काठमाडौं: चालकहरुले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग नेपाल पेट्रोलियम ट्यांकर चालक संघले राखेको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्यांकर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने माग राखेका हुन् । उनले सधैँ परनिर्भर हुनुभन्दा भविष्यमा आत्मनिर्भर हुनुपर्ने भएकाले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने माग आफूहरुले राखेको बताए । देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरु रहेको उल्लेख गर्दै उनले चालकहरुको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष लामाले एकपटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे । उनले आफूहरुको माग सुनुवाइ नभएमा ३० दिनभित्र ट्यांकरको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने बताए । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्यांकर चालकहरुको माग सम्बोधन गर्नका लागि विद्यमान ऐन, कानुनहरुमा संशोधन गर्न आवश्यक रहेको बताए । उनले विनियमावलीमा भएका केही व्यवस्थाहरु समेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरुले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । उनले भने, ‘यो विषयमा भएका विद्यमान ऐन, कानुनमा केही संशोधन गर्नुपर्ने अवस्था छ । विनियमावलीको केही व्यवस्था परिमार्जन गर्नुपर्ने अवस्था छ । त्यसको लागि आ–आफ्नो ठाउँबाट सबै जनाले पहल गर्नुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु ।’ कार्यक्रममा सांसद राजन केसीले ट्यांकर चालकहरुको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताए । उनले ट्यांकर चालकहरुको पेशा मर्यादित पेशा भएको भन्दै आफूमा हिनताबोध नराखी काम गर्न चालकहरुलाई आग्रह गरे । कार्यक्रमका बीच नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र बिहार ट्यांकर चालक उपचालक संघका बीचमा आपसी सहयोग आदान–प्रदान गर्नेगरी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
जनकपुरधाम: धनुषा जनकपुरधामबाट प्रहरीले लागूऔषधसहित चारजना युवालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४ सय ९३ बोतल लागूऔषधसहित चारयुवालाई जनकपुरधाम पिडारी चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ छन् । यस्तै ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उप–महानगरपालिका ४ बस्ने ३२ वर्षीय दीपक कुमार पूर्वेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पिडारी चोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागूऔषध ४ सय ९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए । उनीहरुले प्रयोग गरेको अटोरिक्सा र मोटरसाइकलहरू समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
काठमाडौं: लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको जानकारी दिएका छन् । दर्जनौं गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको हो । दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको कारण उनी दुई महिनादेखि बिरामी थिए । उपचाररत उनी केही त्यसयता घरमै आराम गरिरहेका थिए । उनी निकट गायिका सिर्जु अधिकारीसँग केही दिनअघिको कुराकानीमा पौडेलले आफूलाई हिंडडुल गर्न गाह्रो भएको र रगतको कमी शरीर सुक्दै जान थालेको बताएका थिए । ‘मैले इन्द्रेणी कार्यक्रममा जाऊँ भनेको थिएँ । उहाँले बिरामी छु भन्नुभएको थियो,’ अधिकारीले भनिन् । पौडेलको पार्थिव शरीरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदैछन् । प्रतिष्ठानका अध्यक्ष बीजीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् । पछिल्लो समय गायक पौडेल लाइभ दोहोरी गायनमा सक्रिय थिए । ‘भीम शालीन स्वभावका गायक हुन् । उनको निधन समग्र लोकदोहोरी क्षेत्रकै लागि अपूरणीय क्षति हो,’ अध्यक्ष बीजीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन् ।
काठमाडौं: सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ११ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ५ हजार ८ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख छ हजार चार सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० कायम रहेको महासङ्घले जनाएको छ ।
चितवन: अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा) को आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा केन्द्र निर्माण गरिएको हो । भरतपुर महानगरपालिका–१ देवघाटमा यहाँका ज्येष्ठ नागरिकलाई लक्षित गरी देवघाट सु–स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । जलेश्वर आश्रमले उपलब्ध गराएको एक कठ्ठा जग्गामा रु ७० लाख लागतमा भवन निर्माण गरिएको छ । विसं २०७८ कात्तिक २९ गते शिलान्यास गरी निर्माण सुरु गरिएको भवन सम्पन्न भएको छ । भवन निर्माण समितिको संयोजक नेपाल पत्रकार महासङ्घ चितवनका पूर्वअध्यक्ष हरि पोखरेलका अनुसार चारकोठे पक्की भवन बनेको छ । भवनमा देवघाटमा रहेका वृद्धवृद्धाको उपचार सुरु गरिएको छ । विगत पाँच वर्षदेखि नै एउटा कोठा भाडामा लिएर उपचार सेवा दिँदै आएकामा अहिले भवन निर्माण गरी सोही भवनबाट सेवा सुरु गरिएको हो । केन्द्रमा चितवन मेडिकल कलेज, भरतपुर अस्पताललगायतबाट चिकित्सक गएर परीक्षण गर्ने गरेका छन् । चिकित्सक स्वतःस्फूर्तरूपमा सहयोग गर्न जाने गरेको पोखरेलले बताए । यसैगरी औषधिसमेत निःशुल्क व्यवस्था गरिँदै आएको छ । उपचारमा आउने बिरामीको विद्युतीय तथ्याङ्क राख्ने गरिएको पोखरेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा यो कार्य गरिएको हो । पोखरेलले भने, “बिरामीको स्वास्थ्य इतिहास, सेवन गरिरहेको औषधिलगायत सबै विषय कम्प्युटरमा राखिन्छ ।” यस्तो तथ्याङ्क अमेरिकामा रहेका चिकित्सकले समेत हेर्न मिल्ने उनले जानकारी दिए । केन्द्रसँगै अस्पताल निर्माणको तयारीसमेत गरिएको छ । आश्रमले थप जग्गा उपलब्ध गराउने र बिरामीलाई राखेर उपचार गर्न मिल्ने गरी काम गर्न लागिएको पोखरेल बताउँछन् ।
विराटनगर: प्रदेश १ सरकारले चालुआर्थिक वर्षको ६ महिनामा जम्मा १९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७९(०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले पुँजीगततर्फ २२ अर्ब ९९ करोड ९४लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पुँजीगत तर्फको २२ अर्ब ९९ करोडको बजेट मध्ये पछिल्लो ६महिनाको अवधिमा ४ अर्ब ४३ करोड १६ लाख मात्र खर्च गरेको हो । यो खर्च १९।२७ प्रतिशत मात्रै हो । चालुतर्फ प्रदेश सरकारले १६ अर्ब ७३ करोड ८९ लाख बजेट विनियोजन गरेको थियो । जसमा पाँच अर्ब ४५ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा चालु र पुँजीगत खर्च गरी जम्मा ९ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको आन्तरिक आम्दानी पनि निराशाजनक छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार राजस्व बाँडफाँटबाट आर्थिक वर्षमा ११ अर्ब ८८ करोड २४ लाख उठ्ने अनुमान थियो । तर ६ महिनामा ३ अर्ब १४ करोड ८९ लाख १० हजार मात्रै संकलन भएको छ । संघीय सरकारबाट १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ अनुदान आउने अनुमान छ । पछिल्लो छ महिनामा ४ अर्ब ६८ करोड ९९ लाख ६६ हजार मात्रै आएको छ ।
बाजुरा: भूकम्पको डरले बाजुराका अधिकांश स्थानीय घर छोडेर त्रिपालको बास गर्दै आएका छन् । गत मङ्गलबार ५ दशमलव ९ म्याग्नेच्युटकोे भूकम्पले बाजुरावासीलाई त्रिपालको बास गराएको हो । गत मङ्गलबार स्वामिकार्तिकको मेलामा केन्द्र विन्दु भएर गएको ५ दशमलव ९ म्याग्नेच्युटकोे भूकम्पले घर भत्किएपछि उनीहरु अहिले सुरक्षित स्थानमा त्रिपालको बास गर्दै आएको हुन् । बाजुराको स्वामिकार्तिक मेलामा गत मङ्गलबारमा गएको भूकम्पले बाजुरामा एक जना महिलासहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा गौमुल –२ का राजदल बोहरा, चन्द्रा महत र हुम्ला ताजाकोट ३ की सरिता नेपाली हुनुहुन्छ । घाइते सरिता नेपाली बाजुराको कोल्टीमा आफ्नी दिदिको घरमा आएको बेला उहाँ भूकम्पमा परी घाइते हुनुभएको हो । घाइते भएका चन्द्रा महतको जिल्ला अस्पताल बाजुरामा उपचारपछि डिस्चार्ज हुनुभएको छ भने राजदल बोहराको गौमुल स्वास्थ्य चौकीमा र सरिता नेपालीको कोटी स्वास्थ्यमा चौकीमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । गत मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्पले बाजुरामा मानवीयसँगै भौतिकरुपमा ठूलो क्षति भएको छ । बाजुराका आठ वटा स्थानीय तहका झण्डै २६३ घरमा ठूलो क्षति गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गौमुल गाउँपालिकामा १५, हिमालीमा १२, बडिमालिकामा १५ र बूढीगङ्गामा दुई गरी ४४ वटा घर पूर्ण रुपमा भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार गौमुलमा तीन, हिमालीमा ६१, खप्तडमा १०, बडिमालिका नगरपालिका ११३, बूढीनन्दामा १४, जगनाथमा १, स्वामकार्तिकमा १४ र बूढीगंगामा तीन गरी २१९ घर आंशिक रुपमा भत्किएको बताउनुभयो । भूकम्पका डरले अहिले बाजुरामा २६३ घरपरिवार खुल्ला आकाशमुनी त्रिपालको बास गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत व्यवस्थापन समितिका संयोजक पुष्कर खड्काले भूकम्पबाट सबै भन्दाबढी पीडित गौमुलकामा भएको बताउनुभयो । उहाँले अहिले गौमुलमा जिल्ला रेडक्रसबाट ३० थान कम्बल, १० थान त्रिपाल र गैर सरकारी सस्थाबाट १० थान कम्बल १० थान त्रिपाल वितरण गरेको बताउनुभयो । भूकम्पबाट कहाँ के क्षति भयो भन्ने यकिन विवरण तीस दिनमा आइपुग्छ । सो रिपोट अनुसार जिल्ला विपत् व्यवस्थापन समितिले राहत वितरण गर्ने योजना छ । भूकम्प विज्ञ टोली समेत अहिले जिल्लामा पुगेको छ । सो टोलीको सुझाव तथा सहकार्यमा यहाँका भूकम्प पीडितलाई कसरी व्यवास्थापन गर्ने र स्थानीय तहमा अब निर्माण गरिने भौतिक संरचनाहरु कस्तो खालको निर्माण गर्ने भन्ने जस्ता विषयमाथि छलफल गरिने संयोजक खड्काले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजित शिला हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री अधिकारीले नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि प्रगाढ रहँदै आएको र अनन्तकालसम्म पनि यस्तो सम्बन्ध रहिरहने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिला हस्तान्तरणले दुई देशको धार्मिक सम्बन्ध थप मजबुत बनेको बताउनुभयो । राममार्गको विकास गरी नेपाल र भारतबीच धार्मिक पर्यटक वृद्धि गरी अर्थतन्त्रलाई समेत बलियो बनाउने उद्देश्य गण्डकी सरकारको रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । दुई देशका यी पावन भूमिका लाखौँलाख नेपाली र भारतीय दर्शनार्थीको भीड लाग्ने उहाँले उल्लेख गर्नुभयो । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री पञ्चराम गुरुङको अध्यक्षतामा आयोजित शिला हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिसमेत सहभागी थिए । विश्वमै दुर्लभ शालिग्राम पाइने कालीगण्डकी नदीको दुई थान शिला जनकपुरधाम हुँदै हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्या पु¥याइने छ । एउटा शिलामा रामको बाल्यकालको अवस्था झल्किने प्रतिमा तथा अर्कोमा सीताको प्रतिमा निर्माण गरिने रामलला मन्दिर निर्माण ट्रष्ट भारतका सचिव राजेन्द्रसिंह पङ्कजले जानकारी दिनुभयो । “कालीगण्डकीबाट भगवान् रामको मूर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले नेपाल र भारतको सांस्कृतिक सम्बन्ध बलियो हुन्छ”, उहाँले भन्नुभयो । अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वमा चिनाउन शालिग्रामले धर्मदूतको काम गर्ने पङ्कजको धारणा थियो । बुधबार क्रेनबाट दुई शिलालाई ट्रकमा राखेर प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा लगिएको छ । बिहीबार गलेश्वर शिवालय मन्दिर परिरसरमा राखिएका शिलालाई गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र गलेश्वर मन्दिरका अध्यक्ष माधवप्रसाद रेग्मीले विधिवत पूजाआजा गरेपछि हस्तान्तरण गर्नुभएको थियो । भूगर्भ तथा शिलाविद्, प्राविधिक र विज्ञसमेतको टोलीले बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकीमा दुई थान शिला पहिचान गरेको थियो । बेनी नगरपालिकाका प्रमुख केसीले कालीगण्डकीबाट लामो समय टिक्ने २६ टन र १४ टनका दुई थान शिला गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश सरकारले मधेस प्रदेशको जानकी मन्दिरलाई हस्तान्तरण गर्दैै अध्योध्यालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुुभयो ।
काठमाडौं: प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आशोक शेरचन नियुक्त भएका छन् । शेरचन यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन् । बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले जनाए । ‘सेञ्चुरी कमर्सियल बैंक गाभिने क्रममा शेरचन नै सीईओ हुने सहमति भएको थियो,’ उनले भने, ‘बैंकका विभिन्न सूचक तथा विवरणको समीक्षासहित उनलाई पुनः चारवर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको हो ।’ यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए । नवनियुक्त सीईओ शेरचनले ग्राहक, सेयरधनी र अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘मर्जर भएपछि कर्मचारीहरुबीचको समन्वय, कर्जाको गुणस्तरमा ध्यान, रिकभरीलाई प्राथमिकता, डिजिटल बैंकिङलाई जोड र राष्ट्र बैंकका नीति नियमअनुसार समन्वयसाथ काम गर्नेछु,’ उनले भने, ‘ग्राहकलाई उत्कृष्ट सेवा, अर्थतन्त्रमा योगदान पुर्याउने र सेयरधनीलाई उचित प्रतिफल दिने गरी म अघि बढ्नेछु ।’

