पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

विराटनगर:  प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित भएका छन् । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको मात्रै उम्मेदवारी परेको थियो । आज बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गरेको हो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । दोस्रो कार्यकालमा गौतम बन्नेछन् । सभामुख गौतमले आजै शपथ लिनेछन् । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार १ बजे शपथ ग्रहण गर्ने छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् । प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ।  को हुन् गौतम ? ओखलढुंगाको लिखु गाउँपालिका–९ स्थायी ठेगाना भएका गौतम २०४६ सालको पञ्चायत विरोधी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् । बहुदलपछि सर्लाहीको महादेव जनता माविमा अखिलको इकाई अध्यक्ष भएका उनले त्यहीँबाट एसएलसी गरेका हुन् । त्यसपछि काठमाडौंको आरआर क्याम्पस अध्ययनको क्रममा उनले अखिलबाटै स्ववियुको राजनीति गरेका थिए । २०५२ साल फागुन १ गतेदेखि नै माओवादी जनयुद्धमा लागेका उनी त्यसबेला काठमाडौं–ओखलढुङ्गा सम्पर्क समितिको सचिव थिए । ०५४ सालदेखि ०५६ सालसम्म जेल परेका उनी ०५७ सालदेखि ०६० सालसम्म माओवादी कमाण्डरको रुपमा ओखलढुंगामा काम गरे । ०६० सालमा अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव भएका उनी शान्ति प्रक्रियापछि पनि मजदुर संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । उनले मजदुर संगठनमा रहँदा झापा, मोरङ र सुनसरीमा लामो समय काम गरेका छन् । २०७० सालदेखि भने उनी ओखलढुङ्गा जिल्लामा पार्टी अध्यक्ष भएर भूगोलमा काम गर्न थाले । ०७२ सालदेखि अहिलेसम्म उनी ओखलढुङ्गाको इन्चार्जको भूमिकामा छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका उनी हालसम्म संसदीय राजनीतिमा प्रवेश गरेका थिएनन् । ०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका उनी सभासद् बन्न भने पाएनन् । ०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा पनि उनी उम्मेदवार बन्न पाएनन् । यो पटकको निर्वाचनमा भने ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र २ बाट कांग्रेसको सहयोगमा निर्वाचित भएका गौतम पहिलो चरणमै प्रदेशसभाका नेतृत्व गर्ने ठाउँमा पुग्ने निश्चित भएको छ । राजनीतिशास्त्रमा आइएसम्मको अध्ययन गरेका उनी जनयुद्धको कारण शैक्षिक योग्यता थप्न नपाएको बताउँछन् । आफू निर्विरोध निर्वाचित हुने अवस्थामा पुग्दा नयाँ जिम्मेवारी थपिएको भन्दै उनी यो भूमिकालाई आफूले सफलतापूर्वक सम्पन्न गर्ने बताउँछन् । यद्यपि उनीसँग कानुन निर्माण र प्रक्रियाबारे पर्याप्त ज्ञान अभाव देखिन्छ । उनका लागि प्रदेश १ को अत्यन्तै तरल अवस्थामा रहेको संसदीय राजनीतिलाई सहज ढंगले डोर्याउने र सरकारसँग समन्वय गर्न उनलाई चुनौती देखिन्छ ।

तनहुँ:  अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको सुनुवाइ माघ ३ गते हुने भएको छ ।  पटक–पटक स्थगित हुँदै आएको उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।  बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । नायक शाहमाथिको मुद्दामा नवलपुर अदालतको फैसला माग गरी हाल थप अनुसन्धान भइरहेको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । बाल यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत नवलपुरमा नायक शाहविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा जिल्ला अदालत नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्ष कैद सजाय तोकेको थियो । माघ ३ गते तनहुँ अदालतले पनि सफाइ दिने वा कैद सजाए तोक्ने फैसला हुने अनुमान गरिएको छ । नवलपुर अदालतमा चलेको मुद्दा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित कपी उपलब्ध गराउन तनहुँ जिल्ला अदालतमा पत्रचार भएको शाहको तर्फबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो । न्यायाधीश कमलप्रसाद आचार्यले नवलपुर अदालतको फैसलाको माग गर्नुभएको तनहुँ जिल्ला अदालतले जनाएको छ । मुद्दाको अध्ययन गर्दै जाँदा नवलपुर अदालतमा के फैसला हुन्छ त्यो फैसलालाई तनहुँ जिल्ला अदालतमा पटके कायम हुने भन्ने माग दाबी लिएर जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेकाले माग गरिएको शाहको तर्फबाट बहस गर्नुभएका अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिनुभयो । नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिनुभएको सुवेदीले जानकारी दिनुभयो । गत फागुन ११ गते बालिकाका बुवाले छोरीमाथि शाहले पटक–पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनुभएको थियो । शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आउनुभएको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडितले बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ ।

पोखरा:  पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा ६६ औं माघे संक्रान्ति मेला हुने भएको छ ।  रिंजे नासाले परिचित गाउँमा नौधारे सिद्ध बराह युवा क्लबको आयोजनामा पुस २८ गतेदेखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष शम्शेर गुरुङले जानकारी दिए । मेलामा भलिबलसहित अन्य खेल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिने उनले जानकारी दिए । रिंजे नासामा गाउँमा २०१३ सालदेखि माघे संक्रान्ति मेला आयोजना गरिएकाले यसको निरन्तरता दिएको अध्यक्ष गुरुङले जानकारी दिए । ‘२०१३ सालदेखि नै यहाँ माघे संक्रान्तिको दिन नौ धारामा स्नान गरी तरुल र मासको टिका लगाई आर्शिवाद लिने साथै कन्यहरुलाई सोहि टिका लगाई आर्शिवाद दिने चलनको थियो,’ उनले भने, ‘त्यसपछि ठेलो मात्र हानिन्थ्यो भने केही वर्षदेखि हामीले केही परिमार्जन गरेर मेला आयोजना गरिरहेका छौं ।’  साविक अर्मला गाविस ५ हाल पोखरा १६ स्थित यस रञ्जित गाउँ महेन्द्र गुफाबाट करिब ५ किलो मिटरको दुरीमा छ । पहिले गाउँमा ४० घरधुरी रहेकोमा आधुनिकतासँगै बसाईसराईले गर्दा गाउँ रित्तो हुन थालेपछि गाउँमा अध्यक्ष गुरुङको पहलमा विभिन्न कार्यक्रम गरिंदै आएको छ । त्यही अनुरुप गाउँको मेलालाई आधुनिकतासँगै परिमार्जित गरि गाउँ चिनाउन लागिपरेको उनले जानकारी दिए ।  बसाईसराई रोकी युवा जनशक्तिलाई गाउँमै रोजगार दिलाउने उदेश्यले केही कृषि फर्महरु दर्ता गरी हामे स्टे समेत सञ्चालन गरी आईरहेको उनले बताए । गाउँ नजिकै रहेका नौ धारे सिद्ध बराह मन्दिरमा  टाढा टाढाबाट पनि भक्तजनहरु जाने भएको हुँदा दर्शनाथीहरुको भिड लाग्ने उनको भनाई थियो । रञ्जित गाउँदेखि उत्तर तिर पर्ने मुलकोट भुमी पाँक डाँडा, नागी डाँडा जस्ता सुन्दर ठाउँमा रमाउन सकिने क्लबको उपाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए । यहाँको प्राकृतिक सुन्दरतासँगै नौ धारे सिद्ध बराह मन्दिरलाई धर्मिक पर्यटकीय स्थलका रुपमा विकास निर्माण गर्न मेलाले सहयोग पुग्ने उपाध्यक्ष तामाङले बताए ।   

काठमाडौँ:  कम्बोडियामा भएको आगलागीको घटनामा ज्यान गुमाएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन ढिलाइ भएको छ । शव ल्याउन नेपालबाट आवश्यक डकुमेन्ट कम्बोडिया पुगिसकेपनि त्यहाँको सरकारी पक्षबाट प्रमाणीकरण नहुँदा ढिलाइ भएको हो ।  एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले आवश्यक डकुमेन्ट नेपालबाट पठाइसकेको जानकारी दिँदै घटना भएको मुलुकले प्रमाणीकरण गरेसँगै शव ल्याइने बताए । त्यसका लागि कम्बोडियाको आन्तरिक मन्त्रालयमा फाइल पेस भइसकेको छ । तर, अधिकारीहरुले डकुमेन्ट प्रमाणीकरणमा ढिलाइ गर्दा शव नेपाल पठाउन नसकिने उनको भनाइ छ । आन्तरिक मन्त्रालयका अधिकारीले बिहीबारका लागि पुनः फाइल प्रमाणीकरणका लागि बोलाएको बताइको छ।   आज फाइल प्रमाणीकरण भएमा तीन–चार दिनभित्र शव नेपाल पुग्नसक्ने उनको भनाइ छ ।  पाण्डेको थाइल्याण्डको सीमा नजिकै पर्ने पोपेइ सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगालागीमा मृत्यु भएको थियो ।  आगलागीबाट ज्यान जोगाउन १२ औं तलामाथिबाट हामफाल्दा उनको मृत्यु भएको हो । डकुमेन्ट प्रमाणीकरण भएपछि घटनास्थलस्थित अस्पतालबाट कम्बोडियाको राजधानी फेनाम पेन हुँदै नेपाल ल्याइने बताइएको छ । घटनास्थलबाट राजधानी शव पठाउनै करिब १० घण्टा लाग्ने बताइएको छ ।  निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले चासो दिँदै छिटो शव नेपाल ल्याउन अधिकारीहरुलाई निर्देशन दिएका थिए । शव नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निर्णय गरिसकेको छ । शव नेपाल ल्याउन कम्बोडिया समेत हेर्ने थाइल्याण्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ। दूतावासलाई एनआरएनए कम्बोडियाले पनि सहजीकरण गरिरहेको छ।

पोखरा:    पोखरा महानगरपालिका ४ फिर्केपुलमा (बुधबार) मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।  पोखरा बागलुङ सडकखण्ड अन्तरगत पर्ने पोखरा ४ फिर्केपुलमा मोटरसाइकल दुर्घटना हुँदा बागलुङका मनिष नेपाली र बाजुराका सुरज बुढा घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।  ‘बुधबार राति फिर्के खोला पुलमा मोटरसाइकलस अनियन्त्रित हुँदा से ७ प ५२०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते छन्, सूचना अधिकारी पाठकले भने, दुईजना नै सामान्य घाइते छन्, अहिले मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।’ सूचना अधिकारी पाठकका अनुसार मोटरसाइकलका चालक सुरज बुढाले मापसे गरेको खुल्न आएको छ । पोखरा बागलुङ सडकखण्ड अन्तरगत पर्ने फिर्के खोला पुलमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको सूचना अधिकारी पाठकले जानकारी दिए । 

काठमाडौँ:   नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । चाँदीको मूल्यमा भने थोरै गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै तेजावी सुन तोलामा १ लाख १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।  चाँदी भने बुधबारको तुलनामा तोलामा रु ५ घटेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो । 

म्याग्दी: आजदेखि बेनीमा सुरु हुने म्याग्दी महोत्सवको सातौं संस्करणको तयारी पूरा भएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवलाई लक्षित गरेर बजारवासीले तुल ब्यानर, धोजापताका, स्वागतद्धारले बजारलाई झकिझकाउ र चिटिक्क पारेका छन् । बजारलाई सरसफाई गरेर पाहुनाको स्वागत गरेका छन् ।   पुस २८ देखि माघ ८ गते सम्म बेनीको खुल्ला मञ्चमा सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएका छन् । कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्ने उद्देश्यले संघले प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागेको संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।  माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धन र सम्भावनाहरुको उजागर गर्न आयोजित महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।  महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन पूर्व विभिन्न जातजातिको भुषभूषा, कलासंस्कृति र झाँकीसहित बजारमा र्‍याली निकालिने आयोजकले जनाएका छन् ।   महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरुमा हेलिकप्टरमार्फत दृष्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राको लागि र्‍याफ्टिंगसमेत सञ्चालन गरिने भएको छ । महोत्सवमा खुला लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलको रुपमा लोकनृत्य प्रतियोगिता, जिल्ला स्तरीय अन्तरपालिका महिला र पुरुष भलिबल लगायतका प्रतियोगिताहरु समेत सञ्चालन हुनेभएका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामाग्रीहरुको स्टलहरु समेत राखिनेछन् । महोत्सवमा बेनीको पुरानो हनुमान नाच समेत देखाउने तयारी गरिएको संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय र स्थानीय कलाकारहरुबाट साङ्गेतिक प्रस्तुति रहने महोत्सवलाई संगीतमय बनाइने भएको छ ।  दश दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड २५ लाख रुपियाँ आम्दानी र एक करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा दुईसय ५८ वटा व्यवसायिक स्टल रहेका छन् । स्थानीय उत्पादनलाई विक्री र प्रचारप्रसार गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा करिव डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक र करिव १० करोड बराबरको व्यवसायिक आर्थिक कारोबार हुने संघले बताएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०६० सालदेखि संघले महोत्सव लगाउन सुरु गरेको थियो ।

काठमाडौँ:  नेपाल टेलिकमले बिहीबारदेखि लागू हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत प्रिपेड मोबाइल प्रयोगकर्ताले १९९ देखि ६९९ रुपियाँसम्मको २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् । स्टे कनेक्टेड अफरअन्तर्गत १३० रुपियाँमा पाँच दिनका लागि सबै नेटवर्कमा दुई जीबी र फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने चार जीबी डेटासहित सबै नेटवर्कमा कुराकानी गर्न सक्ने गरी १५० मिनेट भ्वाइस सुविधा पनि उपलब्ध गराएको छ । टेलिकमले आफ्नो एफटीटीएच सुविधाअन्तर्गत ४० र ८० एमबीपीएस इन्टरनेट ब्यान्डविथसहितको प्याक नवीकरण गर्दा क्रमशः १६ हजार ६८२ र २१ हजार ५४१ रुपियाँ मूल्य निर्धारण गरेको छ । पोस्टपेड कम्बो प्याकअन्तर्गत उपलब्ध भइरहेको ३७३ रुपियाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

पोखराः     रेडियो सराङकोटले आयोजना गरेको मिडिया कप फुटसल प्रतियोगिता विवादित बनेको छ । फेवा टेलिभिजनले प्लेईङ लिस्टमा भएका भन्दा बाहिरको खेलाडी खेलाएपछि प्रतियोगिता विवादमा परेको थियो । फेवा टिभीले प्लेईङ लिस्टमा भएका खेलाडीको घरयासी समस्या देखाउँदै आयोजकलाई थाहा नदिई मयुर टाईम्सविरुद्ध खेलाएको थियो । खेलपछि मयुरले प्रोटेस्ट हालेपछि आयोजकले फेवालाई अयोग्य ठहर्‍यायो । भने, मयुर सेमिफाइनल पुग्यो । पछि मयुरका खेलाडीको दुई टिममा नाम रहेको भन्दै विरोध गरेपछि रेफ्रीले मयुरलाई पनि अयोग्य घोषणा गर्‍यो । तर, यसमा आयोजक सराङकोटको गल्ती भएको मयुर टाइम्सले जनाएको छ । मयुरका कप्तान प्रविन मगरले आयोजकलाई जानकारी गराउँदा गराउँदै पनि दुवै तर्फ नाम भएको खेलाडीको विषयमा समस्या समाधान गरिसकेपछि दुवै टिममा नाम राखेर गल्ती गरेका बताए । ‘हाम्रो एउटा खेलाडीको दुई टिममा नाम भएपछि खेल हुनु अघिल्लो दिनमा नै हामीले रेडियो कार्यालयमा गएर सहमती गरेका हौं,’ उनले भने, ‘तर खेल्ने समयसम्म पनि उक्त खेलाडीले मयुर टाईम्सबाट खेल्ने भनेर सहमती गरेपछि अर्को टिमको लिस्टबाट नहटाएर ठूलो गल्ती गर्‍यो ।’ यता, रेडियो सराङकोटले प्रेस विज्ञप्ती जारी गरी क्षमा याचना गरेको छ । ‘दुवै टिम अयोग्य ठहर गर्दै दुवै खेल अवैध गरिएको जानकारी सहित यस कार्यमा सम्बन्धीत मिडियाको केही कमजोरी र आयोजकबाट केही व्यवस्थापनमा कमी कमजोरी भए सो मा क्षमा चाहान्छौं,’ विज्ञप्तीमा भनिएको छ ।