पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

पोखरा:    पोखरा महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीको पुरानो भवन (गोलघर) मा डोजर चलाएको छ ।  पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित गोलघरलाई पोखरा महानगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयानुसार आजदेखि भत्काउन सुरु गरिएको हो । पोखराको सुन्दरतालाई मध्यनजर गर्दै जिर्ण अवस्थामा रहेको गोलघर भत्काउन थालिएको पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले बताए ।  उनले जिर्ण अवस्थामा रहेको पोखरा गोल घरलाई भत्काएर पोखराको आर्कषण पोखरा घर बनाउने योजनामा रहेको सुनाए । ‘पोखरामा आउने पर्यटकलाई लक्षित गरेर पोखरेली घर बनाउने योजनासहित अगाडी बढेका छौं, मर्सानीले भने, ‘जिर्ण अवस्थामा रहेको पोखरा गोल घरमा रहेको ट्राफिक कार्यालयलाई सुविधा सम्पन्न भवनमा सारेका छौं । यस ठाउँमा अब पोखरालाई आर्कषण गर्ने गरि पोखरा घर निर्माण गर्ने योजनामा छौं ।    वडाध्यक्ष मर्सानीले पर्यटकीय क्षेत्रको सूचनापार्टीसहित ‘पोखरा आर्ट ग्यालरी’ यसै भवनमा निर्माण हुने बताए । ‘पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित सहित पर्यटकीय क्षेत्रको सूचनापाटी, पोखरा आर्ट ग्यालरी, पुस्तकालय, घन्टाघरसहितको भवन निर्माण गर्न बजेट विनियोजन गरेका छौं, करिब २ रोपनी जग्गामा योजना तयार हुनेछ ।’ उनले भने ।  विज्ञ टोलीले तत्काल डिपियार तयार गर्ने बताउदै २ वर्ष भित्र योजना पुरा गर्ने लक्ष्य रहेको जानकारी दिए । मर्सानीका अनुसार पोखरा घर निर्माण गर्न पोखरा महानगरपालिकाले यो आर्थिक वर्ष २ करोड बजेट विनियोजन गरेको छ ।  

 काठमाडौं:  नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। ५०० रूपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० रूपैयाँ कायम गरिएको थियो। यसदिन तेजावी सुन मूल्य प्रतितोला १ लाख ५ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तरार्ष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि मूल्य घटेको हो। सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ।

लमजुङ:  लमजुङ सदरमुकाम बेँसीसहर आउने एक मात्र डुम्रे–बेँसीसहर सडकको उदिपुर देउरालीडाँडामा पहिरोको पुनः त्रास बढेको छ । हिउँदमा समेत सुक्खा पहिरो जाने गरेका कारण वैकल्पिक सडक निर्माणका लागि स्तरोन्नतिको पहल थालिएको छ । बेँसीसहर नगरपालिका–८ को प्रशासन चोक हुँदै बाँझाखेत भएर आँपचौर, चितीको बरबोट, रिट्ठेबगर हुँदै मस्र्याङ्दी नदीपारिको बाटो उदिपुरसम्म वैकल्पिक सडक स्तरोन्नतिको पहल थालिएको छ । उक्त सडकको प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीले निरीक्षण गरेको छ । उदिपुर देउरालीडाँडाको पहिरोको निरीक्षण अवलोकन गर्दै उदिपुरबाट रिट्ठेबगर हुँदै पारिको बाटोको अनुगमन गरेको संविधान सभा सदस्य जमिन्द्रमान घलेले बताउनुभयो ।  प्रतिनिधि सभा सदस्य गुरुङले वैकल्पिक सडक निर्माणका लागि पहल थालिने बताउनुभयो । उहाँले सडक स्तरोन्नतिका लागि मन्त्रालयमा पुगेको फाइल अघि बढाउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत भदौ ११ गते पहिरोले यसअघिको डाइभर्सन सडकसमेत बगाएपछि कुनै दिन नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै र कुनै दिन माथिल्लो बाटो तथा पहिरो गएकै बाटो मर्मत गरेर अस्थायी रूपमा सवारी आवागमन गराइएको छ । पहिरोको जोखिम बढेको भन्दै नागरिक तहबाट सडक छिटो निर्माण गर्न सडक कार्यालयलाई दबाब आएको छ । वैकल्पिक सडक निर्माण गर्न नसकिए अझै बर्खायाममा तीन–चार महिना नै सडक बन्द हुनसक्ने बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । डुम्रे–बेँसीसहर–चामे सडक योजनाका कार्यालय प्रमुख इन्जिनियर अच्युतविलास पन्तले वैकल्पिक सडक निर्माणका लागि मस्र्याङ्दी पारिपट्टिको सडकको स्तरोन्नति गर्न १० लाख रुपियाँ बजेट स्टिमेटसहित सडक विभागमा पुगेको बताउनुभयो । उहाँले फास्ट ट्र्याकमार्फत काम गर्न सकिए जेठ–असारभित्र सडक मर्मत सक्ने बताउनुभयो ।  विभागबाट बजेट स्वीकृत भएर मन्त्रालय हुँदै अर्थ मन्त्रालयले बजेट निकासाको स्वीकृति दिएपछि मात्रै निर्माण अघि बढ्ने उहाँले बताउनुभयो । हाल पहिरो गएकै ठाउँमा पक्की सडक निर्माणका लागि २० करोड रुपियाँको टेन्डर आह्वान भएर सडक निर्माण प्रक्रिया अघि बढेको छ ।   

बिर्तामोड:  झापामा बाबुसँग व्यावसायिक लेनदेन नमिलेपछि छोराको अपहरण गरी चार करोड फिरौती माग गरेका छन् । युवतीको प्रयोग गरेर अपहरण गरिएका झापा  बिर्तामोडका  २१ वर्षीय राजीव बस्नेत  प्रहरीको सक्रियतामा अपहरणमा परेको १० दिनपछि मुक्त भएका छन् ।  सुनको कारोबार गर्दै आएका झापा बिर्तामोड नगरपालिका ३ भगवान् चौकका कमल बस्नेतका छोरा  राजीवलाई माघ ५ गते  श्रीअन्तु घुम्न जान्छु भनी घरबाट निस्किएसँगै अपहरणमा परेका थिए । साथीसँग इलामको श्रीअन्तु घुम्न जाने भन्दै घरबाट निस्किएका बस्नेत अपहरणमा परेका हुन् । प्रदेश नं। १–०१–०१५प ८०९६ नम्बरको स्कुटरमा घरबाट निस्किएका बस्नेतको केही क्षणमा नै फोन स्वीच अफ भएपछि उहाँको खोजी सुरु भएको थियो । साथीसँग घुम्न जाने भनेका कारण उनको खोजतलासमा केही ढिलाइ भए पनि प्रहरीको सक्रियताले उनलाई सकुशल मुक्त गर्न सकिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताउनुभयो । उहाँको अपहरण गरेर छोराको रिहाइका लागि ४ करोड रुपियाँ  फिरौती मागेपछि प्रहरीले अनुसन्धानलाई फराकिलो बनाउँदै लगेको थियो ।  अपहरणकारीले राजीवलाई युवतीको प्रभावमा पार्दै अपहरण गरेको प्रहरीले जनाएको छ । प्रहरीले अपहरणमा सहयोग गर्ने युवतीलाई पक्राउ गर्न सफल बनेसँगै राजीवको नजिक प्रहरी पुगेको थियो । अपहरणकारीको पहिचान खुले पनि अपहरणकारीले युवकको हत्यासम्म गर्न सक्ने भयले प्रहरी बढी सतर्क भएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । अपहरण गरेर  भारतको मणिपुर लगिएको पाइएपछि भारत मणिपुर राज्यका प्रहरीसँगको समन्वयमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो । सोही क्रममा अपहरणको मुख्य योजनाकारका रूपमा रहेका मणिपुरका राजु भण्डारीले पक्राउ पर्ने डरले किशोरलाई बिना सर्त माघ १४ गते बेलुका बुट्टाबारीस्थित जङ्गलछेउमा छाडेको  प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो  । व्यावसायिक साझेदार झापा बिर्तामोडका कमल बस्नेतबाट फिरौती असुलका लागि भारत मणिपुरका राजु भण्डारीले भाडाका मानिसहरू प्रयोग गरेर आफ्ना व्यावसायिक साझेदार बिर्तामोडका कमल बस्नेतका छोरा राजीवको अपहरण गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  मणिपुरका  भण्डारीले बिर्तामोडका कमल बस्नेतसँगको  लेनदेन मिलाउन उनका छोराको प्रयोग गरेर रकम असुल गर्ने योजना बनाएको पाइएको छ  । भण्डारीकै योजना अनुसार उनले नेपालमा प्रतीक्षा योङ्हाङसँगको सल्लाहमा आफ्नो योजनालाई अगाडि बढाएको प्रहरीको भनाइ छ  । सोही क्रममा प्रतीक्षाको घरमा अध्ययनका लागि बसेका दीपिका लिम्बू र कौशिका लिम्बूलाई योजनाको सम्पूर्ण कुरा जानकारी गराएर उनीहरूले योजना सफल भएमा जनही २५÷२५ लाख रुपियाँ दिएर विदेश पठाइदिने आशा देखाएको पाइएको छ  । विगत छ महिनादेखि योजना बनाएर कमलका छोरालाई युवतीको प्रेम जालमा पारेर अपहरण गर्न सफल बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अपहरणकारीले  कमलका छोरा २१  वर्षीय राजीवलाई घुम्न जाने योजना बनाएर अपहरण गर्न सफल बनेको हुन् । यसै क्रममा माघ ४ गते पर्यटकीय क्षेत्र सालबारी झिल घुमेर ५ गने अर्को पर्यटकीय स्थल इलामको कन्याम घुन जाने भनी लगी एकाएक अपहरणकारीको फन्दामा राजीव परेको प्रहरीले जनाएको छ । युवतीको फन्दामा परि अपहरणमा परेका राजीवको परिवारसँग  नेपालकै कुनै एक भूभागमा लगेर बन्धक बनाएर मणिपुर र नेपाली भाषामा फिरौती रकम माग्न सुरु गरेसँगै प्रहरीले अनुसन्धानलाई फराकिलो बनाएको थियो ।  अपहरणको मुख्य योजनाकारको पहिचान भएसँगै प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गर्ने योजना थाह पाएपछि मुख्य योजनाकार राजु भण्डारी बस्नेतलाई निःशर्त छोड्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरी अपहरणमा संलग्नमध्ये प्रतीक्षा योङ्हाङलाई बिर्तामोडबाट पक्राउ गर्न सफल भएको थियो भने उनी पक्राउ परेसँगै अपहरणका योजनाका बारेमा धेरै कुरा खुलेको प्रहरीको भनाइ छ  । अपहरणमा भारतका शरद थापा मगर, एप्पल थापामगर, गुलाम, कृष्ण हजाम तथा चुनाव योङ्हाङको पहिचान गरेर खोजी कार्य तीव्र बनाएको जनाइएको छ । प्रहरीका अनुसार आपराधिक समूह निकै ठूलो रहेकाले उक्त समूहको खोजी गरेर पक्राउ गर्नका लागि सबै पक्षसँग समन्वय गर्ने काम भइरहेको छ ।

पोखरा:    पोखराका मुख्य बजारका सडक छेउमा सवारी साधन पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय भएको उल्लेख छ। मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो। ‘मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ’, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने। महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेवापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ। तोकिएको क्षेत्रहरूमा मात्र ‘पार्किङ’ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालामा महानगरले आग्रहसमेत गरेको छ।  

काठमाडौं:    निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको र उपराष्ट्रपतिको चैत ३ गते निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताउनुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्नेगरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताउनुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताउनुभयो । प्रवक्ता पौडेलले राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन फागुन १० गते, दाबी, विरोध, उजुरीलगायतका काम १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । यसैगरी, अन्तिम मतदाता नामावली फागुन १२ गते प्रकाशन गर्ने र १३ गते उम्मेदवार मनोनयन दर्ता कार्यतालिका रहेको आयोगले जनाएको छ । त्यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारको विरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गते साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ ।   उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने भएको छ । प्रवक्ता पौडेलले मतदाता नामावली प्रकाशित गर्ने कामलगायतका कामलाई राष्ट्रपतिकै कामलाई  गरेकोबाट निरन्तरता दिने बताउनुभयो । उहाँका अनुसार उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित गर्ने सोही दिन २७ गते नै छ । उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते छ ।   प्रवक्ता पौडेलले आयोगले संविधानको मर्म र भावलाई  समातेर पाँच वर्षको अवधि नघट्ने गरी तादात्म्य मिलाउनका लागि आयोग लागेको बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदैछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको छ ।

पोखराः   पोखरामा ड्युटीमा खटिएका प्रहरीको हात भाँचिदिएको आरोप लागेका शौरभ थापा ४ हजार जरिवाना तिरेर छुटेका छन् ।   अभद्र मुद्धामा प्रकाउ परेका थापालाई ४ हजार जरिवानामा छोडिएको जिल्ला प्रशासन कार्यालय कास्कीका मुद्धा शाखा प्रमुख शिवप्रसाद गौतमले जानकारी दिए ।   सौरभले ५ दिनअघि गाडी चलाउँदा ड्युटीमा खटिएका प्रहरीको हातै भाँचिएको आरोप लागेको थियो । प्रहरीका अनुसार २५ वर्षीय सौरभले मादक पदार्थ सेवन गरी गाडी चलाएका थिए । गत बिहीबार नै उनलाई पक्राउ गरी ५ दिनको म्याद थपिएको थियो । अभद्र मुद्धा लागेका उनलाई प्रशासनले छाडिदिएको हो । प्रहरीका अनुसार पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे थापाले चलाएको गाडीको ढोकाले लागेर प्रहरी हवल्दार चित्रबहादुर वलीको हातै नै भाँचिएको छ ।  

काठमाडौं:  सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ । सोमबार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्नुहुँदै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको हो । उहाँले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने उहाँको भनाइ छ । सभामुख घिमिरेले पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाउनुभयो । ‘‘मिडिया भनेकै के होला त भन्दा भइरहेका कुराहरुलाई, समाजलाई समयमै सम्प्रेषण गरेर सचेत गराउने होला । अब हुने कुराहरु भनेको देश निर्माणका लागि, समाजलाई परिवर्तन गर्नका लागि, अग्रगति दिनका लागि गरिएका प्रयत्नहरु र गरिएका निर्णयहरु हुन् । ति निर्णयहरुलाई, पत्रकारहरुलाई रोक्नुपर्ने, छेक्नुपर्ने, असजिलो पार्नुपर्ने, अप्ठ्यारो पार्नुपर्ने हुँदैन । पत्रकारहरुले पनि नभएका, नचाहिँदा, नहुने कुराहरु गर्न लागेको भए पो ति कुराहरु कसरी प्राप्त गर्ने ? के गर्दा प्राप्त गर्ने ? कोसँग बसेर प्राप्त गर्ने ?कोसँग जुधेर प्राप्त गर्ने ? कोसँग मिलेर प्राप्त गर्ने ? अनेक बाटाहरु खोज्नुपर्ने होला ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘तर त्यो नभएपछि यि कुराहरु सहज ढंगले जाने कुराहरु हुन् । हाम्रो हलको अवस्था, त्यहाँ भित्रको सुरक्षाको कुरा, त्यहाँ भित्रका अन्य प्रवन्धका कुराहरुलाई मिलाउने सन्दर्भमा भएका अप्ठ्याराहरुलाई सहजता गर्न सकिने के छ त्यसलाई अपनाउने कुरा सामान्य कुरा हो ।’’ उहाँले थप्दै भन्नुभयो, ‘‘पत्रकार जनताका बीचमा सही कुरा सम्प्रेषण गर्न लाग्ने । सही कुरा रोक्नको लागि चाहीँ संसद, संसद सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरु छैन, आउँदैन, आउनु हुँदैन । जहाँसम्म गोप्य राख्दाखेरी त्यो फाइदा हुन्छ भने त्यसलाई नै प्रशारण गर्दाखेरी फाइदाको विरुद्धमा बेफाइदा हुँदैन र? मानिलिनुस् कुनै एउटा कुरा मैले गोप्य राख्नुपर्छ यसलाई कुनै खास समयसम्म भन्ने ठाने तर यसलाई छिटो बाहिर लानैपर्छ भन्ने ठान्यो भने यो त बुझाबुझमा न समस्या भयो ।’’   उहाँले समाजलाई सचेत गराउन पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने पनि उहाँको भनाइ छ । उहाँले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पत्रकारहरुले खेलेको भूमिकाले नेपाली समाजलाई सचेत गर्छ । त्यो चेतनाको आधारमा संगठित गर्छ । संगठनको आधारमा उसले अगाडि बढ्ने बाटो तय गर्छ । यो मामिलामा पत्रकारहरुको धेरै ठूलो भूमिका हुन्छ भन्ने म ठान्दछु । तर, हाम्रो पत्रकारिता ति उद्देश्यमाथि कत्तिको गइरहेको छ ? हाम्रो पत्रकारिता त्यो दिशामा हामी कत्तिको लान सकिरहेका छौँ ? जसको कारणले भए पनि त्यो दिशामा हामी कत्तिको जान सकिरहेका छौँ ? यसलाई कसरी त्यो दिशामा लैजान सकिन्छ । यहाँ रहेका कमी कमजोरीहरुलाई कसरी अन्त्य गर्न सकिन्छ ? त्यो गर्नु हाम्रो दायित्व हो । राज्यको तेस्रो आँखा भनेर चर्चा गरिएको हाम्रो पत्रकारितालाई वास्तवमा तेस्रो अंगकै रुपबाट विकास गर्नलाई हामीले के गर्नुपर्ला ? संसदको तर्फबाट के गर्नुपर्ला ?पत्रकारहरुको तर्फबाट के गर्नुपर्ला ?हाम्रो साझा दायित्व हो ।’’ सभामुख घिमिरेले शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभयो । उहाँले शहीदहरुको सपना साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो ।

तनहुँ:  तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको छ ।  हालसम्म उक्त प्याकेजमा रु छ अर्ब ३९ करोड ७० लाख ५६ हजार खर्च भएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।  प्याकेज २ निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग २०७५ साल असोज १५ मा रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार मा खरिद सम्झौता भएपछि २०७५ माघ ६ देखि निर्माण सुरु गरेको थियो । आयोजनाका अनुसार ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत् गृह खन्ने काम असार १० मा सम्पन्न भएको छ । “मङ्सिर मसान्तसम्म यस कार्यअन्तर्गतका सम्पूर्ण विद्युत् गृह खन्ने काम सम्पन्न भई कङ्क्रिटको काम पनि सम्पन्न भइसकेका छन्”, श्रेष्ठले भने ।  आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ २०७८ साल कात्तिकदेखि खन्न सुरु गरेकोमा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ । दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ २०७७ फागुन २९ देखि काम सुरु गरेको थियो । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानको काम पनि सकिएको छ । प्याकेज १ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ मा रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो ।  यसअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ १ र २ को काम जारी रहेको आयोजनाले जनाएको छ । “डाइभर्सन सुरुङ १ अन्तर्गत इनलेट र आउलेट दुवैतर्फबाट खन्ने काम भइरहेको छ भने मङ्सिर मसान्तसम्म तीन सय ४१ मिटर खनिसकिएको छ”, श्रेष्ठले भने ।  सुरुङ २ को इनलेट र आउटलेटको हालसम्म तीन सय ६० मिटर निर्माण सकिएको छ भने बाँधको माथिल्लो भागको स्लोप अन्तर्गत चार सय ८० मिटर निर्माण सकिएको जनाइएको छ । बाँधको दायाँ तर्फको माथिल्लो भागको स्लोप अन्तर्गत चार सय ७० मिटर काम सकिएको आयोजनाले जनाएको छ ।  प्याकेज एक २०८३ साल जेठ १७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसअन्तर्गत हालसम्म रु दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भइसकेको छ । आयोजनाका अनुसार भौतिक प्रगति १२ दशमलव ६८ र वित्तीय प्रगति ११ दशमलव ६७ प्रतिशत छ । प्याकेज २ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ वटा टावरको जग निर्माण सकिएको आयोजनाले जनाएको छ । ३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । सन् २०२२ मेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएपनि कोभिड महामारी तथा वन क्षेत्रको रुख कटानमा मन्त्रालयबाट ढिलागरी स्वीकृत प्राप्त भएकाले सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थपिएको छ ।  प्याकेज २ अन्तर्गत हालसम्म भौतिक प्रगति ५५ दशमलव शून्य छ र वित्तीय प्रगति ५३ दशमलव शून्य चार प्रतिशत रहेको आयोजनाले जनाएको छ ।