काठमाडौं: काठमाडौं नाइट्सले नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा काठमाडौंले पोखरा रेन्जर्सलाई २६ रनले हरायो । काठमाडौंले दिएको एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको पोखरानिर्धारित १९ ओभरमा सात विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो । पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रन बनाउनुभयो । आरिफ शेखले २०, अमिर हमाज र अभिमन्यु मिथुनले समान १८र१८ रन बनाउनुभयो । बलिङमा काठमाडौंका अभिनास बोहराले तीन, बसिर अहमदले दुई तथाअनिल खरेलले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो । खेल ढिलो सुरुभएकोले एक ओभर घटाइएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले अविजित ८५ रन बनाउनुभयो । सुनाम गौतमले २७, एलेक्स ब्लेक्सले २१ रन र विरनदिप सिंहले १० रन बनाउनुभयो । कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुनुभएको थियो । बलिङमा पोखराका प्रतिस जिसी र जाहिर खान दुई दुई तथा मौसम ढकालले एक विकेट लिनुभयो । प्रतियोगिताको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुभयो । आजै दोस्रो खेलमा लुम्बिनी अलस्टार्स र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स पोखरा रेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ फ्रेन्चाइज टोली सहभागी छन् । प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिता विजेता टोलीले ५५ लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । यस लिगको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनले गरेको छ ।
काठमाडौं: पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार पश्चिमी वायुको प्रभावले बदली गराएको छ। पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने हिमाली तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ। शुक्रबार बेलुकीदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आइतबारदेखि क्रमशः बाहिरिने मौसमविद् वासीले बताइन्। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्क हिमपातको सम्भावना छ । अहिले काठमाडौँको तापक्रम १६ डिग्रिसेल्सियस रहेको छ ।
तनहुँ: व्यास नगरपालिकाले पुस ११ देखि २० गतेसम्म एकिकृत घुम्ती सेवा मार्फत नगरबासीलाई घर आँगनमा पुगेर सेवा दिन लागेको छ । सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । योजना सम्झौता तथा किस्ता सिफारिस, बालीहरुमा देखापर्ने रोगको जैविक विषादी, तरकारीका उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने छ । विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तान क्यान्सर ,एचआइभी, टिबि, औलो रोग, मधुमेह, उच्च रक्तचाप परीक्षण हुनेछ । कोभिड–१९को खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा र दुई वर्ष मूनिका बालबालिकाहरूको वृद्धि अनुगमन र पोषण सम्बन्धी सेवा प्रदान गरिनेछ । आयुर्वेद एकाईबाट विभिन्न २५ किसिमका आयुर्वेद औषधि वितरण र आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धमा आवश्यक ज्ञान दिइने नगरपालिकाले जनाएको छ । पशु स्वास्थ्य सेवाको लागि उपचार, रोग निदान, सामान्य शल्यक्रिया, पशु स्वास्थ्यका लागि औषधि वितरण र पशु भ्याक्सिन लगायतका सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्ने व्यवस्था मिलाइएको व्यासका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । ज्येष्ठ नागरिक परिचयपत्र वितरण,अपाङ्गता भएकाको परिचयपत्र र महिला विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम रहेको छ । वास्तविक कृषक पहिचान गरी अनुदान जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले वास्तविक कृषक पहिचान गरेर मात्रै अनुदान दिने व्यवस्था अघि बढाएको छ । व्यावसायिक कृषकलाई प्रोत्साहन स्वरुप प्रदान गर्ने अनुदान रकम हचुवाको भरमा नभई स्थलगत अनुगमन पश्चात दिने योजना नगरपालिकाले बनाएको हो । अनुदानका लागि गाउँपालिकामा आवेदन दिएका कृषकको फार्ममा पुगेर अनुगमन समितिले अनुगमन कार्यलाई निरन्तरता दिँदै आएको छ । म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितिले पालिकाभित्र दर्ता गरेर व्यवसाय गरेका कृषकको अनुगमन तथा निरीक्षण गर्दै आएको छ । अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समिति संयोजक बालकृष्ण घिमिरे, पालिका सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेल रहेका छन् । कृषकले पेश गरेका कागजातको आधारमा मात्रै अनुदान नदिइने भएकोले अनुगमन समितिले प्रत्यक्ष अवलोकन गरेपछि मात्रै अनुदान दिने योजना रहेको अनुगमन समितिका संयोजक घिमिरेले जानकारी दिए । गाउँपालिकाले व्यावसायिक कृषकका लागि यस चालू आवमा बोका वितरणका लागि रु तीन लाख पचास हजार, औजार, च्याप कटरमा रु एक लाख, माछाको भुरा खरिद तथा गोठ, खोर निर्माणका लागि रु चार लाख र स्थानीय कुखुरामा रु एक लाख बजेट बिनियोजन गरेको छ । पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वास्तविक कृषक पहिचानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरेको बताए । अनुदानका लागि धेरै जनाको आवेदन परेको हुँदा वास्तविक कृषकको पहिचानका गर्न कठिनाइ भएकोले फार्म निरीक्षणमा जाने र त्यसको आधारमा अनुदान दिने व्यवस्था मिलाइएको उनले बताए । जनताको आवश्यकता र कृषकको गुनासो सुन्न र त्यसको समाधानका लागि पनि सहज हुने भएकोले अनुगमन कार्यलाई प्राथमिकता दिइएको अनुगमनको संयोजक वालकृष्ण घिमिरेले बताए । उत्पादित वस्तुलाई बजारीकरण गर्दै समृद्ध म्याग्दे वनाउने सुनौलो सपना रहेको हुँदा उत्पादनमुखी कार्यक्रमलाई गाउँपालिका कार्यालयले जोड दिँदै आएको बताइएको छ ।
काठमाडौं: अमेरिकामा नेपाली दूतावासको रकम लु्टिएको छ ।अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी गाडी तोडफोड गरी दूतावासको रकम लुटिएको जानकारी दिएको हो । दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासिएर चेकहरू लुटिएको हो । डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा सम्पन्न कन्सुलर सेवा शिविर सञ्चालनबाट प्राप्त रकम लुटिएको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । शिविर सम्पन्न गरी ह्यस्टनबाट वासिङटन डीसी फर्किने क्रममा डिसेम्बर २२ रकम लुटपाट भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दूतावासका कर्मचारीहरू डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारीसाधन तोडफोड गरी मनी अर्डर र क्यासिएर चेक लुटिएको छ। सुरक्षाकर्मीको सहयोगमा लुटिएको रकम फिर्ता ल्याउने प्रयास भइरहेको छ ।’ विज्ञप्तिमा के कति रकम लुटियो भन्ने खुलाइएको छैन । विज्ञप्तिमा दूतावासले यसबाट सेवाग्राहीमा पर्न जाने असुविधातप्रति क्षमा मागेको छ ।
काठमाडौ: करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ । विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरे । ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए । जित हासिल गरेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिने अझै मिहिनेत गर्ने बताए ।
पोखराः पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएका जिल्ला भलिबल स्याङ्जा र नवलपुर सेमिफाइनल खेल्ने भएका छन् । समूह ‘क’ लिग चरणको अन्तिम खेलमा जिल्ला भलिबल संघ बागलुङले नवलपुरलाई ३–२ को सेटमा पराजित गरेपछि समूह ‘क’को उपविजेता बन्दै सेमिफाइनलमा स्याङ्जा र नवलपुरको भेट पक्का भएको हो । पोखरा रगंशाला भलिबल कोर्टमा आज (शनिबार) बिहान भएको लिगचरणको अन्तिम खेलमा जिल्ला भलिबल संघ बागलुङले नवलपुरलाई ३–२ को सेटमा पराजित गरेको हो । बागलुङले नवलपुरलाई २२–२५, २५–२१,२५–२०, २३–२५ र १५–७ अङ्कले पराजित गरेको थियो । गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङ र कास्की र दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र नवलपुरको बिच हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् । गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा आई एन.एफ नेपालको सहकार्यमा १ दिने नि:शुल्क स्वास्थ्य शिविरमा २६६ जनाले सेवा लिएका छन् । अस्पतालको पहुँचबाट टाढा रहेका अति विपन्न तथा गरिब व्यक्तिहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको १ दिने निःशुल्क स्वास्थ्य शिविरमा उक्त सख्यांका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् । शिविरमा हाड जोर्नी तथा नशा, छाला र अन्य जनरल रोगका बिरामीहरूको स्वास्थ्य चेक जाँच पश्चात् औषधि वितरण गरिएको थियो। चिकित्सकहरू सन्दीप बराल, प्रकाश कार्की र सुरक्षा बरालले बिरामीको चेक जाँच गरेका थिए। शिविरमा ६ वर्षदेखि देखि ९० वर्ष सम्मका महिला पुरुषहरूले सेवा लिएका थिए । शिविरको समापन गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले आई.एन.एफ नेपालले १ दिने शिविर राखेर वडावासी २६६ जना नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेकोमा शिविरमा खटिएका चिकित्सक लगायतको टोली प्रति आभार प्रकट गरे । उनले वडा नं १५ को ५ वर्षे विकास र परिवर्तनको रणनीति अनुरूप पूर्वाधारलाई मात्रै विकास नभनी पूर्वाधारलाई एउटा विकासको पाटो बनाएर स्वास्थ्य, शिक्षा, खेलकुद र स्वरोजगारलाई प्रमुख एजेन्डा बनाएर अगाडि बढेको बताए । बानियाँले वडाका नागरिकको स्वास्थ्यप्रति सचेत र गम्भीर रहेको भन्दै यस कार्यलाई अझ सशक्त ढङ्गले अगाडि बढाउन सहयात्रीको भूमिका निर्वाह गरेकोमा आई एन.एफ नेपालप्रति गौरवान्वित भएको प्रतिक्रिया दिए । उनले यस संस्थाले विगतदेखि आजको दिनसम्म प्राविधिक, भौतिक र आर्थिक रूपमा सहयोग गर्दै आइरहेकोमा वडा नं १५ वासीहरूको तर्फबाट धन्यवाद दिँदै यस संस्थाले देखेको सपनालाई साकार बनाउन आफूहरू सहयोग गर्न तयार रहेको बताए । वडा सदस्य आशिष भण्डारीले आजको निःशुल्क स्वास्थ्य शिविरमा वडाका नागरिकको उल्लेखनीय सहभागिता रहेको भन्दै नागरिकको स्वास्थ्यलाई नै प्राथमिकता दिँदै वडाले छिट्टै वृहत् खेलकुद महोत्सवको आयोजना गर्न लागेको बताए । आई एन.एफको तर्फबाट बोल्दै प्रशासन अधिकारी दिवस कुँवरले वडामा रहेर आफ्ना सेवा नागरिकमा प्रवाह गर्न पाएकोमा खुसी लागेको बताए। उनले कोभिडको समयमा पनि विभिन्न थरिका सामानहरू वितरण गरेको स्मरण गर्दै सहयोगलाई निरन्तरता दिन इच्छुक रहेको बताए । अमरसिंह उच्च मावि र कालिका उच्च माविका पूर्व प्राध्यापक, रेडक्रस नेपालका पूर्व केन्द्रीय सदस्य तथा वडा नं १५ का समाजसेवी महेश गुरुङले वडाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोमा खुसी व्यक्त गरे। उनले गत हप्ता मात्रै वडाले वृद्ध वृद्धाहरूलाई विभिन्न स्थलहरूको भ्रमण गराएकोमा धन्यवाद दिँदै पछिल्लो समय वडाले देखाएको सक्रियता सकारात्मक कार्यको उदाहरण भएको बताए । पश्चिम घर भई हाल पोखरा बन क्याम्पसमा अध्ययनरत दीपेन्द्र साउद हाड जोर्नीको समस्या लिएर आएकोमा चिकित्सकले राम्रोसँग चेक जाँच गरी औषधी दिएर पठाएको बताए । उनले आफूहरू जस्तै टाढा– टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै अस्पताल र वडालाई धन्यवाद दिए । केही महिना अघिदेखि घुँडा दुखे पनि आर्थिक अभावका कारण औषधोपचार गर्न नसकेकी पोखरा गैरी गाउँकी ६६ वर्षीया लक्ष्मी परियार वडामा निःशुल्क उपचार गर्न पाइन्छ भनेर आएको बताइन् । “डाक्टर बाबुले हेरे, औषधी पनि लेखेर दिएका छन्। अब सन्चो होला ।“ उज्यालो मुख लगाउँदै उनले भनिन्। यस्तै पोखरा नयाँ गाउँ नागबेली टोलका वृद्ध कमल प्रसाद सुवेदीले टाउकोमा चिलाउने समस्या लिएर आएको र डाक्टरले चेक जाँच गरेर औषधी दिएको भन्दै वडाले यस्ता कार्यक्रमको आयोजना गरेकोमा सबैलाई फाइदा पुगेको भन्दै खुसी व्यक्त गरे । १ दिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य उपकेन्द्रका कृष्ण वास्तोला, सचिव विष्णु प्रसाद लामिछाने, वडा सदस्य बलराम पौडेल र सेतीमाया गुरुङले उपचार गर्न आएका वृद्ध वृद्धाहरूका लागि व्यवस्थापन र सहजीकरण गरेका थिए । आई एन.एफ नेपालको एक दर्जन टोली शिविरमा खटिएको थियो ।
पाल्पा: पाल्पाको रामपुरमा जग्गा भोगचलनको वर्षौंपछि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ । वि.सं. २०५६ पछि अहिले रामपुरको बजार क्षेत्रमा लालपूर्जा वितरण गरिएको हो । रामपुर नगरपालिका वडा नम्बर ५, ६ र ७ का बासिन्दालाई १ सय ३ लालपूर्जा शुक्रबार वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले लामो समय लालपुर्जाका लागि भौतारिएका निवेदकलाई जग्गाधनी पुर्जा वितरण गरे । राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैह्रेले लामो समयदेखि पर्खाइएको अव्यवस्थित जग्गाको पुर्जा वितरणको शुरुवात भएको बताउँदै अब रामपुर नगरपालिकामा निवेदन आएका ७ सय ८३ घडेरीकै पुर्जा वितरणलाई तीब्रता दिइने बताए । अध्यक्ष गैह्रेले विभिन्न समस्याका बाबजुद १०३ लालपूर्जा वितरण गर्ने स्थितिमा आइपुगेको भन्दै क्रमशः सबै घडेरीको पुर्जा वितरण गर्ने उल्लेख गरे । राष्ट्रिय भूमि आयोग पाल्पाले अब जिल्लाका तानसेन र माथागढीमा पनि अव्यवस्थित र पहिले दर्ता भएको भनिएका तर कतै अभिलेख नभएका जग्गा निर्क्योल गरी पुर्जा दिने तयारी भएको बताइएको छ । साथै आयोगसँग सम्झौता गरेका अन्य पालिकामा पनि निवेदन माग गरी काम थाल्ने अध्यक्ष गैरेले बताए । लुम्बिनी प्रदेश महिला तथा बालबालिका मन्त्री रमा घर्तीले पुर्जाविहीन नागरिकको मुहारमा खुसी आएको मात्र नभई प्रदेशबासीको समस्या केही हदसम्म हल भएको बताइन् ।
पोखराः नेवाः खल कास्की र नेवाः मिसा पुचः कास्कीको आयोजनामा पोखरामा नेवारी भोज कार्यक्रम हुने भएको छ । शनिबार झ्वः भ्वय तथा सांस्कृतिक उत्सवको तेस्रो संस्करण आयोजना हुन लागेको नेवाः मिसा पुचः कास्कीका अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिनुभयो । साँस्कृतिक गतिविधी मार्फत नेवारी संस्कृतिको जगेर्नामा तल्लिन नेवाः खलले नेवारी खानाको संस्कृतिलाई बचाउनका लागि भोजको आयोजना गरिएको नेवाः खल कास्की का अध्यक्ष अशोक पालिखेले बताउनुभयो । पोखरामा पहिलोपटक २०७२ सालमा झ्वः भ्वयको आयोजना गरिएको थियो । हरेक २/२ बर्षमा आयोजना हुने नेवारी भोज कोरोनाका कारण नियमित हुन नसकेको उहाँले जानकारी दिनुभयो । नेवारी खानका परिकारलाई फुड कल्चरका रुपमा विकसित गर्न तथा परम्परादेखि चलि आएको खाद्य संस्कारका बारेमा युवा पुस्तालाई समेत जानकारीका लागि कार्यक्रम सहायक हुने कार्यक्रम संयोजक मोहिनी श्रेष्ठले बताउनुभयो । कार्यक्रममा नेवारी परिकारका साथै कुमारी नाच, बज्रयोगिनी नाच समेत प्रस्तुत गरिने नेवाः मिसा पुचः का संस्थापक अध्यक्ष शान्ती उदासले जानकारी दिनुभयो । उक्त कार्यक्रममा १ हजार २ सय जनालाई भोज खुवाइने लक्ष्य रहेको उदासले बताउनुभयो । कार्यक्रम भिमसेनटोलस्थ्ति नेवाः छेः मा आयोजना हुने छ । कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम संयोजकमा मोहिनी श्रेष्ठ, अतिथि सत्कारमा शान्ति उदास, आर्थिक व्यवस्थापनमा सोनी ढेवाजु, सांस्कृतिक संयोजकमा रेविका श्रेष्ठ, टिकट व्यवस्थापनमा किरण बिजुक्छे, प्रचारप्रसार संयोजकमा शक्ति प्रधानाङ्ग, साज सज्जामा देविका श्रेष्ठ तथा व्यानर व्यवस्थापनमा रेखा कर्माचार्य रहेका छन् । कार्यक्रमलाई गण्डकी आयल मिलको कोशेली तेल, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, ग्रीन डेभलबमेन्ट बैंक, टिशा सिल्भर सप, मेनुका इम्पोरियमले प्रायोजन गरेको छ । यसैगरि सुजल फुड्स, फिस्टेल डेरी, वोन्डाइ क्याफे, कृष्ण राइस मिल लगायतका संघ संस्थाले पनि प्रायोजन गरेका छन् भने नेपाल पर्यटन वोर्ड पोखरा प्रवद्र्धकका रुपमा रहेको छ ।

