पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

काठमाडौं । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए ।अर्का ओपनर गौरान्सु शर्मा ४ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल पहिलो बलमै आउट भए । हुसेन तलात ८ बलमा १३ रनमा रन आउट भए । पृथु बास्कोटाले २९ बल खेल्दै ३१ रन बनाए । बलिङमा लुम्बिनीका सागर ढकाल र हर्मित सिंहले समान २–२ विकेट लिए । विपुल शर्मा र किशोर महतोले १ –१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९।२ ओभरमा अलआउट भएको थियो । सुरुवात राम्रो गरे पनि मध्यक्रममा ब्याटरहरुको प्रदर्शन अपेक्षाअनुसारको नहुँदा लुम्बिनी १३३ रनको कमजोर योगफलमा सिमित भयो । ओपनरहरु हरमित सिंह र लाहिरु मिलन्थाले ६४ रनको साझेदारी गर्दै सानदार सुरुवात गरेका थिए । हरमित ३० र लाहिरु ४१ रनमा आउट भए । कप्तान दिपेन्द्र सिंह ऐरी २० र इशान पाण्डले १८ रन बनाउँदा बाँकी कसैले पनि दोहोरो अंकको स्कोर गर्न सकेनन् । ६ जना बलर प्रयोग गरेको विराटनगरका सबैले विकेट लिए । नन्दन यादव र राज ननन्ले २–२ विकेट लिए । हुसेन तलात, केन जोसेफ, सूर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए । सूर्यले ४ ओभर बलिङ गर्दा मात्र ८ रन दिए । प्रतियोगितामा १२ खेलमा २ हार ब्यहोरेको लुम्बिनी च्याम्पियन  बन्यो । लिगमा १० मध्ये ८ जितसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरी फाइनलमा पुगेको हो । उपविजेता बनेको विराटनगरले भने इलिमिनेटरमा काठमाडौं नाइट्सलाई हराएर दोस्रो क्वालिफायरमा जनकपुरलाई पराजित गरी फाइनलमा पुगेको हो । उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएको छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गर्नुभएको छ । बुधबार पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको सालिकमा राष्ट्रपति भण्डारीले पुष्पहार एवम् माल्यार्पण गर्नुभएको हो । पृथ्वी जयन्तीका अवसरमा उहाँप्रति श्रद्धाभाव प्रकट गर्न सिंहदरबार पश्चिम मूलढोकाअघि मानिसको भीड लागेको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजलगायतको सहभागिता छ । विश्व हिन्दू महासङ्घ, विश्व हिन्दू परिषद्लगायत संस्थाका प्रतिनिधिको पनि भीड लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यस अवसरमा भृकुटीमण्डपबाट सिंहदरबार पश्चिम मूलढोकासम्म र्‍याली निकालेको छ । ¥यालीसहित राप्रपाले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेको छ । जयन्तीका अवसरमा बाजागाजा, शङ्ख, घण्ट ध्वनिले पश्चिम मूलढोकाअघिको क्षेत्र गुञ्जायमान भएको थियो । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह तत्कालीन गोरखा राज्यको राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

पोखरा:  राष्ट्रिय एकता दिवसमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, पोखरा महानगर एकाइले बृहत सरसफाई अभियान सञ्चालन गरेको छ ।    नेपाल एकीकरणको अभियान्ता तथा आधुनिक नेपालको निर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज(बुधबार) प्राज्ञिकले सो सरसफाई अभियान सञ्चालन गरेको हो ।    सरसफाई अभियान पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकबाट, सभागृह, न्युरोड हुदै महानगरपालिका पुगेर समापन गरिएको प्राज्ञिक विद्यार्थी परिषद् पोखरा महानगरका सचिव दिप्सन गुरुङले बताए । उनले भने, ‘स्वच्छ पोखरा,सुन्दर पोखरा निर्माण हेतु सरसफाई महत्वपुर्ण विषय वस्तु हो । यसैलाई मध्यनजर गर्दै राष्ट्रिय एकता दिवसको अवसरमा बृहत सरसफाई अभियान सञ्चालन गरेका हौँ ।’   सरसफाई अभियानमा प्राज्ञिक विद्यार्थी परिषद्मा आवद्व विभिन्न क्याम्पसका विद्यार्थीहरु लगायत २५ जनाको सहभागिता रहेको थियो । साथै अभियानलाई मध्य नजर गर्दै पोखरा महानगरले फोहोर बोक्ने गाडी तथा सरसफाई सुरुक्षा सामाग्री पञ्जा र मास्क उपलब्ध गराएको थियो ।    पृथ्वीनारायण शाहको सम्झनामा परिषद्ले आज साँझ ५ बजे पोखरा १ बगर अवस्थित पृथ्वीनारायण क्याम्पसको मुल गेट अगाडी दिप प्रज्वलन कार्यक्रम गर्ने जनाएको छ ।   प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह तत्कालीन गोरखा राज्यको राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।                      

काठमाडौँ:  नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि मङ्गलवार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै तेजाबी सुन तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार हुँदा बुधवार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ कायम भएको छ । यसअघि मङ्गलवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।  महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

काठमाडौँ:  मनोहरा नदीको तटीय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन् । वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले मङ्गलबार गरेको चरा गणनामा उक्त क्षेत्रमा आगन्तुक र स्थानीय गरी ८४ प्रजातिका चरा भेटिएका हुन् । मिड विन्टर वाटरवर्ड काउन्ट २०२३ अन्तर्गत गरिएको चरा गणनामा विगत वर्षको तुलनामा कम सङ्ख्यामा चरा भेटिएको फोटोग्राफर श्रेष्ठले बताए । बढ्दो सहरीकरण र नदी तटीय क्षेत्रमा मानवीय अतिक्रमण, सहरीकरणलगायत कारणले पछिल्लो समय चराहरुको सङ्ख्यामा उल्लेख्य कमी आइरहेको उनको भनाइ थियो । फोटोग्राफर श्रेष्ठकाअनुसार खोला आसपास क्षेत्रमा बढ्दो निर्माण, डोजर र ड्रिल आदिको प्रयोगले चराचुरुङ्गीको बासस्थान विनाश हुँदै गइरहेको छ । जल पक्षीहरुको सङ्ख्यामा कमी आउनाको अर्को कारक खोलाको पानी प्रदूषित बन्नु पनि रहेको छ । खोलामा जथाभावी फोहर फ्याँक्ने, ढल मिसाउने, विभिन्न उद्योग कलकारखाना आदिबाट फिल्टर नगरी वा प्रशोधन नगरी नदीमा सिधै पानी विसर्जन गर्ने गरिएकाले पनि पानीमा निर्भर रहने माछा, भ्यागुतो र किराहरूको अभाव हुन गई त्यस्मा निर्भर रहने चराहरुको संख्यामा समेत कमी हुन गएको चरा गणनामा संलग्न अर्का फोटोग्राफर चन्द्र चक्रधरले बताउनुभयो । “नदी प्रदूषणले गर्दा प्राकृतिक प्रणालीमा असर परेको देखिन्छ जस्का कारण खाद्य चक्रमा समेत असर परी चराहरुको सङ्ख्यामा कमी आएको छ,” उनले भने  । मनोहरा क्षेत्रमा अर्को ठूलो समस्याका रुपमा रहेको बालुवा चोरी निकासीले गर्दा चराहरूको सङ्ख्यामा कमी आएको टोलीको निष्कर्ष छ । बालुवा तस्करीका कारण खोला आसपासमा मानवीय गतिविधि बढ्दै गएको, चराहरुको प्रजनन गर्ने सुरक्षित स्थान अभाव हुँदै गएको अर्का टोली सदस्य तथा चराप्रेमी सुरेश खम्बु श्रेष्ठले बताए । मनोहरा नदी र मध्यपुर थिमि–८ र ९ मा रहेको मनोहरा मिनी कोसीटप्पुमा साइप्रस र युरोपका विभिन्न देशहरुबाट जाडो छल्नका लागि विभिन्न प्रजातिका आगन्तुक चराहरु आउने गर्दछन् । मनोहरा नदी आसपास चरा गणनामा श्रेष्ठको नेतृत्वमा फोटोग्राफरहरु चन्द्र चक्रधर, विनय श्रेष्ठ, बर्ड वाचर राम श्रेष्ठ, विद्यार्थी आयुशा पौडेल, चराप्रेमीहरु सुरेश खम्बु, विक्की अदुवा र शैलेन्द्र भासिक सहभागी  थिए । 

चितवन: पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ । यही पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । अन्य दुई वटाको काम नसकिएपछि ठेकेदार कम्पनीले थप २१ दिनको समय माग गरेको छ । यसअघि भएको निर्णयअनुसार माघ ४ गते ३० दिन पुग्छ । पुसको ३० र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी नरोकिने भएको छ । यो समयलाई थप गर्दा माघ ६ गतेसम्म सवारी बन्द हुनेछ । सूचना अधिकारी आचार्यका अनुसार ठेकेदार कम्पनीले माग गरेको समय दिएमा माघभरि नै सवारी आवागमन रोकिनेछ । उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुइनको भित्तो ४५ मिटर अग्लो चट्टानी भिर रहेकाले काम गर्न कठिन भएको हो । काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उनले बताए । थप २१ दिन समय पाएमा त्यसपछि यदाकदा एक डेढ घण्टा रोकेर काम गर्न सकिने आचार्यले बताए  । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलहरु सँगै काम थालिएका नौवटा पुल बनिसकेका छन् । यसअघि नै सो सडकका पाँचवटा पुल बनिसकेका थिए । पाँचवटा पुल निर्माणाधीन रहेका छन् । एउटा पुलको जगमा ६ वटा घरटहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको कार्कीले बताउनुभयो । विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान रहेको छ ।  यस्तै अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन् । ती हटाउनका लागि रु एक करोड हाराहारी राहत दिनुपर्ने हुन्छ । कार्कीले ठेकेदार कम्पनीले माग गरेको समयको विषयमा छलफल गरेर टुङ्गो लाग्ने बताए । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौताअनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले थप समय सवारी रोक्नुपर्ने आयोजनाले माग गरेको भए पनि टुङ्गो नलागेको बताए । स्थलगत निरीक्षण र छलफलपछि के कति समय थप गर्नुपर्ने निर्णय गरिने बताए । सो सडकको चौडाइ नौदेखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।     

भोजपुर:  संखुवासभासँग भोजपुर जोड्ने अरुण नदीस्थित लम्छुवाघाटमा बन्दै गरेको पक्की पुलको ठेक्का सम्झौता बन्द भएको छ। झण्डै डेढ दशक बितिसक्दासमेत ठेकेदार कम्पनी स्वच्छन्द निर्माण कम्पनीले काम नगरेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारले ठेक्का तोडेको हो। १२ वर्षदेखि अलपत्र उक्त लम्छुवाघाटमा पक्की पुल निर्माण पुनः अलपत्र पार्ने ठेकेदार कम्पनीसँग ठेक्का तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ।  डिभिजन कार्यालयका सूचना अधिकारी ईन्जिनियर दिपेन्द्रकुमार शाहले म्याद थप्दासमेत काम सुरु नभएपछि ठेक्का रद्द गरिएको बताए। सूचना अधिकारी शाहका अनुसार २०६७ सालमा स्वच्छन्द निर्माण सेवाले निर्माण कार्य सुरु गरे पनि विभिन्न बहानामा काम अलपत्र पारेको थियो। निर्माण सेवाले म्याद मात्रै थप्ने, काम नगर्ने भएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेको उनले बताए। विभिन्न कारण देखाउँदै स्वच्छन्द निर्माण सेवाले काम छाडेर भागेपछि पुल निर्माण अलपत्र बनेको थियो। २०६७ सालमा सम्झौता भएको पुलको काम २० प्रतिशत मात्र सकिएको छ। निर्माण कम्पनीले गरी २०६७ असार २५ गतेभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। १ सय ६७ मिटर लामो उक्त पुल निर्माणको काम २०७२ असोजसम्म सम्पन्न हुनुपर्ने सम्झौता भए पनि अहिलेसम्म ६ वटा पिलर मात्रै उठाइएको छ। जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको थियो।  निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न भन्दै पछिल्लोपटक २०७७ पुष १३ गतेसम्म म्याद थप गरेको थियो। १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको उक्त पक्की पुल निर्माणमा ४ करोड रुपैयाँ बढी खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ। १२ वर्ष बिते पनि निर्माण सम्पन्न नभएपछि जोखिमपूर्ण तवरले नदी तर्नुपर्ने स्थानीयवासीको बाध्यता हटेको छैन। लम्छुवाघाटको पुल नहुँदा ज्यानको जोखिम मोलेर काठको डुंगाबाट अरुण नदी वारपार गर्नुपरेको छ। नाउँबाट विद्यालय आउजाउ गर्नु लम्छुवाघाट बस्तीका बालबालिकाको बाध्यता हो। हिउँद होस् या वर्षा, भोजपुरको उत्तरी भेगका बासिन्दालाई अरुण नदी तर्न समस्या छ। पुल नहुँदा अत्यावश्यक सामान लिन १५ किलोमिटर घुमाउरो बाटो र नाउँको भरमा नदी तर्नुपर्ने बाध्यता रहेको स्थानीय रुद्रबहादुर मगरले बताए। ‘नुनभुटुन लिन पनि संखुवासभाको खाँदबारी नै जानुपर्छ’, मगरले भने। तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले ०६७ सालमा पुल शिलान्यास गरेका थिए। तर, ठेकेदारको लापरबाहीले अलपत्र बन्दा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकालगायत उत्तरी भेगका ७० हजारभन्दा बढी जनसंख्याले कष्टकर यात्रा गरी खाँदबारी आउजाउ गर्छन्।  षडानन्दका मेयर सुरेन्द्र उदासले पुल निर्माणमा ठेकेदार कम्पनीको लापारबाहीका कारण नागरिकले सास्ती खेप्नु परिरहेको बताए। भने, ‘हाम्रो क्षेत्रको विकासको मूल ढोका भएको लम्छुवाको पुल निर्माणमा निर्माण व्यवसायीबाटै लापारबाही भयो, जसले जनता कष्टकर यात्रा गर्न बाध्य छन्,’ पुलको विकल्पमा षडानन्द नगरपालिकाको पहलमा केही दूरीमा रहेको कात्तिकेघाटको पुल निर्माणको काम भने सुरु भएको छ।

काठमाडौं:  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सो प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र  गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत छ । विभागले आगामी २४ घण्टा देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

पोखराः   पोखरा महानगरपालिकाको १२ औं नगरसभा अर्को सूचना नआएसम्म स्थगित भएको छ ।   पोखरा सभागृहमा आजदेखि सुरुभएको नगरसभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभाको उद्घाटनपछि नगरसभाको विषयवस्तु भन्दा बाहिर एमालेले  विषय उठाएको भन्दै नगरसभा बहिष्कार गर्दै बाहिरिएका थिए ।    पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कारवाहीको माग गर्दै नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेका थिए । जातीय विभेदका आरोपित वडाध्यक्षलाई कारवाही माग गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर सभामा विरोध गरेका हुन । आरोपित वडाध्यक्ष अधिकारी प्रहरी नियन्त्रणमा रहेका छन् ।  कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु सभाबाट बाहिरिएपछि पोखरा महानगरपालिकाको नगरप्रमुख धनराज आचार्यले अर्को सूचना नआएसम्म नगरसभा स्थगित भएको जानकारी गराएका थिए ।