पोखरा: गण्डकी प्रदेशका नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनियताको समथ ग्रहण गरेका छन । गण्डकी प्रदेशको नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. गिरिधारी पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । यस्तै योजना आयोगका उपाध्यक्ष गिरधारी पौडेलले योजना आयोगका सदस्य डा.सुवास अधिकारी र डा.शान्ता कुमारी खत्रीलाई सपथ गराएका हुन् ।
दमौली: तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो । अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो । केही वर्षयता पुनः बन्दीपुरमा सुन्तला उत्पादनमा वृद्धि हुन थालेको गाउँपालिकाका कृषि शाखाप्रमुख सुलभ अधिकारीले जानकारी दिनुभयो । “सुन्तला उत्पादनमा वृद्धि गराउन गाउँपालिकाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरेपछि त्यसको प्रतिफल देखिन थालेको छ,” उहाँले भन्नुभयो । केही वर्षयता गाउँपालिका लगायतका विभिन्न निकायबाट सुन्तला पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रममार्फत उक्त भाइरसको निदान गरी सुन्तला जोगाउन थालिएको छ । बन्दीपुर–३ स्थित रामकोट, तामुङडाँडा, वडा नं ५ को झारगाउँ, फलामडाँडा र ६ को काफलस्वाँरा, लखनबारी, घमलछाप, आँङटारीलगायत ठाउँहरु सुन्तला खेतीको पकेट क्षेत्र हुन् । बर्सेनि व्यावसायिक रूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष बन्दीपुरमा मात्रै एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जसको बजार मूल्य करिब रु एक करोड बराबर रहेको गाउँपालिका कृषि शाखाप्रमुख अधिकारीले बताउनुभयो । काफलस्वाँरा कृषक समूहबाट मात्रै करिब छ सय क्विन्टल सुन्तला उत्पादन भएको समूहका अध्यक्ष धनराज गुरुङले जानकारी दिनुभयो । बन्दीपुर मध्यपहाडी क्षेत्रमा पर्ने हुँदा यो क्षेत्र सुन्तला उत्पादनका लागि उत्तम ठाउँ मानिएको छ । यहाँको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्ष पहिले बोटमा किरा लाग्यो, उपचार पाएनन् त्यसले गर्दा उत्पादनमा कमी आयो, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो ।” उहाँका अनुसार अघिल्लो वर्षका तुलनामा यस वर्ष २५ प्रतिशतले बढी उत्पादन भएको छ । बन्दीपुरका ग्रामीण क्षेत्रमा सुन्तला उत्पादनका लागि सुन्तला जोन घोषणा गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । “व्यावसायिक रुपमा सुन्तला खेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाउँछाँै”, उहाँले भन्नुभयो ।
काठमाडौं: छापावाल सुनको मूल्य ५०० ले बढेको छ। आज ५०० सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भएका थियो। यसदिन ५०० सयले बढेर १ लाख ६ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० पुगेको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
भक्तपुर: मोटरसाइकलको लाइसेन्स ट्रायल दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट अर्कैको नाममा ट्रायल दिने परीक्षार्थी पक्राउ परेका छन्। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउपालिका–५ बस्ने वर्ष २५ का युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। दोलखा गौरीशंकर गाउँपालिका–५ घर भई हाल भक्तपुर दधिकोट बस्ने वर्ष २३ को देवबहादुर श्रेष्ठलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरी सहायक हवल्दार भुपेन्द्र कार्कीको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए। वास्तविक परीक्षार्थी खड्कालाई पनि अनुसन्धान गर्न हिरासतमा राखिएको छ।
धनगढी: कैलालीबाट विभिन्न किसिमका लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी त्रिनगरको टोलीले मंगलबार लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेहरुमा १८ वर्षदेखि ३३ वर्षसम्मका युवा–युवती रहेको जानकारी दिए । कैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने ३३ वर्षीय हिक्मत साउदलाई ४ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर, सोही ठाउँका १९ वर्षीय खेम साउदलाई ७९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको डीएसपी जोशीले बताए । यस्तै धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीय प्रदिप गोतामे र १९ वर्षीय अनिष अछामी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ६५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–१ बस्ने १९ वर्षीया अन्जु कुरेसीको साथबाट १९ क्याप्सुल स्पास्मो प्रोक्सिमन, सोही ठाउँ बस्ने २१ वर्षीय विज्ञान बस्नेतको साथबाट १ ट्याब्लेट नाइट्रोभेट बरामद गरिएको छ भने कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बस्ने १९ वर्षीय सागर नेगी र कृष्णपुर नगरपालिका–५ बस्ने २३ वर्षीय आभास ऐर पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट १ सीसी कोरेक्स नामक लागुऔषध बरामद गरिएको छ । लागुऔषधसहित पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।
धनुषा: धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका ६ मध्ये तीन थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका ६ का रोशनकुमार महतो छन् । अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो । गत आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । तीन जना पक्राउ परेको र बाँकी तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सर्च अपरेशन चलाई खोज तलास जारी राखेको प्रहरीको भनाइ छ ।
घोराही: बङ्गलाचुली गाउँपालिका–८, पाँचपोखरी निवासी १७ वर्षीया पशुपति सोमई आमा बन्नुभएको डेढ वर्ष भयो। माध्यमिक विद्यालय जबरकोटमा कक्षा ९ अध्ययन गर्ने क्रममा गाउँकै एक किशोरसँग मायाप्रेम बसेपछि पशुपतिले १४ वर्षको उमेरमा विवाह गर्नुभएको थियो। विवाह भएपछि नयाँ घरको बुहारी बन्नुभएकी पशुपति घरको काममा लाग्न थल्नुभयो। तर, उहाँसँगैका साथीहरू भने पढ्दै गरेका थिए। “साथीहरू पढ्दै छन्, उनीहरूले पढेको देख्दा रहर लाग्छ,” उहाँले भन्नुभयो, “तर मैले विवाह गरेपछि घरको काममा लागेँ, पढ्न सकिनँ।” त्यसैमा पछिल्लो समय बच्चासमेत भएकाले थप समस्या हुन पुग्यो। सुरुमा रहरमै विवाह गरे पनि अहिले पढेको भए हुन्थ्यो झैँ लाग्ने गरेको उहाँले बताउनुहुन्छ। बङ्गलाचुली–८, हाँसीपुरकै भुमा दर्लामी पनि १८ वर्षको उमेरमा आमा बन्नुभयो। तीन वर्षअघि भागी विवाह गर्नुभएकी भूमासँग अहिले आठ महिनाको बच्चा छ । कक्षा १० मा पढ्दै गर्दा भागेर विवाह गर्नुभएकी भुमाले पनि पढाइ छोड्नु परेको थियो। श्रीमान् कमाउनका लागि छिमेकी देश भारत गएपछि भूमालाई बच्चासँगै घर व्यवस्थापनको समेत जिम्मेवारी थपियो। त्यसमाथि सासुससुराको हेरचाह गर्नुपर्ने जिम्मेवारी पनि उहाँमाथि नै आइप(यो। पशुपति र भूमा मात्रै होइन, पछिल्लो समय यस जिल्लाको विकट क्षेत्र बङ्गलाचुली गाउँपालिका–८ का अधिकांश किशोरी १४ देखि १६ वर्षकै उमेरमा विवाह गर्ने गरेका छन्। किशोरी उमरमै विवाह गर्नेहरूको सङ्ख्या बढ्दो गतिमा रहेको हाँसीपुर स्वास्थ्य चौकी इन्चार्ज देवीमाया बुढामगर बताउनुहुन्छ। उहाँका अनुसार स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न २० वर्षमुनिका गर्भवती किशोरीको सङ्ख्या बढी नै हुने गरेको छ । विवाह गर्ने उमेर महिलाका लागि २० भने पनि अधिकांशले १५र१६ वर्षकै उमेरमा विवाह गर्ने र २० वर्षअघि नै दुईदेखि तीनवटासम्म बच्चा जन्माइसक्ने गरेको इन्चार्ज बुढाले बताउनुभयो। विवाह गरेपछि सानै उमेरमा बच्चा जन्माउने गरेका कारण स्वास्थ्यमा समस्यासँगै अधिकांश विवाहित किरोशीले पढाइ छोड्ने गरेको उहाँले बताउनुभयो। “विवाह गरेर पढ्नेहरू गाउँमा देखिँदैन, अधिकांशले पढाइ छोडेका छन्,” उहाँले भन्नुभयो, “गाउँमा अहिले पनि विवाहपछि पढ्नुपर्छ भन्ने सोच छैन। विवाहित बुहारीले घरकै काम गर्नुपर्छ भन्ने मात्रै सोचिन्छ।” सानो उमेरमा विवाह गरेर बच्चा जन्माउँदा आमा र शिशुको स्वास्थ्यमा समस्या देखिने गरेको छ। बाल विवाह गर्ने धेरै भए पनि आधिकारिक तथ्याङ्क भने पालिकासँग छैन। विवाह गरेर किशोरी घरको काममा लाग्ने र श्रीमान् कमाउनका लागि विदेश जाने हुँदा गाउँका अधिकांशले स्कुल तहमै पढाइ छोड्ने गरेको हाँसीपुरका स्थानीय गोपालसिंह गाहामगर बताउनुभयो। “विवाह गरेपछि खर्च बढ्ने गर्छ, त्यसैले केटाहरू कमाउनका लागि बाहिर जाने गर्छन्,” उहाँले भन्नुभयो, “केटीहरू भने घरको काममा लाग्ने गर्छन्, जसका कारण उनीहरूको पढ्ने उमेर खेर जाने गरेको छ ।”
काठमाडौँ: बालबालिकामा निहित अभिनयलगायत विविध क्षमता प्रस्फुटनका लागि मञ्च प्रदान गर्ने लक्ष्यले फागुन १ देखि ७ सम्म राष्ट्रिय बालनाटक मेला आयोजना गरिने भएको छ। नाट्यकर्मी महासङ्घद्वारा आयोजना गरिने यस मेलामा सहभागी भएर उत्कृष्ट अभिनयलगायत विविध विधामा एक लाख रुपियाँ र अन्य २० विधामा पुरस्कार प्रदान गरिने महासङ्घले जनाएको छ। नाटक मेलामा सहभागिताका लागि देशभरबाट नाटक आह्वान गरिएको छ। मेलामा सहभागिताका लागि प्राप्त नाटकबाट अन्तिम प्रतिस्पर्धाका लागि २० वटा नाटक छनोट गरी मञ्चन गरिनेछ।
पोखरा: नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गर्ने निर्णय गरकोे छ । आज (मंगलबार) पोखरामा बसेको क्यानको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक सदस्यले बताए । ‘सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय बैठकले गरेको छ,’ ती सदस्यले भने । बलात्कार आरोप लागेपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको थियो । सन्दीपलाई पुष २९ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न दिएको थियो ।

