पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

 विराटनगर:  विराटनगरबाट प्रहरीले आइतबार बिहान अन्दाजी १८ किलो गाँजा बरामद गरेको छ।  विराटनगर महानगरपालिका–६ र ११ को सिमानास्थित केशलिया नहरबाट प्रहरीले मोटरसाइकलसहित लागूऔषध गाँजा बरामद गरेको हो।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीलाई देख्नासाथ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १३ प ४६६८ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएका थिए।  मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।  उनका अनुसार मोटरसाइकलमै रहेको झोलाभित्र २१ वटा पोका गाँजा भेटिएको थियो। सबै गरेर लगभग १८ किलो गाँजा रहेको कोइरालाले बताए।  प्रहरीले गाँजा र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। फरार रहेका चालकको भने खोजी तीव्र पारिएको एसपी कोइरालाले बताए। उनका अनुसार चालकको पहिचान खुल्न बाँकी छ। 

काठमाडौं:   रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन्। आवश्यक प्रक्रिया पूरा गरेर लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका हुन्।  आइतबार बिहान सुरक्षाकर्मीसहित लामिछाने नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए। शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता  विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए। मंसिर ४ मा सम्पन्न निर्वाचनमा  लामिछाने चितवत(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

म्याग्दी:  पछिल्लो समय भाइरल बस्ती भनेर चिनिने बेनी नगरपालिका –१ रत्नेचौरको तोरीको फाँटनजिकै रहेको चिता हाउस सञ्चालनको छोटो अवधिमै पहिचान बनाउन सफल भएको छ । दुई दाजुभाइले सुरु गरेको चिता हाउस सञ्चालनको दुई वर्षको अवधिमा आफ्नो पहिचान बनाउन सफल भएको हो ।  कुनै समय स्याल र चितुवाको बासस्थान मानिने तल्लो रत्नेचौरमा भारतीय सेनाबाट सेवा निबृत्त हुनुभएका बीरबहादुर र करिब १२ वर्ष बैदेशिक रोजगारीमा भौतारीनु भएका भाइ हरिबहादुर खत्रीले थाल्नुभएको व्यवसाय अहिले फष्टाउँदैगएको छ । दुई जनाले आफ्नो झण्डै खेर गएको अवस्थामा रहेको जग्गामा कटेजसहितको रेष्टुरेण्ट तथा बार सञ्चालनमा ल्याएपछि अहिले रत्नेचौर क्षेत्रमा आउने पर्यटकका लागि सुविधासहितको खाने बस्ने व्यवस्था भएको छ । चिता निकै द्रुत गतिमा दौड्ने मांसाहारी जनावर हो । भारतीय सेनामा निकै दुर्गम स्थानमा ड्युटीमा रहेको समयमा एपेण्टीसाइडले च्याप्दा भारतीय सेनाको चीता नामक हेलिकोप्टरले रेस्कु गरेर आफूलाई जिवनदान दिएको हुँदा त्यही छिटो दौड्ने चिताकै नामबाट व्यवसायको नाम राखेको बीरबहादुरको भनाइ छ ।  बैदेशीक रोजगारीमा जाँदा सोचेजस्तो कमाइ हुन नसकेपछि दाजुभाइ मिलेर नेपालमै व्यवसाय गर्ने सोचले यस क्षेत्रमा लागेको हरिबहादुर खत्रीले बताउनुभयो । दुई भाइसँगै ३ जना कुक र ६ जना सहयोगी गरी ११ जनाले चिता हाउसबाट प्रत्यक्ष रोजगारी पाएका छन् । ४० लाख रुपियाँको लागतमा २०७७ कात्तिक २६ गतेबाट सञ्चालनमा आएको चिता हाउसमा अहिलेसम्म झण्डै दुई करोड लगानी भएको बीरबहादुर खत्रीको भनाइ छ । नयाँ पुस्ताले एकान्त साथै सुविधा खोज्ने भएकाले नै रत्नेचौरको यस क्षेत्रमा आफूहरुले व्यवसायको स्थान पहिचान गरेको उहाँले बताउनुभयो । १२ रोपनी क्षेत्रफलमा फैलिएको चिता हाउसमा तीन वटा क्याम फायर, ४ एट्याच रुमसहित ५० जनाको बास बस्न मिल्छ ।  चिता हाउसकै कम्पाउण्डमा फरक फरक स्थानमा दुई वटा बनभोज स्थल रहेकाले पनि म्याग्दी तथा बागलुङका बासिन्दाहरुलाई बिदा मनाउन नजिकै आरामदायी स्थान मिलेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरी क्षेत्रीय शाखा प्रबन्धक देवेन्द्र क्षेत्रीले बताउनुभयो ।  यस क्षेत्रमा सुविधासहितको व्यवसायको आवश्यकतालाई चिता हाउसले परिपूर्ति गरेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । 

काठमाडौँ:  बलिउड अभिनेत्री सन्नी लियोनी अहिले नेपालमा छिन् । उनले आइतबार बिहान एक भिडियो पोस्ट गर्दै नेपाल रहेको जानकारी दिएकी हुन् ।   हेलो नेपाल भनेर आइतबार बिहान उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै नेपाली फ्यानलाई अभिवादन समेत गरेकी छन् ।  शनिबार बिहान काठमाडौं आएकी उनी साँझ एक कार्यक्रममा पनि सहभागी भएको बताइन्छ । कार्यक्रममा उनले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन समेत गरेकी थिइन् । सन्नी यस अगाडि नेपाली फिल्म ‘पासवर्ड’ रिलिजको समय आएकी थिइन् । फिल्म आइटम गीतमा उनको नृत्य समेत रहेको थियो ।

काठमाडौं:   जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रवि लामिछानेको नागरिकता कायम गर्ने प्रक्रिया जारी रहेको बताएका छन् ।  सर्वोच्चको आदेशपछि लामिछाने आज नागरिकताको प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् ।  शुक्रबार सर्वोच्च  अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो ।  सोही अनुसार लामिछानेले आज प्रशासन कार्यालय पुगेर नागरिकता लिन लागेका हुन् । यसअघि लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन कार्यालय पुगेर नागरिकता लिएका हुन् । 

वालिङ:  विसं २०५३ मा दुई मानो आटो (मकैको पिठो)सहित चार छोराछोरी च्यापेर विकट गाउँबाट वालिङ झर्नुभयो सनसरी सार्की ।  श्रीमान्को उपचारमा कालीकाकोटमा भएभरको सम्पत्ति पनि सकियो र श्रीमान्को आयु पनि । बस्ने, खाने ठेगान छैन तर गाउँमा बस्नभन्दा बजारतिर झरे केही न केही काम पाइन्छ भन्ने आशासहित बजार आउनुभयो ।  बजार आउँदा बेलुकीको छाक पुग्ने आटो मात्रै साथमा थियो । छोराछोरी ससाना, कहाँ बस्ने के खाने चिन्तै चिन्ताका बीच वालिङ झरिसकेपछि कोठा खोजेर भाडामा बस्न थाल्नुभयो । दुःख परेकाबेला काम दिने मान्छे पनि भगवान् जस्तै लाग्यो । “नयाँ ठाउँमा काममा नपत्याइदिएको भए झन् के हालत हुन्थ्यो होला धन्न बालुवा बोक्ने, गिटी बोक्ने काममा पत्याइदिनुभयो त्यही काम गर्न थालेँ”, उहाँले भन्नुभयो, “दुई वर्षजति ज्यालामा यस्तै यस्तै मजदूरी गरेँ र बालबच्चा पाल्दै आएँ ।” खाने मुख धेरै तर काम गर्ने आफू एक्लै भएकाले पनि सुरुको दैनिकी निकै जटिल भएको उहाँ सम्झनुहुन्छ । ज्याला मजदूरी गर्दै दैनिकी चलाउँदै आउनुभएकी सनसरी २०५५ सालतिर वालिङ नगरपालिकाको सरसफाइ कर्मचारीका रुपमा काम गर्न थाल्नुभयो । सरसफाइमा काम गर्दा गर्दै नगरपालिका परिसरमा सौन्दर्यकरणमा ध्यान दिँदै फूलबारी निर्माण गरियो र यसको रेखदेख र फूलहरुको व्यवस्थापन गर्ने थप जिम्मेवारी उनै सनसरीलाई दिइयो ।  कतै बाटोमा हिँड्दा राम्रो फूल, नयाँ प्रजातिको फूल देख्नासाथै त्यसकाबारेमा जिज्ञासु भई बुझ्नुहुन्थ्यो । नगरपालिकामा मालीको जिम्मेवारी थपिएपछि भने झन ऊर्जा मिल्यो र जिज्ञासा झनै बढ्दै गएको सम्झनुहुन्छ उहाँ । “बाटो हिँड्नेक्रममा कहीँकतै नयाँ तथा नौलो प्रजातिका फूल देखेँ भने त्यसको बीउ, बेर्ना वा हाँगा सङ्कलन गर्थें”, उहाँले भन्नुभयो, “सुरुका दुई वर्ष त म नगरपालिका कार्यालयमा जाँदा एउटा न एउटा बीउ, बेर्ना, हाँगा नलिइ जान्थिन् ।”  मालीका रुपमा काम गर्न थाल्नुभएकी सनसरीलाई आफ्नो मात्रै बुझाइ र रहरले नभई अझै यसलाई राम्रो र व्यवस्थित गर्छु भन्ने हुटहुटी चल्यो । फलस्वरुप उहाँले तत्कालीन कार्यकारी अधिकृत सुरथ पोख्रेललाई फूलबारी व्यवस्थापनसम्बन्धी तालिमका लागि सिफारिस गरिदिन अनुरोध गर्नुभयो र काठमाडौँमा एकहप्ते तालिमसमेत प्राप्त गर्नुभयो । नर्सरी व्यवस्थापन, गोडमेल, कटानी छटानी, फूलबारीको व्यवस्थापनसम्बन्धी तालिम लिनुभयो । त्यहाँ सिकेको सीपलाई वालिङ आएसँगै दैनिक जीवनमा प्रयोगमा ल्याउनुभयो । “पहिला आफ्नै सुरमा बीउ रोप्ने, बेर्ना लगाउने काम गर्थें”, उहाँले भन्नुभयो, “तालिमपछि कुन फूलको बीउ कुन नर्सरी गर्ने, कुन याममा लगाउने, कुनको हाँगा, कुनको बीउ लगाउने भन्ने अहिले फूल हेरेरै थाहा हुने गरेको छ ।” सरसफाइमा झण्डै १५ वर्षजति काम गर्नुभएकी सनसरीले आठ÷नौ वर्षदेखि सरसफाइसँगै मालीका रुपमा फूलबारीको स्याहारसुसार गर्नुहुन्छ ।  वालिङ नगरपालिकाको प्रशासकीय भवन परिसरमा प्रवेश गर्नासाथै झट्ट देखिने रङ्गीविरङ्गी फूलबारीको सौन्दर्यकरणमा उहाँको विशेष लनशीलता र परिश्रम छ । बिहानको समयमा बिरुवा रोप्ने, सार्ने र दिउँसोको समयमा सिँचाइ गर्नुहुन्छ । नगरपालिकामा आफ्नो दैनिक जिम्मेवारी पूरा गरेसँगै बाँकी रहेको समयलाई उहाँले वालिङकै एक सहकारीले निर्माण गरेको नर्सरीमा लगाउनुभयो । नगरपालिका कार्यालय, सहकारीको नर्सरी व्यवस्थापनबाट घरखर्च चलाएर बचत गरेको रकमबाट उहाँले वालिङ बजारमै रु २० लाख मूल्यमा चार आना घडेरी खरिद गर्नुभयो । अहिले उहाँको तीनकोठे पक्की घर छ । उहाँकै प्रेरणाबाट कान्छा छोराले अहिले आफ्नै बिरुवा नर्सरीमा काम गर्दै आएका छन् । आफ्नो घर नजिकै जग्गा भाडामा लिएर ‘वालिङ नर्सरी उद्योग’ सञ्चालन गर्नुभएको हो । करिब ४० प्रजातिका मौसमी तथा बेमौसमी फूलहरु उहाँको नर्सरीमा पाइन्छ । विभिन्न प्रजातिका मौसमी तथा बेमौसमी फूल, बिरुवा नर्सरी, गमला, कलमीका फूल, विवाह ब्रतबन्धलगायतका कार्यका लागि फूलको मालाहरु उपलब्ध गराउँदै आउनुभएको छ ।  वालिङमा हुने विवाह, ब्रतबन्ध तथा अन्य कार्यमा आवश्यकपर्ने फूल काठमाडौँ, पोखरा, बुटवललगायतका ठाउँबाट आउने गरेको उहाँले बताउनुभयो । “फूलसम्बन्धी सबै सेवा, बिरुवा आफ्नै ठाउँमा पाउनुभयो भने पक्कै पनि ग्राहक अन्यत्र जानुहुन्न” उहाँले भन्नुभयो, “त्यसका लागि अझै मौसमी तथा बेमौसमी र धेरै प्रजातिका फूलहरु थप गर्ने तयारीमा छु ।” वालिङ आसपासमा फूलको माग राम्रो हुने गरेको छ । अहिले पनि आफ्नो नर्सरीमा फूलका बारेमा जान्न बुझ्न धेरै नै आउने गरेको उहाँ बताउनुहुन्छ ।  चार्डपर्वका समयमा सयपत्री, मखमलीलगायतका फूल तथा मालामो माग बढी हुने गरेको छ । यस्ता अवसरमा सनसरीले फूल तथा बिरुवा बिक्रीबाट राम्रो आम्दानी लिँदै आउनुभएको छ । दृढ सङ्कल्प र मनमा इच्छाशक्ति भए विदेशिनुपर्छ भन्ने नभएको उहाँको कर्मबाट उदाहरण प्राप्त हुन्छ । उहाँले भन्नुभयो, “कुनैबेला काम खोज्दै हिँडे अहिले आफ्नै नर्सरी स्थापना गरी अरुलाई पनि काम दिनसक्ने अवस्थातिर लम्कँदै छु ।” आफूले गरेको कर्मबाट सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । जुन काम आत्मैदेखि सन्तुष्टि भएर गरिन्छ त्यसले सफलतामा पु¥याउने उहाँको विश्वास छ । नगरपालिका परिसरको सौन्दर्यकरण र हरियालीमा जोड दिंदै फलफूल तथा फूलका बिरुवा रोप्न थालिएको वालिङ नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत सुरथ पोख्रेलले बताउनुभयो । स्थानीयस्तरमा पाइने विभिन्न प्रजातिका फल लाग्ने बिरुवाहरु तथा विभिन्न प्रजातिका फूलहरुको खोजी गरी लगाउन सुरु गरेसँगै कार्यालय परिसरको सौन्दर्य नै छुट्टै खालको देखिन थालेको उहाँ अहिले पनि सम्झनुहुन्छ । “काठमाडौँ, पोखरा तथा बुटवल गएका बेला त्यहाँबाट पनि विभिन्न प्रजातिका फूलका बिरुवा ल्याइएको थियो”, उहाँले भन्नुभयो ।  तालिम लिइसकेपछि त्यसलाई व्यवहारमा उतार्ने र निरन्तरता दिएमात्रै त्यसको महत्व बढेर जान्छ । सुरुदेखि नै कामप्रति लगनशील र परिश्रमी सनसरीले फोहरमैला व्यवस्थापनसहित मालीका रुपमा जिम्मेवारीपूर्वक कार्य गर्दै आउनुभएको हो । ‘स्मार्ट सिटी’को अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाको परिसरमा पुग्ने जो कोही पनि रङ्गीविरङ्गी फूलको सौन्दर्यमा आनन्दित हुन्छन् । मौसमअनुसारका विभिन्न प्रजातिका फूलहरु बाह्रैमासे फूलिरहेका हुन्छन् । फूलको बीउ लगाउने, बेर्ना उमार्ने, त्यसलाई रोप्ने, खनजोत, गोडमेल, कटानी छटानी सबै काममा उहाँलाई लामो कार्यानुभव रहेको आफूले पाएको बताउनुहुन्छ वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई । “कुन फूल कुन समयमा सार्ने, गोडमेल गर्ने समय, कटानी छटानी गर्ने समय सबै उहाँलाई थाहा छ”, उहाँले भन्नुभयो, “नगरपालिका परिसरको सौन्दर्यकरण हेर्न लायक छ ।” उहाँको लगनशीलता र परिश्रमलाई मूल्याङ्कन गर्दै नगरपालिकाले यसअघि उत्कृष्ट कर्मचारीका रुपमा सम्मानसमेत गरेको थियो । 

 वालिङ:  यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका  किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो ।  सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु. ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु. ८९ मा बिक्री भइरहेको सुन्तला उहाँले बताउनुभयो । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार रु. ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “यसबाट हालसम्म करिब रु.४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।” सुन्तला टिप्ने क्रम जारी रहेको र अझै रु. तीन लाख जतिको सुन्तला बोटमै रहेको उहाँले बताउनुभयो । गतवर्ष यही समय (माघको दोस्रो साता) मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो । गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उहाँले बताउनुभयो । “गतवर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन”, उहाँले भन्नुभयो, “केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो ।” उहाँले स्याङ्जा शीत भण्डारमा छ सय १७ क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै रु. ७ लाख नोक्सान भएको उहाँ बताउनुहुन्छ । “हालसम्म सुन्तला बिक्रीबाट रु. ४२ लाख आम्दानी गरे, अझै तीन लाख जति आम्दानी हुन बाँकी नै छ”, उहाँले भन्नुभयो, “शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै रु. ५५ लाख आसपास पुग्थ्यो ।” विसं २०३२देखि तेजनारायण अधिकारीसहित अन्य चार जनाले स्याङ्जामा व्यवसायिक सुन्तला खेतीको सुरुआत गरेका जनाइएको छ  ।“बुवाले लगाउनुभएको पाँच सय बोटलाई बिस्तार गरी मैले विसं २०६९बाट संरक्षण गर्दै थप्दै गएँ”, किसान मुक्तिले भन्नुभयो, “अहिले मसँग दुई हजार दुई सय बोट सुन्तला छन्, तर सबै फलिसकेका छैन, सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ । ” चौध वर्ष कोरियामा रोजगारी गर्नुभएका उहाँले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिनुभएको छ । ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएका उहाँको हाल एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन् ।उहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव हुनुहुन्थ्यो ।  

पोखरा:  तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा शनिबार दुईवटा नाटक मञ्चन भएका छन् ।  ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ सुरु भएको महोत्सवमा केदार श्रेष्ठको लेखन र अञ्जु दाहाल निर्देशित नाटक ‘करेसा कन्सर्ट’ र दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको नाटक ‘गुलेली मास्टर’ मञ्चन भएको हो ।   नाटक ‘करेसा कन्सर्ट’ हाम्रा करेसाबारीका तरकारी पात्रहरूले आफ्नो महत्त्व र विशेषतामाथि छलफलमार्फत निष्कर्ष निकालेको कथा हो । नाटक बालबालिकाका लागि मात्र नभएर अहिलेका युवापुस्तालाई पनि केन्द्रित बनाएर बनाइएको छ । नाटकमा हाम्रा सामाजिक–राजनीतिक कथावस्तु दाउपेच र सन्दर्भहरूको छाया भेटिन्छ ।  त्यस्तै तरकारी पात्रमार्फत तरकारीको विशेषता, महत्त्व र अस्तित्वको सन्देश पनि बुनिएको छ भने मानव समाजको प्रवृत्ति र चरित्रको नाटकमा चित्रण गरिएको छ । नाटकमा पात्रहरू तरकारी भए पनि उनीहरूले समाज र देश झल्काएको बताउनुहुन्छ, नाटककी निर्देशक अञ्जु दाहाल । नाटकको स्क्रिप्ट पढ्दै जाँदा यसको विषयवस्तु बिल्कुलै नयाँ लागेकोले पनि यसलाई निर्देशन गर्ने जर्मको गरेको दाहालले बताउनुभयो ।  नाटकमा दिनेश सुनुवार, अनुराधा अर्याल, बिसन सुनुवार, सनिता थापा, विजया पौडेल, निश्चल कार्की, एन्जिला थापा, रोनिक्स गुरुङ, आकृति मल्ल, कामना तिवारी, अनुष्का भुवान्जी, अदिति पौडेल, सुवर्ण पौडेल, अरुशी पौडेलको अभिनय रहेको छ ।  ‘गुलेली मास्टर’ नेपाली समाजमा धेरै अभिभावकले गरिबीका कारणले अध्ययनबाट आफना बालबालिकालाई वञ्चित गरेको हामी पाउँछौँ । ‘गुलेली मास्टर’ले नाटकमार्फत अध्ययनको महत्त्वलाई थप उजागर गर्ने काम गरेको छ । अध्ययनले जोकोहीलाई पनि आफ्नो खुट्टामा आफैँ उभिन अहं भूमिका खेलेको हुन्छ । यसमा हरेक नागरिकले शिक्षा हासिल गर्नु उसको नैसर्गिक अधिकार हो । अशिक्षित हुँदा समाजमा भेदभाव, अन्धविश्वास दुव्र्यसन बढ्ने हुँदा यसलाई कसरी निर्मूल पार्नुपर्छ भन्ने कुरा नाटकमार्फत बताउन खोजिएको छ । ‘शिक्षाको हकबाट अब कोही पनि वञ्चित हुनुपर्दैन, त्यसका लागि पहिले इच्छाशक्ति देखाउन जरुरी हुन्छ’ भन्ने शिक्षा दिनु नै नाटकको प्रमुख उद्देश्य हो ।  एन्जल थापा, लक्ष्मी श्रेष्ठ, समिता आचार्य, अञ्जना गुरुङ, लजिमा थापा, सञ्जिला श्रेष्ठ, आदित्य विक, सुलभ पुलामी, आँचल रसाइली, सखिन थापा, अविनाश कुँवर र पुष्पराज खतिवडाको नाटकमा अभिनय रहेको छ ।  महोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले गर्नुभएको थियो भने कार्यक्रममा पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नाटक छनोट समितिका संयोजक कलाकार प्रकाश घिमिरे, पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङ नाटक महोत्सवका निर्देशक परिवर्तनलगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।  

पोखराः    पोखरामा महानगरपालिका १३ काहुँखोला बस्दै आएका एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।  कास्कीको मादी गाउँपालिका ४ घर भएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।  पोखरामा १३ मा संगीता सापकोटाको घरमा बस्दै आएका क्षेत्रीले बाथरुम भित्र पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास गरेका कँडेललाई बचाउने क्रममा घरधनी सापकोटाकाे शरिरका केही भाग जलेकाे छ ।   जलेर घाइते दुबैकाे अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सघन कक्षमा उपचार भइरहेको छ । आत्महादको प्रयास गरेका क्षेत्रीले पोखरामा पुस्तक पसल सञ्चालन गर्दै आएको स्रोतले बताएको छ ।