काठमाडौं: फिफा विश्वकप कतार २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने भएका छन् । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । उपाधि जितेपछि उनलाई भविष्यबारे गरिएको प्रश्नमा मेस्सीले यस्तो जवाफ दिए, ‘यो कप हेर्नुहोस् कति सुन्दर छ । यसका लागि हामीले निकै मिहिनेत गरेका छौं । म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न आतुर छु । म राष्ट्रिय टोलीबाट बिदा लिने छैन । म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु ।’ मेस्सीले फिफा विश्वकप कतार २०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते । उनले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् ।
काठमाडौंः अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्न सफल भए । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका उनले सबै खेलमा पूरा समय मैदानमा बिताएका थिए । मार्टिनेजले विश्वकपको ७ खेलमा ३ क्लिनसिट राखेका थिए । यसबाहेक उनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्ध टाइब्रेकरमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे । विशेषगरी अष्ट्रेलियाविरुद्ध इन्ज्युरी समयमा र फ्रान्सविरुद्ध अतिरिक्त समयको इन्ज्युरी समयमा उनले गरेको बचाउले खेलको नतिजा अर्जेन्टिनाको पक्षमा बसेको थियो । मार्टिनेजले यसअघि अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । ३० वर्षीय उनी प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट खेल्दै आएका छन् । एजेन्सी
काठमाडौंः फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपविजेता फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् । फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ । सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए । एजेन्सी
काठमाडौं: कतारमा सम्पन्न फिफा विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई हराउँदै र अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो । यसपटक जितेसँगै अर्जेन्टिना तेस्रो पटक फिफा विश्वकप फुटबलमा च्याम्पियन बनेको छ । अर्जेन्टिनाको जीतमा खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले पहिलो गोलको योगदान दिए । डि एरियाभित्र फ्रान्सका ओसुमाने डेम्बेलेले डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर प्राप्त गरेको थियो । यस्तै खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यसैगरि अतिरिक्त समयमा कप्तान मेस्सीले नै व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरेका थिए । यता डिफेण्डिङ च्याम्पियन फ्रान्सले पहिलो हाफमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन तर दोस्रो हाफमा भने खेलमा फर्किदै २ गोल र अतिरिक्त समयमा पेनाल्टीमार्फत १ गोल गर्दै किलियन एम्बाप्पेलेले ह्याट्रिक पुरा गरेका थिए ।
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सले २ गोल फर्काउदै कमब्याक गरेको छ । पहिलो हाफमा २ गोलले पछि रहेपनि फ्रान्सले दोस्रो हाफमा दुई गोल फर्काउन सफल रह्यो । फ्रान्सका लागि किलियन एम्बाप्पेले दुई गोल फर्काए । यसअघि पहिलो हाफमा खेलको २३ औ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले र ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेका थिए । अब थप ३० मिनेट खेल हुनेछ ।
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन फ्रान्स र अर्जेन्टिनाबीच जारी फाइनल खेलमा अर्जेन्टिना २ गोलले अग्रता बनाएको छ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच भइरहेको खेलमा अर्जेन्टिनाका लागि खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले पहिलो गोल गरे । डि एरियाभित्र फ्रान्सका ओसुमाने डेम्बेलेले डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर प्राप्त गरेको थियो । त्यसैगरि खेलको खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । यता फ्रान्सले गोलको खोजीमा रहेपनि अर्जेन्टिनाका डिफेण्डरहरुले विफल बनाइरहेका छन् । जारी खेलमा अर्जेन्टिनाले पहिलो हाफमा दबदबा सिर्जना गरेको थियो । अर्जेन्टिनाले विश्वकप २ पटक जितिसकेको छ भने फ्रान्स उपाधि रक्षा गर्ने दाउमा रहेको छ ।
पोखरा: तमु समुदायको महान चाड, नयाँवर्ष तमु ल्होछार तमु धिं नेपालले विविध कार्यक्रम गरी मनाउने भएको छ। बाह्रवटा ल्हो(वर्ग)हरु मध्ये यसवर्ष तो ल्हो(बाघ वर्ग)को विदाई र हि ल्हो(बिरालो वर्ग)को आगमनको अवसरमा पुस १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गर्ने भएको हो। १४ र १५ गते तमु धिं नेपालले विविन्न समाजहरुसहित र १६ गते तमु धिं नेपाल र तमु प्ये ल्हु संघ केन्द्रिय समितिको मुख्य आयोजनामा पोखरामा बृहत शुभकामना र्यालीसहित अमरसिंहचौरमा विशेष कार्यक्रम गर्ने बताइएको छ। तमु धिं नेपालले पुस १४ गते बेलुका हि ल्हो(बिरालो वर्ग)लाई स्वागतका निम्ती पोखरा १७ विरौटास्थित तमु ह्युलचोकमा दिप प्रज्वलनसहित जलपान र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, पुस १४ गते राती १२ बजे हि ल्होलाई स्वागतका लागि तमु प्ये ल्हु संघ फलिना क्होइबोमा बोनफायरमा सहभागी हुने भएको छ। यसरी नै पुस १५ गते बिहान पल टासि छ्योएलिङ गोपाल गुम्बा, बौद्ध अर्घौ सदन रामघाट गुम्बा र फलिना क्होइबोमा पुजा, ग्रहशान्ती, पितृका नाममा बत्ती बाल्ने, रिप लगाउने, गुरु खेगीहरु र मान्यजनहरुसँग आर्शिवाद ग्रहण गर्ने कार्यक्रम तय गरेको छ। यसरी नै दिनको १ बजे तमु धिं नेपालमा शुभकामना आदानप्रदान, सम्मान एवम पुरस्कार वितरण, विविध साँस्कृतिक कार्यक्रम, गुरुङ संग्रहालय उदघाटनसँगै स्योकैं आयोजना गरिएको तमु धिं नेपालले जनाएको छ। यसरी नै हि ल्हो आगमनको अवसरमा तमु धिं नेपाल केन्द्रिय समिति र तमु प्ये ल्हु संघ केन्द्रिय समितिको मुख्य आयोजनामा सम्पुर्ण तमु समाज, संघ संस्थाहरुको सहभागीतामा पुस १६ गते महेन्द्रपुलबाट शुभकामना र्याली शुरुभई चिप्लेढुंगा–न्युरोड–सभागृहचोक–लखनचोक–बुद्धचोक हुदै अमरसिंहचौमा विशेष कार्यक्रम गरिने बताइएको छ। उक्त कार्यक्रममा शुभकामना आदानप्रदान, नवनिर्वाचित सांसदहरुलाई बधाई सम्मान, विशेष साँस्कृतिक कार्यक्रम र छेलो प्रतियोगिता गरिने भएको छ। हि ल्हो तमु ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै उक्त तिनदिने कार्यक्रमहरुमा सहभागिताका लागि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आग्रह समेत गर्नुभएको छ।
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक पोष्टमा प्रयोग भएको शब्द दलित समुदायलाई नराम्रो लागेको भन्दै माफी मागेका छन् । ‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ,’ उनले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यसका लागि क्षमाप्राथी छु ।’ उनले कसैलाई ठेस पुर्याउन नियतवश सो स्टाटस नलेखेको पनि स्पष्ट पारेका छन् । मेयर साम्पाङले आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको पनि स्मरण गरेका छन् । मेयर साम्पाङले दलित समुदायलाई अवहेलना हुने शब्द प्रयोग गरेको भन्दै आलोचना हुँदै आएको थियो ।
दुलेगौंडा: तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कारकालागि सम्मानित व्यक्ति छनौट गरिएको छ । पहिलो पटक प्रदान गर्न लागिएको सम्मानमा पत्रकारितातर्फ अग्रज पत्रकार विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्त बहादुर रिमाल छनौट भएका छन् । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ । तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरिएको हो । सम्मानित हुन लागेका अग्रज पत्रकार भण्डारी ४ दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । दमौलीबाट प्रकाशित हुने भञ्ज्याङ दैनिकको संस्थापक सम्पादक भण्डारीले सम्पादकीय संग्रह भाग १ र २ प्रकाशन गरेका छन् । स्याङ्जाको हरिनाश–२ खहरेमा जन्मिएका भण्डारी हाल भिमादमा बस्दै आएका छन् । यसैगरी साहित्यतर्फ सम्मानित हुन लागेका ७३ वर्षिय आचार्य वि.स. २०२२ सालदेखि साहित्यका विभिन्न विधामा कलम चलाउन थालेका हुन् । शुक्ला साहित्य संगमका संस्थापक एवम् संरक्षक रहेका उनका आधी दर्जन कविता संग्रह र कृति प्रकाशित छन् । लमजुङको मध्यनेपाल नगरपालिकामा जन्मिएका आचार्य दुलेगौंडामा बस्दै आएका छन् । यस्तै समासेवातर्फ छनौट भएका ७७ वर्षिय रिमालले यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा शनिवार बसेको बैठकले पुरस्कृत व्यक्ति छनौट गरेको हो । छनौट समिति सदस्यहरुमा रेडियोका अध्यक्ष ज्योती श्रेष्ठ, सदस्य टिकाराम श्रेष्ठ र सल्लाहकार आनन्द सुन्दर श्रेष्ठ रहेका थिए । रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिने रेडियोले जनाएको छ । रेडियोको सातौं वार्षिक साधारणसभा एवम् पाँचौ अधिवेशनको अवसरमा सोमवार दुलेगौंडामा आयोजना हुने विशेष कार्यक्रममा प्रदेशभा सदस्य श्यामराजा महतले सम्मान गर्ने कार्यक्रम रहेको सचिव ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो । सोहि अवसरमा रेडियोले प्रत्येक वर्ष उत्कृष्टस्रोता र विज्ञापनदातालाई सम्मान गर्ने कार्यक्रम राखिएको प्रसारण समिति संयोजक टिकाराम श्रेष्ठले जानकारी दिए । ६ वर्षअघि स्थापित रेडियोमा गीत संगीतको अलवा हाल दैनिक ७ पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सराकोरका विषयमा छलफल, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्टेसन मेनेजर राजन उपाध्यायले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट प्रसारण भइरहेको रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ ।

