपालिका –१ स्थित राप्ती नदीमा छोड्नुभयो ।    सो अवसरमा बोल्दै मन्त्री केसीले सिमसार क्षेत्रको पुनर्स्थापना आजको प्रमुख आवश्यकता भएको जनाउँदै सोही उद्देश्यले राप्ती नदीमा १० वटा घडियाल छाडिएको बताउनुभयो । यसबाट प्रकृति, प्राणी, मानव जीवन र समग्र इको सिस्टममा यसले सन्तुलित भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको जनाउँदै उहाँले सिमसारले विभिन्न दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान दिनुका साथै जलस्रोत संरक्षण, बहाव र गुणस्तर कायम राख्ने बताउनुभयो ।    उहाँले भन्नुभयो, ‘सिमसार एक गतिशील, विविधतायुक्त उर्वर पारिस्थितिक प्रणाली हो । यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणालीको अंश हो । यसको संरक्षण अति नै आवश्यक छ ।    मानव जीवनका लागि सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व बढाउन र जैविक विविधताको दिगो व्यवस्थापन गरेर राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा योगदान गर्न सिमसारले स्रोतका रूपमा काम गरिरहेको बाँके राष्ट्रिय  निकुञ्जले जनाएको छ ।    निकुञ्जका अनुसार नेपालको करिब सात लाख ५० हजार हेक्टर भूभाग सिमसार क्षेत्रले ओगटेको छ भने नौ वटा सिमसार क्षेत्र अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत रहेका छन् ।    घडियाल राप्ती नदीमा छोड्ने कार्यक्रममा निकुञ्जका प्रमुख श्याम साह, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकृतलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।    यसअघि बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा आजको आवश्यकता सिमसारको पुनः स्थापन भन्ने नारासहित एक अन्तरक्रिया पनि आयोजना गरिएको निकुञ्जले जनाएको छ । सहरी प्रदूषण र अतिक्रमण, गिटी–बालुवाजस्ता प्राकृतिक स्रोत–साधनको तीव्र दोहन र मानवीय जीवनचर्याको अति निर्भरताका कारण सिमसार क्षेत्र मासिँदै गएको छ । 

काठमाडौँ:  ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता नूतन श्रेष्ठ थाइल्यान्ड उडेका छन् । थाइल्यान्डमा आयोजना हुने ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्न उनी बुधबार साँझ थाइल्यान्ड उडेका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गर्न आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत पुगेका थिए ।   ‘मिस्टर ग्लोबल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए ।  श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाएको हो । यो बर्ष ‘मिस्टर वर्ल्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाइएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।   फब्रुअरी २ (आज)देखि १२ तारिकसम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगिता उनी नेपाली कला संस्कृति सहित सहभागी हुनेछन् । करिब ६० बढी देशका पुरुषहरूको सहभागिता रहने ‘मिस्टर ग्लोबल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ ।   श्रेष्ठ ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ का विजेता पनि हुन् । ‘मिस्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ वर्षका श्रेष्ठले ३५ प्रतिप्रर्धिलाई पछि पार्दै उपाधि चुमेका थिए । ‘मिस्टर ग्लोबल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए । 

काठमाडौँ:  वाङछु शेर्पाको अध्यक्षतामा ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । बुधवार काठमाडौँमा सम्पन्न चौथो अधिवेशनबाट शेर्पाको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।    समितिमा प्रथम उपाध्यक्ष सोनाम याङजी शेर्पा, द्वितीय आङदोर्जी शेर्पा, महासचिव आङपेम्वा शेर्पा, मिङमा डोमा शेर्पा कोषाध्यक्ष नुर्वु छिरिङ लामा, सह–कोषाध्यक्ष तिलक थापामगर रहनुभएको छ ।   यता सदस्यहरुमा ङिमा वाङ्छु, दावा जङबु शेर्पा, ङवाङ डोमा, वङ्छु शेर्पा, सवितकुमार लामा, रुजन न्यौपाने र प्रीति राई सदस्य रहनुभएको छ । 

काठमाडौँ:  सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । बिहीबार तोलामा १२ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो ।  अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

काठमाडौंँ:  अभिनेत्री प्रियंका कार्की ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरीमा छनौट भएकी छन् । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले फिचर चलचित्र तर्फको जुरी सदस्यमा उनलाई छनोट गरेको हो ।  प्रियंकासँगै माया एकेडेमीका इन्द्रलाल बलामी पनि जुरीमै मनोनित भएका छन् । बलामी छोटा चलचित्र र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।   प्रियंका दर्जनौं फिल्म अभिनय गरेकी चर्चित अभिनेत्री हुन् भने इन्द्रलाल माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक हुन् । उनले फिल्मको प्राविधिक पक्षलाई स्तरीय बनाउन तारिफ योग्य भूमिका निर्वाह गर्दै आएका छन् ।   आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) यस वर्ष ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना हुने नेपाल फिल्म एण्ड कल्चर एकडेमीले अध्यक्ष केपी पाठकले बताए ।  

वीरेन्द्रनगर:  कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान थालेको छ । मातहतका दश जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न अभियान थालेको प्रहरीले जनाएको छ।   सुरक्षित यात्राका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरीले चेक पोष्टहरुमा कम्तिमा ५ मिनेट भित्र सचेतना दिने, सवारी साधन अवस्था चेकजाँच गर्ने, प्रहरीप्रति जनताको अपेक्षा तथा सुझावको बारेमा जानकारी लिने,  गुनासो सुन्ने, सवारी चालकसँगै यात्रुहरुलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम, सुरक्षा सावधानी सिकाउनेलगायतका कुराहरू जानकारी गराउने गर्दछन्।    कर्णाली प्रदेश गर्ने मुख्यद्वार बबईमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी तथा सुचना अधिकारी माधवप्रसाद श्रेष्ठ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख (एसपी) प्रज्वल महर्जनले चालक तथा यात्रुसँग सामूहिक रुपमा सुरक्षित यात्राका बारेमा जनचेतना दिएका थिए।    प्रहरीले कर्णाली प्रदेशभर दुर्घटनाको दर बढ्दै गएपछि सवारी दुर्घटना न्युनीकरण गर्न सुरक्षा सचेतना कार्यक्रम गरेको जनाईएको छ। प्रदेशभर सुरक्षित यात्रा कार्यक्रम लागु गरिएको र जसमा प्रहरीले यात्रु र चालकलाई गाडीमै सुरक्षा सचेतना दिने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए।

जाजरकोट:  जाजरकोटमा हत्या भएको पाँच वर्षपछि मानव कङ्काल फेला परेको छ । भेरी नगरपालिका सिस्नेरीका ४७ वर्षीय काले कामीको मानव कङ्काल फेला परेपछि हत्या आरोपमा श्रीमती भद्धकला लुहार कामी र छोरा तुलसीराम बिक लाई प्रहरीले पक्राउ गरेको हो ।    भेरी नगरपालिका ६ सिस्नेरी बस्ने काले कामीको २०७४ पुस ३० गते श्रीमतीले हत्या गरी घरको छेउमा रहेको शौचालयको सेफटी टङ्कीमा गाडेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा २०७९ साल माघ १७ गते  श्रीमती भद्धकला लुहार कामी र कान्छो छोरा तुलसीराम विकलाई प्रहरीले पक्राउ गरेको छ ।   श्रीमान् श्रीमती बिच सामान्य विवाद हुँदा मृतक कामीले श्रीमतीलाई लट्ठीले हान्न खोज्दा उक्त लाठी खोसी श्रीमतीले श्रीमानको टाउको लगायत शरीरका विभिन्न भागमा  लट्ठीले प्रहार गर्दा बार्दलीबाट खसेर कामी घाइते भएका थिए ।   घाइते अवस्थामै तल झरी  श्रीमतीले पुन लट्ठी प्रहार गरी गम्भीर घाइते भएका श्रीमानलाई छोराहरूको सहयोगमा घरको माथिल्लो कोठामा लगी छाडी छिमेकीको घरमा बास बसेका थिए । भोलिपल्ट बिहान घरमा आएर हेर्दा श्रीमानको मृत्यु भएको देखेपछि बेलुका झिसमिसे अँध्यारोमा छोराहरूको सहयोगमा डोरीले बाँधेर घिसादैै घर नजिकैको शौचालयको खाल्डोमा हाली ढुगा माटोले पुरेको अवस्थामा पाँच वर्षपछि  शौचालयको सेप्टी टङ्की उत्खनन गर्दा प्रहरीले मानव कङ्काल, लेखिएको ज्याकेट, डोरी फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले जानकारी दिनु भयो ।    श्रीमान्,श्रीमती बिच सामान्य विवादले ठुलो रूप लिएपछि श्रीमतीले श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । श्रीमती भद्धकला कामी र कान्छो छोरा तुलसीराम बिक पक्राउ परेका छन् । पक्राउ परेका आमा छोरालाई जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ भने हत्यामा संलग्न माइलो छोरा तिलक विक, साइँलो छोरा गोविन्द विक फरार रहेकाले खोज कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख निरौलाले बताउनु भयो । 

तनहुँ:  नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीसहितको जनप्रतिनिधिहरू सम्मिलित एक उच्च स्तरीय टोलीले निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेको छ ।    आयोजना निरीक्षणका क्रममा सांसद भण्डारीले तनहुँ हाइड्रो राष्ट्रिय गौरवको आयोजना भएको हुँदा निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभयो । देशमा सुक्खायाममा हुने ऊर्जा सङ्कट समाधान गर्न प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर काम अगाडि बढाउन उहाँले निर्देशन दिनुभएको हो ।    सोही अवसरमा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आलेले आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका समस्यालाई सम्बोधन गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले स्थानीयलाई मुआब्जा उपलब्ध गराउने विषयदेखि आयोजनाका काम अगाडि बढाउँदा स्थानीयलाई कम असर गर्ने गरी काम सूचारु गर्न आग्रह गर्नुभयो । त्यस्तै व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले प्रभावित क्षेत्रका मागलाई सम्बोधन गर्ने विषयमा आयोजनाले ध्यान दिनुपर्ने बताउनुभयो । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आयोजनाले सामाजिक उत्तरदायित्वका काम समानुपातिक ढङ्गले नगरेको र रोजगारी उपलब्ध गराउने विषयमा समेत स्थानीय तहहरूसँग समन्वय नगरेको हुँदा आगामी दिनमा त्यसलाई सुधार गर्न जरुरी रहेको बताउनुभयो ।   वि.सं. २०६२ मा पहिचान भएको र वर्षैभरि १४० मेगावाट विद्युत् उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको क्षेत्रभित्र ऋषिङ गाउँपालिका १, ६ र ७ गरी तीनवटा वडा, म्याग्दे गाउँपालिकाको १, २, ३, ४, र ५ गरी पाँचवटा वडा, व्यास नगरपालिकाको वडा नम्बर ५, भिमाद नगरपालिकाको ५ र ६ पर्दछ ।    आयोजनाको लम्बाइ करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर रहेको छ । त्यस्तै जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहनेछ । सो आयोजनाको बाँधस्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्क्रिट बाँध बनाइनेछ ।  

बुटवल: बुटवलमा देशभरका ११ वटा उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।    बुटवलमा बुधवार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरूका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो ।   पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका उपमहानगरका बिचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरूपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो ।   माघ २१ र २२ गते हुने सम्मेलनमा देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहनेछ ।    उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करिब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने उहाँले बताउनुभयो ।    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले उपमहानगरहरूका बिचमा आपसी समन्वय र सहकार्यको उद्देश्यका साथ सम्मेलन हुने र यसले देशलाई नै लाभ हुने बताउनुभयो । उहाँले स्थानीय सरकारहरू साझा मुद्दा लिएर एकसाथ अघि बढ्ने बताउनुभयो ।   कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिएको बताउनुभयो ।