गलकोट: जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो । पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आउनुभएका उहाँले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आउनुभएको छ । जैमिनी नगरपालिका–७ जैदीस्थित हर्दिया ढुङ्गाखानी स्थानीय सरस्वती निम्न माध्यमिक विद्यालयको जग्गामा छ । परम्परागत रूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गाको पछिल्लो समय व्यापार घटेपछि ढुङ्गाखानीमा काम गर्दै आउनुभएका गम्भीरसहित नौ जनाको पेसा सङ्कटमा परेको हो । पहिला १५ देखि २० मजदुरले काम गर्ने ढुङ्गाखानीमा कोरोना महामारीपछि घटेर नौ जनामा सीमित भएका छन् । “पन्ध्र वर्षको उमेरदेखि ढुङ्गाखानीमा काम गर्न थालेको हुँ, त्यसबेला रु ११ मा एक हात बिक्री हुने ढुङ्गा अहिले रु एक सय ३५ मा बिक्री भइरहेको छ, परिवारको लालनपालन र छोराछोरीको शिक्षादीक्षा यही ढुङ्गाखानीबाट गरियो”, विश्वकर्माले भन्नुभयो, “अहिले ढुङ्गासमेत त्यति राम्रो निस्किँदैन, निस्केका ढुङ्गा पनि बिक्री गर्न समस्या छ, अहिले जताततै जस्ताले छाएका र आरसिसी घर निर्माण हुन थालेपछि ढुङ्गाखानी सङ्कटमा परेको छ ।” हाते औजारको सहायताले ढुङ्गा निकाल्दै आएका मजदुरले पछिल्लो समय दिनभरि काम गर्दासमेत हात–मुख जोर्न समस्या हुन थालेको बताएका छन् । “सुरुबाटै यही काम गरियो, अरू काम गर्न सिकिएन, अहिले ढुङ्गा निस्कन मुस्किल छ, खानीभित्रभित्रै पसेको छ भने व्यापार घटेर गएको छ, निकालेको ढुङ्गा कहिले बिक्री हुन्छ थाहै हुन्न”, अर्का ढुङ्गाखानीमा काम गर्दै आएका मजदुर हिमबहादुर श्रीसले भन्नुभयो । “अन्य स्थानमा आधुनिक औजारको प्रयोगबाट ढुङ्गा निकाल्दा छाप्ने, आधुनिक घरमा टास्ने गर्दा राम्रै बजार पाएका सुनेका छौँ, यहाँ त्यस्तो छैन, हातले मिलाएको ढुङ्गा घर छाउनबाहेक अन्त काम लाग्दैन, घर अहिले जस्ताले छाउन थाले, आरसिसी भवन बनाउन थाले, अब ढुङ्गाखानीमा काम गरेर पेट पाल्न सकस छ”, उहाँले भन्नुभयो । पहिला यही ढुङ्गाखानीबाट परिवार लालनपालन र शिक्षादीक्षा गर्दै आएका मजदुर ढुङ्गाखानीको व्यापार घटेपछि विस्थापित हुने क्रम जारी छ । ढुङ्गाखानीमा काम गर्ने बुढापाका बितेर गए भने युवा विदेश पलायन हुँदा ढुङ्गाखानी सञ्चालनमा ल्याउनै समस्या भएको स्थानीय ढुङ्गा व्यापारी मनिकर्ण क्षेत्रीले दुःखेसो गर्नुभयो । क्षेत्रीले ४५ वर्षदेखि मजदुरले निकालेको ढुङ्गा विभिन्न स्थानमा पु¥याएर बिक्री गर्ने काम गर्नुहुन्थ्यो । तर अहिले घर छाउने ढुङ्गाको महत्त्व घट्दै गएपछि यहाँको ढुङ्गाखानी समस्या परेको उहाँको भनाइ छ । उहाँले आधुनिक ढुङ्गाको चलन कायमै रहे पनि हाते औजारको प्रयोगबाट निस्किएका ढुङ्गा घर छाउनमात्रै काम लाग्ने भएकाले समस्या भएको बताउनुभयो । “पहिला ढुङ्गा पु¥याउनै मुस्किल हुन्थ्यो, यहाँको घर छाउने ढुङ्गा जैमिनी, बरेङ, गुल्मीलगायतका स्थानसम्म पुग्दथ्यो, अहिले ढुङ्गाले घर कमै मात्र छाउन थाले, जस्तापाता र ढलान गरेर घर बनाउँदा ढुङ्गा बिक्री हुनै छाड्यो”, क्षेत्रीले भन्नुभयो, “ढुङ्गाखानीमा आधुनिक प्रविधिको प्रयोग गरेर छाप्ने र पक्की घरमा टाँस्ने ढुङ्गा निकाल्दा राम्रो बजार हुन्थ्यो होला, ढुङ्गाखानी भिरालो जग्गामा छ, विद्युत् पु¥याउन समस्या छ ।” परम्परागत तरिकाले सञ्चालनमा आएको ढुङ्गाखानी दर्ता भएर सञ्चालनमा आउन नसक्दा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको ढुङ्गाखानीमा काम गर्ने मजदुरले बताएका छन् । उनीहरूले ढुङ्गा निकालेवापतको केही रकम ढुङ्गाखानीको जग्गा भएको स्थानीय विद्यालय सरस्वती आधारभूत विद्यालयमा जम्मा गर्ने गरेका छन् । अहिले ताराखोलाको ढुङ्गा प्राङ्गण, सडक तथा पदमार्गमा छाप्ने तथा घरको भित्तामा टास्ने कार्यका लागि होटल, मन्दिर तथा घरधनीबाट अत्यधिक माग आउने गरेको छ ।
म्याग्दी (बनी): म्याग्दीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । बिहीबारदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला २०७९ सुरु भएको हो । पर्यटन, कृषि, कला संस्कृति र स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी जिल्लाको विकासमा टेवा पु¥याउन महोत्सव आयोजना गरिएको हो । महोत्सवले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास गरिएको छ । बेनीको खुलामञ्चमा आयोजना गरिएको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले मेला पर्वले कला संस्कृतिको संरक्षण गर्नुका साथै जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोरोनाका कारण प्रभावित बनेको पर्यटन र उद्योग व्यवसायलाई उकास्न महोत्सव सफल हुने आशा व्यक्त गर्नुभयो । म्याग्दी जलविद्युत्, कृषि र पर्यटन विकासको राम्रो सम्भावना भएकाले निजी क्षेत्रले सरकारसँग सहकार्य गर्नसकेमा समृद्धिको ढोका खुल्ने भनाइ उहाँको थियो । महोत्सवको उद्घाटन पूर्व विभिन्न जातजाति र धर्म समुदायका सङ्घसंस्थाहरूले आआफ्नो कला संस्कृति, भेषभूषा, विभिन्न जातजातिहरूको पुर्ख्यौली नाच र बाजागाजासहित बजारमा झाँकी प्रस्तुत गरेका थिए । महोत्सवका अवसरमा स्थानीयले तुल, ब्यानर, स्वागतद्वाराले बजारलाई झकिझकाउ बनाएका छन् । बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय, पर्यटन प्रवर्द्धन र सम्भावनाहरूको उजागर गर्न महोत्सवको आयोजना गरिएको आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । महोत्सवले जिल्लामा रहेको सम्भावनाहरूको उजागर गर्ने र यहाँका उत्पादनहरूको बजारीकरण र प्रचारप्रसारमा समेत सघाउ पुग्ने प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । उहाँका अनुसार महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरूमा हेलिकप्टरमार्फत दृश्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङसमेत सञ्चालन गरिएको छ । महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलका रूपमा लोकनृत्य प्रतियोगिता, जिल्ला स्तरीय अन्तरपालिका महिला र पुरुष भलिबललगायतका प्रतियोगितासमेत सञ्चालन हुनेभएका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामग्रीहरूकोस्टलसमेत राखिएका छन् । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड २५ लाख रुपियाँ आम्दानी र एक करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा २५८ वटा व्यावसायिक स्टलहरू राखिएका छन् । स्थानीय उत्पादनलाई बिक्री र प्रचारप्रसार गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा करिब डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक र करिब १० करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०६० सालदेखि बेनीमा महोत्सवको आयोजना हुँदै आएको छ ।
बिर्तामोड: झापाको गौरादह नगरपालिका वडा न.१ जनता माध्यमिक विद्यालयस्थित भित्री बाटोमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । बसले दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे.१ ख २६७६ न.को माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री सोही स्थानकी ७२ बर्षीया तुलसा दाहाललाई बिहीबार दिउसो ३ बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी दाहाललाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा बिहीबार राती ९ बजेर १५ मिनेटमा मृत्यु भएको हो । बस र बस चालक गौरादह नगरपालिका वडा न २ का ३७ वर्षीय अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हेटौँडा: मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरे भलादमी चोकस्थित पूर्वपश्चिम सडक खण्डमा सवारी साधन दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गए राति ना ३९ प १४३९ न।को स्कुटर दुर्घटना भएपछि गम्भीर घाइते भएका तीन जनालाई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विपरीत तर्फबाट आइ रहेको गाडीले ठक्कर दिएर फरार भएपछि खोजी गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेको थियो । चार घण्टा पछि सहमति हुँदा सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । स्कुटर दुर्घटना अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मनहरिबाट गएको प्रहरी टोलीले तीन जना गम्भीर घाइते अवस्थामा फेला पारी उपचारको लागी चितवन पठाइएको थियो । दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका ८ सिमपानी बस्ने वर्ष करिब ३२ का मिलन मोक्तान र मकवानपुर राक्सिराङ गाउँपालिका ३ लावतीका वर्ष करिब ३२ का रुपेश तामाङलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै मनहरी गाउँपालिका ८ सिमपानी बस्ने वर्ष करिब ३२ का धर्मराज मोक्तान पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको अवस्था गम्भीर रहेकोमा शुक्रवार बिहान ३ः३५ मा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त घट्नापछि ठक्कर दिने सवारीको पहिचान गरी नियन्त्रणमा लिन माग गर्दै स्थानीय करिब ४०÷५० जना भेलाले राजमार्ग अवरोध गरेका थिए । प्रहरीले दुर्घटनाको कारण नखुलेको, स्कुटर पूर्ण रूपमा क्षति भएका र घटनास्थल हेर्दा कुनै सवारी साधनले ठक्कर दिएको जस्तो देखिएको भन्दै अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
काठमाडौं- आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्याउने पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो । चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैंकको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैंकहरु मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभुत हुने गरी वाणिज्य बैंकको सङ्ख्या घटेको हो । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्इ बैंक मर्जरको चरणमा छन् । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिनका लागि बुधबार आयोजित कार्यक्रममा अध्यक्ष पृथ्वीबहादुर पाँडेले व्यक्त गर्नुभएको धारणाले पनि सरकारको नीति कार्यान्वयनमा वाणिज्य बैंकहरू लागिपरेको स्पष्ट बुझ्न सकिन्छ । उहाँले बैंक तथा वित्तीय संस्था सबल बन्दा वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको बताउनुभएको थियो । दुई बैंकबीच सेयर स्वाप अनुपात १००ः९० छ । एकापसमा गाभिएपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंककै अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुभएको छ । नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकको प्रतिनिधित्व रहने गरी इन्भेष्टमेन्टको तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिबडेवाला र मेगाको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहनुभएको छ । साविक इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रूपमा रहनुभएका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहनुभएको छ । मर्जरपश्चात् बैंकको कुल चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल पुँजी रु ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब रहेको छ । त्यसैगरी कुल निक्षेप ३६० दशमलव दुई अर्ब तथा कर्जा लगानी ३२९ दशमलव ०६ अर्ब पुगेको छ । कुल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा देशकै ठूला वाणिज्य बैंकमध्येको अग्रणी बैंक बनेको छ । अध्यक्ष पाँडेका अनुसार बैंकले कुल जनसङ्ख्याको १० प्रतिशत नागरिकलाई सेवा प्रदान गर्दै आएको छ । पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित हुने भएपछि बैंकहरू हतार–हतार मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । आठ वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । पुस महिनामा कुमारी र एनसिसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी बैंक तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिएर एकीकृत कारोबार सुरु गरिसकेका छन् । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक मर्जरपश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । दुई बैंक १ः१ शेयर अनुपातमा मर्जर भएका हुन् । एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी रु २६ अर्ब २३ करोड, कुल निक्षेप रु तीन खर्ब २ अर्ब र कर्जा रु दुई खर्ब ८० अर्ब पुगेको छ । मर्जरपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् । अमिरप्रताप राणाको अध्यक्षतामा चन्द्र बाँस्तोला, इमानसिङ लामा, कृष्णप्रसाद ज्ञवाली र महेश पोखरेल सञ्चालक समिति सदस्य रहनुभएको छ । नेपालमा ‘बिग मर्जर’मा बहार ल्याउने बैंकका रूपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । बैंकले पछिल्लोपटक बैंक अफ काठमाण्डूलाई गाभेको छ । यही पुस २५ देखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृृत कारोबार सुरु गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा कृष्णप्रसाद शर्मा, देवेन्द्रप्रताप शाह, क्याविनेट श्रेष्ठ, रामबहादुर भण्डारी, राधेश पन्त र मदनलाल जोशी सञ्चालक समिति सदस्य बन्नुभएको छ । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी रु ३५ अर्ब ७७ करोड पुगेको छ । यस आधारमा पनि यो बैंक सबैभन्दा ठूलो भएको छ । एकीकृत कारोबारपछि बैंकको कुल पुँजीकोष रु ५७ अर्ब पुगेको छ । निक्षेप सङ्कलन रु चार खर्ब १० अर्ब, कर्जा प्रवाह रु चार खर्ब र कुल सम्पत्ति रु पाँच खर्ब पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पु¥याएको छ । हाल ग्लोबल आइएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् । दक्षिण कोरियामा नेपाली बैंकको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैंक छ । बैंकमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकका अध्यक्ष ढकाल बैंक तथा वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने उद्देश्य हालसम्म विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरेर ग्लोबल आइएमई देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हालसम्म पाँच वाणिज्य, १० वटा विकास बैंक र छवटा फाइनान्स गरेर २१ संस्था गाभिएर यो संस्था बनेको हो । ग्लोबल बैंक अहिले पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जालमा अधिकांश वित्तीय सूचकमा नेपालको पहिलो बैंक भएको छ ।” त्यस्तै प्रभु र सेञ्चुरी बैंक मर्ज भएर यही पुस २६ गतेदेखि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच एक बराबर एक सेयर रहने गरी एकापसमा गाभिएका हुन् । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी रु २३ अर्ब ५२ करोड पुगेको छ । एकीकृत कारोबारपछि प्रभु बैंकको कुल सम्पत्ति रु तीन खर्ब ४० अर्ब, चुक्ता पुँजी रु २२ अर्ब, कुल निक्षेप रु दुई खर्ब ८४ अर्ब र कुल कर्जा प्रवाह रु दुई खर्ब ५३ अर्ब पुगेको छ । त्यस्तै ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ । एकीकृत कारोबार सुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकको १२ अङ्कको खाता नम्बर परिवर्तन भई १६ अङ्कको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ । प्रभु बैंकबाट चार जना र सेञ्चुरी बैंकबाट तीन जना गरी कुल सात सदस्यीय सञ्चालक समिति बनेको छ । प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा रमेशसिंह खड्का, शङ्करप्रसाद कालिकोटा, रामेश्वर सापकोटा, मनबहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान सञ्चालक समिति सदस्य रहनुभएको छ । यसैगरी लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जरका लागि सम्झौता गरेका छन् । मर्जरका लागि दुबै बैंकबाट दुई-दुई जनाको मर्जर समिति बनाइएको छ । मर्जरपछिको नाम लक्ष्मी सनराइज हुने सहमति भएको छ । दुबै बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लक्ष्मइ बैंकको चुक्ता पुँजी रू ११ अर्ब ५५ छ भने सनराइज बैंकको रू १० अर्ब ११ करोड छ ।
मनाङको ‘ख’बाट निर्विरोध निर्वाचित प्रदेश सांसद राजीव गुरुङले प्रतिपक्षमा बस्ने निर्णय गरेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएपछि सांसद गुरुङले भने आफु विपक्षमै रहने बताएका हुन् । नेकपा एमालेलाई ३२ सांसदको मतबाट मुख्यमन्त्री हुन सहज भएको भन्दै गुरुङले प्रतिपक्षमै रहेर रचनात्मक काम गर्ने उल्लेख गरेका छन् । गुरुङले भने ‘एमाले को २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टी को २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु।’
पोखराः पोखरामा घर निर्माणमा प्रयोग गरिने फलामको फोल्डिङ टेका चोरी गर्ने दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका २५ हेम्जा बडहरेमा अर्जुन थापाको बन्दै गरेको घरमा प्रयोग गरिएका फलामको फोल्डिङ टेका, ट्रष्ट पाईप र ट्रष्ट पाईपमा प्रयोग हुने क्ल्याव बोल्ट चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । फलामको फोल्डिङ टेका ११८ थान र ६थान फलामको पाइपसहित पोखरा १ कसेरी बस्ने २४ वर्षीय राजु गुरुङ र पोखरा १६ लामाचौर बस्ने ३० वर्षीय गणेश कुमार राईलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा १० को म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ। लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौं आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
काठमाडौंः प्रहरी टिकटक लाइभमार्फत अनलाइन जुवा खेलाएको आरोपमा ४ जनालाई प्रकाउ गरेको छ । टिकटक लाइभमा जुवा खेलाई आफ्नो ईसेवा खातामा रकम जम्मा गर्न लगाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरुबाट प्रहरीले जुवा खेलाउन प्रयोग गरेको तास पनि बरामद गरेको छ । प्रकाउ पर्नेमा दाङको राप्ती गाउँपालिका–३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षीय ऋषिप्रकाश योगी, भक्तपुर सूर्यविनायक नगरपालिका–१० का २७ वर्षीय कपिल गिरी, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ का २१ वर्षीय प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका–६ भई भक्तपुरको थिमी बस्ने २० वर्षीय डिल्लीराज अवस्थीलाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ऋषिप्रकाश योगीले पब्जी र पब्जी २ नाममा टिकटक आईडीमा लाइभमा जुवा खेलाउने र उनले आफ्ना दुईवटा ईसेवाको खातामा पैसा हाल्न लगाउने गरेको प्रहरीले जनाएको छ । उनको खातामा १० दिन अवधिमा २८ लाख ७३ हजार ३५४ रुपैयाको कारोबार देखिएको प्रहरीले जनाएको छ । त्यस्तै कपिल गिरीले पोर्कर किङ नामक टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र आफ्ना ३ वटा ईसेवा खातामा मानिसहरुलाई रकम जम्मा गर्न लगाएका थिए । उनले १० दिनमा १० लाख ५२ हजार ९६२ रुपैयाको कारोबार गरेको प्रहरीको भनाइ छ । प्रेम कठायतन र डिल्लीराज अवस्थीले प्रेम नामको टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र उनीहरुले ईसेवा एकाउन्टमा ६ दिनमा ९३ हजार २१४ रुपैयाँको कारोबार गरेको खुल्न आएको छ । प्रकाउ परेका चारै जनालाई मुलकी अपराध संहिता २०७४ को दफा १२५ को उपत्यका १ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर वउत जगाती र ठिमी पठाएको प्रहरीले जनाएको छ ।

