पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

पोखरा:   “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” बिहिबार चौथो दिन अन्तिम चरणका खेलहरु सम्पन्न भएका छन् ।  कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिताका सेमीफाइनल र केही फाइनल खेलहरु भोली शुक्रबार हुने आयोजकले जनाएको हो ।   प्रतियोगिताको चौथो दिन ६५ वर्ष माथीको डबल्स फाइनल खेल सम्पन्न भएको छ भने पोखरा ओपन सिंगल्स मेन्स÷उमेन्सका सेमीफाइनल खेल तथा अन्य उमेर समुहका फाइनल खेलहरु शुक्रबार हुने भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् ।  ६५ वर्ष माथी डबल्स भेट्रान्स फाइनल  १९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्सतर्फ बिहबार भएको ६५ वर्ष माथीको फाइनल खेलमा बिमल गुरुङ र हिमाल शाहको जोडीले कमल थापा र झम्पा घलेको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको छ । बिमल र हिमालको जोडीले ६–१ र ६–३ को सेटमा पराजित गर्दै जित उपाधि जित्न सफल भएका छन् ।  त्यस्तै ५५ वर्ष सिंगल्समा कृष्ण राज घलेले प्रदिप शाहलाई ७–६, ६–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् भने पोखराका अनिल तुलाचनले भारतिय खेलाडी एन दिलिप सिंहलाई ७–५, ७–५ ले संघर्षपूर्ण जित निकाल्दै फाइनलमा स्थान पक्का गरेका छन् ।  ४५ वर्ष माथी सिंगल्स÷डबल्स ४५ वर्ष माथीको डबल्सतर्फ निमा शेर्पा र भारतिय खेलाडी टि तुलेश्वर सिंहको जोडीले यज्ञ बहादुर भण्डारी र राजु श्रेष्ठको जोडीलाई ७–५, ६–३ ले पराजित गरी फाइनलमा पुगेका छन् । त्यस्तै शरण गुरुङ र विकास गुरुङले सिजर गुरुङ र आशिष सिग्देललाई ६–३, ६–७, १०–४ ले पराजित गरी फाइनलमा निमा र टि तुलेश्वर संग उपाधिका लागि भिड्न् छन् ।  त्यस्तै ४५ वर्ष माथी सिंगल्समा शरण गुरुङले गोपी भट्टरालाई ६–१, ६–२ ले पराजित गरी सेमीफाइनलको यात्रा तय गरे भने रोहित सुनुवारले शिव सेढाईलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरे । त्यस्तै भारतिय खेलाडी टिटी सिंहले महेश श्रेष्ठलाई ६–२, ५–७, १०–५ मा पराजित गरी अन्तिम चारको यात्रा शुरक्षित गरे भने विमल गुरुङलाई आशिष सिग्देलले वाक ओभर दिएका छन् ।  मेन्स पोखरा ओपन सिंगल्स/डबल्स  १९ औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्सतर्फ नेपालका नं १ खेलाडी प्रदिप खडकाले अन्तिम चारको स्थान पक्का गरेका छन् । बिहिबार भएको खेलमा सौगात विकलाई ७–५, ६–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । त्यस्तै अर्का खेलाडी रितिक रानाले प्रनभ मानन्धरलाई ६–३, ७–६ ले पराजित गर्दा, अकि जुवेन रावतले निशान श्रेष्ठलाई ४–६, ६–१, ६–४ को संघर्षमय खेलमा पराजित गरी सेमीफाइनलको यात्रा तय गर्दा, प्रनभ खनालले नेहाल जङ्ग बहादुर थापालाई ६–०, ६–४ को सेटमा पाखा लगाउँदै सेमीफाइनलमा स्थान पक्का गरे ।   यस्तै आज नै सम्पन्न मेन्स डबल्सतर्फको खेलमा निशान श्रेष्ठ र रितिक रानाको जोडीले अकी जुवेन रावत र राजविर प्रधानलाई ६–२, ७–६ ले, प्रदिप खड्का र नेहाल जङ्ग बहादुर थापाको जोडीले प्रनभ खनाल र अभिनव आचार्यलाई ३–१ को संघर्षपूर्ण खेलमा पराजित गरी फाइनलमा स्थान बनाएका छन् । नेपाल नं १ खेलाडी प्रदिप सम्मिलित जोडीले पहिलो सेट ३–६ ले गुमाउँदा दोश्रो सेट ७–६ र तेश्रो सेट १०–६ ले आफ्नो पक्षमा पार्दै डबल्सतर्फको उपाधि नजिक पुगेका छन् ।  उमेन्स सिंगल्स ओपन उमेन्स सिंगल्सतर्फ नेपालकी नं १ खेलाडी अभिलाषा विष्टले आयशा डोलकर गुरुङलाई ६–०, ६–१ ले पराजित गरी अन्तिम चारमा स्थान पक्का गरेकी छन् । त्यस्तै शुनिरा थापाले शुभाङ्गी शाहलाई ७–६, ६–२ ले पराजित गर्दा, प्रकृती श्रेष्ठले प्रशंसा मोक्तानलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरी सेमीफाइनलको यात्रा तय गरे भने सर्भानी श्रेष्ठले श्रेया भट्टराईलाई ६–०, ६–० ले पराजित गरी अन्तिम चारमा पुगेकी छन् ।  ३५ वर्ष माथी सिंगल्स/डबल्स प्रतियोगिता अन्तर्गत सम्पन्न कमल भण्डारीले देव क्षेत्रीलाई ६–२, ६–३ ले, जितेन्द्र परियारले विकाश गुरुङलाई ६–०, ६–० ले, चेवाङ लामाले सिमन्त गुरुङलाई ३–६, ७–५, ११–९ ले, सन्तोष खत्रीले अनिल साईलाई ६–४, २–६ र १०–४ ले पराजित गरी सेमीफाइनलमा पुगेका छन् ।  यसै गरी सोही उमेर समहुको डबल्सतर्फ भएको सेमीफाइनल खेलमा कमल भण्डारी यज्ञ बहादुरको जोडीलाई राजन पौडेल र लक्ष्मण थापाको जोडीलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गर्दा जितेन्द्र परियार र चेवाङ लामाले सन्तोष खत्री र सिमन्त गुरुङको जोडीलाई ६–३, ६–० को सोझो सेटमा पाखा लगाउँदै उपाधि नजिक पुगेका छन् ।  यस्तै ६५ वर्ष माथी सिंगल्समा कमल थापाले डियोनम लामालाई ४–०, ४–१ ले र विदुर विष्टले विष्णु गुरुङलाई ५–३, ४–० को सोझो सेटमा पराजित गरी कमल थापा संग फाइनलमा भिड्ने भएका छन् ।  प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो ।  प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा जारी रहेको छ ।  प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ । 

काठमाडौंः   स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा आम जनता पार्टीको स्थापना भएको छ। माओवादी, एमाले हुँदै स्वतन्त्र बनेका साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन भएको हो। स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई पार्टीमा रुपान्तरण गरिएको साहले बताए।  नवगठित पार्टीले प्रदेश अध्यक्ष, इन्चार्ज र जनवर्गीय संगठनको जिम्मेवारीसमेत तोकेको छ। जसअनुसार प्रदेशको अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित राम, मधेसको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, गण्डकीको अध्यक्षमा राजन यादव ुमनोजु र इन्चार्जमा ब्रदीप्रसाद न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रिता देवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुश्वाहा र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिममा केशवराय चौधरी अध्यक्ष र इन्चार्जमा कुन्दन कुश्वाहालाई जिम्मेवारी तोकेको छ। त्यस्तै जनवर्गीय संगठनतर्फ आइटी आर्मीको अध्यक्षमा चन्द्र भुषण साह, इन्चार्ज प्रभु साह, आम दलित मोर्चामा चन्देश्वर बैठा र इन्चार्जमा रामप्रित राम, आम महिला मोर्चाको अध्यक्षमा कान्ति महतो र इन्चार्जमा करिमा बेगम, आम विद्यार्थी मोर्चाको अध्यक्षमा विवेक साह र इन्चार्जमा उमेश कुश्वाहा र आम किसान मोर्चाको अध्यक्षमा किताब तामाङ र इन्चार्जमा कुन्दन कुश्वाहालाई जिम्मेवारी तोकेको छ। 

काठमाडौंः  अमेरिका लगायत विभिन्न देशमा पठाईदिन्छु भन्दै १ करोड ६२ लाख ६हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले राजेश थापालाई प्रकाउ गरेको छ ।    ललितपुर महानगरपालिका–१ कुपण्डोल घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको लैनचौरबाट बुधबार पक्राउ गरेको हो । थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाईदिने वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट प्रतिव्यक्ति २५ लाख रकम रकम ठगी गरेको प्रहरीको आरोप छ ।   प्रकाउ परेका राजेशलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद दफा २४९(१) र (२) बमोजिमको कसुरमा कानुनी कारवाही गरी सोही संहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।   

काठमाडौंः   इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् ।  प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो । उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

पोखराः  गण्डकी प्रदेश सभामा मातृभाषामा सपथ ग्रहण गर्ने दुई महिला र एक पुरुष थिए । मातृभाषामा सपथ ग्रहण गर्ने तीनै जना सांसद समानुपातिक सूचीबाट आएका हुन् ।  आदिवासी जनजाति कोटाबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद बनेका गुरुङसँगै पार्वती तामाङ र राप्रपाबाट सांसद बनेका पन्चराम गुरुङले मातृभाषमा सपथ लिए ।  मातृभाषामा सपथगरेपछि सुनगाभा न्यूजसँगै बोल्दै सांसद सरस्वती गुरुङले कसैलाई विभाजन गर्न नभई आफ्नो जातिको पहिचान संरक्षण गर्न गुरुङ भाषामा सपथ ग्रहण गरेको प्रतिक्रिया दिइन् ।   ‘मलाई गर्व लागेको छ, म जुन भाषाबाट हुर्के, मेरो पहिलो पाठशाला, गुरुआमा, परिवारले पहिलो भाषा नै ‘चमी’ भनेर बोलाउनुभयो, सांसद गुरुङले कांग्रेस नेता भिमबहादुर तामाङलाई सम्झिदै भनिन्,‘ विभाजन गर्न होइन कि पहिचान भेटाउन भन्ने सन्देश दिन गुरुङ भाषामा सपथ लिएको हुँ ।’ उनले आफ्नो समुदायको पहिचान झल्काउन मातृभाषामा सपथ लिएको दोहोर्याइन् । ‘विविधतामा एकता छ भन्ने सन्देश प्रवाह गर्न पनि आफ्नो समुदायका सांसदहरु जातिय पोशाकमा आउनुभएको छ, उनले भनिन्, ‘आफ्नो जातिको पोशाक लगाउँदै ठुलो जाति हुन्छ भन्ने हुँदैन सबैको समान हक अधिकार छ भन्ने सन्देश प्रवाह गर्न पनि जातिय पोशाक र भाषामा सपथ लिएको हो ।’  

काठमाडौंः   नेपालको महिला बिच भलिबल टोली बंगलादेशमा जारी सीएभीए बिच भलिबल प्रतियोगितामा उपविजेता बनेको छ । बंगलादेशको कक्स बजारमा बिहिबार भएको फाइनलमा श्रीलंकासँग २–० को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो । कोपिला उप्रेती र कमला पुनको जोडी रहेको नेपाललाई श्रीलंकाले २१–११ र २१–११ ले पराजित गरेको हो ।

पोखराः   गण्डकीका प्रदेश सभा सदस्यहरुले आज (बिहिबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।  नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।   गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७  ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो ।      त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ ।  २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।   प्रदेश सभा सचिवालयले शपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक लगाएर ११ बजे नै उपस्थित हुन सांसदहरुलाई आह्वान गरेको थियो । गण्डकी प्रदेश सभामा मातृभाषामा नेपाली कांग्रेसकी   सपथ लिनेहरुमा पार्वती तामाङ र सरस्वती गुरुङ सभासद हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पन्चराम गुरुङ्ले पनि मातृभाषामा सपथ लिएका हुन् । तीन जना प्रदेश सभा सदस्यले मातृभाषामा सपथ लिएका थिए ।    मातृभाषामा सपथ लिनेहरुमा पार्वती तामाङ र सरस्वती गुरुङ नेपाली कांग्रेसका सभासद हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पन्चराम गुरुङ्ले पनि मातृभाषामा सपथ लिएका थिए।   

काठमाडौं:   पाटन उच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा  सुनुवाइ हुँदैछ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ । बिहीबार पाटनका न्यायाधीशद्वय पौडेल र पोखरेलको संयुक्त इजलासमा लामिछानेको पुनरावेदनको मुद्दा परेको हो । यसअघि पुस १२ गते काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा प्रमाण बुझाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सबै प्रमाण बुझाउन आदेश दिएको हो । गत कात्तिक १४ गते एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो । यसअघि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । क्रिकेटर लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ ।

काठमाडौं:  ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरेको बताए । ‘अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ । छिमेकी मुलुकमा देखिएको कोभिड–१९ को महामारीको जोखिममा हामी पनि छौं, उनले भने, ‘त्यसैले मास्क प्रयोग गर्न नबिर्सौँ भन्ने चेतनाका लागि प्ले कार्डको प्रयोग गर्ने र उहाँहरुलाई सुझाव दिने काम भइरहेको छ ।’ मङ्गलबार काठमाडौँ जिल्ला कार्यलय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले सार्वजनिक स्थान र सवारी साधानमा हिँड्नेलाई सुसूचित गर्ने र जनचेतना फैलाउनेसम्बन्धी छलफल भएको थियो । ट्राफिक प्रहरीले सोही छलफलपछि मास्क प्रयोग भन्ने सन्देश दिइरहेको उनले बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी देवी पाण्डे खत्रीले अहिले नयाँ भेरियन्टको सङ्क्रमण नदेखिए पनि उच्च सतर्कता अपनाउनका लागि मास्कको प्रयोग बढाउन र रोगको रोकथामका लागि सचेतना बढाउन आग्रह गरिएको बताए। ‘गृहमन्त्रालयले सूचना पनि प्रकाशित गरेको थियो, त्यसपछि डिडिएमसीको बैठकमा जिल्ला समन्वय समितिको प्रमुख, समन्वय अधिकारी, प्रमुख जिल्ला अधिकारी तथा स्वास्थ्य कार्यालय प्रमुखहरुसँगको छलफलपछि स्वाथ्य सतर्कता मापदण्ड पालना बढाउने निर्णय गरेका थियौँ’, उनले भने । छिमेकी राष्ट्र चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ डट सेभेन ९बीएफ डट ७० हालसम्म नेपालमा पुष्टि नभए पनि जोखिम उच्च भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले बताए । ‘छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण फैलाउन सक्ने यो भेरियन्ट हाम्रो खुल्ला सिमाना र आवातआवतका कारण नेपाल भित्रिने जोखिम कायम छ’, उनले भने । उनका अनुसार मन्त्रालयले पहिचान रोकथाम र नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीनै तहका सरकारको सहकार्यका लागि अनुरोध गर्दै आएको छ । ‘अहिले सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिनेहरुको ज्वरो नाप्ने र शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण भइरहेको छ’, उनले भने । सिँगान बग्ने, हाँच्छ्युँ धेरै आउने, ज्वरो, खोकी लाग्नुका साथै घाँटी टाउको दुख्ने, र श्वासप्रश्वासमा समस्या आउने तथा स्वाद हराउने कोभिड–१९ का मुख्य लक्षण हुन् । तर कतिपय अवस्थामा लक्षणका आधारमा सामान्य रुघाखोकी, फ्ल्यु र कोभिड(१९ बिचको भिन्नता छुट्याउन नसकिने डा।ठाकुर बताउँछन् । ‘कोभिड–१९, रुघाखोकी वा फ्ल्युको लक्षणका आधारमा भिन्नता छुट्याउन गाह्रो हुन्छ । तपाईं कोभिड–१९ भएको थाहा पाउने सबैभन्दा उत्तम उपाय भनेकै स्वास्थ्यकर्मीको सल्लाहमा यसको परीक्षण गर्नु हो’, उनले भने । उनले चाडपर्व मनाउदा भीडभाड नगर्ने, भौतिक दूरी, मास्कको प्रयोग साबुन पानीले हात धुने, हाँच्छयुँ गर्दा कुँइनाले मुख छोप्ने र सेनिटाइजरको प्रयोग गर्न चिकित्सकले सुझाव दिए । कोभिड १९ विरुद्धको दुवै डोज खोप प्रयोग गरिसकेकाले अतिरक्त मात्रा वा बुस्टर खोप लगाउन उनको सुझाव छ । तथ्याङ्क अनुसार हालसम्म दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । साथै ७९ लाख ७२ हजार सात सय ९१ जनाले मात्र अतिरिक्त मात्राको खोप लगाएका छन । मन्त्रालयले सबैमा खोपको पहुँच, एकीकृत र सुदृढ रोग निगरानी र महामारी प्रतिकार्यका लागि निरन्तर प्रयास गर्दै आएको प्रवक्ता डा ठाकुरको भनाइ छ ।