पोखराः प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । गण्डकी विश्वविद्यालय आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय पुगेका छन् । पोखरा रंगशालामा बुधबार सम्पन्न भएका खेलमा सहिद स्मृति, भद्रकाली र कालिका विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । यसअघि मंगलबार छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सहिद स्मृतिले न्यु ग्यालेक्सी माध्यमिक विद्यालयलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । सहिद स्मृतिको जितमा जयराम घर्तिमगरले २, सुनिल पाख्रिन, विवेश सोमाई र जोन रेग्मीले १–१ गोल गरे । जोनले खेलको १२औं मिनेटमा गोल गर्दै टिममा सुरुआती अग्रता दिलाएका थिए । जयरामले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै सहिद स्मृतिमा दोब्बर अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा कप्तान सुनिलले गोल गर्दै तेब्बर अग्रता दिलाए । त्यसपछि खेलको ४४औं मिनेट र ५४ औं मिनेटमा सहिद स्मृतिले गोल गर्दै ५–० को सानदार जित निकाल्यो । भद्रकालीले विष्णु पडुका माध्यमिक विद्यालयलाई ५–० ले पराजित ग¥यो । खेलको आक्रमक बनेको भद्रकालीले अधिकांश समय बल आफ्नो पक्षमा पारिरह्यो । भद्रकालीको जितमा भिमबहादुर गुरुङले ह्याट्रिक गरे । उनले खेलको १०औं मिनेटमा गोल गर्दै भद्रकालीलाई अग्रता दिलाएका थिए । खेलको २८औं मिनेटमा भद्रकालीका दिपेश गुरुङले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए । त्यसको ३ मिनेटमै भद्रकालीले अर्काे गोल थप्यो । भद्रकालीका कप्तान युक्त गुरुङले दोस्रो हाफको सुरुआतमै ३१औं मिनेटमा गोल गरे । भिमले खेलको ३४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई चौथो अग्रता दिलाए । खेलको ३५औं मिनेटमा भिमले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि भने दुवैतर्फ गोल हुन सकेन । भद्रकाली ५–० ले विजयी भयो । कालिकाले डायमण्ड माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । कालिकाका लागि कुशन राई र समुन्द्र सुवेदीले १–१ गोल गरे । कालिकाले खेलको सुरुआतमै डायमण्डविरुद्ध अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा कुशन राईले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम इन्जुरी समयमा कालिकाका सुवेदीले गोल गर्दै टिमलाई टिमलाई २–० को जित दिलाए । प्रतियोगितामा बिहीबार सेमिफाइलनमा खेलहरु हुनेछन् । पहिलो सेमिफाइलनमा भद्रकाली र इन्द्र राज्यलक्ष्मी बिहीबार बिहान साढे १० बजे भिड्नेछन् । दोस्रो सेमिफाइनलमा कालिका र सहिद स्मृति साढे १२ बजे भिड्नेछन् । फाइनल खेल शुक्रबार हुनेछ । सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई प्रकाउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको टोलीले पोखरा महानगरपालिका १७ शितलपथ स्थित चेकजाँच गर्ने क्रममा पोखरा महानगर २० स्थायी घर भई पोखरा १७ शितलपथ बस्ने बस्ने २२ वर्षीय सुजन गुरुङलाई प्रकाउ गरेको हो । प्रहरीले गुरुङको घरको कोठाबाट डाईजापाम १०० एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९५ एम्पुल गरी २९० एम्पुल लागूऔषध बरामत गरेको हो । प्रकाउ परेका गुरुङलाई जिल्ला अदालत कास्की लागूऔषध सम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खुला रुपमा नबेच्न आग्रह गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको हो। निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अति प्रज्वलनशील पेट्रोलियम पदार्थ खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा बिक्री वितरण, असुरक्षित ओसारपसार तथा घर, पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवं भौतिक क्षति समेत हुने संवेदनशील विषय भएकोले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्नुरनगराउनु हुन सूचित गरिन्छ।’ जिल्ला प्रहरी परिसर, काठमाडौंले पेट्रोलियम पदार्थको सुरक्षित बिक्री वितरण सम्बन्धमा मिति २०७९र१०र११ गते सूचना समेत प्रकाशित गरेकाले सोही अनुसार गर्न पनि निगमले आग्रह गरेको छ। सुरक्षा संवेदनशीलतालाई अवज्ञा गरी खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ।
विराटनगर: विराटनगर महानगरपालिका–३ स्थित ढाटमा बुधबार दुर्घटना हुँदा प्रदेश १ को प्रदेशसभा सचिवालयका एक अधिकृतको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा संसद सचिवालयकाmअधिकृत सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका प्रेमबहादुर श्रेष्ठ रहेका छन् । धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ आउने क्रममा श्रेष्ठ दुर्घटनामा परेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा बिहान ८ः५५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा अपरान्ह उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।
झापा: संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको पक्षमा न्याय माग्दै झापामा युवाहरूले प्रदर्शन गरेका छन्। युवाहरूले विर्तामोडको मुक्ति चोकमा अनसनसहितको शान्तिपूर्ण र्याली गरेका छन्। आचार्यको पीडा धेरै नेपालीसँग भएको र यस्तो नदोहोरिन सरकारले कदम चाल्नुपर्ने माग गर्दै विर्तामोड नगरपालिका ४ का माधवकुमार झा मुक्ति चोकमा अनसन बसेका छन्। बिहान ११ बजेदेखि पानी खाने तर अन्न नखाने गरी अनिश्चितकालीन अनसन थालेको झाले बताए। बैंक तथा वित्तीय संस्थाको दबाबको कारण आचार्यले ज्यान आहुती दिएको भन्दै त्यस्ता कर्मचारीहरूको छानबिन गरी आत्महत्या दुरुत्साहनको अभियोग लगाउनुपर्ने उनको माग छ। विर्तामोड र मेचीनगरका स्वतन्त्र युवाहरूले शान्तिपूर्ण दबाब र्याली गरेका छन्। ‘जनता जलिरहेको राज्य आगो तापिरहेको छ, युवा जल्यो व्यवस्थालाई किन पोलेन ?, जलेर मर्नु र मरेर जल्नुमा फरक छ नि सरकार’ जस्ता प्लाकार्डसहित उनीहरूले मुक्ति चोकमा र्याली निकालेका हुन्।
पोखराः पोखरामा नेपाल विद्यार्थी संघ जनप्रिय क्याम्पस समितिले आत्मदाहपछि मृत्यु भएका प्रेमप्रसाद आचार्यको पक्षमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ । आफ्नै शरीरमा आगो सल्काएर आत्मदाह गरेका आचार्यको सरकारले हत्या गरेको भन्दै नेविसंघ जनप्रिय क्याम्पस समितिले पोखरामा प्रदर्शन गर्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको हो । पोखराको विभिन्न क्षेत्रमा प्रदर्शनपश्चात् संघले लखनचोकमा कोण सभा गर्दै ‘माफियाको गृहमन्त्री राजीनामा दे’, ‘राष्ट्र रक्षा र जनताको रक्षाको लागि एक हौं’, ‘दुईवटा नागरिकताधारी गृहमन्त्री राजीनामा दे’, ‘बैंकिङ् ज्यादती बन्द गर्’ लगायतका नारा लगाए । कोण सभामा बोल्दै विरोध ¥याली प्रदर्शनका संयोजक निर्दोष विक्रम पौडेलले सरकार माफियाहरुसँग मिल्दा साना व्यवसायीले आत्मदाह गर्नुपर्ने अवस्था आएको बताए । ‘सरकार व्यवसायीको पक्षमा देखिएन, माफियासँग सरकार मिलेको छ एउटा व्यवसायीले आत्मदाह गर्दा सरकार हेरेर बन्छ, पौडेलले भने, ‘अब कुनै व्यवसायीले आत्मदाह गर्न नपरोस भनेर व्यवसायीको पक्षमा प्रदर्शन गरेका हौ, सरकारले सानादेखि ठूला व्यवसायीलाई समान व्यवहार गर्न आवश्यक छ ।’ पौडेलले विदेशमा समेत शरीरमा आगो लगाएर विरोधको प्रतिकार दिने चलन बसेको छ, त्यो आत्महत्या होइन सरकारले गरेको हत्या गरेको बताए । ‘शरीरमा आगो लगाएर विरोधको प्रतिकार दिने चलन बसेको छ, उनले भने, ‘हिजोको घटना फेरी दोहोरिनु भएन, सबैखाले व्यवसायीको पक्षमा सरकारको ध्यान पुग्न आवश्यक छ ।’ मंगलबार आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्कारएर आत्मदाहको प्रयास गरेका थिए । शरीरमा आफै आगो लगाएका घाइते भएका आचार्यको उपचारको क्रममा अस्पताल आज बिहान मृत्यु भएको थियो ।
काठमाडौँ: प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लङ्घनमा कारबाही गरेको छ । जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको छ । आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले पटक पटक दिएको निर्देशन अवज्ञा गर्ने आइअफनेपाल डटकमलाई कालोसूचीमा राखी थप कारबाही अघि बढाइएको काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काउन्सिलका सह–प्रवक्ता एवं सूचना अधिकारी उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा अदालतमा विचाराधीन रहेको विषयमा मुद्दा प्रभाव पार्ने किसिमले सामग्री सम्प्रेषण गर्ने तनहुँबाट प्रकाशित प्रादेशिक खबर दैनिकसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको जनाइएको छ । काउन्सिलले गरेको स्वअनुगमनमा आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने २८ वटा सञ्चार माध्यममध्ये २ वटालाई निर्देशन, ६ वटालाई ध्यानाकर्षण, ११ वटालाई सचेत, ४ वटालाई स्पष्टीकरण र ५ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन पत्राचार भएको विज्ञप्तिमा जनाइएको छ । यस्तै, उजुरीका आधारमा दर्ता र सूचीकरण नभएका १६ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको छ । काउन्सिलले पछिल्लो समयमा विज्ञापनको नाममा अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार सम्प्रेषण गरेका ६ वटा गुनासा परेको जनाएको छ । यस्तो कार्य प्रचलित कानुन, पत्रकार आचारसंहिता विपरीत र पत्रकारिताको दुरुपयोग भएको भन्दै काउन्सिलले सञ्चार माध्यमलाई सजगता अपनाउन ध्यानाकर्षण गराएको छ । अटेरी गरे कारबाही हुने काउन्सिलले चेतावनी दिएको छ । ‘‘पछिल्लो समय बार्गेनिङ पत्रकारिताविरुद्ध उजुरी पर्न थालेका छन् । हामीले विशेष संयन्त्र बनाएर छानबिन गरिरहेका छौँ’’ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भन्नुभयो । काउन्सिलमा २०७९ साउनदेखि हालसम्म विभिन्न मिडियाविरुद्ध नियमिततर्फ ९७ वटा उजुरी, एक जनगुनासो दर्ता भएका छन् । हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको विशेष अनुगमनका १५ वटा उजुरी र अनुगमन भएकामध्ये १ सय ५१ वटा सामग्री आचारसंहिता प्रतिकूल पाइएको काउन्सिलले जनाएको छ । तीमध्ये २९ वटालाई निर्देशन, ५३ वटालाई ध्यानाकर्षण, ३१ वटालाई सचेत, १८ वटालाई मौखिक ध्यानाकर्षण तथा निर्देशन, २७ वटालाई स्पष्टीकरण सोधिएको र ७ वटालाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको थियो ।
काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरुले बहस गर्नुभयो । शुक्रबार बहस सकिने छ ।
हिले: भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले धनकुटाको सिंधुवा बजारका आगलागीपीडितलाई आफ्नो मासिक तलबबाट आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री राईले छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारमा पुगेर आठ जना पीडितलाई नगद ५५ हजार रुपियाँ सहयोग गर्नुभएको हो । सहयोग हस्तान्तरणमा बोल्दै मन्त्री राईले आगजनीमा नष्ट भएको घर आफ्नो पहलमा बनाइदिने प्रतिवद्धता जनाउनुभयो । मन्त्री राईले आगलागि पीडितहरु झमक थापालाई १५ हजार, सन्तबहादुर राईलाई १० हजार र लिला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही पाँच–पाँच हजार नगद प्रदान गर्नुभएको हो । गत पुस ३० गते राति आगलागि हुँदा छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारका पाँच घर जलेर नष्ट हुँदा ४९ लाख बराबरको क्षति भएको थियो । यसअघि गाउँपालिका, रेडक्रस, सूर्यबहादुर थापा फाउण्डेसन, प्रदेश सांसद ईन्दिरा थापाले पनि आगलागी पीडितलाई नगदसहित बिभिन्न सामग्री प्रदान गरेका छन् ।

