काठमाडौं: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भुवन बहादुर माझीलाई पक्राउ गरेको छ । सिन्धुली कमलमाई नगरपालिका वडा नं. १७ घर भई हाल काठमाडौं शान्तिनगर–३१ बस्दै आएका माझीलाई आज (शुक्रबार) काठमाडौं,नयाँबानेश्वरबाट पक्राउ गरिएको हो । माझीलाई उच्च अदालत पाटन, ललितपुरको मिति ०७९–०५–२८ गतेको आदेशले बैंकिङ कसुर मुद्दामा रु १ करोड १९ लाख ७३ हजार ६ सय रुपैयाँको विगो गरेको आरोप लागेको काठमार्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । त्यस्तै माझीलाई आजै अदालतमा उपस्थित गराईएको छ ।
पोखरा: मध्यरातमा साथीहरुसँग बसिरहेका दिलिप विश्वकर्मालाई प्रेमिकाले भेट्न बोलाउँछिन् । साथीहरुलाई भेट्न घरबाट निस्किएका दिलिप विश्वकर्मा साथीहरुसगँ बसिरहेका बेला प्रमिकाले भेट्न बोलाएपछि प्रमिका भेट्न साथीहरुबाट छुटेका दिलिप पाँच महिनादेखि परिवार र साथीबाट हराइरहेका छन् । साथीहरुसँग ११ बजेसम्म बसिरहेका दिलिप प्रमिकाले भेट्न बोलाएपछि हराएका दिलिप बिहान अबेरसम्म पनि घरमा नफर्किए पछि स्थानीयको सहयोगमा दिनभर गाउँमा खोजी गर्दा पनि कतै फेला नपरेपछि खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा खोजी गरिदिन निवदेन दिन्छन् । दिलिप हराएको खवरपछि जिल्ला प्रहरी कार्यालय बागलुङ र इलाका प्रहरीबाट खटिएको प्रहरी र स्थानीयले गाउँमा खोजी गरेपनि उनको कुनै पत्ता नलागेपछि प्रहरीले अनुसन्धानकै क्रममा रहेको बताइएको छ । २०७९ भदौ १६ गते राति ८ बजे साथीहरु भेट्न निस्किएका दिलिप ११ बजे प्रमिकाले भेट्न बोलाएपछि बेपत्ता भएको परिवारको आरोप छ । दिलिपका परिवारले बेपत्ता पारिएको भन्ने आरोप लगाएपनि त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगा बहादुर थापाले सुनगाभा न्यूजलाई बताए । ‘ भदौ १६ गते बेलुकाबाट हराएको भन्ने छ, १७ गते मात्र हराएको निवदेन आएपछि जिल्लाबाट नै प्रहरी खटाएर खोजी गरेको हौं, परिवारका अनुसार गाउँकै एक युवतीसँग प्रेम सम्बन्धमा रहेको भन्ने अनुसन्धानमा देखिएको छ, डीएसपी थापाले भने, ‘अन्तिम फोन प्रेमिका भनिएको युवतीसँग नै भएको छ तर युवतीको घर सम्म पुगे पुगेन भन्ने प्रमाण फेला पारेका छैनौ, बेपत्ता पारिएका हुन् वा हराएका हुन् अनुसन्धानको क्रममा नै छौं ।’ प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको परिवारले आरोप लगाउँदै आएको छ । घरको एक्लो छोरो हो, कि लास कि सास भन्दै खोजी गर्दै प्रहरी प्रशासन धाएको धेरै भयो तर केही उपलब्धि हुन सकेन आफन्त रोशन विश्वकर्मा भन्छन् । ‘साथीहरुसँग बसिरहेका दिलिप प्रेमिकाले भेट्न बोलाएपछि हराएका छन्, विश्वकर्मा भन्छन्, ‘प्रेमिमका भनिएका युवती नावालिका भएको कारण राम्रोसँग सोधपुज गर्न नमिलेको भन्दै प्रहरी प्रशासनले छानविन गरेको छैन, नावालिका भएपनि राम्रोसँग छानविन र सोधबुझ गर्न माग गरिरहेका छौं ।’ बागलुङको निसिखोला गाउँपालिका १ हर्पे घर भएका १९ वर्षीय दिलिप विश्वकर्मा देवीस्थान माध्यमिक विद्यालय कक्षा १० अध्ययनरत हुन् । परिवारका अनुसार दिलिप गाउँकै अन्तरजातिय प्रेमसम्बन्धमा थिए । प्रदेश सभामा खोजी गर्न माग गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले गण्डकी प्रदेश सभाको पहिलो अधिवेशनको विशेष समयमा बोल्दै पाँच महिनादेखि हराइरहेका दिलिप विश्वकर्मालाई खोजी गर्न माग गरेकी हुन् । ‘छुवाछुट सम्बन्धि ऐन कानुन संविधानमा सिमित भए, समाजमा छुवाछुट अझै छ, सांसद पौवीले भनिन्, ‘अन्तरजातिय प्रेमसम्बन्धमा रहेकै कारण बागलुङ निसिखोला गाउँपालिकाका दिलिप विकलाई गायव बनाइएको छ, खोजी कार्य गरिदिन प्रदेश सभामा माग गरेको छु ।’
पोखराः गण्डकी प्रदेशका सांसद गोविन्द बहादुर नेपालीले बागलुङको बागलुङ नगरपालिका र कृषि ज्ञान केन्द्रबीच कार्यालयमा भएको द्धन्द समाधान गर्न माग गर्नुभएको छ । गण्डकी प्रदेशको पहिलो अभिवेशनको विशेष समयमा बोल्दै सांसद नेपालीले नगर र कृषि ज्ञान केन्द्रको अभिभाकत्व ग्रहण गर्दै विवाद समाधान प्रदेश सभामा माग गरेका हुन् । ‘बागलुङ नगरपालिकाले कृषि ज्ञान केन्द्र नभएको अवस्थामा त्यहाँबाट सेवा प्रवाह गर्दै आएको थियो, नेपाली भने, ‘कृषि ज्ञान केन्द्रको सामित्वमा भएको भवनबाट अहिले नगरपालिका र कृषि ज्ञान केन्द्रले सेवा प्रवाह गर्दै आएका छन्, दुवै कार्यालयबीच विवाद बढ्दो छ, समाधान गरौं ।’ उनले दुवै कार्यालयबीच विवाद बढ्दै गएकाले द्धन्द चर्किन नदिन प्रदेश सरकारले दुवैको अभिभाकत्व ग्रहण गर्दै विवाद समाधान गर्न माग गरेका छन् । सांसद गोविन्द बहादुर नेपाली गण्डकी प्रदेशका समानुपातिक सांसद हुन् ।
काठमाडौं: सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । आज (शुक्रबार) सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले सन्दीपविरुद्धको मुद्दामा सो आदेश दिएको हो । सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउने आदेश न्यायाधीश फुँयालले दिनुभएको छ । गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसको भोलिपल्ट पुस २९ गते लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए । उक्त आदेशबदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मङ्गलबार सर्वोच्चमा निवेदन दिएको थियो । यता, धरौटीमा रिहा हुनुभएका लामिछानेलाई क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।
पोखरा: माघ १ गते पोखरामा भएको विमान दुर्घटनापछि पातलिँदैगएको विमान उडान अहिले क्रमशः लयमा फर्किन थालेको छ । माघको पहिलो हप्ता ठप्प रहेको विमानस्थलमा तेस्रो सातातिर आइपुग्दा यात्रुको सङ्ख्यामा वृद्धि भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालय प्रमुख विक्रमराज गौतमले विमानस्थल सञ्चालन अन्तर्राष्ट्रिय हवाई उड्डयन संस्था (आइकाओ) को मूल्य र मान्यताअनुरूप भएकाले जहाज चढ्ने यात्रुलाई ढुक्क भएर यात्रा गर्न आग्रह समेत गर्नुभयो । उहाँले दुर्घटना बाजा बजाएर आउँदैन, यसलाई भवितव्यको रूपमा लिनुपर्ने बताउनुभयो । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा हुने एयरलाइन्समा कुनै खराबी नभएकाले हवाई यात्रालाई सुरक्षित ठान्न उहाँले यात्रुहरूलाई आग्रह गर्नुभयो । पोखरा आउने पर्यटकको रोजाइमा हवाई यात्रा नै रहेकाले पर्यटन व्यवसायले पनि सहजीकरण गर्नुपर्ने प्रमुख गौतमको भनाइ छ । ‘विशेषतः यो समय पोखरामा अफसिजन चलिरहेको छ, त्यसमा पनि विमान दुर्घटनाले यात्रुहरू घटाएको हो । मानिसमा मनोवैज्ञानिक असर परेर होला यात्रुको सङ्ख्या पहिलेको तुलनामा कमी नै छ’ प्रमुख गौतमले भन्नुभयो । पोखराबाट कुनै समय दैनिक ४ हजार यात्रुसम्म आवतजावत गरेको विमानस्थलको रेकर्ड छ । हिजो र आज यती एयरलाइन्सबाट यात्रा गरेर पोखरा आउनुभएका पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले यात्रामा हुने भयलाई दूर गर्न आग्रह गर्नुभयो । यती एयरलाइन्सका पोखरा प्रमुख राम लामिछानेले आफ्नो कम्पनीमा यात्रुको चाप बिस्तारै बढ्दै गएकाले उडान सङ्ख्या थप्न लागेको बताउनुभयो । बुद्ध एयरका स्टेसन इन्चार्ज गौतम बरालले भोलिका लागि १२ वटा उडान तालिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोखरा–काठमाडौँ, पोखरा–भैरहवा, पोखरा–भरतपुर, पोखरा–नेपालगञ्जका लागि उडान तालिका छ, जसमा ६० देखि ७० प्रतिशत हवाई यात्रु रहेका छन् ।’ सौर्य एयरलाइन्सका स्टेसन इन्चार्ज नवजित केसीले पोखराबाट जानेभन्दा काठमाडौंबाट आउनेको सङ्ख्या बढ्न थालेको बताउनुभयो । गत वर्ष जनवरीमा २ हजार ४ सय ८२ उडान सङ्ख्या रहे पनि समीक्षा अवधिमा यस वर्षको जनवरीमा १ हजार ८ सय ६७ उडान सङ्ख्या रहेका छन् । जसमा गत वर्ष ३२ हजार ७ सय ३० यात्रुले उडान भरेका थिए भने यस वर्ष २८ हजार ८ सय ६९ ले यात्रा गरेको विमानस्थलका राजस्व अधिकृत देवराज सुवेदीले जानकारी दिनुभयो । हवाई दुर्घटना भएपछि यात्रुको सङ्ख्यमा कमी आएकोमा माघको तेस्रो साताबाट भने पोखराको हवाई उडानमा यात्रुहरूको सङ्ख्या बढ्न थालेको सुवेदीले बताउनुभयो ।
ढल्केवर: पाँचौ संस्करणको साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता माघ २३ गतेबाट धनुषाको नकटाझिजमा हुने भएको छ । नेपाल हक्की सङ्घ र धनुषास्थित मिथिला नगरपालिकाको संयुक्त आयोजनामा महिला राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो । मधेश प्रदेश हक्की टिमका संयोजक रवीन्द्र सिंहले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले हिमालय युवा क्लब नकटाझिजको खेल मैदानमा माघ २३ गते २८ गतेसम्म प्रतियोगिता हुने जानकारी दिनुभयो । मधेश प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपालका छ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) को टोली गरी सात वटा टीमको सहभागिता रहने छन् । सहभागी टीमलाई समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशको टिम छन् । समूह ‘बी’ मा प्रदेश १, लुम्बिनी, मधेश र नेपाल आर्मी रहेका छन् । प्रतियोगिताको पहिलो दिन २३ गते तीनवटा खेल हुने संयोजक सिंहले बताउनुभयो । मधेश प्रदेशका महिला खेलाडीलाई प्रोत्साहन तथा महिला सशक्तिरणमा जोड पुग्ने उद्देश्यले यस पटक महिला राष्ट्रिय हक्की प्रतियोगिता तराईको भूभागमा गर्न जोडबल गरिएको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले बताउनुभयो ।
काठमाडौं: विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ । प्रथम नेपाली महासचिव चापागाईंले आफ्नो पद सम्हालेपछि दोस्रो पटक चारदिने नेपाल भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटीका गतिविधिका बारेमा जानकारी लिनुहुने बताइएको छ । उहाँले भ्रमणका क्रममा राजनीतिक दलका शीर्ष नेतासँग समसामयिक विषयमा छलफल गर्नुहुने बताइएको छ । साथै भ्रमणका क्रममा उहाँ आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुनुहुने छ । आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वोच्च परोपकारी सङ्गठन आइएफआरसीले सन् २०२२ मा नेपाल रेडक्रसलाई ‘डबल क्याबिन’ भएका १० ‘पिकअप गाडी’ हस्तान्तरण गरेको थियो । साथै आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण कार्यक्रममा उहाँ सहभागी हुने जनाइएको छ । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील चापागाईँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । सो जिम्मेवारी सम्हालेपछि उहाँले विसं २०७८ माघ १८ मा पहिलो नेपाल भ्रमण गर्नुभएको थियो । विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् । आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले एशियाबाटै पहिलोपटक उहाँलाई सो पदमा निर्वाचित गरेको थियो । बोर्डमा विश्वका शक्तिशाली २९ देश छन् । आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी अझै पनि कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्तिमा जुटिरहेका छन् । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण निरन्तर मानवीय सहायता पुर्याउने गर्दछ । विशेष गरी कोभिड–१९ बाट उत्पन्न विश्वव्यापी आर्थिकमन्दीका बाबजुद पनि महासचिव चापागाईंले सङ्कटासन्न समुदायलाई मानवीय सहायता पुर्याउन निर्वाह गर्नुभएको नेतृत्वले आइएफआरसीका सदस्य देशमा उच्च प्रशंसा कमाएको जनाइएको छ । निरन्तर सहयोग आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डललले कोभिड–१९ प्रतिकार्यमा आफ्नो सहयोगलाई अहिले पनि जारी राखेको छ । पछिल्लो समय उसले विशेष गरी कोभिड–१९ को विरुद्धको खोप सर्वसाधारणसम्म पहुँच पुर्याउन नेपाल रेडक्रसलाई निरन्तररुपमा सहयोग उपलब्ध गराइरहेको हो । आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड–१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहीतासम्बन्धी अवधारणाका माध्यमबाट सहयोग गरेको थियो । सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि रोकथामका उपाय, अत्यावश्यक मेडिकल सेवामा सहयोग, सामाजिक आर्थिक प्रभावलाई सम्बोधन र खोप अभियानमा सहयोगजस्ता नेपालमा कोभिड–१९ कार्य सञ्चालनका उसका मुख्य क्षेत्र छन् । अहिले २२ जिल्लामा खोपसम्बन्धी गतिविधिमा नेपाल रेडक्रसलाई सहयोग जारी राखेको नेपालस्थित आइएफआरसी कार्यालयले जनाएको छ । आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले भन्नुभयो, “सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि कोभिड–१९ प्रतिकार्यमा सहयोग जारी छ । यसका अतिरिक्त विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थितिभन्दा पहिले, त्यस्ता परिस्थितिहरुका अवधिमा र त्यस्ता परिस्थिति पछाडि सङ्कटासन्न मानिसका आवश्यकता परिपूर्ति गर्ने एवं उनीहरुको जीवनस्तरमा सुधार ल्याउने किसिमका मानवीय सेवाका कार्यक्रम जारी छ ।” रणनीतिक प्राथमिकता र सहयोग आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले भन्नुभयो, “आइएफआरसीको रणनीति २०३० ले १९२ रेडक्रस तथा रेडक्रिसेन्टको सामूहिक महत्वकाङ्क्षा प्रतिनिधित्व गर्दछ र भविष्यमा लागि सङ्गठनको दूरदृष्टि खाका प्रस्तुत गर्दछ ।” नेपाल रेडक्रसले आइएफआरसीको सहयोगमा सन् २०२२ मा आफ्ना कार्यक्रम तथा सेवाद्वारा पाँच मुख्य रणनीतिक प्राथमिकतामाथि जोड दिँदै सङ्कटासन्न समुदायलाई मानवीय सहायता उपलब्ध गराएको थियो । यसमा जलवायु तथा वातावरणीय सङ्कटमा १२ हजार दुई सय ५९, विकसित हुँदै जाने सङ्कट तथा विपद्मा एक लाख २२ हजार चार सय ४१, स्वास्थ्य तथा कल्याण तीन लाख चार हजार तीन सय चार, मूल्य, शक्ति तथा समावेशीता बाट १५ हजार एक सय २३ लाभान्वित भएका थिए । नेपालमा आइएफआरसी आइएफआरसीको सचिवालय स्वीट्जरल्याण्डको जेनेभामा छ । सङ्गठनले मानवीय हितका लागि करिब एक करोड ५० लाख स्वयंसेवकलाई सङ्गठित गरी एक सय ९२ भन्दा बढी मुलुकमा स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापको सहयोग उपलब्घ गराउँछ । सन् २०१५ अप्रिल २५ मा नेपालमा गएको अकल्पनीय ‘गोरखा भूकम्प’ पश्चात् आइएफआरसीले भूकम्प प्रभावितको खोज, उद्धार तथा राहत वितरणको क्षेत्रमा नेपाल सरकारलाई महत्त्वपूर्ण सहयोग गरेको थियो । साथै उसले भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास निर्माण, स्वास्थ्य, खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्द्धन तथा जीविकोपार्जनका साथै नेपाल रेडक्रसको सस्थागत क्षमता अभिवृद्धिमा सहयोग गरेको थियो । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले भन्नुभयो, “नेपालमा आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीसँग घनिष्ठरुपमा मिलेर काम गर्दछ ।” नेपाल रेडक्रसको स्थापना सन् १९६४ मा भएको थियो । उसले मुलुकका सात प्रदेश तथा ७७ जिल्ला शाखा तथा एक हजार पाँच सयभन्दा बढी उपशाखाका माध्यमबाट विपद् पूर्वतयारी, आपत्कालीन परिस्थिति, स्वास्थ्य तथा समावेशीताका क्षेत्रमा सरकारको सहयोगीका रुपमा काम गर्दछ । एक लाख २५ हजारभन्दा बढी सक्रिय स्वयंसेवकले नेपाल रेडक्रसका माध्यमबाट मानवीय हितमा योगदान पुर्याउँदछन् । पछिल्लो समय आइएफआरसीको आर्थिक सहयोगमा नेपाल रेडक्रसले डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिरहेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरगाउँ केन्द्रबिन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्पबाट सो गाउँका छ जनाको अकालमा मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।
काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ। लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै सर्वोच्चमा सरकारका तर्फबाट महान्यायाधीवक्ता कार्यालयले निवेदन दिएको थियो। सोही मुद्दामा आज पहिलो सुनुवाइ हुन लागेको हो। गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आजलाई तोकिएको हो। उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको थियो। उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। उनका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ। काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो। जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।
काठमाडौँ: हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्यमा शुक्रवार एकै दिन १४ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्दै १ लाख ६ हजार एक सय रुपैयाँमा झरेको हो । यस्तै आज यता तेजाबी सुनको मूल्य समेत तोलामा १४ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

