पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

दमौली:   तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । यो सेवाबाट गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, उनीहरूको अवस्थामा समस्या रहेमा नगरपालिकाकै स्वास्थ्य संस्था र जोखिम भए अन्यत्र रिफर गरिने उहाँले बताउनुभयो । यो सेवाअन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र भानु नगरपालिका–१ सालबिस्नेमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको सुरुआत गरिएको छ । वडाध्यक्ष कान्छीमाया तामाङले भिडियो एक्सरे सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।  उहाँले गर्भवतीलाई सरल र सहज तरिकाबाट अल्ट्रासाउण्ड सेवा पुर्याउनका लागि निःशुल्करुपमा ग्रामीण अल्ट्रासाउण्डको सुरुआत भएको र हरेक महिना सञ्चालन हुने जानकारी दिनुभयो । हालसम्म २३ जना गर्भवतीले उक्त सेवा लिएका छन् । 

काठमाडौं- माघदेखि ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरू निक्षेपको ब्याजदर घटाउन सहमत भएका हुन् ।   वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने निष्कर्षमा बैङ्करहरू पुगेका हुन् । नेपाल राष्ट्र बैङ्कको निर्देशिकाअनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको छ ।   राष्ट्र बैङ्कको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । सोहीअनुसार माघदेखि ब्याजदर घट्ने भएको हो । निक्षेपको ब्याज घटेसँगै बैङ्कहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ ।   मुद्दती निक्षेपको ब्याजदर बिस्तारै घट्दै जाँदा यसले गर्दा बैङ्किङको आधार दर घट्न गई औसत कर्जाको ब्याजदर १२.६३ प्रतिशतबाट घट्ने भएको छ । ब्याजदर घटाउने निर्णयसँगै सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सिन्धुली: एक किलो गाँजासहित धन कुमार वाइबा पक्राउ परेका छन् । सिन्धुली, घ्याङलेख गाउँपालिका–२ चालिसे बगर बस्ने ४० वर्षीय वाइबा अवैध लागूऔषध गाँजा करिब १ किलोसहित प्रहरीले पक्राउ गरेको हो ।  सिन्धुली प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

कावासोती:   जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले अखाद्य रङ प्रयोग गरेर बदाम बिक्री गर्ने पाँच जना ठेला व्यवसायीलाई नियन्त्रणमा लिएको छ । बदाम भुट्नका लागि इँट्टाको धुलो र घरमा लगाउने हानिकारक रसायनयुक्त पेन्ट प्रयोग गरेको जनगुनासो आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बदाम रातो बनाउन अखाध्य वस्तु प्रयोग गरेर गाउँमा बदाम बिक्री गर्ने ५ ठेलाका बदाम र मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।  पाँच वटा ठेलाबाट झण्डै छ हजार मुल्य बाराबरको २४ किलो बढी अखाद्य रङ प्रयोग भएको छ । अखाद्य रङ प्रयोग भएको बदाम नष्ट गरिएको र रातो बनाउन प्रयोग गरिने रङलाई थप जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । 

तनहुँ:  तनहुँमा ६ महिनामा विकासलक्षित बजेटको पूँजीगत खर्च हेर्दा अत्यन्तै निराशाजनक देखिएको छ । आर्थिक वर्षको आधा अवधि सकिँदा तनहुँमा विकास खर्च ६ प्रतिशत मात्रै भएको छ । जिल्लामा सङ्घीय सरकारको बजेट चालु आर्थिक वर्षको ६ महिना अर्थात पुससम्ममा ६ दशमलव ३७ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । पूँजीगत (विकास)तर्फ तनहुँका लागि कुल विनियोजित ३ अर्ब १५ करोड १२ लाख ३८ हजार ३ सय ९० रुपियाँमध्ये २० करोड ९ लाख १९ हजार ४ सय ६३ रुपियाँ मात्र खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो । भट्टराईले योजना निर्माण र ठेक्कापट्टा निर्माणकै प्रक्रियामा रहेकाले भुक्तानी भइनसकेकाले पूँजीगत रकम कम खर्च भएको बताउनुभयो । त्यस्तै, चालू खर्चतर्फ तलव भत्ता, कर्मचारीको सेवा सुविधामा भने उल्लेखनीय रुपमा बजेट खर्च भएको छ । चालुतर्फ भने सोही अवधिमा ३८ दशमलव ७६ प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार चालुतर्फ कुल विनियोजित ८ अर्ब ३८ करोड ७४ लाख १४ हजार ७ सय ३८ रुपियाँमध्ये ४ अर्ब २७ करोड २४ लाख ६० हजार ९९ रुपियाँ खर्च भएको छ ।  यसैबीच सङ्घ सरकारकोभन्दा प्रदेश सरकारको विकास बजेट धेरै खर्च भएको छ । प्रदेशतर्फको पूँजीगत तर्फ १० दशमलव ५४ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कूल २ अर्ब ६० करोड ३ लाख ३१ हजार विनियोजित रकममध्ये २८ करोड ३६ लाख ३५ हजार ६ सय १३ रुपियाँ खर्च भएको प्रमुख कोष नियन्त्रक बिनोद भट्टराईले जानकारी दिनुभयो ।  प्रदेश तर्फकै चालु तर्फ १२ दशमलव ३१ प्रतिशत रकम खर्च भएको छ । उक्त शीर्षकमा ८२ करोड ७१ लाख ३ हजार ६७ रुपियाँ विनियोजित भएकोमा १४ करोड ९६ लाख ९५ हजार १ सय ९६ रुपियाँ खर्च भएको भट्टराईले जानकारी दिनुभयो । 

काठमाडौं:   अष्ट्रेलियामा नेपाली समुदाय सानो छ तर पनि यँहाका विभिन्न महत्वपुर्ण क्षेत्रहरुमा महत्व पाउँदै गएको छ ।  क्रिकेटको विश्वकै नम्बर ‘वान’ राष्ट्र अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट प्रतियोगिता बिबिएल अर्थात विग व्यास लिग क्रिकेट अहिले जारी रहेको छ । यहि क्रममा एडिलेडमा सोमबार भएको एडिलेड स्ट्याकर र मेलबर्न रेनेगेट्स बिचको खेलमा व्याट फ्लिप गर्ने मौका एडिलेड नेप्लिज क्रिकेट एशोशियसनको तर्फबाट त्यसका अध्यक्ष बिजय जोशीले प्राप्त गरेका छन् । बहुसांस्कृतिक मुलुक राष्ट्र अष्ट्रेलियाले विभिन्न क्षेत्र सहित क्रिकेटमा समेत समाजको विविधताको प्रतिनिधित्व गराउने प्रयास गर्दै आएको छ । साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन(शाका) को पहलमा विग व्यासको इतिहासमा नै पहिलो पल्ट बहुसांस्कृतिक समुदायलाई खेल प्रारम्भ हुनु अगाडिको व्याट फ्लिप गर्ने अवसर दिइएको हो । अष्ट्रेलियामा नेपाली भन्दा सार्क राष्ट्रकै अन्य देशको समुदाय ठुलो हुदा हुदै पनि नेपालीलाई अवसर दिनु गौरबको बिषय भएको एन्का अध्यक्ष विजय जोशीले बताए । जोशी पाल्पाली ढाकाको टोपीमा सयौ दर्शकहरुले भरिएको स्टीडियमको मैदानमा पुगेका थिए । यस अगाडी एनका अन्तरगत क्रिकेट प्रशिक्षण लिइरहेका बालबालिकाहरुलाई समेत अन्तराष्ट्रिय खेल मैदानमा अभ्यास गर्न दिईएको थियो । जोशीले भने, ‘नेपाली बालबालिकाहरुले अन्तराष्ट्रिय खेल मैदानमा अभ्यासको लागि केहि समय प्राप्त गर्नाले खेलाडीहरुमा उत्साह थपेको छ ।’

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।    गण्डकी प्रदेशसभाको पहिलो अधिवेशनको दोस्रो बैठकमा सम्बोधन गर्दै नेता पाण्डेले भने ‘मुख्यमन्त्रीलाई मन दिन सकिन्छ तर मत दिन सकिएन ।’   यसअघिको सत्ता समीकरणमा मुख्यमन्त्रीका दाबेदार रहेका पाण्डेले मत नदिएपनि प्रदेशको विकासमा सरकारसँग हातेमालो गरेर अघि बढ्ने उल्लेख गरे ।   ‘यस प्रदेशको विकासमा पर्यटनको महत्वपूर्ण भूमिका रहन्छ, यसर्थ सरकारले यसमा ध्यान दिनपुर्छ’ पाण्डेले भने ‘विकासको अभियानमा हामी सँगै रहनेछौं ।

 म्याग्दी:   पछिल्ला केही वर्षदेखि चर्चित बनेको बेनी नगरपालिका –१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस पटक भने त्यहाँ बेनी नगरपालिका–४ सुर्केमेलाका दिलबहादुर खत्रीले २५ घार माहुरी चराउँदै आउनुभएको छ । सुर्केमेलाका व्यावसायिक माहुरीपालक कृषक ४२ वर्षीय खत्रीले माहुरीको घार बेचेर वार्षिक करिब ८ लाख रुपियाँ आम्दानी गर्नुभएको छ ।   केसी २१ वर्षको उमेरमा संयुक्त अरब इमिरेट्सको दुबई शहर पुगेर दुई वर्ष बिताएर फर्केपछि दुई वर्ष यतै बसेर २५ वर्षको उमेरमा मलेसिया उड्नुभएको थियो । मलेसियामा तीन वर्ष बसेर २८ वर्षको उमेरमा फर्केर सुर्केमेलामा सुन्तला खेती सुरु गर्नुभयो । बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर व्यवसायमा लाग्नु भएको उहाँले हाल माहुरीको घारसँगै कागती एवम् सुन्तला जातका फलफुल उत्पादन गर्दै आउनुभएको छ ।  केसीले बार्षिक माहुरी तथा घारबाट करिब १० लाखको कारोवार गर्दैआएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “तीन वर्ष अघि एक सय घार बिक्री गरेको, त्यसपछि एक सय १५, गत वर्ष एक सय ४२ माहुर सहित घार बिक्री गरें ।” प्रतिघार माहुरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उहाँको भनाइ छ ।  केसीको भनाइका आधारमा गत वर्ष माहुरीसहितको घारबाट मात्रै उहाँले आठ लाखभन्दा बढी मुनाफा कमाउनु भएको छ । यस वर्ष चरन क्षेत्रमा राखेको ७९ घार माहुरीले दुई सय ५० केजी मह उत्पादन गर्ने अपेक्षा लिएको उहाँको भनाइ छ । रत्नेचौरमा २५ घार र बागलुङ नगरपालिकाको कुँडुलेमा ४५ घार माहुरी चरनमा राखिएका छन् ।  प्रत्येक घारमा माहुरीले सरदर तीनदेखि चार केजीसम्म मह उत्पादन गर्ने हुँदा सो परिणाममा मह बिक्री गर्ने केसीले बताउनुभयो । ताजा मह एक हजार रुपियाँदेखि एक हजार तीन सय रुपियाँ प्रतिकेजीका दरले बिक्री गर्नेगरेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मुल्यअनुसार माहुरीसहितको घारको १० हजार, माहुरी मात्रै ५ हजार, खाली घार मात्रै ३ हजार पाँच सयमा बिक्री हुन्छ । त्यस्तै खाली घार लिएर आएकालाई चार फ्रेम माहुरी हाल्दिएको ५ हजार पाँच सय रुपियाँ लिनेगरेको उहाँको भनाइ छ । पाँच वर्ष लामो बैदेशिक रोजगारीबाट फर्केर २८ वर्षको उमेरदेखि सुरुमा बङ्गुर पालन, त्यसपछि भैसी, माछा, कुखुरापालन सँगै सुन्तला खेती गर्नुभएको थियो । पछिल्लो सात वर्ष अर्थात् ३५ वर्षको उमेरदेखि दुई घार माहुरीबाट पाल्न सुरु गरेको पेशामा आफू रमाएको भनाइ छ ।  कृषि ज्ञान केन्द्रले केही वर्षअघि सानो मोडेल फर्म अन्तर्गत अनुदान प्रदान गरेपछि भने त्यसले ठूलो मात्रामा व्यावसायिक तबरले अगाडि बढ्न सजिलो भएको उहाँको अनुभव छ । एक छोरा र छोरीलाई नीति विद्यालयमा पढाउँदै गर्नुभएका केसीको श्रीमान श्रीमती दुवैजना माहुरी पालनमै स्वरोजगार भएकोमा खुशी भएको बताउनुहुन्छ । 

नवलपुर:   माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत तीर्थालु आउने भएकाले सोहीअनुसारको व्यवस्था गरिएको हो । “देवघाटधाम हिन्दुको पवित्र तीर्थस्थलका रूपमा रहेकाले यहाँ माघ स्नानका लागि स्वदेशी तथा विदेशी भक्तजन आउने गर्छन्”, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले भन्नुभयो, “यहाँ तीर्थयात्रीको व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिएको छ ।” बिहीबार देवघाटको गलेश्वर आश्रममा पत्रकार सम्मेलन गर्दै अध्यक्ष अधिकारीले तीर्थयात्रीका लागि आवश्यक पर्ने खानेपानी, बिजुली बत्ती, सडक, स्नानघाट, धुनी, सवारीसाधन पार्किङ, शौचालयलगायतका सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । देवघाटधामको वेणी सङ्गमस्थलमा पुस ३० गते बिहान विधिपूर्वक बाँसको लिङ्गो गाडेपछि माघ स्नान शुभारम्भ हुने अधिकारीले बताउनुभयो । “वेणीमा बाँसको लिङ्गो गाडेपछि माघ स्नान आरम्भ हुन्छ, सोही दिनदेखि नै टाढा–टाढाबाट आउने तीर्थालुको देवघाटमा आगमन सुरु हुन्छ”, अधिकारीले भन्नुभयो । देवघाट मेलालाई व्यवस्थित गर्नका लागि नवलपुर, चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसँग छलफल गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको अधिकारीले बताउनुभयो । माघ स्नानका लागि नवलपुरको गैँडाकोट–३ मा पर्ने हर्दी, केलादी हुँदै पक्की पुलबाट वेणीमा आउन सकिने तथा चितवनको दासढुङ्गाबाट पक्की पुल हुँदै वेणी सङ्गममा आउन सकिने अधिकारीले बताउनुभयो । “पक्की सडकबाट आउनेहरू सहजरूपमा स्नान गरेर फर्किने व्यवस्था गरिएको छ”, अधिकारीले भन्नुभयो, “सकेसम्म झोलुङ्गे पुलको यात्रा नगर्न भनेका छौँ, यद्यपि तीर्थलुको आगमनलाई झोलुङ्गे पुलमा व्यवस्थित बनाउन सोहीअनुसारको व्यवस्था भएको छ ।” देवघाटमा रहेको झोलुङ्गे पुल हुँदै वेणीमा स्नान गर्न जाने र फर्किनेको व्यवस्थापनका लागि एकपटकमा एक यात्रुलाई मात्रै आवतजावत गर्न दिइने अधिकारीले बताउनुभयो ।  “झोलुङ्गे पुल निकै पुरानो र जीर्ण भइसकेको छ”, अधिकारीले भन्नुभयो, “यसले अत्यधिक भार थेग्न सक्दैन, त्यसैले तीर्थालुहरूलाई लाइनमा राखेर पुल तर्ने व्यवस्था गरिन्छ ।” सो दिन वेणी सङ्गममा स्नानका लागि त्रिशूली नदीमा र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले बताउनुभयो । “तीर्थालुहरूको चापलाई मध्यनजर गर्दै माघे सङ्क्रान्तिमा देवघाटमा ४० वटा र्याफ्टिङ डुङ्गा सञ्चालन गरिनेछ”, पौडेलले भन्नुभयो, “डुङ्गाबाट नदी तर्दा एकतर्फी रु ३५ भाडदार कायम गरिएको छ ।” तोकिएको भाडादरभन्दा बढी भाडा लिएमा क्षेत्र विकास समिति वा सुरक्षाकर्मीलाई जानकारी गराउनसमेत पौडेलले आग्रह गर्नुभयो ।  कालीगण्डकी र त्रिशूली नदीको वेणी सङ्गम साँघुरो र गहिरो भएकाले सीमित स्थानमा मात्र स्नान गर्न मिल्ने गरी स्नानघाट निर्माण गरिएको पौडेलले बताउनुभयो । “हामीले स्नानघाटमा विभिन्न सावधानीमूलक सूचनाहरू राखेका छौँ”, पौडेलले भन्नुभयो, “कुनै अप्रिय घटना नहोस् भनेर सशस्त्र प्रहरीको गोताखोरसहितको दुई वटा, नेपाली सेनाको दुई वटा उद्धार टोली र स्थानीय बोटेमाझको पनि दुई वटा टोली नदीमा तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन भएको छ ।” उद्धार टोली र्याफ्टिङ डुङ्गा र काठको डुङ्गामा तयारी अवस्थामा राखिने पौडेलले बताउनुभयो । आश्रमका पीठाधीश अनन्त विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज देवघाटको वेणी सङ्गमसँगै रहेको गलेश्वर आश्रममा भक्तजनलाई निःशुल्क भण्डार (खाने) र बस्ने व्यवस्था गरिएको बताउनुहुन्छ ।