काठमाडौंः नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन छलफल थालेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि निर्णय हुन बाँकी छ । माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ, तर मन्त्रालयको टुङ्गो लागेको छैन । मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गठबन्धनको बैठक पनि आजै बस्दैछ । हिजो प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज बेलुकी ४ बजे शपथ लिने कार्यक्रम पनि छ । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।
काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ हजार २८४ विभिन्न विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागले तयार पारेको गत साउनदेखि मङ्सिरसम्मको तथ्याङ्कअनुसार पाँच अर्ब ५८ करोड ६४ लाख रुपियाँ मूल्यका ठूला बसदेखि विद्युतीय साइकलसम्म आयात भएको हो । सरकारले गत वैशाखदेखि नै पेट्रोलियमका चारपाङ्ग्रे सबै र १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्पmत विद्युतीय सवारीसाधनमा सरकारले कर छुट उपलब्ध पनि गराएकाले यो परिमाणमा विद्युतीय सवारीसाधन आयात भएको हो । नेपालमा सबैभन्दा धेरै आयात हुने विद्युतीय सवारीसाधनमा स्कुटर तथा मोटरसाइकल छन् । पेट्रोलियम सवारीसाधन आयातमा गरिएको निषेध र विद्युतीय सवारी प्रवद्र्धनका लागि दिइएको विभिन्न खाले कर छुटका कारण चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सो परिमाणका विभिन्न विद्युतीय सवारीसाधन नेपाल आयात भएको देखिएको छ । विद्युतीय सवारीमा सबैभन्दा धेरै दुईपाङ्ग्रेकै आयात उच्च देखिन्छ । ५४ करोड ८४ लाख रुपियाँको चार हजार ४८३ थान बाइक र स्कुटर आयात भएका छन् । विद्युतीय मोटरजडित दुई हजार ४९० थान साइकल पनि यो अवधिमा आयात भएको देखिन्छ । आयातको प्रवृत्ति हेर्दा साना सार्वजनिक यातायात तथा ढुवानी प्रयोजनमा प्रयोग हुने तीनपाङ्ग्रेको पनि उल्लेख्य आयात भएको देखिन्छ । यस्ता सवारीसाधन तीन हजार ८२७ थान आयात भएका छन् । यीमध्ये ३४८ वटा नेपालमै एसेम्बल गर्ने गरी आयात भएको छ । बजारमा धेरै चासो हुने विद्युतीय कार तथा जिप भने एक हजार ३५३ थान आयात भएको देखिन्छ । सरकारले आर्थिक ऐनमार्फत कर छुट दिएकाले एक सय किलोवाटभन्दा कम क्षमताका मात्रै यस्ता साधन एक हजार ३२० थान छन् । एक सयदेखि दुई सय किलोवाट क्षमताका ३० थान कार आयात भएका छन् । त्योभन्दा माथिका तीन थान मात्रै आयात भएका छन् । कार, जिप तथा भ्यान आयातमा तीन अर्ब ८३ करोड रुपियाँ खर्च भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार मङ्सिरसम्ममा ठूला ३७ वटा विद्युतीय बस आयात भएका छन् भने ७८ वटा विद्युतीय माइक्रो बस पनि आयात भएका छन् । ३७ ठूला बसको भन्सार मूल्याङ्कन ४५ करोड ६७ लाख रुपियाँ मूल्याङ्कन भएको छ भने ७८ माइक्रो बसको मूल्याङ्कन १८ करोड ८९ लाख रुपियाँ गरिएको छ । यो अवधिमा पेट्रोलियम र विद्युत् दुवैले चल्ने हाइब्रिड सवारीसाधन पनि १० थान आयात भएको भन्सारको तथ्याङ्कले देखाउँछ ।
हुम्ला: हिमाली जिल्ला हुम्लाका स्थानीयलाई अझै पनि काठेपुलबाट खोला र नदी तर्नुपर्ने बाध्यता कायमै रहेको पाइएको छ । ती खोला तथा नदीहरूमा झोलुङ्गे पुल निर्माण हुन नसकेको कारण स्थानीयले आफ्नै प्रयासबाट निर्माण गरिएको काठेपुल तर्नुपर्ने बाध्यता आइलागेको हो । नाम्खा गाउँपालिका–६ को हिमाल पारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमीमा अहिले पनि स्थानीय र चौपाया २५ वटा काठेपुलबाट तर्दै आएको बताउनुभयो । लिमीका ती पुलहरु केही स्थानीयले जनश्रमदानबाट निर्माण गर्नुभएको हो भने केही वडाको बजेटबाट निर्माण गरिएका हुन् । उहाँले लिमीमा मानिस र चौपाया हिँड्न काठेपुल नभई गाडी गुडाउन पनि काठे पुल नै निर्माण गरिएको बताउनुभयो । उहाँले मानिस, चौपाया र यातायातका साधन काठे पुलमा ओहोरदोहोर गर्दा जोखिम भने बढी हुने गरेको बताउँदै बर्सेनि काठेपुल तर्दा चौपाया खस्ने समस्या भोग्नु स्थानीयका लागि सामान्य भएको बताउनुभयो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा आफ्नो गाउँपालिकाका काठेपुल स्थानीयले तर्दै आएको बताउनुभयो । उहाँले स्थानीयको माग झोलुङ्गे पुल निर्माणको भए पनि कतैबाट सो पुल निर्माण हुन नसकेको पछि बाध्य भएर स्थानीयले काठेपुल निर्माण गरी तर्नु परिरहेको बताउनुभयो । उहाँले अति आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकाले ध्यान दिने बताउनुभयो । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकायाले आफ्नो गाउँपालिकामा अहिले पनि १५ भन्दा बढी कोठेपुल प्रयोग गर्न स्थानीय बाध्य हुँदै आएको बताउनुभयो । काठेपुल तर्नु पर्दाका जोखिमका बारेमा बताउँदै उहाँले दुई वर्ष अगाडी चुवा खोला क्षेत्रमा एक जना मानिस काठे पुलबाट खसेर मृत्यु भएको बताउनुभयो । चौपाया बोकाएका सामानहरू खस्नु त सामान्य जस्तै भएको बताउँदै उहाँले धेरै मानिस तथा चौपायाको आउजाउ हुने खोलामा झोलुङ्गे पुल निर्माण गर्नु अति आवश्यक भए पनि हालसम्म निर्माण हुन नसकेको कारण स्थानीयले क्षति बेहोर्दै आएको बताउनुभयो । यता खार्पुनाथ गाउँपालिकामा यस्ता काठेपुलको सङ्ख्या सत्र, सर्केगार्ड गाउँपालिका २३, चङ्खेली गाउँपालिकामा १९, अदानचसली गाउँपालिकामा ११ र ताँजाकोट गाउँपालिकामा १३ वटा छन् । खार्पुनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विशेष गरी खोलाहरू र खर्कहरूमा काठेपुलको निर्माण बढी हुने गरेको बताउनुभयो । उहाँले बर्सेनि काठेपुल तर्दा मानवीय र चौपायाको क्षति हुने घटनाहरू भइरहने भएको कारण गाउँपालिका अति महत्त्वपूर्ण स्थानमा झोलुङ्गे पुल निर्माणका लागि पहल गर्ने कार्य भइरहेको बताउनुभयो ।
पोखराः पोखरामा जारी १०औं नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा फिल्म समीक्षाबारे बहस भएको थियो। बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। समीक्षक सुरज सुवेदी कार्यक्रमका सहजकर्ता थिए । फिल्म समीक्षा नेपालमा किन सुध्रेन र विश्वसनीय भएन भन्नेबारे छलफल भएको थियो। मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले समीक्षामा सुधार नआएको वक्ताहरूले बताए । स्वस्तिमाले फिल्ममेकरहरूले समीक्षालाई नस्विकार्ने बताइन्। तर उनी आफूले रोज्ने फिल्म, निर्देशकको छनोट र टिममा गर्ने कामलाई समीक्षाले योगदान गरेको बताउँछिन्। ‘तर समीक्षकले रुचाएको फिल्म आममासले रुचाउँदैन, फिल्म लिट्रेसी भएका दर्शकले रुचाएका कतिपय फिल्म आममासले रुचाउँदैन,’ स्वस्तिमाको बुझाइ छ । अनुप सुवेदी फिल्म समीक्षक आम दर्शक भन्दा बढी बुझेको हुनुपर्ने बताउँछन्। दर्शकलाई ‘कन्भिन्स्ड’ गर्नसक्ने तर्क समीक्षकमा हुनुपर्ने बताउँछन्। तर समीक्षकको विश्वसनीयतामाथि दर्शकमा प्रश्न उठिरहने गर्छ। कारण के त? ‘एउटा समीक्षके पत्रकारिता गर्नुपर्छ, अन्तर्वार्ता गर्नुपर्छ। अनि समीक्षा पनि गर्नुपर्छ। यदि पाठकले त्यो समीक्षकलाई विश्वास गर्छ भने घात पनि गर्नुभएन नि,’ दीपेन्द्र भन्छन् । स्वस्तिमा समीक्षामा विश्वसनीयता कम भएको भाव प्रकट गर्छिन्। ‘एउटा पत्रकारले शनिबार गसिप र आइतबार समीक्षा गरिरहेको हुन्छ भने समीक्षा कस्तो लेखिरहेको हुन्छ त? मैले यसको अनुभूत गरेको छु,’ स्वस्तिमा भन्छिन् । अनुप समीक्षक पाठकप्रति उत्तरदायी हुनुपर्ने बताउँछन् । उनी नेपालका समीक्षकले समीक्षामा फिल्म निर्देशकलाई सिकाइरहेको पाउँछन्। ‘समीक्षकले त पाठकलाई सचेत गराउने हो नि। तर मेकरलाई सिकाइरहेको पाइन्छ,’ उनी भन्छन् । अनुप अहिलेको समीक्षा कथासारजस्ता मात्र भएको बताउँछन। ‘कथासार लेख्यो, यसले राम्रो गर्यो, यसले गरेन भन्नेमात्र छ । किन राम्रो गर्यो किन गरेन भन्ने तर्क आउन्नन्। त्यसको डिटेलिङ छैन। हाम्रो समीक्षकले फिल्म भनेको कथामात्र हैन, अरु कुरा पनि हो भनेर नबुझेको हो कि,’ उनी थप्छन् । दीपेन्द्र नेपालमा फिल्म समीक्षा एकदमै न्यून भएको पाउछन्। ‘संख्यात्मक रुपमा समीक्षा दयनीय अवस्थामा छ। सम्पादकले प्राथमिकतामा नराखेर हो कि,’ उनी भन्छन् । समीक्षकको स्तर बढिदिए हुन्थ्यो भन्ने अपेक्षा छ दीपेन्द्रको। ‘कमजोरी एकातिर छ, नचाहिने कुरामा समीक्षा घुमिरहेको छ,’ उनी भन्छन् । नेपालमा ‘पेइड रिभ्यू’को ‘ट्रेन्ड’बारे पनि दीपेन्द्र भन्छन्। ‘नेपालमा पेड रिभ्युको चलन छ। विज्ञापन राम्रो छ भने त्यो अनलाइनले राम्रो लेखिदिन्छ। यदि विज्ञापन दिएन भने उसले आफ्नो अनलाइनलाई समीक्षा त लेख्छ लेख्छ। फिल्म नै पूरा नहेरी लेख्छ,’ उनी भन्छन् ।
पोखरा: पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान भएको थिएन । आज ‘प्रुभन फ्लाइट’ भएसँगै एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने छ । विगत ८ वर्षदेखि आन्तरिक उडानमा सक्रिय यस एयरलाइन्सले काठमाडा–पोखरा–काठमाडौँ दैनिक २ उडान गर्ने समेत जनाएको छ । यूरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित, आरामदायी एवं द्रुत गतिको मानिन्छ । आज प्रुभन फ्लाइट सम्पन्न भएसँगै काठमाडौँ–पोखरा–काठमाडौँ फ्लाइट नियमित गरिने एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । सेवा शुभारम्भसँगै आन्तरिक तथा बाह्य पर्यटकको मन जित्ने विश्वास अध्यक्ष पाखरेलको छ । ‘हाम्रो सेवाले पर्यटनको राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिएको छु । आन्तरिक उडानका लागि लोकप्रिय हाम्रा जहाजको सेवाले यात्रुको मन जित्नेमा आशावादी छु’, अध्यक्ष पोखरेलले भने । यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता बनाएको यस एयरलाइन्सले पर्यटनका गतिविधिलाई थप सशक्त बनाउन काठमाडौँ र पोखराका पर्यटन व्यवसायीहरुसँग समन्वय गर्दै सेवालाई थप चुस्त बनाउने पोखरा स्टेसनका स्टेसन इन्चार्ज जितेन्द्र यादवले बताए । पोखराको इतिहासमै पहिलोपटक जेट विमानमार्फत यात्रुलाई सेवा गराउन पाउनु कम्पनी र यात्रुका लागि खुशीको कुरा भएको उनको भनाई छ । ‘पोखराको इतिहासमा पहिलोपटक जेट विमानमार्फत यात्रा गराउन लागेका छौँ’, स्टेसन इन्चार्ज यादवले भने,‘हाम्रा लागिमात्र नभई यो यात्रुका लागि समेत खुशीको कुरा हो ।’ सुरुवातमा न्यूनतम भाडा ४ हजार १ सय रुपैयाँ तोकिएको छ । यात्रुको चाप अनुसार अन्य एयरलाइन्स सरह मूल्य तोकिने इन्चार्ज यादवले जानकारी दिए ।
पोखरा: ‘मुन्धुमका मेन्छाना मध्ये तपाईंको पिय पात्र को हुन्?’ मुन्धु संगीतमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेकी गायिका झुमा लिम्बुलाई रजत राई किराती प्रश्न गर्छन्। मुन्धुममा शक्तिशाली महिला पात्रमध्ये झुमा भन्छिन्, ‘हामीलाई लिम्बु भएर खान, लाउन, तान बुन्न र शक्तिशाली बन्न सिकाउने युमा हुन्। लिम्बुवानको हरेक ठाउँ पुग्दा कतै कतै तेर्सो र ठाडो ढुंगा कतै देख्नुभयो भने बुझ्नुस् कि युमाले तान बुनेकी हुन्।’ मुन्धुम अध्येता शान्तिदेवी राई मरिम्मा पात्र सम्झिन्छिन्, उनका अनुसार जसले सम्पूर्ण कुराको सिर्जना गरिन्। पोखरामा आयोजित नेपाल लिट्रेचर फेस्टिभलको चौथो दिनको एक सेसन ‘मुन्धुमका मेन्छाना’मा झुमा र शान्तिदेवी मुन्धुममा महिलाको स्थानबारे वर्णन गरिरहेका थिए। कार्यक्रमको सहजकर्ता थिए, रजत राई किराती। मुन्धुममा महिला लिम्बु समुदायको मुन्धुममा पुरुषले प्रस्ताव राख्नुपर्छ भन्ने मान्यता छैन। झुमा भन्छिन्, ‘मलाई कोही लिम्बु पुरुष मन प¥यो भने प्रस्ताव गर्नु पर्दैन। तानेर नाचे हुन्छ। पुरुषले पनि हात पकडेर लगेर कुरा गर्न पाइयो। त्यो स्वतन्त्रता भएको संस्कृति हो।’ झुमा आफ्ना दिदीहरूले थुप्रै सोल्टीहरूलाई चिठ्ठी लेखेको स्मरण गर्छिन्। उनी आफ्नो समुदायमा प्रेममा स्वतन्त्रता भएको बताउँछिन्। ‘अहिले हाम्रो समाजमा मैले सम्बन्धविच्छेद गरेँ र फेरि बिहे गर्नुपर्यो भने कन्या हुन्छु। मेरो माइतीमा उही अधिकारमा हुन्छु। त्यसको मतलब राई लिम्बुलाई छाडा भनेको पनि पाउँछु। स्वतन्त्र हुनु भनेको साह्रै जिम्मेवारी काँधमा हुनु हो,’ उनी भन्छिन्। शान्तिदेवी राई समुदायमा पनि प्रेम स्वतन्त्रता हुने बताउँछिन्। ‘हाम्रो समुदायमा प्रेम अन्य समुदायभन्दा ठीक उल्टो छ। महिलाहरूले आफूलाई मन परेको छ भने प्रस्ताव राख्नुहुन्छ। सुम्निमा पारुहाङमा पनि सुम्निमाले प्रस्ताव राखेको हो नि,’ उनी भन्छिन्। महिलाको हातमा चाबी ‘मुन्धुममा आर्थिक कुरा र निर्णय प्रक्रियामा महिलाको भूमिका कस्तो हुन्छ,’ रजत प्रश्न गर्छन्। झुमा आफ्नो समुदायमा छोरी जन्मेदेखि नै सुंगुरको पाठा, बाख्राको पाठा लगायत अन्य सम्पत्ति उनको नाममा राख्ने चलन भएको बताउँछिन्। ‘छोरी १५ वर्षको भइसक्दा आर्थिक हिसाबमा छोराहरूभन्दा सबल हुन्छन्। मेरो घरमा पनि दाइहरूले दिदीहरूसँग पैसा माग्थे,’ झुमा भन्छिन्। छोरीको विहे गर्दा पनि आर्थिक हिसाबमा बलियो होस् भनेर मुन्धुम समुदायमा रीत लिने चलन छ। झुमा रीत नबुझाई लिम्बुनीसँग बिहे गर्न नपाइने चलन आफ्नो समुदायमा रहेको सुनाउँछिन्। अन्य समुदायमा माइती बित्यो भने छोराहरूले बार्ने चलन छ। तर लिम्बु समुदायमा माइती बित्यो भने बराबरी बार्ने चलन रहेको उनी बताउँछिन्। घरमा सात्ताको साँचो नै आमा र त्यसपछि बुहारीको हातमा हुने उनी बताउँछिन्। शान्तिदेवी राई समुदायमा निर्णय महिलाहरूकै चल्ने बताउँछिन्। ‘निर्णय प्रायः सामूहिक हुन्छ। छोरीको विवाह गर्दा पहिला छोरीलाई, त्यसपछि आमालाई अनि मामालाई सोध्ने चलन छ,’ उनी भन्छिन्।
काठमाडौं: नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेश गरेका हुन् ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका हुन् । चुनावमा कुनै पनि दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।
पोखराः पोखरामा सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा आज (आइतबार) भएको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङलाई ३–२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो । स्याङ्जाले २१–२५, २५–२३, २५–२३, ३०–२८ र १५ १३ को अङ्कको सेटमा पराजित गरेको थियो । प्रतियोगितामा जिल्ला भलिबल संघ नवलपुर तृतिय र कास्की जिल्ला भलिबल संघ सात्वना भएको थियो । प्रतियोगितामा प्रथम भएको स्याङ्जाले २ लाख, द्धितिय भएको बागलुङले १ लाख, तृतिय भएको नवलपुरले ५० हजार र सात्वना भएको कास्कीले २५ हजार प्राप्त गरेका छन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी जिल्ला भलिबल स्याङ्जाका टिम क्याप्टेन हरि पाण्डे, उत्कृष्ट सर्भर जिल्ला भलिबल नवलपुरका टिम क्याप्टेन घनश्याम चौधरी, उत्कृष्ट ब्लकर स्याङ्जाका देबु राना, लिव्रो राजन दलार्मी मगर, स्पाइकर बागलुङका प्रकाश सुनार, सेटर बागलङका टिम क्याप्टेन मीन सुनार र उत्कृष्ट टिम कोच स्याङ्जा जिल्ला भलिबल संघका राजेन्द्र शर्मा घोषित भए उनीहरु नगद १०/१० हजार पुरस्कार प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडी स्याङ्जाका टिम क्याप्टेन पाण्डेले २० हजार पुरस्कार प्राप्त गरे । गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ । प्रतियोगिता पुष ६गतेदेखि १० सम्म भएको थियो ।

