वालिङ: स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सुन्न र गुनासाहरूलाई व्यवस्थित रूपमा सुनुवाइ गर्न ‘हेल्लो वालिङ’ कल सेन्टर सञ्चालन गर्ने भएको छ । स्मार्ट वालिङ निर्माणको क्रममा तय गरिएका सूचकहरू मध्ये गुनासो व्यवस्थापन पनि एक भएकाले कल सेन्टरको स्थापना गर्न लागिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । नागरिकका धेरै गुनासो हुने गर्छन्, जसलाई सम्बोधन गर्न सेन्टरको स्थापना गर्न लागिएको हो, नगर प्रमुख खाँणले भन्नुभयो, “अव हामीले समस्याको पहिचान र तत्कालै समाधानको उपाय समेत अवलम्बन गर्ने छौँ ।” सेवा लिँदा कुनै पनि काम गर्दा समस्या आइपरे नागरिकले सिधा सम्पर्क गर्न सक्ने प्रमुख खाँणको भनाई छ । नगरपालिका भित्रका १४ वटै वडाहरूमा नगरले गरेका कामहरू,तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने नगरप्रमुख खाँणले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै जनप्रतिनिधिहरू नागरिक माझ पुगिसकेको अवस्था पनि हुनसक्छ,नागरिकका गुनासाहरू धेरै हुनसक्छन् ,ती गुनासाहरूलाई सहज रूपमा छिटो सुनुवाइ गर्न कल सेन्टर लाभदायी हुनेछ ।” नगरपालिकाले सुशासन कायम गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कल सेन्टरको स्थापना गर्न लागिएको नगर उपप्रमुख कविता तिवारी गैरेले जानकारी दिनुभयो । कलसेन्टरमा आएका समस्याहरूलाई हामीले उचित समाधान गर्नेछौँ उपप्रमुख तिवारीले भन्नुभयो, “कल सेन्टरका कारण हामीलाई नागरिकसँग जोडिन समेत सहज हुनेछ ।” कल सेन्टरमा फोन गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कल सेन्टरका कारण कर्मचारीहरूलाई सेवा प्रवाह प्रति जिम्मेवार र सचेत बनाउने स्पष्ट पार्नु भयो ।
म्याग्दी: बजेट अभावमा वर्षौंदेखि थला परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ बेँसीदेखि लेकगाउँ जोड्ने सडक योजना गाउँमा जलविद्युत् आयोजना भित्रिएसँगै निर्माण भएको छ। सडक निर्माण गर्न गाउँलेहरूले चन्दा सहयोग तथा जग्गाधनी पुर्जा बैङ्कमा धितो राखी रकम जोहो गरेर १० वर्षअघि सडक निर्माण थाले पनि आवश्यक रकम जुटाउन नसक्दा सडक योजना थला परेको थियो। गाउँमा भित्रिएको ६ मेगावाट क्षमताको रेले खोला जलविद्युत् आयोजनाले वर्षौंदेखि थला परेको सडक निर्माण गरिदिएपछि दुर्गम लेक गाउँ सडक सञ्जालसँग जोडिन पुगेको हो। आयोजनाले बेँसीदेखि लेकगाउँसम्म पाँच किलोमिटर सडक गत वर्ष निर्माण गरिदिएको थियो। मिस्त्री खोला जलविद्युत् आयोजनाले कालीगण्डकीमा बेलिब्रिज निर्माण गरेपछि बेँसीसम्म सडक पुगेको थियो। बेँसीदेखि लेक गाउँबीचको हकली गौडाको अक्करे भीर फुटालेर सडकको ट्र्याक खोल्न नसक्दा वर्षौंदेखि योजना थला परेको लेकगाउँका स्थानीय श्याम पुर्जाले बताउनुभयो। “गाउँलेहरूले एकदशकअघि सडक निर्माण गर्न सामूहिक रूपमा लालपुर्जा बैङ्कमा धितो राखेर ऋण निकालेर सडक निर्माणमा खर्चिएका थिए तर गाउँमा सडक पुर्याउन सकिएको थिएन। लेक गाउँमा जलविद्युत् आयोजना भित्रिएसँगै थला परेको योजनाले पूर्णता पाएको छ। हाम्रो मोटर चढ्ने वर्षौंदेखिको अधुरो सपना पूरा भएको छ,” पुर्जाले भन्नुभयो। तत्कालीन समयमा जिल्ला विकास समिति र चन्दा सहयोगबाट लाखौँ रुपियाँ खर्च गरे पनि अक्करे भीर छिचोल्न नसक्दा लेकगाउँमा सडक पुर्याउन सकिएको थिएन स्थानीय पुर्जाले भन्नुभयो, “गाउँमा निर्माणाधीन जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण गर्दा अप्ठ्यारो र कठिन मानिएको भीर फुटालेर सडक ट्याक खोलिदिएपछि लेकगाउँमा सरर मोटर गुडेका छन्। हाम्रा लागि जलविद्युत् आयोजना भगवान् आएसरह भएको छ।” भीरमा सडक निर्माण गर्न जलविद्युत् आयोजनालाई करिब चार वर्ष लागेको रेले खोला जलविद्युत् आयोजनाका इन्जिनियर आयुष भट्टराईले बताउनुभयो। अक्करे भीर फुटालेर ट्र्याक खोल्न निकै चुनौती थियो उहाँले भन्नुभयो, “सडक खुलेसँगै आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्न र स्थानीयवासीलाई आवतजावतमा सुविधा पुगेको छ।” बेँसीदेखि लेकगाउँसम्म करिब २२ भन्दा बढी घुम्ती छन् भने उक्त अक्करे भीरमा मात्र ११ वटा घुम्ती छन्। ग्रेड मिलाएर सडक फराकिलो पारिएको छ। सडक निर्माणपछि लेकगाउँका करिब १५० घरधुरीलाई सडक सुविधा पुगेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो। स्थानीयवासीको चन्दा सहयोग, तत्कालीन जिविस र गाउँपालिकाले डेढ करोड रुपियाँभन्दा बढी खर्च गरे पनि बेँसीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसक्दा लेकगाउँमा सडक पुर्याउन सकिएको थिएन वडा अध्यक्ष फगामीले भन्नुभयो, “गाउँमा जलविद्युत् आयोजना भित्रिएपछि लेकगाउँमा सडक पु(याउने हाम्रो सपना पूरा भएको छ।” सडक निर्माण भएसँगै लेकगाउँमा उत्पादित कृषि उपजको बजारीकरण, खाद्यान्न ढुवानी र आवतजावत गर्न सुविधा भएको उहाँले बताउनुभयो।
म्याग्दी: म्याग्दीको बेनी स्थित कालिगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ)सञ्चालन गरिएको छ । जलयात्राको राम्रो सम्भावना देखेर कालिगण्डकीमा स्पलास नेपाल एडभान्चरले बेनीको गलेश्वर देखी म्याग्दी र कालिगण्डकी नदीको सङ्गम स्थलसम्म जलयात्रा सञ्चालन गरेको हो । पर्यटकको चाहना अनुसार नयाँ पुल हुँदै मिर्मी सम्म पनि जलयात्रा गर्न सकिने सञ्चालकले जनाएका छन् । म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर बेनीको कालिपुलस्थित गण्डकी होटल सँगको सहकार्यमा कालिगण्डकीमा जलयात्रा सञ्चालन गरेको स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले बताउनुभयो । कालिगण्डकी नदीमा जलयात्राको सम्भावना देखेर आएका छौँ गाइड पुनले भन्नुभयो, ‘‘गलेश्वर देखि बेनी, पर्वतको मालढुङ्गा, नयाँ पुल हुँदै मिर्मीसम्म जलयात्राको रमाइलो यात्रा गर्न सकिन्छ ।’’ कालिगण्डकी नदीमा राम्रो सम्भावना भएकाले वैशाख महिनासम्म जलयात्रालाई निरन्तरता दिने उहाँले बताउनुभयो । पर्वतको नयाँ पुलमा पर्यटकलाई विगत १४ वर्ष देखि जलयात्रा गराउँदै आउनुभएका पुनले बेनीमा पनि जलयात्राको राम्रो सम्भावना देखेको सुनाउनुभयो । गलेश्वरदेखि सुरुभई बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको सम्भावनालाई उजागर गर्न कालिगण्डकीमा जलयात्रा सञ्चालन गरिएको पुनले बताउनुभयो । म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी गलेश्वरदेखि बेनीको दोभानसम्म तिन किलोमिटरको जलयात्राका लागि एक हजार दुई सय रुपियाँ भाडा तोकिएको छ । बेनीदेखि मालढुङा, नयाँ पुल हुँदै मिर्मी सम्म पनि पर्यटकले चाहेमा लैजान सकिने गाइड सन्तोष गिरीले बताउनुभयो । बेनी देखि मिर्मी पुग्न तीन दिन जलयात्रा गर्नुपर्दछ । पुस २८ गते देखि बेनीमा हुने सातौँ म्याग्दी महोत्सवलाई लक्षित गरेर आफ्नो कम्पनीले बेनीमा जलयात्रा सञ्चालन गरेको उहाँले बताउनुभयो । महोत्सव पछि पनि जलयात्रालाई निरन्तरता दिने योजना सुनाउनुभयो । गलेश्वर देखि म्याग्दी र कालिगण्डकीको संगमस्थल सम्म पानीको बहाव राम्रो भएकाले जलयात्राको मज्जा लिन सकिने गाइड पुनले बताउनुभयो । जलयात्राले जिल्लाको समग्र पर्यटन विकासको लागि जल पर्यटनप्रति पर्यटकको आकर्षण बढाउने गण्डकी होटलका सञ्चालक गम पुनले बताउनुभयो ।
हुम्ला: हुम्लावासीले परम्परादेखि नै मनाउँदै आएको ‘भुओ’ पर्व सल्लाका झरोको (लोस्टो) राँको बालेर गाउँको सार्वजनिक स्थान (चौपाडी)मा मनाउने गरिन्छ। स्थानीय पहिरनमा सजिएका पुरुषहरूले रातभरि चुट्किला गीत गाएर जाग्रम बस्दै सो पर्व मनाउँदै आउनुभएको हो। सिमकोट गाउँपालिका–२ का विशाल बोहराले जिल्लाभर मनाइने भुओ पर्व निक्कै रमाइलो तरिकाले मनाइने गरिएको बताउनुभयो। मानिस मृत्यु नभएका प्रत्येक घरबाट सल्लाको झरो बालेर पुरुषहरू भुओ पर्व मनाउन र साथै गाउँको सार्वजनिक स्थानमा गएर गीत गाउँदै नाच्ने काम धुमधामका साथ हुने गरेको बोहराले बताउनुभयो। मृत्यु भएको घरमा जुठो लागेको भन्दै उक्त घरबाट भने पर्व मनाउन जाने गरिँदैन। तीन सय वर्षपहिलेबाट मनाउने गरिएको पर्वलाई जिल्लाका अधिकांश बस्तीमा मनाउने भएको हुँदा अँध्यारोबाट बच्नका लागि सल्लाको झरो बाल्ने गरिएको स्थानीय मान्यता रहेको छ। उक्त स्थानमा गाउँका पुरुष जम्मा भएर गीत गाउने र त्यसपछि भुओ मनाउने स्थानमा गएर पूजापाठ गर्ने गरिन्छ। त्यसअघि पुरुषहरू आआफ्नो कुटुम्ब पर्ने छिमेकीहरूको छोरी चेलीसँग पानी माग्ने कार्य हुन्छ। लाजसर्म नमानी पानी माग्ने र कुटुम्बकी छोरी चेलीले घरको छतबाट पानी छर्ने कार्य हुन्छ यसलाई भसी माग्ने भन्ने गरिन्छ। भसी माग्ने पुरुषहरू कुटुम्मकी छोरीले छरेको पानीमा भिजेर निथु्रक्कै हुने गर्छन्। दुई घण्टा जति यो क्रम चल्ने र त्यसपछि गाउँवासीले दाउरा जम्मा गरेर आगो बालेको स्थानमा गएर आगो ताप्ने कार्य गरिन्छ। प्रत्येक घरबाट केही दाउर लिएर राख्ने गरिन्छ। त्यसपछि रातभर आगो तापेर रात बिताउने र बिहान सबेरै चिसो पानीमा नुहाएर आफन्त तथा मान्यजनको घरघरमा गएर ढोगभेट गर्ने गरिन्छ। भुओ खेल्न गएका पुरुष ढोगभेट गर्न आफन्तको घरघरमा जाने र सगुनपात खुवाउने चलन पनि रहेको छ। त्यसपछि छोरीचेलीलाई घरमा बोलाएर सगुनपात (अग्रै) खुवाउने पनि गरिन्छ। पर्वको अवसरमा टाढा विवाह गरेर गएकी छोरीचेली पनि माइतीमा आउने गर्नुहुन्छ। हुम्लाका लामा बाहेकका सबै जातजातिहरूले यो पर्व मनाउने भए पनि विशेष गरी सर्केगार्ड गाउँपालिका–३ को उनापानी बस्तीमा विशेष रूपमा मनाउने गरिन्छ।
पोखराः प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा टंकराज अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनले टंकराज अधिकारीको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष खुल्ला तर्फ माधव रेग्मी (कास्की), उपाध्यक्ष महिलामा संगीता केशी बानिया (पर्वत ), समावेशी उपाध्यक्षमा सारदा झेडी मगर(नवलपुर) र महासचिवमा प्रकाश ढकाल (कास्की) सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको सचिव तर्फ खुल्ला नारायण रिजाल(बागलुङ), समावेशी मोहसिन अलिमियाँ (गोरखा), महिला सचिवमा अन्जना तिमल्सिना (तनहुँ) र कोषाध्यक्षमा सन्देश पौडेल (लमजुङ) निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक कपिलमणी दाहालले जानकारी दिए । सदस्यहरुमा शंकरराज नहर्की (तनहुँ), सुवास पौडेल(कास्की), रिमा शाही (कास्की), खगेन्द्र भण्डारी (स्याङ्जा), गोविन्द लामिछाने (नवलपुर), फेमचन्द्र रोनियार (नवलपुर), देवराज पुरी (पर्वत), ऋषि बस्याल (स्याङ्जा), निरज अधिकारी (लमजुङ), पवित्रा खत्री (म्याग्दी), बुद्धि गुरुङ (मनाङ) र गीता कुमारी लामिछाने (कास्की) निवाचित भएका हुन् । बाँकी सदस्य समितिको बैठकले मनोनित गर्नेछ ।
धनगढी: नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको नेताका लागि सात जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ । सो पार्टीको मङ्गलबार बसेको प्रदेश समितिको बैठकमा सात जनाले दाबेदारी प्रस्तुत गर्नुभएको हो । दलको नेतामा आकांक्षा देखाउनेमा प्रदेशका महामन्त्री मेघराज खड्का, शिवराज भट्ट, बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, प्रकाशबहादुर देउवा र मानबहादुर रावल रहनुभएको छ । कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह मनुका अनुसार सातै जनालाई सहमतिमा दलको नेता छान्न सुझाव दिइएको छ । बुधबार १० बजेसम्म सहमतिमा दलको नेता छान्ने समय दिएका छौ महामन्त्री शाहले भन्नुभयो, सहमति भएन भने प्रजातान्त्रिक विधिमा दलको नेता छान्नका लागि प्रदेश समितिले वातावरण बनाउनेछ । ५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १९ सदस्य छन् । कांग्रेस सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल हो । सुदूरपश्चिममा कांग्रेस बाहेकका दल नेकपा (माओवादी केन्द्र) , नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता सर्वसम्मतिले छानिसकेका छन् ।
ढल्केवर: जिल्ला प्रहरी कार्यालय धनुषाले गोली प्रहार गरेर हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, बस्ने अन्दाजी ४५ वर्षीय धानुक दासलाई पुस ९ गते गोली प्रहारी गरी हत्याको गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । घरमै बसिरहेको बेला दासमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि जनकनपुरस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले दासको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद भएको बताउनुभयो । घटनामा संलग्न अन्य एकजना अझै फरार अवस्थामा रहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा सातौं जित निकालेको छ । प्लेअफमा स्थान बनाई सकेको लुम्बिनीले मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई पाँच रनले हरायो । जितका लागि लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि चाडबिक वाल्टनले अविजित ५९ रन बनाउनुभयो । कप्तान ट्राभोन ग्रिफिथ, शरफुदिन असरफ र सन्दिप जोराले समान २६र२६ रन बनाउनुभयो । समिउल्लाह शिनवारीले १८ रन जोड्नुभयो । बलिङमा लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले दुई दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओधभरमा ६ विकेटको क्षतिमा एक सय ७८ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ७३ रन बनाउनुभयो । लाहिरु मिलान्थाले ३३, ह्यारी टेक्टरले अविजित १८, कुशल भुर्तेलले १७ र कप्तान दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउनुभयो । बलिङमा जनकपुरका सरफुदिन असरफले तीन विकेट लिनुभयो । जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले एक एक विकेट लिनुभयो । जितसँगै शीर्षस्थानमा रहेको लुम्बिनीले आठ खेलबाट १४ अंक बनाएको छ । पराजित जनकपुर समान खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ । पुस २७ गतेसम्म चल्ने लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।
पोखरा: पाल्पाको बगनासकाली गाउँपालिकाले स्क्वासका राष्ट्रिय खेलाडी अर्जुन गाहामगर (सुशान्त) लाई सम्मान गरेको छ । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट कास्य पदक विजेता बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाका गाहामगरलाई १३ औं गाउँसभाको अवसरमा सोमबार सम्मान गरेको हो । गाहामगरलाई गाउँपालिकाका प्रमुख सरस्वती दर्लामी चिदीमगर, उपप्रमुख हरिप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत विष्णु धर्तीले ढाकाको टोली, दोसल्ला, नगद राशी तथा सम्मानपत्र अर्पण गरे । सो अवसरमा बोल्दै गाउँपालिका प्रमुख सरस्वती चिदीले आगामी दिनमा थप सफलताका लागि शुभकामना व्यक्त गरिन् । उनले प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण इतिहास रहेको बताउदै अन्य खेलाडीहरुलाई प्रेरणा मिल्ने बताइन् । ‘हाम्रो गाउँपालिकाको खेलाडी जो लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण कुरा हो, उनले भनिन्, यहाँहरु जस्तो खेलाडीकै कारण उदीयमान खेलाडीहरुलाई थप प्रोत्सहान मिल्छ । आगामी दिनमा अझ उत्तरोत्तर प्रगतीको कामनासमेत व्यक्त गर्दछु ।’ प्रमुख चिदीमगरले स्वस्थ्य शरिरका लागि खेलकुद अपरिहार्य रहेको बताउदै अनुशासनको मर्यादामा रहनसमेत मद्दत पुर्याउने धारणा व्यक्त गरेकी थिइन् । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा टिम इभेन्ट तर्फ सम्मानित गाहामगरले लुम्बिनी प्रदेशको तर्फबाट प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिम इभेन्टतर्फ लुम्बिनीलाई कास्य पदक दिलाएका थिए । गाहामगर खेलसँगै पत्रकारितामासमेत सक्रिय छन् । उनी पोखराबाट सञ्चालित सुनगाभा न्यूज डटकममा समाचार प्रमुखका रुपमा कार्यरत छन् भने एबिसी न्यूज टेलिभिजनका पोखरा संवाददातासमेत हुन् ।

