वीरगञ्ज: पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । पर्यटक प्रहरी कार्यालय वीरगञ्जका अनुसार सन् २०२२ को जनवरीदेखि सन् २०२३ को जनवरीसम्म यहाँबाट ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने पाँच सय पाँच जना विदेशी पर्यटक बाहिरिएका छन् । हावापानी तथा घुमफिर गर्ने मौसमका दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुसमा अन्य महिनाको तुलनामा पर्यटकको सङ्ख्या बढी रहेको पर्यटन प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक अनिल कुमार महतोले जानकारी दिनुभयो । कार्यालयको तथ्याङक अनुसार पछिल्लो पुसमा मात्रै वीरगञ्ज नाकाबाट एक सय दुईजना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने उए सय २४ जना बाहिरिएका छन् । भारतको विभिन्न सहर घुमेर वीरगञ्ज नाकाबाट नेपाल आउनेमा अमेरिका, फ्रान्स, थाईल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक बढी हुने महतोले बताउनुभयो । यहाँ आउने पर्यटकलाई होटल, यातायातलगायतमा असुबिधा वा ठगि हुन नदिन सचेतना जगाउनुको साथै दुर्घटनामा परी घाइते भएकालाई उपचार गराई परिवारजनको जिम्मा लगाउने काम पर्यटक प्रहरी कार्यालय वीरगञ्जले गर्दै आएको निरीक्षक महतोको भनाइ छ । भारतको रक्सौलहुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटलाई अध्यागमन कार्यालय वीरगञ्जले अनअराईबल भिसा दिने गरेको छ ।
केप क्यानाभेरल (फ्लोरिडा): खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा गत सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ । पत्ता लागेका नयाँ चन्द्रमा आकारमा ०.६ माइलदेखि दुई माइल सम्मका छन् । आगामी एप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ भने अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा) ले पनि आगामी वर्ष अर्को यान प्रक्षेपण गर्नेछ । खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् । बृहस्पतिका नयाँ चन्द्रमाको नामकरण हुन बाँकी छ । पत्ता लागेका नयाँ चन्द्रमामध्ये आधा धेरै साना छन् ।
सर्लाही: सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–४ मा मलङ्गवाबाट गम्हरीयातर्फ आउँदै गरेको जेसीस अङ्ग्रेजी आवासिय विद्यालयको ना १ क ४९५१ नम्बरको बसले ठक्कर दिँदा कविलासी नगरपालिका–९ बस्ने जुगेश्वर महतोका १८ वर्षीय छोरा दीपेन्द्र महतोको मृत्यु भएको हो । बसले मलङ्गवातर्फ गइरहेको बीआर ०६ पीबी ३५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार कविलासी नगरपालिका– १० बस्ने हृदयनारायण महतोकी १७ वर्षीया छोरी सबनम गुप्ता र जगदिस महतोकी १७ वर्षीया छोरी पूजाकुमारी महतो घाइते हुनुभएको छ । उहाँहरुलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । घाइतेमध्ये पूजा कुमारीको अवस्था गम्भीर छ । दुर्घटनामा मृत्यु भएका युवक र घाइते दुबैजना अर्को विद्यालयका विद्यार्थी नै हुन् । दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
पोखरा: नेपाल वित्तिय संस्था कर्मचारी संघ (FIEUN) कास्की जिल्ला कार्यसमितिको शुक्रबार भएको नवौं अधिवेशनले यामबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नविन भण्डारी, र सदस्यमा शंकर भण्डारी, देवी लामिछाने, मुना जिसी, निलम लम्साल, सुनिता कार्की, गणेश आले, मञ्जु आले, अध्यक्षबाट मनोनित दुई सदस्यहरु कुलबहादुर तामाङ र गोपिनाथ पोखरेल रहेका छन् । कार्यक्रमका प्रमुअख अतिथि नेपाल ट्रेड युनियन गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले श्रमिकको हकहितको लागि वर्तमान सरकार गम्भिर नभएको हुँदा सबै श्रमिक एकजुट हुनपर्ने बताए । विशेष अतिथि नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय समिति सदस्य ओमकार गिरीले वित्तिय क्षेत्रका कर्मचारीहरुको हकहितको लागि राष्ट्रिय समितिले विविध कार्य गर्दै आएको बताए। प्रमुख अतिथि शर्माले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा ट्रेड युनियनका जन्मदाता पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको तस्विरमा पुष्प गुच्छा अर्पण गरिएको थियो । संघका अध्यक्ष ज्ञाज शर्माले आफ्नो कार्यकालमा कोरोना महामारीको कारण संस्थाले सोचे जस्तो कामहरु गर्न नपाएको उल्लेख गर्दै आगामि दिनहरुमा संस्थाका गतिविधिलाई निरन्तर अगाडि वढाउनु पर्ने वताएका थिए । संघमा प्रायः बैक तथा वित्तिय संस्थाहरु, विमा कम्पनिहरु, कर्मचारी सञ्चयकोष आवद्ध रहेका बताए । नवनिर्वाचित अध्यक्ष यामबहादुर रानाभाटले वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीहरुले आफ्नो अधिकार र कर्तव्यलाई आत्मसात गर्दै संस्थाको गरिमालाई उच्च पार्ने कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अध्यक्ष ज्ञाज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुर्यरमण पराजुलीले र संचालन सचिव यामबहादुर रानाभाटले गरेका थिए ।
कास्की: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले प्रदेश सरकारले बनाएका कानूनलाई कार्यान्वयनमा सहजता प्रदान गर्ने पहल गर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले शुक्रबार पोखरामा आयोजना गरेको ‘आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशालामा बोल्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले कानूनको कार्यान्वयनमा आउने बाँधा हटाउनका लागि सरोकारवाला निकायसँग छलफल गरि अगाडी बढ्ने उल्लेख गरे । उनले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार संरक्षणको पक्षमा सधै लागिरहने सुनाए । ‘नेपालको संविधान २०७२ मा आर्थिक, सामाजिक र साँस्कृतिक संरक्षणको व्यवस्था प्रष्ट छ । यसको कार्यान्वयन र संरक्षणको पक्षमा म सधै रहनेछु ।’ मन्त्री गाहामगरले भने । मन्त्री गाहामगरले कानून निर्माणसँगसँगै आवश्यक संशोधनका बारेमा सबैसँग छलफल गरी कानून निर्माणमा पहल गर्नेमा जोड दिएका थिए । यसैगरि गण्डकी प्रदेश सभा सदस्द नन्कदला परियारले अधिकारका धेरै बिषयहरू कानूनमा लिपिबद्ध भएपनि कार्यान्वयनको पाटो फितलो भएको बताइन् । आर्थिक समस्याले समाजमा आत्महत्याको दर बढेकाले यसलाई न्यूनिकरण गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएकी थिइन् । प्रदेश सभा सदस्य सरस्वती गुरुङले गण्डकी प्रदेशमा कृषि, पर्यटन र उर्जाको प्रचुर सम्भावना भएकाले त्यसका लागि प्रभावकारी नीति नियमको खाँचो औंल्याइन् । बढ्दो ब्याजदरलाई घटाउन पहल गर्ने पनि उनले धारणा राखिन् । अर्का प्रदेश सभा सदस्य कुसुम बुढामगरले आफूले विगतदेखि नै मानव अधिकार, विभेद र मुक्तिका पक्षमा आवाज उठाएको बताउदै आएको भन्दै आर्थिक, सामाजिक र सांस्कृतिक विभेद अन्त्यका लागि कागजी रूपमा भन्दापनि कार्यान्वयको पक्ष सबल हुनुपर्नेमा जोड दिइन् । सभासद कल्पना तिवारीले तीन तहको सरकारबीच समन्वय नहुँदा नागरिकले परिवर्तनको प्रत्याभूति गर्न नपाएको बताइन् । नागरिकले अधिकार प्राप्त गर्न नसके सम्म सरकारी लक्ष्य र उद्देश्यको कुनै अर्थ नरहने उनको भनाइ छ । सभासद भक्त कुँबरले कानून अभावका कारण नागरिकहरू अधिकारबाट बञ्चित हुन नहुने बताए । कुन तहको सरकारले कुन काम गर्ने भन्ने कुरा कानूनमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ । इन्सेकले नागरिकका अधिकारलाई स्थापित गराउन महत्वपूर्ण काम गर्दै आएको उनले बताए । सभासद सुधीर पौडेलले कार्यान्वयनको पाटो कमजोर हुँदा नागरिकलाई अधिकारको प्रत्याभूति दिलाउन नसकेको स्वीकार गरे । संघीयताका पक्षमा धेरै काम भएपनि संघ र स्थानीय सरकारको चेपुवामा प्रदेश सरकार रहेको उनले बताए । कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता गिरधारी सुवेदीले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयनमा सरकारी नीति कमजोर रहेको उल्लेख गरे । मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्यायोजनाले यी बिषयलाई समेटने कुरा उल्लेख गरी संघ, प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिएपनि कार्यान्वयन नभएको बताएका थिए । सो कार्यशालामा महिला अधिकारकर्मीहरु, सामाजिक अभियन्ताहरुसहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
घोडाघोडी: नेपालको पहिलो चरा आरक्ष क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा शुक्रबारदेखि लाटोकोसेरो उत्सव सुरु भएको छ। लाटोकोसेरो तथा हुचिललाई किसानको साथीका रूपमा लिइन्छ। लाटोकोसेरो र हुचिलले मुसा खाएर बालीनाली संरक्षणमा सहयोग पु-याउँछ। हुचिल र लाटोकोसेरोको अवैध व्यापार हुन थालेपछि संरक्षणका लागि केही वर्षदेखि विभिन्न जिल्लामा संरक्षण उत्सव हुँदै आएका छन्। चरा संरक्षण नेटवर्क कैलाली र प्रकृतिका साथीहरू संस्थाको संयुक्त आयोजनामा दुईदिने उत्सव गरिएको हो। घोडाघोडी नगरपालिका–४, माघी होमस्टेमा आयोजित उत्सव अवलोकनका लागि देश तथा विदेशबाट प्रकृतिप्रेमीको उपस्थिति छ। हुचिल र लाटोकोसेरो संरक्षणका लागि २०७६ साल माघमा स्याङ्जा जिल्लाको भैँसेगौँडा राङभाङमा नवौँ संरक्षण महोत्सव गरिएको थियो। कोभिडका कारण तीन वर्ष रोकिएको महोत्सव यस पटक कैलालीमा गरिएको जनाइएको छ। प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यका अनुसार सबैभन्दा पहिले धादिङमा उत्सव आयोजना गरिएको थियो। सुदूरपश्चिमबाट सबैभन्दा बढी लाटोकोसेरो भारततर्फ तस्करी हुने गरेका कारण संरक्षणसम्बन्धी सन्देश दिन १०औँ उत्सव कैलालीमा गरिएको निर्देशक आचार्यको भनाइ छ। गैँडालगायतका वन्यजन्तुकै हाराहारीमा लाटोकोसेरोको सिकार तथा अवैध व्यापार हुन थालेपछि संरक्षणमा पनि चासो बढेको हो। औषधि, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीनलगायत विभिन्न खाडी मुलुकमा यसको अवैध कारोबार हुने गर्छ। निर्देशक आचार्यका अनुसार ४६ वटा जिल्लामा गरिएको प्रारम्भिक अध्ययनअनुसार नेपालबाट वार्षिक कम्तीमा दुई हजारवटासम्म लाटोकोसेरो तथा हुचिल मारिने तथा विभिन्न मुलुकमा अवैध रूपमा पठाइने गरिएको छ। महोत्सवमा भारतको पुनाबाट आएका संरक्षणकर्मी डा. सुरुचि पाण्डेले लाटोकोसेरो संरक्षणमा हातेमालो गर्न नेपाल आएको बताउनुभयो। मानिसले लाटोकोसेरोको बच्चालाई गुँडबाट निकालेर पाल्ने गरेको पनि भेटिएको छ। यसका अतिरिक्त लाटोकोसेरोको बासस्थान विनाशसमेत तीव्र रूपमा भइरहेको पाइन्छ। नेपालमा कानुनी रूपमा लाटोकोसेरो पाल्न, यसलाई दुःख दिन, बेच्न पाइँदैन। त्यसो गरेमा एक वर्ष कैद ५० हजार रुपियाँ जरिवाना हुने कानुनी व्यवस्था छ। चरा संरक्षण नेटवर्कका अध्यक्ष तथा लाटोकोसेरो उत्सव मूल आयोजक समितिका संयोजक दयाराम चौधरीले लाटोकोसेरो तथा हुचिल संरक्षणमा सचेतना जगाउन उत्सव आयोजना गरिएको बताउनुभयो। नवप्रभात आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित उत्सवमा उल्लु, लेकाली उल्लु, लोखर्के उल्लु, कोचलगाँडे लाटोकोसेरो, गोठे लाटोकोसेरो, घाँसे लाटोकोसेरो, चश्मे उल्लु, चित्री उल्लु, लघुकर्ण लाटोकोसेरो, लामकाने लाटोकोसेरो, हिमाली कोचलगाँडे लाटोकोसेरालगायत २३ प्रजातिका लाटोकोसेरोको तस्बिर राखिएका छन्। तीमध्ये नौ प्रजाति नेपालमा दुर्लभ मानिन्छन्। एक प्रजातिलाई लामो समयदेखि नेपालमा अभिलेख गरिएको छैन। विश्वमा करिब २२५ प्रजातिका लाटोकोसेराे पाइन्छन्। चराप्रेमीले घोडाघोडी सिमसार क्षेत्रमा पाइने चराको प्रत्यक्ष अवलोकन गर्न उत्सवले अवसर जुराएको छ। टाढा–टाढाबाट आएका पर्यटकले बिहानको समयमा चरा अवलोकन गरेको बताएका छन्। उत्सवमा मुन्ग्रहुवा, सखिया, झुम्रा, लाठी, हुर्दुङ्गवा, देउडा खेल, कौडा नाच, स्थानीय कलाकारका संरक्षण गीत प्रस्तुत गरिएको थियो। चरा संरक्षणको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका अनुसार नेपालमा पाइने ८९१ प्रजातिका चरामध्ये विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमा ३६० प्रजातिका चराचुरुङ्गी पाइन्छ। आठ प्रजातिका लाटोकोसेरो घोडाघोडीमा पाइने चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो। घोडाघोडी सिमसारमा साइबेरिया, मङ्गोलियालगायत ठाउँबाट हिउँदे आगन्तुक चरा पनि आउने गरेका छन्। यहाँ पाइने चरामध्ये ६४ प्रजातिका जलपन्छी छन्। १२ प्रजातिका विश्वमै दुर्लभ चरा पनि घोडाघोडी सिमसारमा पाइन्छन्। कैलो टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसेफिस्टो, लघु महाचिललगायत विश्वमै दुर्लभ चरा यो सिमसारमा पाइने गरेको चराविद् डा. हेमसागर बरालको भनाइ छ। विभिन्न प्रजातिका चरा पाइने घोडाघोडी सिमसारलाई २०७८ साल माघमा नेपालको पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषण गरेर चरा र उनीहरूको बासस्थान संरक्षणमा काम गरिएको छ। सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमा मगरगोही, हरिहाँस र जङ्गली धान सूचक प्रजाति हो। यसैगरी भारतको केरलामा पाइने नादुल हाँसले सन् २०१४ देखि घोडाघोडीमा पनि ‘ब्रिडिङ’ गर्दै आएका छन्। पहिले पाहुना चराका रूपमा केरलाबाट घोडाघोडी पुग्ने नादुल हाँस अब यहाँको रैथाने भइसकेका छन्।
तनहुँ: तनहुँको व्यास नगरपालिकाद्धारा सञ्चालित गौ संरक्षण केन्द्रले भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् । गौसंरक्षण केन्द्रमा बुढा भएर मरेका गाई तथा गोरु भोजनको लागि दिन थालेपछि गिद्धको बथान देख्न थालिएको हो । प्राकृतिक कुचीकारको रूपमा चिनिने गिद्ध संरक्षण गर्ने उद्देश्यले व्यास नगरपालिका–१०, दुम्सी, सिशुवा भतेरीमा गिद्धको लागि आहाराको व्यवस्था गरिएको छ । आहारा पाएपछि त्यस क्षेत्र वरपर विभिन्न प्रजातिका गिद्धहरूको बथान देख्न सकिन्छ । आहाराको कमी र विषाक्त आहारा भएकोले बिरामी हुने मर्ने जस्ता कारणले गिद्धहरू लोपहुँदै गएकाले गिद्धहरूको आहारको व्यवस्था गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । गाई संरक्षण केन्द्रको लागि तीन वटा कर्मचारीको व्यवस्था र वार्षिक १० देखि १५ लाख रुपियाँको पराल तथा चोकरको लागि दिइने गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । ‘‘प्रकृतिमा सबैले बाच्ने वातावरण पाउनु पर्छ खाना नभएपछि गिद्ध लोप भएर जाने अवस्था आएकोले गौ संरक्षण केन्द्र मार्फत आहाराको व्यवस्था गरेका छौँ’’ नगर प्रमुख न्यौपानेले भन्नुभयो । विद्युत हाइटेन्टन तारमा परेर गिद्धहरू मर्ने गरेकाले त्यसबाट जोगाउनको लागि नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराइएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । छाडा चौपायाले सडक अवरुद्ध गर्नुको साथै दुर्घटना समेत हुन थालेपछि व्यास नगरपालिकाको सहयोगमा स्थापना गरिएको शिवालय गौ संरक्षण केन्द्रमा मरेका गाईबस्तुलाई नगाडी सोही ठाउँ नजिकै मादी नदीको किनारको चौरमा यत्तिकै राखी दिन थालेपछि गिद्धहरू आउन थालेको निवर्तमान वडाध्यक्ष तथा शिवालय गौ संरक्षण केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । गौ संरक्षण गर्नु अघि गिद्धहरू देखिन कठिन हुने गरेपनि अहिले दैनिक विभिन्न प्रजातिका ६० देखि ७० वटा गिद्धहरू आउने गरेको सापकोटाले बताउनुभयो । ‘‘सबै गिद्धहरूको नाम त जान्दैनौँ सापकोटाले भन्नुभयो, घाँटी खुइले, हिमाली, गरुड, सेतो, राजा, घाँटी लामो भएका र स्थानीय जातका गरी करिब नौ प्रजातिका गिद्धहरू देखिन थालेका छन् । चार वर्ष अघिबाट गौ संरक्षण थालिएको हो ।’’ तीन वटा ब्लकमा गरी करिब तीन सय रोपनी सार्वजनिक क्षेत्रफलमा गौ संरक्षण गरिनुको साथै गाईको मल, मूत्र र कुहिने फोहोरलाई प्रयोग गरी बायोग्याँस प्लान्ट निर्माण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि गौ संरक्षण केन्द्रको लागि मद्दत गर्दै आएको छ । गाई बिरामी हुँदा पनि पशुचिकित्सको सल्लाहले सिनो खाने क्रममा गिद्ध नमर्ने औषधी खुवाउने गरिएको केन्द्रका प्रमुख डा।बालकुमार श्रेष्ठले बताउनुभयो । पाँच लाख रुपियाँको लागतमा गाइको आवासको लागि टहरो निर्माण गरिदिएको र औषधि उपचारमा मद्दत गरिएको केन्द्रका प्रमुख डा। श्रेष्ठ बताउनुहुन्छ । छाडा गाईबस्तुको पालन गर्नाले वातावरणीय सन्तुलन राख्नको लागि सहयोग पुग्ने हुँदा गौ पालनसँगै गिद्ध संरक्षणको लागि सहयोग पुगेको उहाँले बताउनुभयो । सरकारले पनि २०६३ साल जेठबाट ‘डाइक्लोफेनिक’ औषधि बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । उक्त औषधिले गिद्ध मर्ने र बाँच्न असजिलो हुने भएपछि प्रतिबन्ध लगाइएको केन्द्रले जनाएको छ । सो केन्द्रमा १०० वटा गाईलाई संरक्षण गर्दै आएको छ । व्यास नगरपालिकाले केन्द्रको लागि १२ लाख रुपियाँको लागतमा तारबार गरिदिएको केन्द्रले जनाएको छ । वातावरण प्रदूषण हुन नदिई मानव जातिलाई सन्तुलित वातावरण निर्माण गर्नु गिद्धको प्रमुख भूमिका हुने डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । गिद्ध संरक्षणको लागि व्यास नगरपालिकाले गरेको प्रयास उदाहरणीय भएको बताउनुभयो । ‘‘कोभिड लगायतका रोगहरू पनि वातावरणसँग सम्बन्धित छन्, प्रकृतिमैत्री तरिकाबाट विकास निर्माण गर्ने, खानाको व्यवस्थापन गर्नु जरुरी छ’’ काफ्लेले भन्नुभयो । केही वर्ष हराएपनि लोपोन्मुख अवस्थामा रहेको गिद्ध फेरि बथानमै देखिन थालेको सो ठाउँ स्थित शिसुवा भतेरी कृषि सहकारीका अध्यक्ष यज्ञ प्रसाद शर्माले जानकारी दिनुभयो । ‘‘आहारको व्यवस्थापन गर्नु अघि नदेखिएकोले गिद्ध जिल्लाबाट हराइसकेको जस्तो लागेको थियो अहिले बथानै देखिन थालेको छ । शर्माले भन्नुभयो, ‘‘सिनो हराएसँगै गिद्ध पनि हराएका थिए । आहार पाएपछि बढेका छन् । गाउँलेहरूले गाई गोरु मर्दा पनि गाड्न थालेपछि आहार नपाउने भएपछि गिद्ध हराएका थिए ।’’ २० वर्षअघि सिनो छाड्ने ठाउँमा प्रशस्त गिद्धहरू भेटिने गरेका थिए । अग्ला सिमलका रुखमा गुँड लगाएका देखिथ्ये । तर बीचमा हराए पनि हाल भोजन पाउन थालेपछि फेरि देखिन थालेको शर्माले बताउनुभयो । गिद्धलाई स्थानीयले वातावरण सरसफाइ र दुर्गन्ध रोकथामको प्रतीकका रूपमा लिने गर्छन् । गिद्धले गाउँसमाज र वातावरणमा भएको फोहरमैला, सिनोलगायत बस्तुलाई प्रमुख आहारका रूपमा खाने झाडा पखाल जस्ता रोग समाजमा नफैलिएको अध्यक्ष शर्मा बताउनुहुन्छ । विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकोमा एसियामा ९ र नेपालमा ८ प्रजातिका गिद्ध पाइने गरेका छन् । सानो खैरे, राज हिमाली, खैरे, हाडफोर डंगर, सुन र गोब्रे नेपाल पाइने बताइन्छ । गिद्धलाई वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कूचीकारका रूपमा लिने गरिन्छ ।
काठमाडौँ: रक्षा मन्त्रालयले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) अघि बढाउने सन्दर्भमा मुख्य समस्याका रुपमा रहेको खोकना जग्गा विवाद सुल्झाउन प्रभावकारी राजनीतिक पहलको आवश्यकता औँल्याएको छ । मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये उच्च प्राथमिकतामा रहेको दु्रतमार्गलाई तीव्रता प्रदान गर्ने सिलसिलामा खोकना विवाद समाधानमा थुप्रै पहल र प्रयास भए पनि समस्या ज्यूँका त्यूँ छ । मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले भने, “खोकनाको विषयमा वडाध्यक्षदेखि प्रधानमन्त्रीसँग समेत कुरा भएको छ, विरोध कहीँबाट छैन, समस्या समाधान पनि हुन सकेन ।” द्रुतमार्गका लागि खोकना क्षेत्रको जग्गा प्राप्तिका विषयमा पटक–पटक संसदीय अनुगमन भएको छ भने सेनाले पनि विशेष संयन्त्र बनाएर अन्तर–निकाय समन्वय गर्दैआएको छ । द्रुतमार्गको प्रस्थान बिन्दु रहेको खोकनामा बाहिरी चक्रपथ, विद्युत् प्रसारण लाइन, सुक्खा बन्दरगाह र बागमती सभ्यता सडकलगायतका ठूला–ठूला आयोजनासमेत रहने भएपछि स्थानीयले आफूहरु विस्थापित हुने डरले विरोध गर्दैआएका हुन् । श्रीकाली र कुदेशसहित काठमाडौँ उपत्यकाभित्रका महत्वपूर्ण पुरातात्विक, पौराणिक र सांस्कृतिक सम्पदासहितको बस्ती रहेको उक्त क्षेत्रमा विकासे आयोजनाले ती धरोहरलाई असर नपार्ने राज्यबाट सुनिश्चिताको माग हुँदैआएको छ । सेनाको व्यवस्थापनमा अघि बढिरहेको द्रुतमार्गलाई तोकिएको समयमै पूरा गर्नुपर्ने भएकाले स्थानीयको लगातार विरोध हुँदैआएपछि सेनाले त्यस क्षेत्रमा करिब चार किमीलाई छोडेर अन्य क्षेत्रको काम भकाभक गरिरहेको छ । प्रधानसेनापति शर्मा भन्छन्, “सडकका लागि अधिग्रहण गर्नुपर्ने जग्गामध्ये ८० प्रतिशतले पैसा बुझी सक्नुभएको छ, बाँकी २० प्रतिशतमात्र हो । समस्या त्यँही अड्केको छ । आयोजनालाई अघि बढाउँदा नियम, कानुन, अदालत, ठेकेदार, नीति, नियम कुनै कुरामा कम्प्रमाइज गरिएको छैन ।” द्रुतमार्ग निर्माणको जिम्मा कसलाई दिने भन्नेमा प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद, चर्काचर्की र बहसपछि सरकारले नेपाली सेनालाई उक्त सडक निर्माणको जिम्मेवारी सुम्पिएको हो । मन्त्रालयका सचिव किरणराज शर्माले द्रुतमार्गलाई तीव्रता प्रदान गर्न मुख्य समस्याका रुपमा खोकना जग्गा विवाद नै रहेको बताए। उनी भन्छन्, “खोकनाको जग्गा विवाद सुल्झाउन प्रभावकारी राजनीतिक तहबाट पहल हुनुपर्छ, कर्मचारी संयन्त्रबाट सम्भव छैन ।” द्रुतमार्गका लागि पाँच हजार सात सय ७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म चार हजार सात सय ८० रोपनीको मुआब्जा विवतरण भइसकेको छ । आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको तीन सय ९२ रोपनीको भने स्थानीयसँगको विवादका कारण मुआब्जा वितरण हुन सकेको छैन । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) विस २०७६ भदौमा स्वीकृत भएसँगै निर्माण सुरु भएको दु्रतमार्गको लम्बाइ ७२ दशमलव पाँच सय २९ किमी छ । उक्त आयोजनाको महादेव, धेद्रे र लेन डाँडामा गरी छ दशमलव ४१ किमीका तीन सुरुङ तथा करिब १० किमी लम्बाइ बराबरका लामो र छोटा गरी ८७ पुल रहने छ । करिब रु एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख लागत अनुमान गरिएको उक्त सडक आयोजना बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिनेछ । आयोजनाका लागि चालु आर्थिक वर्षमा रु २९ अर्ब ९९ करोड ९७ लाख बजेट विनियोजन भएको छ । आयोजनाको हालसम्म भौतिक प्रगति करिब २० प्रतिशत र वित्तीय प्रगति २१ प्रतिशत छ । सेनाले आयोजनालाई तीव्रता दिने सिलसिलामा ११ प्याकेजमा विभाजन गरी खरिद व्यवस्थापन तथा निर्माणको कार्य सुरु गरिसकेको छ । काठमाडौँ उपत्यकालाई तराई मधेससँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो भएकाले दु्रतमार्गको निर्माणपछि हाल लाग्दै आएको यात्राको समय घटेर एक घन्टामा सीमित हुनेछ । सडक निर्माणपछि वार्षिकरुपमा काठमाडौँ उपत्यका आउन जान खपत हुने पेट्रोलियम पदार्थमा खर्चनुपर्ने करिब रु १० अर्ब रकम बचत हुने अपेक्षा गरिएको छ । एशियाली सडक मापदण्डअनुरुप निर्माण अघि बढेको द्रुतमार्ग निर्माणले मुलुकको आर्थिक विकास र समृद्धिमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।
चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै एकसिङ्गे गैँडाको सुरक्षामा सरकार संवेदनशील रहेको बताए । उनले गैँडाको सुरक्षाका लागि बासस्थान चुनौतीपूर्ण बन्दै गएको भन्दै सम्बन्धित क्षेत्रका विज्ञको सुझावमा सरकारले योजना ल्याएर वन्यजन्तु जोगाउने बताए । नेपालको प्राकृतिक सम्पदा, गैँडालगायत वन्यजन्तुको बासस्थान भएकै कारण विदेशीहरू नेपाल आउने गरेको र यसले नेपालको आर्थिक विकासमा टेवा पुर्याएको उनको भनाइ छ । “जनावरको संरक्षणले पारिस्थतिकीय प्रणालीको रक्षा गर्छ । नेपाल सरकारले उचित तरिकाले त्यस्ता जनावरको सुरक्षामा प्रभावकारी काम गर्न प्रतिबद्ध छ”, उनले भने । स्थानीयको सहयोग र सहभागितामा वन्यजन्तु सुरक्षा गरिने प्रधानमन्त्री दाहालको भनाइ छ । विश्वमा भइरहेको वातावरणीय प्रभावको कारण पनि जनावरको संरक्षणमा चुनौती थपिँदै गएको उनले बताए । एसियाका पाँच देशसहित १० देशका संरक्षणकर्मीको सहभागिता रहेको छलफल कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएको बताए । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उनले भने, “गैँडासहित वन्यजन्तु संरक्षणका लागि विस्तृत योजना बनाएर अघि बढ्नुपर्छ ।” तीनवटै तहका सरकारको संयोजनमा गैँडा संरक्षण गर्नुपर्ने समय आएको उनको भनाइ छ । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको कार्यक्रममा नेपाल, भारत, भूटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरू सहभागी छन् । उनीहरूले आ–आफ्नो देशमा गैँडा संरक्षणका क्षेत्रमा भएका प्रगतिहरू प्रस्तुत गर्नेछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तका अनुसार बैठकमा भेनेजुएयला, संयुक्त अरब इमिरेट्स, केन्या, दक्षिण अफ्रिकालगायतका देशका संरक्षणकर्मीहरू पनि सहभागी भएका छन् । सम्मेलनका सहभागीहरूले गैँडा संरक्षणमा देखिएका चुनौती र भावि योजनाको विषयमा छलफल गर्नेछन् । संरक्षणको बिषयमा सामूहिक दायित्व लिएर कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा समेत छलफल हुने पन्तले जानकारी दिए । नेपाल विश्वमै एकसिङ्गे गैँडाको दोस्रो ठूलो बासस्थान हो । भारतको काजिरङ्गपछि नेपालको चितवन राष्ट्रिय निकुञ्जमा धेरै गैँडा पाइन्छन् । विदेशमा गैँडा संरक्षणमा भएका प्रयास र सिकाइलाई आपसमा साटासाट गर्न यो कार्यक्रम सहयोगी बन्ने विश्वास लिइएको छ । कार्यक्रममा संरक्षणका विषयमा भावी योजनासमेत निर्माण गरिने पन्तले बताए । पाँच देशका अधिकारीहरूले आफ्नो देशमा संरक्षणका क्षेत्रमा भएका प्रयासबारेमा जानकारी गराएसँगै विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । नेपालका तर्फबाट वातावरणमा आएको परिवर्तनले वन्यजन्तु र बासस्थानमा परेको असर र गैँडा संरक्षणमा भएका कामसँगै शून्य चोरी सिकारी नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । शनिबार गैँडाको बासस्थानको अध्ययन गरिने कार्यक्रम छ । यस्तै आइतबार संरक्षणसम्बन्धी चितवन घोषणापत्र सार्वजनिक गरिनेछ । छलफलमा ३० विदेशी र ३० जना नेपाली संरक्षण तथा अधिकारी सहभागी छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओली र विभागका उपमहानिर्देशक अजय कार्कीले भनाइ राखेका थिए । यसअघि ‘राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ पहिलो पटक इण्डोनेसिया र दोस्र्रो भारतको नयाँदिल्लीमा भएको थियो ।

