पोखरा: पोखराको छिनडाँडामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको पोखराको ल्याण्डफिल्ड साइडमा आइतबारदेखि फोहोर फ्याँक्नमा रोक लगाएको छ । पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापनका गर्न विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार तत्कालका लागि क्षेत्रगत रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको छ । महानगर कार्यपालिकोे गरेको निर्णयमा लेखनाथ क्षेत्र हेम्जाको लागि हेम्जा, विरौटाको लागि छोरेपाटन लगायत पोखरामा फाल्न मिल्ने खोल्सा खोल्सी रहेका छन् । जनवरी १ बाट जसरी पनि अन्तराष्टिय विमानस्थल संचालन गर्नुपर्ने भएकाले सो निर्णय गरेको हो । हाल रिठेपानीको डाँडा कटान गरी सो माटोले ल्याण्ड फिल्ड साइड छोप्न सुरु गरिएको छ । दिघएकालीन समयको लागि सम्भावित ठाउँमा वातावरण अध्ययनको लागि प्राविधिक समिति गठन गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसैगरी वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारी र दलका नेता तथा प्राविधिक रहेको समिति चयन गरिएको छ जसले दिर्घकालीन रुपमा ल्याण्ड फिल्ड साइडको खोजी गर्ने छ । सो समितिले प्रशोधन केन्द्र स्थापनाका लागि समेत विभिन्न विकल्पहरूमा अध्ययन गर्ने छ । विभिन्न मुलुकहरूमा फोहोरबाट बायो ग्याँस, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचर लगायत विभिन्न सामाग्रीहरू समेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यी मध्ये कुनै न कुनै विकल्पलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउने तयारी महानगरले गरिरहेको छ । महानगरले तत्कालका लागि राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भैसकेको र सञ्चालनका लागि अन्तिम तयारी भइरहेको भन्दै यस अवस्थामा फोहोर व्यवस्थापनका लागि चालेका कदमहरूमा आवश्यक सहजीकरण सहित सहयोगका लागि आम नगरवासी सहित सम्बन्धित सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ ।
पोखरा: रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसिय हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पोखरामा क्रियाशिल झण्डै दुई दर्जन पत्रकार सहित आयोजक रेवान पोखराको टोली सहभागि थिए । टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अष्ट्रेलियन वेस क्याम्पहुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरे । अंग्रेजी नयाँ वर्ष पारेर रेवान पोखराले हरेक वर्ष पुष १३ देखि १७ गते सम्म पर्यटकिय क्षेत्र लेकसाइडमा सडक महोत्सव आयोजना गर्दै आएको छ । यसैको २४ आंै संस्करणको प्रवद्र्धनका लागि टोलीले हाइकिङ कार्यक्रम गरिएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए । कोभिडका कारण पछिल्ला दुई संस्करणहरु पाँच दिन सम्म सञ्चालन गर्न नसकिएपनि अब भने पर्यटन उत्थानका लागि पुनःपाँच दिनकै महोत्सव आयोजना गर्न लागिएको भट्टराईको भनाई छ । लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रमा हुने यो महोत्सव देशकै पृथक महोत्सव हो । झण्डै ५ लाख जति आन्तरि तथा वाह्य पर्यटकले यो महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ । ‘फुड, म्युजिक, कल्चर’ नारा सहित आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय व्याण्डहरुको लाइभ प्रस्तुती, अन्र्र्तराष्ट्रिय खानाका परिकार, देशका विभिन्न स्थानमा ख्याति कमाएका साँस्कृतीक कार्यक्रम, लोकदोहोरी, भैरव नृत्य तथा डुङ्गा दौड, वेटर रेस, टग अफ वार लगायतका कार्यक्रमहरु आकर्षणका रुपमा रहने भट्टराईले जनाए । महोत्सवको पूर्वाद्र्धमा खहरेबाट विभिन्न समुहको साँस्कृतीक झाँकि निस्कने छ ।
पोखरा: रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले आफ्नो सिग्नेचर प्रोजेक्टको रूपमा रहेको पुस्तकालय व्यवस्थापन कार्यक्रम श्री चण्डी मावि पोखरा ३३ मा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल महिलाहरूको मात्रै क्लव भएर पनि सामाजिक रूपमा यति अग्रसर भएको र विद्यालयमा पुस्तकालय व्यवस्थापनको कार्यक्रम गरेर अन्य सबै संस्थाहरुले सिक्नुपर्ने सन्देश दिएको बताएका छन् । कार्यक्रममा वरिष्ठ समाजसेवी शिवप्रसाद चालिसेले आफ्नो ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गरी रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले जुन हिसाबले सन् २०१२ देखि यो पुस्तकालय व्यवस्थापन कार्यक्रम गर्नुभएको छ सो बाट प्रभावित भएर आफु र आफ्नो छोरा अशोक चालिसेले आफ्नो जन्मदिनमा यसरी पुस्तक दान गरी कार्यक्रममा सहभागी हुँदा गर्व महसुस गरेको बताउनुभयो । कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का एडीआरआर विश्व दर्शन पराजुलि ले विद्यार्थीहरुले समयअनुसार परिमार्जित पुस्तकबाट ज्ञान हासिल गरेर आगामी दिनमा यसैगरी सामाजिक सेवामा लाग्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष एवं रोट्याक्ट क्लव अफ पोखरा फिस्टेल पूर्वअध्यक्ष बिमला भण्डारीले छोरीहरुलाई पनि नेतृत्व स्थापित गर्नलाई र समाजलाई योगदान दिनलाई आफूहरुले यस क्लबलाई स्थापना गरेको आजको दिनमा सामाजिक काम सँगसँगै हरेक क्षेत्रमा रोट्रयाक्ट फिस्टेलका महिलाहरु नेतृत्वमा पुगेकोमा आफूलाई खुशी लागेको कुरा बताइन् । विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले यस क्लवले आफ्नो विद्यालयमा सहयोग गरेकोमा आफूलाई खुसी लागेको र युवाहरु विद्यार्थी भाइबहिनीहरु को पढाई प्रति चिन्तित भएर गरेको सहयोग आगामी दिनमा पनि यसैगरी अघि बढ्ने आशा व्यक्त गरेका थिए। रोट्रयाक्ट क्लव अफ पोखरा फिस्टेलकी अध्यक्ष रोट्र्याक्ट डिम्पल क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा आफूहरु महिलामात्रै रहेको क्लबले सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय व्यवस्थापन महिलामैत्री शौचालय व्यवस्थापन विभिन्न सामाजिक कार्यहरु महिला स–शक्तिकरणका कार्यक्रमहरु गर्दै महिलाहरु शक्ति हुन् भन्ने कुरा समाजमा स्थापित गर्ने हेतुका साथ अघि बढिरहेको र यस वर्ष पनि यस श्री चण्डी मावि मा पुस्तकालयमा आवश्यक थप केही पुस्तकहरु, टेबल, कुर्ची, कार्पेट लगायतको सामग्री प्रदान गरेर पुस्तकालय व्यवस्थापन गर्न पाउँदा आफूलाई खुसी लागेको कुरा व्यक्त गरिन आफ्नो ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गर्नु भएकोमा अग्रज बुवा शिवप्रसाद चालिसे लगायत सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रमको संयोजन एवं कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक रोट्रयाक्टर शिला मल्लले गरेकी थिइन्
काठमाण्डौ: पछिल्लो २४ घण्टामा कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छैन । पीसीआर र एन्टिजेन गरि एक सय ९९ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झन्डै तीन वर्षपछि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या शून्यमा झरेको हो । थप दुई जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ जनामा झरेको छ । नेपालमा अहिलेसम्म पीसीआर परीक्षणबाट मात्रै १० लाख नौ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेनबाट एक लाख ५२ हजार दुई सय १५ मा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नौ लाख ८८ हजार नौ सय १६ जना कोरोना सङ्क्रमण भइ मुक्त भएका छन् ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।
काठमाण्डौं: चालु आर्थिक वर्ष २०७९र०८० को पहिलो चार महिनामा नेपालीले वैदेशिक शिक्षाको नाममा साढे २२ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म वैदेशिक शिक्षाका लागि नेपालबाट २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक शिक्षाका लागि जम्मा १० अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो । यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको खुद सेवा आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च भने १ सय ३७ प्रतिशतले बढेको छ । साउनदेखि कात्तिकसम्म नेपालमा सेवा आयबापत १७ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको चार महिनामा सेवा आय जम्मा सात अर्ब ५८ करोड रुपैयाँ रहेको थियो । यस्तै भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गर्ने खर्च पनि ६४ प्रतिशतले बढेको छ । चार महिनामा नेपालीले विदेशमा ३३ अर्ब छ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षको चार महिनामा २० अर्ब १९ करोड रुपैयाँ खर्च भएको थियो ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भाँसिदा अवरुद्ध बनेको राजमार्ग खुलेको छ । बिहान १० बजेतिर सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएर दुईतर्फी सवारी आवागमन बन्द हुँदा थुप्रै सवारी साधन जाममा परेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार १ः२५ बजेदेखि सडक सुचारु भएको छ । भासिएको स्थानमा ग्राबेल हालेर सडक सुचारु भएपछि अहिले ठूला सवारी साधन एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरी कार्यालय तनहुँले बताए । यो सडक खण्डमा अहिले चार लेन सडक विस्तारको काम भइरहेको छ । सडक अवरुद्ध हुँदा अलपत्र परेका सयौँ सवारी साधन अहिल गन्तव्यतर्फ लागेका छन् ।
काठमाडौं: फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औं संस्करणको फाइनल खेल आज राति हुँदैछ । एक महिना चलेको महाकुम्भमा ६३ खेलपछि आज लुसेस आइकोनिक स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच फाइनल भिडन्त हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । फाइनल खेलअघि भने समापन समारोह आयोजना गरिनेछ । जहाँ विभिन्न सांगितिक प्रस्तुति दिइनेछ । ८८ हजार दर्शक क्षमता रहेको लुसेल स्टेडियममा समापन समारोह १५ मिनेटको हुने पिफाले जनाएको छ । ‘अ नाइट टु रिमेम्बर’ अर्थात यादगार रात नाम दिइएको समापन समारोहमा भारतीय सिनेमा क्षेत्रकी अभिनेत्री, मोडल तथा गायिका नोरा फतेहीको प्रस्तुति रहनेछ । मोरक्न नागरिक फतेही भारतीय सिनेमा क्षेत्रकी अभिनेत्री, मोडल तथा गायिका हुन् । नोरासँगै बाल्किस, रहमा रियाद र मानालको ‘लाइट दी स्काई’ लाइनअपले प्रस्तुति दिनेछन् । यस्तै डेभिडो र आइशाले (हाया हाया) सँगै गाउनेछन् भने ओजुना र गिम्सले पनि गाउनेछन् । प्रतियोगिताको विभिन्न क्षणहरु समेटर तयार पारिएको अफिसियल साउण्ड ट्रयाकको मसुप पनि प्रस्तुत गरिने फिफाले जनाएको छ ।
गण्डकी: पर्यटकीय नगरी पोखरा साहसिक पर्यटनको सहर पनि हो । सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् । पोखराको सराङ्कोटबाट हावा खाँदै जिपलाइन, प्याराग्लाइडिङसँगै बन्जीजम्प, स्वीङ, अल्ट्रालाइटदेखि माउन्टेन फ्लाइटसम्मका विभिन्न गतिविधिले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ । स्वदेशी एवं विदेशी पर्यटकका साथै उच्चपदस्थ अधिकारी, चर्चित अभिनेता तथा कलाकारको पनि पोखरामा साहसिक पर्यटनका गतिविधिले आकर्षित गर्ने गरेको छ । हालै नेपालको भ्रमणमा रहनुभएका बलिउड अभिनेता विवेक ओबरायले पोखरामा साहसिक पर्यटनका जिपलाइन, स्वीङ आदिमा रमाएका तस्वीर यतिखेर विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका छन् । पोखराको यही साहसिक पर्यटन प्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटन क्षेत्रका लगानीकर्ता पनि यसतर्फको लगानीमा हौसिएको देखिन्छ । पोखरामा जिपलाइन, बञ्जीजम्प, स्वीङ लगायतका पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको हाइग्राउन्ड एडभेन्चर प्रालि नेपालले पर्यटकलाई लक्षित गरी हालै एटिभी राइडिङ सञ्चालनमा ल्याएको छ । कम्पनीले सुरु गरेको एटिभी राइडिङमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढेको कम्पनीका निर्देशक दिनश महर्जनले बताउनुभयो । “पछिल्ला समयमा पोखरामा आउने पर्यटक यहाँ सञ्चालित जिपलाइन, स्वीङ, बञ्जी आदिमा आकर्षित बन्दै गएका छन्”, उहाँले भन्नुभयो, “हालै नेपाल भ्रमणका क्रममा पोखरामा बलिउड अभिनेता बिबेक ओभरायले जिपलाइन, स्वीङ लगायतका साहसिक पर्यटनका गतिविधि गर्दा त्यसले पोखराको साहसिक पर्यटनलाई थप चर्चामा ल्याएको छ ।” पोखराको साहसिक पर्यटनको बढ्दो आकर्षणलाई देखेर हाइग्राएनड एडभेन्चर प्रालिले पोखरामा नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । उहाँका अनुसार एटिभी राइडिङमा फोर ह्वीलर चक्का कच्ची रोडमा सहजै गुड्ने गरी बनाइएको हुन्छ । कम्पनीका कर्मचारी राजेश लम्साल मोटरसाइकल चलाउनेले यो सजिलै चलाउन सक्ने बताउनुहुन्छ । फेवातालको किनारमा चलाउने गरी व्यवस्था गरेको कम्पनीले आउने पर्यटकलाई प्रारम्भमा सेदीस्थित कार्यालयमा प्राविधिकबाट यसका विधि र प्रत्रियाबारे जानकारी गराउने गरिएको उहाँले जानकारी दिनुभयो । “नयाँका लागि हामीले कार्यालय परिसरमा नै टेस्टड्राइभ गराउँछौँ”, निर्देशक महर्जनले भन्नुभयो, “टेस्ट ड्राइभका लागि टेस्ट ट्रेल निर्माण गरेका छौँ ।” अनुभवीका लागि सेदी–भकुण्डे–सेदीको आठ किलोमिटर दूरीको मार्ग निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । उक्त सडक भकुण्डेसम्म एक किलोमिटर पक्की छ भने सात किलोमिटर कच्ची रहेको छ । यस मार्ग पार गर्न करिब दुई घण्टा समय लाग्ने र उक्त मार्गमा फेवाताल, जङ्गल, खोलानाला आदिको प्रत्यक्ष अनुभव लिन सकिन्छ । कम्पनीमा हाल एटिभी गाडी आठवटा रहेको बताउँदै उहाँले बढ्दो आकर्षणलाई दृष्टिगत गरी आठवटा थप्न लागिएको बताउनुभयो । नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालन गरिएको उल्लेख गर्दै महर्जनले यसले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन थप सहयोग पुग्ने विश्वास लिइएको बताउनुभयो।

