दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिका–४, हुनैनाथका ७४ वर्षीया अनिता धामीको घरमै पुगेर उहाँलाई नागरिकता प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोलीले घरमै आएर नागरिकता दिएपछि धामी निकै खुसी हुनुभएको छ। स्थानीय कृष्ण धामीका अनुसार धामीलाई नागरिकता दिलाउन एक दशकअघिदेखि पहलकदमी भएको थियो। वृद्धावस्थामा नेपाली नागरिकता प्राप्त भएपछि राज्यबाट प्राप्त हुने सेवासुविधा लिन धामलाई सहज भएको छ। विभिन्न कारणले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुग्न नसकेका नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरिरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार मालिकार्जुन गाउँपालिकाको आग्रहअनुसार तीन जना नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। मालिकार्जुन गाउँपालिका–३ का ५५ वर्षीय केशवसिंह धामी, वडा नं. ४ का ज्येष्ठ नागरिक ७४ वर्षीया अनिता धामी र मानसिक रूपमा अस्वस्थ रहेका वडा नं. ४ कै करवीरसिंह धामीको घरमा पुगेर जिप्रकाले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष हीरासिंह धामीले जानकारी दिनुभयो। प्रशासन कार्यालयले विगतदेखि नै समस्यामा परेका नागरिकलाई घरदैलोमा नै गएर सेवा दिने गरेको सहायक प्रजिअ साउदले बताउनुभयो। अरू स्थानीय तहमा पनि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय पुग्न नसकेर समस्यामा परेका नागरिक भए सूचना दिन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ। गाउँघरमा धेरै नागरिक उमेर पुग्दासमेत विभिन्न कारणले नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेका छन्। नागरिकता वितरणका लागि पालिका र प्रशासनले थप ध्यान दिनु आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुुरुङबाट सपथग्रहणपछि अधिकारीले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बोल्दै मुख्यमन्त्री अधिकारीले प्रदेशको विकास र समृद्धिको लागि काम गर्ने बताए । पदभार ग्रहण पछि बसेको पहिलो बैठकले तीनवटा निर्णय पारित गरेको गण्डकी प्रदेशका प्रवक्ता सीता सुन्दासले बताईन् । उनका अनुसार विभिन्न आन्दोलनमा शहिद भएका ज्ञातअज्ञात शहिद प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । ‘लोकतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलनमा शहिद हुनुभएका ज्ञातअज्ञात शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, ०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सहयोग गर्नुहुने सम्पूर्ण राष्ट्रसेवकसँगै मतदातालाई धन्यवाद दिएका छौं, सुन्दासले भनिन्, ‘ प्रदेशको शासकीय क्षमता अभिवृद्धिका लागि सुशासन कामय गर्न, सेवा प्रवाहमा सुझाव पेश गर्न मुख्यमन्त्री तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेका छौं ।’ बैठकले प्रदेश मातहत ११ वटै जिल्लामा डायलिसिर्स सेवा प्रवाह गर्न निर्देशन समेत दिएको प्रवक्ता सुन्दासले बताईन् । ‘प्रदेशमा डायलिसिसका बिरामीहरुलाई मध्यनजर गर्दै छिटोछरिटो सेवा प्रदान गर्न प्रदेश मातहतका ११ वटै जिल्लामा डायलिसिस सेवा विस्तार गर्ने निर्णय गरेका छौं ।’ गण्डकीमा कुनै पनि राजनीतिक दलको बहुमत नआएपछि नेकपा एमाले, नेकपा माओवादी, राप्रपा र स्वतन्त्र निर्वाचन भएका र अहिले नेकपा एकिकृत समाजवादी प्रवेश गरेका दीपक मनाङ्गेसहितको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । कुनै पनि राजनीतिक दलको बहुमत नआएपछि प्रदेश प्रमुख गुरुङले संविधानको धारा १७५ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उपधारा (२) २ वा सोभन्दा बढी दल मिलेर सरकार बनाउँछन् । प्रदेश प्रमुख गुरुङले गण्डकी सरकार बनाउन राजनीतिक दललाई आज (पुस २५ ) सम्मको मिति दिएका थिए ।
पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले रुकुम पूर्वका बिरेन शाहीलाई ३ केजी ३ सय ग्राम लागूपदार्थ चरेशसहित प्रकाउ गरेको छ । पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले शंकास्पद अवस्थामा फेला पारी रितपूर्वक खानतलासी गर्दा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १२ घर भएका ३५ वर्षीय शाही ३ केजी ३ सय ग्राम लागूपदार्थ (चरेश)सँगै एक थान मोवाइलसहित प्रकाउ परेका हुन् । लागूपदार्थसहित प्रकाउ परेका शाहीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । अधिकारीले ३ जनालाई मन्त्रीमा पनि नियुक्त गरेका छन् । राप्रपाबाट पञ्चराम गुरुङ, नेकपा माओवादी केन्द्रबाट हरिबहादुर चुमान र एमालेबाट सीता सुन्दास मन्त्री नियुक्त भएका छन् । विना विभागीय मन्त्री बनेका उनीहरुले मुख्यमन्त्री अधिकारीपछी प्रदेश प्रमुख गुरुङबाट शपथ लिएका छन् ।
पोखराः पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । कपडा व्यवसायी एसोसिएसन कास्कीले शनिबार आफ्नो रजत वर्षका अवसरमा पत्रकार थापालाई व्यवसायीक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । पत्रकार थापाले आइतबार आश्रम मै पुगेर आफूले प्राप्त गरेको पुरस्कार ११ हजार एक सय १० रुपियाँ आश्रमकी कास्की जिल्ला सहसंयोजक सम्झना बर्तौलालाई हस्तान्तरण गरेका हुन्। मानवसेवाको उत्कृष्ट कर्म गरिरहेको आश्रममा आश्रित सहयोगापेक्षी जीवनहरूको सहयोगार्थ आफूले प्राप्त गरेको पुरस्कार अर्पण गरेको पत्रकार थापाले बताए । ‘जीवन महत्त्वपूर्ण छ, त्यसमाथि मानव जीवन यो केवल आफ्ना लागि मात्र होइन रहेछ, पत्रकार थापाले भन्नुभयो, जीवन अरू कसैको दुख र अभावमा बाँडेर जिउनुको आनन्द बेग्लै हुँदो रहेछ । आज मानव सेवा आश्रमले थालेको मानवता प्रवर्द्धनको अभियानमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ।’ मानवमा मानवताको मानवीय भावना स्खलित हुँदै गएको परिस्थितिमा यो पवित्र कर्म गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको थापाले बताए । सो अवसरमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सीनाले सामाजिक सेवाको कुनै मूल्य र सीमा नहुने भन्दै पत्रकार थापाले गरेको कार्य अनुकरणीय भएको बताए । कपडा व्यवसायी एसोसिएसन कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले यो आफ्ना लागि निकै ठुलो आश्चर्यको विषय भएको बताए । पत्रकारिताको क्षेत्रमा प्राप्त गरेको कुनै पनि पुरस्कार यसरी सेवामा समर्पित गरेको आफूले अहिलेसम्म थाहा नपाएको बताउँदै उहाँले असल कर्मका कमलजीवीलाई व्यवसायीक पत्रकारिता पुरस्कारले पुरस्कृत गर्न पाएकोमा खुसी व्यक्त गरे । पत्रकार थापाले यसअघि प्राप्त गरेको जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार पनि अर्नाकोट छात्रवृत्ति प्रतिष्ठानलाई प्रदान गरेका थिए ।
मुख्यमन्त्रीको खगराज अधिकारीको मन्त्रीमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पन्चराम गुरुङ् मन्त्री बन्ने निश्चित भएको छ । मन्त्रीमण्डल कति र कस्तो बनाउने टुंगो नलागेपनि राप्रपाका गण्डकी प्रदेश अध्यक्ष गुरुङ मन्त्री बन्ने पक्का भएको पार्टीका कास्की प्रवक्ता अरुण गिरीले जनाएका छन् । प्रदेशमा समानुपातिकबाट २ सिट प्राप्त गर्न सफल राप्रपाले एमालेको समर्थन गरेको छ । ‘ठ्याक्कै कुन मन्त्रालय भन्ने निश्चित भएको छैन’ प्रवक्ता गिरीले भने ‘तर यस मन्त्रीमण्डलमा राप्रपाको स्थान कन्फर्म भइसकेको छ ।’ गण्डकी अध्यक्ष गुरुङ प्रदेशमा संसदीय दलका नेता हुन्
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी चयन भएका छन् । कास्की क्षेत्र नम्बर १ (१)बाट निर्वाचित अधिकारीले आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नियुक्तिको प्रमाणपत्र लिएका छन् । अधिकारीलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न मनाङ १ को क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिेतका राजीव गुरुङ् (दिपक मनाङे)ले समर्थन गरेका हुन् । स्वतन्त्रबाट चुनाव जितेर नेकपा एकीकृत एसमा प्रवेश गरेपनि आज नेकपा एमालेबाट मुख्यमन्त्रीा दाबी पेश गर्नेक्रममा खगराज अधिकारीलाई समर्थन गरेका छन् । राजनीतिक समीकरण अनुसार अघिल्लो गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखेर एसमा प्रवेश गरेका मनाङेले प्रदेशमा एमालेको सरकार बन्ने देखेपछि मुख्यमन्त्रीमा अधिकारीलाई समर्थन गरेका हुन् । पछिल्लो समीकरणमा अब मनाङेले कुनै एक मन्त्रालय पाउने पक्कापक्की भएको स्रोतले बताएको छ । मनाङेलाई मन्त्री दिन केन्द्रमा एमालेकै पहल रहेको जनाइएको छ । यद्यपि, उनले एस परित्याग भने गरेका छैनन् । पार्टीमा जे भएपनि सरकार टिकाउन समर्थन गरेको मनाङेको सटिक प्रतिक्रिया छ । अबको केही समयमा अधिकारीले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा ९ मन्त्रालयमात्रै ठिक हुने बताएका छन् । मुख्यमन्त्री पोखरेलले पदमुक्त हुनु अघि आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उक्त धारणा राखेका हुन् । ‘अब बन्ने नयाँ सरकारले प्रदेशको विकास र समुन्नतको लागि हेरेर मन्त्रालय बनाउनुपर्छ, पोखरेलले भने, ‘विषम परिस्थितिमा आउँदा मन्त्रालय बढी भएको अनुभुति भएको हो, अब आउने नयाँ सरकारले प्रदेशले धान्न सक्ने मन्त्रालय निर्माण गर्नुपर्छ ।’ उनले आफु आउन भन्दा अगाडी नै ११ मन्त्रालय भएको भन्दै १ वटा मन्त्रालय थपेको बताए । पार्टीले यो चुनावमा आफुलाई टिकट नदिएपनि पार्टीको राजनीतिमा सक्रियरुपमा लाग्ने मुख्यमन्त्री पोखरेलको भनाई छ । उनले कार्यअवधिमा आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधि सभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिन नहुनेमा समेत जोड दिनुभयो । “हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ ।” उहाँले भन्नुभयो, “हामी सुशासन दिन सक्छौं कि सक्दैनौं रु जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं रु यो संसद् हाम्रो परीक्षाको केन्द्र हो । जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।” हजारौं शहीद, बेपत्ता, जेलनेल सहेका र घाइते अपाङ्ग नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट समावेशी संसद् बन्न सफल भएकोतर्फ इङ्गित गर्दै प्रधानमन्त्री प्रचण्डले समावेशी संसद् बनेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँको भनाइ थियो, “विविधतामा एकता नै हाम्रो शक्ति हो । बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभौगोलिक विशेषता भएको यो देशमा विविधताको सम्मान गर्न सके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा ग¥र्यौं भने विभाजनतिर जान्छौं ।” फरक राजनीतिक दृष्टिकोण र पृष्ठभूमिबाट आएका भए पनि जनताप्रति गरिएका प्रतिबद्धता साझा भएकाले सबै एक ठाउँमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो । “मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौं र साझा प्रतिबद्धतामा एक ठाउँमा उभिनेछौं ।” उहाँले भन्नुभयो, “भर्खर हामी जनताका बीचबाट आएका हौं । हामीलाई समस्याहरु केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नु छ र समाधानतिर जानु छ ।” सांसदहरुको मनमा नयाँ केही गर्ने आवेग र हुटुहुटी भएको बताउँदै उहाँले अब सबै मिलेर ‘केही हुँदैन’ भन्ने हीनभावनका ठाउँमा आशा र उत्साह जगाउनुपर्ने बताउनुभयो । “राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिमा केन्द्रित गर्नु छ । विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु छ ।” उहाँले भन्नुभयो, “आर्थिक क्रान्तिको साझा सङ्कल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु छ ।” व्यवस्थापिका संसद् सार्थक संवादको थलो बन्नेमा आशा व्यक्त गर्नुहुँदै प्रधानमन्त्रीले सहमति र मतभेदहरु पनि मर्यादापूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । “कम्तीमा मेरो प्रयास र अपेक्षा यही हुनेछ ।” उहाँले बिट मार्दै भन्नुभयो, “यो सम्मानित र सार्वभौम संसद् नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ भन्ने विश्वासका साथ सबै माननीय सदस्यलाई फेरि एकपटक बधाई दिँदै बिदा हुन्छु ।” गोरखापत्र

