पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

पोखरा:  पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित  मेलमिलापकर्ता सम्बन्धी आधारभुत तालिम बिहिबार सम्पन्न भएको छ ।  आठ दिनसम्म सञ्चालन भएको तालिमको उच्च अदालत पोखराका मुख्यन्यायधिश डिल्लिराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । तालिम समापन कार्यक्रममा बोल्दै उहाँले मेलमिलाप विवाद समाधानको उत्तम उपाय भएको बताउनुभयो । उहाँले मेलमिलापकर्ताले असर र पारर्दशी रुपमा काम गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘न्यायधिशले दिने न्याय प्रयोगात्मक हुन्छ । मेलमिलापकर्ताले दिने व्यवहारीक हुन्छ ।’ उहाँले डिग्रीको सिक्र्रीले नभई व्यवहार र अनुभवको आधारमा मेलमिलापकर्ताले व्यवहार गर्नुपर्छ भन्नुभयो । मुख्य न्यायधिश आचार्यले तालिम लिएका मेलमितापकर्ताहरुले असर कार्य गर्ने विश्वास ब्यक्त गर्नुभयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्थानीय सरकारसंग हातेमालो गरेर विवाद समाधान गर्न मेलमिलापकर्तालाई आग्रह गर्नुभयो । पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले न्यायिक समितिको अगका रुपमा मेलमिलापकर्ता रहने भएकाले विवाद समाधानमा महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले विवाद समाधानमा तालिमबाट सिकेको विषयवस्तुलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा महानगर न्यायिक समिति सदस्यद्धय कालिदास पोखरेल र भावना श्रेष्ठले न्यायिक समितिको बारेमा बोल्नुभएको थियो ।तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । आठ दिनसम्म सञ्चालन भएको तालिममा महानगरका ३३ वटा वडाका ७० जनाको सहभागीता रहेको थियो  ।वडा तहका विवादलाई समाधान गर्ने उद्देश्यले मेलमिलापकर्ताका लागि तालिम सञ्चालन गरिएको महानगरपालिका न्यायिक समितिका उजुरी प्रशासक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । तालिम प्राप्त मेलमिलापकर्ता नभएका र पाँच जना भन्दा कम भएका वडाबाट नाम माग गरेर तालिम सञ्चालन गरिएको हो ।

पोखरा:  पोखरा महानगरपालिका-१ स्थित पृथ्वीनारायण क्याम्पसमा जारी अन्तरसङ्काय सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।  पुस १० देखि सञ्चालन भएको प्रतियोगितामा १० विद्याको खेल सञ्चालन गरिएको थियो । खेलकुद विद्यामा ७  र अतिरिक्त क्रियाकलापअन्तर्गत ३ खेल सञ्चालन गरिएको हो ।  अतिरिक्त क्रियाकलापअन्तर्गत निबन्ध-लेखनमा मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, विज्ञान सङ्कायका स्मृति सापकोटा द्वितीय र मानविकी सङ्कायका महेन्द्र पौडेल तृतीय भए । अतिरिक्त क्रियाकलापअन्तर्गत कविता-लेखनतर्फ मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, शिक्षा सङ्कायका रोजिना घिमिरे द्वितीय , व्यवस्थापन सङ्कायकी सम्झना सार्की तथा विज्ञान सङ्कायका विवेक सापकोटा तृतिय र कानुन सङ्कायका अभिषेक रेग्मी सान्तवना भएका थिए ।  वक्तृत्वकलातर्फ मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, कानुन सङ्कायका अमृत विश्वकर्मा द्वितीय र कानुन सङ्कायकै सौगात सुवेदी तृतीय  भएको शोभाकान्त गौतमले जानकारी दिए  खेलकुदतर्फ फुटबल छात्रामा बिएस्सी  शिक्षा टिम प्रथम, विविए अन्जुको समूह द्वितीय  र छात्रमा व्यवस्थापन सङ्कायका राहुलको समूह प्रथम र व्यवस्थापन संकाय नै अशोकको समूह द्वितिय भए ।      बास्केटबलतर्फ छात्रामा विज्ञान सङ्कायका सोनालीको समूह प्रथम, व्यवस्थापन सङ्कायका अन्जुको समूह  द्वितीय  र छात्रमा व्यवस्थापनका पवनको समूह प्रथम, व्यवस्थापन सङ्कायका नै सुमनको समूह द्वितीय  हुन सफल भए ।   भलिबल छात्रातर्फ मानविकी सङ्कायका मायाको समूह प्रथम, शिक्षा सङ्कायका सस्मिताको समूह द्वितीय  र छात्रमा शिक्षा सङ्कायका उमेशको समूह प्रथम र विज्ञान सङ्कायका मनोजको समूह द्वितीय  भए ।   क्रिकेटतर्फ विज्ञान सङ्कायका सुरेशको समूहको प्रथम र व्यवस्थापन सङ्कायका भरतको समूह द्वितीय   भए ।   चेस (बुद्धिचाल) तर्फ छात्रामा अनुपमा लौडारीभाट प्रथम, रानी कुमारी द्वितीय  र सम्झना चौधरी तृतीय  र छात्रमा दीपेश  खड्का प्रथम, सुमन पौडेल द्वितीय ​ र दर्पण सापकोटा तृतीय  भए ।  एथ्लेटिक्स तर्फ ५ किलोमिटर दौडमा छात्र तर्फ सन्जोक घर्ती प्रथम, विवेक तिलिजा द्वितीय  , आकाश थापा तृतीय ​ र छात्रामा अनिशा भण्डारी प्रथम, अन्जु गिरी द्वितीय  र सुशिला शाही तृतीय  हुन सफल भए ।  टेबुलटेनिस तर्फ एकल छात्रामा एलिस खड्का, आस्था केसी अनिता भण्डारी र समीक्षा पोखरेल र छात्र तर्फ पारस साही, समिर खत्री क्षेत्री, अमृृत  विके र सन्दिप पौडेल क्रमशः प्रथम, द्वितीय , तृतीय  भए ।   टेबुलटेनिस डबल छात्रामा आकृति थापा मगर र रोजिना थापाको समूह प्रथम, अनिता भण्डारी र समिक्षा पोखरेलको समूह द्वितीय , विनिता शर्मा र अनुपमा लौडरी भट्टको समूह तृतीय  भए भने  छात्र तर्फ मनोज बाग्ले र सन्दिप पौडेलको समूह प्रथम, पारस शाही र जनक न्यौपानको समूह द्वितीय  र खुमबहादुर कार्की र सराजन क्षेत्री तृतीय  भए भने अमृत विके र गौरव पौडेलको समूहले  सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।    त्रिविका आगिंक क्याम्पस मध्ये अब्बल क्याम्पस: रजिस्टार  प्रा.डा. दाहाल त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहालले पृथ्वीनारायण क्याम्पस त्रिविका आगिंक क्याम्पस मध्ये अब्बल क्याम्पस भएको बताए ।  पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।  ‘क्याम्पसमा खेलकुद हुनु मानसिक चेतनाको विकास सँगै शारीरिक विकास र अनुशासनमा रहनु हो, दाहालले भने, ‘खेलकुदबाट अबको भविश्य सुनिश्चित छ, हामी यसमा अब्बल हुनु आवश्यक छ । प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहाल, क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीहरुलाई नगद पुरस्कारसहित पदक तथा प्रमाण पत्र विविरण  गरेका थिए ।  पृथ्वीनारायण क्याम्पसको आयोजना र विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा प्रतियोगिता सम्पन्न भएको क्याम्पस प्रमुख प्रा.डा. कोइरालाले बताए ।  तस्बिरहरु:                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                           

कास्की:   देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ ।  यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ ।  शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।” पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि उत्सवको जिम्मा महानगरको छ । महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी  अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ ।  महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेक साइडदेखि कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थितरूपमा भव्य र सभ्य बनाउनुपर्ने आचार्यले बताउनुभयो । यो दशकौँ लामो पोखरेलीको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्घाटन समारोहलाई भव्य बनाउने गरी महानगरले काम गरिरहेको छ । यसका लागि विभिन्न उपसमिति गठन गरी काम गरेका छौँ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत विमानस्थल कोसेढुङ्गा सावित हुने भएकाले भव्य उद्घाटनको सन्देश विश्वभर पु¥याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय सहरसँग हुने पोखराको सीधा सम्पर्कले पोखरा प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।” विमानस्थलको उद्घाटनका दिनदेखिनै सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन् । निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एयरले परीक्षण उडानसमेत सम्पन्न गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशकअघि सपना देखेका थिए । लामो प्रतीक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ ।  पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको उहाँले बताउनुभयो । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भन्नुभयो, “विमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाउने छौँ ।” पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो । चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण  सुरु भएको हो ।

पोखराः  २२ औं संस्करणको आहा  रारा पोखरा गोल्डकपमा आज (शुक्रबार) नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब बिच प्रतिस्पर्धा हुदैछ । खेल आज दिउसो २ बजे पछि पोखरा रंगशालामा हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ । आज हुने खेलमा दुवै टोलि विजय हुँदै क्वाटरफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् । आजको विजेता टोलिले मछिन्द्र क्लबसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलि बाहिरिने छ ।    हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आयोजना भइरहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा  साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।   हिजो भएको पहिलो खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  प्रतियोगितामा विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन्। प्रतियोगिता अवलोकनका लागि आउने दर्शका लागि सामान्य प्याराफिटतर्फ प्रि–क्वाटरफाइनल र क्वाटरफाइनलको टिकट मूल्य १ सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि ३ सय टिकट मूल्य राखिएको छ । भिआईपीतर्फ २ सय, ४ सय र ५ सय टिकट मूल्य राखिएको छ ।  

चितवन:  भरतपुर महानगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर २८ वडामा रहेका १५ वटा आधारभूत विद्यालयहरूमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका झन्डै एक हजार जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गत कार्यकालमा शुरुआत गर्नु भएको मेयरसँग बालबालिका कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण कार्यक्रमलाई बिहीबार पहिलो चरणमा सुरु गर्नु भएको हो । महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार बिहीबार मात्रै भरतपुर–२८ मा रहेको आधारभूत विद्यालय सिसाबासमा आयोजित कार्यक्रममा एक हजार जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । भरतपुरको शिक्षालाई थप गुणस्तरीय बनाउने उद्देश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइएको छ । चिसोका कारण विद्यालय जान रोकिन  नपरोस् भनेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम विगतको कार्यकालदेखि नै सञ्चालन गर्दै आएको छ । महानगर प्रमुख रेणु दाहालको पहिलो कार्यकालमा भरतपुरका सामुदायिक विद्यालयमा मेयरसँग छात्रा कार्यक्रम अन्तरगत साइकल वितरण, विद्यालयलाई बस हस्तान्तरण जस्ता कार्यक्रमहरू सुरु गरिएको थियो । महानगर प्रमुख दाहालले सुरु गरिएका सबै कार्यक्रम निरन्तरता दिइने बताउनुभयो । उहाँले सामुदायिक विद्यालय तर्फको आकर्षण र शैक्षिक गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । महानगरले बिहीबार १२ वटा विद्यालयका ९८६ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर महानगरभित्र ११६ वटा सामुदायिक र ९७ वटा संस्थागत विद्यालय छन् । ती मध्ये ७३ वटा आधारभूत तहका विद्यालय छन् । 

दार्चुला:  दार्चुलाको करिब ५४ प्रतिशत घरधुरीमा बिजुली बलेको छ । पछिल्लो केही दिन यता लेकम गाउँपालिकाको रातामाटा, सर्मोली, बिटोरा, मालिकार्जुन गाउँपालिकाको मल्बाब र नौगाडको सुत्खोला लगायत क्षेत्रमा विद्युत् चार्ज गरिएको छ । हालसम्म दार्चुलाको ५३.७० प्रतिशत घरधुरीमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो । नौ वटा स्थानीय तह रहेको दार्चुलाका आठ स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा हालसम्म कुनै पनि वडामा बिजुली बलेको छैन । अपिहिमालको वडा नम्बर ५ लुम्थि, सौगन्नामा लाइन विस्तार भए पनि ट्रान्सफर्मर जडान गरेर बिजुली बाल्न बाँकी रहेको प्रमुख जोशीले बताउनुभयो । नौ गाड गाउँपालिकाको पनि दल्लेख र धुलिगडा क्षेत्रमा मात्रै राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार भएको छ । केही घरपरिवारले लघु जलविद्युत, सोलार लगायत वैकल्पिक ऊर्जाका स्रोतहरूको व्यवस्थापन गरे पनि अधिकासं जनता अन्धकारमा बस्न बाध्य रहेका छन् । दार्चुलाको ४६ प्रतिशत जनता अझै पनि राष्ट्रिय प्रसारणको विद्युतको  पहुँच बाहिर रहेका छन् । विद्युत् अभावमा विभिन्न समस्या झेल्नुपरेको र रातीको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको अपि हिमाल गाउँपालिकाका स्थानीय पार्वती ठेकरेले गुनासो गर्नुभयो । चमेलिया लगायत साना ठुला जलविद्युत उत्पादन गरेको दार्चुलामा अहिलेसम्म अण्डै आधा घरधुरीमा विद्युतिकरण नै हुन सकेको छैन । सरकारले चालु आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा विद्युतिकरण गरिसक्ने लक्ष्य लिएकोमा लक्ष्य अनुसार काम हुन सकेको छैन । विद्युत् कार्यालय र निर्माण व्यवसायी लगायत सरोकारवाला जिम्मेवार नबन्दा दार्चुलामा विद्युतिकरणमा ढिलाइ भइरहेको छ । सरोकारवालाहरूको ढिलासुस्ती र गैर जिम्मेवारीका कारण विद्युत् विस्तारमा लक्ष्यअनुसार प्रगति हुन नसकेको लेकमका स्थानीय पल्लवराज जोशीले बताउनुभयो । विद्युतिकरण भइसकेको ठाउँमा समेत बेलाबेला विद्युत् सेवा अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ । विगतमा टेन्डर भएको क्षेत्रमा विद्युतिकरणको काम भइरहेको र चालु आर्थिक वर्षमा विद्युत् वितरण केन्द्रमा विद्युतिकरणका लागि पर्याप्त बजेट नै नरहेको कार्यालय प्रमुख मोहनदेव जोशीको भनाई छ । दार्चुला विद्युतिकरण आयोजनाले विद्युतिकरणको काम गर्ने भनेर विद्युत् वितरण केन्द्रको बजेट कटौती गरिएको छ, उहाँले भन्नुभयो, दार्चुला विद्युतिकरण आयोजनाको समेत अहिलेसम्म निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । झन्डै एक अर्ब बजेट रहेको उक्त कार्यक्रमका लागि पटक पटक टेन्डर आह्वान हुँदा समेत टेन्डरनै नपरेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । अहिले तेस्रो पटक टेन्डर आह्वान भएकोले टेन्डर स्वीकृत भए विद्युतिकरणको काम तीव्रताका साथ अगाडी बढ्ने उहाँको भनाई छ । दार्चुला विद्युतिकरण आयोजनाको काम सम्पन्न भएमा दार्चुलाको सबै घरधुरीमा बिजुली बलिसक्ने विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख जोशीले बताउनुभयो ।

पोखराः   आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।  जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ । हिमाली भू–भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू–भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ । त्यस्तै हिमाली भू–भागमा साताको सुरू र मध्यमा केही स्थानमा हल्का वर्षा÷हिमपातको  समेत सम्भावना रहेको छ । प्रदेश नं १ को पहाडी भू–भागमा साताको सुरुआतमा छिटपुट वर्षाको सम्भावना छ । देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने तथा तराई भू–भागमा साताका अधिकांश दिनमा बिहान र राति हुस्सु–कुहिरो लाग्ने सम्भावना छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस छ ।

पोखराः   राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले राजा विरेन्द्र शाहको ७७ औं जन्मजयन्ती मनाएको छ । राजा विरेन्द्रको जन्मजयन्तीका अवसरमा उनको तस्वीरमा माल्यार्पणसहित प्रवचन कार्यक्रम र साँझ दिपावली गरेको छ ।  पोखरा स्थित राप्रपा कास्कीको कार्यालयमा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले राजा विरेन्द्रको तस्वीरमा माल्यार्पण गरेका थिए । सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले राजा विरेन्द्र देशभक्त र शान्तिप्रेमी रहेको भन्दै उनको योगदानको स्मरण गरेका थिए । उनको जन्म विक्रम संवत २००२ पुष १४ गते भएको थियो । राजा विरेन्द्रको अकालमा हत्या नभएको भए देशको स्थिति अहिलेको जस्तो नाजुक नहुने उनीहरुले तर्क गरेका थिए । उनीसहित सपरिवारको २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा हत्या भएको थियो । उक्त हत्याकाण्ड अहिले पनि रहस्यमै छ । राजा विरेन्द्रको स्मरणमा राप्रपाले बिहिबार साँझ वीरेन्द्रचोक रामबजारमा दीप प्रज्वलनसमेत गरेका थिए । सो अवसरमा राप्रपा कास्कीले वीरेन्द्रचोकमा राजा विरेन्द्रको शालिक पुननिर्माण गर्न सघाउने निर्णय पनि गरेको छ । शालिक निर्माण समितिसँग सहकार्य गरेर यथाशीघ्र राजा वीरेन्द्रको शालिक बनाउने निर्णय गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । राजा वीरेन्द्रको जन्मजयन्तीकै अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशमा राप्रपाबाट समानुपातिक सांसद निर्वाचित सांसदद्धय पञ्चराम गुरुङ र बिन्दु पहाडीलाई सम्मानसमेत गरेको छ । गुरुङ राप्रपाका गण्डकी अध्यक्ष हुन् भने पहाडी केन्द्रिय सदस्य हुन् । कार्यक्रममा  विवेकशील साझा पार्टीबाट राप्रपामा समाहित भएर केन्द्रिय सदस्य चुनिएका अर्जुन खनाल, सुशिला केसी अधिकारी र माधव भण्डारीलाई स्वागत गरिएको थियो ।  कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद गुरुङले देश र जनताका हितमा इमान्दार भएर काम गर्ने प्रतिवद्धता जनाए । राप्रपाका एजेण्डा स्थापित गर्न लागिपर्ने भन्दै उनले जनताका पीरमर्का संसदमा पु¥याउन भूमिका खेल्ने बताए ।  यस्तै, अर्का सांसद पहाडीले पार्टी नीतिमा रहेर जनताका पक्षमा खरो उत्रने बताइन् । विगतमा सर्वस्वहरण हुँदासमेत पार्टीका पक्षमा अडिग रहेको भन्दै उनले अब संसदमा देश र जनताका पक्षमा पार्टीले उठाएका मुद्धा उठाउने प्रतिवद्धता जनाइन् । राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले अहिलेको दुषित राजनीतिमा राजा विरेन्द्रको अभाव खड्किएको बताए । नवनिर्वाचित सांसदलाई शुभकामना दिँदै उनले गण्डकीका सबै जिल्लासँग समन्वय गरेर अघि बढ्न सांसदलाई सुझाव दिए । कार्यक्रममा केन्द्रिय सदस्यहरु जयलाल पुन, विष्णुप्रसाद पोखरेल, महेन्द्रबहादुर कार्की लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठन कास्की र राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन कास्कीको समन्वयमा सम्पन्न भएको थियो ।  

पोखराः    धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पाखा लगाउदै धरानले अन्तिम ८ मा प्रवेश गरेको हो । धरानको जीतमा प्रकाश बुढाथोकीले खेलको पाँचौं मिनेटमा निर्णायक गोलको योगदान दिए । टिमले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरेका थिए । पोखरामा जारी प्रतियोगितामा भोलि चर्च व्याइज र नेपाल पुलिसबीच खेल हुनेछ ।  हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । क्बलबा अध्यक्ष सुरज गुरुङका अनुसार  डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए,  त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।