काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आठ करोड ३२ लाख रुपैयाँ मुल्य बरावरकाे नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो । विहीबार सुनको मुल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ रहेको छ । यो मुल्य अनुसार बरामत गरिएको सुनको मुल्य करिव ८ करोड ३२ लाख पर्न आउछ । कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो । उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताउनुभयो ।
गण्डकीः गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ । बेलाबेला विवादमा आइरहने नेपाल क्रिकेट सङ्घ (क्यान)को पछिल्लो विवादको कारण सोही लिग बन्न पुग्यो । खेलमा ‘स्पट फिक्सिङ’ भएको प्रमाणित भएपछि प्रतियोगिता नै विवादमा तानियो । सो विषयले क्यानभित्र पनि फाटो ल्यायो । टी–२० लिगमा भएका अवाञ्छित क्रियाकलापले नेपाली क्रिकेट बदनाम भएको भन्दै क्यान पदाधिकारीको राजीनामासमेतको माग उठ्यो । सात केन्द्रीय सदस्यले मङ्गलबार पोखरामा बसेको क्यानको बोर्ड बैठक नै बहिष्कार गरे । क्यानको आफ्नै प्रतियोगितामा खेल मिलेमतो भएकाले यसको सम्पूर्ण जिम्मेवारी कार्यसम्पादन समितिले लिनुपर्ने असन्तुष्ट पक्षको माग छ । क्यानले लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी ‘सेभेन थ्री स्पोटर््स’लाई दिएको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने नेपाली क्रिकेटकै हित सोचेर भारतीय कम्पनीसँग सम्झौता गरिएको बताउनुभयो । सोको निर्णय गर्दा बोर्डका सबै सदस्यको सहमति रहेको उहाँको भनाइ छ । “लिग सञ्चालन गर्दा भएका सामान्य प्रक्रियागत त्रुटिलाई लिएर राजीनामा नै माग गर्नु अनुचित छ”, उहाँले भन्नुभयो, “क्यानमा अनावश्यक विवाद सिर्जना गरी नेपाली क्रिकेटको भविष्यलाई अन्धकारतिर धकेल्ने नियतले एउटा पक्ष लागेको छ ।” अध्यक्ष चन्दले क्यानको विधानले तोकेबमोजिम सदस्यको दस्तखस्त लिएर आए आफू विशेष साधारणसभा डाक्न तयार रहेको उल्लेख गर्नुभयो । “बाहिर राजीनामा माग्दै हिँडेर केही हुँदैन, क्यान आफ्नो विधानले चल्छ”, उहाँले भन्नुभयो । आउँदो फागुनमा साधारणसभा र जेठभित्र विशेष साधारणसभा गरी निर्वाचन गर्ने निर्णय बोर्ड बैठकबाट भइसकेकाले यो विषय उछाल्न आवश्यक नरहेको अध्यक्ष चन्दले बताउनुभयो । “लिगलाई किन यति नकारात्मक पाटोबाट मात्र हेरिँदैछ, नेपाली खेलाडीले १५ दिन खेलेर १५ लाख कमाउने वातावरण बनाएको क्यानले होइन रु”, उहाँले भन्नुभयो, “स्पट फिक्सिङमा संलग्न जोसुकै पदाधिकारी, खेलाडी वा कोही सदस्य भए पनि कारवाही हुन्छ ।” क्यान र सेभेन थ्री स्पोर्ट्सबीच नेपाल टी–२० लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो । सोबापत सेभेन थ्री स्पोर्टस्ले रु ३३ करोड दिने सम्झौता थियो । लिगमा स्पट फिक्सिङ भएको, खेलाडीले समयमै पैसा नपाएको, अपारदर्शितालगायत विषयमा विवाद उत्पन्न भएको थियो । स्पट फिक्सिङको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले क्यान र सेभेन थ्री स्पोर्टस् कम्पनीमाथि छानबिन गरिरहेको छ । खेल मिलेमतोको आरोपमा केही खेलाडीलाई पक्राउसमेत गरिएको छ । टी–२० लिगमा भएका अवाञ्छित क्रियाकलापमा केन्द्रीय कार्यसम्पादन समिति जिम्मेवार रहेकाले राजीनामा माग गरिएको असन्तुष्ट पक्षका केन्द्रीय सदस्य ऋषिराम गौतमले बताउनुभयो । लिगलगायतका विषयमा कार्यसम्पादन समितिको बैठकबाट नै सम्पूर्ण निर्णय गरिएको र बोर्डलाई कुनै जानकारी नगराइएको उहाँको आरोप छ । नेतृत्व गैरजिम्मेवार बन्दा क्यान निलम्बनमा पर्ने देखिएकाले आफूहरू विरोधमा उत्रेको असन्तुष्ट पक्षको तर्क छ । केन्द्रीय सदस्य गौतमले भन्नुभयो, “राखेपले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा क्यानले गम्भीर गल्ती गरेको निष्कर्ष निकालिएको छ । राखेपलाई क्रिकेट सङ्घ विघटन गर्न सिफारिस गरिएको छ । क्यान निलम्बनको खतरामा छ ।” क्यानको साख र मर्यादा बचाउनका लागि सम्पूर्ण निर्णय र काम कारबाही अगाडि बढाउने कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्यको राजीनामा नै नेपाली क्रिकेट बचाउने एक मात्र उपाय भएको उहाँको भनाइ छ । “अहिले हामीले टी–२० लिग, क्यान र सेभेन थ्री स्पोर्टस्बीच भएको सम्झौताका बारेमा मात्र आवाज उठाएका छौँ । आगामी दिनमा क्यानका अन्य विषयसमेत विस्तारै बाहिर ल्याउँदै छौँ”, केन्द्रीय सदस्य गौतमले भन्नुभयो । क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्यानको विवादले नेपाली क्रिकेटको विकासमा असर पुग्ने बताउनुभयो । नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । “क्यानको विवादले नेपाली खेलकुद जगत्मा राम्रो सन्देश गएको छैन, यसको बेलैमा निरुपण हुनुपर्छ”, उहाँले भन्नुभयो । क्यानको आसन्न चुनावलाई लिएर नेतृत्वको टकराव सिर्जना भएको कतिपयको बुझाइ छ । क्यानलाई कसले हातमा लिने भन्ने दाउले सिङ्गै नेपाली क्रिकेटको भविष्य नै धरापमा पर्ने हो की भन्ने चिन्ता खेलप्रेमीमा छ । विसं २०७६ असोजमा सम्पन्न भएको अधिवेशनबाट चार वर्षका लागि चन्द क्यानको नेतृत्वमा आउनुभएको थियो । उहाँले कार्यकाल सकिनुअगावै आउँदो जेठ मसान्तभित्र विशेष साधारणसभाको आयोजना गरी निर्वाचन गर्ने घोषणा गर्नुभएको छ ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पोखरा २३ च्याम्पियन भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै टिमले फाइनल जित्दै च्याम्पियन भएका हुन् । पुरुषतर्फ वडा नम्बर १६ द्वितीय र वडा नम्बर २० तृतीय भए । महिलातर्फ वडा नम्बर १८ द्वितीय र वडा नम्बर १५ तृतीय भए । पुरुषतर्फ फाइनलमा वडा नम्बर १६ लाई ३–२ को सेट र महिलातर्फ वडा नम्बर १८ को टिमलाई ३–० को सोझो सेटमा हराउँदै वडा नम्बर २३ दुवैतर्फ प्रथम भएको हो । प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । महिला र पुरुषतर्फ ५–५ जना खेलाडीले उत्कृष्ट विधागत पुरस्कार पाएका छन् । पुरुषतर्फ वडा नम्बर २० का सुजन नेपाली उत्कृष्ट डिफेन्डर, वडा नम्बर २३ का बबिन सुनार उत्कृष्ट स्पाइकर, विवेक सुनार उत्कृष्ट सेटर, रमित क्षेत्री उत्कृष्ट ब्लकर घोषित भए । वडा नम्बर १६ का विजय सुनारले प्रतियतोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार पाए । महिलातर्फ वडा नम्बर २३ की कृष्णकुमारी भण्डारी उत्कृष्ट स्पाइकर, सोही वडाकी निशा भुजेल उत्कृष्ट सेटर, सबिना पौडेल उत्कृष्ट डिफेन्डर र वडा नम्बर १८ की जेनिफर चौधरी उत्कृष्ट सर्भर घोषित भए । वडा नम्बर २३ की निशाले उत्कृष्ट खेलाडीको पुरस्कार पाए । विधागततर्फ उत्कृष्ट हुनेले पुरस्कारबापत ५–५ हजार रुपैयाँ पाएका छन् । पोखरा महानगर भलिबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ टिम सहभागी थिए । प्रतियोगितामा सहभागी टिमका खेलाडी छनोट गरेर महानगरपालिकाले आफ्नो टिम बनाएको छ । फरकफरक वडाका खेलाडी छनोट गरेर पुरुषतर्फ दुई र महिलातर्फ एक टिम बनाइएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । यसरी बनाइएको टिमले आगामी दिनमा हुने भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्ने उनले बताए । प्रतियोगिताको समापन समारोहमा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडी उत्पादनमा आफूहरुले सक्दो प्रयास गर्ने बताए । भलिबल खेलाडी उत्पादनमा प्रदेश सरकारसँग पनि सहकार्य गर्ने उनको भनाइ थियो ।
काठमाडौं: राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर गर्नुभएको हो । निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानुनको उल्लङ्घन भएको उल्लेख छ । रिट निवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले कार्यकाल सकिनुभन्दा एक महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरे पनि आयोगबाट त्यसको अवज्ञा भएको उल्लेख छ । आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते गर्ने उपराष्ट्रपतिका निर्वाचन गर्ने निर्णय गरेको थियो ।
पोखरा: पोखरा महानगरपालिकाले २३ गतेदेखि लागू गर्ने पार्किङ प्रति पोखरा उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । पोखरा महानगरपालिकाले माघ २३ गतेदेखि पृथ्वीचोक, सभागृहचोक, न्यूरोड चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजारको सडकमा सवारी पार्किङ निषेध गर्ने निर्णय गरेपछि पोखरा उद्योग वाणिज्य संघले आज (बुधबार) ध्यानाकर्षणपत्र जारी गर्दै आपत्ति जनाएको हो । संघका अध्यक्ष पवन प्रजापतिले हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रका भनिएको छ, ‘पोखराको अव्यस्थित ट्राफिक समस्याको व्यवस्थान हाम्रो चासो र सरोकार हो । संघ, महानगरबाट असल नियतले अगाडि सारिएको यो अभियान सह्राना गर्छ तर यस्तो निर्णयले गम्भीर र दीर्घकालिन महत्वको निर्णय लिदा सरोकारवाला सहयात्री पोखरा उद्योग वाणिज्य संघको परामर्श नगरिनुले दुखित तुल्याएको छ । ’ पोखरा महानगरपालिकाले व्यवस्थापन गरेका पार्किङ स्थलले अहिलेको सवारी चाप धान्न सक्छ ? के हतारमा निषेधित क्षेत्र घोषणाअभि विकल्पबारे सोच्न सकिदैनथ्यो ? के अहिले गरिएको निर्णयमा अभ्यस्त हुन व्यवसायी र सर्वसाधारणलाई पर्याप्त समय प्रदान गरिएको छ ? प्रश्नले हामीले झस्काएको छ प्रजापतिले हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ । पोखरा उद्योग वाणिज्य संघले महानगरले गरेको पार्किङ निषेधित गर्ने निर्णय संसोधन गर्न माग समेत गरेको छ । संघले पार्किङको दीर्घकालिन समाधान खोजिनुपर्छ र सरकारबाट गरिने निर्णयबाट उपभोक्ता तथा व्यवसायी प्रतावित बन्नु हुँदैन भन्दै व्यवसायिक तथा सार्वजनिक सरोकार विषयमा निजी क्षेत्रसँग विस्तृत छलफल गरेर मात्र लागू गर्न माग गरेको छ । संघले कोभिड १९ को महामारी, बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदरबाट थला परेको व्यवसायीहरुलाई महानगरको निर्णयले असर पु¥याउने तर्फ ध्यान नदिएको पत्रमा उल्लेख गरिएको छ । यस्त महानगरको पार्किङ व्यवस्थापनमा उद्योग वाणिज्य संघको आपत्ति जनाउँदै सदस्यहरुलाई छलफलमा बोलाएको छ । संघले बैंक तथा वित्तिय संस्था सम्बन्धी समस्या एवं आर्थिक अन्यौलता र पोखरा महानगरपालिकाद्धारा लागू गर्न लागिएको मूख्य सहरी क्षेत्रको सडकमा पार्किङ्ग निषेधको विषयमा छलफल गर्न सदस्यहरुलाई आह्वान गरेको छ ।
रेसुङ्गा: गुल्मीकी पार्वता पाण्डेले पुस र माघ महिनामा डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्डको राँयढुङ्गामा बसेर सुन्तला बिक्री गर्छिन् । पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर २ लाख रुपैयाँ कमाएको उनको भनाइ छ । उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेच्दै आएकी छन् । यो वर्ष सुन्तलाको मूल्य प्रतिकिलो ८० देखि २०० सम्म रहेको पाण्डेले बताइन् । ‘सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’, उनले भनिन्, ‘सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ ।’ पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँछिन् । विहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्छिन् । सामान्य जीविकोपार्जनका लागि विदेशकै बाटो रोज्नु गलत भएको पाण्डे बताउँछिन् । उनका श्रीमान् नारायण पनि सुन्तला खेती र भैँसी फार्ममा काम गर्छन् । उनीहरुको फार्ममा १५ वटा भैँसी छन् । जसबाट दैनिक ३५ लिटर दूध उत्पादन हुन्छ । उनीहरुले सदरमुकाम तम्घासमा दूध बेच्दै आएका छन् ।
विराटनगर : नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको रंगेली नगरपालिका–५ बाट प्रहरीले सूर्ति तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। भारतबाट तस्करी गरेर ल्याइएको ठूलो परिणामको सूर्तिसहित ३३ वर्षीय उसमान शेख मियाँलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले मियाँलाई पक्राउ गर्नुका साथै ६ सय ९० किलोग्राम अवैध सूर्ति बरामद गरेको छ। बोरामा प्याक गरेर ल्याइएको अवस्थामा अवैध सूर्ति बरामद भएको हो। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पक्राउ परेका मियाँ सूर्ति तस्करीमा संलग्न रहेको खुलेको छ। भन्सार छली गरेर नेपालतर्फ सूर्ति भित्राउने धन्दामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान र कारबाही अघि बढाउनका लागि पक्राउ परेका मियाँ र बरामद भएको सूर्तिलाई प्रहरीले भन्सार बुझाएको छ।
काठमाडौं: बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६१ वटा कम्पनीको ५० लाख २४ हजार तीन सय ८१ कित्ता सेयर ३६ हजार आठ सय ७९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७६ करोड ७० लाख ५१ हजार नौ सय १६ बराबरको कारोबार भएको छ । आज लगानी, लघुवित्त, म्युचुअल फन्ड, व्यापार र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । लगानी समूह शून्य दशमलव ३५, लघुवित्त समूह १५ दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव ०५, अन्य समूह एक दशमलव २७ र व्यापार समूह तीन दशमलव ६३ अङ्कले घटेको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा ८८ दशमलव ०५ र होटल तथा पर्यटन समूहको उपसूचकमा ५० दशमलव ४८ अङ्कको वृद्धि देखिएको छ । त्यस्तै, बैंकिङ समूह शून्य दशमलव ६२, वित्त समूह नौ दशमलव ५४, जलविद्युत् समूह तीन दशमलव ७७, उत्पादन समूह २८ र निर्जीवन बीमा २० दशमलव ०५ अङ्कले बढेको छ । आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइबीएल समृद्धि फन्ड–२ का लगानीकर्ताले प्रतिकित्ता तीन दशमलव ७४ प्रतिशतका दरले गुमाएका छन् । आज सबैभन्दा धेरै नेपाल बैङ्क लिमिटेडको रू पाँच करोड ९३ लाख ३९ हजार चार सय ४४ बराबरको दुई लाख २२ हजार ५५ कित्ता सेयर कारोबार भएको छ ।
बागलुङ: बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका जिसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाइते जिसीलाई धौलागिरी अस्पतालमा अतिआवश्यक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तेजप्रसाद निउरेले जानकारी दिए। बागलुङ नगरपालिका- ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । आत्मदाहको कारणबारे केही खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

