पोखराः तमु समुदायको बाहुल्यता रहेको कास्कीमा तामझामकासाथ गुरुङ समुदायले सामुहिक रुपमा ल्होसार मनाएका छन् । बाघ वर्गको विदाई र बिरालो वर्गको स्वागतमा तमु धि नेपाल र तमु प्हे ल्हु संघले सँयुक्त रुपमा कला संस्कृति झल्काउदै र्यालीसहित ल्होसार मनाएका हुन् । ल्होसारलाई गुरुङ समुदायको महान् पर्वको रुपमा लिइन्छ । हरेक वर्षको पुष १५ लाई नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । ल्हो भनेको वर्ग र सार भनेको नयाँ भन्ने अर्थ लाग्छ । सोही अनुरुप पुष १५ लाई नयाँ वर्षको स्वागतमा देश तथा विदेशमा ल्होसार मनाउने प्रचलन रहदै आएको छ । साँस्कृतिक महत्वले पुष १५ मा गुम्बा तथा क्वोइबो धि मा पुजा गरेर मनाउने चलन रहेपनि सामाजिक रुपले एकताको सन्देश दिने उद्देश्यले पोखरामा संयुक्त रुपमा आज ल्होसार मनाएको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले जानकारी दिए । गण्डकी प्रदेश प्रकृति र सँस्कृतिमा धनि प्रदेश हो । तमु समुदायको बाहुल्यता रहेको यस प्रदेशमा तमु जातिको संस्कार तथा संस्कृति अझै जिवितै छ । तमु समुदायले बोन र बौद्ध धर्ममा आस्था राख्ने गरेको पाइन्छ । धार्मिक रुपमा दुई प्रकारका धर्म अवलम्बन गरेको पाइएपनि भाषा, कला र सँस्कृतिमा भने फरकपन छैन । त्यसैले सामुहिक रुपमा मनाइको ल्होसारले एकताको सन्देश दिएको कलाकार बालकाशी गुरुङको बताउछिन् । कला, सँस्कृति सिमित समुदायकोमा मात्र नभइर सिंगो देशकै सम्पत्ती हो । तमु समुदायको महान् पर्व ल्होसार लगायतका पर्वहरुको संरक्षण गर्न सम्बन्धित समुदायको पहलकदमी मात्र यथेष्ट हुदैन । त्यसैले सरकारी पक्षबाट पनि सहयोग हुन आवश्यक देखिन्छ । तस्वीरहरुः
पोखराः पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन भव्य बनाउने तयारी भएको छ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् भोलिदेखि अन्तरराष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, ‘विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।’ पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने दिउँसो २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताउनुभयो । अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि उत्सवको जिम्मा महानगरको छ । महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेक साइडदेखि कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थितरूपमा भव्य र सभ्य बनाउनुपर्ने आचार्यले बताउनुभयो । यो दशकौँ लामो पोखरेलीको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘उद्घाटन समारोहलाई भव्य बनाउने गरी महानगरले काम गरिरहेको छ । यसका लागि विभिन्न उपसमिति गठन गरी काम गरेका छौँ । यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत विमानस्थल कोसेढुङ्गा साबित हुने भएकाले भव्य उद्घाटनको सन्देश विश्वभर पुर्याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय सहरसँग हुने पोखराको सीधा सम्पर्कले पोखरा प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।’ विमानस्थलको उद्घाटनका दिनदेखिनै सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन् । निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एअरले परीक्षण उडानसमेत सम्पन्न गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशकअघि सपना देखेका थिए । लामो प्रतीक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको उहाँले बताउनुभयो । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भन्नुभयो, ुविमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तरराष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवर्द्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाउने छौँ ।’ पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीईले निर्माण गरेको हो । यसअघि गएको वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । २०३२ सालमा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल २०७३ सालमा विमानस्थलको शिलान्यास गरिएकामा २०७४ सालदेखि निर्माण सुरु भएको हो ।
पोखरा: तमु ल्होसारको अवसरमा पोखरा २४ पामेमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । पामे बचत तथा ऋण सहकारी संस्था र फेवा क्लबको आयोजनामा भएको कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् । रक्तदान जिवनदान, जिवनदान महादान भन्ने नाराको साथ भएको थियो । रक्तदान कार्यक्रमको गण्डकी प्रदेशका सभासद् प्रकाश बरालले उद्घाटन गरे । उनले ग्रामिण क्षेत्रमा भएको रक्तदान कार्यक्रमले रक्तदानको महत्व बुझाउन सहयोगी हुने बताए । पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्निधर त्रिपाठी, फेवा क्लब पामेका अध्यक्ष लक्ष्मण तिमिल्सिना, पामे बचत तथा ऋण सहकारीका व्यवस्थापक सुर्यमोहन पराजुली लगाएतले रक्तदानको महत्वको बारेमा चर्चा गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. ९ वडा कार्यालयले आमा समूह र टोल विकास संस्थालाई सरसफाई सामाग्री वितरण गरेको छ । पोखरा– ९, शान्तिबन वाटिका टोलविकास संस्था र शान्तिघाट आमा समूहको संयुक्त आयोजनामा विहिबार आयोजित कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सरसफाई सामाग्री हस्तान्तरण गरेका थिए । वडा अध्यक्ष मर्सानीले टोलविकास संस्थाका अध्यक्ष शेषनारायण पौडेललाई सामाग्री हस्तान्तरण गर्दै व्यक्ति र घर मात्र सफा भएर नहुने भन्दै टोल र बाटो तथा पार्कहरु पनि सफा राख्नुपर्ने सबैको जिम्मेवारी रहेकोले वडा कार्यालयले संघसंस्थाहरुलाई जिम्मेवार वनाउन सरसफाई सामाग्री वितरण गरेको वताए । सो अवसरमा वडा सदस्यहरु लक्ष्मी पहारी र गीता नेपालीले सरसफाई सामाग्रीको संरक्षण गर्दै साप्ताहिक रुपमा टोल सरसफाई गर्दै जनचेतनामूलक कार्य गर्न टोलवासीलाई आग्रह गरेका थिए । शान्तिबन वाटिका टोल विकास संस्थाका अध्यक्ष शेषनारायण पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शान्तिघाट आमा समुहकी उपाध्यक्ष साबित्री पहारीले स्वागत र कार्यक्रम संचालन अध्यक्ष सरस्वती श्रेष्ठले गरेका थिए ।
पोखरा: नेपालका नं १ प्रदिप खड्का मेन्सतर्फ र उमेनसतर्फ अभिलाष विष्ट १९ औं माछापुच्छ्रे ओपन टेनिसको उपाधि नजिक पुगेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा उनीहरु उपाधि नजिक पुगेका हुन् । शुक्रबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा सम्पन्न सेमीफाइलमा मेन्स ओपनतर्फ प्रदिपले रितिक रानालाई टाई ब्रेकरमा पराजित गर्दै फाइनलको यात्रा तय गरे । निकै संघर्षपूर्ण खेलमा नेपालका नं १ खेलाडी प्रदिपलाई चुनौती दिएका रितिकले पहिलो र दोश्रो सेट समान बराबरीमा ६–६ र ६–६ मा खेल्दै टाइव्रेकरमा धकेलेका थिए । तर दुवै सेटमा प्रदिप हावी हुँदै ७–६, ७–६ ले जित निकाल्दै उपाधि नजिक पुगेका छन् । फाइनलमा प्रदिपको भेट प्रनभ खनाल संग हुनेछ । प्रनभले अकि जुवेन रावतलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै मेन्स ओपनमा प्रदिप संग फाइनलमा भेट पक्का गरेका छन् । यता उमेन्स सिंगल्सतर्फको सेमीफाइनलमा नेपालकी नं १ खेलाडी अभिलाषा विष्टले सुनिरा थापालाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरी फाइनलको यात्रा तय गर्दा सर्भानी श्रेष्ठले प्रकृती श्रेष्ठलाई ६–४, ४–६ र ६–१ ले पराजित गर्दै अभिलाषा संग फाइनलमा आफ्नो भेट पक्का गरेकी हुन् । फाइनल खेल शनिबार तय गरिएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिएका छन् । डबल्स मेन्स फाइनल डबल्स मेन्सतर्फको उपाधि नेपाल नं १ खेलाडी प्रदिप खडका र नेहाल जङ्ग बहादुर थापाको सम्मिलित जोडीले निशान श्रेष्ठ र रितिक रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छन् । खेलमा पहिलो सेट ७–६ ले जितेका प्रदिप र नेहालले दोश्रो सेट ६–२ ले जित्दै उपाधि हात पार्न सफल भए । ६५ वर्ष माथि मेन्स भेट्रान्स सिंगल्स फाइनल यस्तै शुक्रबार सम्पन्न ६५ वर्ष माथीको भेट्रान्स सिंगल्समा कमल थापाले विदुर विष्टलाई फाइनलमा पराजित गर्दै उपाधि जितेका छन् । कमल थापाले फाइनलमा ४–१, ४–० को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । ३५ वर्ष माथी मेन्स भेट्रान्स डबल्स फाइनल प्रतियोगिता अन्तर्गत नै सम्पन्न ३५ वर्ष माथी मेन्स भेट्रान्स डबल्समा जितेन्द्र परियार र चेवाङ लामाको जोडीले कमल भण्डारी र यज्ञ भण्डारीको जोडीलाई सोझो सेटमा पराजित गर्दै सो उमेर समुहको खेलको उपाधि जिते । सम्पन्न फाइनलमा जितेन्द्र र चेवाङको जोडीले ६–३, ६–१ ले पराजित गरी उपाधि जितेका हुन् । त्यस्तै ३५ वर्ष माथी सिंगल्स सेमीफाइनलमा कमल भण्डारीले चेवाङ लामा लाई ६–३, ६–१ ले पराजित गरी उपाधि नजिक पुगेका छन् भने जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–३, ६–४ ले पराजित गर्दै कमल भण्डारी संग फाइनलमा आफ्नो भेट पक्का गरे । ४५ वर्ष माथी मेन्स भेट्रान्स डबल्स फाइनल १९ औं माछापुच्छ्रे टेनिस प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न ४५ वर्ष माथी मेन्स भेट्रान्स डबल्स फाइनलमा निमा लामा र भारतिय खेलाडी सम्मिलित टि तुलेश्वर सिंहको जोडीले उपाधि जितेको छ । फाइनलमा उनीहरुले विकास गुरुङ र शरण गुरुङको जोडीलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका थिए । ४५ वर्ष माथीको सिंगल्सको सेमीफाइनलमा भने विमल गुरुङले शरण गुरुङलाई ६–१, ६–२ ले पराजित गर्दै विमल उपाधि नजिक पुग्दा उनी संग फाइनलमा रोहित सुनुवार संग भिड्नेछन् । रोहितले एक अर्को सेमीफाइनलमा भारतिय खेलाडी टि तुलेश्वर सिंहलाई ६–३, ६–४ ले पराजित गरेका थिए । ५५ वर्ष माथी मेन्स भेट्रान्स सिंगल्सको उपाधि कृष्णराज घलेले जितेका छन् । फाइनलमा कृष्णराजले अनिल तुलाचनलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धाहरु भएका थिए । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङले जनाएका छन् । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ । फाइनल खेल शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।
पोखराः सहारा क्लबले आयोजना गरेको २२ औं संस्करणको आहा ! रारा गोल्डकपमा चर्च ब्वाइज युनाइटेडले प्रतियोगितामा पहिलो खेलमा पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई २–१ ले स्तब्ध पारेको हो । खेलको पहिलो हाफमा विभागीय टिम नेपाल पुलिस क्लबले अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनु पर्यो । खेलको २५ औं मिनेटमा विभागीय टिम नेपाल पुलिस क्लबका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । उनले निरकुमार राईको पासलाई सुन्दर फिनिसिङ गर्दै विपक्षी पोस्टमा बल चुमाएका थिए । पहिलो हाफमा दबाबमा रहेको चर्च ब्वाइज दोस्रो हाफमा भने खेल सुधारेको थियो । अधिकांश समय नेपाल पुलिसलाई दबाबमा राख्न सफल भयो । पटकपटक पोस्ट प्रहार गरे पनि ७७ औं मिनेटमा मात्रै गोल गर्न सफल भयो । खेलको ७७ औं मिनेटमा चर्च ब्वाइजका तर्फबाट अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनी केही दिनअघिमात्रै मनाङ मर्स्याङ्दी छाडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए । खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका एरिक विष्टले प्रहार गरेको बल नेपाल पुलिसका गोलरक्षक सञ्जीत श्रेष्ठको हात छुँदै बाहिरियो । तत्पश्चात चर्च ब्वाइजले पाएको कर्नर किक तेज तामाङले प्रहार गरेका थिए । तामाङको प्रहार विपक्षी टिमले सुरक्षित गर्न खोजे पनि बल एरिकको नजिक पुगेको थियो । बललाई हेडिङ गर्दै उनले बल पुनः विपक्षी पोस्टमा फ्याँकेका थिए । सोही ‘डिफ्लेक्ट’बललाई अञ्जनले प्रहार गर्दै सुन्दर फिनिसिङ दिएका हुन् । निर्धारित समयको अन्तिममा नेपाल पुलिसले डिबक्स एरिया नजिकै फ्रिकिक पाएको थियो । बुद्ध लामाले प्रहार गरेको फ्रिकिकको रिबाउन्ड बललाई नीरकुमार राईले क्रस पास दिएका थिए । उनको पासमा भरत शाहले हेमन्त श्रेष्ठले हेडिङमार्फत गोल गरेका थिए । तर, सहायक रेफ्री प्रकाश भुजेलले अफसाइड दिएपछि उक्त गोलले मान्यता पाएन । खेलको अन्तिम मिनेटमा पाएको अवसर पनि गोल मान्यता नपाएपछि केहीबेर खेलाडी र रेफ्रीबीच भनाभनसमेत भएको थियो । लगत्तै निर्धारित समय सकिएर खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको पहिलो हाफमै गोल गर्र्दै चर्च ब्वाइजले अग्रता लिएको थियो । अतिरिक्त समयको आठौं मिनेटमा चर्च ब्वाइजले कर्नर पायो । जसको सदुपयोग गर्र्दै चर्चब्वाइजले पुनरागमन अग्रता लिएको थियो । चर्च ब्वाइजका तेज तामाङले प्रहार गरेको कर्नर किक अञ्जन विष्टको ‘हेडिङ ब्याक फ्लिप’लाई अनन्त तामाङले प्रहार गर्दै विपक्षी गोलपोस्टको जाली चुमाएका थिए । सहारा वर्ष खेलाडी घोषित तामाङ पनि हालैमात्र थ्रीस्टार छोडेर चर्चमा अनुबन्धित भएका हुन् । आहा रारा गोल्डकपको क्वाटरफाइनलमा चर्च ब्वाइज क्लबको मच्छिन्द्रसँग खेल्नेछ । चर्च ब्वाइज यसै सिजन ए डिभिजनमा उक्लिएको हो । मच्छिन्द्र जारी प्रतियोगितामा बाई पाउँदै सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलपछि नेपाल पुलिस क्लबका सहायक प्रशिक्षक रविन श्रेष्ठले आफ्ना खेलाडीले राम्रो खेले पनि लाइन्सम्यानबाट गम्भीर गल्ती भएको प्रतिक्रिया दिए । ‘समग्रमा आजको गेम एकदमै कम्पिटेटिभ भयो । टिमले राम्रै गरेको हो, राम्रै मान्नुपर्छ । तर, जुन किसिमको लाइन्सम्यान हुनुपर्थ्यो, यत्रो टुर्नामेन्ट भइसकेपछि लाइन्सम्यान राम्रो हुनुपर्थ्यो,’ उनले भने, ‘केटाहरुको बाँकी खेल राम्रै थियो । हामीले पाएको गोल लाइन्सम्यानले दिनुपर्छ । त्यस्तै निर्णयले हो गेममा टर्निङ प्वाइन्ट हुन्छ ।’ चर्च ब्वाइजका प्रशिक्षक विक्रम लामाले नयाँ टिम भएकाले खेलाडीलाई एकआपसमा फर्ममा ल्याउनै गाह्रो भए पनि पछि सुधार गरेको सुनाए । ‘पछि हामीले खेलको फर्मेसन चेन्ज गर्यौं,’ उनले भने, ‘हामीले लामो, राम्रोसँग तयारी गरेर आउन पाएनौं । तर, जेहोस् प्लेयरहरुले छोटो समयमै भए पनि फर्ममा आउन सकेको मान्नुपर्छ ।’
तौलिहवा: कपिलवस्तु नगरपालिका –६ बेलासपुरदेखि थूम्हवा चौरहासम्म जोड्ने सडकको कालोपत्रे सडक निर्माण सम्पन्न नहुँदै सम्पन्न नहुँदैएको छ । निर्माण भएको वर्ष दिन नबित्दै कालोपत्रे भत्किन थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । सो सडक निर्माणको जिम्मा सन्तोषी निर्माण सेवाले पाएको थियो । त्यस्तै, थुम्हवा गाउँमा झन्डै चार वर्ष पहिला खाडल खनेर शुरू गरिएको निर्माण कार्य ठेकेदार कम्पनीको लापरवाहीले अलपत्र परेपछि स्थानीयहरु सास्ती खेप्न बाध्य भएका छन् । स्थानीय जुबेर अहमद खाँका अनुसार कमसल निर्माण सामग्री भएकाले कालोपत्रे सडक वर्ष नबित्दै भत्किएको बताउनुभयो । ‘सडक कालोपत्रे हुँदा खुसी भएका थियौं, तर काम राम्रो भएन, यति चाँडै भत्किएपछि यसको गुणस्तरमाथि अहिले प्रश्न उठिरहेको छ’ उहाँले भन्नुभयो, ‘कालोपत्रे त केही दिन देखाउनलाई मात्रै गरेको रहेछ, एक वर्ष पनि राम्ररी टिकेन ।’ निर्माण सेवाले सेमरी गाउँमा अहिले दुई–तीन लेबर मिस्त्रीले काम गरे पनि त्यो काम कहिले पूरा हुने चिन्ता व्यक्त गरेका छन् । तिलौराकोट–जगदीशपुर, निगालिकोट–सेमरी, सडवा–लक्ष्मीनगर, श्रीरामपुर, दलदलहा र कपियवामा एकैचोटी ७५ करोड रुपियाँको लागतमा १८ किलोमिटर पक्की बाटो तथा नाली निर्माणका लागि सन्तोषी निर्माण सेवाले ठेक्का लिएको थियो । सो निर्माण सेवाले सङ्घीय कार्ययोजना कार्यान्वयन एकाइ भवन तथा शहरी कार्यालय रुपन्देहीबाट २०७४ कात्तिकमा सो सम्झौता गरेको थियो । २०७८ वैशाखसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भाका रहे पनि निर्माण कम्पनिले सम्झौताअनुसार काम सम्पन्न गरेको छैन ।
पोखरा: पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास गरिएको छ । यतिबेला पोखराको लेकसाइड रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा २४औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । तेइस वर्ष अगाडि ‘सडक मै खाऔँ, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ सुरु भएको यो महोत्सवले सडकमै नाचगानसँगै खानासँग रमाउन पाइन्छ । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखराको ब्रान्डको रूपमा स्थापित यस महोत्सवलाई व्यापारिक दृष्टिकोणबाट भन्दा पनि पोखराको रहनसहन संस्कृति, पर्यटकीय गन्तव्य र खाना संस्कृतिको विकास र प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरा पर्यटकीय सहर हो, यहाँ विश्वभरिका पर्यटक आउँछन् । अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने र यही अवसरमा यहाँको रहनसहन संस्कृतिलाई प्रचारप्रसार गर्ने हाम्रो उद्देश्य हो र यो सफल पनि हुँदै गएको छ ।” उहाँले महोत्सवमा विभिन्न जातजातिको संस्कृति झल्कने नृत्य, झाँकी प्रदर्शन, भैरव नाच, परम्परागत ढिकी जाँतो, विवाह मण्डप, गुन्द्री बुन्ने, मोही मथ्ने, नेपाली संस्कृति र परम्पराको पहिचान झल्कने सामग्रीलगायत सात प्रदेशका पकवानहरू पनि रहेकाले संस्कार संस्कृति बुझ्न चाहनेहरूका महोत्सव आकर्षक थलो रहेको बताउनुभयो । पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले २५ वर्षअगाडि भारतको गोवा जाँदा अङ्ग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकको घुइँचो देखेपछि लेकसाइडमा पनि सोही प्रकृतिको महोत्सवको परिकल्पना गरेर पोखराको सडकमा यो महोत्सव सुरु भएको थियो । रेवान पोखराले हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिँदै आएको छ । पोखराको ब्रान्डका रूपमा स्थापित हुँदै गएको यो महोत्सवले नेपाली संस्कृतिलाई पश्चिमा संस्कृतिसँग जोडेर एकअर्काको संस्कृति बुझ्नसमेत पुलको काम गरेको उहाँको भनाइ छ । रेवानका प्रथम उपाध्यक्ष एवम् प्रचारप्रसार संयोजक विश्वराज पौडेलले पर्यटन आर्थिक समृद्धिको आधार भएको जनाउँदै महोत्सवले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो । पौडेलले महोत्सवमा मात्र नभई पर्यटन विकासका लागि पोखरा महानगरपालिकाभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय गन्तव्य स्थलहरूलाई संवद्र्धन र संरक्षण गर्दै कल्चर भिलेज ९सांस्कृतिक गाउँ० मा पर्यटकले अवलोकन गरी विभिन्न जातजातिको संस्कृति अध्ययन गर्ने स्थलका रूपमा विकास गर्न सकेमा पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो । लेकसाइडको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब तीन किलोमिटर खुल्ला सडकमा सञ्चालित महोत्सव पुस १७ गतेसम्म चल्नेछ । सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम रहेका छन् । यसैगरी, पोखरा घुम्न आउने पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्ष र महोत्सवको अवसरमा होटललगायतका पर्यटकीय गतिविधिमा विशेष सहुलियत प्याकेजहरू रहेको महासचिव विकास भट्टराईले जानकारी दिनुभयो ।
पोखरा: नेपाल लोकतान्त्रिक तमु संघले तमु समुदायको महान चाड, नयाँवर्ष तमु ल्होछार(हि ल्हो)–२०७९ आगमनको अवसरमा शुभकामना आदान प्रदान, नवनिर्वाचित सांसदहरुलाई बधाई एवम चियापान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष किरण गुरुङले कार्यक्रमको उद्घाटन गर्नुहुदै ल्होछार पर्व साँस्कृतिक एवम राष्ट्रिय पहिचानको पर्व भएको बताउनुभयो। उहाँले तमुवान गण्डकी सभ्यताको साँस्कृतिक एवम ऐतिहासिक सभ्यतालाई राज्यले आत्मसाथ गर्नुपर्दछ भन्नुहुदै तमु ल्होछारको शुभकामना व्यक्त गर्नुभयो। यसरी नै नेकपा एमालेका केन्द्रिय सदस्य एवम कास्की क्षेत्र नं.२ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित बिद्या भट्टराईले शुभकामना व्यक्त गर्नुहुदै तमु ल्होछार समानता एवम साँस्कृतिक चाड भएको बताउनु भयो। नेकपा एमाले केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भिम कार्कीले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै ल्होछार राष्ट्रियता, सँस्कृति र सभ्यताको चाड रहेको बताउनुभयो। कार्यक्रममा मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपाबाट निर्वाचित सांसदहरु एमाले स्थायी कमिटी सदस्य एवम संगठन विभाग प्रमुख खगराज अधिकारी, मनबहादुर गुरुङ,विद्या भट्टराई, दामोदर बैरागी, बेदबहादुर गुरुङ श्याम, भिम कार्की, गणेशमान गुरुङ, देवका पहारी, राजकुमारी भुजेल, नन्दकला नेपालीलाई बधाईका साथै फेटा, भाङग्रा, खादा, धलेकसहित सम्मानपत्रले सम्मान गरिएको थियो। नेपाल लोकतान्त्रिक तमु संघका अध्यक्ष बेदबहादुर गुरुङ श्यामको अध्यक्षता र महासचिव हुमबहादुर गुरुङको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष सर्मिला गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

