बागलुङ: बागलुङबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार आठ सय ३६ विद्यार्थी सहभागी हुने छन् । कक्षा १० को पठन पाठनमा परीक्षाका लागि आवश्यक हाजिरी पुर्याएका नियमिततर्फ चार हजार ५४४, ग्रेडवृद्धिमा ६२ जना र प्राविधिक धारका २३० विद्यार्थी परीक्षाका लागि योग्य भएका हुन् । परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको न्यूनतम ७० प्रतिशत हाजिरी हुनुपर्छ । शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायका अनुसार धौलागिरि बहिरा आवासीय मावि र शान्ति मावि कुश्मिसेरामा कम्प्युटर इन्जिनियर, धौलागिरि वीरेन्द्र माविमा भेटेरिनरी, भिमसेन मावि विहुँमा सिभिल इन्जिनियरिङ, गल्कोट मावि र त्रिभुवन माविमा कृषि विषयको पठन पाठन भइरहेको छ । जिल्लाको ६ वटा माध्यमिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक सञ्चालन गर्दा प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको उपाध्यायको भनाइ छ । बागलुङमा सामुदायिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक विषयमा पठन पाठन गर्दै आएका छन् । यस जनताधन माध्यमिक विद्यालयबाट तीन जना दृष्टिविहीन र धौलागिरि बहिरा विद्यालयबाट १८ जना बाहिरा विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत विदुर शर्मा चापागाईँले जानकारी दिनुभयो । परीक्षा सञ्चालनको लागि गत वर्ष ३१ वटा केन्द्र निर्माण गरिएको थियो । यो वर्ष पनि त्यही सङ्ख्यामा परीक्षा कायम रहने छ । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरेको छ ।
पोखरा: एबिसी टेलिभिजनका गण्डकी ब्यूरो प्रमुख एम बि आस्थामगरलाई तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकीको दोस्रो प्रदेश अधिवेशनको अवसरमा संचारकर्मी तथा गायक स्वं सुवेदीको स्मृतिमा स्थापित सो पुरस्कारबाट आज (सोमबार) पुरस्कृत भएका हुन् । उनलाई कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका संस्थाका केन्द्रीय अध्यक्ष रमेश बिजीले सम्मानपत्र, दोसल्ला तथा नगद राशी अर्पण गरे । सो अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष बिसीले कलाकारलाई देशको गहना भएतापनि अहिलेसम्म स्तरीय सम्मान दिन नसकेको बताए । उनले लोक तथा दोहोरीगीतको विकासका लागि कलाकारसंबद्ध संस्थाले मात्रै नभएर सरकारी निकायले पनि ध्यान दिन आवश्यक रहेको धारणा राखेका थिए । प्रतिष्ठानले सोही कार्यक्रमकाबीच विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्व तथा अग्रज कलाकारहरुलाई सम्मान प्रदान गरिएको थियो । सो कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुर्षाेत्तम न्यौपाने, प्रजापति पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए । पुरस्कृत आस्थामगर विगत २ दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशिल छन् भने नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) का गण्डकी प्रदेश इन्जार्चसमेत हुन् ।
काठमाडौँ: नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकविरुद्ध प्रदर्शन गरेको छ । सोमवार काठमाडौँको माइतीघर मण्डलामा महासंघले बैंकको चर्को ब्याजदर र आतंक गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोसाक व्यवसायी संघ, नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माइतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको तथा बैंक तथा वित्तीय संस्थाहरूले आतंक फैल्याउँदा व्यवसायीहरू पीडित भएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको व्यवसायीहरूले बताए । महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरूलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गर्दै सडक आन्दोलन गरिएको बताए । उनले दुई वर्ष अगाडि ८ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पुर्याएकाले व्यवसायीहरू मर्कामा परेको बताए । उनले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेको बताए । उहाँले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेकाले आन्दोलन गर्नुपरेको जिकिर गरे । त्यस्तै, महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई लामो समयदेखि आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदा समेत व्यवसायीहरूका माग पूरा नगरेकाले बाध्य भएर सडकमा आएको बताए । उनले बैंकहरुले ब्याजदर बढाएर आतङ्क मच्चाएकाले बैंकको आतङ्क रोक्नुपर्ने माग राखेर आन्दोलन गरिएको जिकिर गरे । उनले व्यवसायीहरूको लागि वैज्ञानिक भाडादर लागू हुनुपर्ने बताए । उनले व्यवसायीहरूले उठाएका मागहरू सरकारले तत्काल सम्बोधन नगरे मुलुकभरका उद्योगी व्यवसायीहरूले उद्योग व्यवसायीको चाबी सरकार र राष्ट्र बैंकलाई बुझाउने बताए । उनले सरकारले उद्योगी व्यवसायीहरूलाई समेत राहदानी बनाएर विदेश पठाउने नीति लिएको आरोप लगाए । त्यस्तै,महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीहरुबीच साथीको सम्बन्ध हुनुपर्ने भए पनि गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको आरोप लगाइन् । उनले बैंकहरुले २० करोडको धितोलाई १० करोडमा लिलाम गर्ने प्रवृत्ति लिएको बताइन् । खड्काले घरजग्गा बैंकहरुलाई जिम्मा लगाउनको लागि व्यवसायीहरूले व्यापार व्यवसाय नगरेको बताइन् ।
काठमाडौं: नेप्सेको तीव्र गिरावटको यात्रा पुनः सुरु भएको छ । ३२ सयको उच्च विन्दुमा पुगेर १८ सयमा झरेर पुनः उकालो लाग्दै गरेको नेप्से सूचक केही दिनयता फेरि घट्न थालेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से सूचक ४१.०१ अंकको गिरावट आउँदै २१२७.५२ अंकमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले घटेको नेप्से सूचक २१६८ अंकमा अडिएको थियो । यद्यपि, नेप्सेमा तीव्र गिरावट आएपनि अघिल्लो दिनको तुलनामा आज कारोबार भने केही बढेको छ । अघिल्लो दिन आइतबार ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा आज सोमबार ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै नेप्सेका उपसूचकहरु ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.६१ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको ३.४२ प्रतिशतले अन्य समूहहरुको उपसूचक क्रमशः १ देखि २.८९ प्रतिशतसम्मले घटेका छन् । यद्यपि, आज दुईवटा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी ली। र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बेंसीसहर: लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थललाई ऐतिहासिक एवं पर्यटकीय स्थलका रूपमा विकास गर्ने भएको छ। मर्स्याङ्दी गाउँपालिका–३ ढँगैबेँसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्ण गरी ऐतिहासिक रूपमा विकास गर्ने भएको हो। पर्यटन प्रववर्द्धनसँगै ऐतिहासिक स्थलको संरक्षणमा लागिपरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए। गाउँपालिकाले उक्त स्थलको संरक्षण र विकासका लागि प्रेमबहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय ‘राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थल स्मृति केन्द्र’ गठन गरिएको छ।
काठमाडौं: बैंकहरुको चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायीहरुले काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शन गरेका छन् । भिखमागेर देश चलाउने अर्थ नीति बन्द गर, ब्याजदर घटाऊ गरिखान देऊ, गरिखाने मर्दैछ सरकारको राजस्व घट्दैछ लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । बैंकहरुको चर्को ब्याजदर, कालोसूची, धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित बन्न बाध्य बनाएको उनीहरुको भनाइ छ ।
काठमाडौं: काठमाडौंको विभिन्न स्थानमा तास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित बाल्टिन होटलबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्कासहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नगद एक लाख ३३ हजार ५० रुपियाँ र तीन बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी, काठमाडौं महानगरपालिका–९ बिजयचोकबाट तास खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने अछाम साफे नगरपालिका–४ घर भएका ४० वर्षीय निरज शर्मासहित नौ जना पक्राउ परेका छन् । सोही ठाउँमा कोठा भाडा लिई निरज शर्माले जुवातास खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ८९ हजार ४८० रुपियाँ र दुई बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
म्याग्दी: बेनी नगरपालिका –१, रत्नेचौरकी ८६ वर्षीया जसिकला कार्कीलाई परिवारका सदस्यहरुले घर बाहिर पारिलो घाममा बिस्तारा लगाएर सुताउनुभएको थियो । त्यत्तिकैमा वडा अध्यक्ष टेकबहादुर थापासहित वडा सदस्यहरु र कृषि बिकास बैंकका प्रतिनिधिहरु घरमै आइपुग्नुभयो । त्यसपछि जसिकलाको नाममा जारी भएको चेकमा ल्याप्चे लगाएर चेक तयार भयो । तीन महिनाको मासिक चार हजार रुपियाँका दरले १२ हजारको चेक बनाएर घरको आङ्गनमा सुतीरहनुभएकी जसिकलालाई कर्मचारीले रकम हस्तान्तरण गर्नुभयो । वडा अध्यक्ष थापासहित बैंकका प्रतिनिधिले रकम हस्तान्तरण गर्नुभयो । जसिकलाको उमेर बढेसँगै विभिन्न रोगले च्याप्दै गरेपछि नियमित रुपमा तीन थरी औषधी प्रयोग गर्दैआउनुभएको छ । तीन वर्षदेखि विरामी हुनुभएकी जसिकलाको परिवारका लागि सामाजिक सुरक्षाभत्ता घरमै पु¥याइदिँदा सहज भएको उहाँको भनाइ छ । गाडीमा हालेर बैंकसम्म लैजानुपर्ने बाध्यता थियो, वडाध्यक्ष टेकबहादुर थापाले पहल गरेर बैंकको टोली गाउँमै आएर भत्ता दिँदा हामी मात्रै नभई अरु बुढाबुढीलाई पनि सजिलो भयो, स्थानीय धनकुमारीले बताउनुभयो । बेनी नगरपालिका –१, रत्नेचौरका वडा अध्यक्ष अघिल्लो कार्यकालमा वडा सदस्य र त्यसभन्दा अगाडि साविक रत्नेचौर गाविसको सचिव र बेनी नगरपालिका भएपछिको वडानम्बर १ हुँदैगर्दा वडासचिव समेत रहनुभएका थापाले रत्नेचौरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राही असक्त तथा अपाङ्गता भएका समेत धेरै भएकाले गाउँमै भत्ता वितरणको व्यवस्था मिलाएको बताउनुभयो । गएको वैशाखमा निर्वाचित भएर आएपछि चालु आर्थिक वर्षको पहिलो छ महिनाको भत्ता गाउँमै बितरणको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । बेनी नगरपालिकाको वडानम्बर १, ७ र ८ मा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएको सरकारी बैंक कृषि विकास बैंकले रत्नेचौरमै पुगेर भत्ता बाँडेको हो । बैंकको म्याग्दी शाखा प्रवन्धक शंकरदेव मल्लका अनुसार बेनी नगरपालिका –१, रत्नेचौरमा पोषण भत्ता पाउने बालबालिका समेत गर्दा कुल चार सय एक जनाले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्छन् । ३५६ जनाले सामाजिक सुरक्षा भत्ता र ४५ जनाले पोषण भत्ता पाउने वडा अध्यक्ष थापाले बताउनुभयो । त्यसमध्ये रत्नेचौरको फाँटक्षेत्र अर्थात् माथिल्लो भेगको रत्नेचौर र अर्जम क्षेत्रमा २ सय १ जना सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिक भए पनि गाउँमै पुगेर वितरण गर्ने क्रममा १ सय ८० जनालाई १८ लाख ९५ हजार रुपियाँ वितरण गरिएको कृषि विकास बैक बेनी शाखाले जनाएको छ । चालु आर्थिक वर्षमा नवीकरण भएका रत्नेचौरको उपल्लो क्षेत्रका २०१ मध्ये १ सय ८० जनालाई घरमै पुगेर वितरण गरिएको र बाँकी १३ जनाको बैंक खातामै दाखिला गरिएको बैंकले जनाएको छ ।
पोखरा: पोखरामा आत्मदाह गर्ने एक व्यक्तिलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा १३, काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार राति मृत्यु भएको हो । अस्पतालका अनुसार सङ्गीताको शरीरको करिब ८० प्रतिशत भाग जलेको थियो । उहाँको उपचारकै क्रममा राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । स्टेशनरी पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्री पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दैगर्दा उहाँलाई उद्धार गर्ने क्रममा सङ्गीता जलेर गम्भीर घाइते हुनुभएको थियो । घाइते कृष्णको उपचार भइरहेको छ । घाइते कृष्णबहादुर खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

